प्रकाशनको पर्खाइमा सवा लाख श्लोक - हिमेश
श्रावण २२, २०७३- नेपाल सिद्धार्थ गौतमको जन्मथलो मात्र होइन, बौद्ध धर्मको जन्म पनि यहीं भएको हो। बुद्ध जयन्तीताका काठमाडौंमा भएको पछिल्लो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा यही घोषणा गरिएको थियो। केहीलाई यो चित्त बुझेन। बौद्ध धर्मको जन्म पनि नेपालमै भएको दाबी प्राज्ञिक रूपमा यो ठीक भएन कि? केही अलमलमा पनि परे। जसले यो नारा अगाडि सारे, उनीहरूको दाबी थियो, अब हामीले बौद्ध धर्मको जन्म पनि नेपालमै भएको भन्न सक्नुपर्छ। र, यसका लागि हामीले प्रस्तुत गर्न सक्ने तर्कका रूपमा रहेको छ– शतसाहस्रिका प्रज्ञापारमिता।
नेपाल संस्कृति विश्वविद्यालयको बौद्ध दर्शन विभागका प्रमुख काशीनाथ न्यौपाने दाबी गर्छन्, ‘बौद्ध धर्म दर्शनका प्राय: सबै पुस्तक हस्तलिखित रूपमा नेपालमै उपलब्ध हुनुले यसको मूल थलो नेपाल नै हो भन्दा अत्युक्ति नहोला।’ पछिल्लो समय न्यौपानेसँगै त्यही बौद्ध दर्शन विभागका टीकाराम न्यौपाने, प्रेमराज न्यौपाने र शारदा पौडेलले गज्जब काम गरेका छन् र यो हो, अहिलेसम्म कसैले गर्न नसकेको, शतसाहस्रिका प्रज्ञापारमिताको पूर्ण संकलन। जति बेला उनीहरूको कामले पुस्तकको आकार लिनेछ, पूरा विश्व अचम्ममा पर्नेछ। र, भन्नेछ, ‘यो त वास्तवमै अद्वितीय काम हो।’
शतसाहस्रिका प्रज्ञापारमिता पच्चीस सय वर्षपहिले गौतम बुद्ध स्वर्यले दिएका उपदेशको सार हो। योभन्दा ठूलो संस्कृत भाषामा लेखिएको पुस्तक अहिलेसम्म अर्को छैन। नामैले भन्छ, शतसाहस्रिका प्रज्ञापारमितामा १ लाख २५ हजार श्लोक छन्। महाभारतमा ८० हजार श्लोक छन्। शतसाहस्रिका प्रज्ञापारमितालाई आधार मानेर बौद्ध धर्म दर्शनका अरू ४० ग्रन्थ लेखिएका छन्। खासमा ती सबै शतसाहस्रिका प्रज्ञापारमिताका छोटकरी रूप हुन्। प्रज्ञापारमिताका जति पनि संस्करण छन्, त्यसमध्ये शतसाहस्रिका प्रज्ञापारमिता सबैभन्दा ठूलो हो भने प्रज्ञापारमिता हृदयसूत्र सबैभन्दा सानो। शतसाहस्रिका प्रज्ञापारमितालाई छाडेर अहिलेसम्म प्रज्ञापारमिताका अरू संस्करण सम्पादन भएर प्रकाशित पनि भइसकेका छन्। तर शतसाहस्रिका प्रज्ञापारमिताको भने सम्पादन र प्रकाशन हुन सकेको थिएन। संस्कृति विश्वविद्यालयका न्यौपाने र उनका साथीहरूले यही काम गरेका हुन्, शतसाहस्रिका प्रज्ञापारमिताको सम्पादन। अब यसले प्रकाशनको बाटो कुरिरहेको छ। बौद्ध धर्मको महायानी वैपुल्य सूत्रमा दुई प्रकारका ग्रन्थ पाइन्छ। एक प्रकारमा बुद्ध, बोधिसत्व, बुद्धयानको महत्त्व बताइएको हुन्छ। यसमा उदाहरण हुन्, ललितविस्तर, सद्धर्मपुण्डरीक आदि। अर्को प्रकारको ग्रन्थमा महायानको मुख्य सिद्धान्त शून्यता अथवा प्रज्ञाको महत्त्व बताइएको हुन्छ। प्रज्ञापारमिता सूत्र यस्तैमा पर्छ। महायान साहित्यमा प्रज्ञापारमिता सूत्रको सबैभन्दा ठूलो महत्त्व पाइन्छ। यसलाई बौद्ध विद्वान्हरूले आगम ग्रन्थ पनि भनेका छन्। यो बौद्ध संस्कृति साहित्यको प्राचीन ग्रन्थ हो। सन् १७९ मै प्रज्ञापारमिता सूत्र चिनियाँ भाषामा अनुवाद भइसकेकाले पनि यसको प्राचीनता अनुमान गर्न सकिन्छ। यसको संवाद शैली प्राचीन प्रकारको छ। अरू महायानी ग्रन्थमा गौतम बुद्ध प्राय: अरू कोही बोधिसत्वसँग संवाद गर्छन्। प्रज्ञापारमिता सूत्रमा बुद्ध सुभूति स्थविरसँग कुराकानी गर्छन्। शून्यताबारे यस ग्रन्थमा सुभूति र अर्का स्थविर शारिपुत्रबीच संवाद छ र यो निकै गम्भीर छ। सबैभन्दा महत्त्वपूर्ण तथ्य के भन्दा नेपाली परम्पराअनुसार मूल प्रज्ञापारमिता १ लाख २५ हजार श्लोकको छ। अहिले सम्पादन भएको यही परम्पराअनुसार हो। यति ठूलो प्रज्ञापारमितालाई घटाएर अष्टसाहस्रिका प्रज्ञापारमिता बनाइयो। यसलाई पनि घटाएर २५ हजार, १० हजार र आठ हजार श्लोकको पनि बनाइयो। समग्र शतसाहस्रिका प्रज्ञापारमिताको सारांश स्वरूपलाई प्रज्ञापारमिता हृदयसूत्र भनिन्छ। नेपालमा अष्टसाहस्रिका प्रज्ञापारमिता बढी लोकप्रिय छ र यसलाई नवग्रन्थमा राखिएको छ। नेपाल मण्डलमा मनाइँदै आएको बौद्ध धर्ममा नवग्रन्थको ठूलो महत्त्व रहेको छ। अझै पनि काठमाडौं उपत्यकामा प्रज्ञापारमिता पाठ गर्ने परम्परा छ। यस प्रसङगमा एकपल्ट इतिहासमा फर्कन आवश्यक हुन्छ। भारतमा बौद्ध धर्म लोप भए पनि नेपालमा भने संस्कृतमा आधारिक महायानी बौद्ध धर्म प्राचीनकालदेखि नै जीवन्त थियो। लगभग दुई वर्षअगाडिसम्म संस्कृत भाषामा लेखिएका बौद्ध ग्रन्थ नै लुप्त भइसकेको अनुमान थियो। तर त्यस्तो थिएन। सन् १८३३ मा अंग्रेज सरकारले ब्रायन हडसनलाई काठमाडौंमा आवसीय दूत नियुक्त गरे। उनी सन् १८४३ सम्म आफ्नो पदमा रहे। त्यही बेला उनले काठमाडौंमा संस्कृत भाषामा लेखिएका बौद्ध ग्रन्थका पाण्डुलिपि फेला पारे। तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुरले फालेका यस्ता बौद्ध ग्रन्थ हडसनले जम्मा गरेर ३ सय ८१ पोका बनाए। ती सबै विदेशीलाई उपहार दिए। त्यही बेला के पनि थाहा भयो भने संस्कृतमा लेखिएका बौद्ध ग्रन्थ पाली भाषाका बौद्ध ग्रन्थभन्दा फरक छन्। तर ती चीन र तिब्बतमा रहेका महायानी बौद्ध ग्रन्थसँग भने मिल्दोजुल्दो छन्। हडसनअगाडि एक प्रकारले कसैलाई यसबारे थाहा थिएन। नवग्रन्थसहित जति बेला यी ग्रन्थबारे अध्ययन सुरु भयो, यसले बौद्ध इतिहासमा क्रान्ति नै ल्यायो। अहिले विदेशमा जति पनि प्रज्ञापारमिताका हस्तलिखित प्रति उपलब्ध छन्, ती सबै नेपालबाटै लगिएका छन्। ती प्रतिमा नेपालको मौलिक रञ्जना, प्रचलित र भुजिंमोल लिपि प्रयोग भएका छन्। पूरा विश्वका बौद्ध धर्मावलम्बी, संस्कृत विज्ञ र अध्ययनकर्ताले लामो समयदेखि शतसाहस्रिका प्रज्ञापारमिताको सम्पादनसहित प्रकाशित होस् भनेर प्रतीक्षा गरिरहेका थिए। अहिलेसम्म शतसाहस्रिका प्रज्ञापारमिताको सम्पादन हुन नसक्नु त यसको विशालता, फरक लिपि र एकै स्थानमा सबै पाण्डुलिपि उपलब्ध नहुनु नै हो। नेपालमा बौद्ध दर्शनमा विद्यावारिधि गर्ने न्यौपानेले दुई दशकभन्दा बढी समय भइसकेको छ, यसको काम सुरु गरेको। पछिल्लो तीन वर्षदेखि संस्कृति विश्वविद्यालयका यी चारजनाले प्रत्येक दिन १२ घन्टाका दरले यसमा काम गरिरहेका थिए। शतसाहस्रिका प्रज्ञापारमिताका पाण्डुलिपि मात्र संकलन गर्न उनीहरूले २० लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेका छन्। पाण्डुलिपि संकलन गर्न उनीहरू कहाँ मात्र पुगेनन्? हाम्रो राष्ट्रि्रय अभिलेखालयदेखि आशा सफू गुठी, इटुंबहाल, भगवान बहाल, पाटन। अनि कोलकाताको एसियाटिक सोसाइटी, नयाँ दिल्लीको इन्दिरा गान्धी राष्ट्रिय अभिलेखालय, बेइजिङको चिनियाँ राष्ट्रिय अभिलेखालय, बेलायतको क्याम्ब्रिज विश्वविद्यालय, जापानको क्याटो र टोकियो विश्वविद्यालय। यसरी जम्मा भएका १६ पाण्डुलिपि प्रयोग गरेर न्यौपाने र उनका साथीहरूले समीक्षात्मक संस्करण तयार पारेका हुन्। यसले पुस्तक आकार लिने हो भने कम्तीमा पाँच सय पानाका २० ठेली तयार हुनेछन्। यसले पनि सजिलै अनुमान गर्न सकिन्छ, शतसाहस्रिका प्रज्ञापारमिता वास्तवमै कति विशाल छ भनेर। यसले पुस्तकको आकार लिंदा एक करोड रुपैयाँ खर्च हुन सक्छ। ‘हाम्रो कामबारे थाहा पाएपछि तीन चार विदेशी विश्वविद्यालयले शतसाहस्रिका प्रज्ञापारमिताको विशाल ग्रन्थ हामी छाप्छौं भन्ने प्रस्ताव आइसकेका छन्। हामी चाहन्छौं, यो काम नेपालमै होस्, अझ नेपाल सरकारले नै। यो नेपालको अमूल्य सम्पत्ति हो। शतसाहस्रिका प्रज्ञापारमिता नेपालमा उपलब्ध हुनु सबै नेपालीका लागि गौरवको विषय हो। नेपालमा छापेर बाँकी विश्वले शतसाहस्रिका प्रज्ञापारमिता पढ्न पाओस्।’ अनि पुष्टि हुन सक्नेछ, नेपाल सिद्धार्थ गौतमको जन्मथलो मात्र होइन, बौद्ध धर्मको जन्म पनि यहीं भएको हो। त्यसो त न्यौपानेले शतसाहस्रिका प्रज्ञापारमितालाई लिएर सरकारी निकायसँग प्रारम्भिक चरणमा कुराकानी पनि गरिसकेका छन्। खासमा उनीहरू अब सरकारको तर्फबाट ठोस उत्तरको प्रतीक्षामा छन्। न्यौपाने भन्छन्, ‘चीनले एकपल्ट भारतलाई चिनियाँ भाषामा रहेको आठ खण्डको महाभारत उपहार दिएको थियो। नेपालले पनि विदेशीलाई शतसाहस्रिका प्रज्ञापारमिता उपहार दिन सक्छ।’ यसले नेपाल ज्ञानको क्षेत्रमा कति धनी छ, त्यो पूरा विश्वले थाहा पाउनेछ।
प्रकाशित: श्रावण २२, २०७३
http://kantipur.ekantipur.com/printedition/news/2016-08-06/20160806190354.html
No comments:
Post a Comment