Friday, December 23, 2016

काष्ठमण्डपमुनि लुकेको २२ सय वर्ष पुरानो रहस्य

काष्ठमण्डपमुनि लुकेको २२ सय वर्ष पुरानो रहस्य

सुदीप श्रेष्ठ काठमाडौं, पुस ८ 




स्बिरः नारायण महर्जन/सेतोपाटी

काष्ठमण्डप कसरी बन्यो? कहिले बन्यो?
संस्कृतिविद् यज्ञमान पति बज्राचार्यले सानैदेखि यसको कथा सुन्दै आएका थिए। उनको खलकमा पितापुर्खादेखि नै यो कथा प्रचलित थियो। एक किसिमले भन्दा काष्ठमण्डप निर्माण नै उनको पुर्खासँग जोडिएको थियो। आफ्ना पुर्खाले लेखेका यससम्बन्धी केही कागजात उनले संकलन पनि गरेका थिए। तिनै कागजात र कथा समेटेर उनले २०६० सालमा किताब लेखे– ‘लीलाबज्रः काष्ठमण्डप निर्माता’।
यो किताबले काष्ठमण्डप निर्माणबारे जुन कथा भन्छ, त्यसलाई पुष्टि गर्ने ऐतिहासिक अभिलेखहरू हामीसँग छैनन्। तर, यसले जुन समयमा काष्ठमण्डप बन्यो भन्छ, त्यो अहिले आएर पुरातात्विक अनुसन्धानबाटै पुष्टि भएको छ।
गत वर्ष वैशाख १२ को भुइँचालोपछि नेपाल, बेलायत लगायत देशका पुरातत्वविद्को टोलीले काष्ठमण्डपको जग उत्खनन् गरेको थियो। उनीहरूले ४० दिन लगाएर जगका विभिन्न भागबाट माटो, ढुंगा र अंगारका नमूना झिके। बेलायतको प्रयोगशालामा लगेर उमेर परीक्षण गरे।
यो पुरातात्विक अनुसन्धानले काष्ठमण्डप बनेको समय मात्र पुष्टि गरेको छैन, यसको 'आर्किटेक्चर' र पछिल्ला कैयन् ठूला भुइँचाला थेगेको यो सम्पदा यसपालि किन ढल्यो भन्ने नयाँ तथ्य पनि बाहिर ल्याएको छ। यो अनुसन्धानले काष्ठमण्डपमुनि थिचिएर बसेको २ हजार २ सय वर्ष पुरानो सभ्यताको प्रमाण पनि पहिलोपटक हाम्रा सामु ल्याइदिएको छ।

काष्ठमण्डप संरचना १२ औं शताब्दीमा बनेको इतिहासकारहरूको भनाइ थियो। ऐतिहासिक अभिलेखमा त्योभन्दा पुरानो तिथिमिति फेला परेको छैन। यज्ञमानको किताबले भने यो सम्पदा आठौं शताब्दीमा बनेको कथा भन्छ। पुरातत्व विभाग र बेलायतका डर्हाम तथा स्टर्लिङ विश्वविद्यालयको निष्कर्ष त्यसैसँग मिल्दोजुल्दो छ।
 यो भनेको आजभन्दा १ हजार ३ सय वर्ष पुरानो घटना हो।
इस्वी सम्बत् ७४१ आसपासको।
त्यतिबेला नेपाल खाल्डोमा लिच्छिवी राजा जयदेव (द्वितीय) को शासन थियो। यो क्षेत्र उत्तरमा तिब्बतदेखि दक्षिणमा भारतवर्षभरि ‘ज्ञानभूमि’ का रूपमा चिनिन्थ्यो। भारतका विभिन्न स्थानमा रहेका बौद्धगुरु तथा शिष्य तिब्बत जान नेपाल खाल्डोको बाटो प्रयोग गर्थे। तिब्बतका लामा गुरु तथा शिष्य पनि यही बाटो हुँदै भारतका नालन्दा विश्वविद्यालय, विक्रमशील महाविहारजस्ता संस्थामा अध्ययन गर्न जान्थे। नेपाल खाल्डो बौद्ध विद्वानहरूको बास बस्ने, छलफल गर्ने र पवित्र ग्रन्थहरू लेख्ने ठाउँ थियो। तिब्बतका कुती, केरुङ, ल्हासा र भारतका अयोध्या, नालन्दाजस्ता ठाउँबीच व्यापार मार्ग पनि यही थियो।
त्यही समय यहाँ ‘लीलाबज्र’ नामका सिद्धगुरु थिए, जसको ख्याति तिब्बतदेखि भारतवर्षभरि फैलिएको थियो। नालन्दा विश्वविद्यालय र विक्रमशील महाविहारमा अध्यापन गर्ने यिनी बौद्धशिक्षा र तान्त्रिक विद्याका गुरु थिए।

एकदिन लीलाबज्र कुनै जात्रा हेरिरहेका थिए। उनका आँखा हुलमा सबैभन्दा अग्लो मानिसमा गयो। उनले ती मानिसलाई पहिले कहिल्यै देखेका थिएनन्। उनको असाधारण उचाइ र हाउभाउ देखेर लीलाबज्रलाई लाग्यो, ती साधारण मानिस होइनन्। उनले आफ्नो तन्त्रविद्याको सहाराले ती व्यक्तिलाई वशमा लिए।
जात्रा सकिएपछि भिड लाखापाखा लाग्यो। ती व्यक्ति भने चल्न–हल्न सकेनन्। उनी लीलाबज्रको तन्त्रविद्यामा बाँधिएका थिए।
लीलाबज्रले सोधे, ‘तिमीलाई यसअघि यहाँ कहिल्यै देखेको थिइनँ, तिमी को हौ?’
उनले जवाफ दिए, ‘म कल्पवृक्ष हुँ, रुखहरूको देवता।’
लीलाबज्रको अनुमान सही साबित भयो। उनी साँच्चिकै साधारण मानिस रहेनछन्।
आफ्नो परिचय दिएपछि कल्पवृक्षले सोधे, ‘तिमीले मलाई किन र कुन प्रयोजनका लागि यसरी बाँधेर राख्यौ?’
खासमा लीलाबज्रले कुनै प्रयोजनका लागि उनलाई बाँधेका थिएनन्। तर, जब कल्पवृक्ष नै आफ्नो वशमा परेको थाहा पाए, उनको मनमा एउटा इच्छा जागृत भयो। भने, ‘तिमी कल्पवृक्ष हौ भने मलाई एउटा रुख देऊ, म त्यही रुखको काठबाट यहाँ सत्तल निर्माण गर्न चाहन्छु, ताकि यो बाटो हुँदै आवतजावत गर्ने बटुवाहरूले आराम गर्ने स्थान पाऊन्।’
वशमा परेका कल्पवृक्षसँग लीलाबज्रको इच्छा पूरा नगरी धर थिएन। उनले एउटा अजंगको रुख लीलाबज्रलाई उपलब्ध गराए।
लीलाबज्रले त्यही रुखको काठ प्रयोग गरी काष्ठमण्डप निर्माण गरे, जसलाई ‘मरुसत्तः’ भनिन्छ। नेपाल भाषामा सत्तः भनेको पाटीपौवा हो। यो सत्तलले नेपाल खाल्डो हुँदै तिब्बत र भारत ओहोरदोहोर गर्ने बौद्धगुरु तथा व्यापारीहरूलाई आश्रय दियो। पछि जयस्थिति मल्लको पालामा यहाँ गोरखनाथ मन्दिर स्थापना गरिएको र उनका अनुयायी मानिने कपालीहरूको निम्ति बसोबासको व्यवस्था मिलाइएको ऐतिहासिक अभिलेख छ।
त्यतिबेला कल्पवृक्षले दिएको रुख यति विशाल थियो, काष्ठमण्डप निर्माणपछि पनि त्यसका काठ सकिएनन् रे। लीलाबज्रले बचेका काठबाट काष्ठमण्डपको ठिकअगाडि अर्को सत्तल बनाएछन्, जसलाई ‘सिँल्यं सत्तल’ भनियो। त्यो सत्तल अहिले पनि छँदैछ। ‘सिँल्यं’ भन्नाले मुख्य काम सकिएपछि बचेको काठ भन्ने बुझिन्छ। राणाकालमा मानन्धर खलकले त्यहाँ सिंहका मूर्ति स्थापना गराए। त्यही भएर यसलाई ‘सिंहसत्तल’ पनि भन्न थालियो।
लीलाबज्रले सत्तल निर्माणमा प्रयोग गर्न नमिल्ने रुखका जरा र आँख्ला भएका काठ आफ्नै बिहारमा लगेर राखेछन्। त्यसलाई आज पनि ‘सिखोंमू’ (रुखका जरा र जोर्नी जम्मा गरिएको) बहाः भनिन्छ। त्यसको अर्को नाम श्रीखण्ड तरुमूल महाविहार हो।
यज्ञमान पति बज्राचार्य त्यही महाविहारका गुरु हुन्। आफू लीलाबज्रकै ४१ वा ४२ औं पुस्ता भएको उनको भनाइ छ।
‘मैले आफ्नो पितापुर्खाबाट सुनेको र उहाँहरूले छाड्नुभएको टिपोटका आधारमा काष्ठमण्डप कथा लेखेको हुँ,’ बज्राचार्यले सेतोपाटीसँग भने, ‘आखिरमा पुरातात्विक अनुसन्धानले हाम्रै कथा पुष्टि गर्यो।’
काष्ठमण्डप कथा यतिमै सकिन्न।
लीलाबज्रको कामना पुर्याएपछि कल्पवृक्षले भनेछन्, ‘अब मलाई जान देऊ।’
लीलाबज्रले मानेनन्। आफूले बनाउन आँटेको सत्तलमा कल्पवृक्षको दैवीशक्तिको बास सदा रहिरहोस् भन्ने उनको मनसुबा थियो। चलाख लीलाबज्रले सर्त राखे, ‘म तिमीलाई त्यतिबेला मात्र मुक्त गर्छु, जब नुन र तेलको भाउ बराबर हुन्छ।’
कल्पवृक्ष सोझा थिए, राजी भइहाले।
‘देउताहरू मान्छेभन्दा सोझा हुँदा रहेछन्,’ यज्ञमानले हाँस्दै भने, ‘त्यसयता हरेक वर्ष माघे संक्रान्तिको दिन काष्ठमण्डपमा पूजा गरेर नुन र तेलको भाउ सोधनी हुन्छ। न कहिले भाउ बराबर भयो न त कल्पवृक्ष मुक्त भए। आज पनि उनको दैवीशक्ति काष्ठमण्डपमै छ भन्ने विश्वास गरिन्छ।’
जनश्रुतिमा आधारित काष्ठमण्डप किंवदन्तीमा उल्लिखित सबै विवरण पुरातात्विक अन्वेषणबाट पुष्टि हुँदैन। तर, यो १ हजार ३ सय वर्ष पुरानो सम्पदा हो भन्नेमा अब कुनै दुबिधा नरहेको पुरातत्वविद्हरू बताउँछन्।
‘किंवदन्तीहरूमा एउटा समय प्रचलित थियो, हामी अर्कै समयलाई आधार मान्थ्यौं,’ अन्वेषणमा संलग्न पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले सेतोपाटीसँग भने, ‘वैज्ञानिक अनुसन्धानले किंवदन्तीमा चलिआएको समयलाई नै पुष्टि गरेको छ।’
यो त काष्ठमण्डप अन्वेषणबाट निस्केको एउटा तथ्य मात्र हो। यसबाहेक काठमाडौं खाल्डोको प्राचीन सभ्यता झल्काउने अरू थुप्रै तथ्य यो अनुसन्धानबाट उजागर भएको छ।
यसमा सबभन्दा महत्वपूर्ण छ, काठमाडौं खाल्डोमा सभ्यता विकास कहिले भयो?
गत वर्ष काष्ठमण्डप उत्खनन क्रममा पुरातत्वविद्हरूले जमिनको सतहभन्दा पाँच मिटर तलसम्म खनेका थिए। उनीहरूले त्यतिबेलासम्म जमिन खन्दै गए, जबसम्म प्राकृतिक अवस्थाकै माटो फेला परेन। मानवीय हस्तक्षेप नभएको त्यस्तो प्राकृतिक माटोको रङ नै बेग्लै हुन्छ। मानवीय गतिविधिको संकेत देखिने अन्तिम विन्दुसम्म पुगेपछि उनीहरूले त्यहाँको माटो प्रयोगशाला परीक्षण निम्ति लगे। जे नतिजा निस्क्यो, त्यो काठमाडौं सभ्यता विकासको शोधमा अहिलेसम्मकै नयाँ उपलब्धि थियो।
माटोको स्वरुप र त्यसमा रहेको बालुवाको कणको अवस्था परीक्षण गर्दा यहाँ कम्तीमा इसापूर्व दोस्रो शताब्दीमै मानव बस्ती बसिसकेको तथ्य फेला परेको छ। भक्तपुर दरबार क्षेत्र र हाँडीगाउँबाट लगेको माटोको नमूनाले पनि लगभग इसापूर्व दोस्रो शताब्दीतिरै सभ्यता विकास भइसकेको देखाउँछ। यो भनेको आजभन्दा २ हजार २ सय वर्ष पुरानो घटना हो।
‘इसापूर्व दोस्रो शताब्दीमै काठमाडौं खाल्डोमा सहरीकरण सुरु भइसकेको वैज्ञानिक प्रमाण फेला परेको छ,’ कुँवरले भने, ‘काठमाडौं सभ्यताको पुरातात्विक अनुसन्धानमा यो अहिलेसम्मकै महत्वपूर्ण उपलब्धि हो।’
हुन त तीन हजार वर्षभन्दा पुरानो इतिहास मानिएको काठमाडौं सभ्यतामा यो तथ्यांकलाई ‘आश्चर्यजनक खोज’ नमान्न सकिन्छ। लुम्बिनीमा आजभन्दा २५ सय वर्षअघि इसापूर्व छैठौं शताब्दीमै सिद्धार्थ गौतमको जन्म भइसकेको थियो। लुम्बिनीमा शाक्यहरूको सम्पन्न गणराज्य विकास भएका बेला यता काठमाडौं खाल्डोमा को राजा थिए भन्ने प्रामाणिक इतिहास छैन। तर, गोपालवंशी हुँदै महिषपाल र किराँतहरूको शासन चलेको वंशावलीमा पाइन्छ।
‘हामीसँग लिच्छिवीकालपछिको मात्र प्रामाणिक इतिहास छ। त्योभन्दा अगाडिको इतिहास भनेको तत्कालीन शासकहरूको वंशावली मात्र हो,’ इतिहासकार त्रिरत्न मानन्धरले भने।
काठमाडौं खाल्डोमा सभ्यता विकासको इतिहास इसापूर्वसम्मै तन्किएको भए पनि वैज्ञानिक प्रमाणले त्यसलाई अझ बलियो बनाउने उनको भनाइ छ।
काष्ठमण्डप मात्र होइन, भुइँचालो बेला भत्किएका माजुदेगः, त्रैलोक्यमोहन, जगन्नाथ, गोपीनाथ, जैसीदेवल लगायत सम्पदाको उत्खननले पनि पहिले सोचिएभन्दा पुरानो ऐतिहासिक पृष्ठभूमितर्फ संकेत गरेको पुरातत्व विभागले जनाएको छ। विभागले विभिन्न दाताको सहयोगमा यस वर्ष यी सबै सम्पदाको फेरि अन्वेषण गरेको थियो। गत वर्ष र यसपालि दोस्रो अन्वेषणको नेतृत्व पनि पुरातत्व विभागका प्रवक्ता कुँवरसहित डर्हाम विश्वविद्यालय, बेलायतका प्राध्यापक रोबिन कोनिङघाम र पुरातत्व विभागका पूर्व महानिर्देशक कोशप्रसाद आचार्यले संयुक्त रूपमा गरेका थिए।
‘यी सम्पदा जुन ठाउँमा बनेका छन्, त्यहाँ धेरै पहिलेदेखि नै मानवीय गतिविधि हुँदै आएको देखिन्छ,’ पुरातत्व विभाग, डर्हाम विश्वविद्यालय र स्टर्लिङ विश्वविद्यालयले दोस्रो चरणको अन्वेषणपछि यही पुस ५ गते जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी सम्पदाको इतिहास पहिले सोचेभन्दा बढी जटिल छ।’
अन्वेषण क्रममा फेला परेको अर्को महत्वपूर्ण तथ्य काष्ठमण्डपको संरचनासँग सम्बन्धित छ।
पुरातत्वविद्हरूले पहिलोपटक काष्ठमण्डपको जग उदांगो पारेका छन्। काष्ठमण्डप बनेदेखि यसको जग अहिलेसम्म कुनै पुस्ताले देखेका थिएनन्। भोलि यो सम्पदा पुनर्निर्माणपछि फेरि कसैले देख्न पनि पाउने छैनन्।
यसको जगमा नौखण्डको मण्डप छ। नेवार परम्पराअनुसार तिहारमा म्हः पूजा मनाउँदा जस्तो मण्डप बनाइन्छ, यसको आकार लगभग उस्तै छ। ‘काष्ठमण्डपको नामै यही मण्डपका आधारमा राखिएको हो,’ यज्ञमानले भने, ‘यो संरचना स्थापना भएयता नौवटै खण्डको मण्डप देख्न पाउने हामी पहिलो पुस्ता हौं।’
जग उत्खननबाटै पुरातत्वविद्हरूले काष्ठमण्डप ढल्नुको गुत्थी पनि सुल्झाएका छन्। नौवटा मण्डपको बीचमा चारवटा मूलखम्बा अडाउन चारसुर्के ढुंगेजग अर्थात् ‘काठी’ बनाइएको छ। नेपाल भाषामा यसलाई ‘इल्होँ’ भनिन्छ।

गत वर्ष उत्खनन गर्दा यी चारमध्ये उत्तरपूर्वी ढुंगेजग फेला परेको थिएन। यसपालि माटो पन्छाउँदै जाँदा हराएको ढुंगा फेला पर्यो। काष्ठमण्डपको संरचना कसरी बनेको थियो भने, प्रत्येक मूलखम्बाको तल्लो चुच्चोलाई त्यो ढुंगेजगको प्वालभित्र छिराइएको हुन्थ्यो। यसले खम्बालाई हल्लन दिँदैनथ्यो। कुनै समय मर्मतसम्भार गर्दा उत्तरपूर्वी खम्बाको तल्लो चुच्चो भाँचिएछ। यसले खम्बा र ढुंगा आपसमा जोडिएन। मर्मतसम्भारमा संलग्न प्राविधिकहरूले यसको ख्याल गरेनन्। उनीहरूले भाँचिएको काठ फेर्नुको साटो त्यसैको वरिपरि तेलीय इँटा राखेर छोपछाप पारिदिए।
‘मर्मतसम्भारमा भएको त्रुटिले चारवटा मूलखम्बामध्ये एउटा कमजोर अवस्थामा रहेको पाइयो,’ कुँवरले भने, ‘यसबाहेक जगमा अरू कुनै किसिमको समस्या देखिएन। त्यो त्रुटि नहुँदो हो त काष्ठमण्डपले वैशाख १२ को भुइँचालो थेग्न सक्थ्यो कि!’
काष्ठमण्डप ढल्नुको कारण यही एउटा मात्र नहुन पनि सक्छ।
कुँवरले अझ प्रस्ट पार्दै भने, ‘मर्मतसम्भारकै क्रममा माथिल्ला संरचना कसरी बनाइएका थिए भन्ने खुलिसकेको छैन। माथिल्लो तहमा भएको त्रुटि, काठका लकहरू बिग्रेर, काठ कुहिएर, मक्किएर पनि ढलेको हुनसक्छ।’
उनका अनुसार ती चारवटा खम्बा अडाउने प्रत्येक ढुंगेजगमा सुन र तामाका स–साना पाता फेला परेका छन्। सुनको पाता काष्ठमण्डप बनाउने बेलामै पूजा गरेर चढाइएको हुनसक्छ। तामाको पाता भने भुइँको चिसोपना काठमा नजाओस् भनेर सुरक्षाका लागि राखिएको कुँवरले बताए। यतिखेर तारबारले घेरिएको काष्ठमण्डप छिरेर ती ढुंगा हेर्ने हो भने तामाका कण प्रस्टै देखिन्छन्।
पुरातात्विक अन्वेषणबाट खुलेका यस्ता तथ्यले काष्ठमण्डप क्षेत्रका बासिन्दाको छाति गर्वले फुलेको छ। खासगरी यो आठौं शताब्दीमै बनेको पुष्टि हुनुले ‘काष्ठमण्डप किंवदन्ती सही ठहरिएको’ भन्दै उनीहरू सन्तोषी सुनिन्छन्। पहिलोपटक नौवटै मण्डप देख्न पाउनुलाई त आफ्नो ‘भाग्य’ नै ठान्छन्।
‘तेह्र सय वर्षअघि बनेको मण्डप हामीले भाग्यले हेर्न पायौं। यसले काठमाडौंको इतिहासलाई अझ ओजिलो बनाएको छ,’ काष्ठमण्डप पुनर्निर्माणका अभियन्ता आलोक तुलाधरले भने।
इतिहासको यही ओज सुरक्षित र संग्रहित रूपमा भावी पुस्तालाई समर्पण गर्ने उद्देश्य लिँदै यहाँका बासिन्दाले गत सोमबार काष्ठमण्डपमा बज्रयान विधिअनुसार ‘सप्तविधानोत्तर’ (सत्व) पूजा गरे। बज्रयान परम्परामा गरिने सात चरणको पूजालाई सप्तविधानोत्तर पूजा भनिन्छ। यो अदक्षणाबाट सुरु भएर अनुमोदनामा टुंगिन्छ। कुनै कार्य सुरु गर्दा राम्ररी सम्पन्न गर्ने क्षमता हासिल होस् भनी कामना गर्ने पूजालाई अदक्षणा भनिन्छ। अनुमोदना भनेको सबै कार्य सम्पन्न गर्नेहरूलाई सम्मान गर्ने पूजा हो।
यो एउटा धार्मिक विधि त हो नै, सँगसँगै काष्ठमण्डप पुनर्निर्माण ‘हामी आफैं गर्छौं’ भन्ने स्थानीयको संकल्प पनि हो।
‘हामीले सत्वपूजा गरेर पुनर्निर्माणको दायित्व बोकेका छौं र यसलाई जनस्तरबाटै पूरा गर्छौं भन्ने संकल्प लिएका छौं,’ काष्ठमण्डप पुनर्निर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले भने।
भुइँचालो गएको डेढ वर्ष बितिसक्दा पनि सरकारले सम्पदा पुनर्निर्माणमा चासो नदेखाएकाले स्थानीय आफैं अघि सर्नुपरेको उनको भनाइ छ।
काठमाडौं महानगरपालिकाले टेन्डर गरेर निजी ठेकेदारलाई पुनर्निर्माणको जिम्मा सुम्पन खोजेको स्थानीयलाई चित्त बुझेको छैन। यसले सम्पदाको मौलिकपना र गुणस्तरमा सम्झौता हुनसक्ने उनीहरू शंका गर्छन्। नगरपालिकाले यो कामका लागि १६–१७ करोड रुपैयाँको लगत निकालेको छ। जति लागे पनि त्यो रकम ठेक्का, उपठेक्का हुँदै दलालहरूको हातमा नजाओस् भन्नेमा स्थानीय जागरुक छन्।
काष्ठमण्डपसँग जोडिएको विश्वसम्पदा सूचीको महत्ताले पनि स्थानीयलाई गम्भीर बनाएको छ। अलिकति तलमाथि भए सम्पदा सूचीबाटै बाहिरिन सक्ने उनीहरूलाई चिन्ता छ।
‘नाफामूलक उद्देश्य राख्ने समूहबाट सम्पदा पुनर्निर्माण गरिनुहुन्न। पुरातत्व विभागले दिएको ढाँचाअनुसार हामी आफैं जनस्तरबाटै पैसा उठाएर, स्थानीय कालिगढहरू प्रयोग गरेर पुनर्निर्माण सुरु गर्छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘यो सत्वपूजा त्यसैको संकल्प र सुरुआत हो।’
त्यस दिन सत्वपूजामा मूलपुरोहित उनै यज्ञमान पति बज्राचार्य नै थिए, जसले लेखेको काष्ठमण्डप कथाले अहिले वैज्ञानिक आधार प्राप्त गरेको छ।
पूजामा काठमाडौंसहित ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न विहारबाट १ सय २० जना गुरुमा सामेल थिए। गुर्जुहरूको संख्या ६० थियो। घरि उठेर, घरि बसेर हातका औंलालाई अनेक मुद्रामा चारै दिशातिर नचाउँदै गरिएको सत्वपूजाअघि काष्ठमण्डप पुनर्निर्माण अभियानका श्रेष्ठले भनेका थिए, ‘आठौं शताब्दीको पुर्खाले बनाएको सम्पदालाई आगामी पुस्ताको निम्ति सुम्पने अभिभारा हाम्रो काँधमा छ।’
त्यही समारोहमा कवि दुर्गालाल श्रेष्ठले काष्ठमण्डपको महिमा गाउँदै कविता पनि बाचन गरे।
‘रोइरहेछु म यसरी, मानौं
रोइरहेको नै हैन!
जीवनभरिमै आजसरी म
बाँचिरहेको नै छैन!

सरस्वतीका वरदहस्त हे
नेपालीका पुर्खाजन
म काष्ठमण्डप तिमीहरूकै
एउटा सुन्दर सृष्टिसुमन!

नेपालैको माझ म निर्मित
यौटै रुखको हुँ सत्तल
सत्तल तर यस्तो सत्तल हुँ
नेपालैको हृदयस्थल!

नेपाल म हुँ, ए नेपाली!
चम्क चम्क ए मेरो शान
यो भैंचालो के हो बाबा
जागोस् केवल तिम्रो प्राण!

मात्र तिमी उठ हात उठाई
उठ्नेछन् जनसागर–छाल
ढुंगा–मूढै पनि उठ्नेछन्
झललल बाल्दै क्रान्ति–मसाल!’

http://setopati.com/samaj/59434/

Thursday, December 22, 2016

वैभवको विस्तार

वैभवको विस्तार

  • नेपाली समाजको समुन्नतिमा नेवार समुदायको देशव्यापी प्रभाव
वैभवको विस्तार

- रामबहादुर रावल

गुल्जार बजार। चोकमा सानो मन्दिर। गुजुमुच्च बस्ती। चिटिक्कका झ्यालढोका, कोठाचोटा, बुइगल, बार्दली भएका घर। घरभित्र फेर िचोक। यी सब विशेषता काठमाडौँको इन्द्रचोकसँग मिल्छ। इन्द्रचोक अर्थात् पुरानो नेवार बस्ती। प्राचीन नेपाली नगर  सभ्यताको जिउँदो अवशेष।

तर, यो प्रसंग भने इन्द्रचोकको होइन। प्रसंग हो, खलंगाबजार, जुम्लाको। काठमाडौँबाट करबि आठ सय किलोमिटर -सडक मार्गबाट) पश्चिमको विकट पहाडी भूगोल। गाडीमै जाँदा पनि तीन दिनपछि मात्र पुगिन्छ, काठमाडौँबाट। गाडी त के ? बाटो पनि राम्रोस ँग नपहिल्याइएको समयमा काठमाडौँ उपत्यकाकै आदिवासी नेवार व्यवसायीले बसालेको नगर जीवन छ यहाँ।

खलंगा बजारको केन्द्रमा चन्दननाथ मन्दिर छ। मन्दिरलाई दायाँ पारेर करबि २० कदम अघि बढेपछि चौबाटोमा छ, कृष्णमन्दिर। यो सानो मन्दिरसँगै दक्षिणपट्ट िएउटा पसल छ। सानोतिनो डिपार्टमेन्टल स्टोर भने हुन्छ, जहाँ दैनिक उपभोग्य वस्तु, खेलौना,  शृंगार प्रसाधन र ओखतीमूलोसमेत पाइन्छ।

यो पसलको आफ्नै इतिहास छ। यहीँबाट जुम्लामा आधुनिक बजार स्थापना र विस्तार प्रारम्भ भयो। "बजार बस्नुअघि यो त्रिवेणी परेको ठाउँमा मसानघाट थियो," चन्दननाथ-७, जुम्लाका चन्द्रलाल श्रेष्ठ, ६७, भन्छन्, "अहिले पनि अलिकति खन्दा मानव अस्थिपञ्जर भेटिन्छन्।"

टोलभरकिा पाका र पढलेखमा पनि रुचि भएका चन्द्रलालले यहाँको इतिहासको पाण्डुलिपि तयार पारेका छन्। उनका अनुसार काली दह, निली दह, गैरी दह, धौली दह र लामी दह फुटेर बस्ती बसेको ठाउँ हो यो। चन्दननाथ बाबाले ती दह फुटाएको र  दत्तात्रय गुरुले जंगल फँडानी गरी बस्ती बसालेको मानिन्छ। तर, ती बस्ती अलि अग्लो ठाउँमा टाढाटाढा छरएिका थिए।

जुम्लामा कल्याल राजा छँदा केन्द्रमा रणबहादुर शाह थिए। एकीकरण अभियान अन्तर्गत विसं १८३४ मा जुम्ला राज्य पनि नेपालमा गाभियो। तैपनि, जुम्लाको आर्थिक-सामाजिक जीवनमा खासै फरक परेन। राणाकालमा मानबहादुर राणा बडाहाकिम भएर  आएपछि भने कोल्टे नै फेर्‍यो, जुम्लाले। देश-दुनियाँ देखेका राणाले बजार र अर्थतन्त्रका पनि केही नयाँ कडी पहिल्याएका रहेछन्। खास गरी बजार र अर्थतन्त्रलाई चलायमान बनाउने नेवार समुदायको सीप र जाँगरबाट प्रभावित थिए उनी। अर्थतन्त्र चलायमान  नभई राजस्व बढ्दैन, राजस्व नबढी प्रशासनिक खर्च चल्दैन भन्नेसम्म उनले बुझेका थिए। त्यसैले दुल्लु -दैलेख)मा भेटिएका तामाखानी सञ्चालक पूर्णसिंह श्रेष्ठ मल्लसँग 'जुम्लामा बजार छैन, बजार बसालिदिनुपर्‍यो' भनेछन्।

पूर्णसिंह पाटनको मंगलबजार र सुन्धारामा गरी दुई ठाउँमा घर भएका व्यवसायी थिए। वाषिर्क ३६ हजार रुपियाँ राजस्व बुझाउने गरी तामाखानी उत्खननको ठेक्का पाएर दैलेख पुगेका थिए। तामाका गाग्री, ताउलालगायत भाँडाकुडा बनाएर सुर्खेत,  दुल्लुलगायतका बजारमा पठाउँथे। बडाहाकिम मानबहादुरको अनुरोधपछि उनले विसं १९५३ मा साहिँला छोरा रणवीर र कान्छा छोरा कृष्णवीर श्रेष्ठलाई जुम्ला पठाए। बजार बसाउने जिम्मा लिएर आएको श्रेष्ठ परविारलाई बस्न सबै गाउँले मिलेर झडेरीमा  घर बनाइदिए।

बजार बसाल्नु सजिलो थिएन। किनभने, पसल थापेर मात्र बजार बन्दैनथ्यो। किनमेल संस्कृति बसाल्नु आवश्यक थियो। बजार र पसलको प्रचारप्रसार गर्ने आजजस्तो प्रविधि थिएन। तर, व्यावसायिक गुण भएको नेवार परविारलाई उपाय सहजै सुझ्यो,  जात्रा।

त्यतिखेरसम्म त्यहाँ मनोरञ्जनका साधन खासै थिएनन्। त्यसैले जात्रा मनाउने, टाढाटाढाका गाउँलेलाई समेत बोलाउने, त्यही मौकामा बजार र वस्तुको प्रचार र व्यापार बढाउने। बडाहाकिमसमेतको सल्लाहमा गठेमंगल, लाखे, गाईजात्रा, रोपाइँजात्रा,  पल्टनजात्रा, बैरागीजात्राजस्ता प्रचलन सुरु गरएि। आज पनि कृष्णाष्टमी यहाँको सबैभन्दा ठूलो चाड हो। र, त्यसको भोलिपल्ट नवमी पर्व पनि धुमधामका साथ मनाइन्छ। लाखे र क्वाँटी जुम्ली संस्कृतिका अभिन्न अंग बनेका छन्। भेडाबाख्रा पाल्ने त  जुम्लाको पुरानै चलन थियो। "तर, खसहरू मासु भने उसिनेर खान्थे। नेवार आएपछि नै भुटनको चलन गाउँतिर फैलियो," चन्द्रलाल सम्झन्छन्।

जुम्ला मात्र होइन, मुलुकका जुनसुकै भेग वा क्षेत्र पुगे पनि साना-ठूला बजार आएपछि त्यहाँ नेवार बस्ती अवश्य भेटिन्छन्। पूर्वको ताप्लेजुङ होस् वा पश्चिमको दार्चुला, उत्तरको मनाङ होस् वा तराईको पर्सा, जहाँ गए पनि नेवार समुदायको उपस्थिति छ।  उनीहरू जहाँ भेटिन्छन्, त्यहाँ आर्थिक रूपले समृद्ध छन्। सामाजिक हिसाबले प्रतिष्ठित छन्। सांस्कृतिक रूपले विशिष्ट छन्। अन्य समुदायसँग ऐक्यबद्ध छन्।

मेचीदेखि महाकालीसम्म

मुलुकको जनसांख्यिक नक्सामा क्षेत्री, बाहुन, मगर, थारू र तामाङपछि पाँचौँ ठूलो आकारको समुदाय हो, नेवार। ०६८ सालको जनगणना अनुसार मुलुकभर १३ लाख २१ हजार ९ सय ३३ जनसंख्या रहेको यो समुदाय ५१ प्रतिशत काठमाडौँ उपत्यकामै छ। आधा  जनसंख्या बाँकी मुलुकमा छरएिको छ। ७५ वटै जिल्लामा पुगेको यो समुदायका सबैभन्दा कम हुम्लामा २६ जना मात्र छन्। हुम्लाभन्दा केही बढी अर्को हिमाली जिल्ला डोल्पामा छन्। त्यहाँ पनि आर्थिक कारोबार हुने जुफाल र दुनैमा केन्दि्रत छन्।

काठमाडाँै उपत्यकाका मूलवासी भए पनि हिमाली क्षेत्रमा ६३ हजार ७ सय नेवार छन् भने तराईमा दुई लाखभन्दा बढी छन्। हुम्ला, मुगु, दार्चुला, बाजुराजस्ता विकट पहाडी जिल्लाका समेत नेवारहरू पुस्तैनी स्थायी बासिन्दा हुन्।

काठमाडौँ उपत्यकाबाट नेवार समुदाय देशैभर िकसरी फैलियो ? जहाँसुकै कसरी जमेर बस्यो ? कसरी अर्को समुदायसँग अन्तरघुलित भयो ? यस्ता प्रश्नको जवाफ जुम्लाको उदाहरणले नै दिन्छ। आज आठौँ पुस्तामा आइपुग्दा जुम्लावासी नेवारहरूले  'जुम्ली' शब्दभित्रको हेयभावमा आफूप्रतिको पनि अवहेलना सम्भिmन्छन्। जुम्लाको उन्नति, प्रगति र गौरवमा आफ्नो पनि शिर उँचो भएको ठान्छन्। जुम्लाका खस र लामाका कतिपय संस्कृति र संस्कारलाई नेवारले पनि आत्मसात् गरेका छन्। र, नेवारले  बोकेर आएका धेरै संस्कार-संस्कृति अन्य समुदायले पनि अपनाएका छन्। हुँदाहुँदा पछिल्लो छिमलमा त वैवाहिक सम्बन्धमा पनि नेवार-गैरनेवार हेर्न छाडिएको छ। शिक्षा र व्यवसायका बहुविध आयाममा नेवार युवाले आफ्नो भविष्य खोज्न थालेका छन्।  लामा युवती विवाह गरेका चन्दननाथ-७, जुम्लाका नवराज श्रेष्ठ, ३४, खलंगा बजारमै नेवाः किचन नामको रेस्टुराँ चलाइरहेका छन्। भन्छन्, "आजको जमानामा कुनै पनि कुरालाई जातीय आँखाले हेर्नुु हुँदैन। दाम्पत्य त झन् नितान्त निजी कुरा हो।"

जुम्ला त एउटा उदाहरण मात्र हो, नेवार समुदायको बसोवास पूर्वमा इलामदेखि पश्चिमममा डोटीको सिलगढीसम्म र उत्तरमा डोल्पादेखि दक्षिणमा जनकपुर-गौरसम्म छ -हेर्नूस्, बक्स)। पाल्पाको तानेसनमा मखनटोल, वसन्तपुर, असनटोल, विशालबजार, टुँडिखे ल, बांगेमूढाजस्ता नाम र उस्तै हुलिया भएका टोल र बहालहरूका कारण काठमाडौँकै इन्द्रचोक-ठमेल क्षेत्र घुमेजस्तो लाग्छ। भोजपुरको टक्सार पाटन -ललितपुर)सँग मिल्दोजुल्दो छ। तनहुँको बन्दीपुर भक्तपुरको अर्को संस्करणजस्तो देखिन्छ।

काठमाडौँ उपत्यकाबाट विभिन्न कारणले बसाइँ सरेर मुलुकका धेरै भागमा पुगेको छ, नेवार समुदाय -हेर्नूस्, बक्स)। जहाँ गए पनि उनीहरूले आफूसँगै सीप, कला र व्यावसायिक गुण बोकेर गए। त्यसैले निर्जन ठाउँलाई पनि आवाद गरे। जंगल फाँडेर बस्ती  बसाले। बस्तीलाई बजारमा परण्िात गरे। जुन सीप र क्षमता लिएर गए, त्यसैबाट त्यो ठाउँलाई चिनाए। जस्तो ः नेवार उद्यमशीलताका कारण पाल्पाको ढाका प्रसिद्ध भयो। भोजपुर खुकुरीले चिनियो। चैनपुर -संखुवासभा)को परचिय करुवा बन्यो।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग्वका विचारमा त लौहकर्मी नेवार कलाकार प्रस्तरकलाका लागि राम्रो ढुंगा खोज्दै जाँदा धेरै टाढा पुगे। कतिपय फर्के र कतिपय त्यहीँ बसे। उनीहरूले आफ्नो सीप र कलाका कारण कसैसँग हात फैलाउनुपर्ने अवस्था थिएन।  जुनसुकै समुदायमा पनि घुलमिल हुन सक्ने र मानसम्मान पाउन सक्ने भएकाले जहाँ गए, त्यतै बसे। "मान्छे सीप हो। विचार हो। आस्था हो। धर्मसंस्कृति हो," ग्वंग भन्छन्, "नेवार पनि जहाँ गए, यी कुरा सँगै लिएर गएका थिए। त्यसैले उनीहरू जहाँ  पुगेका छन्, गुठी, चाडपर्व, कला, वास्तुकला पनि सँगै गए। स्थापित पनि भए।"

को हुन् नेवार ?

जनै पूणिर्माको भोलिपल्ट काठमाडौँ उपत्यका गाईजात्रामा डुबेको थियो। साँझपख संस्कृतिविद् सत्यमोहन जोशीको पाटनस्थित निवासमा पुग्दा प्रज्ञापारमिता वाचन भइरहेको थियो। वाचनालयमा वरपर छिमेकका महिला-पुरुष जम्मा भएका थिए। जोशी  भन्दै थिए, "हिजो जनै पूणिर्मामा गायत्री मन्त्र पाठ गरी जनै लगाएँ। आज बुद्धको पूजा गररिहेका छौँ।" हिन्दु आर्य पुरोहितका वंशज जोशी बुद्धको शून्यवादमा आधारति प्रज्ञापारमिता दैनिक पाठ गर्छन्।

जोशीजस्तै नेवार समुदायमा अरू पनि पुरोहित परविार छन्, जसको नस्ल र भूमिका दुवै फरक छ। नेवार समुदायमा पुरोहित तीनथरीका छन्। कर्मकाण्डमा तीनैथरी पुरोहित आवश्यक पर्छन्। जोशीले ग्रह, नक्षत्र अनुसार साइत हेर्ने, योगफल निकाल्ने लगायत काम गर्छन्। उनीहरू पूजापाठका लागि मन्दिर जानु पर्दैन। सहिद शुक्रराज जोशी पनि यही कोटीका आर्य

नेवार थिए।

आर्य वर्गकै अर्का पुरोहित छन्, राजोपाध्याय। यिनले वैदिक विधि अनुसार पूजापाठ, पुरेत्याइँ गर्छन्। बौद्ध धर्मावलम्बीहरूमा बज्राचार्यहरूले पुरोहितको काम गर्छन्। यसबाट विभिन्न नस्ल, सभ्यता र संस्कृतिको साझा स्वरूप नेवार सभ्यता रहेको स्पष्ट  हुन्छ।

विज्ञहरूका अनुसार नेवार नेपाल उपत्यकाको भूगोलजनित विशेषण हो। नेपालमा बस्ने नेपाली भनेजस्तै नेपार शब्दबाट नेवार बन्न पुगेको धेरै विज्ञको भनाइ छ। "नेवार कुनै जातिविशेष होइन," इतिहासका प्राध्यापक पुरुषोत्तमलोचन श्रेष्ठ भन्छन्, "वतर् मान समयमा नेवारी भाषा बोल्ने, नेवारी संस्कृति, कर्मकाण्ड, संस्कार, विधि विधानहरू मान्ने एउटा वर्ग विशेषमा यसलाई रूढ गर्न खोजिएको छ। जुन गलत हो।"

प्रा श्रेष्ठका अनुसार इतिहासको कालखण्डमा नेपाल उपत्यकामा बस्न जो आए, तिनले यहीँका भाषा, संस्कृति र सभ्यतासित आफूलाई एकाकार बनाए। त्यसैले नेवारभित्र एउटै धार्मिक सम्प्रदाय छैन। एउटै नस्ल वा वंशका बासिन्दा छैनन्। एकै थातथलो बाट आएको मानव समूह छैन। नस्लका हिसाबले उत्तरका मंगोलदेखि दक्षिणका द्रविड र आर्यहरू छन्। धर्मगत रूपमा धेरैजसो शैव र शाक्त छन्। वैदिक हिन्दु कम छन्। केही बौद्ध छन्। हिन्दु र बौद्ध दुवै धर्मका संस्कार अपनाउनेको संख्या पनि उत्तिकै छ।  प्रताप मल्लको पालादेखि क्रिस्चियन पनि काठमाडौँमा रहँदै आएका छन्।

काठमाडौँका पुराना मुस्लिम परविारहरू नेवार मुस्लिम भनेर चिनिन्छन्। कतिपय पुराना अभिलेखमै नेवार मुस्लिम लेखिएको अधिकारकर्मी मल्ल के सुन्दरको भनाइ छ। उनी मोहम्मद मोहसिनलगायतलाई मुस्लिम नेवारको उदाहरणका रूपमा अघि  सार्छन्। डा मोहिन शाहको बन्डापत्रमै मुस्लिम नेवार लेखिएको उनको भनाइ छ।

इतिहासकारहरूका अनुसार सुरुमा काठमाडौँ उपत्यकामा आभीरवंशीहरू आए। गाई र भैँसी पाल्ने ती समूहले क्रमशः गोपाल र महिषपाल नाम पाए। उनीहरू शासनसत्ताबाट बाहिर परेपछि मूल बस्तीबाट टाढा रहन थाले। हाल मकवानपुरमा पर्ने टिस्टुङ र  पालुङ क्षेत्रमा बाक्लो बस्ती रहेका गोपालीहरू तिनका उत्तराधिकारी मानिन्छन्। कतिपयका भनाइमा किराँतहरू सत्तामा आएपछि केही गोपाल र महिषपाललाई कृषि मजदुरका रूपमा काम लगाइयो। 'तिनकै सन्तान वर्तमान ज्यापू तथा महर्जन वर्गमा समाहित  हुन पुगे,' तुलसीनारायण श्रेष्ठले नेपालका नेवारहरू ः पहिचान र पृष्ठभूमि पुस्तकमा लेखेका छन्।

अधिकारकर्मी मल्ल के सुन्दरका अनुसार भारतको वैशाली -विहार)बाट लिच्छविहरू आए। तिनको अस्तित्व अहिले श्रेष्ठहरूले धानिरहेका छन्। कतिपय लिच्छविलाई गोपाल-महिषपाललाई जस्तै गरी कृषि मजदुरका रूपमा राखिएको केही इतिहासकारले दाबी  गरेका छन्। वर्णव्यवस्थामा भने उनीहरूलाई क्षेत्रीको तहमा राखिएको छ। लिच्छविपछि वैश्य ठकुरीहरू उपत्यकाको शासनमा उदाए। व्यापारीका रूपमा भारतबाटै आएका उनीहरू पनि कालान्तरमा नेवार समुदायमै विलीन भए। भारतकै पटनानजिकैको पावा  भन्ने ठाउँबाट मल्लहरू आए। उनीहरू आर्य थिए। करबि आठ सय वर्षसम्म नेपालमा राज्य गरे। कालान्तरमा उनीहरू पनि नेवार कहलिए।

कोलीय र शाक्यहरूबीच रामग्राममा द्वन्द्व भएपछि विस्थापित शाक्यहरू भगवान् बुद्धकै पालामा उपत्यका छिरे। उनीहरू पनि नेवार भए। प्रायः शाक्यहरू बौद्धमार्गी छन्। जयप्रकाश मल्लको पालामा भारतको मुजफ्फरपुरबाट धोबीहरू आए। उनीहरू पनि  काठमाडौँका रैथाने बासिन्दाका रूपमा रहँदै आएका छन्। "अरू सबै नेवार राँगाको मासु खान्छन् तर धोबी समुदायमा छुन पनि हुन्न भन्ने मान्यता छ," सुन्दर भन्छन्, "उनीहरू अहिले पनि मैथिल गीत गाउँछन्। रीतिथिति नेवार र मैथिल दुवै छ।" मिथिलाबाट  आएका ब्राह्मणहरू झा र मिश्रहरू पनि नेवार समुदायमा सम्मिलित छन्।

नेवार समुदायमा रहेको सांस्कृतिक विविधता झल्काउन प्रमुख तीन सहरका अलगअलग जात्रा पनि पर्याप्त छन्। भक्तपुरमा प्रमुख जात्राका रूपमा बिस्केट मनाइन्छ। काठमाडौँमा त्यसको ठाउँ इन्द्रजात्रा र पाटनमा मच्छिन्द्रनाथको जात्राले लिएका छन्।  "त्यसैले यो कुनै एक सांस्कृतिक, धार्मिक र नस्लीय समुदाय होइन भन्ने स्पष्ट हुन्छ," इतिहासका प्राध्यापक पुरुषोत्तमलोचन श्रेष्ठ भन्छन्।

काठमाडौँ उपत्यकामा यी सबैलाई एक सूत्रमा बाँध्ने माध्यम नेवारी भाषा बनेको छ भने उपत्यकाबाहिरका नेवार समुदायमा भाषाको प्रभाव कम छ। थातथलो काठमाडौँ खाल्डोको विरासतले नै उनीहरूलाई जोडेको देखिन्छ। "जो जो यहाँ आए, तिनको प्राकृतिक  रूपमै सम्मिलन भयो," प्रा. श्रेष्ठ भन्छन्, "विभिन्न समयमा आएका सभ्यता र संस्कृति मिसिँदै नेवार सभ्यता सुदृढ र सम्पन्न बन्दै गयो। यहाँको संस्कृति र सभ्यता यति बलियो रह्यो कि जो आए यसैमा सम्मिलित भए। त्यसैले यसमा विविधता छ।  एकताको संस्कृति छ।"

संस्कृति, कला र समृद्धि

काठमाडौँ उपत्यकाको मलिलो माटो र समशीतोष्ण हावापानीले नेवार संस्कृति हुर्काउन निकै मद्दत गरेको वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठको अध्ययन छ। एसियामा उपलब्ध जमिनमध्ये सबभन्दा उर्वर काठमाडौँको रहेको उनको भनाइ छ। "कृषिको विकास  यति उच्चस्तरमा भयो कि ठाउँ अनुसारका धानका नाम ब्रान्डका रूपमा चले। यहाँको धान कलकत्ता -भारत), ढाका -बंगलादेश)सम्म निर्यात हुन्थ्यो," उनी भन्छन्।

कलाकार नरेन्द्रबहादुर श्रेष्ठका अनुसार कुनै बेला कालीमाटीको माटो उभाएर मलको रूपमा प्रयोग गरन्िथ्यो, जसले यहाँको माटोको उर्वराशक्तिलाई जनाउँछ। उर्वराशक्तिकै कारण सुनभन्दा पनि महँगो र उम्दा रहेको अर्थमा उपत्यकाका धेरै खेतका नामकरण  भएका छन्। तराईको बाढी, पहाडको पहिरोजस्ता बर्सेनि आउने दैवी विपत्तिसँग काठमाडौँ उपत्यकाले खासै संघर्ष गर्नुपरेन। त्यसैले उनीहरूले जे आर्जे, त्यो लामो समयका लागि पुग्यो। पर्याप्त बचत भयो। कला र प्रविधिमा गरेको एकपटकको अन्वेषण लामो  समयका लागि टिकाउ मात्र भएन, चाँडोचाँडो विकसित पनि भयो। त्यही क्रममा यहाँ अरनिकोजस्ता विलक्षण कलाकार र कालीगढहरू जन्मिए। छिमेकमा मात्र होइन, टाढाटाढाका राज्य र शासकहरूमा पनि यिनको माग हुन थाल्यो। "त्यसैले भोटदेखि  भारतसम्म, भोजपुरदेखि जुम्लासम्म नेवारी कलाकार पुगेका हुन्," कलाकार श्रेष्ठ भन्छन्, "खेतीमा कम मिहिनेतबाटै धेरै आम्दानी भएपछि बाँकी समय उनीहरूले भोजभतेर, जात्रा, पर्व, कला र मनोरञ्जनमा लगाउन पाए। मन्दिर, पाटी, पौवा, गुठीमा लगाए।"

नेवार संस्कृतिका जानकारसमेत रहेका वनस्पतिविद् श्रेष्ठका अनुसार आधारभूत रूपमा नेवार संस्कृति पनि कृषिबाटै प्रभावित छ। नेवारका धेरै संस्कार र संस्कृति कृषि पात्रोमा आधारति छन्। लोकसंगीतका धेरै धुन ऋतु अनुसार बनेका छन्।  "बाजाले नै ऋतु जनाउँछन्। कुन धुन बज्यो भन्ने आधारमा महिना र ऋतु छुट्याउन सकिन्छ," उनी भन्छन्।

जयस्थिति मल्ललगायत विभिन्न शासकले बेलाबेला सामाजिक व्यवस्था बसाल्नका लागि पेसाका आधारमा जात र थरमा वर्गीकृत गरे। जातीय विभेदलाई अपवाद मान्ने हो भने त्यसले आर्थिक, सामाजिक र सांस्कृतिक जीवनलाई थप विशिष्ट बनाइदियो।  व्यापार गर्नेहरू व्यापारकलामै पारंगत भए। चित्र कोर्नेहरू चित्रकलामा र सिकर्मीहरू वास्तुकलामा विशिष्ट बने। त्यतिखेर यस्ता विषयको अध्यापन र तालिमका लागि प्राविधिक पाठशाला नभए पनि घरमै जन्मजात रूपमा सिक्न पाए, नयाँ पुस्ताले। त्यसैले  कला, साहित्य, संगीत, संस्कृति सबै क्षेत्रमा यस समुदायले प्रगति गर्‍यो। "उपत्यकाबाहिरका नेवारको सम्पन्नता व्यापारमा आधारति छ। तैपनि, उनीहरूको सांस्कृतिक अभिव्यक्ति व्यापारमा आधारति छैन, उपत्यकाबाटै लिएर गएको संस्कृति अनुसरण गरेका  छन्," तीर्थबहादुर श्रेष्ठ भन्छन्।

व्यापारिक सञ्जाल

आर्थिक वर्ष २००८ सालको भन्सार कर विवरणसम्बन्धी एक दस्तावेज अनुसार काठमाडौँका ठूला करदातामध्ये शीर्ष १० नेपाली व्यापारीमा नौ जना नेवार समुदायका छन्। त्यतिखेर सबैभन्दा बढी कर तिर्ने लोकनाथ जोशी बाहुन थिए। उनले ३० हजार १  सय ९१ रुपियाँ ११ पैसा कर तिरेका थिए। उनीबाहेक सबै नेवार समुदायका व्यापारी छन्। नौ जनामा सबैभन्दा बढी मखनका श्यामकृष्ण हरकिृष्ण श्रेष्ठले ११ हजार ७ सय ६६ रुपियाँ ६८ पैसा तिरेका छन्। उनी कपडा व्यापारी थिए। नौ जनाकै हिसाब गर्दा ६३  हजार ५ सय ५२ रुपियाँ हुन्छ।

यो आँकडाबाट नेपालको व्यापार तथा बजार अर्थतन्त्रमा नेवार समुदायको पहिलेदेखिको उपस्थिति र प्रभाव स्पष्ट हुन्छ। काठमाडौँ उपत्यकामा मात्र होइन, बाहिर पनि उनीहरूले व्यापारकि सञ्जाल विस्तार गरे। व्यापारकि प्रयोजनकै लागि उनीहरूले गौँडा  -प्रशासनिक मुकाम) र नाकाहरू भएका ठाउँ रोजे। जस्तो कि, बन्दीपुर -तनहुँ) पहिला मगर बस्ती थियो। २ सय ४० वर्षअघि भक्तपुरबाट टेकनसिंह पिया व्यापारका सिलसिलामा त्यहाँ पुगे। स्थानीय मगरहरूले चर्खा र ऊनबाट कपडा बनाएको देखे। त्यो  सीप देखेर पिया त्यही बस्तीमा रमाए। बन्दीपुरका अगुवा ईश्वरगोपाल प्रधान, ७४, का अनुसार पियापछि भक्तपुरका जुजुनारायण श्रेष्ठ र कृपाराम प्रधान पनि त्यही बस्तीमा बस्न पुगे। प्रधान भन्छन्, "यो बस्ती पोखराबाट ठोरी नुन लिन जानेहरूका  लागि पनि मध्यविन्दु थियो। मानिसहरूको चहलपहल बढेपछि बन्दीपुर व्यापारकि केन्द्र बन्यो। व्यापार राम्रो भएपछि भक्तपुरबाट कायस्थ, शाक्य, भूमिलगायत अरू थरका नेवारहरूसमेत आएर बस्न थाले।"

मुलुकभरका उद्यमी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ६६ सदस्यीय केन्द्रीय कार्यसमितिमा २२ जना नेवार समुदायका व्यवसायी छन्। यसबाट पनि व्यापार व्यवसायमा नेवार समुदायको उपस्थिति र विस्तारलाई स्पष्ट  पार्छ। ज्योति समूह, पञ्चकन्या समूह, वैद्य अर्गनाइजेसन, लक्ष्मी समूह, नाङ्लो, साखःजस्ता ठूला व्यापारकि घराना नेवार समुदायकै हुन्। तर, परम्परागत व्यवसायलाई आधुनिक बजारको माग र प्रविधि अनुसार अद्यावधिक गर्न नसक्ने,  अन्तर्राष्ट्रिय बजारमा  व्यावसायिक सञ्जाल र सम्पर्क नहुने र ठूला लगानीका व्यवसाय विस्तारका लागि कर्पोरेट रूपमा अघि बढ्न नसक्ने कतिपय यस समुदायका व्यवसायी प्रतिस्पर्धामा पछि पर्न थालेको तानसेन गुठीका पूर्वअध्यक्ष हिमाल कसजु बताउँछन्।

मुलुकभर छरएिको नेवार समुदाय आज धेरै ठाउँमा स्थानीय भूगोल र संस्कृतिसँग एकाकार बनेको छ। अन्य समुदायसँग सांस्कृतिक साझेदारी गररिहेको छ।

एकपटक फेर िजुम्लातिरै फर्कौं। चन्दननाथ-७ का दशरथ श्रेष्ठ, ४९, ले होटल-पसल मात्र चलाएका छैनन्, ठकुरीसँग मीत पनि लगाएका छन्। मीठोमसिनो बाँडीचुँडी खान्छन्। स्थानीय चलन पछ्याउँदै स्याउ खेती पनि गरेका छन्। गाउँतिरका उत्सव, पर्व, दे वीदेउताका पूजा, रोपाइँ, विवाह, मलामी कुनै छुटाउँदैनन्। अब उनलाई एउटै चिन्ता छ, कतै जातीय आधारमा राज्य बनाएर आफू बेजातिको परनिे पो हो कि ? भन्छन्, "मेरो जातिको छुट्टै राज्य चाहियो भन्नेले त्यो राज्यबाहिरका आफ्नै जातिको अवस्था के  हुन्छ भन्ने पनि विचार गरििदए हुन्थ्यो।" सायद, आज मुलुकभर छरएिका नेवार मात्र होइन, अन्य समुदायका नागरकिका मनमा पनि यो प्रश्न उठेको हुन सक्छ। ध

कहाँ कति ?

    मुलुकभर ः    १३,२१,९३३

    काठमाडौँ जिल्ला ः    ३,८३,१३६

    काठमाडौँ उपत्यका ः    ६,७७,६१३

    सहर ः    ६,४१,९६३

    ग्ााउँ ः    ६,७९,९७०

    हिमाल ः    ६३,६९४

    पहाड ः    १०,५०,११०

    तराई ः    २,०८,१२९

    पूर्व ः    १,७४,९५७

    मध्य ः    ९,६९,९१५

    पश्चिम ः    १,४६,६६८

    मध्यपश्चिम ः    २३,२४७

    सुदूरपश्चिम ः    ७,१४६

स्रोत: राष्ट्रिय जनगणना, २०६८

(आवरण तस्बिर: रवि मानन्धर)

तानसेनको सान

काठमाडौँ खाल्डोबाट नेवारहरू सेनकालदेखि नै पाल्पा आउन थालेको इतिहास छ। नेपाल सम्वत् ६२२ तिरै पाल्पाका सेन राजाका पालामा काठमाडौँका नेवारहरू हुलाकी मार्ग हुँदै व्यापार, व्यवसाय र निर्माण कार्यका लागि पाल्पा आएको इतिहासकारहरू बताउ ँछन्। इतिहासका जानकार निर्मल श्रेष्ठका अनुसार नेवारहरूको गुठीको ढड्डामा पनि सेनकाल र राज्य विस्तारका क्रममा सरकारी सेवा र व्यापारका लागि आएको उल्लेख छ। श्रेष्ठ भन्छन्, "नेवारहरू मन्दिरका टुँडालमा भेटिन्छन्। डाँफा भजनमा भेटिन्छन्।  हटियामा भेटिन्छन्। बेलविवाहमा भेटिन्छन्। जात्रापर्वमा भेटिन्छन्। धिमेबाजाको नादमा भेटिन्छन्।"

भाषा वंशावलीमा नेपाल सम्वत् ८३९ चैत महिनामा नेपाल खाल्डोमा महामारी फैलिई दैनिक सयौँ मानिस मर्न थालेपछि त्राहित्राहि भएर नेवारहरू बाहिरएिको उल्लेख छ।  विसं १८८६ असोजमा बाख्तावरसिंह थापाको पालामा चौधरी अमालीले घर पजनी नगर्न,  झिगटी लगाई बजार गुल्जार गर्नू भन्ने तानसेनमा नेवार महाजनलाई भएको लालमोहरले पनि नेवार समुदायको तानसेन बसाइँको प्राचीनतालाई पुष्टि गर्छ। भैरवस्थान, टक्सार, भीमसेनटोल, वसन्तपुरटोल, असनटोलमा ३० वर्षअघिसम्म झिँगटी र पुराना टिनले  छाएका मौलिक घर भेटिन्थे। कला, कौशलले भरएिका बुट्टेदार झ्यालढोका यहाँका वास्तुविशेषता हुन्। आफ्नो परम्परागत भेषभूषा, भाषाका साथै नेवारहरूको सनाःगुठी, गुठपूजा आदि कायमै छन्।

काठमाडौँको सिको गर्ने र काठमाडौँको भाइ भनेर तानसेनलाई चिनिन्छ। "अन्तका नेवारहरू आफ्नो भाषा बिर्संदै गएका छन्," अध्येता राजेन्द्रगोपाल सिंह भन्छन्, "पाल्पाका नेवारहरूले आफ्नो परम्परा, भाषा, कला, संस्कृतिलाई बचाइराखेका छन्।"

- माधव अर्याल/तानसेन

चिरिच्याट्ट बन्दीपुरे घर

दसैँ-तिहार सकिएपछि फागुन मसान्तसम्म विदेशी पर्यटक बन्दीपुर घुम्न रुचाउँछन्। यहाँको मुख्य आकर्षण नै पुराना तर कलात्मक घर हुन्। टुँडिखेलबाट हिमालको लहरै दृश्य र मस्र्याङ्दी उपत्यकाले जोकसैको मन लोभ्याउँछ।

भक्तपुरबाट २ सय ४० वर्षपहिले व्यापारका सिलसिलामा आएका नेवार समुदायले भिरालो डाँडा खारेर बन्दीपुर बजार बसाएका थिए। चाप बढेपछि विसं १९६४ मा पहिलो माल अड्डा स्थापित भयो र त्यसको सुरक्षाका लागि सेना बस्न थाल्यो। यहीबीचमा  यहाँका नेवारहरू व्यापारका क्रममा चितवन, बेसीसहर, डुम्रे, काठमाडौँमा छरएि।

०२० सालमा जिल्ला पञ्चायतको कार्यालय स्थापना भएपछि बन्दीपुरको आकर्षण झनै बढ्यो। कार्यालयको कामकाजले आउने भीडले बस्ती विकास बढ्यो र यसले जिल्ला सदरमुकामको हैसियत पायो। तर, त्यसको पाँच वर्षमै सदरमुकाम दमौली सारेपछि  बन्दीपुर बेहुली अन्माएको घरजस्तो सुनसान हुन पुग्यो।

०२८ सालदेखि २२ वर्षसम्म बन्दीपुर मृत सहरजस्तै बन्यो। मानिसहरू पनि आउन छाडे। पछि मदन पिया, चिजकुमार श्रेष्ठलगायत स्थानीयको पहलमा बन्दीपुर र्फकने अभियान सञ्चालन गरयिो। भ्रमण वर्ष १९९८ को सन्दर्भमा तयार पारएिको बन्दीपुरको  वृत्तचित्रले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुर्‍याएको बन्दीपुर नगरविकास समितिका अध्यक्ष घनश्याम देवान सम्झन्छन्।

बन्दीपुर क्षेत्रमा सानाठूला गरी करबि ५० वटा होटल सञ्चालनमा छन्। बन्दीपुर बजार क्षेत्रको सौन्दर्य बचाई राख्न पुराना कलाकृति झल्कने झ्याल-ढोकासहितका घरहरूको संरक्षण गर्ने र नयाँ आधुनिक भवन बन्न नदिने निर्णय स्थानीय समुदायले गरेको  छ। बन्दीपुर बजार क्षेत्रमा अहिले बाह्य र र आन्तरकि गरी दैनिक करबि तीन सय पर्यटक आउँछन्।

- पूर्ण विके/बन्दीपुर

वीरगन्जमा पाँचौँ पुस्ता

आर्थिक नगरी वीरगन्जमा करबि १ सय १५ वर्ष पहिले नै नेवार समुदायको आगमन हुन थालेको अनुमान छ। वीरगन्ज-६, विर्ताका चक्रबहादुर शाक्य, ७५, को पाँचौँ पुस्ता यहीँ बसोवास गररिहेको छ। सरकारी अड्डाहरूमा जागिर, खेतीपाती गर्न बसाइँ सरेर  पहाडबाट झर्ने र केही बन्द व्यापार गर्ने प्रयोजनले उतिबेला यहाँ नेवारको आगमन भएको शाक्य सुनाउँछन्।

वीरगन्जको विर्ता र गहवा क्षेत्रमा बाक्लो नेवार बस्ती छ। श्रीपुर, मूर्ली क्षेत्रमा पछि बसाइँसराइ गरी केही नेवार परविार बस्दै आएका छन्। वीरगन्जमा दुई सय घरधुरीका करबि तीन हजार नेवारको जनसंख्या रहेको अनुमान शाक्यको छ। उपमहानगरको  जनसंख्याका आधारमा यहाँ सबैभन्दा बढी मधेसी, त्यसपछि क्रमशः नेवार, बाहुन, क्ष्ाेत्री, मारवाडी आदि छन्।

यहाँका नेवारले आफ्नो जातीय, भाषिक र सांस्कृतिक पहिचान जोगाएर राखेका छन्। नयाँ पुस्ताका अधिकांश युवकयुवती नेवारी भाषा बोल्न सक्छन्। बेलविवाह होस् वा गुफा राख्ने विधि, न्वारानदेखि वाषिर्क  श्राद्धजस्ता सम्पूर्ण जातीय संस्कार उनीहरू   विधिपूर्वक गर्छन्।

गाईजात्रा, भीमसेन जात्रा, कृष्णजात्रा निकाल्ने काम यहाँका नेवारले सामूहिक रूपमा गर्दै आएका छन्। त्यसै गरी 'म्ह पूजा'का दिन एकत्रित भई नगर परत्रिmमा गरी आफ्नो जातीय/ सामुदायिक उपस्थिति देखाउने चलन छ। नेवारले गैरनेवारको र गैरनेवारले  नेवारको जातीय, सामुदायिक, धार्मिक एवं सांस्कृतिक पर्व, जात्रा तथा अन्य निजी समारोहमा सहभागी हुने गरेका छन्।

- शंकर आचार्य/वीरगन्ज

चैनपुरे करुवा

पाँच पुस्ताअघि पुर्खाले सुरु गरेको काँसको व्यापार सम्हालिरहेका छन्, चैनपुरका पदम शाक्य, ६१। करबि १ सय ५० वर्षअघि चार शाक्य परविार ललितपुरको पाटन नागबहालबाट आएर काँसको धातु उद्योग चलाएको स्थानीय सिद्धकालीदेवीको मन्दिरमा  रहेको घन्टामा उल्लेख छ।

शाक्यका अनुसार विसं १९१० देखि यहाँ यो व्यवसाय चल्दै आएको छ। प्रशासनिक क्षेत्र विभाजन हुनुअघिको पूर्व ६ नं चैैनपुर कलाकौशल र शिल्पकारतिाका लागि प्रख्यात छ।

चैनपुरका शाक्यहरूको नयाँ पुस्ताले मातृभाषा बोल्न छाडेको छ। बोधिसत्व विहारका अध्यक्ष पदम शाक्यका अनुसार, बुद्धधर्म मान्ने शाक्यहरू दसैँ-तिहार, बुद्ध जयन्ती, ध्यो चाकु सलु, औँसी-पूणिर्माका साथै लाखेजात्रा मनाउँछन्। अहिले चैनपुरमा डेढ सय  परविार शाक्य छन्। विशेषतः उनीहरू भोजपुरको टक्सार, धरान, विराटनगर, काठमाडौँ, पाल्पा र बुटवलका शाक्यहरूसँग वैवाहिक सम्बन्ध जोड्छन्। पछिल्ला दिनमा भने अन्य जातिसँग पनि विवाह गर्नु सामान्य बनेको छ।

यहाँ निर्मित करुवा, तामाका भाँडा, गाग्री, काँसका थाल, लोटा, आमखोरा, घन्टी, वायनकप, कचौरा र डबका अझै पनि प्रसिद्ध छन्। तर, ऐतिहासिक कलामा पोख्त कालीगढहरू पलायन भएपछि ६ परविारले मात्र आफ्नो पेसालाई निरन्तरता दिएका छन्।

अत्यन्तै कलात्मक करुवा, मूर्ति र पानसले विदेशीको मन जितेकैले यहाँका काँस्य सामग्री युरोप र अमेरकिासम्म पुगेका छन्। तर, आधुनिक मेसिनरी उत्पादनले यहाँका कलात्मक सामग्रीको बजारमा परेको नकारात्मक प्रभावले आफ्नो पेसाप्रति आकर्षण्ा घट्न  थालेको स्थानीय शिल्पी देवेन्द्र शाक्यको दुखेसो छ।  

- दीपेन्द्र शाक्य/चैनपुर

समृद्ध र शक्तिशाली

आमनेपालीले प्रतिदिन १ सय १४ रुपियाँ कमाउँदा नेवारले १ सय ९० कमाउँछ। राष्ट्रिय रूपमा प्रतिव्यक्ति आय ४१ हजार ६ सय ९५ छ। तर, नेवार समुदाय यसभन्दा निकै माथि अर्थात् वाषिर्क प्रतिव्यक्ति आय ६८ हजार ६० रुपियाँ रहेको मानव विकास प्रतिवे दनमा उल्लेख छ। राम्रो आम्दानी भएका जागिर र शक्तिशाली पदहरूमा उपस्थितिले पनि यो समुदाय समृद्ध छ।

प्रतिवेदन अनुसार नेवार समुदायका १५-४९ उमेरका करबि ७३ प्रतिशत महिला कुनै न कुनै रूपमा रोजगारीमा छन्। यही उमेरका रोजगाररत नेवार पुरुषको संख्या ८३ प्रतिशत छ। रोजगारीमा पनि पहाडी ब्राह्मणपछि नेवारले नै बढी पारश्रिमिक पाउँछन्।

आमनेपाली औसत ६८ वर्ष बाँच्छन् तर नेवार समुदायको औसत आयु ७२ वर्षभन्दा माथि छ। सहर र बजारमा बसाइँ अनि राम्रो आर्थिक हैसियतले तुलनात्मक रूपमा उनीहरूलाई सहज रूपमा स्वास्थ्य सेवामा पहुँच दिलाएको छ।

मुलुकभर २५.२ प्रतिशत जनसंख्या गरबिीको रेखामुनि छ। तर, नेवार समुदायमा यो प्रतिशत १०.३ छ। गरबिमध्ये जम्मा २.५ प्रतिशत मात्र नेवार समुदायका छन्।

विवाहको उमेरले पनि मानव विकासको स्तर देखाउँछ। सबभन्दा ढिला विवाह गर्ने समुदाय पनि नेवार नै देखिन्छ। ४९ प्रतिशत नेपालीले पहिलो विवाह १५ देखि १९ वर्षभित्र गर्छन्। पछिल्लो मानव विकास प्रतिवेदन अनुसार बाहुन-क्षेत्री समुदायमा पहिलो विवाह  गर्ने औसत उमेर १७.७ रहेको छ। सबैभन्दा कम उमेरमा विवाह गर्ने समुदाय मुस्लिम हो। उसको पहिलो विवाह गर्ने औसत उमेर १६.२ वर्ष छ। तर, नेवार समुदायको पहिलो विवाह गर्ने औसत उमेर १९.२ हो। अर्थात्, १९ वर्ष कटिसकेपछि मात्र विवाह गर्ने  चलन नेवार समुदायमा स्थापित बनिसकेको छ।

पुगनपुग ६६ प्रतिशत साक्षरता दर रहेको मुलुकमा नेवार समुदायका ८० प्रतिशतभन्दा बढी प्रौढ साक्षर छन्। यस समुदायका बालबालिका पौने पाँच वर्षमा स्कुल गइसक्छन्। यही उमेरका अन्य समुदायका कैयन् बालबालिकाले स्कुलको ढोकासमेत देख्न पाउँदै नन्।

राजनीतिक र प्रशासनिक शक्ति अभ्यास गर्ने पदहरूमा पनि नेवार समुदायको बलियो उपस्थिति रहँदै आएको छ। ००७ सालयता नेवार प्रतिनिधिविहीन मन्त्रिपरष्िाद् विरलै बनेका छन्। ०४८-०५९ बीचको प्रजातान्त्रिककालका मन्त्रिपरष्िाद्को जातीय संरचना हेर्ने  हो भने २० जना मन्त्री नेवार समुदायका छन्, जुन ८.३ प्रतिशत हो। जबकि, राष्ट्रिय रूपमा जातीय जनसंख्यालाई हेर्दा नेवार समुदायको प्रतिशत पाँच प्रतिशतको वरपिर िछ। व्यवस्थापिका-संसद्मा पनि नेवार प्रतिनिधित्व जनसंख्याको अनुपातभन्दा उल्लेख्य बढी  छ। हालसम्मका प्रतिनिधिसभा/संविधानसभामा ६ देखि आठ प्रतिशत र राष्ट्रियसभामा ११ प्रतिशत नेवार प्रतिनिधि पुगेका छन्।

निजामती प्रशासनमा पनि नेवार समुदायको प्रभावशाली उपस्थिति छ। नेपाल सरकारका सचिवहरूको सूची हेर्ने हो भने विशिष्ट श्रेणीमा १४ प्रतिशत नेवार पुगेका देखिन्छन्। प्रथम श्रेणीमा त्यसभन्दा बढी अर्थात् २१ प्रतिशत नेवार अधिकृत छन्। अधिकृतस्तरका  अन्य कर्मचारीमा १७ प्रतिशतले यस समुदायको प्रतिनिधित्व गर्छन्। सर्वोच्च, पुनरावेदन र जिल्ला तहका न्यायालयमा करबि १० प्रतिशत नेवार उपस्थिति रहेको छ। सर्वोच्च अदालतमा १२ न्यायाधीशमध्ये दुई जना नेवार

समुदायका छन्।

बदलिँदो सिलगढी

उत्तर-दक्षिण फर्किएको डोटीको सिलगढी डाँडामा लहरै एउटै शैलीका घर छन्। साँघुरो भए पनि सडक सफासुग्घर छ। सबै घरमा सडकबाट सोझै देखिने थाम दलान छन्।

सिलगढीको सिरानमा रहेको नाचन्थलीदेखि पुछारमा रहेको इन्द्रचोकको बीचमा झन्डै दुई सयभन्दा बढी नेवार घरपरविारको बसोवास छ। बेग्लै वेश र भाषा नपाइने यो समुदायमा चाडपर्व र खानपानमा भने  नेवारीपना झल्कन्छ। व्यापार गर्न आएका यहाँका  नेवार समुदाय अचेल यो पेसाबाट लगभग पलायन भइसकेका छन्।

स्थानीय तीर्थनारायण श्रेष्ठ, ९३, का अनुसार मूल थलो भक्तपुर भए पनि विभिन्न ठाउँमा बसाइँ सर्दै सिलगढी आएकाले यिनका पुर्खा पनि बेग्लै छन्। विभिन्न समयमा सिलगढी आएका नेवारहरूलाई आफ्नो मूल थलोबारे अन्योल थियो। विसं ०४० तिर आएर  मूलथलो चिनेपछि श्रेष्ठ थर लेख्दै आएका अधिकांशले आफ्नो जरा पत्ता लगाए। कोही बिजुक्छे हाडा निस्किए, कोही राजभण्डारी, कोही नेवार मल्ल त कोही जोशी।

रेडक्रस सोसाइटी डोटीका सभापति नरेशमान श्रेष्ठ मूल थर पत्ता लागेपछि आफूमुन्तिरका पुस्ताले पुरानै बिजुक्छे थर लेख्न थालेको बताउँछन्। "अचेल छोराछोरीका नाम बिजुक्छे नै लेख्छौँ," उनी भन्छन्, "पुर्खा पत्ता लगाउन भक्तपुर जाँदा धेरैले अंश माग्छ  भनेर कुनै सूचना दिएनन्, पछि अंश माग्दैनौँ भनेर लिखित कागज गरेपछि मात्रै जानकारी दिए।"

- मोहन शाही/सिलगढी

मुलुकभर फैलिनुका प्रमुख कारण

अन्य राज्यबाट आमन्त्रण:

सीप र कलाकौशलले युक्त धेरै नेवार समुदायका कालीगढ अन्य राज्य र प्रशासकहरूको आमन्त्रणमा काठमाडौँ खाल्डोबाहिर पुगे। उनीहरू कला, वास्तुकला, मुद्रा बनाउने क्रममा जहाँ गए, त्यहीँ बसे। उत्तराधिकार पुस्ताले पनि पुख्र्यौली  बिँडो थाम्दै गयो। त्यसले उनीहरूको पहिचान पनि जोगियो र समाजमा सम्मानका साथ बस्ने अवसर पनि दियो। कला र शिल्पकै कारण अरनिकोजस्ता विख्यात कलाकार तिब्बतसम्म पुगे। लिच्छविकाल र मल्लकालमा धेरै नेवार कालीगढहरू उपत्यकाबाहिर  छरएि।

राजकीय जिम्मेवारी:

लिच्छविकालसम्म नेपालमण्डलको राजधानी काठमाडौँ, त्यसमा पनि हाँडीगाउँतिर रहेको इतिहासकारहरू बताउँछन्। मल्लकालमा सुरक्षाका कारण राजधानी भक्तपुर सारयिो। राजा यक्ष मल्लले दक्षिणमा भारतको चम्पारन लोहावरसम्म  राज्य विस्तार गरे। आफूले जितेका प्रदेशमा शासन-प्रशासन चलाउन केन्द्रबाट विश्वासिला प्रशासक नियुक्त गरेर पठाइए। त्यस क्रममा पनि कतिपय नेवार देशका विभिन्न भागमा पुगे। हाल भारत र तिब्बत -चीन)मा पर्ने कतिपय स्थानमा समेत त्यही बेलादे खिका नेवार समुदायका परम्परागत बस्ती छन्।

व्यवसाय विस्तार:

नेवार समुदायमा व्यावसायिक सीप र नगर सभ्यता स्थापनाको विशेष खुबी भएका कारण उपत्यकाबाट विभिन्न ठाउँ पुगे। बस्ती बसाले। बजार विस्तार गरे। त्यहाँको आर्थिक-सामाजिक जीवनको केन्द्रविन्दुमा रहिरहे। यो क्रम शाह र  राणाकालमा बढी चल्यो।

एकीकरणपछिको भय:

नेपाल एकीकरणका क्रममा गोर्खाली फौजले काठमाडौँ कब्जा गर्दा निकै संघर्ष गर्नुपर्‍यो। राजा पृथ्वीनारायण शाहका भाइ सुरप्रतापको आँखा फोरयिो। काजी कालु पाण्डेलगायत धेरै योद्धा गुमाउनुपर्दा गोर्खाली पक्ष ज्यादै हिंस्रक बन्यो।  गोर्खाली विजयी भएपछि धेरै नेवार सामन्त तथा तिनका परविारमध्ये केही थर परविर्तन गरेर बसे। धेरैले बसाइँ सारे।

विफर प्रकरण:

राजा रणबहादुर शाहका पालामा काठमाडौँमा विफरको प्रकोप फैलियो। शाहले आफ्ना नाबालक सन्तान पनि विफरको सिकार हुने भयले नगरभरकिा विफर प्रभावित बालबालिकालाई तामाकोसीपारि पुर्‍याउन उर्दी जारी गरे। त्यस क्रममा धेरै  नेवार परविार आफ्ना बालबालिका च्यापेर उपत्यकाबाट बाहिरएि। यो वियोगान्त घटनाबारे अहिले पनि मार्मिक लोककाव्य प्रचलित छ।

सांस्कृतिक जटिलता:

कतिपय नेवार थातथलो छाडेर हिँड्नुपर्ने कारण खर्चिलो संस्कृति र गुठी परम्परा पनि बन्यो। समुदायबाट अलग्गिएर बस्न पनि नसक्ने तर भोजभतेर धान्न पनि नसक्ने अवस्थामा निम्न आयका परविार पुगे। सामाजिक विधि-व्यवहार चलाउन  नसकेर, सापटी तिर्न नसकेर, बन्धकी निखन्न नसकेर धेरै हिँडेका छन्। कडा अनुशासनबाट उन्मुक्ति खोज्नेहरूले पनि थातथलो छाडे।

प्रकाशित: कार्तिक १६, २०७१

http://nepal.ekantipur.com/news/2014-11-02/7617.html

बाह्राको व्याख्यान

बाह्राको व्याख्यान

रामगोपाल आशुतोष शनिवार, मंसिर २५, २०७३

मृतक बाह्रामचालाई आम मृतकलाई जस्तै अन्त्येष्टि गरिँदैन । बाह्रासीलाई सोही कोठामा प्वाल बनाई भुइँतल्लाको वा छिँडीमा खाल्डो खनी गाडिन्छ ।
नेवार सम्प्रदाय अनेक संस्कृतिको संग्रहालय हो । परम्परा, रीतिरिवाज, सामाजिक मूल्यमान्यता पहिचान यस सम्प्रदायको सौन्दर्य हो । यो सम्प्रदायमा जन्मदेखि मृत्युसम्मका संस्कार छन् । तीमध्ये एक ‘बाह्रा’ हो । यो नेवार कन्यालाई रजस्वला सुरु हुनुपूर्व बाह्र दिनसम्म अँध्यारो कोठामा राखिने एक प्रचलन हो । यसलाई सभ्य र सांस्कृतिक अनुशासनको रूपमा पनि लिइन्छ ।
मान्यता
ईपू २०० देखि १०० मा नै धर्मनीति, धर्मग्रन्थ वा स्मृतिमा ‘बाह्रा’ संस्कार उल्लेख गरिएको पाइन्छ । हिन्दु धर्मावलम्बीमा सोह्र संस्कार प्रचलनमा छन् । तर नेवार सम्प्रदायमा भने योभन्दा थोरै भिन्दै मौलिक परम्पराको लौकिक संस्कार र कर्मको विकास भएको पाइन्छ । बौद्ध धर्मको महायानी र बज्रयानी सम्प्रदायसमेत मिसिएकाले नेवार परम्परामा लौकिक मत गाँसिएको विद्वानहरूको राय छ ।
बाह्रा संस्कार भने मिथकीय संस्कार हो । यसलाई यौन शिक्षा भन्नेहरू पनि छन् । मल्लकालीन समयमा बाह्रालाई ‘बाधा’ भनिन्थ्यो । यो महिलाकेन्द्रित संस्कार हो ।
बाह्रा राख्ने प्रचलनलाई सूर्यसँगको विवाह भन्ने जनविश्वास रहेको पाइन्छ । तर, यो गलत धारणा हो । बाह्रा निकालिने दिनमा सूर्यको पूजा गरी त्यसको दर्शन मात्र गरिने हो । कन्यादान गरिने चलन छैन । बाह्रा निकालिने दिन बाह्रा राखिएकी किशोरीको सिउँदोमा सिन्दुर हालिने भएकाले यसलाई विवाहसित जोडिने गरेको हुनुपर्छ । बाह्रा राखिने बेलाको सिन्दुर चेलीको परिवारको सबैभन्दा ज्येष्ठ महिलाले हालिदिन्छिन् । किशोरावस्थाकी चेलीको बाह्रा राख्ने बेलाको सिन्दुरलाई विवाह वा शारीरिक सम्बन्धको संकेतसित जोड्नु अनुचित हो ।
धेरैले बाह्रालाई गुफा राख्ने भनेका छन् । बाह्रा र गुफामा तात्विक भिन्नता छन् । बाह्राको संस्कार बाह्रौं शताब्दीदेखि सुरु भएको हो । शंकरराज राजवंशीको लेखका अनुसार ने.सं. ७९६ मा भक्तपुरका राजा उग्र मल्लकी रानी भानुमतीलाई बाह्रा राखेको मल्लकालीन ऐतिहासिक प्रमाणमा छ । जयप्रकाश मल्लको रानीलाई पनि बाह्रा राखेको ऐतिहासिक प्रमाण छ ।
बाह्रा शब्द संस्कृतको द्वादश, हिन्दीको बारह र खस नेपालीको बाह्रबाट अपभ्रंश भई बाह्रा भएको हो । यो बाह्रौं शताब्दीदेखि मल्लकालीन समयमा प्रचलनमा आएको देखिन्छ । धर्मशास्त्रले १२ अंकलाई महत्त्वपूर्ण मानिआएको छ ।
बाह्रालाई शुभकार्यका रूपमा वर्णित छ । यसको अर्थ १२ तीर्थको प्रतीकका रूपमा वर्णन गरिएको छ । त्यस्तै १२ विषयका शून्यताभाव ग्रहण गर्ने गहन शिक्षाका रूपमा पनि यसलाई व्याख्या गरिएको छ । नौदेखि तेह्र वर्ष उमेरभित्रका किशोरीलाई शुभदिनमा बाह्रा राखिन्छ ।
बाह्रा दुई प्रकारका छन् । ज्योतिषि वा कुलगुरुलाई चिना देखाई साइत जुराएर रजस्वला हुनुपूर्व नै बालिकालाई बन्दकोठा राखिने चलन त बाह्रा (राखिने) हो । नौदेखि १३ वर्षसम्मका बालिकाको पहिला रजस्वला हुनेबित्तिकै बसिने बाह्रा च्वं बाह्रा (आफैं बस्ने) हो । यसमा ज्योतिषि वा कुलगुरुको रायसल्लाहको आवश्यकता पर्दैन । यो किशोरावस्थामा दिइने शिक्षा हो । यसमा शारीरिक परिवर्तन, मानसिक, सामाजिक, संवेगात्मक, मनोवैज्ञानिक, यौनसम्बन्धी आधारभूत ज्ञान, व्यक्तिगत सरसफाइ, प्रजनन स्वास्थ्य, घरेलु कर्तव्य, पारिवारिक दायित्व, धर्म र गृहस्थ जीवनलगायत बाह्र प्रकारका शिक्षा दिइन्छ ।
रीत
बाह्रा राखिने पहिलो दिन केही रीतहरू पूरा गरिन्छन् । दहीले मुछेको टीकाले अभिषेक गरी कोठामा बाह्रा राखिन्छ । कोठामा कुनै पनि पुरुषलाई छिर्न दिइन्न । झ्यालढोकाका सबै छिद्रहरूलाई कपडा आदिले टालेर कोठा सूर्यको किरण नछिर्ने बनाइन्छ । बाह्रा ननिकालेसम्म किशोरीले कुनै पनि पुरुषसँग कुराकानीसमेत गर्न हुँदैन । चौथो दिनमा सूर्य उदाउनुपूर्व बाह्रामचा (बाह्र बस्ने किशोरी) लाई स्नान गराइन्छ । सो दिन आवश्यक पूजाआजा गरी क्वंचिकं लगाइन्छ ।
क्वंचिकं भनेको जौको पिठो, पिना आदि मिसाएर बनाएको विशेष सौन्दर्य प्रसाधन हो । क्वंचिकं नलाएसम्म बाह्रा बसेको बालिकालाई नुन बार्न लगाइन्छ । क्वंचिकं लगाइएको दिनदेखि बाह्राकोठामा बालिकाको संरक्षकका रूपमा कपासबाट बनाइएको ‘बाह्राख्याः’ स्थापना गरिन्छ । बाह्राविधान अवधिमा कुनै अनिष्ट नहोस् भन्ने कामनाका साथ ख्याःको परिकल्पना गरिएको हो । यसले बाह्रामचाको मनोबल बढाउँछ । ख्याःको शाब्दिक अर्थ भय भन्ने बुझिन्छ ।
भयलाई नियन्त्रण गर्न ख्याः स्थापना गरिन्छ । बाह्राख्याः आकाशको तीन ताराको प्रतीकात्मक स्वरूप पनि हो । त्यसैले बाह्राख्याःसँगै तीन तारा पनि राखिने चलन छ । त्यसो गर्नाले बालिकालाई एक्लो भएको महसुस हुँदैन भन्ने विश्वास छ । बाह्रामचाको हेरचाह गर्न बाह्रापासा (साथी) पनि राखिन्छ । बाह्रापासा सकेसम्म अनुभवी र विवाहित हुनुपर्ने चलन छ ।
बाह्रौं दिनमा सूर्योदयपूर्व बाह्रामचालाई स्नानादि गराई बाह्राकोठामा लगिन्छ । घरका सबै स्नानादी गरी चोखो हुन्छन् ।
कोठामा टालिएको प्वाल खोलिन्छ । त्यसपछि बाह्रा निकाल्ने प्रक्रिया थालिन्छ । बाह्रामचालाई दुपट्टाको सारी र तासको नयाँ लुगा पहिराई आवश्यक सिंगारपटार गराई सुनका गरगहनाले दुलहीझैं सजाइन्छ । त्यसपछि घरको कौसीमा लगिन्छ । धेरै दिनसम्म पुरुषको अनुहार नदेखेको केटीले एक्कासि केटाको अनुहार देख्दा उसको मनमा अनेक तर्कवितर्क हुन सक्छ ।
यिनै सम्भावनालाई मध्यनजर राखी बाह्रामचालाई धातुको बाटामा पानी हालेर सूर्यको छाया हेर्न दिइन्छ । त्यसपछि मात्र सूर्यको दर्शन गर्न लगाइन्छ । खुल्ला आकाश देखाई आफू पनि यही संसारको सदस्य भएको आभास गराइन्छ । त्यसपछि पिता एक जन्मदाता, आदरणीय र पहिलो गुरुका रूपमा चिनाइन्छ । यसले बालिकाको दृष्टिमा पुरुषप्रति उठ्ने अनेक वासना वा अन्य दुर्भावना विस्थापित हुने विश्वासका आधारमा यो संस्कार चलाइएको हुनुपर्छ ।
यी सबै क्रियाहरू घरकी महिलामुलीले गर्ने चलन छ । त्यसपछि बाह्रामचाको बुबाले दानदक्षिण दिई पूजा गर्छन् । सोही दिन साँझ बाह्रापासालगायत खेल्न आउने साथीसंगी र खाजा ख्वाउन आउने आफन्त र छरछिमेकका छोरीचेलीलाई भोज ख्वाइन्छ । भोलिपल्ट विहान सबेरै बाह्राख्याःलाई खोलामा सेलाइन्छ । बाह्राख्याःसँगै बाह्रामचाले प्रयोग गरेको पुतली, क्वंल, ढुंगाको गट्टी आदि पनि खोलामा बगाइन्छ । त्यसपछि मात्र त्यो कोठामा पुरुषहरू छिर्न मिल्ने परम्परा छ ।
किंवदन्ती
बाह्रा ख्याःसम्बन्धी अनेक किंवदन्ती छन् । एउटा गाउँमा आमा र छोरी बस्थे रे । तिनीहरू गरिब थिए । गरिबीका कारण निकै दुःखकष्ट भोगिरहेका थिए । छोरी चौथीको चन्द्रमा झैं हुर्किँदै थिई । छोरीको बाह्रा राख्ने बेला नजिक आइरहेको थियो । एकदिन छोरीलाई अनेक कष्ट गरी भए पनि सामग्री जोडी बाह्रा राखिन् । तर, गरिबीको कारण उनीहरूको घरमा कोही पनि आउँदैनथे । बालिकासँग खेल्न कुनै पनि संगीहरू आउँदैनथे । एक्लै, अँध्यारो कोठामा दिन बिताउनु कठिन थियो । यही कारणले बाह्रा राखिएको बालिका दिनदिनै दुब्लाउँदै जान्छे ।
सो घरमा एउटा ख्याक बस्दो रहेछ । ती बालिकाको मनोदशा देखेर ख्याकको मनमा दया जागेछ । त्यसैले सो ख्याकले केटीको रूप धरेर दिनदिनै खेल्न आउन थालेछ । त्यसपछि बालिका रमाउन थाली । शारीरिक विकास भयोे । चन्द्रको जस्तो रूप पनि बदलिँदै आयो । यसरी बाह्रा निकालिने दुईतीन दिनअघि आफ्नी छोरी साथीसित खेलिरहेको छोडेर बाहिर गइन् । खेल्नलाई साथी पठाइदिएकामा एक छिमेकीलाई धन्यवाद दिँदै थिइन् । तर उक्त छिमेकीले आफ्नी छोरी घरमै रहेको बताइन् ।
एक्कासि उनको घरमा छोरीसित खेलिरहेकी केटी को हो त भन्ने जिज्ञासा जाग्यो । हत्पताई घरमा गइन् । ख्याकले छोरीको एक्लोपन र वेदना देख्न नसकेर करुणावस केटी साथीको रूप धारण गरेर खेल्न आएको कुरा सुनायो । त्यसपछि आमाले ख्याकलाई उक्त कार्यप्रति हार्दिक कृतज्ञता प्रकट गरेपछि ख्याक अलप भएको किंवदन्ती छ ।
बाह्रासी
बाह्रा राख्ने बेलामा बाह्रा मचाको असामयिक निधन हुन सक्छ । रोग वा अन्य कारणले बाह्राकोठामा उनको मृत्य भएमा त्यसलाई ‘बाह्रासी’ भनिन्छ । यो निकै नै कठिन समय हो । मृतक बाह्रामचालाई आम मृतकलाई जस्तै अन्त्येष्टि गरिन्न । बाह्रासीलाई सोही कोठामा प्वाल बनाई भुइँ तल्लाको वा छिँडीमा खाल्डो खनी गाडिन्छ ।
बाह्रा राखिएको समयमै मरेको हुनाले सो बाह्रामचालाई पुरुषहरूले हेर्नु हुँदैन भन्ने मान्यता पनि छ । बाह्रासीलाई अछूतका रूपमा लिइन्छ । त्यसैले अग्नि देउतालाई चढाउन नमिल्ने मान्यता छ । बाह्रासी गाडिएको घर अशुभ मानिन्छ । आर्थिक ह्रास हुने र मानसिक त्रास बढ्नाले उक्त घरमा बस्ने मानिसको अवनति हुने बताइन्छ । बाह्रामचाको लास नजलाएसम्म उनीहरूको आत्मा शान्त नहुने र आत्मा भड्किरहने हुनाले अरूलाई दुःख दिने पनि मान्यता छ ।
आसय
बाह्राको मूल आसय यौनशिक्षा अनुशासन केन्द्रित छ । प्राचीन समयमा किशोरी शिक्षाबाट वञ्चित थिए । नेवार सम्प्रदायका चेलीलाई बाह्रामार्फत बाह्र शिक्षा दिइन्छ । उनीहरूलाई यौन र तत्सम्बन्धी ज्ञान दिई अनुशासित बनाउने परम्परा निकै प्रभावकारी हुन्छ । रजस्वला हुनुपूर्व र भइसकेपछि व्यक्तिगत स्वास्थ्य र सरसफाइका साथै किशोरावस्थामा पुग्न लागेकालाई यौनशिक्षा दिँदा किशोरवयमा आउने यौनविकृति रोक्न बाह्रा संस्कार निकै महत्त्वपूर्ण रहेको छ । त्यस्तै गृहस्थजीवनका बारेमा पनि उचित तालिम दिइने यो संस्कार समयसापेक्ष रहेको निष्कर्ष निकाल्न सकिन्छ ।
स्थविरवादका अनुयायीहरूले विहारमा बाह्रा राखिने समयभरि बौद्ध धर्मको अध्ययन गराई शिलाचारिणी दीक्षा दिई अतिरिक्त शिक्षा पनि दिन्छन् । यौनजीवन त्यागेर बसेका भिक्षुहरूले यौन शिक्षा दिन सक्दैनन् । नैतिक शिक्षामात्र दिइन्छ । यसले परम्परागत सांस्कृतिक विचार धारणसमेतमा भिन्नता आउने हुन सक्छ ।
बाह्रा राखिने समयमा बालसुलभ व्यवहारबाट किशोर व्यवहारमा परिणत हुने भएकाले उनीहरूको चारित्रिक विकासको संरक्षणका दृष्टिकोणले पनि यो उत्तम संस्कार हो । बाह्रा संस्कारका माध्यमबाट किशोरवयमा प्रवेश हुन गइरहेका बालिकाहरूलाई संस्कारबद्ध पद्धतिले समयसापेक्ष तालिम दिनु प्राचीन समयको दूरदर्शिता पनि हो ।
प्राचीन समयमा बालविवाह प्रचलनमा थियो । रजस्वलापूर्वको यौनसम्बन्धलाई रोक्न पनि बाह्रा संस्कारको विकास भएको हो । बेमेल विवाहको कारण कुनै किशोरीको पतिको देहावसान भएपनि ऊ विधवा हुँदैन भन्ने अर्को मान्यता पनि छ । उसले अर्को विवाह गर्न पाउँछे । बाल्यावस्थामा बेल अर्थात् महादेवसित र किशोरावस्थामा सूर्यसित विवाह गर्ने किशोरीलाई देवत्व प्राप्त हुने विश्वास गरिन्छ ।
यसरी नारीको महत्ता र सम्मानमा नेवार सम्प्रदाय प्राचीन समयदेखि निकै सचेत रहेको पाइन्छ । साथै, समयमै उचित शिक्षा दिई अनुशासनको दायरामा ल्याई यौनमनोविज्ञान व्यवस्थापन गर्न यो संस्कारले प्राचीन समयदेखि उल्लेख्य भूमिका खेलिआएको छ ।
http://www.annapurnapost.com/news/60431

नेपाल संवत्‌को इतिहास

नेपाल संवत्‌को इतिहास

-दीर्घराज प्रसाई शनिवार, कात्तिक १३, २०७३
नेपाल संवत्‌को इतिहास

पशुपतिनाथको दक्षिण ढोकामा हातमा शंख लिएको शिलामूर्ति छ । त्यसैलाई शंखधर भनिएको छ । तर त्यो मूर्ति शंखधरको होइन । पृथ्वीमा पानी नपरेर हाहाकार भएपछि राजा भगीरथले महादेव र गंगा माताको तपस्या गरेर पानी मागेको अवस्थाको चित्रण हो ।
विक्रम संवत् २०७३ साल गोवद्र्धन पूजा र म्ह पूजाको दिन कात्तिक १५ गते शुक्ल प्रतिपदादेखि नेपाल संवत्को नयाँ वर्ष ११३७ प्रारम्भ हुँदैछ । नेपालको इतिहासमा लगभग विक्रमसंवत् ७८० देखि ९३५ वर्षसम्म प्रमाणित ऐतिहासिक सामाग्री भेटिएका छैनन् । नेपालको इतिहासको त्यो खाली समयलाई कालोयुग भनिन्छ । त्यो डेढ शताब्दीको समयमा नेपालमा अडमुण्डी नाम गरेका राजाले शासन गरेको र त्यसताका काश्मीरका हिन्दु राजा जयापिडले नेपाललाई आक्रमण गर्दा नेपालका अडमुण्डी नामका राजाले गण्डकी थुनी जयापिडका सेनालाई बगाइदिएका अनि जयापिडलाई कैद गरेको कुरा डेढ सय वर्षको इतिहासमा उल्लेख छ ।
कतिपय इतिहासकारले भनेका छन् त्यसबेला लिच्छवि वंशलाई कुनै अर्कै राजवंश वा भोटले हडपेको हुन सक्छ । भोटमा स्रोङचङगम्पोका सन्तानहरूको बीचमा आपसी झगडा भएर गडबड मच्चिएको मौकामा लिच्छविवंशकै राजा राघवदेवले लिच्छविवंशलाई स्वतन्त्र गराई आफू राजा भएका बेलादेखि नेपालसंवत् उठान भएको र यसबारेमा धेरै ऐतिहासिक सामग्रीहरू भेटिएकाले नेपाल संवत्को ऐतिहासिक महत्त्व उजागर हुन्छ । नेपाल संवत् नेपालको इतिहासको एउटा गौरव मानिन्छ ।
नेपाल संवत्को उत्पति र विकासबारे खोजकर्ता र इतिहासकारहरू भन्छन्- फ्रान्सेली विद्वान सिल्भाँ लेभीले नेपाल ईशाको सातौं शताब्दीदेखि नवौं शताब्दीसम्म त्यस समयको बृहत् भोटको अधीनमा रहेको र भोटका तत्कालीन राजाको अत्याचारी नीतिविरुद्ध त्यहाँका जनताले विद्रोह गरी साम्राज्य कमजोर हुन पुगेको अवस्थामा नेपाल भोट साम्राज्यबाट स्वतन्त्र भएको थियो । त्यसैको सम्झनाममा ई.सं. ८७९-८८० तिर नेपाल संवत्को उठान भएको भनेका छन् ।
नेपाल संवत्बारेमा प्रो. वेन्डालले फेला पारेको वा संकलन गरेको वंशावलीअनुसार लिच्छविकालको उत्तरार्धका राजाहरूको नामावली सूचीमा राजा राघवदेवको नाम निकै महत्त्वका साथ उल्लेख गरेको पाइन्छ । यिनै राजा राघवदेवको पालादेखि नेपाल संवत्को सुरु भएको हो भनेका छन् । त्यस्तै राय इतिहासकार कलिंघमको पनि छ ।
उनले समय गणना गरेअनुसार राजा राघवदेवको शासनकाल ई.सं. ८८० तिर पर्दछ र नेपाल संवत्को सुरुवात त्यही समयतिर भएको हुनाले विद्वान कलिंघमको भनाइमा कुनै भ्रम रहन्न भन्ने राय इतिहासविद् बालचन्द्र शर्माले नेपालको ऐतिहासिक रूपरेखामा उल्लेख गरेका छन् ।
इतिहास शिरोमणि बाबुराम आचार्यले 'चीन, तिब्बत र नेपाल' पुस्तकमा लेखेका छन्, 'नेपाल संवत्को उठान राजा राघवदेवको समयमा भएको हो भन्ने निश्चित भएको, स्मारकरूप यिनले नैं 'पशुपतिभट्टारक-संवत्को नामले नयाँ संवत्को आरम्भ गराए पछि यस संवत्सँग शंखधरको नाम जोडिन थालेको पाइन्छ, तर शंखधरसम्बन्धी अलौकिक र अतिरञ्जित किंवदन्तीहरू माथि भने विश्वास गर्न सकिँदैन ।'
नेपालका अधिकांश इतिहासकारहरूको धेरै हदसम्म नेपाल संवत्का प्रणेता राघवदेव नैं हुन भन्ने सहमति पाइन्छ । इतिहासका अर्का विद्वान धनवज्र वज्राचार्यले पशुपतिमा विभिन्न रूपले सम्मान व्यक्त गर्ने प्राचीन परम्पराअनुसार राजा राघवदेवले पशुपतिको सम्मानमा यो संवत् चलाएका हुन् भन्नुभएको छ ।
एकजना इटालियन विद्वान लसियानो पेट्रेकद्वारा प्रकाशित गोपाल वंशावलीमा राजा राघवदेवले पशुपतिलाई संकेत गरेर नै संवत् चलाएका हुन् भन्ने उल्लेख गरिएको छ । सम्भवतः यसैकारण गोपाल वंशावलीमा राजा राघवदेवलाई 'पशुपति भट्टारक सम्वत्सर' भन्ने उपाधि दिएको हो ।
गोपाल वंशावलीमा उल्लेख छ- 'राजा श्री राघवदेव वर्ष ६३ श्री पशुपति भट्टारके संवत्सर प्रवृत्तिःकृताः ।' ताडपत्रमा लेखिएको हस्तलिखित सुमरितन्त्र सहोत्तरतन्त्र ग्रन्थको पुष्पिका वाक्य एवं गोपालराज वंशावलीको वाक्यांशहरूबाट पनि मानदेव चतुर्थका छोरा राजा राघवदेवले यो संवत् चलाएको भन्ने उल्लेख छ । त्यसैले पनि यो पक्षमा राय दिने विद्वानहरूसँग सहमत हुन सकिन्छ भनी इतिहासविद् होमनाथ भट्टराईले विचार राख्नुभएको छ ।
यतिका प्रमाण हुँदाहुँदै पनि राजा राघवदेवले नेपाल संवत् उठान गरेका होइनन् भन्नु गल्ती हुन जान्छ । इतिहासकार कृष्णबहादुर उदय भन्छन्—'राजालाई 'नारायण' भन्ने प्रचलन र संस्कृति छ । शंखधर, चक्रधर भनेका उनै नारायण अथवा विष्णु हुन् । त्यसैले शंखधर भनेका नै राघवदेव हुन् ।
२०६४ कात्तिक २७ गतेको गोरखापत्रमा इतिहासकार केबी उदय लेखेका छन्- 'राजा राघवदेवको समयमा शंखधर भन्ने पुँजीवाल काठमाडौंमा थिए भन्ने प्रमाण छैन ।' म्हःपूजाकै अवसरमा यो संवत् उठान भएकाले नेवार समुदायहरूले नेपाल संवत्लाई नयाँ वर्षको रूपमा मनाउनु स्वागतयोग्य छ । यो संवत् सबै नेपालीको साझा हो । यस संवत्लाई जातीय संवत्को रूपमा मात्र लिनु हुन्न ।
एमालेका नेता प्रदीप नेपाल भन्छन्- 'नेपाल संवत्लाई सबै भाषाभाषीका लागि सुपाच्य बनाउन सकिएको छैन । नेपाल संवत्को तिथिमितिको गणना पनि समस्या हो । तीन सय ६५ दिनको कुनै रातमा पनि बालुबा सुनमा परिणत हुँदैन । मध्यरातमा झिकिएको बालुवा बिहान उज्यालो हुनासाथ सुनमा परिणत भयो भन्ने कथा अपत्यारिलो र आधारहीन बन्न पुग्छ, भाषा र संवत् सैद्धान्तिक बहसका विषय होइनन् । तिनको व्यावहारिक प्रयोग विज्ञानसम्मत हुनुपर्छ । (गोरखापत्र २०६६।७।१२।)
नेपाल संवत्को उठान सम्बन्धमा अर्का थरीका विद्वानहरूको भनाइ छ कि यो संवत् शंखधर शाख्वाले विष्णुमती नदीको दोभानबाट झिकेर ल्याएको बालुवा सुन हुन्छ भन्ने सुनेर भक्तपुरका राजा आनन्द मल्ललाई ज्योतिषीले भनेको मुहूर्तमा भरियाहरूले झिकेर लगिरहेको बालुवा शंखधरले घरमा लगी खन्याउन लगाए र अर्को बालुवा राजाकोमा लान लगाए अनि त्यो सुन भएको बालुवा बेचेर कान्तिपुर र भक्तपुरका जनताको ऋण तिरिदिएको सम्झनामा नेपाल संवत् प्रचलन भएको हो', भनिन्छ । तर बालुवा सुनमा परिणत हुन सक्ने कुरा सम्भव हुन सक्तैन ।
त्यो युगमा राजाले झिकाएको बालुवालाई एउटा शुद्र व्यापारीले राजाको आँखा छलेर काम गर्ने आँट गर्न सक्तैन । त्यो बेला बालुवा ल्याउने भरियाहरूले राजाको कुरालाई छोडेर एउटा शुद्र व्यापारीको पछि पर्लान् भन्न सकिँदैन । फेरि आनन्द मल्लको कार्यकाललाई तुलना गर्दा नेपाल संवत्को सुरुवात भएको दुई सय ५७ वर्षपछि मात्र भक्तपुरका राजा आनन्द मल्लको नाम आउँछ भने नेपाल संवत्सँग आनन्द मल्लको नाम जोड्न पनि मिल्दैन ।
पशुपतिनाथको दक्षिण ढोकामा हातमा शंख लिएको शिलामूर्ति छ । त्यसैलाई शंखधर भनिएको छ । तर त्यो मूर्ति शंखधरको होइन । पृथ्वीमा पानी नपरेर हाहाकार भएपछि राजा भगीरथले महादेव र गंगा माताको तपस्या गरेर पानी मागेको अवस्थाको चित्रण हो । लिच्छविकालदेखि कतिपय हिन्दु देवी देवताका मन्दिर र मूर्ति र धाराहरूका अगाडि पछाडि शंखधारण गरिएका मूर्तिहरू राख्ने गरिन्छ- योगी नरहरिनाथ ।
त्यस्ता मूर्तिहरू पशुपतिनाथको दक्षिणढोकामात्र होइन उत्तरढोकाका सबै मन्दिरका अगाडि, पशुपति आर्यघाट गंगामाताको मन्दिर अगाडि, बागमती पारिका एक सय आठ शिवमन्दिरका अगाडि, हरेक लिच्छविकालीन धारालगायत धरहराको सुन्धारामा पनि त्यस्ता मूर्तिहरू छन् । परम्परागत कुरा गर्दा कुण्डल, श्रीपेच लाउने र शंखधारण गर्ने नेवार जातिभित्र कुनै परम्परा छैन ।
इतिहासविद् वैकुण्ठप्रसाद लाकौलले नेपाल समाचारपत्र २०५८/७/३० मा लेख्नुभएको थियो- 'नेपालको इतिहासमा अन्धयुग ठानिएको मध्यकालीन इतिवृत्त बारे- गोपाल वंशावली जति प्रमाणित ग्रन्थ अरू छैन भन्ने कुरा निर्विवाद भइसकेको छ । नेपाल संवत् राजा राघवदेवको पालामा प्रचलनमा आएको सिद्ध हुन्छ ।' यसैगरी इतिहासकार ढुण्डीराज भण्डारीले नेपालको ऐतिहासिक विवेचनामा लेख्नु भएको छ- 'नुवाकोट ठकुरीवंशका प्रथम राजा भाष्करदेव बर्माको शासनकालमा लेखिएको 'विष्णुधर्म' नामको हस्तलिखित ग्रन्थको उपसंहारमा यसग्रन्थको निर्माणकाल राजा राघवदेवले प्रचलित गरेको नेपाल संवत् १६७ उल्लेख भएकोले उक्त संवत् नेपाल संवत् हो ।
कुनै विद्वान इतिहासकारहरूले पनि नदीबाट झिकिएको बालुवा सुनमा परिणत भएको ऐतिहासिक प्रसंगमा शंखधर शाख्वाको वर्णनले सम्पूर्ण परिचय दिन सकेको छैन । न त त्यो प्रसंगको सत्यता नै पुष्टि गर्न सकेको छ । राष्ट्रिय विभूति घोषित भएको यतिका वर्ष व्यतीत भइसक्दा पनि अनुत्तरित नै छन् ।'
यसरी नेवार वंशका कैयौं इतिहासकार तथा खोजकर्ताहरूबाट नेपाल संवत् राजा राघवदेवबाटै भएको कुरा सिद्ध गरिसकेपछि पनि विक्रम संवत् २०२२ सालपछि नेपाल संवत् शंखधर शाख्वाबाट उठान भएको भन्ने कुरा उठाइएको हो । २०२२ सालमा रेडियो नेपालबाट नेपाली, अंग्रेजी, हिन्दी र नेवारी भाषाबाट समाचार वाचन गरिन्थ्यो ।
समाचारवाचनमा अरूहरू जातिहरूले पनि माग गर्न थालेकाले २०२२ सालको मन्त्रिपरिषदको निर्णयबाट नेपाल रेडियोबाट नेपाली भाषा र अंग्रेजीबाट मात्र समाचारवाचन गर्ने निर्णय भएपछि इतिहासकार भुवनलाल प्रधान, प्रेमबहादुर कंसाकार, मानिकलाल श्रेष्ठहरूले विरोध गरे । नेवारी भाषा र नेपाल संवत् स्थापित गर्न नेवारी संगठन गर्न थालेका थिए । पछि २०२६ सालपछि मंका खलःको नामबाट यसलाई अगाडि बढाइयो ।
त्यसैलाई मागिखाने भाँडो बनाएर पद्मरत्न तुलाधरले साम्प्रदायिक जालोमा नेपाललाई फसाउने कुकर्म गर्न थालेका हुन् । त्यसैको आडमा अहिलेसम्म नेवारहरू म्हपूजाका दिन नेपाल संवत्का प्रणेता शंखधर हुन भन्दै उत्सव मनाउने गरेका हुन् । तर अहिलेसम्म शंखधर शाख्वा स्थापित हुन नसकेकोमा नेवार जातिले बुझ्न सक्नुपर्ने हो ।
नेपालमा धेरै वर्ष अगाडिदेखि विक्रम संवत्, नेपाल संवत्, शाके संवत्हरू तिथिको आधारमा चल्दै आएका थिए र छन् । यसरी संवत्हरू तिथिकै आधारमा चलेका तर तिथिहरू गडबड भइरहने हुँदा शासन व्यवस्थामा अप्ठ्यारो परेकाले जोतिषीहरूको सम्मेलनको निर्णयबाट चन्द्रशमशेरले तिथिहरू यथावतै राखी १९६१ वैशाख मेष संक्रान्तिदेखि विक्रम संवत्लाई गतेबाट लेख्न प्रारम्भ गरेका थिए ।
यसले गर्दा विक्रमसंवत् सरकारी तथा सामाजिक क्षेत्रमा लोकप्रिय हुन पुग्यो । नेपाल संवत् र शाके संवत् तिथिबाट मात्र चलेकाले विक्रम संवत्को दाँजोमा लोकप्रिय हुन सकेनन् । विक्रम संवत्को वर्षमा तीन सय ६५ दिन हुन्छ तर नेपाल संवत् र शक संवत्को वर्षमा तीन सय ५४ दिनमात्र हुने हुँदा विक्रम संवत्को दाँजोमा लोकप्रिय हुन नसक्ने अर्को कारण हो ।
सबै नेपालीहरूले सत्य तथ्यका आधारका प्रमाणहरू तथा भरपर्दा किंवदन्तीहरूलाई मात्र इतिहासका प्रमाण मान्नुपर्छ । २०७३ सालको तिहार तथा नेपाल संवत् ११३७ को उपलक्ष्यमा सुख समृद्धिको कामना हामी सबैले शुभकामना साँटासाँट गरौं ।
http://www.annapurnapost.com/news/57889

वाराही–याकती अजिमाको विश्लेषण

वाराही–याकती अजिमाको विश्लेषण
तेजेश्वरबाबु ग्वंगः |
२०७२ चैत्र २० शनिबार


अष्टमातृका तथा नवदुर्गा गणका अवधारणा भक्तपुरको मात्र नभई काठमाडौं उपत्यकाकै सामूहिक अवधारणा रहे, बनेको छ । अष्टमातृका तथा नवदुर्गा गणका अवधारणालाई मूल रूपमा धर्मविश्वास आस्थाले निरूपण गर्दछ, गरेका हुन्छन् । तिनै धर्म–आस्थाले विश्व मानवसमाजलाई हिन्दु, बौद्ध, इसाई, इस्लाम, जैन, अनेक आस्था समूहमा चिनिएका छन् । परन्तु, धर्र्म भन्नु कुनै विश्वास मात्र नभएर सेवाभावपूर्ण कर्मका परायणताकै प्रत्यक्ष दर्शन हो, अनुभूति हो, व्यवहार हो ।

प्रत्यक्ष दर्शन आस्थावान्हरूका निष्ठावान् आचरणमा पाउन सकिन्छ । आचरण प्रत्यक्ष व्यवहारका मूर्तरूप मान्नुपर्छ । आचरणहीन आस्था धर्म होइन, हुन सक्दैन । आस्था र आचरण डोरीझैं बाँटिएर एकै सूत्रका संयुक्त धार हुन् । अतः प्रत्येक आस्थापूर्ण अनुष्ठान चिन्तन–अवधारणा, अवधारणा–चिन्तन साथ ऐक्यबद्ध भएर लम्कनु÷लम्काउन सक्दा चिन्तन–अवधारणाले मूर्तरूप लिन सक्ने हुन्छ, सक्छ पनि ।

उपत्यकामा वाराहीलाई अष्टमातृका/नवदुर्गा गणका अभिन्न गणपूरक नायिकाका रूपमा मानिएको छ । मातृका गणको वाराहीलाई पौराणिक श्लोक गायनमा उल्लेख गरेको वर्णन नितान्त यथार्थ परक रहेको छ । ‘...वाराही घनघोर घघनमुखी' अष्टमातृकाका श्लोक मानी पठनपाठन गरिने आराधना वाक्यांशको रूपान्तरण यस्तो हुन आउँछः ‘...वाराही बाक्लो (कालो) घन–बादल जति घुँकार (गर्जने) घघन, घुँ घुँ घुर्ने स्वर मच्चाउने मुख (आकृति/खाने मुख) भएकी ! यथार्थ वर्णन गर्ने यो पारा पौराणिककालकै पद्धति रहेको छ । पौराणिक श्लोक वर्णन पद्धतिलाई छाडेर अब अलिक सृष्टिका संरचना क्रमलाई नियालौं पनि ।

सृष्टि क्रममा वाराही÷वराह अवतारमा गणना गरिएको छ । सृष्टि गाथा श्लोकका अनुसार वराह अवतार तेस्रो मानिएको छ । श्लोक यसरी अगाडि बढ्छ ‘.... प्रथम अवतार प्रभु मत्स्य रूप धारणम्, द्वितीय अवतार प्रभु कच्छप रूप धारणम्, तृतीय अवतार प्रभु वराह रूप धारणम्....' आदि । पूर्वीय सृष्टि संरचनाका विधान पाश्चात्य खोजीनीतिभन्दा अलग रहेको देखिन्न यस सन्दर्भमा ।

चाल्र्स डार्विन महाशयले मेकापागल द्विपमा गरेको अनुसन्धानका विवरण पुस्तक ‘सृष्टि संरचनाका प्रारम्भ' मा सृष्टिको पहिलो प्राणी जेली फिस– आफसेआफ टुक्रिएर बढ्ने माछा प्रजाति जेली फिस' भनेका छन् । दोस्रो सृष्टि संरचना जलथलचर ‘एम्पिबिएन' भनेका छन्, हुन् । तिनमा कछुवा प्राणी गणना गरिन्छ । तेस्रो जीव वराह आहाल÷हिलो र जंगल बास गर्ने प्राणी रहेको धारणा पूर्व र पश्चिम गोलाद्र्धका साझा सोचविचार रहे, बनेका छन् ।

यसरी सृष्टि संरचनाका तेस्रो अवतार वाराही वराह अवतार रहे, बनेकी छिन् । यस प्रसंगमा सोच विचार्दा कालो बाक्लो घन÷बादल जत्तिकै घुँकघुँक गर्जन स्वर भएकी प्राणी रहेको छ । वराह मुखाकृति/मकुण्डो बनाएर अष्टमातृका गण नाचमा उनका भावभंगीमा र कृपाकटाक्षका चालबाल र हात, खुट्टा, शिर र अंग स्वभावगत रहे बनेका छन् ।

शरीर यन्त्रका गतिविधि यान्त्रिक मुद्रा र चालमा नाच्ने प्रथा शारीरिक यन्त्र अनुकूल यान्त्रिक अनि चिन्तनले साधना गरेको तन्त्र अनुरूप तान्त्रिक बन्न पुगेका छन् । सम्भवतः अष्टमातृका र नवदुर्गा गण नृत्य÷नाचमा वाराहीका नृत्यका भावभंगीमा, पाइलाका चाल, हस्तमुद्राहरू बराह–बँदेलका चाल र गतिमूलक छन्, हुनुपर्ने सोच छ ।

वाराहीलाई नेपाल भाषाभाषी नेवार समुदायले त्यसमा पनि वंशगोपाल इलाका÷परिसरका नेवार बन्धुबान्धवहरू ‘याकती अजिमा' भन्ने गर्छन् । ‘याकती अजिमा' को औचित्यपूर्ण शब्दार्थ यही नै भनी निरूपण भए, गरेको पाइन्न । याकती शब्दको किटानी भए गरेमा...नभए तापनि भाषाशास्त्रीय दृष्टिकोणले केलाउने÷विश्लेषण गर्ने आधार नभएका भने होइनन् । अजिमा शब्दको अर्थ हजुरआमा हो ।

प्रायशः जेठी पुस्ताका नारीलाई हजुरआमा भन्ने नेपालका आम नेपाली नागरिक समाजका संस्कार रहेका छन् । यिनै सामाजिक, सांस्कृतिक संस्कारगत सांस्कृतिक पारा र परम्परा अनुरूप नै नेवार समुदायका आम समुदायहरू हजुरआमालाई अजिमा भन्छन्, भन्ने गरिआएका छन् । अब रह्यो ‘याकती' शब्दको सही र सटिक अर्थ विश्लेषण ।

नेपाल भाषाभाषी नेवार बन्धुहरू आदिमकालदेखि नै संस्कृत वाङ्मयका शब्दहरूलाई आफ्नै मौलिक रूपमा परिणत÷परिवर्तन गरी मौलिक रूप दिने क्षमतावान् खप्पिस चिन्तक प्रयोगशील समुदाय रहे, बनेका छन् । यस परिप्रेक्ष्यमा नियाल्दा याकती शब्द संस्कृतका आकृति शब्दको रुपान्तरण, परिवर्तित रूप हो । आकृतिको ‘आ' लाई ‘या'मा परिणत गरियो । ‘कृ' लाई ‘क' मात्र बनाइयो÷लेखियो ।

अनि ‘आकृति' शब्द रूपान्तरण भएर ‘याकती' बन्न पुग्यो । वराह आकृति भएका वाराही याकती बन्न पुग्यो । अनि उच्चारण गर्न सजिलो याकती अजिमामा परिणत हुन पुग्यो । यसरी संस्कृत शब्दहरू रूपान्तरित भए गरिएका नेपाल भाषाका शब्दहरू थुप्रै छन् । उदाहरणका रूपमा लाय्कु शब्दलाई लिन उपयुक्त छ । लाय्कु शब्द राजकुल संस्कृत शब्दको रूपान्तरण रहेको छ ।

नेपालभाषामा र–ल अक्षरको उच्चारण समानान्तर हैसियत राख्छ । ‘र' अक्षर ‘ल' उच्चारण भए गरिएपछि रा ‘ला' मा उच्चरित हुनु स्वाभाविक बन्छ, बन्यो । त्यसरी नै ज र य अक्षर पनि आपसमा एकै उच्चारण हुने गरिने भए बनेका छन् । एवं रीतले कुल शब्द छोटकरी तुल्याइयो । यस क्रममा दुई अक्षरी संस्कृत कुल शब्द एकाक्षरी बनाइयो । एकाक्षरी हुनपुग्दा पछिल्लो अक्षर लोप गरिन्छ, हुनपुग्छ ।

कुल शब्द ‘कू' बन्न पुग्यो नेपाल भाषामा । लोप भएका पछिल्ला अक्षर अकारान्त र त्यसका अघिल्ला अक्षर उकारान्त रहे, भए त्यस्ता अक्षर दीर्घ बनाइन्छ । अघिल्ला कु अक्षर उकारान्त र पछिल्ला ल अक्षर अ कारान्त भएकोले कू अक्षर दीर्घ बन्न पुगेको छ । यसरी संस्कृत राजकूल शब्द लाय्कु नेपाल भाषा शब्द बन्न पुगेको छ । भाषिक रूपान्तरणका यी विधि बुझ्न सके संस्कृत नेपालभाषा शब्द रूपमा अनन्त दूरी रहेको अनुभूति हुन पुग्छ जो कसैलाई पनि । याकती अजिमासित सटेका यो सटिक विश्लेषण ठान्छु ।
http://archive.annapurnapost.com/News.aspx/story/46502?_REQUEST=News.aspx/story/46502#sthash.tM2YaNhR.dpuf

संकटमा मेरो मातृभाषा

संकटमा मेरो मातृभाषा

अन्नपूर्ण आइतवार, असार १९, २०७३
संकटमा मेरो मातृभाषा

मेरो मातृभाषा नेपाल भाषा (नेवारी) हो । नेपाल भाषाको आफ्नै लिपी छ, रञ्जना । म त्यो जान्दिन । हुनत, रञ्जना संंयुक्त राष्ट्र संघमा दर्ता गरिएको नेपालको आधिकारिक लिपी नै हो । तथापि, त्यसको प्रयोग कामकाजमा लगभग शून्य छ । मलाई सामान्य नेपाल भाषा बोल्न आउँछ, बुझ्दछु, खासगरी काठमाडौं र ललितपुरमा बोलिने । कतिपय ठेट नेवारी शब्द त थाहै छैन । लाज नमानी भन्नु पर्दा औपचारिक शब्दहरूसमेत मलाई केही वर्षअघिसम्म पनि थाहा थिएन ।
जस्तै भिन्तुना (शुभकामना) नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन सुरु भएको अभियानबाट जानेको हुँ । गैरनेवारले अहिले भिन्तुना भनेर कहिलेकाहीं जिस्क्याउँछन् पनि । ज्वजलपाः (नमस्कार÷अभिवादन) र सुभाय् (धन्यवाद), केही वर्षअघि मात्र जानेको हुँ । केही वर्षअघि नेपाः राष्ट्रिय पार्टीले एक पटक समसामयिक विषयमा छलफलका लागि निम्त्याउँदा पहिलो पटक ज्वजलपाः शब्द प्रयोग गरेको थिएँ । यही कुरा भन्दा छलफलमा उपस्थित सबै हाँसेका थिए । त्यसपछि प्रयोग गरेको छैन । सुभाय् त भन्नै आउँदैन, अझैसम्म कसैलाई भनेकै छैन ।
भक्तपुरमा बोलिने नेवारी प्रायः बुझ्छु, तर त्यही लवजमा बोल्न सक्दिन । कतिपय शब्दहरूसमेत बिलकुल फरक छन् । जस्तै पानीलाई मैले बोल्ने नेवारीमा ‘ल' भनिन्छ भने भक्तपुरमा ‘नाः' भन्छन् । ‘याकन' (चाँडो) लाई भक्तपुरमा ‘माथँ' भन्छन् । यस्ता धेरै अरू छन् । पहिलेपहिले भक्तपुरे लवजमा बोलेको सुन्दा ‘ख्वपे भाय्' भनेर हाँसो लाग्थ्यो, गिज्याइन्थ्यो । अहिले सुन्दा त्यसमा भएको विशिष्टता र मिठास अतुलनीय लाग्छ । काठमाडौं उपत्यकाबाहेक बाहिर बोलिने नेवारीको आआफ्नै लवज र विशेषता छन् । तीमध्ये दोलखामा बोलिने त त्यहींकाले मात्र बुझ्छन् । मैले सुनेको किम्बदन्तीअनुसार पञ्चपाण्डव गुप्तबास बस्दा अरू कसैले भेउ नपाओस् भनेर बोल्न विकास गरिएको भाषा रे !

म घरमा बच्चैदेखि नेवारी बोल्थेँ । बा, आमा, सानीआमा, अनि मेरा चार भाइहरू सबै नेवारी बोल्थे । हामी सबै भाइ स्कुल जान्थ्यौँ, स्कुलमा पढाइ सरकारी कामकाजको भाषा खस नेपालीमै हुन्थ्यो । त्यसबेला नेपालीलाई मात्रै राष्ट्रिय भाषा मानिन्थ्यो । अरू भाषालाई राष्ट्रिय भाषा भन्न थालेको त जनआन्दोलन १ र २ पछि न हो ।
अहिले आएर संविधानमै नेपालमा बोलिने सबै भाषालाई राष्ट्रिय भाषा भनेको छ । त्यसअघि पनि सबै भाषा राष्ट्रिय नै हुन् र खस नेपालीचाहिँ राष्ट्र भाषा अर्थात कामकाजका लागि सबैले साझारूपमा बोल्ने हो भनेर पनि अथ्र्याइन्थ्यो । यसबारे म खासै ज्ञान राख्दिन । मैले माथि भनेका कुरा गलत हो भने क्षमाप्रार्थी छु । प्रसंग फेरि जोडौं, हामी पाँच भाइ स्कुलमा नेपाली बोले पनि हामीलाई घरमा नेवारी बोल्न गाह्रो थिएन ।
हामी पाँचभाइमध्ये कान्छोबाहेक सबैको नेवार स्वःजातिमै बिहे भयो । मेरो श्रीमती र बुहारीहरू (कान्छो भाइको श्रीमतीबाहेक) सबै नेवारी नै बोल्छन् । जब हाम्रा बच्चाहरू भए, एक्कासी घरमा बोल्ने भाषामा परिवर्तन आउन थाल्यो । पहिला दुइटा बच्चाहरू अढाइ तीन वर्ष अर्थात नर्सरी नजाँदासम्म खासै फरक आएको थिएन ।
जब बच्चाहरू थपिँदै गए अनि नर्सरी हुँदै स्कुल जान थाले तिनीहरूसँग नेवारी लगभग टुट्यो नै । यही स्थिति नेवारी बोल्ने धेरैजसो नेवार समुदायको छ । नेवारी बोल्ने नेवार भनेर तोक्नुको कारण नेवारी नबोल्ने नेवार पनि छन् । यी भनेका खासगरी व्यापार, व्यवसायको सिलसिलामा अन्यत्र गएर बसोबास गरेकाहरू जो पुस्तौँपछि विस्तारै नेवारी बोल्न बिर्सेकाहरू हुन् । अहिले, अर्को एकथरी थपिएको छ, बाज्ये बज्यै, आमाबाबु नेवारी बोल्ने र छोराछोरी, बुहारी र नातिनातिनासँग खस नेपाली बोल्ने ।
जब बच्चाहरू थपिँदै गए अनि नर्सरी हुँदै स्कुल जान थाले तिनीहरूसँग नेवारी लगभग टुट्यो नै । यही स्थिति नेवारी बोल्ने धेरैजसो नेवार समुदायको छ । नेवारी बोल्ने नेवार भनेर तोक्नुको कारण नेवारी नबोल्ने नेवार पनि छन् ।
यस्तो हुनुमा दुइटा कारण छन् । पहिलो, परिवार स्वयंले आफ्नो मातृभाषाभन्दा खस नेपाली भाषालाई राष्ट्रिय भाषाको रूपमा प्राथमिकता दिनु, जसको मुख्य अभिप्राय बच्चाहरूलाई स्कुलमा पढ्न लेख्न सजिलो होस् भन्ने हो । दोस्रो, बच्चाहरू शिशु अवस्थादेखि नै नर्सरी, किन्डरगार्टेनको नाममा घरपरिवारबाट दिनभरि छुट्टिए, जसको कारण सानैदेखि ती नेपालीमै अभ्यस्त हुनथाले र घरमा पनि नेपालीमै बोल्न सुबिस्ता माने । आमाबाबु अनि बाज्येबज्यै पनि बच्चाहरूसँग नेपाली भाषामा बोल्न रमाउन थाले । किनकि आफूबीच उनीहरू प्रायः नेवारी नै बोल्ने भएकाले बच्चाहरूसँग नेपालीमा बोल्नु तिनका लागि स्वाद फेर्नुजस्तै भयो ।
यिनै परिस्थिति मेरो परिवारमा पनि रह्यो । यसले मलाई केही पिरल्यो र घरमा बच्चाहरूलाई नेवारीमा बोल्न लगाउने कोशिस गरेँ । कम्तीमा मसँग बोल्दा नेवारीमै बोल्न बाध्य पार्ने चेष्टा गरेँ । तर मेरो उक्त प्रयासको विरोध नभए पनि त्यसमा अरू परिवारका सदस्यको खासै सहयोग रहेन । तिनका मनमा बेकारमा बच्चाहरूलाई गार्‌हो पारिरहेछ भन्ने लाग्थ्यो । त्यो म बुझ्थेँ । कहिलेकाहीँ भन्थे पनि पछि आफैं विस्तारै बोलिहाल्छ नि । म भन्थेँ, स्कुलमा त नेपाली नै बोल्छ नि, घरमा त नेवारी बोलोस् । मैले सक्दो प्रयास गरेँ ।
म स्वयं ती बच्चाहरू हुर्कंदै गर्दा अध्ययन अनुसन्धानको लागि विदेशमा भएकाले थप जोड गर्न पाइन । अहिले ती सबै हुर्किसके । ती सबैले नेवारी नबोले पनि बुझ्छन् र चाहेमा कामचलाउ बोल्छन् पनि । सबैभन्दा जेठीले राम्रै बोल्छिन् । छोरीहरू सबै (कान्छो भाइको बाहेक)को बिहे भइसक्यो, त्यो पनि नेवार परिवारमै । पाँचवटा सम्धी परिवारमध्ये तीन सम्धी परिवारका आमा बा र ज्वाईंहरूबीच नेवारीमै संवाद हुन्छ भने दुई सम्धी परिवार नेवारी बोल्दैनन् । रमाइलो भनौँ या नरमाइलो, नेवारी बोल्ने सम्धी परिवारमा पनि बुहारीहरूसँगको संवाद नेपालीमै हुन्छ । तिनका बच्चाहरूको कुरै भएन ।
मसँग तथ्यांक त छैन, तर मेरो हचुवा अनुमान अधिकांश नेवार परिवार खासगरी सहरियाहरूका नयाँ पुस्ता नेवारी बोल्दैनन् । यसको अर्थ अब नेवारी भाषा लोपोन्मुख हुँदैछ भन्ने नै हो । यसको जगेर्ना गर्ने कसले ? भन्नुपर्दा राज्यलाई दोष दिन सजिलो होला । पक्कै पनि राज्य दोषी छ । किनकि राज्य भाषामैत्री भएन । राज्यले विभेदपूर्ण व्यवहार गरेकै हो । सर्वोच्च अदालतले नेपालीबाहेक अन्य भाषालाई सरकारी प्रयोजनमा मान्यता नदिएर भाषाको प्रयोग र जगेर्नामा बाधक बनेकै हो । तथापि भाषा विभिन्नभाषी नागरिकले बोल्ने हुन् । जब तिनैले बोल्दैनन् भने दोष राज्यलाई मात्र दिएर भएन ।
कति बाँच्लान् र ती बाज्यबज्यै र बाबुआमा जसले आज पनि नेवारी बोल्छन् ? कठोर भएर भन्नुपर्दा तिनले बोल्ने नेवारी तिनैसँग चितामा खरानी हुँदै जानेछ । तिनका छोराछोरी नातिनातिनालाई केही फरक पर्ने छैन किनकि तिनले त आज पनि नेवारी बोल्दैनन् र भोलि तिनका सन्तानले बोल्छन् भन्ने अपेक्षा पनि राख्दैनन् ।
एउटा पुरानो याद, मेरो कार्यालयमा वरिष्ठ, कनिष्ठहरूमध्ये नेवारी बोल्ने र नेवारी बोल्न नजान्ने दुवैथरिका नेवार थिए । तीमध्ये नेवारी नजान्नेको त कुरै भएन । तर नेवारी बोल्नेले पनि कार्यालयमा नेवारी बोल्दैनथे । यतिसम्म कि दुइटा नेवारमात्र भएका बेला पनि नेवारी बोल्दैनथे । मैले मेरो वरिष्ठ (सबै होइनन्)सँग नेवारीमा बोल्दा नेपालीमा जवाफ पाउँथे । मानौँ, नेवारी बोल्दा कस्तो सोमत (म्यानर) नभएको जस्तो ठान्ने ।
मुखै फोडेर भनेका त होइनन्, तर तिनका हाउभाउले त्यही बुझिन्थ्यो । अर्थात, कार्यालयमा खस नेपालीबाहेक अरू स्वदेशी भाषा बर्जित नै भएको जस्तो । यो म स्वयंले काठमाडौंकै नेवार बोल्ने केही नेवार हाकिमबाट भोगेका कुरा हो । यसले के देखाउँछ भने खस नेपाली भाषाबाहेक अरू आफ्नै मातृभाषा पनि आफैंलाई दोस्रो दर्जाको लाग्नु हो । म पनि मान्छु समूहमा सबैले नबुझ्ने भाषा नबोल्नु राम्रै हो । तर आफ्नै मातृभाषी र बोल्न जान्नेबीच स्वाङ गर्नुको कुनै तुक छैन । एउटा प्रसंग, युरोपमा ‘स्कान्डिनेभियन' भनेर डेनमार्क, स्विडेन र नर्वे तीन मुलुकहरू छन् ।
तिनका आआफ्नै भाषा छन् तर एकले अर्कोको भाषा बुझ्छन् तर खासै बोल्दैनन् । रमाइलो के छ भने तिनीहरूबीच कुराकानी हुँदा डेनमार्ककाले डेनिसमै, स्विडेनकाले स्विडिसमै र नर्वेकाले नर्वेजियनमै बोल्छन् र आआफ्नै भाषामै जवाफ फर्काउँछन् । अर्थात आफू बोल्दा आफ्नै भाषामा र जवाफ सुन्दा अरूको भाषामा । यसलाई भनिन्छ, भाषामैत्री वातावरण ।
नेपालमा भाषासम्बन्धी समस्या सबैले बुझेका छन् । भाषाको सम्बन्धमा सबैको चेतना बढेको छ । सम्बन्धित भाषाविद् र अगुवाहरू यसको लागि आफ्नै किसिमले लागि परेका छन् । भाषासम्बन्धी अधिकारको माग गर्दा शिक्षा आआफ्नै मातृभाषामा हुनुपर्छ भन्ने एउटा पक्ष रहेको छ । किनकि मातृभाषामा सिकिने शिक्षा बढी बुझिने, व्यवहारिक र टिकाउ हुन्छ । यसका ज्वलन्त उदाहरण छन् । जापानी, चिनियाँ, कोरियन, रुसीलगायत विभिन्न युरोपियनहरूले आआफ्नै भाषामा शिक्षा लिएर विज्ञान र प्रविधिका क्षेत्रमा धेरै प्रगति र उत्कृष्ट नमुनाहरू पेस गरेका सबै सामु प्रष्ट छ ।

जसको जुन मातृभाषा छ, उसले कक्षा १२ सम्म त्यो भाषा अनिवार्य पढ्न/लेख्न पर्ने व्यवस्था हुनुपर्छ । स्कुलमा होइन, आआफ्नै घरघरमा । तिनका गुरु भनेका अविभावक हुन्छन् र आवश्यक परेमा घर छिमेकमै गुरुका व्यवस्था पनि गर्लान्/होलान् ।
जर्मन, फ्रान्सलगायतका धेरै युरोपेली मुलकमा अंग्रेजी बुझे पनि बोल्दैनन्, नबुझे झै गर्छन् । जापान चीन, कोरियालगायत कतिपय युरोपेली मुलुकका बहुसंख्यक मानिसले अंग्रेजी भाषा जान्दैनन् । यसमा समयकाल र भूराजनीतिबाट उत्पन्न स्वाभिमान र अहंकारको मि श्रण छ । माथि उल्लिखित मुलुकहरू आज समृद्ध छन्, समृद्ध हुँदै आए, तर अन्तर्राष्ट्रिय क्षेत्रमा भाषाकै कारण अलि पछि पनि परे । यो यथार्थ हो । अहिले तिनै मुलुकहरू अंग्रेजी भाषालाई प्राथमिकता दिइरहेका छन् । यसको अर्थ यो होइन कि तिनले आफ्नो भाषालाई छोडे ।
यस लेखमा मैले नेवारी भाषाको उदाहरण दिएँ जसको म र मेरो परिवार आफैं पात्र हुन् । नेपालमा सूचित १२७ भाषाहरूमध्ये अधिकांशको नियति लगभग यस्तै होला भन्ने अनुमानमात्र गर्न सक्छु । तीमध्ये कतिपय त लोपोन्मुखमात्र होइन, लगभग लोप नै भइसकेको अवस्थामा होलान् । हामी नेपालीको समुचित कुरा गर्दा खस भाषा नै मातृभाषा हुनेबाहेक अन्य सबैलाई तीनवटा भाषा अनिवार्य हुनुपर्छ भन्ने मेरो मान्यता हो । मातृभाषा, कामकाजको भाषा र बढी चलनचल्तीमा रहेको अन्तर्राष्ट्रिय भाषा अर्थात अंग्रेजी भाषा ।
यीबाहेक अरू धेरै भाषाहरू छन्, जो कसैले सिक्न सक्छन् सिक्नु लाभदायक छ । यसतर्फ सबै परिवारका अविभावक सजग रहनैपर्छ । आफ्नो भाषा सिकाउन गाह्रो र लाज मान्न हुँदैन ।
यही सन्दर्भमा राज्यलाई मेरो एउटा सुझाव छ । कामकाजको भाषा खस नेपाली अनिवार्य नै भो । त्यसमा कसैको दुई मत हुनै सक्दैन । (प्रादेशिक शासन कार्यान्वयनमा आएपछि प्रदेशको छुट्टै आधिकारिक भाषा हुनसक्छ, तर पनि सबै प्रदेशबीच खस नेपाली नै साझा भाषा हुनेछ ।) त्यस्तै अन्तर्राष्ट्रिय भाषाको रूपमा अंग्रेजी पनि अनिवार्य नै भो । अब अनिवार्य हुनुपर्‌यो, आआफ्नो मातृभाषा । सवा सयभन्दा बढी भाषा भएको मुलुकमा यो कसरी सम्भव होला भन्ने पक्कै लाग्ला । यो सम्भवमात्र होइन सरल पनि छ ।
जसको जुन मातृभाषा छ, उसले कक्षा १२ सम्म त्यो भाषा अनिवार्य पढ्न÷लेख्न पर्ने व्यवस्था हुनुपर्छ । स्कुलमा होइन, आआफ्नै घरघरमा । तिनका गुरु भनेका अविभावक हुन्छन् र आवश्यक परेमा घर छिमेकमै गुरुका व्यवस्था पनि गर्लान्÷होलान् । मेरो विचारमा यो एउटा उत्तम उपाय हुनसक्छ, किनकि कुनै पनि स्कुलमा सबै भाषाको पठनपाठन सम्भव छैन । (घरमै पढ्ने भन्नाले नौलो लाग्ला । अमेरिकामा करिब २० लाख केटाकेटी घर पाठशाला (होम स्कुल) कार्यक्रमअन्तर्गत घरमै पढ्छन्, स्कुल जान्नन् ।) यसमा राज्यले गर्नुपर्ने व्यवस्था भनेको सबै भाषाको पाठ्यक्रम बनाउने र स्कुलले परीक्षा र परीक्षकको व्यवस्था गर्ने ।
बन्न गइरहेको भाषा आयोगले यसमा प्राथमिक भूमिका निर्वाह गर्नसक्छ । परीक्षामा उतीर्ण वा अनुतीर्ण नगर्ने । निश्चित तोकिएको न्यूनतम अंकभन्दा जति बढी आउँछ वा पूरै प्राप्तांकलाई बोनसको रूपमा कुल प्राप्तांकमा थप गरेर जिपिए (ग्रेड प्वाइन्ट स्केल) बढाउनमा योगदान हुने व्यवस्था गर्ने । यो व्यवस्थाले घरघरमा सबै परिवारलाई मातृभाषा बोल्ने र सिक्ने वातावरणको सिर्जना हुन्छ । बोनस अंक पाइने भएपछि खस भाषा नै मातृभाषा हुनेका लागि के गर्ने ? तिनका त अरू मातृभाषा छैन । बोनस अंक त नपाइने भो । तिनका लागि स्वेच्छामा अरू कुनै पनि भाषा पढ्न पाउने गर्ने । यसले विभिन्न भाषीबीच सौहाद्रता ल्याउन मद्दत मिल्नेछ ।
http://www.annapurnapost.com/news/51453