Wednesday, November 29, 2023

सत्यहरूको राजमार्गमा सत्यमोहन

 कात्तिक ५, २०७९ शनिबार ११:४७:०

डा. गीता त्रिपाठी


उमेरका हरेक पत्रमा हरियो इतिहास लेखेर गए उनी। उनका निधारका चार रेखा नेपाली संस्कृतिका चार पाउ झैं लाग्छन् मलाई। यिनै पाउबीच उनले रचेका श्लोकहरूमा सहभावको बलियो उपस्थिति रह्यो। कर्णाली टेकेर बागमतीको सरसत्ता ब्युँझाउने उनले नेपाली जीवनको सर्वोच्चताको खास कारक पहिल्याएर नेपाली लोकसंस्कृतिको जीवन्तताका निम्ति आफूलाई समाहित गरे। नेपाली संस्कृतिको उत्थानमा उनले उठाएको भारी आजीवन बिसाएनन्। बरु उनले त्यस भारीभित्र निरन्तर अवलोकन र अध्ययनले बाँधेर राखेको समाज निसन्देह विस्तृत थियो।

विस्तारित नेपालको साझा मुटु प्रत्येक नेपालीको ढुकढुकीमा धड्केको हेर्न चाहने सांस्कृतिक दृष्टि थियो जोशीसँग। उनले टेकेको मञ्च र उनले छोएको विषय सांस्कृतिक भोक मेट्न र सामाजिक सद्भाव उमार्न अचुक औषधि हुने गरेको थियो। उनी ससाना पहेँलीहरूका सूत्रलाई व्याख्या गर्दागर्दै सिंगो नेपाली राष्ट्रियता फुकाइसक्थे। इतिहासका गौरवहरूलाई भावकका नसानसामा उतारिसक्थे। उनले बाँचेको समयको गतिमा जति नै उतार चढाव आओस्, उनको दत्तचित्त कर्मपथको पदचापमा कुनै परिवर्तन आएन। नेपाली राजनीति र यसका अनेकथरी अभ्यासहरूले उनका सपनालाई बाधा त दियो नै तर उनको लक्ष्य कहिल्यै डग्मगाउन सकेन। उनी मानव जातिका निम्ति एक आदर्श यात्री थिए। इतिहासमा उनको स्थान त्यसरी नै सम्बोधित भइरहनेछ।

१९९५/९६ सालतिरको कुरा हो। रणमुक्तेश्वर मन्दिरको प्रवेशद्वारकै छेउमा गणेशचाको चिया पसल थियो, सामान्य खाजा पसल। ऊ धेरै पढेलेखेको त थिएन तर पनि आफ्नै रुचिले नयाँ कुरा जान्ने सिक्ने उत्साह राख्ने स्वभावको थियो। चालेर मसिनो बनाएको बालुवा तताएर त्यसमाथि पटपटी फुट्ने गरी भुटेर उनले बनाएको खास किसिमको भटमासको खाजा धेरै प्रख्यात थियो। धेरै मानिस त्यहाँ आउँथे। खाजा एक दुई पैसामा खान पाइन्थ्यो, धेरै पैसा त हुँदैनथ्यो पनि। अनि त्यहीं भवानी भिक्षु, सिद्धिचरण, गोपालप्रसाद रिमाल, विजय मल्ल, गोविन्द मल्लहरू सधैंजसो आउँथे। एक प्रकारले त्यो भेटघाटको जङ्सनजस्तै थियो। रत्नध्वज जोशी पनि त्यहाँ आएर आफूले लेखेका कुरा सुनाउँथे। उनले आफ्नै रुचिले तुलसीकृत रामायणलगायत कृतिका बिम्बहरू टिपेर राम्रा सिर्जनात्मक क्षमता बढाएका थिए। यो देखेर सबैजना यो बाहुन र पण्डितले पनि नभ्याउने काम कसरी एउटा नेवारले गर्न सकेको भन्थे ! यसरी एउटा सुन्ने र सुनाउने माहोलको सामान्य विकास भटमास खाने बहानामा बनेको थियो। यही ऐतिहासिक माहोलका एक होनहार सदस्य थिए, सत्यमोहन जोशी। प्रस्तुत सन्दर्भ उनैको सौजन्यबाट प्राप्त भएथ्यो।

नेपाली राजनीतिको सबैभन्दा कठिन समय मानिएको राणा शासनकालको नांगो स्पर्श गर्नेमध्येका एक थिए उनी। त्यस्ता दिनहरूमा समेत अक्षरको उज्यालो र शब्दको शक्ति नियाल्न पाएका थिए उनले। उनी भन्थे, कवितामा जस्तो आवेग, संवेग र सम्प्रेषणीयता त्यो समय अरु विधाले ग्रहण गर्नसकेका थिएनन्। नेवारी भाषामा रचिएको ‘वर्षा’ शीर्षकको कवितामा क्रान्ति शब्दको पहिलो प्रयोग गर्ने सिद्धिचरणलाई निरंकुश शासनसत्ताले जेल हालेको प्रसंग उनी बारबार सुनाइरहन्थे। उनका अनुसार श्रेष्ठको त्यो कविता मातृभाषामा लेखिएको थियो। त्यस कविताका कारण कविलाई प्रतीकात्मक रूपले राणा शासनका विरुद्धको क्रान्तिलाई उजागर गरेको आरोप लागेको थियो।

वर्षाअघिको मेघको गर्जन र गड्याङ्गुडुङलाई वर्षाको कारकका रूपमा चित्रण गरिएको थियो। वर्षापछिको समय धर्तीमा शान्ति र हरियालीको समय हुने हुनाले वर्षालाई क्रान्तिको प्रतीक मानी त्यो कविता लेखिएको थियो। त्यस कवितामा वर्षाको वर्णन गर्दै अन्तमा बिजुली चम्केजस्तै क्रान्ति गरेपछि मात्रै यो देशमा परिवर्तन ल्याउन सकिने र त्यसका निम्ति यो देशमा क्रान्ति आवश्यक छ भन्ने भाव उक्त कविताको अन्तिम सारका रूपमा प्रकट भएको थियो। जोशीले अन्तर्वार्ताका क्रममा त्यस कविताको उक्त श्लोक यस्तो रहेको पंक्तिकारसँग बताएका थिए :
... क्रान्तिबिना थन दई मखु स्वच्छ शान्ति
 शान्तिबिना थन हनं छु मज्विगु भ्रान्ति (१९९४)

जोशीका अनुसार ‘क्रान्ति’ भन्ने शब्द १९९७ सालभन्दा अघि पहिलोपटक यही कवितामा प्रयोग भएको थियो। त्यस कवितालाई नेवारी भाषाको एउटा संकलन कृति ‘नेपाली विहार’मा सिद्धिचरण श्रेष्ठका समकालीन फत्तेबहादुर सिंहले भारतको बेतियातिरबाट प्रकाशन गरेर ल्याए। त्यसपछि राणा सरकारले यसलाई आफ्नो शासनमाथि व्यंग्य गरेको, क्रान्ति गरेर हाम्रो गद्दी खोस्छु भनेको भन्दै त्यसका लेखकलाई १९९७ सालको पर्वमा सर्वस्वहरणसहित १८ वर्ष कैदको सजाय सुनाएको थियो। प्रकाशक फत्तेबहादुरलाई त सर्वस्वसहित जन्मकैद नै सुनाइएको थियो। उनीहरू आठ÷नौ वर्ष जेल बसेर पछि छुटेका हुन्। त्यति एउटा ‘क्रान्ति’ भन्ने शब्दले प्रगतिवादी भन्ने आरोप लागेर यत्रो कारबाही भएको थियो। जोशीले नै पछि यो कविता नेपालीमा अनुवाद गरेर प्रकाशनका निम्ति दिएको बताएका थिए। यस तथ्यबाट जोशीका हृदय र मस्तिष्कमा मडारिरहेको स्वतन्त्रताप्रतिको आँधी पुष्टि हुन्छ। नेवारी भाषामा रहेको कवितालाई नेपाली भाषामा अनुवाद गरी आममानिसमा क्रान्तिचेत जगाउने उनको ध्येयले त्यस समाजलाई प्रभाव पक्कै पारेको थियो।

लोकसंस्कृति र लोकसाहित्य जोशीका रुचिका क्षेत्र हुन्। नेपालको मौलिक परिचय यसैमा छ। विदेशी प्रभावमा हाम्रा महत्त्वपूर्ण जीवनशैली हराउँदै जाला भन्ने भयले उनलाई सधैं लोकसाहित्य र संस्कृतिको नजिक पुर्‍याइरहन्थ्यो।

सत्यमोहन जोशी परम्परालाई आधुनिकतासँग जोडिरहने क्रममा इतिहासको निरन्तरताका पक्षमा लागि परेका आरोही हुन्। उनी नेपाली संस्कृतिको अपार परिवेशमा जन्मी हुर्केका व्यक्ति। बाल्यकालदेखि नै जीवनशैलीका रूपमा आफूले पाएको विराट जात्रापर्वलगायतका सांस्कृतिक सहभागिताले यसतिर अटुट नाता बनाइदिएको उनले स्विकारेका छन्। नेवारी संस्कृतिमा अनेक लोककथा र लोकनाटकसँगै लोकगीत र गाथाका आधारमा हुने जात्रापर्वले उनलाई उत्साहित बनाइरहेको बोध जीवनपर्यन्त थियो।

बाल र युवा उमेरमा हुँदा यस्ता पर्वहरूमा पाएका सामूहिक सहभागिताले आफूलाई आकर्षित मात्र होइन, प्रभावसमेत पारेको उनले बताएका थिए। उनले आफ्नो शताब्दी उत्सवका अवसरमा दिएको अन्तर्वार्तामा भनेका छन्, ‘मेरो जन्म र हुर्काइको आज पनि त्यही परिवेश छ, आज पनि म ओझेलमा परेका सांस्कृतिक पर्व नै नेपालको खास मौलिक परिचय भएकाले यतातिर सकेसम्म सबैको ध्यान पुग्नुपर्ने कुरामै जोड दिइरहेको छु। नेपालको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै यहाँको प्रकृति र त्यस अनुकूलको संस्कृति हो। मेचीदेखि महाकालीको यो रोचक भौगोलिक परिवेशमा कति धेरै जातजातिका अनेक जनजातिका सांस्कृतिक विविधता छन्। यी सबैभित्र नेपालीको राष्ट्रिय स्वाभिमान र मौलिकता छ। यी हाम्रा निम्ति अमूल्य सम्पत्ति हुन्। नेपालीपन भन्नु वा नेपाली राष्ट्रिय गौरव भन्नु यिनै संस्कृतिभित्र छ।’

लोकसंस्कृति र लोकसाहित्य जोशीका रुचिका क्षेत्र हुन्। नेपालको मौलिक परिचय यसैमा छ। विदेशी प्रभावमा हाम्रा महत्त्वपूर्ण जीवनशैली हराउँदै जाला भन्ने भयले उनलाई सधैं लोकसाहित्य र संस्कृतिको नजिक पुर्‍याइरहन्थ्यो। सुरुमा जातीय लोक संस्कृतिका विभिन्न पर्वजात्राका रमाइला सहभागिताबाटै यस क्षेत्रमा आकर्षित भएका थिए उनी। पाटनको नेवारी परिवेशले उनलाई अभिनय र गायनका माध्यमबाट लोकसंस्कृतिसँग अन्तरंग बनाइसकेको थियो। पछि जब आफ्नो पहुँच बनाउन सक्ने सम्भावना देख्नेबित्तिकै उनी यसतिर बाटो खनेरै हिँडे। उपत्यकामा जन्मी हुर्केको मान्छे तर उनलाई भाका मात्र लोकगीत हो भन्ने कुरा गलत लाग्थ्यो।

लोकगीतका खास गेडा खोज्न सम्बन्धित लोकले बाँचेको स्थानीय परिवेशमै पुग्नुपर्छ भन्ने उनको मान्यता थियो। जागिरे जीवनका सिलसिलामा जुन गाउँ परिवेशमा पुग्ने अवसर उनले पाए, त्यहाँका लोकगीतहरू संकलन गरेर संरक्षण गर्न थाले। हाम्रा प्रत्येक संस्कृतिमा लोकगीतको ठूलो भूमिका छ भन्ने उनले मनन गरिसकेका थिए। लोकसाहित्य र लोकसंस्कृतिको अन्योन्याश्रित सम्बन्ध उनले पक्रिसकेका थिए। उनले यसलाई हाम्रो लोकसंस्कृति (२०१३) कृतिमा प्रस्तुत गरेपछि बल्ल लोकसंस्कृति भनेको लोकगीत पनि हो भनेर हेर्न थालियो। उनको उद्देश्य पनि लोकसंस्कृति र लोक साहित्यको यही सहसम्बन्ध प्रस्तुत गर्नु थियो। उनको मुख्य कार्यक्षेत्र नै लोकगीत र लोकनाटकका माध्यमबाट नेपाली लोक संस्कृतिको अध्ययन गर्नु रहेको देखिन्छ।

तीन पटकसम्म मदन पुरस्कार पाएका जोशी त्यस पुरस्कार पाउँदाको अनुभूतिबारे जिज्ञासा राख्दा आफू खुबै रमाएको बताउँथे। मदन पुरस्कारका निम्ति भनेर होइन, नेपाली लोक संस्कृति, राष्ट्रिय पहिचानको खोजी र संरक्षण गर्ने विशुद्ध सोचले लागिपरेका थिए उनी। चुनौती त्यत्तिकै थियो। अलिकति मात्र पनि मनले संशय लिएको भए काम गर्न सकिने भौतिक र भावात्मक अवस्था नहुन सक्थ्यो। यस्ता परिस्थितिबीच गरेका कामको सही मूल्यांकन भयो भन्ने लागेर उनी उत्साहित थिए। उनले पहिलो पटक मदन पुरस्कार पाइरहँदा एकातिर कवि शिरोमणि लेखनाथ पौड्याल र अर्कोतिर विद्वान् पण्डितराज सोमनाथ सिग्द्याल थिए। उनीहरूले नै महारानी जगदम्बाका अघि लगेर हाम्रो लोकसंस्कृति लेख्ने विद्वान् यिनै हुन्, उनैलाई नै मदन पुरस्कार दिने निर्णय भएको छ भनेर चिनाए।

त्यसपछि जोशीले महारानीबाट पुरस्कार थापे। अनि त्यसबेलाको चलनअनुसार उनलाई सम्मान दिएर फेरि आफ्नो ठाउँमा लगेर राखिदिएका थिए। पछिल्लो मदन पुरस्कार आफूले मात्र नभएर आफ्नो समूहले नै पाएको, यसले सामूहिक कामको महत्त्वलाई पनि सकारात्मक सन्देश गएको मान्थे उनी। कर्णाली यात्रा र त्यसभेगका लोकसंस्कृति माथिको अनुसन्धानको बहुआयामिक पक्ष र योगदान तथा त्यसका निम्ति गरिएको सामूहिक कार्यलाई प्राथमिकतामा राखी सम्बोधन गर्ने जोशी साझा सहभागिता र दिगो विकासका पक्षधर थिए। यही कार्यशैलीमा उनी चुनौतीपूर्ण काम गर्न रुचाउने व्यक्तित्व बने।

नेपाली राजनीतिको सबैभन्दा कठिन समय मानिएको राणा शासनकालको नांगो स्पर्श गर्नेमध्येका एक थिए जोशी। त्यस्ता दिनहरूमा समेत अक्षरको उज्यालो र शब्दको शक्ति नियाल्न पाएका थिए उनले। उनी भन्थे, कवितामा जस्तो आवेग, संवेग र सम्प्रेषणीयता त्यो समय अरू विधाले ग्रहण गर्न सकेका थिएनन्।

पहिलो पटकको जस्तो वैभवपूर्ण उपस्थिति, व्यवस्थापन र वैठकको ढाँचा अरू पटकका मदन पुरस्कार सभामा आफूले देख्न नपाएको बताउँथे उनी। उपस्थिति मात्र व्यापक थिएन, प्रतिस्पर्धा पनि अत्यधिक थियो। त्यत्रो प्रतिस्पर्धामा पनि नेवारहरू दुई जना मात्र परेका थिए, चित्तरञ्जन नेपाली र उनी स्वयं। नम्बर वानमा चाहिँ आफू नै रहेको बताउँदा उनका अनुहारमा खिचिएका धर्काहरू बिहानी घामका किरणझैँ उज्यालिएका देखिन्थे। पछिल्लो समय मदन पुरस्कार समारोहको त्यो शैली फरक हुँदै गएको अनुभव थियो उनको।

जन्म शताब्दीका अवसरमा उनका नाममा हुलाक टिकट प्रकाशित भयो। यो एक व्यक्तिका निम्तिभन्दा पनि नेपाली जनताका निम्ति सम्मानको विषय हो भन्ने अर्थपूर्ण प्रतिक्रिया दिएका थिए जोशीले। भनेका थिए, ‘म जनताको प्रतिनिधि हुन पाएँ, खुसीको कुरा हो। राजतन्त्रबाट गणतन्त्रमा आएको संघीय व्यवस्थाको मौलिक नीतिअन्तर्गत गणतन्त्रका आफ्नै मौलिक नीति हुन्छन्। अन्य क्षेत्रमा जस्तै देशको मौद्रिक क्षेत्रमा पनि गणतन्त्रान्त्रिक नेपालको यो मौलिक पहिचान हो। जनताका पक्षमा गरिएको यो एउटा महत्त्वपूर्ण निर्णय हो। जनताले राष्ट्रप्रति केही गुण लगायो भनेर नै राज्यले यो सम्मान दिएको हो। राजा वा देवदेवीका नाममा मात्र प्रकाशित हुने देशको मुद्रा व्यवस्थामा शासकका नामबाट व्यक्तिका नाममा आउनु पूर्ण गणतन्त्रको प्राप्तिको अनुभूति पनि हो। सार्वभौमसत्ता जनतामा आएको एउटा प्रमाण पनि यो मुद्रा हो।’

यसरी उनले देशको राजनीतिका विविध आयाम र आयामभित्रका अनेक संघर्षणलाई प्रत्यक्ष अनुभव गरे। ती अनुभव कति कठोर र कति कोमल रहे, त्यसको हिसाबकिताब उनले राखेनन्। उनका निम्ति आफ्नै गोडाप्रतिको भर अनमोल थियो र जहानको प्रेम–शक्ति असीम थियो। यी दुवैले उनको आत्मबललाई सदैव लोभलाग्दो बनाएको हुन्थ्यो। जोशीले कैयौं अमूक क्षण भोगे। कैयौं क्रान्ति गरे, झेले। क्रान्तिका कैयौं कविता सुने, सुनाए। यहाँलाई मन परेको कविता कुन थियो भन्ने प्रश्नको जवाफमा तर उनले भनेका थिए, मलाई लेखनाथ पौड्यालको ‘जय जगदीश्वर’ कविता नै कण्ठस्थ आउँछ। पद्य लयमा लेखिएकाले वाचन गर्न पनि आनन्द लाग्छ।’

कविताको अर्थै नबुझ्दा नै उनले कण्ठ पारे यो कविता। उनलाई यस कविताले सबै जीवको अस्तित्वलाई समान रूपमा बोध गरेको छ भन्ने लाग्थ्यो। आध्यात्मिक चिन्तनको यही स्पर्शले उनलाई बारम्बार छोइरहन्थ्यो। जस्तै नास्तिकको अगाडि पनि उनलाई यो कविता वाचन गर्दा एउटा रहस्यमय बेग्लै आभास हुन्थ्यो। उनलाई लाग्थ्यो, ‘यो संसारलाई घुमाउने चलाउने कोही केही शक्ति त छ नि ! त्यो स्रष्टालाई जे जे कल्पित नाम दिए पनि त्यो एउटा कस्मिक इनर्जी त हो नि। त्यही शक्तिको आराधनामा लेखिएको जय जगदीश्वर कविताले विश्वस्रष्टाको छेउ पुर्‍याएको अनुभव हुने हुँदा मभित्र यसले रमणीय भाव उमार्छ।’
कविताको रमणीयता पक्रेर जीवन चुनौतीको लयमा हिँडाउने साधक पथिकप्रति अजस्र श्रद्धासुमन !!!

https://annapurnapost.com/story/215228/

No comments: