Tuesday, November 28, 2023

रैथाने हिति वृत्तान्त

 मल्ल के. सुन्दर

पेसाले विशुद्ध प्राविधिक पद्मसुन्दर जोशीको किताब ‘हिति प्रणाली’ को मूल विषय हो– हिति अर्थात् ढुंगेधारा । सचित्र अनि आकर्षक कलेवरमा छापिएको यो किताबमा इतिहास, वर्तमान र भविष्य गरी तीन कालखण्ड लेखिएको छ । यसमा सात मूल शीर्षक छन् ।

रैथाने हिति वृत्तान्त

हिति सम्बन्धमा प्रणालीगत कोणबाट नियाल्ने र त्यससँग गाँसिएका अनेकन प्राविधिक सवालका अतिरिक्त अन्य महत्त्वपूर्ण पक्षबारे खोतलखातल गर्ने बौद्धिकस्तरको किताब सम्भवतः यो नै पहिलो हो । लेखकले हिति प्रणालीका समग्र पक्षलाई खोजको मूल विषय बनाएका छन् । तीनै समग्र खोजको अभिलेखीकरण हो, यो किताब ।

स्वाभाविक रूपमा किताबभित्र हितिसँग गाँसिएका प्राचीन कालक्रम, प्रथा, प्रचलन, गुठी, जात्रा, पर्वजस्ता सामाजिक पक्ष यथेष्ट समावेश गरिएको छ । लिच्छविकालअगावै किरात कालबाटै हिति निर्माण सुरु भएको हुन सक्ने अनुमान गरिन्छ, तर तिथिमिति प्रमाणिकताका आधारमा यस प्रणालीको ऐतिहासिक सम्बन्ध मानदेवसम्मै रहेको चर्चा यसमा छ । साथै हिति प्रणालीका कतिपय लोककथन अनि किंवदन्तीका प्रसंगसमेत किताबको पहिलो अंशमा भेटिन्छ ।

बाह्य रूपमा हिति एउटा मकर आकृतिको ढुङ्गाको डुँडबाट निरन्तर पानी झर्ने भौतिक संरचना मात्रै हो । तर, मूलस्रोत जलभण्डारदेखि उपभोक्तासम्म पानीको बहाव व्यवस्थित गर्न अन्तरंगमा गरिनुपर्ने जुन प्रविधि तथा सीपको कुरा छ त्यो नै सबैभन्दा महत्त्वपूर्ण र जटिल पक्ष हो, जसअन्तर्गत पोखरी, राजकुलो, भूमिगत जलभण्डार, नाभिमण्डल, हितिदुं (अथल), निर्मलीकरण (फिल्टर), हितिगाः, हितिमंगः, हितिध्वं, मंगाः आदि छन् । हजारौं वर्षपूर्व प्रारम्भ भएको हिति निर्माणका क्रममा निर्वाह गरिनुपर्ने यी विविध चरणका प्रविधिजन्य ज्ञान तथा सीप अहिले झन्डै विस्मृतिमा पुगिसके । तर, लेखक विषद् खोजबाट प्रत्येक पक्षको विधि र विवरण मिहिन रूपमा संकलन गर्ने तथा तिनको सार्वजनिक गर्ने काममा सक्षम भएका छन् ।

अध्ययनबाट सिद्ध भएको छ, हिति प्रणाली काठमाडौं उपत्यकाभित्रको एक महत्त्वपूर्ण सांस्कृतिक/प्राविधिक सम्पदा मात्रै नभई हाम्रा पुर्खाले आर्जेको परम्परागत ज्ञानको एउटा उत्कृष्ट दृष्टान्तसमेत हो । पानीको मूलस्रोत पोखरी निर्माण गरिने नगरको उच्च भाग अनि त्यस पानी वितरण प्रयोजनका लागि बनाइने राजकुलो, नाभिमण्डल आदि संरचना तथा तिनका लागि छनोट गरिएका स्थानलाई आजको गणितीय तथा प्राविधिक दृष्टिकोणबाट नियाल्दा ती अत्यन्त वैज्ञानिक तथा उन्नत स्तरका पाउँछौं । त्यसमा पनि पानीको निर्मलीकरण र स्वच्छताका लागि अपनाइएका रैथाने उपाय आश्चर्यलाग्दा छन् । त्यस्तै मंगालका माध्यमबाट सहज निकास तथा सिँचाइ आदिमा पुनर्प्रयोजन गरिने विधि अपत्यारिलो छ ।

मनसुनी प्रणाली भएको उपत्यकाभित्र वर्षायाममा जम्मा हुने अतिरिक्त पानीलाई कसरी सञ्चय गर्ने भन्ने पक्षमा मात्रै होइन, त्यस्ता खेर जाने पानी भूमिमा पुनर्भरण कसरी गर्ने भने प्रविधि पनि हिति प्रणालीअन्तर्गत विकसित भएको पाइन्छ । समग्रमा हिति प्रणाली प्रकृति र वातावरणलाई सन्तुलनमा राखिराख्ने एउटा अब्बल अभ्यास थियो । संसारमा अन्यत्र हाल आएर मात्रै मान्छेहरूले पर्यावरणिय सन्तुलनको चासो जाहेर गरिरहेका सन्दर्भमा हाम्रा पूर्वजले हिति प्रणालीजस्ता माध्यमबाट त्यतिखेरै पर्यावरणिय सन्तुलन व्यवहारमै अपनाइसकेका थिए ।

पानी व्यवस्थापनका सन्दर्भमा पर्सियालगायत भूमध्य क्षेत्र र खाडी मुलुकतिर कन्नात प्रणाली पनि प्रचलनमा थियो । चीनको मध्यएसियाली भूभागमा करजाई र भारततिर वर्षातको पानी तहगत रूपमा संकलन गर्ने बावली प्रणाली नभएको होइन । तर, उपत्यकाभित्रको हिति प्रणाली मौलिक अनि विशिष्ट हो ।

हाम्रा पुर्खाहरूले हिति प्रणालीअन्तर्गत युगौंदेखि अपनाउँदै आइरहेको वर्षातको पानीबाट पुनर्भरण गर्ने अभ्यास सापटी लिएर अहिले चीनले स्पञ्ज प्रणालीको नाउँमा अभियान नै चलाएको छ । लेखक भन्छन्– पानी पुनर्भरणको यस प्रणाली त नेपालको मौलिक ज्ञान हो, हामीले यस रैथाने ज्ञानका सम्बन्धमा आफ्नो प्राधिकारको अन्तर्राष्ट्रियस्तरमै दाबी गर्नुपर्थ्यो ।

विडम्बना, विगतमा यति वैज्ञानिक तरिकाबाट पानी वितरणको प्रणाली विद्यमान रहेको काठमाडौं उपत्यकाभित्र हाल पिउने पानीको चर्को अभाव छ । खानेपानी व्यवस्थापनका हाम्रै यति उन्नत ज्ञान, सीप र प्रणाली विद्यमान छँदाछँदै वैदेशिक सहयोग र प्रविधिका लागि शासकहरू किन भौंतारिँदै होलान् ? लेखकको आरोप छ– राजनीति सत्ता परिवर्तन हुँदै गर्दा शासनमा बस्नेहरूले काठमाडौं उपत्यकाभित्रको हिति प्रणालीजस्तो उत्कृष्ट रैथाने प्रथालाई अवमूल्यन गरेसाथै तिनको संरक्षण गर्न कति पनि ध्यान पुर्‍याएनन् । विकासको नाउँमा गरिएका अव्यवस्थित भौतिक संरचना निर्माण, हिति अन्तर्गतका जलभण्डार, राजकुलो, भूमिगत जलमार्ग, पोखरीमाथिको अतिक्रमणका साथसाथै तीनको संरक्षण, सम्भारमा राज्यको बेवास्ताको पनि लेखकले चर्चा गरेका छन् । त्यस्तै हिति–प्रणाली व्यवस्थापनका लागि भनेर गठित स्थानीय गुथि प्रणालीमाथिको राज्यसत्ताको प्रहारलाई लिएर पनि पुस्तकमा निन्दा गरिएको छ । पुस्तकमा विभिन्न समय सन्दर्भमा स्थानीय तहमा गरिएका पानी आन्दोलनबारे पनि विस्तृत उल्लेख छ ।

पुस्तक मूलतः ललितपुर सहरकेन्द्रित देखिन्छ, यद्यपि यसमा उपत्यकाका तीनै सहरका अन्य हितिहरूका सम्बन्धमा धेरथोर चर्चा पनि गरिएको छ । पानी सम्बन्धित स्थानीय जात्रा, पर्व र सांस्कृतिक पर्वका कुरासमेत पुस्तकभित्र छन् । महत्त्वपूर्ण पक्ष भनेको यो किताब हिति प्रणालीसँग सम्बन्धित संरचनाको पुराना तथा आधुनिक प्रविधिबाट कोरिएका रेखाचित्रको संकलन पनि हो । त्यस्तै यसमा हवाईचित्रहरू पनि समावेश छन् । परिशिष्टका रूपमा ललितपुरका हितिहरूको वर्तमान अवस्थाको सूची पनि छ, जुन अध्येयताका लागि अपयोगी छन् ।

पुस्तकको जोड छ– हिति मूलतः समग्रमा एउटा प्रणाली हो, त्यसलाई मूर्त सम्पदाका रूपमा मात्रै बुझ्दा अपूर्ण हुन्छ । फेरि पनि यस प्रणाली विकासको क्रममा हाम्रा पुर्खाहरूले हितिको भौतिक संरचनासँगै आफ्नो सांस्कृतिक चेत, धर्म अनि दार्शनिक आस्थालाई पनि गाँस्दै लगे । कालान्तरमा हितिको भौतिक संरचना हाम्रा पुर्खाका कला सौन्दर्यका मूर्त अभिव्यक्तिको माध्यमसमेत बने । ललितपुरको मंगः हिति, सुन्धारा अनि पाटन दरबारभित्रको तुसाःहिति यथार्थतः नेपाली कलाकृतिका परिकृष्ट नमुनाहरू हुन । तसर्थ, हितिसँग वास्तुकलाको हाम्रो मौलिक प्रारूप पनि उजागर हुन्छन् । नेपाली मौलिक कलाकृतिका रूपमा पनि यी अद्वितीय सम्पदा हुन् । लेखकले यस पक्षमा पनि कलम चलाउन सक्थे, तर त्यसो भएन । त्यसो त लेखकले किताब–लेखनमा धेरै परिश्रम गरेका छन् । र, नेपालय प्रकाशनगृहबाट प्रकाशित यो ‘हिति प्रणाली’ पठनीय र संकलनयोग्य पुस्तक ठहरिएको छ ।

https://ekantipur.com/koseli/2022/11/05/166761306969659040.html

No comments: