‘देवताजस्तो राक्षस’ लाखे पाँच दिनपछि इन्द्रजात्रा सुरु हुनेछ । त्यसको दुई दिनअगाडि भाद्र शुक्ल द्वादशीका दिन विधिवत् रूपमा लाखे मजिपातस्थित घरबाट निकालिन्छ । - हिमेश, काठमाडौं
भाद्र २५, २०७३- इन्द्रजात्रा के सुरु हुन्छ, सहरतिर लाखेका पनि दिन सुरु हुन्छन् । लामालामा कपाल, अनि डरलाग्दो मुखौटो । अनौठो नृत्य पनि । राक्षस हो, लाखे । तर यो त्यस्तो राक्षस होइन, जसले उद्दण्ड मच्चाउने गर्छ । लाखेलाई शान्त भैरव पनि भनिन्छ । सम्भवत: ०३० सालको वरिपरि हुनुपर्छ, जति बेला काठमाडौंमा जताततैबाट मूर्ति हराउने गथ्र्यो । खासमा मूर्ति चोरिन्थ्यो । जनता गुपचुप हुन्थे । तर भित्रभित्रै सबै एउटै तथ्य के मान्थे भने यो काममा निकै माथिको हात थियो ।
अहिले त्यो माथि पनि रहेन । जे होस्, एक दिन त्यो लाखेको मुखौटो पनि चोरियो । अहिलेको मुखौटो खासमा नयाँ हो । सक्कली होइन । सक्कली मुखौटोमा एउटा ठूलो भव्य हीरा थियो । धेरैपल्टको प्रयासपछि त्यो मुखौटो चोरिएको थियो । कसले चोर्यो, कसरी चोर्यो, कहिल्यै तथ्य बाहिर आएन । धेरै दिनपछि मुखौटो विष्णुमतीको बालुवामुनि लुकाएर राखिएको भेटियो । त्यसमा त्यो हीरा भने थिएन । मुखौटो पनि बिग्रेको स्थितिमा थियो । त्यो त्यही हीरा थियो, जसलाई जंगबहादुरले बेलायत भ्रमणबाट फर्केयता चढाएका थिए । पूरा कथा यस्तो छ । जंगबहादुरले बेलायत यात्राका बेला आफ्ना मिल्ने साथी सिद्धिमान राजभण्डारीलाई पनि सँगै लगेका थिए । लाखेको घर काठमाडौंको मजिपातमा हो । सिद्धिमान त्यस नजिकैको यंगालमा बस्थे । जंगबहादुरको टोली समुद्री बाटो भएर बेलायत गएको थियो । एकपल्ट उनी बसेको जहाज डरलाग्डो आँधीहुरीमा फस्यो । जंगबहादुरलाई के लाग्यो भने अब आफू बाँचिन्न । उनी साह्रै डराए । तर सिद्धिमान भने डराएनन् । उनले भने, ‘हामीलाई लाखेले रक्षा गर्नेछ ।’ जंगबहादुरले पनि लाखेलाई सम्झेर प्रार्थना गरेछन् । त्यही बेला जंगबहादुरले घोषणा गरेका रहेछन्, ‘यदि म सकुशल नेपाल फर्कन सकें भने लाखेको मुखौटोमा हीरा चढाउनेछु ।’ नेपाल फर्केयता जंगबहादुरले आफ्नो वचन राखे । समस्यामा पर्दा पनि अहिले पनि लाखेलाई सम्झने हो भने उनले रक्षा गर्ने विश्वास छ । अनि विश्वास के पनि छ भने सम्भवत: जसले त्यो मुखौटो चोरेको थियो, त्यसको पूरा वंशकै नाश भएको हुनुपर्छ । पाँच दिनपछि इन्द्रजात्रा सुरु हुनेछ । त्यसको दुई दिनअगाडि भाद्र शुक्ल द्वादशीका दिन विधिवत् रूपमा लाखे मजिपातस्थित घरबाट निकालिन्छ । जंगबहादुरकै पालादेखि हो, लाखे घरबाट निस्केयता पहिलो पूजाका लागि तिनै सिद्धिमानको पुख्र्यौली घरतिर जाने गर्छ । खासमा सिद्धिमानले पनि आफू बेलायतबाट सकुशल नेपाल फर्केयता के घोषणा गरेका रहेछन् भने लाखे निस्केयता पहिलो पूजा आफ्नो परिवारले गर्नेछ । सिद्धिमानले सुरु गरेको परम्परा अहिले पनि कायम छ । इन्द्रजात्रामा कुमारीको रथ तातिन्छ । सवभक्व पनि निस्कन्छन् । अनि पुलिकिसी पनि । तर लाखेको आफ्नै आकषर्ण छ । लाखेसँग झ्यालिंचा पनि जोडिन्छ र यो नै धेरैका लागि आकर्षणको विषय हुने गर्छ । मजिपातमा नेवार रंजितकारहरूको बाहुल्य छ । लाखे बन्नेहरू यिनै रंजित हुन् । लाखेको त्यो मुखौटो एकपल्ट लगाउनुपर्छ, त्यो लगाउने मान्छे, मान्छे रहन्न । अविश्वसनीय रूपमा त्यसमा परिवर्तन आउने गर्छ । मुखौटो लगाउन अगाडि मात्र २४ मिटर लामो फित्ता बाँध्नुपर्छ । लामो कपाल आफ्नै ठाउँमा छ । मुखौटो सँगै थप पारम्परिक वेशभूषा पनि । मुखौटोसँग जोडिएका भित्ता र कपाल मात्र पनि ३० किलोभन्दा बढी हुन्छ । वेशभूषा सबै जोड्ने हो भने ५० किलो पुग्छ । यति धेरै तौल बोकेर पनि लाखे गजब फुर्तिलो हुन्छ । उत्तिकै जोसिएर नाच्ने पनि गर्छ । ‘लाखेमा साँच्चै केही दैवीय शक्ति नहुँदो हो त यस्तो सम्भव हुन्न,’ ठोकुवा गर्ने गर्छन्, लाखेका मूल नाइके राजीव रंजित । राजीव आपैंm लाखे भने बन्दैनन् । उनी त लाखे बनाउने सबै प्रक्रियाका पुजारीजस्तै हुन् । लाखेको घरदेखि अरू सबै सम्पत्तिको जिम्मा यिनै राजीवको परिवारलाई छ । यो काम उनको परिवारले गरिआएको पनि धेरै वर्ष भइसकेको छ । यो परिवारका जति पनि सदस्य छन्, सबैले भाद्र शुक्ल द्वादशी अगाडि राति लाखे छमछम घुँगुरा बजाएर आउने गरेको सुनेकै हुन् । अझ राजीवकी आमा युमना रंजितले धेरैपल्ट यस्तो सुनेकी छन् । उनको परिवार मात्र के र, पूरा टोलवासीले यस्तो आवाज सुनेका छन् । सबै यस्तै दाबी गर्छन् । इन्द्रजात्राका बेला राजीव आपैंm लाखेको सिंहासनअगाडि मुखौटोको सुरक्षाका लागि सुत्ने गर्छन् । केही तल–माथि परेको छ भने यी ३१ वर्षीय मूल नाइतेलाई साह्रै अप्ठ्यारो पर्छ । इन्द्रजात्रा चलिरहेको बेला प्रत्येक दिन राजीव र उनको परिवारले सानोतिनो भोजकै आयोजना गर्नुपर्छ । अनि एउटा तथ्य, लाखेलाई काँचो केही पनि चल्दैन, जसरी अरू देवतालाई चल्ने गर्छ । लाखेलाई सबै पकाएर नै चढाउनुपर्ने हुन्छ । त्यसैले त लाखे शान्त भैरव । लाखे राक्षस त हुन्, तर देवताजस्ता । मजिपात खासमा संस्कृत शब्द मज्झिपातको अपभ्रंश हो । मज्झिपातको अर्थ हो, बीचको सहर । अनि जति बेला गुणकामदेवले काठमाडौं सहर बनाए, यो मज्झिपात एउटा महत्त्वपूर्ण भाग थियो । मरु, भीमसेनस्थान, जसैदेवल र यंगालले घेरिएको छ, मजिपात । अनि विश्वास छ, लाखेको परम्परा त्यही बेलादेखि सुरु भएको हो । यससँग जोडिएको किंवदन्ती भने यस्तो छ । यही मज्झिपातकी एक युवती निकै राम्री थिइन् र उनी नजिकैको खेतमा गएर कृषिको काम गर्थिन् । उनको एक राक्षससँग माया बसेछ । ती राक्षस राति भयो कि तिनै युवतीको घरमा आउँथे र तिनीसँगै सुत्थे । एक दिन होइन, दुई दिन होइन, यो टोल छिमेकीले थाहा पाइहाले । अनि उनीहरूले राक्षसलाई समातेर केरकार गरे । पछि निर्णय के भयो भने ती युवती र राक्षसबीच विवाह गराउने । राक्षस तयार भए । उनलाई के पनि सर्त राखियो भने टोल र छरछिमेकीको रक्षा गर्ने काम पनि उनकै हो । राक्षस यसमा तयार भए । त्यही बेलादेखि हो, लाखेको परम्परा सुरु भएको । के लाखेले मजिपातलाई अहिलेसम्म पनि साँच्चै रक्षा गरिरहेकै छन् त ? उनीहरूको विश्वास छ– मजिपातमा कोही पनि बच्चालाई झाडापखाला र अरू यस्तै सरुवा रोग लाग्दैन । लाखे पहिलोपल्ट देख्ने जो कोही सानो बच्चा पक्कै डराउनुपर्ने हो । तर यतातिरका बच्चा सानैमा पनि लाखेसँग डराउँदैनन् । जन्मेदेखि नै निडर हुने गर्छन् । त्यसैले यहाँका युवा बढी हुल्याहा हुने गर्छन् पनि भनिन्छ । यी सबै लाखेसँग जोडिएका यस्ता विश्वास हुन्, जुन अहिलेसम्म पनि अटुट चलिरहेको छ । त्यसो त जहाँजहाँ नेवार बस्ती हुने गर्छ, त्यहाँ लाखे हुने गर्छन् नै । इन्द्रजात्रासँग जोडिएको हुँदा मजिपात लाखे भने विशेष र मुख्य हो । मजिपात टोलका जति पनि युवा रंजित छन्, लगभग सबै लाखे बनेकै छन् । पुराना बूढापाका त लाखे हुने नै भए । यसमध्ये ओमशंकर रंजित सबैभन्दा प्रख्यात लाखे हुन् । ‘ओमचा लाखे’ भनेपछि पुरानो समयमा उनलाई नचिन्ने कोही थिएन । उनी गजब नाच्थे । उनी त्यति बेलाका नायकजस्तै थिए । लाखे नाचको पनि शैली हुन्छ, यसको पनि व्याकरण हुन्छ भने त्यसका लागि उनी ठ्याक्कै मिल्थे । पछिल्लो समयका चर्चित लाखे भने लक्ष्मण रंजित हुन् । पछिल्लो भूकम्पमा उनको खुट्टा भाँचिएपछि उनी दोहोर्याएर लाखे भएका छैनन् । यही मजिपातका कुमार रंजित भने अहिलेसम्म लाखे भएका छैनन् । तिनै मूल नाइके राजीवले पनि कुमारलाई प्रत्येक वर्ष लाखे बन्न प्रस्ताव राख्छन् । तर उनी मान्दैनन् । त्यसमाथि यिनको सानो शरीर, लाखे बन्न पनि सुहाउँदैन । यी कुमार भने बौद्धिक छन् । लाखेबारे केही सोध्नु छ भने एउटा आधिकारिक व्यक्ति यिनै हुनुपर्छ । लाखे घरको केही पर यिनको घर पर्छ । उनले लामो समयदेखि लाखेबारे निरन्तर अध्ययन पनि गरिरहेका छन् । लाखे परम्परामा उनी दार्शनिक पक्ष देख्छन् । जस्तो, लाखेसँग जोडिएका चमत्कारी तथ्यबारे विश्वास गर्ने नगर्ने आफ्नो ठाउँमा छ । तर जति बेला गुणकामदेवले सहर बसाले, त्यति बेला यहाँको जनतालाई नियममा राख्न, अनुशासनमा राख्न केही डर–त्रास त देखाउनु नै पथ्र्यो । यो डर–त्रास नै लाखे हो । केही खराब काम गरे, ‘लाखेले यस्तो गर्नेछन्, उस्तो गर्नेछन्’ भन्ने डर सबैमा थियो । फेरि लाखे आस पनि हो, किनभने यसले सहरको रक्षा गर्ने विश्वास पनि थियो । यो नै खासमा लाखेसँग जोडिएको ‘लिजेन्ड’ हो । वास्तवमै लाखे गजबका पात्र बनेका छन् । मानवीय शक्तिलाई ठीक ठाउँमा राख्न राक्षसी शक्तिको निर्माण । सायद लाखेजस्तो पात्रको आवश्यकता यति बेला अहिले अझ बढी छ । चारैतर्फ बेतिथि चलिरहेको बेला खराब काम गर्नु हुन्न भन्ने डर उत्पन्न गराउने पात्र लाखेको जीवन्तता कति स्वाभाविक देखिन्छ । प्रकाशित: भाद्र २५, २०७३
http://kantipur.ekantipur.com/printedition/news/2016-09-10/20160910115515.html
No comments:
Post a Comment