Wednesday, November 29, 2023

विडम्बना जिन्दगीको !

 चैत २८, २०७७ शनिबार ११:४०:०

प्रा.डा. जंगब चौहान


‘कृष्णप्रकाश दाइ अब हामीबीच हुनुहुन्न। एक घण्टाअगाडि मास्कोको अस्पतालमा उहाँले अन्तिम सास लिनुभयो।’ मार्च २९ मा दुःखद समाचार बोकेर डा. मणिराज पोखरेलको फोन आयो। लगत्तै मास्कोबाटै डा. कुमार कार्कीको एसएमएस आयो, ‘नमस्कार दाजु ! कृष्ण दाइ यो संसारबाट बिदा हुनुभयो।’

अचानक छाँगाबाट खसेजस्तै भएँ। फोनहरू आइरहे। रासस अध्यक्ष कवि श्यामलसँग कुरा भयो। केही ठाउँमा खबर पुर्‍यायौं। केही दिनदेखि घरको बैठक कोठामा एक्लै बसिरहेको थिएँ तर मनभरि मास्कोको लेनिस्की प्रास्पेक्टको सुन्दर सडक र पार्कसँगै उभिएको त्यही प्रिय भवनको पाँचौँ तलामा रहेको ५०३ नं. आवासको चित्र आइरह्यो जहाँ कैयौंपटक पुगेको छु। मास्को जाँदा प्रायः पुगेकै हुन्थें। सन् २०१७ को भेट अन्तिम रहेछ। यो भेट विगतका सबै भेटभन्दा बढी लामो र अविस्मरणीय रह्यो। कति सुन्दर पलहरू थिए ती !

सम्झनाका लहरमा डुब्दै जान्छु– 

दाइलाई पहिलोपटक सन् १९७७ अगस्तमा मास्कोको लुमुम्बा विश्वविद्यालय परिसरमा भेटेको थिएँ। जहाँ अध्ययनका ६ वर्ष बिताउनु थियो। सोभियत धर्तीमा आफ्नो नियतिलाई गाँस्दै नेपाली र सोभियत जनताबीचको हार्दिक सम्बन्धको पुल बन्ने प्रक्रियामा उहाँको एउटा छुट्टै व्यक्तित्वको निर्माण भइरहेको समय थियो त्यो। त्यस महाशक्ति राष्ट्रमा अध्ययनार्थ पुगेका हामी युवा नेपालीमा विशेष सपनाको लहर उठिरहेको थियो। मातृभूमिबाट टाढा पुगेका युवाबीच तरंगमय भाव बोक्न सक्ने उहाँसँग भेट भइरहन्थ्यो– कविता गोष्ठी, सांगीतिक कार्यक्रम, अनुवाद गोष्ठी र विचार गोष्ठीमा।

अनुवाद, समालोचना, साहित्यिक तथा सांस्कृतिक अनुसन्धान, शब्दकोश निर्माण, सम्पादन, रेडियो कार्यक्रम उत्पादन तथा सञ्चालनजस्ता विविध क्षेत्रमा उहाँको महत्वपूर्ण योगदान छ। नेपाल–सोभियतसंघ, नेपाल र रुसबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धका अध्येताहरूका लागि जीवित इतिहास हो।

कृष्णप्रकाशसँग विशेष आत्मीयता स्थापित हुनुमा हामी रुसी साहित्यका विद्यार्थी हुनु पनि हो। उहाँले मास्को विश्वविद्यालयबाट उच्च शिक्षा पूरा गरी मास्कोलाई कर्मक्षेत्र बनाइरहनुभएको थियो भने म रुसी साहित्यको लहरमा हेलिँदै थिएँ। जीवन्त भएर आउँछन् ती स्मृतिका लयात्मक क्षणहरू। ‘चे ग्वे भारा र गुरिल्ला युद्ध’ विचारगोष्ठीमा विश्वविप्लवी इतिहासमा गोता लाएको क्षण भनौं वा देवकोटा जयन्तीमा ‘भोकै मर्ने महाकविका पेटका सारंगीहरू, हाम्रा गीतहरू’ भन्दै देश बजिरहेको क्षण दुरुस्त भएर सम्झनामा आइरहेछ। यी र यस्तै कार्यक्रममा उहाँको सौम्य आकृतिसँगै उहाँले बोक्ने एउटा पोर्तफेल (ब्याग) को सम्झना आइरहन्छ जसभित्र नेपाल र सोभियत जनताबीचका मित्रताका न्याना लहरहरू सल्बलाइरहेझैँ लाग्थ्यो। यस्तो लाग्थ्यो, उहाँ रुसका लागि नेपालका सांस्कृतिक दूत हो। नेपाल र रुसबीचको दौत्य सम्बन्धलाई सांस्कृतिक धरातलको हार्दिक गहिराइबाट उठाउने काममा कृष्णप्रकाश श्रेष्ठले दिएको योगदान अविस्मरणीय छ।

नेपाली व्याकरणसम्बन्धी अध्येता निकोलाई काराल्योभ हुन् वा महाकवि देवकोटाको जीवनी लेखिका ल्युदमिला आगानिना, नेपाली बोल्ने पहिलो रुसी युरी काशिरिन हुन् वा साहित्यविद् येलेना आउबेकिरोभा वा अन्य यी सबै नेपालविद्को नेपाल अध्ययनको कार्यलाई सुगम बनाउन कृष्ण दाइको मैत्रीपूर्ण सहयोग गर्नुभएको थियो। अनुवाद, समालोचना, साहित्यिक तथा सांस्कृतिक अनुसन्धान, शब्दकोश निर्माण, सम्पादन, रेडियो कार्यक्रम उत्पादन तथा सञ्चालनजस्ता विविध क्षेत्रमा उहाँको महत्वपूर्ण योगदान छ। नेपाल–सोभियतसंघ, नेपाल र रुसबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धका अध्येताहरूका लागि जीवित इतिहास हो।

तत्कालीन सोभियत संघ र पछि रुसी महासंघमा अध्ययनको सिलसिलामा बस्नुपर्दा हामीबीच कैयौंपटक भेटघाट भएको हो। ती भेटहरू संस्थागत र औपचारिक मात्र छैनन्, वैयक्तिक, पारिवारिक र अन्तरंग शैलीका पनि छन्। कैयौंपटक मास्कोको लेनिन्स्की प्रास्पेक्टमा अवस्थित उहाँको आवासमा उहाँ र उहाँकी जीवनसंगिनी इरिनासँग घेटघाट र गफ भएको छ। स्पष्ट र सौहार्दपूर्ण वातावरणमा कूटनीतिक अभिनयका पर्दाहरू च्यातिएका छन् ती क्षणहरूमा। इरिना भाउजूलाई मनमा कालो नभएको स्पष्ट वक्ताका रूपमा जबजब मैले भेट्टाउँथें, सोभियत संघको परिवर्तन, पेरेस्त्रोइका र ग्लासनोस्तभित्रका यथार्थ स्वरूपहरू स्पष्ट हुँदै आएको अनुभव हुन्थ्यो। तीव्र गतिमा परिवर्तन हुँदै गएको रंगीन मास्कोको अर्को पृष्ठसँग साक्षात्कार भएको आभास मिल्न थाल्थ्यो।

दाइलाई मास्कोको छात्रावासको कोठामा अतिथिको रूपमा पाउँदा बेग्लै आनन्दको लहर उठ्थ्यो। उहाँको अनुहारमा पूर्णिमाको जूनभैmं चम्कने उज्यालो हाँसोले सिंगै नेपाल बोकेर ल्याएजस्तो लाग्थ्यो। एक्लै भेट्ता होस् वा विशेष समारोहमा, उहाँले स्नेहवश अँगालोमा लिएको क्षण विशेष रूपमा सम्झिन्छु। कृष्णप्रकाशको आत्मीयताको यो विशेष शैली मलाई केटाकेटीको स्वच्छ र निष्कलंकपन जस्तो लाग्छ। मनका कुनाकन्दरामा कतै कुनै सानो कल्मष भए पनि निमेषमै बिलाएर जानेजस्तो। ६ वर्षका लागि मास्को जानुभएका उहाँलाई नियतिले सारा जीवन बिताउनुपर्ने अवस्था भयो। रुसी महिलासँग प्रेम–विवाह तथा अध्ययन–अनुसन्धानसँगको रागात्मक सम्बन्धले उहाँ जति नै पुलकित भइरहे पनि चिन्तनको चौतारीमा बसेर जति नै बौद्धिक विकास गरिरहे पनि उहाँको हार्दिकताको गहिराइमा जन्मभूमिबाट भौतिक रूपमा टाढिनुको पीडा बल्झिरहेझैँ लाग्थ्यो।

जन्मेको गाउँ शोणितपुर, चुनिखेलले उहाँलाई कहिल्यै माया मार्न सकेन। काठमाडौं उपत्यकाको आत्मीय परिवेशले सदा बोलाइरहेकै थियो। नेपालका स्वच्छ, सुन्दर हिमश्रृंखलाहरूले उहाँलाई तानिरहेकै थियो। नेपाल धर्तीको घामपानीले उहाँभित्रको संवेदनशील संसारलाई छोइरहेकै थियो। धेरै वर्षको अन्तरालमा कृष्णप्रकाश दाइ गैरआवासीय नेपालीको प्रथम सम्मेलनमा सहभागी हुन रुसका नेपालीको प्रतिनिधिमण्डलमा काठमाडौं आउनुभएको थियो। त्यो वर्ष उहाँको साहित्यिक जीवनयात्रामा एउटा विशेष सम्झनाको वर्ष पनि बनेको छ। मातृभूमिबाट भाग्यको लहरमा लहरिँदै भोल्गाको देशमा सारा जीवन बिताउनुपर्दा पनि उहाँले नेपाल र नेपालीलाई हृदयमा राखेर सम्झिरहेको कार्यलाई कदर गर्दै मदन पुरस्कार गुठीले ‘जगदम्बाश्री सम्मान’ प्रदान गरेको वर्ष थियो त्यो।

सन् २०१५ को दसैंको एक दिन सँगै भयौं। दोलखाका साहित्यकार अमर प्रधानले झम्सीखेलस्थित आफ्नै निवासमा केही साहित्यकारलाई निम्त्याउनुभएको थियो। डा. मधुकृष्ण श्रेष्ठ र म अलिक ढिलो पुग्यौं। रमेश विकल, कृष्णप्रसाद पराजुलीजस्ता वरिष्ठ साहित्यकारको हातबाट टीका ग्रहण गर्ने अवसर रोचक थियो। यस प्रकारको टीका ग्रहण गरिएको दसैं कृष्णप्रकाश दाइको जीवनमा विरलै हुन्छन्। त्यो दिन उहाँ धेरै खुसी हुनभयो। मास्कोमा यस्तो दसैं कहाँ पाउनु ? त्यो दिन उहाँ निकै भावुक देखिनुभयो। त्यस कार्यक्रमबाट बिदा हुने बेलामा उहाँले मलाई अँगाल्दै ‘नमरी बाँचे, दैवले साँचे फेरिफेरि भेट भइरहला, शुभकामना है !’ भन्दा प्रवासमा सिर्जनारत, अन्तरसांस्कृतिक परिवारमा बसेको एक नेपाली साहित्यकारको वेदनामिश्रित हार्दिकताले छोएको अनुभूति भयो।

पछिल्लो समय सम्झनामा रुस प्रकाशन गर्ने सिलसिलामा उहाँले हार्दिक साथ दिनुभएको थियो। यो पुस्तक हामी सातजना लेखकको साझा प्रयास थियो। त्यसमा कृष्णप्रकाश श्रेष्ठका तीनवटा संस्मरण छन्। कोभिडका कारण चाहेजस्तो लोकार्पण कार्यक्रम गर्न सकिएन। अन्ततः २४ मार्च २०२१ का दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रमुख आतिथ्यमा सो कार्यक्रम हुने नै भयो। सात लेखकमध्ये कृष्णप्रकाश श्रेष्ठ र जीवा लामिछाने विदेशमै हुनुहुन्थ्यो। दुवैजनाबाट लिखित मन्तव्य आउने निधो भएअनुसार पर्खिरह्यौं तर सधैं वचनमा पक्का कृष्ण दाइ यसपटक सम्पर्कविहीन हुनुहुन्थ्यो। पटक–पटक प्रयास गर्‍यौं, उतापट्टि मौनता थियो। कार्यक्रम सुरु हुनुभन्दा आधा घण्टाअगाडि मात्र थाहा भयो– कृष्णप्रकाश दाइ त एक सातादेखि भेन्टिलेटरमा हुनुहुँदो रहेछ। नेपाल–रुस साहित्य समाजका एक वरिष्ठ सल्लाहकारको त्यो अवस्था थाहा पाउँदा सुखद् कार्यक्रम एकाएक दुःखद् भयो। सबैको अनुहारमा कालिमा छाएजस्तो भयो। कार्यक्रम त सुरु गर्नु नै थियो। रुसी सांस्कृतिक केन्द्रका आगन्तुकलाई दुःखद् समाचार सुनाउँदै शीघ्र स्वास्थ्यलाभको कामना गरी भारी मनले कार्यक्रम सक्यौँ।

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रदान गर्ने प्राज्ञ साहित्य अनुवाद पुरस्कार मास्कोवासी अनुवादक एवं साहित्यकार कृष्णप्रकाश श्रेष्ठलाई प्रदान गर्ने घोषणा हुनासाथ फोन–बधाइ दिएको थिएँ। प्रतिष्ठानले साहित्यानुवाद विधामा स्थापना गरेको यो पहिलो पुरस्कारका पात्र छनोट एउटा सही निर्णय भएको कुलपति गंगाप्रसाद उप्रेतीलाई तत्कालै प्रतिक्रिया दिएको थिएँ। आगामी वैशाखमा पुरस्कार ग्रहण गर्न नेपाली आउँदा नेपाल–रुस साहित्य समाजले नेपाली लेखकहरूसँग भेटघाट र अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, काठमाडौं विश्वविद्यालय धुलिखेलमा काभ्रेली साहित्यकारसँग त्यस्तै अर्को भेटघाट राख्ने र त्यो दिन धुलिखेल दृश्य रिसोर्टमा भेटघाटको खुसियाली मनाउने योजना रहेको कुरा सुनाउँदा कृष्णप्रकाश दाइ साह्रै खुसी हुनुभएको थियो। विडम्बना नै भनौं कोभिड १९ को निर्मम आक्रमणले जीवनको अविस्मरणीय सुखद पल आउनै पाएन। 

केही दिनअघि रुसी विज्ञान तथा संस्कृति केन्द्रका उपनिर्देशक अलेक्सेई कोतल्यारोभ मास्को जाने मौका पारेर कृष्णप्रकाशलाई एउटा इलामे चियाको प्याकेट र सानो हस्तलिखित पत्रसहित दुईप्रति सम्झनामा रुस सम्झनास्वरूप पठाएको थिएँ। पछिल्लो कुराकानीमा उहाँले भन्नुभएको थियो– हिजोआज चियाको साटो कफी पिउन थालेको छु। दूधकफीको अम्मलै लाग्यो। रुसमा स्वादिलो चिया नै पाइँदैन। त्यसैले बेस्वादको फिका चिया खानुभन्दा दूधकफी नै खान थालेको हुँ। त्यही भेटमा हस्तलिखित पत्रको महत्वबारे पनि कुराकानी भएको थियो। उहाँले हस्तलिखित पत्रमा जस्तो इमेलमा जीवन्तता नै पाइँदैन भन्दै कहिलेकाहीँ लिखित चिठीहरू पनि आदानप्रदान गर्ने है जंगब भाइ भन्नुहुन्थ्यो।

यसपटकको चिठीमा लेखेको थिएँ– कुनै दिन मास्को आइएछ भने दाइसँग त्यही पार्कमा दिनभरि बसेर कुरा गर्ने रहर छ। बिहानीपख इलामे चियाको बास्नामा नेपालसँगै यो भाइलाई पनि सम्झिनुहुनेछ। तर त्यो भावुक पत्र र सम्झनाको कोसेली कृष्णप्रकाश दाइको हातसम्म पुग्नै भ्याएन। कस्तो विडम्बना जिन्दगीको ! नेपाल–रुस सांस्कृतिक सम्बन्धका अमर सारथि कृष्णप्रकाश श्रेष्ठलाई सशरीर भेट्ने छैनौं। उहाँ नेपाली र रुसी हृदयहरूमा सदासदा बाँचिरहनुहुनेछ। प्रिय कृष्णप्रकाश दाइ अलबिदा !

https://annapurnapost.com/story/177873/

No comments: