Tuesday, November 28, 2023

काष्ठमण्डपअघिको ‘काष्ठमण्डप’

 सुरेश किरण

आउँदो साता काष्ठमण्डपमा ‘पङ्जा’ दान गरिन्छ । अनुष्ठान गरिएको ‘पङ्जा’ अर्थात् चामलको भात मरु सतः भित्रै पकाइन्छ– तामाको ठूलो खासीमा, ग्यासमा होइन दाउरा बालेर ।

काठमाडौंको मध्यभागमा अवस्थित छ– काष्ठमण्डप । काठमाडौंमा यो जत्तिको रहस्यमय वा अलौकिक किंवदन्तीले भरिएको स्मारक सायदै अर्को होला । न यो मन्दिर हो, न गुम्बा, न चैत्य, न पाटी । स्थानीय बोलिचालीमा सत्तलै (मरु सतः) भनिए पनि यसको नापनक्सा भने न सत्तलजस्तो छ, न यसको रूप नै ।

खस नेपालीमा यसलाई ‘काष्ठमण्डप’ भनिए पनि स्थानीय नेवार भाषामा ‘मरु सतः’ भनिन्छ । काष्ठमण्डपको अनूदित शब्द मरु सतः होइन । तथापि भाषाविज्ञानले भन्छ– संस्कृतको ‘मण्डप’ शब्द नै नेपालभाषामा ‘मण्डु’ हुँदै ‘मरु’ हुन गयो । त्यसो त ‘मण्डप’ लाई जनाउने नेपालभाषाको आफ्नै मौलिक शब्द ‘मन्दः’ पनि प्रचलनमा छ ।

जे होस् शब्दविन्यास खोतलखातल पार्दा त्यहाँ एउटा मण्डप वा मन्दः अस्तित्वमा रहेको र त्यो मण्डप काठबाट निर्मित थियो भन्ने साँगोपाँगो तस्बिर निकाल्न सकिन्छ । अब प्रश्न उठ्छ, त्यहाँ यदि काठले बनाइएको कुनै मण्डप थियो भने त्यो अहिले कहाँ छ ?

काष्ठमण्डपको ठीक पछाडि पिगंननी भन्ने एउटा स्थान छ । त्यहाँ बसोबास गर्ने स्थानीय ताम्राकार समुदायको दाबी छ– काष्ठमण्डप भनेर जुन संरचनालाई जनाउने गरिन्छ, त्यो वास्तवमा अहिले ठडिएको ‘मरु सतः’ होइन । काष्ठमण्डप भन्ने चीज नै छुट्टै छ ।

हरेक वर्ष भाद्र कृष्ण त्रियोदशीका दिन काठमाडौंका बौद्ध नेवाः समुदायले एउटा विशिष्ट पर्व मनाउँछन्, जसलाई पञ्चदान भनिन्छ । अहिले पञ्चदान भन्न थालिए पनि यसको सही उच्चारण ‘पञ्जरां’ हो । ‘पङ्जा’ र ‘दान’ शब्द मिलेर ‘पञ्जरां’ बनेको हो । नेपालभाषामा ‘जा’ को अर्थ भात हुन्छ । पुण्य लाग्ने भातलाई ‘पङ्जा’ भनिन्छ । त्यस्तो पूण्य लाग्ने भात अर्थात ‘पङ्जा’ दान दिइने पर्व भएकाले यसलाई ‘पञ्जरां’ भनिएको हो ।

यस वर्ष आउँदो भदौ २६ गते मंगलवार यो पर्व परेको छ । त्यस दिन यो ‘पङ्जा’ दान गरिन्छ । तर, हेर्दा सामान्य भातै भए पनि यो पकाउने विधि र दान दिने विधि छुट्टै छ । यो पङ्जा दान गर्न स्थानीय ताम्राकार समुदायको एउटा गुठी पनि छ, जसलाई ‘तःचतं गुठी’ भनिन्छ । यो गुठीले दान गर्ने ‘पङ्जा’ नामक यो भात अरू ठाउँमा पकाउनु हुँदैन । यो मरु सतः (अर्थात् काष्ठमण्डप) भित्रै पकाउनुपर्छ । त्यो पनि दाउराको दनदनी आगोमा । तामाको ठूलो खासीमा यो भात पकाइन्छ । भात पकाउनु एक दिनअघि गुठियारहरूले घर–घरबाट ल्याएको चामललाई विशेष तान्त्रिक पूजा गरिन्छ र एक रात ‘स्वनेगु’ (अनुष्ठान) गरी राखिन्छ । भोलिपल्ट त्यही अनुष्ठान गरिएको चामलको भात पकाइन्छ । भात पाकेपछि पञ्जरांका दिन मरु सतः बाहिरपट्टि २०–२० फिट लामो काठका चारवटा दलिनहरू भुइँमा एकआपसमा जोडिने गरी बिछ्याएर आयताकार बनाइन्छ । त्यसलाई मण्डप भनिन्छ । काठका दलिनहरू जोडेर बनाइने भएकाले यसलाई ‘काष्ठमण्डप’ पनि भनिन्छ ।

तःचतं गुठीका गुठियार रजनी ताम्राकारको दाबी छ– वास्तविक काष्ठमण्डप भनेको यही हो । अहिले निर्माण गरिएको संरचना खासमा काष्ठमण्डप होइन । अहिले काष्ठमण्डप बनाइएको ठाउँमा पहिले कुनै संरचना नहुँदा त्यहाँ यही काठका दलिनहरू जोडेर ‘काष्ठमण्डप’ बनाउने गरिन्थ्यो । र, त्यही ‘काष्ठमण्डप’ भित्र आसन गरी पञ्जरां (अर्थात् पञ्चदान) प्रदान गरिन्थ्यो ।

रजनी ताम्राकारका ९० वर्षे बुबा प्रसिद्ध कलाकार चिनीकाजी ताम्राकारको पनि यही तर्क छ । उनी भन्छन्, ‘अहिले काष्ठमण्डप बनाइएको ठाउँमा पहिले अर्कै कुनै संरचना थियो । त्यो संरचनालाई भत्काएर वा त्यसैलाई थपथाप गरेर अहिलेको संरचना बनाइएको हो । वास्तवमा अहिले काष्ठमण्डप बनाइएको ठाउँमा पहिले अर्कै संरचना वा स्मारक थियो भन्ने विषयमा विद्वान्हरू पनि सहमत छन् । ‘हनुमानढोका दरवार’ पुस्तकका लेखक डा. गौतमवज्र वज्राचार्यका अनुसार, अहिले काष्ठमण्डप बनाइएको स्थानमा पहिले अर्कै कुनै सार्वजनिक स्थल थियो । त्यही स्थलमा पछि काष्ठमण्डप बनाइएको हो ।


काष्ठमण्डप बन्नुअघि त्यहाँ के संरचना थियो ? जान्नेहरू भन्छन्– सार्वजनिक भेला र छलफल हुने कुनै चपाः थियो । चपाः भत्काएर काष्ठमण्डप बनाइयो ।


पहिलेपहिले काष्ठमण्डप निर्माण भएको करिब ७०० वर्ष जति भयो भनेर इतिहासमा पढाउने गरिन्थ्यो । तर, २०७२ सालको शक्तिशाली भूकम्पमा जब काष्ठमण्डप पूरै ढल्यो, तब बेलायतको दुरहाम विश्वविद्यालयले यसको जगसम्मै पुगेर पुरातात्त्विक अध्ययन गर्‍यो । यो अध्ययनले के पत्ता लगायो भने वर्तमान काष्ठमण्डपको जग सन् ६४० देखि ६७० को बीचमा बनाइएको थियो । अर्थात्, आजभन्दा करिब १३०० वर्षअघि यसको निर्माण भएको देखिन्छ । सोही अध्ययनले यो पनि पत्ता लगाएको थियो कि इपू १०५० तिर काष्ठमण्डप भएको क्षेत्रमा कृषि र वन फँडानीको काम भएको देखिन्छ । इसाको पहिलो शताब्दीतिर यो ठाउँमा ग्रामीण भूधरातलबाट सहरी भूधरातल सुरु भएको देखिन्छ । अर्थात् काष्ठमण्डपको जग बन्नुभन्दा करिब ७०० वर्षअघि नै सो ठाउँमा मानव बस्ती सुरु भइसकेको अनुमान लगाउन सकिन्छ ।

अब काष्ठमण्डप बन्नुअघि त्यहाँ के संरचना थियो त ? डा. गौतमवज्र वज्राचार्यका अनुसार, त्यहाँ सार्वजनिक भेला हुने, छलफल गर्ने कुनै चपाः (सार्वजनिक पाटीजस्तो) संरचना हुनुपर्छ । पछि त्यही चपाःलाई भत्काएर त्यहाँ काष्ठमण्डप ठड्याएको हुनुपर्छ ।

फादर जोन के. लकले आफ्नो पुस्तक ‘बुद्धिस्ट मोनास्ट्रिज अफ नेपाल’ मा काष्ठमण्डप बन्नुभन्दा पहिले त्यहाँ कुनै बौद्ध विहार रहेको हुनुपर्छ भन्ने अनुमान गरेका छन् (पृ. ४१७) । उनले उक्त विहारको नाम ‘काष्ठमण्डप विहार’ रहेको भनी आफूलाई बताइएको पनि पुस्तकमा उल्लेख गरेका छन् ।

तःचतं गुठीका अर्का गुठियार स्वतन्त्र ताम्राकारले पनि उक्त स्थानमा २००० वर्षअघि विहार नै रहेको दाबी गरेका छन् । उनले तर्क छ– काष्ठमण्डपको पश्चिम द्वारमा अहिले पनि दुइटा सिंहका मूर्ति कायम छन् । सत्तलमा त्यस्तो सिंहको मूर्ति राखिँदैन । सत्तल भनेको चारैतिर खुला हुन्छ । विहारको द्वारमा चाहिँ सिंह राखिएको हुन्छ । काष्ठमण्डपको सिंह सोही विहारको अवशेष हुन सक्छ । काष्ठमण्डपबाहिर एउटा गन्धकुटी पनि छ । गन्धकुटी भनेको विहारकै एक अंग हो । उक्त गन्धकुटीमा पद्मपाणी लोकेश्वर (रातो मत्स्येन्द्रनाथ) को मूर्ति छ । रातो मत्स्येन्द्रनाथको मूर्ति यसरी बाहिर राख्ने गरिँदैन, त्यो कुनै विहार भित्रै मात्र राख्ने गरिन्छ । सोही ठाउँमा रहेको अर्को बौद्ध विहार श्रीखण्डतरुमुल महाविहारका सदस्य मञ्जुश्रीवज्र वज्राचार्यका अनुसार, उक्त पद्मपाणी लोकेश्वर श्रीखण्डतरुमुल विहार अन्तर्गत पर्दैन । यसबाट प्रमाणित हुन्छ– ‘काष्ठमण्डप विहार’ भत्काउँदा त्यहाँभित्र रहेको लोकेश्वरको मूर्तिलाई बाहिर स्थानान्तर गरी राखिएको हुन सक्छ ।

उपत्यकामा बौद्ध विहारहरू भत्काएर त्यहाँ अन्य संरचना बनाउने काम लिच्छविकालमै पनि धेरै भएका छन् । पाटन दरबार क्षेत्रमा दुई वर्षअघि भेटिएको एउटा शिलापत्रमा पनि अंशुवर्माको पालासम्म सो ठाउँमा बौद्ध विहार रहेको उल्लेख गरिएको थियो । पछि विहार भत्काएर दरबार बनाइयो ।

०७२ को भूकम्पमा ढलेको काष्ठमण्डप पुनर्निर्माण गर्दा यस स्मारकको जीर्णोद्धार वा पुनर्निर्माण योभन्दा पहिले पनि धेरै पटक भइसकेको पत्ता लागेको थियो । र, हरेक पटक जीर्णोद्धार हुँदा यसको स्वरूप पनि पहिलेभन्दा फरक हुनुका साथै बढेर पनि आएको देखिन्छ । काष्ठमण्डपको अहिलेको जुन संरचना छ, त्यो करिब बाह्रौं शताब्दीतिरको हो । त्यसअघि त्यहाँ अर्कै स्वरूपको र अहिलेभन्दा केही सानो आकारको संरचना थियो भन्ने त्यहाँको उत्खननबाट थाहा भएको छ ।

अब जहाँसम्म जोन के. लकले उल्लेख गरेको ‘काष्ठमण्डप विहार’ को प्रसंग छ, हालको काष्ठमण्डपभन्दा पहिले त्यहाँ यदि कुनै विहार थियो भने त्यो विहारको सम्बन्ध पञ्जरांका दिन दान प्रदान गर्न बनाइने काठका दलिनहरूको ‘काष्ठमण्डप’ सँग हुनु स्वाभाविकै भयो । तःचतं गुठीले उक्त दिन भात पकाउन प्रयोग गर्ने तामाको खासीमा नेपाल संवत् १ उल्लेख गरिएको छ । अहिले नेपाल संवत् ११४३ हो । अहिले उक्त गुठीले काष्ठमण्डपभित्र दाउरा बालेर भात पकाउन त छोडिसक्यो । अहिले डेक्चीमा ग्यासले भात पकाउने गरिन्छ । तर, त्यो भात अहिले पनि काष्ठमण्डपभित्रै पकाइन्छ । भात पकाइसकेपछि दान गर्न काठका दलिनहरू जोडेर ‘काष्ठमण्डप’ बनाउने काम अहिले पनि जारी छ । दान लिन आउने शाक्य वज्राचार्य कुलपुत्रहरूलाई सोही मण्डपभित्र बसाइन्छ र दान गरिन्छ । उक्त ‘पङ्जा’ ग्रहण गर्न उपत्यकाका चार करुणामय (जनबहाःद्यः, नाला करुणामय, चोभाः करुणामय र बुंगद्यः) लगायत स्वयम्भू भगवान्लाई समेत निमन्त्रणा गर्नुपर्छ । अहिले अरू करुणामयहरू आउन बन्द भइसके पनि रातो मत्स्येन्द्रनाथका पानेजु भने नियमित आइ नै रहेका छन् ।

https://ekantipur.com/koseli/2023/09/09/169422495366438427.html

No comments: