Thursday, December 22, 2016

धुस्वाँको नेपथ्य

धुस्वाँको नेपथ्य
प्रकाश सायमी |
२०७१ पौष २६ शनिबार



कवि पाब्लो नेरुदाले आफ्नो संस्मरणमा एक यस्तो व्यक्तिको चर्चा गरेका छन्, जसले उनको कविता पढेर आत्महत्या गरेका थिए। 'रेसिदेंसिया एन ला तियेरा' अर्थात् 'पृथ्वीमा घर' नामक त्यो कवितासंग्रह एउटा रूखमुन्तिर उसको लासको छेउमा पाइएको थियो।

नेरुदालाई लाग्यो, मानौं त्यो पाठकको रगतको दाग उनको कविताहरूमाथि छ्यालब्याल भएर परेको छ। अनि त्यसपछि उनले हतासा, अन्धकार र मृत्युका कविता लेख्नै बन्द गरिदिए।

हिन्दी भाषाका सम्माननीय कवि डा. हरिवंश राय बच्चन (महाकवि होइनन् उनी, यहाँ धेरै स्वनामधन्यले महाकवि बनाएर भ्रम फैलाएका छन्) को जीवनमा पनि त्यस्तै घटना घटेको छ। उनको तज्जन्य आकर्षणबोध भएको कविता पढेर एउटा पाठकले रेलमुनि गएर आत्महत्या गरेका छन्।

त्यसपछि बच्चनले त्यस कविताका कारण वारम्बार क्षमा मागेर अन्य कविता लेखेका छन्। तर उनका कविताले फेरि पनि मान्छेलाई रुवाइ नै रह्यो, त्यो चाहे 'निशा निमन्त्रण' होस् वा 'मधुशाला'।

बच्चनले यस्तै रुँदै कवितावाचन गर्दै हिँड्ने क्रममा आफ्नो कविता सुनेर भावुक भएकी एक पाठक/श्रोता भेटे, तेजी सुरी। जो पछि उनकी पत्नी भइन् र आजका चर्चित फिल्मस्टार अमिताभ बच्चनकी आमा।
...
कविताले मान्छेको जीवनमा परिवर्तन ल्याउँछ, सन्दर्भ र समयअनुसार। ठाउँ र परिवेशअनुसार। तर कविताको तागत त्यो हुनु भएन जसले पाठकलाई जिउन होइन, मर्न प्रेरित गरोस्। नेपाली साहित्यमा ठीक त्यसको अपवादको रूपमा एउटा गज्जबको घटना घटेको छ, पाठक आफू प्रेरित भएर लेखकलाई पनि बदलेको।

कवि, उपन्यासकार धुस्वाँ सायमीको जीवनको कथा हो यो। उनको उपन्यास पढेर उनलाई उनकी एक पाठकले अनेकानेक पत्र, सुझाव र स्नेह दिन थालिन्। पछि स्रष्टा धुस्वाँ सायमीले त्यही पाठकलाई नै सम्बोधन गरेर एउटा उपन्यास नै लेखे।

धुस्वाँलाई अत्यन्त माया गर्ने दीपा उनकी यस्ती पाठक थिइन्, जसले धुस्वाँको जीवन र रचनाकर्मको धार नै बद्लिइदिइन्, तर धुस्वाँ बाचुञ्जेल उनी जति चर्चामा आइन्, त्यसपछि उनी स्वत: नेपथ्यमा हराइन्।

धुस्वाँलाई माया गर्ने ती पाठकसित भेट्ने वा देख्ने सौभाग्य एकाध नेपालीभाषी लेखकलाई पनि मिलेको छ, त्यसमाथि खुलेआम बहस पनि भएको छ।

'दीपा' त्यसै सिलसिलाको धुस्वाँको चर्चित उपन्यास हो। धुस्वाँले आफ्नो जीवनकालमा दीपाको नाममा पुरस्कार पनि स्थापना गरे।

यस्ता किंवदन्तीमा बाँच्ने धुस्वाँको लेखन महिला पात्रमाथि नै केन्द्रित भएर सुरु भएको थियो करिब ६० वर्षअघि।

नेपाल भाषामा लेखिएको उपन्यास 'मिसा' धुस्वाँको पहिलो उपन्यास मात्र नभई नेवार भाषाको पनि पहिलो उपन्यास मानियो। त्यसपछि उनी सर्वाधिक चर्चामा आए अर्को उपन्यास 'गं:की' मार्फत।

धुस्वाँको यो उपन्यास नछापिउञ्जेल नेपाली र नेपाल भाषाका साहित्यमा यौनमनोविज्ञानको चर्चा नै थिएन, यसलाई नै समालोचक डा. तारानाथ शर्माले फ्रायोडियन मनोविज्ञानको पहिलो पथगामी कृति भनेर घोषणा गरे। तर चर्चा र हल्लाखल्लाका दृष्टिकोणले झिनो सुनिए पनि यस कृतिले नेपाली समाजमा तहल्का मच्चाएको थियो।

यो उपन्यासपछि मात्र गोविन्दबहादुर मल्ल 'गोठाले'को 'पल्लो घरको झ्याल' छापिएको थियो। यद्यपि 'गं:की' लेख्न धुस्वाँलाई गोविन्दका भाइ विजय मल्लले नै प्रेरित गरेका थिए।

र, पछि यस उपन्यासलाई चित्तरञ्जन नेपालीले अनुवाद गरे। चित्तरञ्जन, विजय मल्ल, गोविन्द गोठाले, कृष्णचन्द्रसिंह प्रधान, फत्तेबहादुर सिंह, यी सब त्यो बबला धुस्वाँलाई केन्द्र बनाएर झोछेँमा भेटघाट गर्थे।

नेपाली साहित्यमा लेखकको ग्रुपिज्मको कुरा आयो कि चार कुराले प्रमुखता पाउँथ्यो, रक्सी, राजनीति, पुरस्कार र महिला।

इमानदारीपूर्वक हेर्ने हो भने यो समूह यी सबै कुराबाट अलग र अपरिभाषित रह्यो। सबै काठमाडौंका सुसंस्कृत नेवार परिवारका थिए, यिनको एउटै उद्देश्य भाषा सेवा र जातिजागरण। त्यसैले यो भीडको कुरा गर्दा बहुविवाह, अवैध सम्बन्ध, पार्टीगत द्वन्द्व अनि जिल्लावादी सोचका कुण्ठा कहिले आएन।
...
यी सबै एक समयका ती लेखकजस्तै थिए, आन्द्र जिद, हरमन बाह्र, हेनरी डे रेग्नेर, रेने बोयलेसिभ र हायनरिख भोन क्लेस्ट। उन्नाइसौं शताब्दीको अन्त्यमा यी पाँचैजनाले एकअर्कासित सल्लाह गरेर बीसौं शताब्दीका लागि नयाँ नयाँ कृति लेखे।

बीसौं शताब्दीको पहिलो कृतिको रूपमा जिदको 'दि इम्मारलिस्ट' सिग्मन्ड फ्रायडको 'दि इन्टरप्रिटेसन अफ ड्रिम' भन्दा केहीपछि आयो भने हरमनको बाह्रको 'भोम ट्राजिक्सेन' अर्थात् त्रासदीमाथि बजारमा आए, यी फरकफरक भाषामा लेख्थे तर आपसमा सेयर गर्थे।

यही परम्परा थियो, धुस्वाँ र उनका समवर्तीको पनि। चित्तरञ्जन नेपालीमा लेख्थे, धुस्वाँ नेवारी र हिन्दीमा। विजय मल्ल र गोविन्द गोठाले नेवारी, नेपाली दुवैमा लेख्थे।

समयले पछि यी सबैको पृथक्पृथक् बाटो बनायो, चित्तरञ्जन अध्यापनमै सीमित रहे, मल्ल बन्धु प्राज्ञ भएर शाही तबेला पसे। धुस्वाँ कूटनीतिज्ञको बाटोमा दिल्ली छिरे।

धुस्वाँको अध्ययन भारतीय सहरमा र पेसागत क्षेत्र पनि त्यतै भएको कारणले उनको लेखनको पहिलो एक्जिट हिन्दीमा भयो।

धुस्वाँ हिन्दीमा छापिनुभन्दा धेरै अघि कथाकार बीपी कोइराला प्रेमचन्द प्रकाशित 'हंश' मार्फत पाठकसमक्ष आइसकेका थिए भने मोतीराम भट्टको बनारसमा भारतेन्दु हरिश्चन्द्रसित गजलको मुकावलाको इतिहास बनिसकेको थियो।

तर धुस्वाँको नाम र लेखनशैली बदल्नमा हिन्दीका कवि रामदरश मिश्रको अतुलनीय योगदान छ।

मिश्रले भारतमा अध्ययनरत धुस्वाँ (जसको वास्तविक नाउँ गोविन्दबहादुर मानन्धर) लाई व्यंग्य गरेर कसरी नेपाली हुन सक्छौ? तिम्रो नाउँ त पूरै हिन्दीमयी छ भनेपछि गोविन्दबहादुरले धुस्वाँ अर्थात् धूलोको फूल बनाए भने थर मानन्धरलाई पनि नेवारीमा सायमी लेखे।

सायमी त्यसबेलासम्म पनि गालीवाचक वा हेय शैलीको थर मानिन्थ्यो। यद्यपि सायमी थर आफ्नो नाममा प्रयोग गर्ने पहिलो स्रष्टा धुस्वाँ भए पनि व्यक्तिका रूपमा धमना सायमीलाई सम्झन सकिन्छ।

राणाकालमा सानो दुर्घटनाका कारण सारा सायमीलाई श्री ३ महाराजले पानी नचल्ने बनाइदिएपछि धमना सायमीले आन्दोलन गरेर आफ्नो जातीय हक र अधिकार लिएर छाडेका थिए, उनैको सम्झनामा धुस्वाँले यसलाई ताजको रूपमा लिए।

 र धुँस्वाले इज्जतका साथ प्रयोग गरेपछि यो एक आदरणीय थर बन्न पुग्यो, आज कयौं कलाकार, काटुर्निस्ट, लेखक यही थर सायमी प्रयोग गरेर चर्चामा आएका छन्।
...
काठमाडौंसित निकटता भएका धुस्वाँको बाल्यकाल तराईको गौरमा बित्यो भने अध्ययन क्रम भारतमा। हिन्दीमा लेखन सुरु गरेर साहित्यमा प्रवेश गरेका धुस्वाँलाई विवाहपछि पत्नी वसुन्धराकै कारण मातृभाषामा लेख्ने अग्रसरता जुट्यो।

यसलाई विवाहपछिको ठूलो पुरस्कार नै मान्न सकिन्छ तर उनको पीडा जीवनभर एउटै रह्यो। उनी भन्थे,'तराईमा मलाई नेवार भन्थे, काठमाडौंमा मधिसे अनि भारतीय साहित्यकारले नेपाली भनेर होच्याउँथे तर म हो कुन भाषा र जातिको? सेवा त मैले सबै भाषाको बराबर नै गरेको छु।'

यसैको जवाफ उनी बाँचुन्जेल कसैले दिएनन्। यही कारणले पनि उनलाई प्रज्ञा प्रतिष्ठानको कुर्सीसम्म आउन ६० वर्षको उमेर कटाउनुप:यो, जबकि आजको परिस्थितिमा आफ्नो जिल्ला र जातको कुरा र बखान गरेको भरमा एक दर्जन कविता लेखेर थन्केका मान्छे पनि 'प्राज्ञ' भएका छन्।

धुस्वाँ सायमी र बीपी कोइरालाको लेखनका केही पक्ष मिल्दाजुल्दा छन्, पञ्चायतकालमा यी दुवै आआफ्नै कारणले भारतमा थिए, बीपी भाषणमा राजालाई गाली गर्थे धुस्वाँ कवितामा।

बीपीले हिन्दी भाषामा कथा लेखेर साहित्यमा प्रवेश गरे तर पछि हिन्दीमा लेख्न छोडिदिए तर धुस्वाँ पछिसम्म हिन्दी साहित्यमा सक्रिय उपन्यासकार रहे। उनको 'मैं सडक मै सराय', 'गं:की' हिन्दीका पाठकका पनि प्रिय कृति भए।

यहाँसम्म कि पञ्जाबी भाषाकी चर्चित लेखिका अमृता प्रितमले धुस्वाँलाई नायक बनाएर 'अदालत' नामको उपन्यास लेखे। यो उपन्यास प्रकाशनअघि विवादमय होला भनेर लेखिकाले पात्रलाई 'असमिया' बनाइदिए।

भारतकी सर्वाधिक चर्चित लेखिका अमृता प्रितमले आफ्नो आत्मकथा 'रसिदी टिकट' मा एकैजना नेपाली लेखकको बारेमा चर्चा गरेका छन्, ती हुन्, धुस्वाँ।

पद्म विभूषणले सम्मानित लेखिका अमृता प्रितमलाई भेट्न दिल्लीमा दार्जिलिङबाट उपन्यासकार विन्द्या सुब्बा भेट्न गएकी थिइन्। उपन्यासकार सुब्बालाई अमृता प्रितमले पहिलो प्रश्न नै धुस्वाँको बारेमा गरेपछि उनी चकित भइन्। र, आफूले नचिनेको भन्न लाज मानिन् र नचिनेकोमा पछुताएर फर्किन्।

उनी काठमाडौं आउँदा धुस्वाँ आफ्नो जीवनको अन्त्य बेलातिर थिए, शायद विन्द्या सुब्बाले आफ्ना अग्रज लेखकलाई जीवनभर नै भेट्न पाइनन्। आठ वर्षअघिको यो कुराले अहिले पनि नेपाली साहित्यको अवस्था दर्शाउँछ।
...
चेतनभगत पढ्ने हाम्रा पाठकले भुलेर भट्केर ध.च. गोतामे वा माया ठकुरीका जाज्वल्यमान लेखन पढेका वा देखेको होलान्। यो पाठकको मात्र होइन, हाम्रा गुटबन्दीमा फँसेका लेखकको पनि बाहेनियज्म चरित्रको प्रतिरूप हो।

अहिले पनि हाम्रा कवि लेखक आआफ्नो पार्टी, जिल्ला र अञ्चलका लेखक कविको धरहरासरह बयान गर्छन्, भला ! उनले भान्टाको जंगल नै लेखेको किन नहोस्।

भारतमा प्रसिद्ध भइसकेका धुस्वाँलाई चिन्न हामीलाई अमृता प्रितमको कलमको सहायता चाहियो। त्यो चाहे डायमनशमशेर नै किन नहोस्, जसलाई फ्रान्सले सम्मानित गरेपछि मात्र हामीले हाम्रा गौरव भनेर चिन्यौं।

कविता, कथा, निबन्ध, उपन्यासमा व्यापकता भएका धुस्वाँले हिन्दी, नेवारी, नेपालीबाहेक अंग्रेजीमा पनि किताब लेखेका छन्,'लोटस अफ नेपाल'। त्यस किताबको प्रकाशन सूचना विभागले गरेको थियो।

धुस्वाँ लेख्ने, पढ्ने र लेखेको कुरा सुनाउने अनि अरूको पनि सम्मानपूर्वक सुन्ने आफ्नो बानीका कायल थिए। उनी आफ्नो किताब जसले छापे पनि किताब छाप्न नसक्ने कवि लेखकका किताब आफू छापिदिन्थे।

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पहिलो पुस्तक छपाउन धुस्वाँले आर्थिक सहयोग गरेका थिए। यसबाहेक उनले नयाँ पुस्ताका धेरै कवि लेखकको कृति प्रकाशन गर्न सघाएका थिए।
...
धुस्वाँ किताब र कलमका सौखिन थिए ।

पहिले उनको घरमा पुस्तकालय थियो, पछि पुस्तकालय नै उनको घर भएर गयो। र, त्यो पुस्तकालय अब उनको देहावसानपछि नेपाल भाषा एकेडेमीलाई हस्तान्तरण गरिएको छ।

धुस्वाँ मूलत: कवि हुन्, कवि हृदयका कवि। उनको कवितामा दमित नेपालीको आवाज र पीडित नागरिकको वेदना सदैव गुञ्जिन्थ्यो। उनले सबैभन्दा पछि लेखेको कविताको एक अंश यस्तो पनि छ,

धेरै पटक देश बदलेर हेर्‍यौं

सक्छौ भने एकपटक जनता बदलिइ हेर।

उनको यो कविता चुनौती थियो, उनले चुनाव जिताएर पठाएका नेताहरूलाई।

आज उनको र उनको जीवनसंगिनीको नाउँमा एउटा प्रतिष्ठान छ, जसमा उनको चर्चित कृतिको नाउँ पनि जोडिएको छ, गं:की धुँस्वा वसुन्धरा प्रतिष्ठान।

यस किसिमको कुनै साहित्यिक संस्था सम्भवत: यो पहिलो नै हुनुपर्छ। यस प्रतिष्ठानले हरेक दुई वर्षमा दुई विधाका सर्जकलाई पुरस्कृत गर्ने गरेको छ, साहित्य र कला।

अनि हरेक दुई वर्षमा नेपाली र गैरनेपाली भाषामा लेख्ने लेखकलाई पनि सम्झने गरेको छ।

धुस्वाँको सपनाअनुसार यस प्रतिष्ठानले मगर, तामाङ, भोजपुरी र यसपालि मैथिली भाषाको कृतिलाई पुरस्कृत गर्दैछ।

कवि शमशेरबहादुर सिंहको भनाइ सापट लिएर यहाँ भन्नै पर्ने हुन्छ, संसारका हरेक भाषा हाम्रा मातृभाषा हुन्।

धुस्वाँ नेपालमा रहेका भाषाको रक्षणका निम्ति निबद्ध थिए।
http://archive.annapurnapost.com/News.aspx/story/5542?_REQUEST=News.aspx/story/5542#sthash.3jvdpJpU.dpuf


Audiobook of Nepali translation:
http://shrutisambeg.blogspot.com/search/label/%22%E0%A4%97%E0%A4%82%E0%A4%95%E0%A5%80%22%20-%20%E0%A4%A7%E0%A5%81%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%81%20%E0%A4%B8%E0%A4%BE%E0%A4%AF%E0%A4%AE%E0%A5%80

जसले संस्कृति बोकिहिँडे

जसले संस्कृति बोकिहिँडे

-निर्मल श्रेष्ठ शनिवार, पुस २, २०७३

जसले संस्कृति बोकिहिँडे

संस्कृतिका वाहक
शारीरिक रूपमा स्वस्थ, जाँगरिला, ठिक्कको जीउडाल, सदा मेहनती, सबैसँग मिलनसार, सधैँ हँसिला अनि धैर्यका धनी नेवारहरू मन्दिरका टुँडालमा भेटिन्छन्, डाफा भजनमा भेटिन्छन्, हटियामा भेटिन्छन्, बेलविवाहमा भेटिन्छन्, धिमे बाजा, घाः बाजा, खिं बाजाको नादमा भेटिन्छन् । भैरव, भद्रकाली, देवी र लाखे नाचमा भेटिन्छन् । जात्रा पर्वमा भेटिन्छन् । सांस्कृतिक चाडपर्वमा भेटिन्छन् । यसरी आफ्नो मौलिक संस्कृतिलाई ज्यूँका त्यूँ राखी आफ्नो पहिचानलाई कायम राख्दै आएका नेवारहरूको उद्गमस्थल काठमाडौं खाल्डो हो ।
काठमाडौं खाल्डोलाई 'मेल्टिङ पट' भन्ने पनि गरिन्छ । यहाँ जोजो आए उनीहरू यहीँको संस्कार र संस्कृतिसँग रमाए र यसैलाई अँगाले । कुशीनगर पावाबाट आएका क्षत्रीयहरू मल्ल भए । मिथिलाबाट आएका ब्राह्मणहरू राजोपाध्यायबाट सम्मानित भए । ओझा, मिश्रहरू पनि नेवारहरूमा घुलमिल भए । मंगोलदेखि नायरसम्मकाहरू जो यहाँ आए उनीहरू नेवार भई रही बसे । यी सबै आगन्तुकका रीतिरिवाज, संस्कार संस्कृति, रहनसहन, खानपानको इन्द्रधनुषीय मिलनले 'नेवार संस्कृति' को उदय भयो । त्यसैले त भन्ने गरिन्छ— नेवार जाति होइन, 'संस्कृति' हो ।
नेवारहरू काठमाडौं खाल्डोमा मात्र सीमित रहेनन् । तर यी यायावर पनि होइनन् । समय, काल परिस्थितिले नेवारहरू देशभित्र र देशबाहिर फिँजिए । 'भाषा वंशावली'मा उल्लेख भएअनुसार नेपाल संवत् ६२२ तिर रत्न मल्ल र पाल्पाका सेन राजाको राम्रो सम्बन्ध भएकाले त्यसताकादेखि नै नेवारहरू व्यापार र निर्माण कार्यको सिलसिलामा पाल्पातिर फैलिएको पाइन्छ । त्यतैबाट सुदूर गुल्मी, प्यूठान, जाजरकोट, अर्घाखाँची, डोटी आदि स्थानमा नेवारहरू आफ्नो संस्कृतिसँगै पुगेको देखिन्छ ।
भाषा वंशावलीमा नै नेपाल संवत् ७८३ मा प्रताप मल्लको पालामा शत्रुद्वारा भक्तपुरलाई चारैतिरबाट घेरी नाकाबन्दी गरिदिए । भक्तपुरवासी खाना खान नपाई बहुतै दुःख पाई धेरै मानिस मरे । सहरबासी खान नपाई सिँगार गर्न समर्थ नभई स्त्रीहरू कोही गर्भाधान भएनन् । मर्ने सिवाय जन्मने कोही भएनन् । कोही मानिस राति सहर छोडी जीउको माया मारी परदेश भागी गएको भन्ने उल्लेख रहेको छ । साथै नेपाल संवत् ८३९ चैत महिनामा नेपाल खाल्डोमा महामारी फैलिन गई दिनमा सय/दुई सय मर्दाको भयले प्रजा त्राहीत्राही भई सहर छोडी भागी गएको उल्लेख छ ।
यसरी रोगव्याधि, बाहिरी आक्रमण, अनिकालजस्ता विषम परिस्थितिले नेवारहरू काठमाडौं खाल्डोबाट बाहिरिएको देखिन्छ । त्यस्तै रामशाहको पालामा काठमाडौंजस्तै गोर्खालाई पनि गुल्जार गर्ने उद्देश्य राखी तत्कालीन नेवार राजासँग मागी केही नेवार परिवारलाई गोर्खा लगी नेवार जातिमा भएको मौलिक कलाकौशल र व्यापारिक सीपलाई गोर्खामा भित्त्याएको पाइन्छ । चौबीसे राज्य कास्कीमा पनि १७५२ तिर काठमाडौंको बान्कीको इँटको घर बनाउन र व्यापार व्यवसायका लागि नेवारलाई कास्कीमा ल्याइएको इतिहासको पानामा पाइन्छ ।
नेपाल-अंग्रेज युद्ध र युद्धको सुलहपछि भएको सुगौली सन्धिले खुम्चिएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्र पिरुंगिएको नेपाल, नागबेली पर्दै पहाडलाई छिचोल्दै हानिएको मूलबाटो 'हुलाकी बाटो' र सो बाटोसँगै दक्षिणतिरबाट उत्तरतिर पनि बनेका कच्ची बाटाहरूका नाका नाकाहरूमा पाटी, पौवा, ठाँटी बनेका थिए । त्यसमा खामिएका काष्ठकलाका बेजोड नमुनाहरूका शिल्पकारहरू, ती कालीगढहरू साथै जागिरको सिलसिलामा काठमाडौं खाल्डोबाट नेवारहरू अन्यत्र स्थानमा बसोबास हुन थालेको थियो । त्यसताकादेखि नेवारहरू पहाडी भेगमा फिँजिएका हुन् । साथै उन्नाइसौं शताब्दीको आधाआधितिर बुटवलजस्ता इन्ट्रोपट ट्रेड केन्द्र र तानसेन, पोखरा, बाह्रबिसेजस्ता 'प्राचीन नुनमार्ग'का पहाडी सेतु सहरहरूमा व्यापारीको रूपमा नेवारहरू काठमाडौं खाल्डोबाट पुगेको देखिन्छ ।
नेवारहरू विभिन्न कारणले विभिन्न स्थानमा पुगे । जहाँजहाँ पुगे आफूसँगै आफ्ना रीतिरिवाज, कलाकौशल, संस्कृति, रहनसहन, खानपान जस्ता मौलिक संस्कृति पनि लिएर गए जुन अहिलेसम्म पनि ज्यूँका त्यूँ छ । धातुकलामा पारंगत यी नेवारहरूले टकमरी कामका साथै तामा, पित्तल, काँस, ढलौट आदिका सीपलाई जताततै फैलाए । धातुको कार्य गर्ने थँ:कमि मात्र नभएर ल्हवःकमि (वास्तुका ढुंगाको काम गर्ने), दँ:कमि (डकर्मी, माटोको काम गर्ने), सिँ:कमि (काठको काम गर्ने), लुँ:कमि (सुवर्णकार सुनको काम गर्ने), बज्रःकमि (मास चुना मिलाएर सुर्की बनाई लेपको काम गर्ने कारिगर) आदि सीपका धनी यी नेवारहरूले जहाँ पुगे त्यहाँ आफ्नो स्थापत्यकलालाई चिनाए ।
त्यसैले नेपालका विभिन्न जातजातिमध्ये नेवार जाति आफ्नै मौलिकता बोकेको, रीतिरिवाजमा जिएको र नितान्त मौलिक संस्कृतिमा रमेको जाति हो । यो जाति अन्य जातिभन्दा 'डिफ्रेन्ट'मात्र होइन 'इनडिफ्रेन्ट' पनि छ । नेवार संस्कृतिमा समेटिने जात्रा, चाडपर्वहरूले आफ्नै मौलिक संस्कृति बोकेको छ । अरू जातजातिमा नपाइने नेवार समुदायले मात्र मनाउने मौलिक चाडपर्व र रीतिरिवाजहरू पनि छन् । ईही (बेलसँग विवाह), बाह्रा तयगु (गुफा राख्ने), म्हः पूजा (स्वःपूजा) जस्ता मौलिक चाडपर्व र रीतिरिवाज धेरै छन् । तीमध्ये 'यःमरी पुन्ही' पनि नेवारहरूको एउटा मौलिक चाडपर्व हो ।
मन परेको रोटी
नेपाल भाषामा 'यःमरी पुन्ही' को शाब्दिक अर्थ 'यः' भन्नाले 'मन परेको' र 'मरी' भन्नाले 'रोटी' भन्ने बुझाउँछ । अनि मार्ग शुक्ल पूर्णिमाको दिन यस प्रकारको रोटी बनाई विभिन्न देवीदेवताका मठमन्दिरमा चढाई, साथै सबै इष्टमित्रलाई बाँडेर मनाउने चाड भएकाले यस दिनलाई 'यःमरी पुन्ही' भनिएको हो ।
कृषिकर्मसँग जोडिएको यो पर्व नेपाल संवत्को नयाँ वर्षको पहिलो पर्व हो । कृषकहरूले अन्नबाली स्याहारेपछि कृषिकर्ममा सघाउने देवीदेवताहरूमाथि आस्था राखी अर्पण गर्ने 'धान्ने पूर्णिमा'को रूपमा पनि यस पर्वलाई लिइन्छ । पहाडतिर यसै दिन मानव जीवन र कृषिकर्मसँग जोडिएका वस्तुभाउको गोठमा पूजा गर्ने भएकाले यस दिनलाई 'गैडँपूजा' भन्ने पनि गरिन्छ । नेवारहरूले चन्द्रतिथिका दिनहरूलाई पवित्र मानेर त्यस तिथिका दिनहरूमा चाडपर्व मान्ने प्रचलन रहेको छ । यहीअनुरूप चन्द्रमा मृगशिरा नक्षत्रमा पर्ने दिन मार्ग शुक्ल पूर्णिमाका दिन 'यःमरी पुन्ही' बडो उल्लास र महत्त्वका साथ विशेष चाडपर्वको रूपमा मनाउने गरिन्छ ।
'यःमरी' अर्थात् मन परेको रोटी एउटा अंजिर/मुटुको आकारको र अर्को त्रिकोणाकार गरी दुई किसिमबाट बनाउने गरिन्छ । यःमरी पुन्हीका दिन नयाँ बालीको कटनी फटनी गरी भित्रिएको नयाँ चामलको 'पोचु' (पीठो) मा अलिकति घ्यू मोलेर तातो पानीमा मुछेर 'यःमरी' को आकार तयार गरिन्छ । पहिलो किसिमको 'यःमरी' को आकार 'अंजिर', 'मानव मुटु' समान हुन्छ । यस रोटीको आकार मुटुको जस्तो हुने भएकाले यसको पर्याय वा प्रतीक 'स्नेह पल्लवित बिन्दु'को रूपमा रहेको छ । अनि मनसँग सादृश्यता रहने भएकाले 'मन परेको रोटी'को प्रतीक पनि हो ।

अंजिर र मुटुको आकारको 'यःमरी' भित्र चाकु र तिल मिसाई बनाइएको लेदो राखिएको हुन्छ । यसलाई 'बायो' भनिन्छ । त्रिकोणाकार 'यःमरी' जसको भित्र 'मास', 'केराउ' र 'मुगी' पिनेको लेदो, कुराउनी, खुवा राखेर बनाइन्छ भने कसैकसैले यसभित्र फल मासुको मसला राखेर बनाउने गर्छन् । त्यस किसिमको यःमरीलाई 'मायो' भन्ने गरिन्छ ।
यी दुई आकारका यःमरीको कलाशिल्पलाई नियाँल्दा 'अंजिर' र 'मुटु आकार'को यःमरीले 'स्नेहमय पुरुष प्रतीक'लाई जनाउँछ भने अर्को 'त्रिकोणात्मक' आकारको यःमरीले 'नारी अवयवको प्रतीक सुन्दरता'लाई उजागर गरेको पाइन्छ । यो कलाशैलीले संस्कृतिलाई नजिकबाट छाम्ने ती मनमस्तिष्क र नयनहरूले जीवनका हरेक पहलुलाई कलात्मक र रहस्यमय प्रतिनिधिमूलक शैली नेवार जातिको मौलिक चाडपर्वमा बनाइने 'यःमरी'मा देख्ने गर्छन् । दुई थरीको यःमरीसँगै 'पोचु'-नयाँ चामलको पीठोबाट 'लक्ष्मी', 'गणेश', 'कुवेर', 'नाङ्लो', 'ढिकी', 'कछुवा' 'चराहरू' साथै आकर्षक प्रतिमूर्ति बनाउने गरिन्छ । साथै धानको भकारीमा लगेर पूजा गर्ने प्रचलन पनि छ ।
मार्ग शुक्ल पूर्णिमाका दिन पर्ने यो यःमरि पुन्ही (पूर्णिमा) का दिन तहतह परेको जुनेली रातसँग मितेरी लगाउँदै केटाकेटीहरूले डफ्फाका डफ्फा बाँधी यःमरीको सन्दर्भ बनाई स्वरलहरीलाई गीतमा मिलाउँदै भैलो र देउसी खेलेजस्तै टोलटोलमा गई यःमरी माग्ने प्रचलन पनि छ । यसले सामाजिक र सामूहिक पाटोलाई चपक्क बाँधेको छ । यःमरी एउटा कृषिमूलक परिकार हुनुका साथै उत्पादित नयाँ अन्नहरूको संग्रहले शरीरको पोषणलाई सघाउने भएकाले नेवार समुदायमा आफ्ना छोराछोरीको जन्मदिनका अवसरमा यःमरीको ठूलो महत्त्व हुन्छ । आफ्ना छोराछोरीको जोडा वर्षको जन्मदिन दुई, चार, ६, आठ, १० र १२ वर्षमा यःमरीको माला उनेर, पहिर्‌याई बच्चालाई मन्दिरमा लैजाने प्रचलन छ ।
'यःमरी' एक प्रकारको रोटीमात्र नभएर नेवारहरूको पहिचान पनि हो । कहीँ कसैले यःमरीलाई देख्नेबित्तिकै नेवारहरूले बनाउने रोटी भनेर ठम्याउन गाह्रो पर्दैन । त्यसकारण पनि यो पहिचान हो । यःमरी पुन्ही (पूर्णिमा) अहिले चाडपर्वमात्र नभएर यस दिनलाई 'राष्ट्रिय ज्यापू दिवस'का रूपमा मनाउन थालिएको छ । अहिले नेवारहरूको पहिचानको प्रतीक तथा सांस्कृतिक शक्तिका रूपमा यो पर्व अगाडि आएको छ । यसले सोसो-रिलिजनलाई पनि इन्टरलक गरेको छ । यसैले योःमरी ज्यापूहरूको मात्र होइन, समग्र नेवारको पहिचान बनेको छ ।
http://www.annapurnapost.com/news/60860

उपत्यकामा नेवार जातिविरुद्धका षड्यन्त्र

उपत्यकामा नेवार जातिविरुद्धका षड्यन्त्र

October 23, 2016

(कृष्ण प्रजापती) नेवारहरूलाई बहिष्करणमा पारी विस्थापित गर्न विभिन्नरूपमा षड्यन्त्र हुँदै आइरहेको छ । २ सय ५० वर्ष अगाडिदेखि नै नेवारहरूलाई विस्थापित गर्ने कार्य भने शुरु भइसकेको थियो । पृथ्वीनारायण शाहले उपत्यका कब्जा गरिसकेपछि भाषा र संस्कृतिमा विभेद उत्पन्न गरी नेवारहरूलाई नै विस्थापित गर्न खोजेका थिए । उपत्यका जित्न पहिलोपल्ट कीर्तिपुर हमला गरिसकेपछि २ वर्षसम्म पृथ्वीनारायण शाहले उपत्यकामा आर्थिक नाकाबन्दी गरेका थिए । नाकाबन्दीको मार भोगेका हामी उपत्यकाबासीले नाकाबन्दीको कष्ट कस्तो हुन्छ भन्ने कुरा त स्पष्ट नै देखिन्छ । त्यति बेला नुन, कपास जस्तो बाहिरबाट आउने सबै चिज बन्द गरी दिएको थियो । नुन खान नपाएर मानिसमा शक्तिहीन हुन पुगेका थिए ।
अहिले पनि नेवारहरूको विरुद्ध यहाँ के–कस्तो षड्यन्त्र भइरहेको छ भन्ने हामीले बुझ्न सकेनौं भने हामीले आफ्नो अस्तित्व बचाउन नै नसक्ने अवस्था आउन सक्छ । अहिले पनि गैरनेवारहरूले नेवाःविरोधी षड्यन्त्र गरिरहेको कुरा नेवारहरूले चाल पाउन सकेका छैनन्, बरु नेवारहरू आपसमा बाझाबाझ गरिरहेका छन् । यो गम्भीर मामला हो । यस्तो कुरामा नेवारहरू समयमै होसियार रहनुपर्छ । आज सीधै नेवारहरूको आदिभूमिको रूपमा रहेको उपत्यकाभित्र नेवारहरू विस्थापित गर्ने कार्यमा बाहिरी चक्रपथको अवधारणालाई अगाडि ल्याइएको छ । यसले गर्दा पनि आदिवासीहरूलाई विस्थापित गर्ने षड्यन्त्र भएको स्पष्ट भएको छ । एसियाको एक रिसर्च सेन्टर संस्थाले २ वर्षसम्म गरेको अध्ययनले १३ करोड आदिवासीलाई विस्थापित गर्न खोजेको छ । संसारभरका आदिवासीहरू हाल आफ्नो अस्तित्व रक्षा गर्ने मामलामा अगाडि बढेको स्पष्ट देखिन्छ । त्यसमा नेवारहरू पछि नै परेको देखिन्छ ।
२०४९ सालसम्म सुनधारादेखि असनसम्मको पसलमा व्यापार व्यवसाय नेपालभाषाबाटै हुन्थ्यो । हाल आएर सुनधारादेखि असनसम्म नेवारहरू विस्थापित भइसकेको अवस्था छ । त्यहाँ अब नेपालभाषा बोलेर सामान बेच्नुपर्दैन । त्यति बेला बैंकमा जाने बखत नेपाल बैंकका कर्मचारीहरू पहिला–पहिला नेवाः कर्मचारी पनि देखिन्थे । हाल आएर नेपाल बैंकमा नेपालभाषा बोल्ने वातावरण रहेन । त्यसै गरी केही समयअगाडिदेखि नेपाली भाषा मात्रै बोल्ने कोही कीर्तिपुरको गाउँ–गाउँमा घुम्न गएको खण्डमा त्यहाँ खस भाषा बोलेर केही सामान किन्न खोज्यो भने पनि ‘भाय् मस्यू’ भनी तर्किने गरिन्थ्यो । अहिले भने बच्चादेखि बुढाबुढीसम्म पनि खस नेपाली भाषा बोल्ने चलन गर्न थालेका छन् । २०४० सालमा डा. हर्ष गुरुङको अध्यक्षतामा एक भाषा विस्थापनको अवस्थाबारे अध्ययन भएको थियो । अध्ययनको समयमा कोही कोही मात्रै मानिस बाहिरबाट यहाँ आएका देखिए । उपत्यकाभित्र नेवारहरूले बोल्ने नेपालभाषा बोल्ने चलन बाहिरबाट यहाँ आएका नेवारहरूले पनि गरेका थिए । तर, हाल भने ती नेवारहरूको आदिभूमि हो भन्ने दाबी गर्न नहुने अवस्था आएको छ । नेवारहरूभन्दा पनि गैरनेवारहरूको बाहुल्यता देखिएको छ । काठमाडौं, ललितपुर त झन् अतिक्रमण भएको छ । जग्गा कारोबारको हिसाबले केही कम अतिक्रमण भएको स्थान भने भक्तपुर मात्रै हो ।
उपत्यका नेवार आदिभूमि हो । पहिला–पहिला बाहिरबाट आउने सबै जाति नेवारी भाषा बोल्थे । तामाङदेखि मधेसकाले पनि नेवारी भाषा बोल्न सिक्थे । २०४० सालसम्म यहाँ ६७ प्रतिशत मानिसहरू बाहिरबाट आएका देखा परेको थियो । हाल २४ प्रतिशतसम्म रहेका बाहुन क्षत्री उपत्यकाभित्र ४४ प्रतिशत पुग्ने अवस्थामा छन् । तथ्यांकले यस्तो अवस्था सिर्जना हुने गरेको छ । २०५० सालपछि सीधै यहाँ नेवाहरूको पहिचान र सांस्कृतिकरुपमा समेत आक्रमण भएको छ । सांस्कृतिकरूपमा नेवारहरूलाई विस्थापित गर्नका लागि भएको एउटा स्पष्ट उदाहरण पहिला–पहिला नेवारहरूबाट राखिएको मौलिक नामहरू सबै खस नेपाली भाषामा राखिसकेको अवस्था छ । लुँबुँ नगरपालिका राखिनुपर्ने स्थानमा हाल महालक्ष्मी नगरपालिका राखिएको छ । त्यस्तो कुरामा अरू त अरू नै भयो । हामी नेवारहरूको गुथिका नाइकेहरूसमेत मौन रहन पुग्यौं । महालक्ष्मी क्षेत्रमा अग्ला अग्ला घरहरू बनिसके । ती घरहरू सबै गैरनेवारहरूका हुन् । कसरी केही वर्षभित्रै चार भञ्ज्याङ पार गरी उपत्यका भित्रिएका गैरनेवारहरूले नेवारहरूको जाग्गा किनेर पनि घर ठड्याउन सम्भव भयो ? कसरी हाम्रो जग्गा जमिन सबै बाहिरका मानिसहरूको हातमा पर्न गयो ? त्यो भने विचार गर्नुपर्ने भएको छ । त्यसैले पनि हिजोको भक्तपुरको ≈वगां पलि आज ‘भत्क्यापाटी’ हुन पुगेको छ । हिजोको ज्वः फल्चा ‘जोरपाटी’ हुन पुगेको छ । त्यति मात्रै होइन कि इनाय्गाः हाल ‘दूधपाटी’ हुन पुगेको छ । हिजोको च्वकंतिला आज ‘चोकिन चिल्ला’ हुन पुगेको छ । तप्पा दम्फो पनि ‘वाईसीएल मार्ग’ मा परिणत भएको छ ।
चार भञ्ज्याङ पार गरी आएका मानिसहरू दश–बाह्र वर्षभित्रै जग्गा किनेर घर बनाउन कसरी सफल भए ? हामी भने विवाह, व्रतबन्ध गर्न पनि आफ्नो जग्गा बेच्न बाध्य भइरहेका छौं । डेनियल राइट जस्ता अन्तर्राष्ट्रियस्तरका विद्वानले मल्लकालमा नेवारहरू उच्चस्तरको भन्ने गरेकोमा हाल आएर नेवाहरू झन् झन् विस्थापित भएर गएका छन् । हामीले यस विषयमा चाँडो विचार गर्नुपर्ने देखिन्छ ।

http://www.newsofnepal.com/2016/10/23/%E0%A4%89%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%A8%E0%A5%87%E0%A4%B5%E0%A4%BE%E0%A4%B0-%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A4%BF%E0%A4%B5%E0%A4%BF%E0%A4%B0%E0%A5%81/

राजाको बदनाम गर्न 'झ्याल्चा'

राजाको बदनाम गर्न 'झ्याल्चा'

आइतबार, ०२ असोज २०७३, ०७ : १३ |  शिवहरि घिमिरे

राजाको बदनाम गर्न 'झ्याल्चा'


ललितपुर- रात छिप्पिँदै थियो। घडीमा ९ बज्दै गर्दा ललितपुरको च्यासल चोकमा मानिसको भिडभाड बढ्दै थियो। चारैतिर मधुरो बत्ती। सजिलै मानिसको अनुहार छुट्याउन नसकिने! 'झ्याल्चा' चपा भन्ने एउटा पुरानो घरको उत्तरपट्टि मोहडामा ठूलो झ्याल देखिन्छ। त्यही झ्यालमा टाँगिएको थियो सेतो पर्दा। भित्रको उज्यालोले पर्दामा एकाएक दुई मानवाकृति सलबलाएको देखिन्छ। एउटा पुरुष र अर्को महिला। मानवाकृति ठम्याउन गाह्रो पर्दैन। त्यति नै बेला नेवारी संगीत गुन्जिन्छ। संगीतको तालमा ती दुई आकृति नजिकिन्छन्। एकआपासमा चुम्बन गर्छन्, अंकमाल गर्छन्, ...!
पर्दामा देखिएको दृश्यले पुरानो घरको आँगनमा खचाखच मानिसको मनमा अनेकौँ तरंग पैदा हुन्छ। कोही लाज मान्छन्। कोही चुपचाप पर्दामा नियाल्छन्। कसैलाई पर्दामा देखिएको दृश्यले काउकुती लागेजस्तो हुन्छ। कोही रोमाञ्चित भएर ताली बजाउँछन्। सिटी फुक्छन्। बिहीबार राति पाटनको च्यासलस्थित चपाःछेँमा योगनरेन्› मल्लले बनाएको मल्लकालीन घरको एउटा झ्यालमा देखाइने जात्राको प्रसंग हो यो। यो जात्रा पहिलोपटक हेर्न आउनेका लागि अनौठो लाग्छ।
पर्दामा देखिएको मानवाकृतिबीच यौन हाउभाउ मात्र होइन, यौनासनसमेत देखाइन्छ। जात्रा हेर्न आएका बच्चाहरू अचम्म मान्दै त्यसबारे अभिभावकलाई सोध्दै थिए भने पाका र जात्रा बुझेका आफ्नै धुनमा देखिन्थे।
इन्›जात्राका बेला देखाइने यो 'झ्याल्चा' जात्रा पाटनका राजा योगनरेन्› मल्लको पालादेखि सुरु भएको कथन छ। जात्रा आरम्भको सन्दर्भ उठाउँदै ९७ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, 'एक दिन राजा योगनरेन्› मल्ल पाटनतिर जाँदै गर्दा च्यासलको इनारनजिकै एउटी व्यञ्जनकार युवती नुहाउँदै गरेको देख्छन्। निकै सुन्दर युवती देखेर मुग्ध राजाले उनलाई बिहे गरेर दोस्रो रानीका रुपमा भिœयाएपछि जेठी रानीलाई असह्य हुन्छ। जेठी रानीले च्यासलका अवाल (कुम्हाले) उठाएर व्यञ्जनकार रानीको बेइज्जत गर्न झ्याल्चा देखाउन लगाइन्,' उनले भने, 'झ्या भनेको झ्याल र ल्चा भनेको देखाउने हो। ती व्यञ्जनकार सुन्दरी केटीप्रति राजा आकर्षित भएपछि जेठी पत्नीले समाजमा योगनरेन्द्रको बद्नाम गर्न सुरु गरेको जात्रा हो यो।'
पाटन दरबार स्क्वायरमा उक्त जात्राको स्मरण गराउने योगनरेन्› मल्ल र उनका दुई रानीको सालिक अझै पनि छ। 'झ्याल्चा' पाँच दृश्यमा देखाउने चलन छ। दृश्यबारे जात्राको खोजकर्ता सुरज व्यञ्जनकार भन्छन्, 'देखाइएका दृश्यमध्ये पहिलो दृश्यमा दुई पात्र मिलेर पूजा गर्दै योमरी खान्छन्। दोस्रो चरणमा युवतीले बत्ती काटेको दृश्य हुन्छ। युवतीले झुल्दै बत्ती कात्दा युवकले झस्काइरहन्छ। तेस्रोमा युवकले युवतीलाई सम्भोगका लागि आग्रह गर्छ। युवती सहमत नहुँदानहुँदै दुईबीच यौन क्रियाकलाप हुन्छ। चौथो चरणमा युवतीले नै आग्रह गर्छिन्। युवक मान्दैनन्। पछि यौनलीला हुन्छ। पाँचौंमा युवकले आग्रह गर्छ। युवती मञ्जुरी जनाउँछिन् र अन्तिममा फेरि पूजा गरेर 'झ्याल्चा' सकिन्छ।'
उनका अनुसार तत्कालीन समयमा प्रविधिको प्रयोग नभएको र राजा योगनरेन्द्र मल्लकी जेठी रानीको आग्रहमा घरको झ्यालअगाडि पर्दा राखी मधुर उज्यालोमा राजाविरुद्ध यस्तो जात्रा मनाउन थालिएको थियो।
जात्राको छायामा केटा र केटी देखाइए पनि वास्तवमा अभिनय गर्ने दुवै केटा नै हुने परम्परा छ। रातिको समयमा केटीमान्छेले यसरी खुलेर जात्रा देखाउन नसक्ने हुँदा यसका पात्र केटा मान्छेलाई नै बनाउने गरेको स्थानीय अच्यूत व्यञ्जनकार बताउँछन्।
यो जात्राको प्रचलनबारे अर्को प्रसंग पनि छ। खोजकर्ता सुरज व्यञ्जनकारकै भनाइ अनुसार च्यासल चोकमा १७ वर्षीय चिमथकुं नामकी सुन्दर युवती देख्दा घुम्दै आएका राजा मोहित भए र ती युवतीलाई रानी बनाएर दरबार लगे। राजाले दरबारमा जेठी रानी छँदाछँदै अर्की रानी ल्याएको र यौन क्रियाकलाप गरेको प्रसंग स्थानीयले थाहा पाए। त्यसपछि योगनरेन्द्र मल्लको यो क्रियाकलाप जताततै फैलियो। त्यसपछि जनताले राजाले राम्री केटी देखे नछाडने रै'छन् भनेर असुरक्षित महसुस गर्न थाले। त्यतिबेला राजाको प्रत्यक्ष विरोध गर्ने अवस्था नभएकाले अप्रत्यक्ष रूपमा विरोध जनाउन उनका रतिरागका क्रियाकलापलाई पर्दामा अभिनयमार्फत देखाउन सुरु गरिएको हो, जुन आजपर्यन्त जारी छ।
http://www.nagariknews.com/news/5710

१२ दिने गुफा एक रातमै

१२ दिने गुफा एक रातमै

आइतबार, १९ मङि्सर २०७३, ०८ : २५ |  कृष्ण किसी


१२ दिने गुफा एक रातमै
भक्तपुर- मृत्यु संस्कार छोट्याउनुपर्ने आवाज उठिरहेका बेला यहाँ गुफा राख्ने चलन छोट्याउनेको संख्या बढ्न थालेको छ। १२ दिन राख्नुपर्ने गुफा छोट्याएर धेरै परिवारले एक रातमै सम्पन्न गर्न थालेका छन्। लामो संस्कारले धेरै समस्या भएको भन्दै उनीहरूले गुफा अवधि घटाउन थालेका हुन्।

नेवारी संस्कारमा कुनै पनि बालिका किशोरावस्थामा प्रवेशसँगै गुफा राख्नुपर्छ। बालिका महिनाबारी हुनु केही वर्षअघि नै घाम पनि नपस्ने अँध्यारा कोठामा १२ दिन गुफा राख्ने प्रचलन छ। यसलाई सूर्यसँग विवाहका रुपमा लिइन्छ। साथै यसलाई दोस्रो विवाह पनि मानिन्छ। यसभन्दा पहिले बालिकाको बेलविवाह गर्ने प्रचलन छ। बेलविवाहलाई पहिलो विवाह मानिन्छ।

लामो समय गुफा राख्ने प्रचलनले धेरै समस्या आएकालले एक रात बौद्ध विहारमा लगेर छोरी गुफा राखेको लक्ष्मीकेशरी हाकुदुवालले बताइन्। '१२ दिन गुफा राख्दा अध्ययनमा समेत असर पर्ने भएकाले छोट्याएर एकै रातमा छोरीको गुफा राख्ने काम सकेँ,' हाकुदुवालले नागरिकसँग भनिन्, 'अहिले म मात्र होइन, धेरै परिवार व्यस्तताले गर्दा मैलेजस्तै एक रात विहारमा गुफा राख्न थालेका छन्।'

१२ दिन गुफा राख्दा एक जना महिला कुरुवा अनिवार्य बस्नुपर्ने, गुफा सकेपछि भोज खुवाउनुपर्ने, गुफा राख्दा बिरामी भए बाहिर ल्याई उपचार गराउन नमिल्नेलगायत समस्याले गुफा राख्ने परम्परा एक रातमै सम्पन्न गर्न थालिएको उनको तर्क छ।

यसअघि शाक्य, बज्राचार्य थरका नेवार समुदायले मात्रै आफ्ना छोरीलाई विहारमा एक रात गुफा राख्ने गर्दै आएका थिए। तर हिजोआज शाक्य, बज्राचार्यबाहेक किसान नेवार समुदायले पनि १२ दिनको साटो विहारमा छोरीलाई एक रात गुफा राख्न थालेका हुन्।

भक्तपुरमा एक सयभन्दा बढी विहार छन्। टोलटोलमा रहेका तिनै विहारमा छोरीलाई १२ दिन गुफा राख्ने परम्परा छोट्याएर एक रात राखी परम्परा धान्नेको संख्या बढेको हो। गुफा राख्न साइत देखाएर उपयुक्त समयमा छोरी गुफा राखिन्छ। किशोरावस्थामा पुगेकी छोरीको अचानक महिनाबारी भए तुरुन्तै गुफा राखिन्छ।

संस्कृतिविद् ओम धौभडेल किशोरावस्थाका छोरीलाई यौन शिक्षा दिन गुफा राख्ने चलन चलेको सुनाउँछन्। १२ दिन दिनुपर्ने शिक्षा एक रातमै नसकिने भएकाले यसमा वैज्ञानिकता नभएको उनको जिकिर छ। वर्षेनी मंसिर, पुस र माघलगायत जाडो याममा गुफा राख्ने प्रचलन छ।

http://www.nagariknews.com/news/10027

म्ह पूजा

म्ह पूजा - हिमेश



कार्तिक १३, २०७३- कार्तिक शुक्ल पक्षदेखि नेपाल संवत्को नयाँ वर्ष सुरु हुन्छ । त्यसै दिन मनाइने म्ह पूजा हाम्रो संस्कृतिको विशेष पक्ष हो । नयाँ वर्षको अवसरमा आफैंले आफ्नो शरीरको पूजा गर्ने विशिष्ट चलन सम्भवत: अन्यत्र पाइन्न । चन्द्रमासमा आधारित यो संवत् नेपालको संस्कृति तथा परम्परासँग भिजेको छ । त्यसैले पनि नयाँ वर्षको पहिलो दिन आफ्नो शरीरको पूजा गरेर सुरुआत गर्नुको विशिष्ट अर्थ छ ।
नेपाल भाषामा म्हको अर्थ हुन्छ, शरीर । अनि त्यसैको पूजा– म्ह पूजा । मल्लकालतिर जति पनि काठमाडौं उपत्यका प्रवेश गर्थे, उनीहरू सबै यहाँको भाषा, संस्कृतिसँग नजिक हुन्थे । आफूलाई त्यसै अनुसार ढाल्ने काम गर्थे । त्यसैले केही सस्कृतविदले के मानेका छन् भने म्ह: पूजा सायद मल्लकालमा खास एक समुदायसँग मात्र जोडिएको पर्व थिएन । सम्भवत: त्यति बेला काठमाडौंका सबै आम जनताले मनाउने यो पर्व थियो, त्यो पनि नयाँ वर्षको उपलक्ष्यमा ।  आजभोलि नेवार जातिले मनाउने विशेष पर्वको रूपमा यसको व्याख्या गरिन्छ । काठमाडौं उपत्यकामा स्वन्ति तीन दिन मनाइन्छ । स्वन्ति अर्थात् तिहार । पहिलो दिन लक्ष्मी पूजा, म्ह पूजा दोस्रो र किजा पूजा तेस्रो दिन । किजा पूजा अर्थात् भाइटीका ।  नेपाल संवत्को आधारमा लक्ष्मी पूजा वर्षको अन्तिम दिन हो । त्यसैले यो सालतमामी गर्ने दिन पनि हो । अर्थात् आफ्नो व्यवसायको एक आर्थिक वर्ष अन्त्य हुने दिन । त्यसको भोलिपल्टबाट नयाँ संवत सुरु हुन्छ र फेरि नयाँ आर्थिक वर्ष । आजभोलि धेरै कारणले आर्थिक वर्ष फरक समयमा मनाउने गरिए पनि केही वर्षअगाडिसम्म लक्ष्मी पूजाकै दिन सालतमामी गर्ने चलन थियो । यो अर्थमा आफ्नो आर्थिक कारोबार र अरू काम वन्द गरेर लक्ष्मीपूजा गर्ने चलन विशिष्ट देखिन्छ । आजभोलि पनि केहीले सांकेतिक रूपमा सालतमामी गर्ने गर्छन् ।  म्ह पूजाको दिन बौद्ध नेवारले बुद्ध, धर्म र संघ, कुलदेवता तथा इष्ट देवताको पूजा गर्छन् । हिन्दु नेवारले भने बलि राजाको पूजा गर्छन् । तर पनि यी दुवै पूजाको मूल आशय भने त्याग र दान शीलताको भावना नै हो । अर्थात् मानिसले आफ्नो जीवन सबै प्राणीको हित र उद्धारका लागि तल्लीन हुन सकोस् भनेर स्मरण गरेर सालिन्दा नयाँ वर्षको अवसरमा आफ्नै शरीरको पूजा गरिन्छ ।  पूजाका क्रममा मण्डल बनाइन्छ । खेलुइता: बालिन्छ । यो सबैभित्र लुकेको दर्शक के हो त ? हाम्रो जीवन पञ्चस्कन्ध र पञ्चतत्वले बनेको मानिन्छ । मानिसको जीवन मृत्युपछि यही पृथ्वीमा विलिन हुन्छ । यो एक अर्थमा शून्यतामा विलिन हुनु हो । मानिसको जीवन वास्तवमै शून्यता जस्तै हो भन्ने भाव यही मण्डल र खेलुइता:ले दिइरहेको हुन्छ । खेलुइता: अर्थात् लामो बत्ती । अरू बत्तीभन्दा यो लामै हुन्छ, हाम्रो अनुहारको लम्बाइ बराबर । अनुहारले कोही पनि मानिसको वास्तविक परिचयको प्रतिनिधित्व गरिरहेको हुन्छ । यसलाई बालेपछि यो खरानीमा परिणत हुन्छ । यसलाई बाल्नुको अर्थ एकातर्फ हामीले पनि चारैतर्फ प्रकाश छर्न सकौं भन्ने हो । अर्कोतर्फ हाम्रो शरीर पनि एक दिन यस्तै खराब हुनेछ भनेर बोध गराउनु पनि हो । समग्रमा आफूभित्र रहेको लोभ, मोह, तृष्णा, लालसा आदिलाई त्यागेर सबै प्राणीको उद्धार गर्न सकौं भनेर प्रतीकात्मक रूपले आफूले आपैंmलाई पूजा गर्नु नै म्ह पूजा हो । हाम्रो पुर्खाले म्ह पूजाको चलन यसै दर्शनलाई प्रत्येक वर्ष पहिलो दिनमै सम्झाउन सुरु गरेका हुन् ।  नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाल हुन् । भनिन्छ, आफूले घरमा ल्याएको बालुवा सुनमा परिणत भएपछि त्यसैको मद्दतले उनले जनतालाई ऋणबाट मुक्त गरेका थिए । यस्तै एक अर्को विश्वासअनुसार व्यापारी शंखधर साख्वा:विरुद्ध विभिन्न आरोप लागेपछि तत्कालीन राजाले उनको सम्पति अतिक्रमण गरे । पछि शंखधर साख्वा:को इमानदारीबारे सबैले थाहा पाए । उनको सम्पत्ति फिर्ता भयो । उनले त्यसै सम्पत्तिको मद्दतले सबै जनताको ऋण मोचन गरे । यसै घटनालाई सम्झेर नयाँ संवत् भयो । यो सबै घटना क्रमलाई पनि कुनै न कुनै रूपमा म्ह पूजा र यससँग जोडिएको दर्शनसँग मिल्न आउँछ ।  संस्कृतिविद्हरूले म्ह पूजाको क्रममा जति पनि चीज प्रयोगमा आउँछन्, तिनमा लुकेको दर्शनलाई व्याख्या गर्ने प्रयास गरेका छन् । जस्तो, मखमली फूल र ओखर त्याग भावनाका लागि प्रेरणा मानिन्छ । फूल, माछा र फलफूलको मिश्रण शक्तिको प्रतीक हो । माछालाई प्रज्ञा र फूललाई करुणाको प्रतीक मानिन्छ । पूजामा सानो पानीको भाँडो पनि प्रयोग हुन्छ । यो यमुनाको प्रतीक हो । कमलको फूलको आठ भागले आठ दिशा तथा अष्टांगिक मार्गको प्रतिनिधित्व गर्छ । सुकुन्दामा गणेश, नाग, कलश, दीप हुन्छन् । गणेश मंगल, नाग काल, कलश लक्ष्मी, दीप प्रकाशको प्रतीक हुन्छ । म्ह पूजापछि आठ परिकार पनि खाइन्छ, अर्थात् च्याता घासा । यो अष्टमातृकाको प्रतीक रह्यो ।  म्ह पूजाका दिन विहान सबेरै उठेर नुहाउनुपर्छ । नसक्नेले राम्रोसँग हात मुख धुनुपर्छ । म्ह पूजा गर्ने ठाउँ र त्यसमा प्रयोग हुने सामग्री सफा सुग्घर राखिन्छ । गोबरले भुइ लिपिन्छ । परिवारका सदस्यको संख्या जति छ, त्यसैअनुसार पूजा सामान र अन्य पदार्थको व्यवस्था गर्नुपर्छ । सगुनका लागि विशेष खाले पूजा थालीको पनि व्यवस्था गर्नुपर्छ । यसलाई कोत: भनिन्छ । फूलमा सयपत्री, भीमसेनपाती, मखमली, गोदावरी चाहिन्छ । यस्तै सिन्दुर, अक्षता, नैबेद्य, इता (सानो बत्ती), जजंका (जनै) पनि चाहिन्छ । सगुनमा हाँसको फुल, सिंगो माछा आवश्यक हुन्छ । भोज भने आफू खुसी हुन्छ, अथवा आफूले सक्दो । सूर्य उदय हुने पूर्व अथवा अस्त हुने पश्चिम दिशातिर फर्केर म्ह पूजा गरिन्छ ।  म्ह पूजा गर्ने जति सदस्य छन्, प्रत्येकको अगाडि जलमण्डल बनाउनुपर्छ । जल मण्डलको बीचमा पाँचवटा तेलको चक्का बनाउनुपर्छ, त्यसलाई चिकंमन्द (तेल मण्डल) भनिन्छ । परिवारको कोही सदस्य बिरामी छन् अथवा घरबाहिर विदेशमा छन् भने पनि उनको प्रतिनिधित्व गर्दै मण्डल बनाइन्छ । त्यस मण्डलको नजिक बस्नेले त्यसमा पनि पूजा गर्ने गर्छन् । पूजाका क्रममा पुरुषले टोपी लगाउँछन् भने महिलाले दायाँ हात बाहिर निकालेर पछ्यौरा ओढ्ने गर्छन् । प्रकाशित: कार्तिक १३, २०७३

http://kantipur.ekantipur.com/printedition/news/2016-10-29/20161029082456.html

‘देवताजस्तो राक्षस’ लाखे

‘देवताजस्तो राक्षस’ लाखे पाँच दिनपछि इन्द्रजात्रा सुरु हुनेछ । त्यसको दुई दिनअगाडि भाद्र शुक्ल द्वादशीका दिन विधिवत् रूपमा लाखे मजिपातस्थित घरबाट निकालिन्छ । - हिमेश, काठमाडौं


भाद्र २५, २०७३- इन्द्रजात्रा के सुरु हुन्छ, सहरतिर लाखेका पनि दिन सुरु हुन्छन् । लामालामा कपाल, अनि डरलाग्दो मुखौटो । अनौठो नृत्य पनि । राक्षस हो, लाखे । तर यो त्यस्तो राक्षस होइन, जसले उद्दण्ड मच्चाउने गर्छ । लाखेलाई शान्त भैरव पनि भनिन्छ । सम्भवत: ०३० सालको वरिपरि हुनुपर्छ, जति बेला काठमाडौंमा जताततैबाट मूर्ति हराउने गथ्र्यो । खासमा मूर्ति चोरिन्थ्यो । जनता गुपचुप हुन्थे । तर भित्रभित्रै सबै एउटै तथ्य के मान्थे भने यो काममा निकै माथिको हात थियो ।

अहिले त्यो माथि पनि रहेन । जे होस्, एक दिन त्यो लाखेको मुखौटो पनि चोरियो । अहिलेको मुखौटो खासमा नयाँ हो । सक्कली होइन । सक्कली मुखौटोमा एउटा ठूलो भव्य हीरा थियो । धेरैपल्टको प्रयासपछि त्यो मुखौटो चोरिएको थियो । कसले चोर्‍यो, कसरी चोर्‍यो, कहिल्यै तथ्य बाहिर आएन । धेरै दिनपछि मुखौटो विष्णुमतीको बालुवामुनि लुकाएर राखिएको भेटियो । त्यसमा त्यो हीरा भने थिएन । मुखौटो पनि बिग्रेको स्थितिमा थियो ।  त्यो त्यही हीरा थियो, जसलाई जंगबहादुरले बेलायत भ्रमणबाट फर्केयता चढाएका थिए । पूरा कथा यस्तो छ । जंगबहादुरले बेलायत यात्राका बेला आफ्ना मिल्ने साथी सिद्धिमान राजभण्डारीलाई पनि सँगै लगेका थिए । लाखेको घर काठमाडौंको मजिपातमा हो । सिद्धिमान त्यस नजिकैको यंगालमा बस्थे । जंगबहादुरको टोली समुद्री बाटो भएर बेलायत गएको थियो । एकपल्ट उनी बसेको जहाज डरलाग्डो आँधीहुरीमा फस्यो । जंगबहादुरलाई के लाग्यो भने अब आफू बाँचिन्न ।  उनी साह्रै डराए । तर सिद्धिमान भने डराएनन् । उनले भने, ‘हामीलाई लाखेले रक्षा गर्नेछ ।’ जंगबहादुरले पनि लाखेलाई सम्झेर प्रार्थना गरेछन् । त्यही बेला जंगबहादुरले घोषणा गरेका रहेछन्, ‘यदि म सकुशल नेपाल फर्कन सकें भने लाखेको मुखौटोमा हीरा चढाउनेछु ।’ नेपाल फर्केयता जंगबहादुरले आफ्नो वचन राखे । समस्यामा पर्दा पनि अहिले पनि लाखेलाई सम्झने हो भने उनले रक्षा गर्ने विश्वास छ । अनि विश्वास के पनि छ भने सम्भवत: जसले त्यो मुखौटो चोरेको थियो, त्यसको पूरा वंशकै नाश भएको हुनुपर्छ ।  पाँच दिनपछि इन्द्रजात्रा सुरु हुनेछ । त्यसको दुई दिनअगाडि भाद्र शुक्ल द्वादशीका दिन विधिवत् रूपमा लाखे मजिपातस्थित घरबाट निकालिन्छ । जंगबहादुरकै पालादेखि हो, लाखे घरबाट निस्केयता पहिलो पूजाका लागि तिनै सिद्धिमानको पुख्र्यौली घरतिर जाने गर्छ । खासमा सिद्धिमानले पनि आफू बेलायतबाट सकुशल नेपाल फर्केयता के घोषणा गरेका रहेछन् भने लाखे निस्केयता पहिलो पूजा आफ्नो परिवारले गर्नेछ । सिद्धिमानले सुरु गरेको परम्परा अहिले पनि कायम छ ।  इन्द्रजात्रामा कुमारीको रथ तातिन्छ । सवभक्व पनि निस्कन्छन् । अनि पुलिकिसी पनि । तर लाखेको आफ्नै आकषर्ण छ । लाखेसँग झ्यालिंचा पनि जोडिन्छ र यो नै धेरैका लागि आकर्षणको विषय हुने गर्छ । मजिपातमा नेवार रंजितकारहरूको बाहुल्य छ । लाखे बन्नेहरू यिनै रंजित हुन् । लाखेको त्यो मुखौटो एकपल्ट लगाउनुपर्छ, त्यो लगाउने मान्छे, मान्छे रहन्न । अविश्वसनीय रूपमा त्यसमा परिवर्तन आउने गर्छ । मुखौटो लगाउन अगाडि मात्र २४ मिटर लामो फित्ता बाँध्नुपर्छ ।  लामो कपाल आफ्नै ठाउँमा छ । मुखौटो सँगै थप पारम्परिक वेशभूषा पनि । मुखौटोसँग जोडिएका भित्ता र कपाल मात्र पनि ३० किलोभन्दा बढी हुन्छ । वेशभूषा सबै जोड्ने हो भने ५० किलो पुग्छ । यति धेरै तौल बोकेर पनि लाखे गजब फुर्तिलो हुन्छ । उत्तिकै जोसिएर नाच्ने पनि गर्छ । ‘लाखेमा साँच्चै केही दैवीय शक्ति नहुँदो हो त यस्तो सम्भव हुन्न,’ ठोकुवा गर्ने गर्छन्, लाखेका मूल नाइके राजीव रंजित । राजीव आपैंm लाखे भने बन्दैनन् । उनी त लाखे बनाउने सबै प्रक्रियाका पुजारीजस्तै हुन् ।  लाखेको घरदेखि अरू सबै सम्पत्तिको जिम्मा यिनै राजीवको परिवारलाई छ । यो काम उनको परिवारले गरिआएको पनि धेरै वर्ष भइसकेको छ । यो परिवारका जति पनि सदस्य छन्, सबैले भाद्र शुक्ल द्वादशी अगाडि राति लाखे छमछम घुँगुरा बजाएर आउने गरेको सुनेकै हुन् । अझ राजीवकी आमा युमना रंजितले धेरैपल्ट यस्तो सुनेकी छन् । उनको परिवार मात्र के र, पूरा टोलवासीले यस्तो आवाज सुनेका छन् । सबै यस्तै दाबी गर्छन् । इन्द्रजात्राका बेला राजीव आपैंm लाखेको सिंहासनअगाडि मुखौटोको सुरक्षाका लागि सुत्ने गर्छन् ।  केही तल–माथि परेको छ भने यी ३१ वर्षीय मूल नाइतेलाई साह्रै अप्ठ्यारो पर्छ । इन्द्रजात्रा चलिरहेको बेला प्रत्येक दिन राजीव र उनको परिवारले सानोतिनो भोजकै आयोजना गर्नुपर्छ । अनि एउटा तथ्य, लाखेलाई काँचो केही पनि चल्दैन, जसरी अरू देवतालाई चल्ने गर्छ । लाखेलाई सबै पकाएर नै चढाउनुपर्ने हुन्छ । त्यसैले त लाखे शान्त भैरव । लाखे राक्षस त हुन्, तर देवताजस्ता ।  मजिपात खासमा संस्कृत शब्द मज्झिपातको अपभ्रंश हो । मज्झिपातको अर्थ हो, बीचको सहर । अनि जति बेला गुणकामदेवले काठमाडौं सहर बनाए, यो मज्झिपात एउटा महत्त्वपूर्ण भाग थियो । मरु, भीमसेनस्थान, जसैदेवल र यंगालले घेरिएको छ, मजिपात । अनि विश्वास छ, लाखेको परम्परा त्यही बेलादेखि सुरु भएको हो । यससँग जोडिएको किंवदन्ती भने यस्तो छ । यही मज्झिपातकी एक युवती निकै राम्री थिइन् र उनी नजिकैको खेतमा गएर कृषिको काम गर्थिन् । उनको एक राक्षससँग माया बसेछ ।  ती राक्षस राति भयो कि तिनै युवतीको घरमा आउँथे र तिनीसँगै सुत्थे । एक दिन होइन, दुई दिन होइन, यो टोल छिमेकीले थाहा पाइहाले । अनि उनीहरूले राक्षसलाई समातेर केरकार गरे । पछि निर्णय के भयो भने ती युवती र राक्षसबीच विवाह गराउने । राक्षस तयार भए । उनलाई के पनि सर्त राखियो भने टोल र छरछिमेकीको रक्षा गर्ने काम पनि उनकै हो । राक्षस यसमा तयार भए । त्यही बेलादेखि हो, लाखेको परम्परा सुरु भएको ।  के लाखेले मजिपातलाई अहिलेसम्म पनि साँच्चै रक्षा गरिरहेकै छन् त ? उनीहरूको विश्वास छ– मजिपातमा कोही पनि बच्चालाई झाडापखाला र अरू यस्तै सरुवा रोग लाग्दैन । लाखे पहिलोपल्ट देख्ने जो कोही सानो बच्चा पक्कै डराउनुपर्ने हो । तर यतातिरका बच्चा सानैमा पनि लाखेसँग डराउँदैनन् । जन्मेदेखि नै निडर हुने गर्छन् । त्यसैले यहाँका युवा बढी हुल्याहा हुने गर्छन् पनि भनिन्छ । यी सबै लाखेसँग जोडिएका यस्ता विश्वास हुन्, जुन अहिलेसम्म पनि अटुट चलिरहेको छ ।  त्यसो त जहाँजहाँ नेवार बस्ती हुने गर्छ, त्यहाँ लाखे हुने गर्छन् नै । इन्द्रजात्रासँग जोडिएको हुँदा मजिपात लाखे भने विशेष र मुख्य हो । मजिपात टोलका जति पनि युवा रंजित छन्, लगभग सबै लाखे बनेकै छन् । पुराना बूढापाका त लाखे हुने नै भए । यसमध्ये ओमशंकर रंजित सबैभन्दा प्रख्यात लाखे हुन् । ‘ओमचा लाखे’ भनेपछि पुरानो समयमा उनलाई नचिन्ने कोही थिएन । उनी गजब नाच्थे । उनी त्यति बेलाका नायकजस्तै थिए ।  लाखे नाचको पनि शैली हुन्छ, यसको पनि व्याकरण हुन्छ भने त्यसका लागि उनी ठ्याक्कै मिल्थे । पछिल्लो समयका चर्चित लाखे भने लक्ष्मण रंजित हुन् । पछिल्लो भूकम्पमा उनको खुट्टा भाँचिएपछि उनी दोहोर्‍याएर लाखे भएका छैनन् । यही मजिपातका कुमार रंजित भने अहिलेसम्म लाखे भएका छैनन् । तिनै मूल नाइके राजीवले पनि कुमारलाई प्रत्येक वर्ष लाखे बन्न प्रस्ताव राख्छन् । तर उनी मान्दैनन् । त्यसमाथि यिनको सानो शरीर, लाखे बन्न पनि सुहाउँदैन ।  यी कुमार भने बौद्धिक छन् । लाखेबारे केही सोध्नु छ भने एउटा आधिकारिक व्यक्ति यिनै हुनुपर्छ । लाखे घरको केही पर यिनको घर पर्छ । उनले लामो समयदेखि लाखेबारे निरन्तर अध्ययन पनि गरिरहेका छन् । लाखे परम्परामा उनी दार्शनिक पक्ष देख्छन् । जस्तो, लाखेसँग जोडिएका चमत्कारी तथ्यबारे विश्वास गर्ने नगर्ने आफ्नो ठाउँमा छ । तर जति बेला गुणकामदेवले सहर बसाले, त्यति बेला यहाँको जनतालाई नियममा राख्न, अनुशासनमा राख्न केही डर–त्रास त देखाउनु नै पथ्र्यो । यो डर–त्रास नै लाखे हो ।  केही खराब काम गरे, ‘लाखेले यस्तो गर्नेछन्, उस्तो गर्नेछन्’ भन्ने डर सबैमा थियो । फेरि लाखे आस पनि हो, किनभने यसले सहरको रक्षा गर्ने विश्वास पनि थियो । यो नै खासमा लाखेसँग जोडिएको ‘लिजेन्ड’ हो । वास्तवमै लाखे गजबका पात्र बनेका छन् । मानवीय शक्तिलाई ठीक ठाउँमा राख्न राक्षसी शक्तिको निर्माण । सायद लाखेजस्तो पात्रको आवश्यकता यति बेला अहिले अझ बढी छ । चारैतर्फ बेतिथि चलिरहेको बेला खराब काम गर्नु हुन्न भन्ने डर उत्पन्न गराउने पात्र लाखेको जीवन्तता कति स्वाभाविक देखिन्छ ।  प्रकाशित: भाद्र २५, २०७३

http://kantipur.ekantipur.com/printedition/news/2016-09-10/20160910115515.html

प्रकाशनको पर्खाइमा सवा लाख श्लोक

प्रकाशनको पर्खाइमा सवा लाख श्लोक - हिमेश



श्रावण २२, २०७३- नेपाल सिद्धार्थ गौतमको जन्मथलो मात्र होइन, बौद्ध धर्मको जन्म पनि यहीं भएको हो। बुद्ध जयन्तीताका काठमाडौंमा भएको पछिल्लो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा यही घोषणा गरिएको थियो। केहीलाई यो चित्त बुझेन। बौद्ध धर्मको जन्म पनि नेपालमै भएको दाबी प्राज्ञिक रूपमा यो ठीक भएन कि? केही अलमलमा पनि परे। जसले यो नारा अगाडि सारे, उनीहरूको दाबी थियो, अब हामीले बौद्ध धर्मको जन्म पनि नेपालमै भएको भन्न सक्नुपर्छ। र, यसका लागि हामीले प्रस्तुत गर्न सक्ने तर्कका रूपमा रहेको छ– शतसाहस्रिका प्रज्ञापारमिता।

नेपाल संस्कृति विश्वविद्यालयको बौद्ध दर्शन विभागका प्रमुख काशीनाथ न्यौपाने दाबी गर्छन्, ‘बौद्ध धर्म दर्शनका प्राय: सबै पुस्तक हस्तलिखित रूपमा नेपालमै उपलब्ध हुनुले यसको मूल थलो नेपाल नै हो भन्दा अत्युक्ति नहोला।’ पछिल्लो समय न्यौपानेसँगै त्यही बौद्ध दर्शन विभागका टीकाराम न्यौपाने, प्रेमराज न्यौपाने र शारदा पौडेलले गज्जब काम गरेका छन् र यो हो, अहिलेसम्म कसैले गर्न नसकेको, शतसाहस्रिका प्रज्ञापारमिताको पूर्ण संकलन। जति बेला उनीहरूको कामले पुस्तकको आकार लिनेछ, पूरा विश्व अचम्ममा पर्नेछ। र, भन्नेछ, ‘यो त वास्तवमै अद्वितीय काम हो।’

शतसाहस्रिका प्रज्ञापारमिता पच्चीस सय वर्षपहिले गौतम बुद्ध स्वर्यले दिएका उपदेशको सार हो। योभन्दा ठूलो संस्कृत भाषामा लेखिएको पुस्तक अहिलेसम्म अर्को छैन। नामैले भन्छ, शतसाहस्रिका प्रज्ञापारमितामा १ लाख २५ हजार श्लोक छन्। महाभारतमा ८० हजार श्लोक छन्। शतसाहस्रिका प्रज्ञापारमितालाई आधार मानेर बौद्ध धर्म दर्शनका अरू ४० ग्रन्थ लेखिएका छन्। खासमा ती सबै शतसाहस्रिका प्रज्ञापारमिताका छोटकरी रूप हुन्।  प्रज्ञापारमिताका जति पनि संस्करण छन्, त्यसमध्ये शतसाहस्रिका प्रज्ञापारमिता सबैभन्दा ठूलो हो भने प्रज्ञापारमिता हृदयसूत्र सबैभन्दा सानो। शतसाहस्रिका प्रज्ञापारमितालाई छाडेर अहिलेसम्म प्रज्ञापारमिताका अरू संस्करण सम्पादन भएर प्रकाशित पनि भइसकेका छन्। तर शतसाहस्रिका प्रज्ञापारमिताको भने सम्पादन र प्रकाशन हुन सकेको थिएन। संस्कृति विश्वविद्यालयका न्यौपाने र उनका साथीहरूले यही काम गरेका हुन्, शतसाहस्रिका प्रज्ञापारमिताको सम्पादन। अब यसले प्रकाशनको बाटो कुरिरहेको छ।  बौद्ध धर्मको महायानी वैपुल्य सूत्रमा दुई प्रकारका ग्रन्थ पाइन्छ। एक प्रकारमा बुद्ध, बोधिसत्व, बुद्धयानको महत्त्व बताइएको हुन्छ। यसमा उदाहरण हुन्, ललितविस्तर, सद्धर्मपुण्डरीक आदि। अर्को प्रकारको ग्रन्थमा महायानको मुख्य सिद्धान्त शून्यता अथवा प्रज्ञाको महत्त्व बताइएको हुन्छ। प्रज्ञापारमिता सूत्र यस्तैमा पर्छ। महायान साहित्यमा प्रज्ञापारमिता सूत्रको सबैभन्दा ठूलो महत्त्व पाइन्छ। यसलाई बौद्ध विद्वान्हरूले आगम ग्रन्थ पनि भनेका छन्। यो बौद्ध संस्कृति साहित्यको प्राचीन ग्रन्थ हो।  सन् १७९ मै प्रज्ञापारमिता सूत्र चिनियाँ भाषामा अनुवाद भइसकेकाले पनि यसको प्राचीनता अनुमान गर्न सकिन्छ। यसको संवाद शैली प्राचीन प्रकारको छ। अरू महायानी ग्रन्थमा गौतम बुद्ध प्राय: अरू कोही बोधिसत्वसँग संवाद गर्छन्। प्रज्ञापारमिता सूत्रमा बुद्ध सुभूति स्थविरसँग कुराकानी गर्छन्। शून्यताबारे यस ग्रन्थमा सुभूति र अर्का स्थविर शारिपुत्रबीच संवाद छ र यो निकै गम्भीर छ। सबैभन्दा महत्त्वपूर्ण तथ्य के भन्दा नेपाली परम्पराअनुसार मूल प्रज्ञापारमिता १ लाख २५ हजार श्लोकको छ।  अहिले सम्पादन भएको यही परम्पराअनुसार हो। यति ठूलो प्रज्ञापारमितालाई घटाएर अष्टसाहस्रिका प्रज्ञापारमिता बनाइयो। यसलाई पनि घटाएर २५ हजार, १० हजार र आठ हजार श्लोकको पनि बनाइयो। समग्र शतसाहस्रिका प्रज्ञापारमिताको सारांश स्वरूपलाई प्रज्ञापारमिता हृदयसूत्र भनिन्छ। नेपालमा अष्टसाहस्रिका प्रज्ञापारमिता बढी लोकप्रिय छ र यसलाई नवग्रन्थमा राखिएको छ। नेपाल मण्डलमा मनाइँदै आएको बौद्ध धर्ममा नवग्रन्थको ठूलो महत्त्व रहेको छ। अझै पनि काठमाडौं उपत्यकामा प्रज्ञापारमिता पाठ गर्ने परम्परा छ।  यस प्रसङगमा एकपल्ट इतिहासमा फर्कन आवश्यक हुन्छ। भारतमा बौद्ध धर्म लोप भए पनि नेपालमा भने संस्कृतमा आधारिक महायानी बौद्ध धर्म प्राचीनकालदेखि नै जीवन्त थियो। लगभग दुई वर्षअगाडिसम्म संस्कृत भाषामा लेखिएका बौद्ध ग्रन्थ नै लुप्त भइसकेको अनुमान थियो। तर त्यस्तो थिएन। सन् १८३३ मा अंग्रेज सरकारले ब्रायन हडसनलाई काठमाडौंमा आवसीय दूत नियुक्त गरे। उनी सन् १८४३ सम्म आफ्नो पदमा रहे। त्यही बेला उनले काठमाडौंमा संस्कृत भाषामा लेखिएका बौद्ध ग्रन्थका पाण्डुलिपि फेला पारे।  तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुरले फालेका यस्ता बौद्ध ग्रन्थ हडसनले जम्मा गरेर ३ सय ८१ पोका बनाए। ती सबै विदेशीलाई उपहार दिए। त्यही बेला के पनि थाहा भयो भने संस्कृतमा लेखिएका बौद्ध ग्रन्थ पाली भाषाका बौद्ध ग्रन्थभन्दा फरक छन्। तर ती चीन र तिब्बतमा रहेका महायानी बौद्ध ग्रन्थसँग भने मिल्दोजुल्दो छन्। हडसनअगाडि एक प्रकारले कसैलाई यसबारे थाहा थिएन। नवग्रन्थसहित जति बेला यी ग्रन्थबारे अध्ययन सुरु भयो, यसले बौद्ध इतिहासमा क्रान्ति नै ल्यायो।  अहिले विदेशमा जति पनि प्रज्ञापारमिताका हस्तलिखित प्रति उपलब्ध छन्, ती सबै नेपालबाटै लगिएका छन्। ती प्रतिमा नेपालको मौलिक रञ्जना, प्रचलित र भुजिंमोल लिपि प्रयोग भएका छन्। पूरा विश्वका बौद्ध धर्मावलम्बी, संस्कृत विज्ञ र अध्ययनकर्ताले लामो समयदेखि शतसाहस्रिका प्रज्ञापारमिताको सम्पादनसहित प्रकाशित होस् भनेर प्रतीक्षा गरिरहेका थिए। अहिलेसम्म शतसाहस्रिका प्रज्ञापारमिताको सम्पादन हुन नसक्नु त यसको विशालता, फरक लिपि र एकै स्थानमा सबै पाण्डुलिपि उपलब्ध नहुनु नै हो।  नेपालमा बौद्ध दर्शनमा विद्यावारिधि गर्ने न्यौपानेले दुई दशकभन्दा बढी समय भइसकेको छ, यसको काम सुरु गरेको। पछिल्लो तीन वर्षदेखि संस्कृति विश्वविद्यालयका यी चारजनाले प्रत्येक दिन १२ घन्टाका दरले यसमा काम गरिरहेका थिए। शतसाहस्रिका प्रज्ञापारमिताका पाण्डुलिपि मात्र संकलन गर्न उनीहरूले २० लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेका छन्।  पाण्डुलिपि संकलन गर्न उनीहरू कहाँ मात्र पुगेनन्? हाम्रो राष्ट्रि्रय अभिलेखालयदेखि आशा सफू गुठी, इटुंबहाल, भगवान बहाल, पाटन।  अनि कोलकाताको एसियाटिक सोसाइटी, नयाँ दिल्लीको इन्दिरा गान्धी राष्ट्रिय अभिलेखालय, बेइजिङको चिनियाँ राष्ट्रिय अभिलेखालय, बेलायतको क्याम्ब्रिज विश्वविद्यालय, जापानको क्याटो र टोकियो विश्वविद्यालय। यसरी जम्मा भएका १६ पाण्डुलिपि प्रयोग गरेर न्यौपाने र उनका साथीहरूले समीक्षात्मक संस्करण तयार पारेका हुन्। यसले पुस्तक आकार लिने हो भने कम्तीमा पाँच सय पानाका २० ठेली तयार हुनेछन्। यसले पनि सजिलै अनुमान गर्न सकिन्छ, शतसाहस्रिका प्रज्ञापारमिता वास्तवमै कति विशाल छ भनेर।  यसले पुस्तकको आकार लिंदा एक करोड रुपैयाँ खर्च हुन सक्छ। ‘हाम्रो कामबारे थाहा पाएपछि तीन चार विदेशी विश्वविद्यालयले शतसाहस्रिका प्रज्ञापारमिताको विशाल ग्रन्थ हामी छाप्छौं भन्ने प्रस्ताव आइसकेका छन्। हामी चाहन्छौं, यो काम नेपालमै होस्, अझ नेपाल सरकारले नै। यो नेपालको अमूल्य सम्पत्ति हो। शतसाहस्रिका प्रज्ञापारमिता नेपालमा उपलब्ध हुनु सबै नेपालीका लागि गौरवको विषय हो। नेपालमा छापेर बाँकी विश्वले शतसाहस्रिका प्रज्ञापारमिता पढ्न पाओस्।’  अनि पुष्टि हुन सक्नेछ, नेपाल सिद्धार्थ गौतमको जन्मथलो मात्र होइन, बौद्ध धर्मको जन्म पनि यहीं भएको हो। त्यसो त न्यौपानेले शतसाहस्रिका प्रज्ञापारमितालाई लिएर सरकारी निकायसँग प्रारम्भिक चरणमा कुराकानी पनि गरिसकेका छन्। खासमा उनीहरू अब सरकारको तर्फबाट ठोस उत्तरको प्रतीक्षामा छन्। न्यौपाने भन्छन्, ‘चीनले एकपल्ट भारतलाई चिनियाँ भाषामा रहेको आठ खण्डको महाभारत उपहार दिएको थियो। नेपालले पनि विदेशीलाई शतसाहस्रिका प्रज्ञापारमिता उपहार दिन सक्छ।’ यसले नेपाल ज्ञानको क्षेत्रमा कति धनी छ, त्यो पूरा विश्वले थाहा पाउनेछ।

 प्रकाशित: श्रावण २२, २०७३

http://kantipur.ekantipur.com/printedition/news/2016-08-06/20160806190354.html

‘ठ्या सफू’ छ कि ?

‘ठ्या सफू’ छ कि ? 
पछिल्लो एक दशकदेखि ‘ठ्या सफू’ अर्थात् पवित्र पुस्तक खोज्ने र त्यसलाई ‘डिजिटलाइज’ गर्ने काम गरिरहेका छन् इतिहासविद् शंकर थापा । ठ्या सफू हराइसकेका छैनन् । तर यिनको अचेल अध्ययन अध्यापन हुन्न । खालि देवता मानेर पूजा चाहिँ हुन्छ । - हिमेश



कार्तिक २७, २०७३- नेवार संस्कृतिको एउटा निकै राम्रो पक्ष हो, पुस्तक प्रेम । यो पुस्तक संस्कृति धेरै अगाडिदेखि रहेको मानिन्छ, त्यो पनि विशिष्ट तरिकाले । यसको एउटा उदाहरण यस्तो छ– पाटनको प्रसिद्ध हिरण्यवर्ण महाविहारमा प्रज्ञापारमिता र अरू हस्तलिखित ग्रन्थको तीन चार वर्षको अन्तरमा फेरि मिलाउने र सिलाउने आदि हुन्छ । विश्वास गरिन्छ, पुस्तकको पनि न्यास हुन्छ । न्यास अर्थात् प्राण । भनौं, जीवन । त्यसैले त पुस्तकलाई ढोग्ने गरिन्छ ।

खुट्टाले छुँदा पनि पाप हुने डर हुन्छ । हिरण्यवर्ण महाविहारमा रहेका हस्तलिखित ग्रन्थलाई मिलाउने क्रममा सबैभन्दा पहिले पूजाविधि गर्दै त्यसको प्राण झिकेर कलशमा हालिन्छ । त्यसपछि मात्र ती ग्रन्थमा जे गर्नुपर्ने हो, गरिन्छ । काम सकेपछि फेरि पूजा विधिबाट प्राण ग्रन्थमा सारिन्छ । काठमाडौं उपत्यका यस्तै हस्तलिखित ग्रन्थका लागि निकै धनी र समृद्ध छ । प्राय: नेवारको घरमा यस्ता हस्तलिखित ग्रन्थ हुने गर्छन् ।  

यी सबै प्रचलित भाषामा ठ्या सफू हुन् । अर्थात् पवित्र पुस्तक । पछिल्लो एक दशकदेखि यिनै ठ्या सफू खोज्ने र त्यसलाई ‘डिजिटलाइज’ गर्ने काम गरिरहेका छन्, इतिहासविद् शंकर थापा । त्रिविविका यी प्रोफेसर डाक्टरले ‘नेवार बुद्धिजम’ मा वरिपरि रहेर १३ पुस्तक लेखिसकेका छन् । यस्तै धेरै जर्नल र अरू पुस्तकमा पनि लेखिसकेका छन् । उनी अहिले त्रिविविको केन्द्रीय इतिहास विभागका प्रमुख पनि हुन् । उनी ‘नेवार बुद्धिजम’ भन्नुलाई संकुचित पनि मान्दैनन् । बरु यसले काठमाडौं उपत्यकामा प्रचलित बौद्ध धर्मलाई विशिष्ट पहिचान मिलेको मान्छन् ।  

थापाले वज्रयान बौद्ध धर्ममा केन्द्रित रहेर गहन अध्ययन सुरु गरेको दुई दशकभन्दा बढी भइसकेको छ । पछिल्लो समय यसमै बढी केन्द्रित छन् । उनका अनुसार केही शताब्दी अगाडिसम्म तिब्बतीहरूका लागि बौद्ध धर्म अध्ययनका लागि नेपाल आउनु ठूलो उपलब्धि हुने गथ्र्यो । युवा तिब्बतीहरू काठमाडौंमा गएर पढ्ने सपना बुन्थे । तिब्बतबाट लामो यात्रा तय गरेर काठमाडौंमा आउने गर्थे र विशेषत: पाटनका वज्राचार्यको घरमा बसेर बौद्ध धर्मको अध्ययन गर्थे । त्यो समयका वज्राचार्य बौद्ध विद्वान्हरू संस्कृतमा पारंगत हुन्थे । अब त यी सबै इतिहास भए । यो परम्परा रहेन । तर त्यति बेला अध्ययनका लागि प्रयोग हुने ठ्या सफू भने अहिलेसम्म पनि ठ्याक्कै हराएका छैनन् । फरक के भने ती ठ्या सफूको अचेल अध्ययन अध्यापन भने हुन्न । खालि देवता मानेर पूजा भने हुन्छ ।  यी ठ्या सफू पनि हराएर जाने क्रममा छन् । ती पुस्तकको आयु पनि सकिँदै छ । त्योभन्दा पनि बढी चिन्ता, ती विदेशीलाई बेचिने क्रम जारी छ । आजभोलि यी ठ्या सफू किन्नमा चिनियाँहरू अगाडि छन्, उनीहरू अचेल धनी छन् र ठ्या सफूका लागि राम्रै मूल्य तिर्न पनि तयार हुन्छन् । यो लाखौं रुपैयाँमा बिक्री हुने गर्छ ।  

पछिल्लो पटकको भूकम्पपछि अझ धेरैलाई आफ्नो घरमा रहेको ठ्या सफूलाई पटक्कै उचित ध्यान दिन सकिरहेका छैनन् । भूकम्पकै कारण कति हराए, कति सधैंका लागि बिग्रिए पनि । यसले ठ्या सफूलाई ‘डिजिटलाइज’ गर्न किनै परिश्रम गरिरहेका थापालाई अझ चिन्तित बनाएको छ । त्यसो त हाम्रै राष्ट्रिय अभिलेखालय, केशर लाइब्रेरी, आशा सफूकुथिमा ठ्या सफूको संग्रह नभएको होइन, त्यहाँ पनि ठ्या सफूको ‘डिजिटलाइज’ नभएका होइनन् । तर व्यक्तिगत र व्यवस्थित रूपमा यो काम गरिरहेका एक्ला व्यक्ति हुन्, थापा । उनले यो काम ब्रिटिस लाइब्ररीले तोकेको खास ‘स्टान्डर्ड’ अनुसार गरिरहेका छन् ।  अहिलेसम्म उनले हजारभन्दा माथिको संख्यामा ठ्या सफूको ‘डिजिटलाइज’ गर्ने काम गरिसके । उनी यति बेला अनुभव गरिरहेका छन्, यो काम अझ तीव्र गतिले गर्नु छ, किनभने ठ्या सफू धेरै कारणले हराउने र बिग्रिने सम्भावना अहिलेकै समयमा छ । सुरुमा उनले यो काम सुरु गर्दा धेरैले ‘यो बाहुन/क्षत्रीको छोरोले यस्तो काम किन गर्नुपर्‍यो ?’ पनि भन्थे । तर अहिले उनलाई विश्वास गर्नेहरू बढेका छन् । यिनले पनि बौद्ध धर्मको उत्तिकै अध्ययन गरेको सुन्दा खुसी हुन्छन् ।  

ठ्या सफू बौद्ध धर्मका ग्रन्थका रूपमा मात्र सीमित छैनन् । यी वंशावली पनि हुन सक्छन् । केही ठ्या सफू हिन्दु धर्मका पनि छन् । यसमा संस्कृत भाषाको पनि प्रयोग भएको छ, अनि नेपाल भाषाको पनि । यस्तै यसमा रञ्जना, प्रचलित, भुजिंमोलजस्ता लिपि पनि प्रयोग गरिएका छन् । थापा मान्छन्, यी सबै नेपालका अमूल्य सम्पत्ति हुन् । यसमा हाम्रो ज्ञान, धर्म, इतिहास र संस्कृति सबै लुकेको छ ।  

नेपाल यी ठ्या सफूमा समृद्ध भनेर बाँकी विश्वले थापा पाएको पनि धेरै भएको छैन, राणाकालमा तिनै ब्रायन हडसन बेलायती प्रतिनिधिका रूपमा नेपाल आएपछि त हो । त्यति बेला उनले पनि यी ठ्या सफूको खुबै अध्ययन गरे र त्यस काममा उनलाई सहयोग गर्ने थिए, पाटनका प्रसिद्ध बौद्ध पण्डित अमृतानन्दले । त्यति बेला भारतबाट हराइसकेको बौद्ध धर्मको एक खास स्वरूप नेपालमा जीवित र जीवन्त छ भनेर कसैलाई थाहा थिएन । हडसनले काठमाडौं उपत्यकामा रहेको संस्कृत बौद्ध धर्मबारे बाँकी विश्वलाई बताए ।  

यिनै ठ्या सफूको ‘डिजिटलाज’ गर्न थापालाई सधैंका लागि दिनुपर्छ भन्ने होइन । उनी आफूले पाएका ठ्या सफूको ‘डिजिटलाइज’ गर्छन् र फिर्ता दिन्छन् । होइन, उनीमाथि विश्वास छैन भने  आफ्नै घरमा बोलाएर आफ्नै अगाडि तस्बिर खिच्न दिए पनि हुन्छ । थापा घरघरमै आउन पनि तयार छन् । उनको सबैभन्दा ठूलो डर हो, यी ठ्या सफू विदेशीलाई बेचिने क्रमलाई लिएर हो । उचित व्यवस्थापन नभएर पनि ठ्या सफू सधैंका लागि हराउने डर छ उनलाई ।  थापा केही वर्षसम्म यो काम गरेर आफूले ‘डिजिटलाइज’ गरेका सबै ठ्या सफू राष्ट्रिय संग्रहालय र लोटस रिसर्चस् सेन्टरलाई दिने योजनामा छन् । उनलाई विश्वास छ, यसले ठ्या सफू अध्ययन अध्यायपन गर्न चाहने सबैका लागि सजिलो हुनेछ । किनभने यसमा अहिलेसम्म पनि अध्ययन अध्यापन हुन सक्ने ठाउँ धेरै नै बाँकी छ । उनी भन्छन्, ‘अहिले पनि यी ठ्या सफूको संरक्षण नगर्ने हो भने कहिले गर्ने त ?’ त्यसैले उनी प्रश्न गर्छन्, ‘तपाईंको घरमा पनि ठ्या सफू छ कि ?’   

प्रकाशित: कार्तिक २७, २०७३

http://kantipur.ekantipur.com/printedition/news/2016-11-12/20161112090028.html

Saturday, April 2, 2016

काजीमानको योगदान

02 Apr 2016
२० चैत्र, २०७२
ओम धौभडेल
काजीमानको योगदान

भत्कपुरको माटोमा जन्मि कला, संस्कृति र सम्पदालाई अति माया गर्ने कलाकारको नाम हो काजीमान कर्माचार्य। आज हामी माझ उनी छैनन्, तरको उनको कला छन्।

बिसं १९२२ मा सुकुलढोकाको बखुँमला गल्लीमा भैरबसिंह र हिरामायाको जेष्ठ सुपुत्रका रुपमा जन्मेका थिए उनी। उनको परिवार जन्मजात तान्त्रिक कर्मकाण्ड गर्थ्यो। लिच्छवी कालमै फस्टाएको तान्त्रिक मतमा कर्माचार्य समुदायबाट महत्वपूर्ण भुमिका निवार्ह भएको देखिन्छ।

काजीमानसँग तन्त्र सिक्नेहरु आउँथे। भक्तपुरका तत्कालीन बडाहाकिम धन शम्शेर पनि उनका चेला थिए। कर्माचार्यबाट प्राप्त बिधा सदुपयोग गर्दै धन शम्शेरले बृहद् पुरहशर््चरण, कुलार्णव रहस्य जस्तो तान्त्रिक बिधाका पुस्तक लेखेका छन्।

काजीमानको अर्को खुबी चित्रकारिता पनि हो। तन्त्रमा चित्रको महत्व हुन्छ। तन्त्र एवं चित्र दुबै बिधाका लागि एकाग्रता, धैर्यता अनि लगन चाहिन्छ। उनी नामूद तान्त्रिकका साथ सिध्दहस्त चित्रकार बने। उनले बनाएका हरेक चित्र दुरुस्त छापा झैं देखिन्छन्।।

औपचारिक शिक्षा बिनै उनले बनाएका चित्र अब्बल रहे। तन्त्र भित्रका अनेकौ मुद्रा तथा यन्त्रलाई भन्दा बढि प्राथमिकता कला, संस्कृति, सम्पदा प्रति ध्यान केन्द्रित गरी उनले मन्दिर, दरवार र संस्कृतिका जीवन्त चित्र बनाए।

उनले भक्तपुरको न्यातापोल देवलदेखि जनकपुरको जानकी मन्दिरसम्म बनाए। चाँगुनारायण, भक्तपुर, काठमाडौं र पाटनको लायकु परिसर, बनेपाको चण्डेश्वरी मन्दिर, सांखुको बज्रयोगिनी मन्दिरका साथै जात्राका चित्र बनाएका छन्। धन शम्शेरले लेखे्को बृहद् पुरहर्श्चरण ग्रन्थका सबै चित्र उनैले बनाएका। उनको एउटा कृति सांखुको बज्रयोगिनी मन्दिर पनि हो। उक्त मन्दिर जिर्णोदार गर्दा उनको चित्रले सहयोगी बनेको थियो।

पोटे्रट कलामा समेत उनी निपुण थिए। मल्ल कालमा राजा महाराजाको ब्यक्ति चित्र बनाउने परम्परा थियो। मल्ल कालको उत्तरार्ध्दतिरका प्रताप मल्ल, भुपतिन्द्र मल्ल लगायत ब्यक्ति चित्रमा अधिक रुचि राख्थे। राजा भूपतिन्द्र मल्लका चित्र तलेजु भित्रको भैरब चोक ,पचपन्न झय्ाल दरबारको माटन तल्लाको कोठा भित्र बिश्वरुप र शिकारका दृश्यमा उनको मुहार देख्न सकिन्छ।

बिसं १९०३ को राजनैतिक परिवर्तन पछि ब्यक्ति चित्रको बिकास अघि बढ्यो। जंगबहादुरको बेलायत भ्मणसंगै कलाकार भाजुमान चित्रकारको उपस्थिती कोशेढूङ्गा साबित हुनपुग्यो। बिसं १८८९ मा कमाण्डर कर्णेल रणबीर सिंह थापाको ब्यक्ति चित्रबाट प्रभाबित भई जंगबहादुरले शुरु गरेको यो परम्परा प्रधानमन्त्री हुने अरु राणाले पनि बेलायतबाट चित्रकार झिकाइ पच्छाए।

जंगबहादुरले झै चन्द्र शम्शेरले पनि दिर्घमान माफर्त कयौं राणा एवं उनका पूर्खाको ब्यक्ति चित्र बनाए। बिसं २००७ सम्ममा नेपाली चित्रकलाले राजमान सिंह चित्रकार, भाजुमान चित्रकार, हनुमन्तसिंह चित्रकार, पूर्णमान चित्रकार,जीतनरसिंह चित्रकार, बखतमान चित्रकार, दिर्घमान चित्रकार, चन्द्रमानसिंह मास्के, तेज बहादुर चित्रकार, समर शम्शेर, चैते चित्रकार, सानु चित्रकार लगायतको नाम इतिहासमा उल्लेख गरेको छ। तर काजीमानको नाम कतै नआउनु दुःखको कुरा हो।

त्यसो त उनले राजामहाराजाका नभई आफ्नै र्पोटेट बनाएका छन्। उमेर ढल्केपछि फुर्सदमा ऐना अगाडि बसि आफ्नै अनुहार बनाए। ७४ बर्षका बुढाले ऐनामा अनुहार हेर्दै बनाउको चित्र अत्याधुनिक क्यामेराले खिचे जस्तै छ।

उनले नै ८२ बर्षको उमेरमा सोहि शैलीमा अर्को चित्र बनाए। उनको परिवारले त्यो प्रकाशमा ल्याएको छैन। मैले हेरेको छु। उनले अधिकांश पोटे्रट ७० देखि ८० बर्ष उमेरमा बनाएको देखिन्छ।

http://nagariknews.com/nagarik-sanibar/story/64069.html