Thursday, February 11, 2021

ढुंगेधारा केवल पँधेरो होइन

नेपालमण्डल सभ्यतामाझ विकसित लोहँहिति–ढुंगेधारा खानेपानी उपलब्ध गराउने माध्यम मात्र नभई बहुआयाम बोध गराउने एउटा मूर्त भौतिक संरचना हो । ढुंगेधाराहरु केवल पानी थाप्ने पँधेरा होइनन्, यिनमा बहुविधाका अभिव्यक्ति प्रतिविम्बित छन् ।

मल्ल के. सुन्दर 

मानव जीवन, सभ्यता र समुन्नतिको आधार पानी नै हो । प्रागऐतिहासिक कालतिर नियाल्दा नाइल नदीको वरपर विकसित मिश्र सभ्यता, सिन्धु घाँटीको हरप्पा, मोहनजोदारो, ह्वांग हो नदी किनाराको चिनियाँ सामाजिक विकास, गंगा नदीको उर्वरभूमिका प्राचीन भारतीय सभ्यता यस्ता दृष्टान्तमध्ये हुन् । वाग्मतीको पानी सिञ्चनबाट व्यवस्थित भएको उपत्यकाभित्रको नेपालमण्डल सभ्यता पनि यस्तै प्रकारको एक हो ।



जल–व्यवस्थापनसम्बन्धी शिल्पको विकास र मानव सभ्यताको उन्नति अन्तरसम्बन्धित छन् । जुनजुन मानव समुदायले जल–व्यवस्थापनमा निपुणता देखाए, कालान्तरमा तिनीहरूले नै विविध विधामा प्रगति गरे । जल–व्यवस्थापन अर्थात् बाढी नियन्त्रण र सिँचाइ, जलाधार क्षेत्रको संरक्षण, जल शुद्धीकरण, जल परिवहनको विकासका अतिरिक्त जीवन निर्वाहका लागि पिउने पानीको व्यवस्था प्रमुख हुन् ।

नेपालमण्डल सभ्यतामाझ विकसित लोहँहिति–ढुंगेधारा खानेपानी उपलब्ध गराउने माध्यम मात्र नभई बहुआयाम बोध गराउने एउटा मूर्त भौतिक संरचना हो । ढुंगेधाराहरू केवल पानी थाप्ने पँधेरा होइनन्, यिनमा बहुविधाका अभिव्यक्ति प्रतिविम्बित छन् ।

इतिहास

गोपालराज वंशावलीअनुसार, सबैभन्दा जेठो ढुंगेधारा इसं ४६४ मा निर्मित नारायणहिटी हो । लिच्छवि राजा धर्मदेवले बनाउन लगाएको धारामा पानी नआउँदा तान्त्रिकहरूको सल्लाहमा राजा आफैँ बलिका लागि तयार भए । छोरा मानदेवकै हातबाट बलि चढाउने काम भएको थियो भन्ने प्रचलित कथन छ । यता इतिहासकार योगी नरहरिनाथले भने वंशावलीको उद्धरण गर्दै लेखेका छन्, ‘कलिगत संवत् १९११ मा राजा विक्रमसेनद्वारा त्यस ढुंगेधारा बनाउन लगाएकामा पानी नआएपछि नासत भूपकेशरीले आफ्नै पिता विक्रमकेशरीलाई बलिमा चढाए... ।’ राजा प्रताप मल्लले त्यसैको उत्तरतर्फ नारायण मन्दिर स्थापना गरेपछि त्यो ढुंगेधारा नारायणहिटीको रूपमा जनजिब्रोमा रहन गयो ।

लेलेमा भेटिएको वसन्तदेवको शिलालेखअनुसार, त्यसै कालखण्डमा ढुंगेधारा समाजको एक अभिन्न संरचनाका रूपमा विकसित भइसकेको र सामूहिक व्यवस्थापनका लागि गुठीले जिम्मेवारी वहन गरिसकेको थाहा हुन्छ । सामान्यतः काठमाडौं उपत्यकाभित्र एकल ढुंगेधाराको बाहुल्य छ । तर, तान्त्रिक–धार्मिक आस्थाका आधारमा र वास्तुकलाको दृष्टिकोणबाट बहुल ढुंगेधारा पनि धेरै अस्तित्वमा छन् । तीमध्ये फर्पिङ शेषनारायणको सहस्रधारा धार्मिक रूपमा निकै महत्त्वको मानिन्छ । सडक विस्तारका क्रममा अहिले सहस्रधाराहरू लुप्त भए ।

जयप्रकाश मल्लले बनाउन लगाएको बालाजुको एक्काइस धारा, जसको बीचमा रणबहादुर शाहले ठूलो एक धारा थपेर बाइस धारा बनाए । चैत्र पूर्णिमाका दिन ती धारामा नुहाएर मेला भर्ने प्रचलन अहिले पनि छ । बाह्र वर्षमा मेला लाग्ने ललितपुरको गोदावरी कुण्डको नौ धारा पनि धार्मिक दृष्टिकोणबाट महत्त्वपूर्ण मानिन्छ । लिच्छविकालीन सामन्त विभु बर्माद्वारा निर्मित सात धारा काठमाडौंको भोटाहिटीमा थियो । ती धाराहरूबाटै त्यस स्थानको भोटाहिटीका रूपमा पहिचान रह्यो । त्यसैको माथि हाल साझा पसल–बजार छ ।

हाँडीगाउँको पञ्चधारा वा न्याधाःहिति समकालीन समाजमा प्रख्यात धारामध्ये थिए । स्थानीय पूजा–पर्व प्रयोजनका लागि लिच्छवि शासक शिवदेवद्वारा निर्माण गरिएको मानिने त्यस धाराको पानीको स्रोत सँगैको धनडोल च्याद्वं थियो । तर, निजी घरहरू बन्न थालेपछि पानीका मूल सुके, धाराहरू पुरिए ।

काठमाडौं संस्कृत पाठशालाको उत्तरतिर हाल शेर्पामलको पछाडिको तीन धारा उपत्यकाभित्रका चर्चित धाराहरूमध्ये हुन् । अनधिकृत रूपमा जग्गा मिचेर, धारामा पानी आउने कुलोमाथि संरचना बनाउन थालेपछि तीन धारामा पानी आउन बन्द भयो । हाँडीगाउँ नारायण मन्दिरको उत्तरमा रहेको लिच्छविकालीन दुई धारामा भने अहिलेसम्म पानी आइरहेको छ ।

ऐतिहासिक रूपमा सबैभन्दा पछि बनाइएको ढुंगेधारा टुँडिखेलको सुन्धारा हो । भीमसेन थापाले ललित त्रिपुरासुन्दरीको सम्झनामा यो धारा बनाउन लगाएका हुन् । काठमाडौं मल बनाउँदा यसको मूल मासियो र अहिले धारा सुक्यो । सहरका सीमान्त इलाकामा बनाइएका धोबीधाराहरूबाहेक अन्य ढुंगेधारा मूलतः खानेपानीका अतिरिक्त पूजा पाठ, सांस्कृतिक गतिविधि, तन्त्र साधनादेखि औषधि उपचारसमेतको प्रयोजनमा रहेका देखिन्छन् ।

काठमाडौं उपत्यका खानेपानी वितरण बोर्डले पछिल्लोपटक उपत्यकाका दस नगरपालिकाभित्र गरेको एक सर्वेक्षणअनुसार, त्यहाँ तीन सय उनानब्बे ढुंगेधारा थिए । तीमध्ये उनहत्तर धारा सुकिसके, पैंतालीस धारा लोप भए ।

प्रविधिमा विशिष्टपना

ढुंगेधाराहरू प्रविधिका कारण पनि अत्यन्त मौलिक र विशिष्टताले भरिएका छन् । ती धारा निर्माणका लागि हजारौं वर्षअघि प्रयोग गरिएका प्रविधिको अध्ययनबाट पूर्वजहरूमा रहेको ज्ञान, शिल्प र क्षमताबारे हामी गौरव गर्न सक्छौं ।

विश्वमा अन्यत्र पनि पानी व्यवस्थापनका अनेकन प्रविधि प्रयोगमा छन् । पर्सिया, मेसोपोटामिया, अर्मेनिया, अफगानिस्तानमा इसापूर्व हजार वर्षअघिदेखि कन्नातको व्यवस्था गरिन्थ्यो । भूमि सतहमुनिबाट पानी–बहावको प्रबन्ध मिलाइएको त्यो प्रविधि मूलतः सिँचाइ सुविधाका लागि थियो । भनिन्छ, त्यसै ‘कन्नात’ शब्दबाट अंग्रेजी ‘क्यानल’ शब्दको उत्पत्ति भएको हो ।

यता मध्यएसियामा तिनासान हिमशृंखलादेखि हजारौं किलोमिटरपरको मानव बस्तीसम्म करजाई प्रणालीबाट पानी वितरण गरिन्थ्यो । जमिनको सतहभन्दा सयौं फिट तल भूमिगत रूपमा लामा–लामा नहरबाट पानी वितरण गरिनु त्यस प्रणालीको विशेषता हो । चीनको सिन्जयाङ प्रान्त, तुर्फानमा अद्यापि करजाई प्रणाली कायम छ ।

प्रविधिगत दृष्टिकोणबाट हाम्रा ढुंगेधारामा पनि स्रोतदेखि पानी ल्याउने भूमिगत शैलीे करजाई प्रणालीसँग मिल्दोजुल्दो देखिन्छ । फेरि पनि खानेपानी उपलब्ध गराउने हाम्रो विधि, संरचना र शैली उक्त प्रणालीभन्दा उन्नत, व्यवस्थित तथा सुसंस्कृत छ । नेपालमण्डलका बासिन्दाले खानेपानी सेवनका साधनका रूपमा ढुंगेधाराको परिकल्पना गरेर अन्यत्रको भन्दा आफ्नो चिन्तन र शिल्प अग्रगामी रहेको पुष्टि गरे ।

स्रोतबाट ढुंगेधारासम्म पानी झार्नुपूर्व नजिकै कतै जलासयमा पानी जम्मा गरी त्यहाँ पात–पतिंगर, फोहोर, कसिंगर आदि थिि्रगन दिइन्छ । अनि कंक्रिटका टुक्रा, गोल, बालुवा तथा चुना राखेर शुद्धीकरण भइसकेपछि मात्रै धाराबाट पानी झर्छ । ढुंगेधारा त्यस अर्थमा अद्वितीय र मौलिक छ । स्रोंतबाट सहज पानी बहावका लागि जमिनको सतह छनोट तथा निकासका लागि मंगाल र ढल निर्माणसम्बन्धी प्रविधि पनि बेग्लै छ ।

उसबेला आवधिक मर्मत, सरसफाइ, हेरचाहका लागि धःपाः हुने व्यक्ति चयन गरेर उसैलाई ढुंगेधाराको जिम्मा दिइन्थ्यो । गुठीको नेतृत्वमा पानी मुहान, ढल, कुवा, पोखरी तथा ढुंगेधाराको सरसफाइ गरिन्थ्यो ।

वास्तु विशिष्टता

निश्चय पनि ढुंगेधारा पिउने पानी प्रयोजनका लागि हो । तर, यसका लागि बनाइएका जुन भौतिक संरचना छन् ती नेपाली वास्तुविधा तथा रैथाने कलाका विशिष्ट सृजना हुन् । ढुंगेधाराका लागि व्यवस्थित गरिएका परिसर शास्त्रीय मान्यताअनुसार गोलाकार, वर्गाकार, मण्डलाकार, यन्त्राकारका छन् । सोहीअनुसार, परिसरको आकार कस्तो अनि ती कति तह सडकमुनि वा माथि भन्ने निर्धारण गरिन्छ ।

आस्थाअनुसार, धारामाथि एक वा एकभन्दा धेरै मूर्ति सजाइए पनि धाराको मुन्तिर दुवै हातमा शंखसहित उभिएको एक तपस्यारत

ऋषिको आकृति अनिवार्य रूपमा राखिन्छ । आर्यावर्तमा हिमालयबाट गंगाको पानी बगाउन भगीरथले कठोर तपस्या गरेको विवरण पाइन्छ । हरेक धारामुनि तिनकै सम्मानमा त्यस्ता मूर्ति स्थापना गरिन्छ । धारा वरपरका सिँढी, गाह्रो आदि नागबन्ध गरिएर प्रवेशद्वारा दायाँबायाँ नागको शीर्षभागले सजाइन्छ ।

अविरल पानी झर्ने धाराको भौतिक संरचना कतै पनि सपाट हुँदैन । त्यसमाथि कलात्मक मूर्ति कुँदिएका हुन्छन् । हात्तीको जस्तो मुख र सुँढ, अग्निज्वालाजस्तो आँखा, दायाँ–बायाँ तिखा दाँत, पछाडितिर फर्किएका सिङ, उड्ने पखेटा, चुस्से पुच्छरसहितको जलजीव हितिमंगः वा मकरको आकृति हो । ढुंगेधारामा वैदिक वर्णनका जलचर मकर मात्र होइन भ्यागुता, गाईको बाच्छा, माछा, सर्प आदि अंकित हुन्छन् ।

पाटन दरबार, सुन्दरीचोकभित्रको तुसाःहिति यस क्रममा एउटा अद्वितीय संरचना हो । तुसाः अर्थात् उखुजस्तै मिठो पानी झर्ने धारा, जहाँ प्रत्येक बिहान त्यसैको पानीमा स्नान गरेर राजा सिद्धिनरसिं मल्ल नित्यकर्म आरम्भ गर्थे । नारायण र गरुड माथिल्लो भागमा अनि सुनका मोलम्बा लगाइएका अनेकन जलप्राणीका आकृतिसहितको यो धारा मकर मुखाकृति हुने अन्य धाराभन्दा फरक तान्त्रिक मान्यतामा योनि आकारमा निर्मित छ ।

हनुमानढोका मोहनकाली चोकभित्रको सुन्धारा पनि यसैको अर्को प्रतिरूप हो । भक्तपुर दरबारभित्र पनि अति आकर्षक सुन्धारा यस्तै प्रतीकसहित निर्माण गरिएको छ ।

ढुंगेधारा पिउने पानीको साधन मात्र होइन सुसंस्कृत र विकसित सभ्यताको गौरव पनि हो । ढुंगेधाराले शास्त्र बोल्छ, सामाजिक आस्था प्रतिविम्ब गर्छ अनि वास्तुकला तथा मूर्तिकलाको शिल्पलाई जीवन्त राख्छ ।

प्रकाशित : माघ २४, २०७७ १०:४४https://ekantipur.com/koseli/2021/02/06/161258275383884299.html

No comments: