‘ठ्या सफू’ छ कि ?
पछिल्लो एक दशकदेखि ‘ठ्या सफू’ अर्थात् पवित्र पुस्तक खोज्ने र त्यसलाई ‘डिजिटलाइज’ गर्ने काम गरिरहेका छन् इतिहासविद् शंकर थापा । ठ्या सफू हराइसकेका छैनन् । तर यिनको अचेल अध्ययन अध्यापन हुन्न । खालि देवता मानेर पूजा चाहिँ हुन्छ । - हिमेश
कार्तिक २७, २०७३- नेवार संस्कृतिको एउटा निकै राम्रो पक्ष हो, पुस्तक प्रेम । यो पुस्तक संस्कृति धेरै अगाडिदेखि रहेको मानिन्छ, त्यो पनि विशिष्ट तरिकाले । यसको एउटा उदाहरण यस्तो छ– पाटनको प्रसिद्ध हिरण्यवर्ण महाविहारमा प्रज्ञापारमिता र अरू हस्तलिखित ग्रन्थको तीन चार वर्षको अन्तरमा फेरि मिलाउने र सिलाउने आदि हुन्छ । विश्वास गरिन्छ, पुस्तकको पनि न्यास हुन्छ । न्यास अर्थात् प्राण । भनौं, जीवन । त्यसैले त पुस्तकलाई ढोग्ने गरिन्छ ।
खुट्टाले छुँदा पनि पाप हुने डर हुन्छ । हिरण्यवर्ण महाविहारमा रहेका हस्तलिखित ग्रन्थलाई मिलाउने क्रममा सबैभन्दा पहिले पूजाविधि गर्दै त्यसको प्राण झिकेर कलशमा हालिन्छ । त्यसपछि मात्र ती ग्रन्थमा जे गर्नुपर्ने हो, गरिन्छ । काम सकेपछि फेरि पूजा विधिबाट प्राण ग्रन्थमा सारिन्छ । काठमाडौं उपत्यका यस्तै हस्तलिखित ग्रन्थका लागि निकै धनी र समृद्ध छ । प्राय: नेवारको घरमा यस्ता हस्तलिखित ग्रन्थ हुने गर्छन् ।
यी सबै प्रचलित भाषामा ठ्या सफू हुन् । अर्थात् पवित्र पुस्तक । पछिल्लो एक दशकदेखि यिनै ठ्या सफू खोज्ने र त्यसलाई ‘डिजिटलाइज’ गर्ने काम गरिरहेका छन्, इतिहासविद् शंकर थापा । त्रिविविका यी प्रोफेसर डाक्टरले ‘नेवार बुद्धिजम’ मा वरिपरि रहेर १३ पुस्तक लेखिसकेका छन् । यस्तै धेरै जर्नल र अरू पुस्तकमा पनि लेखिसकेका छन् । उनी अहिले त्रिविविको केन्द्रीय इतिहास विभागका प्रमुख पनि हुन् । उनी ‘नेवार बुद्धिजम’ भन्नुलाई संकुचित पनि मान्दैनन् । बरु यसले काठमाडौं उपत्यकामा प्रचलित बौद्ध धर्मलाई विशिष्ट पहिचान मिलेको मान्छन् ।
थापाले वज्रयान बौद्ध धर्ममा केन्द्रित रहेर गहन अध्ययन सुरु गरेको दुई दशकभन्दा बढी भइसकेको छ । पछिल्लो समय यसमै बढी केन्द्रित छन् । उनका अनुसार केही शताब्दी अगाडिसम्म तिब्बतीहरूका लागि बौद्ध धर्म अध्ययनका लागि नेपाल आउनु ठूलो उपलब्धि हुने गथ्र्यो । युवा तिब्बतीहरू काठमाडौंमा गएर पढ्ने सपना बुन्थे । तिब्बतबाट लामो यात्रा तय गरेर काठमाडौंमा आउने गर्थे र विशेषत: पाटनका वज्राचार्यको घरमा बसेर बौद्ध धर्मको अध्ययन गर्थे । त्यो समयका वज्राचार्य बौद्ध विद्वान्हरू संस्कृतमा पारंगत हुन्थे । अब त यी सबै इतिहास भए । यो परम्परा रहेन । तर त्यति बेला अध्ययनका लागि प्रयोग हुने ठ्या सफू भने अहिलेसम्म पनि ठ्याक्कै हराएका छैनन् । फरक के भने ती ठ्या सफूको अचेल अध्ययन अध्यापन भने हुन्न । खालि देवता मानेर पूजा भने हुन्छ । यी ठ्या सफू पनि हराएर जाने क्रममा छन् । ती पुस्तकको आयु पनि सकिँदै छ । त्योभन्दा पनि बढी चिन्ता, ती विदेशीलाई बेचिने क्रम जारी छ । आजभोलि यी ठ्या सफू किन्नमा चिनियाँहरू अगाडि छन्, उनीहरू अचेल धनी छन् र ठ्या सफूका लागि राम्रै मूल्य तिर्न पनि तयार हुन्छन् । यो लाखौं रुपैयाँमा बिक्री हुने गर्छ ।
पछिल्लो पटकको भूकम्पपछि अझ धेरैलाई आफ्नो घरमा रहेको ठ्या सफूलाई पटक्कै उचित ध्यान दिन सकिरहेका छैनन् । भूकम्पकै कारण कति हराए, कति सधैंका लागि बिग्रिए पनि । यसले ठ्या सफूलाई ‘डिजिटलाइज’ गर्न किनै परिश्रम गरिरहेका थापालाई अझ चिन्तित बनाएको छ । त्यसो त हाम्रै राष्ट्रिय अभिलेखालय, केशर लाइब्रेरी, आशा सफूकुथिमा ठ्या सफूको संग्रह नभएको होइन, त्यहाँ पनि ठ्या सफूको ‘डिजिटलाइज’ नभएका होइनन् । तर व्यक्तिगत र व्यवस्थित रूपमा यो काम गरिरहेका एक्ला व्यक्ति हुन्, थापा । उनले यो काम ब्रिटिस लाइब्ररीले तोकेको खास ‘स्टान्डर्ड’ अनुसार गरिरहेका छन् । अहिलेसम्म उनले हजारभन्दा माथिको संख्यामा ठ्या सफूको ‘डिजिटलाइज’ गर्ने काम गरिसके । उनी यति बेला अनुभव गरिरहेका छन्, यो काम अझ तीव्र गतिले गर्नु छ, किनभने ठ्या सफू धेरै कारणले हराउने र बिग्रिने सम्भावना अहिलेकै समयमा छ । सुरुमा उनले यो काम सुरु गर्दा धेरैले ‘यो बाहुन/क्षत्रीको छोरोले यस्तो काम किन गर्नुपर्यो ?’ पनि भन्थे । तर अहिले उनलाई विश्वास गर्नेहरू बढेका छन् । यिनले पनि बौद्ध धर्मको उत्तिकै अध्ययन गरेको सुन्दा खुसी हुन्छन् ।
ठ्या सफू बौद्ध धर्मका ग्रन्थका रूपमा मात्र सीमित छैनन् । यी वंशावली पनि हुन सक्छन् । केही ठ्या सफू हिन्दु धर्मका पनि छन् । यसमा संस्कृत भाषाको पनि प्रयोग भएको छ, अनि नेपाल भाषाको पनि । यस्तै यसमा रञ्जना, प्रचलित, भुजिंमोलजस्ता लिपि पनि प्रयोग गरिएका छन् । थापा मान्छन्, यी सबै नेपालका अमूल्य सम्पत्ति हुन् । यसमा हाम्रो ज्ञान, धर्म, इतिहास र संस्कृति सबै लुकेको छ ।
नेपाल यी ठ्या सफूमा समृद्ध भनेर बाँकी विश्वले थापा पाएको पनि धेरै भएको छैन, राणाकालमा तिनै ब्रायन हडसन बेलायती प्रतिनिधिका रूपमा नेपाल आएपछि त हो । त्यति बेला उनले पनि यी ठ्या सफूको खुबै अध्ययन गरे र त्यस काममा उनलाई सहयोग गर्ने थिए, पाटनका प्रसिद्ध बौद्ध पण्डित अमृतानन्दले । त्यति बेला भारतबाट हराइसकेको बौद्ध धर्मको एक खास स्वरूप नेपालमा जीवित र जीवन्त छ भनेर कसैलाई थाहा थिएन । हडसनले काठमाडौं उपत्यकामा रहेको संस्कृत बौद्ध धर्मबारे बाँकी विश्वलाई बताए ।
यिनै ठ्या सफूको ‘डिजिटलाज’ गर्न थापालाई सधैंका लागि दिनुपर्छ भन्ने होइन । उनी आफूले पाएका ठ्या सफूको ‘डिजिटलाइज’ गर्छन् र फिर्ता दिन्छन् । होइन, उनीमाथि विश्वास छैन भने आफ्नै घरमा बोलाएर आफ्नै अगाडि तस्बिर खिच्न दिए पनि हुन्छ । थापा घरघरमै आउन पनि तयार छन् । उनको सबैभन्दा ठूलो डर हो, यी ठ्या सफू विदेशीलाई बेचिने क्रमलाई लिएर हो । उचित व्यवस्थापन नभएर पनि ठ्या सफू सधैंका लागि हराउने डर छ उनलाई । थापा केही वर्षसम्म यो काम गरेर आफूले ‘डिजिटलाइज’ गरेका सबै ठ्या सफू राष्ट्रिय संग्रहालय र लोटस रिसर्चस् सेन्टरलाई दिने योजनामा छन् । उनलाई विश्वास छ, यसले ठ्या सफू अध्ययन अध्यायपन गर्न चाहने सबैका लागि सजिलो हुनेछ । किनभने यसमा अहिलेसम्म पनि अध्ययन अध्यापन हुन सक्ने ठाउँ धेरै नै बाँकी छ । उनी भन्छन्, ‘अहिले पनि यी ठ्या सफूको संरक्षण नगर्ने हो भने कहिले गर्ने त ?’ त्यसैले उनी प्रश्न गर्छन्, ‘तपाईंको घरमा पनि ठ्या सफू छ कि ?’
प्रकाशित: कार्तिक २७, २०७३
http://kantipur.ekantipur.com/printedition/news/2016-11-12/20161112090028.html
No comments:
Post a Comment