Wednesday, November 29, 2023

ग्वंगः हुनुको अर्थ...

 चैत १२, २०७८ शनिबार ९:४८:०

श्रीओम श्रेष्ठ ‘रोदन’


तेजेश्वरबाबु ग्वंगःको नामसँगै नेपाली साहित्यको सिर्जनामा निबन्ध, सांस्कृतिक निबन्ध, संस्कृति र कविता स्वतः आछ। विशिष्ट स्रष्टाको रूपमा मात्र होइन, स्थापित र सम्मानित स्रष्टा हुन् ग्वंगः। तीनै भाषामा उनका पुस्तकहरू प्रकाशित छन्। छोटाछोटा वाक्यमा निबन्ध लेख्नु उनको विशेषता नै हो। निबन्धमा तेजेश्वरपन छ। वाक्यमा छोटा भए पनि अर्थमा लामा छन् उनी। गम्भीर, प्रतीकात्मक, विम्बात्मक र काव्यात्मक हुन्छन्। तार्किकता, बौद्धिकता र दार्शनिकता उनका प्रत्येक निबन्धमा हुन्छन्। त्यसैले नेपाली निबन्धमा उनको नाम अग्रपंक्तिमै आउँछ। सांस्कृतिक निबन्धमा त नाम झन् अगाडि आउँछ।

ग्वंगः प्रत्येक चाडपर्व, रीतिरिवाज र परम्परालाई समयसापेक्ष र विज्ञानसम्मत व्याख्या गर्न सक्नुहुन्छ। हाम्रा संस्कार र संस्कृतिलाई आध्यात्मिक, सामाजिक र दार्शनिक रूपमा बताउन सक्ने विद्वान् हुन् उनी। आधुनिकताले विकृत बनाउँदै लगेका नेपाली संस्कृतिलाई व्यापक अर्थमा संस्कारित बनाउने कार्यमा पत्रपत्रिका, रेडियो र टेलिभिजनमार्फत सक्रिय छन्। जन्म वर्षको हिसाबले १९९२ साल। उमेरले ८७ को भए पनि उनले बूढो भएँ, थाकेँ भनेको आजसम्म सुनिएको छैन। कात्तिक कृष्ण द्वादशीको दिन भक्तपुरको खौमामा जन्मिए। उमेरले जे भने पनि उनी व्यवहार र सक्रियता त्यस्तो लाग्दैनन्। लेखन, उत्साह र ऊर्जा सबैमा कतै देखिँदैन, बाधक हुँदैन उनको उमेर।

ज्ञान र अनुभवले भरिपूर्ण भएपछि यस्तै हुन्छ सायद। अक्षरको भारी बढेपछि बिसाउन परेजस्तै। भनेको पनि छु बेलाबेलामा, ‘यो उमेरमा यत्तिको सक्रिय हुने तपार्इं एक्लै हुनुहुन्छ।’ उनले समकालीन मात्र होइन, युवाकालीनहरूलाई पनि जितेका छन्। भक्तपुर, सूर्यविनायक मार्गमा उनी बस्ने घरको नाम ‘निष्ठा छेँ’ राखेका छन् उनले। ‘निष्ठा छेँ’ अर्थात् निष्ठा भएको घर। घरको नाम राख्ने जोकोहीले पनि प्रायः आदर्शकै नाम राख्छन् तर सबै आदर्शपरक हुँदैनन्। तर ‘निष्ठा छेँ’ ले भने निष्ठा कायम गरिरहन सकेजस्तो लाग्छ। जसको पहिलो तला र दोस्रो तलामा दुईवटा ठूलाठूला कोठा छन्, उनका अध्ययन र लेखन कर्मका लागि। दुवै कोठाका र्‍याकहरूमा अटाइनअटाइ राखिएका पुस्तक र पत्रिकाहरू छन्। भित्तामा अग्रज लेखक कविका तस्बिरहरू छन्। विभिन्न साहित्यिक संघसंस्थाबाट उनले पाएका सम्मानपत्र र पुरस्कारका प्रमाणपत्रहरू झुन्ड्याइएका छन्। दराजका विभिन्न तखतामा उपहार र मायाका चिनोहरू सजिएका छन्। यी दुवै कोठाभित्र पस्दा कुनै पुस्तकालयभित्र प्रवेश गरेजस्तो लाग्छ। कुनै संग्रहालय पुगेजस्तो पनि अनुभव हुन्छ।

त्यसैले हुन सक्छ, यही घरमा नेपाली साहित्यका अत्यन्तै अग्रजदेखि अनुजसम्मले उपस्थिति जनाएका छन्। कसैप्रति आस्था भएपछि मात्रै घरमा जाने गर्छन् जो कोही पनि। स्वागत सम्मान पाइने दैलो नै रोज्छन् पाएसम्म सबैले। यस मामलामा पनि तेजेश्वरबाबु ग्वंगः सम्मान गर्न र माया गर्न जान्ने साहित्यसाधक हुन्। आतिथ्यका धनी हुन् उनी। स्रष्टालाई सम्मान गर्ने संस्था नै बनाउनु भएको छ, झन्डै तीन दशकअघि। साहित्यिक सम्मान संगमबाट उनले साहित्यकारहरूलाई निरन्तर सम्मान गर्दै आएका छन् उनले।

शताब्दी पुरुष सत्यमोहन जोशी, राष्ट्रकवि माधव घिमिरे, कविवर केदारमान व्यथित, युगकवि सिद्धिचरण श्रेष्ठ, लैनसिंह वाङ्देल, गोविन्द गोठाले, विजय मल्ल, भीमदर्शन रोका, कृष्णचन्द्रसिंह प्रधान, माधवलाल कर्माचार्य, डा. अभि सुवेदी, डा. तुलसी भट्टराई, माया ठकुरी, पद्मावती सिंह, डा. गोविन्दराज भट्टराई, भागीरथी श्रेष्ठदेखि नयाँ पुस्तासम्म पुगेका छन्, ग्वंगः निवास ‘निष्ठा छेँ’। पूर्वराजा वीरेन्द्रसमेत पाहुना लाग्न आएकोे घर हो, उनको। ३४ वर्षको सरकारी सेवाबाट सेवानिवृत्त हुन् उनी। देशका अधिकांश जिल्ला र धेरै देशको भ्रमण गरेका छन् ग्वंगःले।

‘निष्ठा छेँ’ अर्थात् निष्ठा भएको घर। घरको नाम राख्ने जोकोहीले पनि प्रायः आदर्शकै नाम राख्छन् तर सबै आदर्शपरक हुँदैनन्। तर ‘निष्ठा छेँ’ ले भने निष्ठा कायम गरिरहन सकेजस्तो लाग्छ।

अमेरिकाको मिचिगन विश्वविद्यालयबाट सांस्कृतिक नेतत्त्वशास्त्रमा स्नातकोत्तर गरेका छन्, ग्वंगःले। वाककला र कार्यकलाले जुन ठाउँ जिम्मा पाउँदा पनि उनी प्रिय कर्मचारी, प्रिय हाकिम भएरै बसे। नेपाली साहित्यमा उनको प्रवेश कविताबाट नै भएको थियो। २०१० सालमा ‘परोपकार’ पत्रिकामा पहिलोपटक कविता प्रकाशित भएको थियो ‘प्रेम’ शीर्षकको। झन्डै सात दशकदेखि निरन्तर साहित्यिक सिर्जनामा उनी छन्। पहिलो कविता संग्रह २०७१ मा प्रकाशित भएको थियो। ‘चराको गुँडझैं जन्मस्थल मेरो भक्तपुर’ कविता छापिएको ६१ वर्षपछि। ७० वर्षसम्म निरन्तर सिर्जनारत उनले प्रकाशनलाई त्यति महत्त्व दिएको देखिँदैन। उनका हालसम्म संस्कृतिका आयाम– २०५२, अवकाशपछिको आकाश– २०६७ र औकातभरिको सौगात– २०७३ निबन्धकृति प्रकाशित छन्।

अखबारी प्रकाशनमा भने उनको सक्रियता निकै प्रशंसनीय छ। उनका समकालीनहरू सभा समारोहमा मात्र उपस्थिति जनाइरहेका छन्। उनी भने हप्तामा दुईतीन वटासम्म लेख, निबन्धहरू प्रकाशित गरिरहेका छन्। अखबारमा हुने गरेका प्रकाशन, टेलिभिजनमा आउने अन्तर्वार्ताहरू हेर्दा, रेडियोहरूमा बज्ने अन्तर्वार्ता सुन्दा उनी नेपाली र नेवारी संस्कृतिका गुगलजस्तै लाग्छ। उनले जुद्धोदय पब्लिक हाइस्कुल, क्षेत्रपाटीमा पढे, २००५ सालतिर। त्यतिबेलादेखि नै उनमा साहित्यिक चेतना बढिसकेको थियो। उनका निकतटम सहपाठीमा साहित्यकार मोहनहिमांशु थापा, मदन रेग्मी, कृष्णभक्त श्रेष्ठ, लक्ष्मण राजवंशी र नेता मोहनविक्रम सिंह आदि हुुन्। ग्वंगःको पहिलो निबन्ध संग्रह ‘संस्कृतिका आयाम’को शीर्षकीकरण पनि मित्र मोहनहिमांशु थापाले गरिदिएका थिए।

तेजेश्वर र तेजेश्वरहरू यही समाजमा भक्तपुरे भएर मात्रै होइन, भक्तपुरकै न्यातापोलजस्तो बनेका छन्। तेजेश्वरजस्तै न्यातापोल र न्यातापोलजस्तै तेजेश्वरबाबु।

जुनसुकै क्षेत्रमा पनि भरिएकाभन्दा छचल्किएकाहरूले बढी महत्त्व पाइरहेको समय छ अहिले। तर, तेजेश्वर र तेजेश्वरहरू भने यही समाजमा भक्तपुरे भएर मात्रै होइन, भक्तपुरकै न्यातपोलजस्तो बनेका छन्। तेजेश्वरजस्तै न्यातपोल र न्यातपोलजस्तै तेजेश्वरबाबु। न्यातपोल देखिने गरेर पाँच तलाको बनेको छ र नदेखिने गरेर पनि पाँचैतलाको बनेको छ। पाँचतलाका लागि पाँचैतले जग ! त्यस्तै हुन्, तेजेश्वरबाबु पनि। देखिने उचाइ छ फिट पनि छैन उनको र नदेखिने पनि त्यत्तिकै होला उनीभित्र। वरपीपलका नदेखिने जराजस्तै। उनका अनुभव उनीभित्रको उनीजस्तै। माटोमुनिबाट महत्त्वपूर्ण इतिहास उत्खनन गरेजस्तै छन्, तेजेश्वर। उत्खनन गर्न सक्नेले मात्र देख्न सक्छन्, तेजेश्वरभित्रको तेजेश्वरलाई।

नथाकेर बुढ्यौलीसम्म गरिरहेछन् उनले साहित्यका लागि, संस्कृति अनि समाजका लागि। उनले जे गरिरहेछन्, त्यसले भविष्यलाई पनि अवश्य बचाउनेछ। उनीहरू जस्ताले नलेखे भोलिका सन्ततिले के पढोस् इतिहास भनेर ? के बुझोस् संस्कृति ? तेजेश्वरले सकेसम्म गरिरहनुपर्छ। गर्न खोज्नेहरू त अरू पनि होलान् तर गर्ने नै भने चाहिँ औंला भाँच्न पुग्ने पनि छैनन् जस्तो लाग्छ। यो कर्तव्य उनीजस्ताको हो र जिम्मेवारी पनि। आखिर थरले पनि ग्वंगः नै। ग्वंगः अर्थात् कुखुराको भाले। अर्थात्, अँध्यारो हटाएर उज्यालोको संकेत गर्ने। सुतेकाहरूलाई उठाउने ग्वंगः। जागरणको बिगुल बजाउने अनि आफ्नोपनको आभास दिलाउने ग्वंगः। अरू के भनूँ, आफू सधैं उठिरहने अनि सबैलाई उठाइरहने पनि।

https://annapurnapost.com/story/199227/


No comments: