नेपाल संवत्को इतिहास
-दीर्घराज प्रसाई शनिवार, कात्तिक १३, २०७३
पशुपतिनाथको दक्षिण ढोकामा हातमा शंख लिएको शिलामूर्ति छ । त्यसैलाई शंखधर भनिएको छ । तर त्यो मूर्ति शंखधरको होइन । पृथ्वीमा पानी नपरेर हाहाकार भएपछि राजा भगीरथले महादेव र गंगा माताको तपस्या गरेर पानी मागेको अवस्थाको चित्रण हो ।
विक्रम संवत् २०७३ साल गोवद्र्धन पूजा र म्ह पूजाको दिन कात्तिक १५ गते शुक्ल प्रतिपदादेखि नेपाल संवत्को नयाँ वर्ष ११३७ प्रारम्भ हुँदैछ । नेपालको इतिहासमा लगभग विक्रमसंवत् ७८० देखि ९३५ वर्षसम्म प्रमाणित ऐतिहासिक सामाग्री भेटिएका छैनन् । नेपालको इतिहासको त्यो खाली समयलाई कालोयुग भनिन्छ । त्यो डेढ शताब्दीको समयमा नेपालमा अडमुण्डी नाम गरेका राजाले शासन गरेको र त्यसताका काश्मीरका हिन्दु राजा जयापिडले नेपाललाई आक्रमण गर्दा नेपालका अडमुण्डी नामका राजाले गण्डकी थुनी जयापिडका सेनालाई बगाइदिएका अनि जयापिडलाई कैद गरेको कुरा डेढ सय वर्षको इतिहासमा उल्लेख छ ।
कतिपय इतिहासकारले भनेका छन् त्यसबेला लिच्छवि वंशलाई कुनै अर्कै राजवंश वा भोटले हडपेको हुन सक्छ । भोटमा स्रोङचङगम्पोका सन्तानहरूको बीचमा आपसी झगडा भएर गडबड मच्चिएको मौकामा लिच्छविवंशकै राजा राघवदेवले लिच्छविवंशलाई स्वतन्त्र गराई आफू राजा भएका बेलादेखि नेपालसंवत् उठान भएको र यसबारेमा धेरै ऐतिहासिक सामग्रीहरू भेटिएकाले नेपाल संवत्को ऐतिहासिक महत्त्व उजागर हुन्छ । नेपाल संवत् नेपालको इतिहासको एउटा गौरव मानिन्छ ।
नेपाल संवत्को उत्पति र विकासबारे खोजकर्ता र इतिहासकारहरू भन्छन्- फ्रान्सेली विद्वान सिल्भाँ लेभीले नेपाल ईशाको सातौं शताब्दीदेखि नवौं शताब्दीसम्म त्यस समयको बृहत् भोटको अधीनमा रहेको र भोटका तत्कालीन राजाको अत्याचारी नीतिविरुद्ध त्यहाँका जनताले विद्रोह गरी साम्राज्य कमजोर हुन पुगेको अवस्थामा नेपाल भोट साम्राज्यबाट स्वतन्त्र भएको थियो । त्यसैको सम्झनाममा ई.सं. ८७९-८८० तिर नेपाल संवत्को उठान भएको भनेका छन् ।
नेपाल संवत्बारेमा प्रो. वेन्डालले फेला पारेको वा संकलन गरेको वंशावलीअनुसार लिच्छविकालको उत्तरार्धका राजाहरूको नामावली सूचीमा राजा राघवदेवको नाम निकै महत्त्वका साथ उल्लेख गरेको पाइन्छ । यिनै राजा राघवदेवको पालादेखि नेपाल संवत्को सुरु भएको हो भनेका छन् । त्यस्तै राय इतिहासकार कलिंघमको पनि छ ।
उनले समय गणना गरेअनुसार राजा राघवदेवको शासनकाल ई.सं. ८८० तिर पर्दछ र नेपाल संवत्को सुरुवात त्यही समयतिर भएको हुनाले विद्वान कलिंघमको भनाइमा कुनै भ्रम रहन्न भन्ने राय इतिहासविद् बालचन्द्र शर्माले नेपालको ऐतिहासिक रूपरेखामा उल्लेख गरेका छन् ।
इतिहास शिरोमणि बाबुराम आचार्यले 'चीन, तिब्बत र नेपाल' पुस्तकमा लेखेका छन्, 'नेपाल संवत्को उठान राजा राघवदेवको समयमा भएको हो भन्ने निश्चित भएको, स्मारकरूप यिनले नैं 'पशुपतिभट्टारक-संवत्को नामले नयाँ संवत्को आरम्भ गराए पछि यस संवत्सँग शंखधरको नाम जोडिन थालेको पाइन्छ, तर शंखधरसम्बन्धी अलौकिक र अतिरञ्जित किंवदन्तीहरू माथि भने विश्वास गर्न सकिँदैन ।'
नेपालका अधिकांश इतिहासकारहरूको धेरै हदसम्म नेपाल संवत्का प्रणेता राघवदेव नैं हुन भन्ने सहमति पाइन्छ । इतिहासका अर्का विद्वान धनवज्र वज्राचार्यले पशुपतिमा विभिन्न रूपले सम्मान व्यक्त गर्ने प्राचीन परम्पराअनुसार राजा राघवदेवले पशुपतिको सम्मानमा यो संवत् चलाएका हुन् भन्नुभएको छ ।
एकजना इटालियन विद्वान लसियानो पेट्रेकद्वारा प्रकाशित गोपाल वंशावलीमा राजा राघवदेवले पशुपतिलाई संकेत गरेर नै संवत् चलाएका हुन् भन्ने उल्लेख गरिएको छ । सम्भवतः यसैकारण गोपाल वंशावलीमा राजा राघवदेवलाई 'पशुपति भट्टारक सम्वत्सर' भन्ने उपाधि दिएको हो ।
गोपाल वंशावलीमा उल्लेख छ- 'राजा श्री राघवदेव वर्ष ६३ श्री पशुपति भट्टारके संवत्सर प्रवृत्तिःकृताः ।' ताडपत्रमा लेखिएको हस्तलिखित सुमरितन्त्र सहोत्तरतन्त्र ग्रन्थको पुष्पिका वाक्य एवं गोपालराज वंशावलीको वाक्यांशहरूबाट पनि मानदेव चतुर्थका छोरा राजा राघवदेवले यो संवत् चलाएको भन्ने उल्लेख छ । त्यसैले पनि यो पक्षमा राय दिने विद्वानहरूसँग सहमत हुन सकिन्छ भनी इतिहासविद् होमनाथ भट्टराईले विचार राख्नुभएको छ ।
यतिका प्रमाण हुँदाहुँदै पनि राजा राघवदेवले नेपाल संवत् उठान गरेका होइनन् भन्नु गल्ती हुन जान्छ । इतिहासकार कृष्णबहादुर उदय भन्छन्—'राजालाई 'नारायण' भन्ने प्रचलन र संस्कृति छ । शंखधर, चक्रधर भनेका उनै नारायण अथवा विष्णु हुन् । त्यसैले शंखधर भनेका नै राघवदेव हुन् ।
२०६४ कात्तिक २७ गतेको गोरखापत्रमा इतिहासकार केबी उदय लेखेका छन्- 'राजा राघवदेवको समयमा शंखधर भन्ने पुँजीवाल काठमाडौंमा थिए भन्ने प्रमाण छैन ।' म्हःपूजाकै अवसरमा यो संवत् उठान भएकाले नेवार समुदायहरूले नेपाल संवत्लाई नयाँ वर्षको रूपमा मनाउनु स्वागतयोग्य छ । यो संवत् सबै नेपालीको साझा हो । यस संवत्लाई जातीय संवत्को रूपमा मात्र लिनु हुन्न ।
एमालेका नेता प्रदीप नेपाल भन्छन्- 'नेपाल संवत्लाई सबै भाषाभाषीका लागि सुपाच्य बनाउन सकिएको छैन । नेपाल संवत्को तिथिमितिको गणना पनि समस्या हो । तीन सय ६५ दिनको कुनै रातमा पनि बालुबा सुनमा परिणत हुँदैन । मध्यरातमा झिकिएको बालुवा बिहान उज्यालो हुनासाथ सुनमा परिणत भयो भन्ने कथा अपत्यारिलो र आधारहीन बन्न पुग्छ, भाषा र संवत् सैद्धान्तिक बहसका विषय होइनन् । तिनको व्यावहारिक प्रयोग विज्ञानसम्मत हुनुपर्छ । (गोरखापत्र २०६६।७।१२।)
नेपाल संवत्को उठान सम्बन्धमा अर्का थरीका विद्वानहरूको भनाइ छ कि यो संवत् शंखधर शाख्वाले विष्णुमती नदीको दोभानबाट झिकेर ल्याएको बालुवा सुन हुन्छ भन्ने सुनेर भक्तपुरका राजा आनन्द मल्ललाई ज्योतिषीले भनेको मुहूर्तमा भरियाहरूले झिकेर लगिरहेको बालुवा शंखधरले घरमा लगी खन्याउन लगाए र अर्को बालुवा राजाकोमा लान लगाए अनि त्यो सुन भएको बालुवा बेचेर कान्तिपुर र भक्तपुरका जनताको ऋण तिरिदिएको सम्झनामा नेपाल संवत् प्रचलन भएको हो', भनिन्छ । तर बालुवा सुनमा परिणत हुन सक्ने कुरा सम्भव हुन सक्तैन ।
त्यो युगमा राजाले झिकाएको बालुवालाई एउटा शुद्र व्यापारीले राजाको आँखा छलेर काम गर्ने आँट गर्न सक्तैन । त्यो बेला बालुवा ल्याउने भरियाहरूले राजाको कुरालाई छोडेर एउटा शुद्र व्यापारीको पछि पर्लान् भन्न सकिँदैन । फेरि आनन्द मल्लको कार्यकाललाई तुलना गर्दा नेपाल संवत्को सुरुवात भएको दुई सय ५७ वर्षपछि मात्र भक्तपुरका राजा आनन्द मल्लको नाम आउँछ भने नेपाल संवत्सँग आनन्द मल्लको नाम जोड्न पनि मिल्दैन ।
पशुपतिनाथको दक्षिण ढोकामा हातमा शंख लिएको शिलामूर्ति छ । त्यसैलाई शंखधर भनिएको छ । तर त्यो मूर्ति शंखधरको होइन । पृथ्वीमा पानी नपरेर हाहाकार भएपछि राजा भगीरथले महादेव र गंगा माताको तपस्या गरेर पानी मागेको अवस्थाको चित्रण हो । लिच्छविकालदेखि कतिपय हिन्दु देवी देवताका मन्दिर र मूर्ति र धाराहरूका अगाडि पछाडि शंखधारण गरिएका मूर्तिहरू राख्ने गरिन्छ- योगी नरहरिनाथ ।
त्यस्ता मूर्तिहरू पशुपतिनाथको दक्षिणढोकामात्र होइन उत्तरढोकाका सबै मन्दिरका अगाडि, पशुपति आर्यघाट गंगामाताको मन्दिर अगाडि, बागमती पारिका एक सय आठ शिवमन्दिरका अगाडि, हरेक लिच्छविकालीन धारालगायत धरहराको सुन्धारामा पनि त्यस्ता मूर्तिहरू छन् । परम्परागत कुरा गर्दा कुण्डल, श्रीपेच लाउने र शंखधारण गर्ने नेवार जातिभित्र कुनै परम्परा छैन ।
इतिहासविद् वैकुण्ठप्रसाद लाकौलले नेपाल समाचारपत्र २०५८/७/३० मा लेख्नुभएको थियो- 'नेपालको इतिहासमा अन्धयुग ठानिएको मध्यकालीन इतिवृत्त बारे- गोपाल वंशावली जति प्रमाणित ग्रन्थ अरू छैन भन्ने कुरा निर्विवाद भइसकेको छ । नेपाल संवत् राजा राघवदेवको पालामा प्रचलनमा आएको सिद्ध हुन्छ ।' यसैगरी इतिहासकार ढुण्डीराज भण्डारीले नेपालको ऐतिहासिक विवेचनामा लेख्नु भएको छ- 'नुवाकोट ठकुरीवंशका प्रथम राजा भाष्करदेव बर्माको शासनकालमा लेखिएको 'विष्णुधर्म' नामको हस्तलिखित ग्रन्थको उपसंहारमा यसग्रन्थको निर्माणकाल राजा राघवदेवले प्रचलित गरेको नेपाल संवत् १६७ उल्लेख भएकोले उक्त संवत् नेपाल संवत् हो ।
कुनै विद्वान इतिहासकारहरूले पनि नदीबाट झिकिएको बालुवा सुनमा परिणत भएको ऐतिहासिक प्रसंगमा शंखधर शाख्वाको वर्णनले सम्पूर्ण परिचय दिन सकेको छैन । न त त्यो प्रसंगको सत्यता नै पुष्टि गर्न सकेको छ । राष्ट्रिय विभूति घोषित भएको यतिका वर्ष व्यतीत भइसक्दा पनि अनुत्तरित नै छन् ।'
यसरी नेवार वंशका कैयौं इतिहासकार तथा खोजकर्ताहरूबाट नेपाल संवत् राजा राघवदेवबाटै भएको कुरा सिद्ध गरिसकेपछि पनि विक्रम संवत् २०२२ सालपछि नेपाल संवत् शंखधर शाख्वाबाट उठान भएको भन्ने कुरा उठाइएको हो । २०२२ सालमा रेडियो नेपालबाट नेपाली, अंग्रेजी, हिन्दी र नेवारी भाषाबाट समाचार वाचन गरिन्थ्यो ।
समाचारवाचनमा अरूहरू जातिहरूले पनि माग गर्न थालेकाले २०२२ सालको मन्त्रिपरिषदको निर्णयबाट नेपाल रेडियोबाट नेपाली भाषा र अंग्रेजीबाट मात्र समाचारवाचन गर्ने निर्णय भएपछि इतिहासकार भुवनलाल प्रधान, प्रेमबहादुर कंसाकार, मानिकलाल श्रेष्ठहरूले विरोध गरे । नेवारी भाषा र नेपाल संवत् स्थापित गर्न नेवारी संगठन गर्न थालेका थिए । पछि २०२६ सालपछि मंका खलःको नामबाट यसलाई अगाडि बढाइयो ।
त्यसैलाई मागिखाने भाँडो बनाएर पद्मरत्न तुलाधरले साम्प्रदायिक जालोमा नेपाललाई फसाउने कुकर्म गर्न थालेका हुन् । त्यसैको आडमा अहिलेसम्म नेवारहरू म्हपूजाका दिन नेपाल संवत्का प्रणेता शंखधर हुन भन्दै उत्सव मनाउने गरेका हुन् । तर अहिलेसम्म शंखधर शाख्वा स्थापित हुन नसकेकोमा नेवार जातिले बुझ्न सक्नुपर्ने हो ।
नेपालमा धेरै वर्ष अगाडिदेखि विक्रम संवत्, नेपाल संवत्, शाके संवत्हरू तिथिको आधारमा चल्दै आएका थिए र छन् । यसरी संवत्हरू तिथिकै आधारमा चलेका तर तिथिहरू गडबड भइरहने हुँदा शासन व्यवस्थामा अप्ठ्यारो परेकाले जोतिषीहरूको सम्मेलनको निर्णयबाट चन्द्रशमशेरले तिथिहरू यथावतै राखी १९६१ वैशाख मेष संक्रान्तिदेखि विक्रम संवत्लाई गतेबाट लेख्न प्रारम्भ गरेका थिए ।
यसले गर्दा विक्रमसंवत् सरकारी तथा सामाजिक क्षेत्रमा लोकप्रिय हुन पुग्यो । नेपाल संवत् र शाके संवत् तिथिबाट मात्र चलेकाले विक्रम संवत्को दाँजोमा लोकप्रिय हुन सकेनन् । विक्रम संवत्को वर्षमा तीन सय ६५ दिन हुन्छ तर नेपाल संवत् र शक संवत्को वर्षमा तीन सय ५४ दिनमात्र हुने हुँदा विक्रम संवत्को दाँजोमा लोकप्रिय हुन नसक्ने अर्को कारण हो ।
सबै नेपालीहरूले सत्य तथ्यका आधारका प्रमाणहरू तथा भरपर्दा किंवदन्तीहरूलाई मात्र इतिहासका प्रमाण मान्नुपर्छ । २०७३ सालको तिहार तथा नेपाल संवत् ११३७ को उपलक्ष्यमा सुख समृद्धिको कामना हामी सबैले शुभकामना साँटासाँट गरौं ।
http://www.annapurnapost.com/news/57889
No comments:
Post a Comment