Tuesday, November 28, 2023

इन्द्रचोकको मायावी कथा

 सुरेश किरण

नेपाली प्राचीन इतिहासका अनेक किंवदन्ती बोकेर बाँचिरहेको छ– इन्द्रचोक । काठमाडौंको मायावी चरित्रलाई इन्द्रचोकसँग जोडिएका पुरातात्त्विक कथाहरूले अझै रहस्यमय बनाइदिएका छन् ।

भनिन्छ– ‘काठमाडौं’ नाम ‘काष्ठमण्डप’ बाट अपभ्रंस भएर बनेको हो । यसको स्रोत काष्ठमण्डप जीवितै छ । ०७२ को भूकम्पमा यो सम्पदा ढल्यो, अहिले ठड्याइएको छ । तर, ‘काठमाडौं’ हुनुअघि यस सहरको नाम ‘कान्तिपुर’ थियो । ‘कान्तिपुर’ नै सहरको पहिचान थियो ।

इन्द्रचोकको मायावी कथा

त्यसो त यस सहरलाई ‘कान्तिपुर’ अघि ‘पूर्णवती’, ‘गांगुलापत्तन’, ‘सुवर्ण प्रणाली नगर’ आदि नामले पुकारिन्थ्यो । तथापि मध्यकालमा सबैभन्दा धेरै प्रचलित नाम ‘कान्तिपुर’ थियो । भाषा वंशावलीअनुसार, ‘कान्तिपुर’ नाम ‘कान्तीश्वर महादेव’ बाट आएको हो । र, ऐतिहासिक कान्तीश्वर महादेव भएकै एक चोक हो– इन्द्रचोक ।

इन्द्रचोकमा धेरैले देखेकै मन्दिर हो– श्री आकाश भैरव, जसलाई स्थानीय नेवाः समुदाय ‘आजुद्यः’ भन्छन् । त्यही आकाश भैरवको भव्य मन्दिरसामुन्ने बीच सडकमा एउटा सानो खाल्डो छ । सामान्यतया कसैको ध्यान नजाने खाल्डोलाई हाल सानो रेलिङको बारले घेरिएको छ । खाल्डोभित्रको एउटा ढुंगा नै कान्तीश्वर महादेव हो । हेर्दा केवल ढुंगा हो, तर ढुंगा यति शक्तिशाली छ कि त्यसैको नाम सापटी लिई यस ऐतिहासिक महानगरको नामाकरण गरिएको छ । र, विडम्बना यो सहरको नाम जुन स्रोतबाट निःसृत छ, आज त्यो सडकबीचको एक ढुंगामै सीमित छ ।

वंशावलीमा लेखिएको छ– विसं ७८१ मा राजा गुणकामदेवले कान्तिपुर नगर बसाएका हुन् । त्यसो त यो तथ्यमा समयकाल र राजाको नाम नमिलेको भन्ने पनि इतिहासकारहरूको कथन छ । तैपनि धेरैको सहमति छ– कान्तिपुर नगर बनाउँदा सहरको सुरक्षार्थ आठ दिशामा आठवटै मातृका (अष्टमातृका) खडा गरी तिनै मातृकाले बोक्ने खड्ग आकारमा यो नगर निर्माण गरिएको थियो । आठ कोणवाला त्यो खड्गाकार सहरबीचमा रहेको भूभागचाहिँ इन्द्रचोक रहेछ । त्यसैले इन्द्रचोकलाई मध्यकालीन कान्तिपुर सहरको ‘सेन्टर’ मान्न सकिन्छ ।

इन्द्रचोकलाई ‘इन्द्रचोक’ नामबाटै चिनिन्छ । तर, यहाँ इन्द्रदेवको अस्तित्व छैन । यहाँ न इन्द्रको मूर्ति छ, न छ मन्दिर । तैपनि यो चोकलाई ‘इन्द्रचोक’ भनिनु अनौठो विषय हो । इन्द्रजात्राका बेला बर्सेनि काठमाडौंका विभिन्न चार स्थानमा काठका लामा खम्बाहरू उठाएर आसन बनाई इन्द्रको मूर्ति प्रदर्शन गर्ने चलन छ । ती चार स्थानमध्ये एक इन्द्रचोक हो । तर, इन्द्र–मूर्ति प्रदर्शनकै आधारमा यसलाई इन्द्रचोक भनियो भन्नु तर्कसंगत छैन । किनभने इन्द्रको मूर्ति प्रदर्शन गरिने अन्य स्थानलाई इन्द्रचोक भनिँदैन । बरु एउटा कथा छ, भन्छु है त– इन्द्रचोकमा कुनै बेला एउटा पोखरी थियो– कालमोचन पोखरी । जसले गुँला पर्वमा (भदौ–असोज महिनातिर) उक्त पोखरीमा स्नान गरी सँगैको जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ) को दर्शन गर्छ, उसले मृत्युपछि यमलोक जानुपर्दैन, सीधै सुखावती भुवनमा बास पाउँछ भने विश्वास गरिन्थ्यो । किंवदन्ती भन्छ– एक दिन उक्त कालमोचन पोखरीमा स्वयम् देवराज इन्द्र आई स्नान गरे र यस स्थानको नामै ‘इन्द्रचोक’ राखियो । तर, यो किंवदन्तीको तर्कमाथि पनि सन्देह गर्न सकिन्छ । किनभने कान्तिपुरका लागि ‘इन्द्रचोक’ पूरै नयाँ र आयातित शब्द हो । यसले यहाँको स्थान–नामसम्बन्धी दर्शनलाई बोकेको देखिँदैन ।

बरु वंशावलीहरूमा इन्द्रचोकबारे एउटा महत्त्वपूर्ण कुरा लेखिएको छ । कुनै बेला काठमाडौंमा बहने वाग्मती र विष्णुमती खोला एकापसमा जोडिने दोभान नै इन्द्रचोक हो । वाग्मती र विष्णुमती काठमाडौंको सभ्यता विकाससँग जोडिएका दुई महत्त्वपूर्ण नदीहरू हुन् । यी दुई नदी इन्द्रचोकमा आएर जोडिने र त्यसपछि एउटै नदी भएर बग्ने कुरा विभिन्न वंशावलीमा लेखिएको छ । त्यसैले यसलाई ‘ह्वंगः’ भनिन्थ्यो । स्थानीय नेपालभाषामा ‘ह्वंगः’ को अर्थ दोभान हुन्छ । विश्वास गरिन्छ– ‘ह्वंगः’ शब्द अपभ्रंस हुँदै ‘वंगः’ बन्न गएको हो । इन्द्रचोकको स्थानीय नेवाः नाम अहिले पनि ‘वंगः’ नै हो । कालान्तरमा त्यो दोभान सर्दै गएर अहिलेको टेकुसम्म पुगेको मानिन्छ ।

तर, वंशावलीले यसो भने पनि पुरातत्त्वले त्यो तथ्य मानेको छैन । किनभने इन्द्रचोकमा नदी हुनुको कुनै पनि अवशेष अहिलेसम्म भेटिएको छैन । बरु अहिले चुरा–पोते बेच्ने इन्द्रचोककै ‘राखी बजार’ मा ढुंगाका घडाहरू राखिएका छन् । घडालाई नेपालभाषामा ‘घः’ भनिन्छ । घडाहरूमा सधैंभरि लेउ लागिरहन्छ । लेउ लाग्नुलाई नेपालभाषामा ‘वथं गयेगु’ भनिन्छ । त्यसरी सधैं ‘वथं गयेगु’ भइरहने ‘घः’ भएकै कारण त्यसलाई ‘वंघः’ भनिएको र ‘वंघः’ नै कालान्तरमा ‘वंगः’ बन्न गएको कथन पनि छ । ढुंगाले बनाइएका घडाहरूकै आधारमा काठमाडौंका धेरै टोलको नाम रहन गएको छ । जस्तो : न्हूघः (जैशीदेवल क्षेत्र), नःघः (बांगेमुढा क्षेत्र), सीघः (त्यहीं सँगै), त्यंघः (नरदेवी क्षेत्र) आदि । वंघः तिनैमध्ये एउटा हो ।

इन्द्रचोकको सबैभन्दा आकर्षक र महत्त्वपूर्ण सम्पदा त्यहाँ अवस्थित आकाश भैरव (आजुद्यः) को मन्दिर हो । मन्दिरभित्र आकाश भैरवको शिर मात्रै भएको मूर्ति छ । यो शिरलाई पहिलो किराती राजा यलम्बरको शिर पनि भनिन्छ । नेपालको इतिहासमै सबैभन्दा लामो समय शासन गर्ने किरातवंश हो । उनीहरूले करिब आठ सय वर्ष राज गरे । पहिलो किराती राजा यलम्बरको नामबाटै ‘येँ’ शब्द उत्पत्ति भएको कथन छ । काठमाडौंको सबैभन्दा पुरानो नाम ‘येँ’ हो । उपत्यकावासीहरू अहिले पनि काठमाडौंलाई ‘येँ देय्’ भन्ने गर्छन् । यसरी काठमाडौंको नामकरणमै इन्द्रचोकको महत्त्वपूर्ण भूमिका छ ।

माथि भनिएझैं इन्द्रचोकमा इन्द्रको अस्तित्व देखिँदैन, तर भौगोलिक रूपले यो काठमाडौंको पुरानोमध्येकै एउटा महत्त्वपूर्ण चोक हो । विभिन्न ठाउँ आउ–जाउ गर्ने ६ वटा बाटो एकै ठाउँमा आएर मिसिएको छ– इन्द्रचोकमा । इन्द्रचोकले मखन टोल, असन टोल, वटु टोल, किलागल टोल, न्युरोड र च्वखाछेँ गल्लीसमेत गरी ६ वटा बाटालाई जोडेको छ । तीमध्ये मखनटोलबाट असन जाने सीधा बाटो लिच्छविकालीन ‘ट्रेड रुट’ हो । यो बाटाले प्राचीनकालीन काठमाडौंको माथिल्लो क्षेत्र यम्बु (कोलिग्राम) र तल्लो क्षेत्र याग्ल (दक्षिण कोलिग्राम) लाई जोडेको छ ।

इन्द्रचोकबाट न्युरोड जाने फराकिलो बाटोचाहिँ विसं १९९० को भूकम्पपछि मात्रै खोलिएको हो । भूकम्पपछि तत्कालीन श्री ३ महाराज जुद्धशमशेरले नयाँसडक बनाउँदा न्युरोड–इन्द्रचोक जोड्ने नयाँ बाटो खोलेका हुन् । नब्बे सालअघि त्यहाँ बाटो थिएन, स्थानीय जनताको घर–बारी थियो । हनुमानढोका दरबारको एउटा भाग पनि त्यहींसम्मै फैलिएको थियो । नयाँ बाटो खोल्न जुद्धशमशेरले आकाश भैरव मन्दिरसामुन्नेको एउटा सांस्कृतिक दबू (डबली) पनि हटाएका थिए । त्यस डबलीमा हरेक इन्द्रजात्रा पर्वमा कुमारीको रथयात्रा गर्दा देवीनाच (दीप्याखं) देखाउने चलन थियो । अहिले डबली रहेको त्यहि ठाउँमा भुइँमै दीप्याखं देखाउने गरिन्छ । यो बाटो बनाउन हनुमानढोका दरबार क्षेत्रको एउटा ठूलो भूभागलाई पनि प्रयोग गरिएको थियो । अहिले यो बाटोको नाम शुक्रपथ हो ।

न्युरोड निर्माणका बेला इन्द्रचोकको कान्तीश्वर महादेव पनि झन्डै पुर्न लागिएको थियो । स्थानीयवासीको पहलमा महादेव पुरिएनन्, तर पिचको सतह बढ्दा महादेव बास बसेको खाल्डो भने भुइँबाट निकै तल पुग्यो ।

राजा गुणकामदेवलाई देवी लक्ष्मीले सपनामा आएर इन्द्रचोकलाई बीचमा पारी नयाँ देश बनाउन आदेश दिएको प्रसंग वंशावलीमा छ । वंशावली भन्छ– आफू सदैव बास बस्ने भएकाले इन्द्रचोकमा दैनिक धेरै धन–पैसाको कारोबार हुन्छ भनेकी थिइन् रे लक्ष्मीले गुणकामदेवलाई । तर, इन्द्रचोक असनजस्तो विशुद्ध बजार होइन । यहाँ असनमाझैं नुनदेखि सुनसम्म किन्न पाइने बजार संरचना पनि छैन ।

इन्द्रचोकबाट पश्चिमतिर बढ्दा केल टोल पुगिन्छ । ‘केल टोल’ लाई ‘कोलिग्राम’ को अपभ्रंस शब्द मानिन्छ । भारतबाट आएका कोलीयहरू बसोबास गरेको ठाउँ भएकाले उक्त स्थानलाई कोलिग्राम भनिएको थियो । कोलिग्राम नै अहिलेको ‘केल टोल’ हो । अतः यो लिच्छविकालीन क्षेत्र हो ।

केल टोलकै नजिक किलागल टोल छ । किलागल टोलमा अझै नेवाः समुदायका ‘सापू’ र ‘म्येय्पू’ जातिका मानिसको बसोबास छ । सापू गाई पाल्ने र म्येय्पू भैंसी पाल्ने समुदाय हो । नेपालमा किरात वंशभन्दा अघि गाईपालक ‘गोपालवंशी’ र भैंसीपालक ‘महिषपालवंशी’ को शासन थियो । नेपालको प्राचीन इतिहासमा महिषपाल–वंश हटाएर किरात–वंश सुरु भएको र किरात–वंश हटाएर लिच्छवि–वंशको शासन सुरु भएको वर्णन छ ।

नेपाली प्राचीन इतिहासको प्रारम्भकालीन गोपाल, महिषपाल, किरात र लिच्छविकालको सजीव किंवदन्ती बोकेर बाँचिरहेको छ– इन्द्रचोक । यो चोकमाथि कुनै पुरातात्त्विक खोज त गरिएको छैन । तर, काठमाडौं सहरको मायावी चरित्रलाई इन्द्रचोकसँग जोडिएका पुरातात्त्विक कथाहरूले अझै रहस्यमय बनाइदिएका छन् ।

https://ekantipur.com/koseli/2021/07/31/162769852565379067.html

No comments: