Thursday, December 22, 2016

बाह्राको व्याख्यान

बाह्राको व्याख्यान

रामगोपाल आशुतोष शनिवार, मंसिर २५, २०७३

मृतक बाह्रामचालाई आम मृतकलाई जस्तै अन्त्येष्टि गरिँदैन । बाह्रासीलाई सोही कोठामा प्वाल बनाई भुइँतल्लाको वा छिँडीमा खाल्डो खनी गाडिन्छ ।
नेवार सम्प्रदाय अनेक संस्कृतिको संग्रहालय हो । परम्परा, रीतिरिवाज, सामाजिक मूल्यमान्यता पहिचान यस सम्प्रदायको सौन्दर्य हो । यो सम्प्रदायमा जन्मदेखि मृत्युसम्मका संस्कार छन् । तीमध्ये एक ‘बाह्रा’ हो । यो नेवार कन्यालाई रजस्वला सुरु हुनुपूर्व बाह्र दिनसम्म अँध्यारो कोठामा राखिने एक प्रचलन हो । यसलाई सभ्य र सांस्कृतिक अनुशासनको रूपमा पनि लिइन्छ ।
मान्यता
ईपू २०० देखि १०० मा नै धर्मनीति, धर्मग्रन्थ वा स्मृतिमा ‘बाह्रा’ संस्कार उल्लेख गरिएको पाइन्छ । हिन्दु धर्मावलम्बीमा सोह्र संस्कार प्रचलनमा छन् । तर नेवार सम्प्रदायमा भने योभन्दा थोरै भिन्दै मौलिक परम्पराको लौकिक संस्कार र कर्मको विकास भएको पाइन्छ । बौद्ध धर्मको महायानी र बज्रयानी सम्प्रदायसमेत मिसिएकाले नेवार परम्परामा लौकिक मत गाँसिएको विद्वानहरूको राय छ ।
बाह्रा संस्कार भने मिथकीय संस्कार हो । यसलाई यौन शिक्षा भन्नेहरू पनि छन् । मल्लकालीन समयमा बाह्रालाई ‘बाधा’ भनिन्थ्यो । यो महिलाकेन्द्रित संस्कार हो ।
बाह्रा राख्ने प्रचलनलाई सूर्यसँगको विवाह भन्ने जनविश्वास रहेको पाइन्छ । तर, यो गलत धारणा हो । बाह्रा निकालिने दिनमा सूर्यको पूजा गरी त्यसको दर्शन मात्र गरिने हो । कन्यादान गरिने चलन छैन । बाह्रा निकालिने दिन बाह्रा राखिएकी किशोरीको सिउँदोमा सिन्दुर हालिने भएकाले यसलाई विवाहसित जोडिने गरेको हुनुपर्छ । बाह्रा राखिने बेलाको सिन्दुर चेलीको परिवारको सबैभन्दा ज्येष्ठ महिलाले हालिदिन्छिन् । किशोरावस्थाकी चेलीको बाह्रा राख्ने बेलाको सिन्दुरलाई विवाह वा शारीरिक सम्बन्धको संकेतसित जोड्नु अनुचित हो ।
धेरैले बाह्रालाई गुफा राख्ने भनेका छन् । बाह्रा र गुफामा तात्विक भिन्नता छन् । बाह्राको संस्कार बाह्रौं शताब्दीदेखि सुरु भएको हो । शंकरराज राजवंशीको लेखका अनुसार ने.सं. ७९६ मा भक्तपुरका राजा उग्र मल्लकी रानी भानुमतीलाई बाह्रा राखेको मल्लकालीन ऐतिहासिक प्रमाणमा छ । जयप्रकाश मल्लको रानीलाई पनि बाह्रा राखेको ऐतिहासिक प्रमाण छ ।
बाह्रा शब्द संस्कृतको द्वादश, हिन्दीको बारह र खस नेपालीको बाह्रबाट अपभ्रंश भई बाह्रा भएको हो । यो बाह्रौं शताब्दीदेखि मल्लकालीन समयमा प्रचलनमा आएको देखिन्छ । धर्मशास्त्रले १२ अंकलाई महत्त्वपूर्ण मानिआएको छ ।
बाह्रालाई शुभकार्यका रूपमा वर्णित छ । यसको अर्थ १२ तीर्थको प्रतीकका रूपमा वर्णन गरिएको छ । त्यस्तै १२ विषयका शून्यताभाव ग्रहण गर्ने गहन शिक्षाका रूपमा पनि यसलाई व्याख्या गरिएको छ । नौदेखि तेह्र वर्ष उमेरभित्रका किशोरीलाई शुभदिनमा बाह्रा राखिन्छ ।
बाह्रा दुई प्रकारका छन् । ज्योतिषि वा कुलगुरुलाई चिना देखाई साइत जुराएर रजस्वला हुनुपूर्व नै बालिकालाई बन्दकोठा राखिने चलन त बाह्रा (राखिने) हो । नौदेखि १३ वर्षसम्मका बालिकाको पहिला रजस्वला हुनेबित्तिकै बसिने बाह्रा च्वं बाह्रा (आफैं बस्ने) हो । यसमा ज्योतिषि वा कुलगुरुको रायसल्लाहको आवश्यकता पर्दैन । यो किशोरावस्थामा दिइने शिक्षा हो । यसमा शारीरिक परिवर्तन, मानसिक, सामाजिक, संवेगात्मक, मनोवैज्ञानिक, यौनसम्बन्धी आधारभूत ज्ञान, व्यक्तिगत सरसफाइ, प्रजनन स्वास्थ्य, घरेलु कर्तव्य, पारिवारिक दायित्व, धर्म र गृहस्थ जीवनलगायत बाह्र प्रकारका शिक्षा दिइन्छ ।
रीत
बाह्रा राखिने पहिलो दिन केही रीतहरू पूरा गरिन्छन् । दहीले मुछेको टीकाले अभिषेक गरी कोठामा बाह्रा राखिन्छ । कोठामा कुनै पनि पुरुषलाई छिर्न दिइन्न । झ्यालढोकाका सबै छिद्रहरूलाई कपडा आदिले टालेर कोठा सूर्यको किरण नछिर्ने बनाइन्छ । बाह्रा ननिकालेसम्म किशोरीले कुनै पनि पुरुषसँग कुराकानीसमेत गर्न हुँदैन । चौथो दिनमा सूर्य उदाउनुपूर्व बाह्रामचा (बाह्र बस्ने किशोरी) लाई स्नान गराइन्छ । सो दिन आवश्यक पूजाआजा गरी क्वंचिकं लगाइन्छ ।
क्वंचिकं भनेको जौको पिठो, पिना आदि मिसाएर बनाएको विशेष सौन्दर्य प्रसाधन हो । क्वंचिकं नलाएसम्म बाह्रा बसेको बालिकालाई नुन बार्न लगाइन्छ । क्वंचिकं लगाइएको दिनदेखि बाह्राकोठामा बालिकाको संरक्षकका रूपमा कपासबाट बनाइएको ‘बाह्राख्याः’ स्थापना गरिन्छ । बाह्राविधान अवधिमा कुनै अनिष्ट नहोस् भन्ने कामनाका साथ ख्याःको परिकल्पना गरिएको हो । यसले बाह्रामचाको मनोबल बढाउँछ । ख्याःको शाब्दिक अर्थ भय भन्ने बुझिन्छ ।
भयलाई नियन्त्रण गर्न ख्याः स्थापना गरिन्छ । बाह्राख्याः आकाशको तीन ताराको प्रतीकात्मक स्वरूप पनि हो । त्यसैले बाह्राख्याःसँगै तीन तारा पनि राखिने चलन छ । त्यसो गर्नाले बालिकालाई एक्लो भएको महसुस हुँदैन भन्ने विश्वास छ । बाह्रामचाको हेरचाह गर्न बाह्रापासा (साथी) पनि राखिन्छ । बाह्रापासा सकेसम्म अनुभवी र विवाहित हुनुपर्ने चलन छ ।
बाह्रौं दिनमा सूर्योदयपूर्व बाह्रामचालाई स्नानादि गराई बाह्राकोठामा लगिन्छ । घरका सबै स्नानादी गरी चोखो हुन्छन् ।
कोठामा टालिएको प्वाल खोलिन्छ । त्यसपछि बाह्रा निकाल्ने प्रक्रिया थालिन्छ । बाह्रामचालाई दुपट्टाको सारी र तासको नयाँ लुगा पहिराई आवश्यक सिंगारपटार गराई सुनका गरगहनाले दुलहीझैं सजाइन्छ । त्यसपछि घरको कौसीमा लगिन्छ । धेरै दिनसम्म पुरुषको अनुहार नदेखेको केटीले एक्कासि केटाको अनुहार देख्दा उसको मनमा अनेक तर्कवितर्क हुन सक्छ ।
यिनै सम्भावनालाई मध्यनजर राखी बाह्रामचालाई धातुको बाटामा पानी हालेर सूर्यको छाया हेर्न दिइन्छ । त्यसपछि मात्र सूर्यको दर्शन गर्न लगाइन्छ । खुल्ला आकाश देखाई आफू पनि यही संसारको सदस्य भएको आभास गराइन्छ । त्यसपछि पिता एक जन्मदाता, आदरणीय र पहिलो गुरुका रूपमा चिनाइन्छ । यसले बालिकाको दृष्टिमा पुरुषप्रति उठ्ने अनेक वासना वा अन्य दुर्भावना विस्थापित हुने विश्वासका आधारमा यो संस्कार चलाइएको हुनुपर्छ ।
यी सबै क्रियाहरू घरकी महिलामुलीले गर्ने चलन छ । त्यसपछि बाह्रामचाको बुबाले दानदक्षिण दिई पूजा गर्छन् । सोही दिन साँझ बाह्रापासालगायत खेल्न आउने साथीसंगी र खाजा ख्वाउन आउने आफन्त र छरछिमेकका छोरीचेलीलाई भोज ख्वाइन्छ । भोलिपल्ट विहान सबेरै बाह्राख्याःलाई खोलामा सेलाइन्छ । बाह्राख्याःसँगै बाह्रामचाले प्रयोग गरेको पुतली, क्वंल, ढुंगाको गट्टी आदि पनि खोलामा बगाइन्छ । त्यसपछि मात्र त्यो कोठामा पुरुषहरू छिर्न मिल्ने परम्परा छ ।
किंवदन्ती
बाह्रा ख्याःसम्बन्धी अनेक किंवदन्ती छन् । एउटा गाउँमा आमा र छोरी बस्थे रे । तिनीहरू गरिब थिए । गरिबीका कारण निकै दुःखकष्ट भोगिरहेका थिए । छोरी चौथीको चन्द्रमा झैं हुर्किँदै थिई । छोरीको बाह्रा राख्ने बेला नजिक आइरहेको थियो । एकदिन छोरीलाई अनेक कष्ट गरी भए पनि सामग्री जोडी बाह्रा राखिन् । तर, गरिबीको कारण उनीहरूको घरमा कोही पनि आउँदैनथे । बालिकासँग खेल्न कुनै पनि संगीहरू आउँदैनथे । एक्लै, अँध्यारो कोठामा दिन बिताउनु कठिन थियो । यही कारणले बाह्रा राखिएको बालिका दिनदिनै दुब्लाउँदै जान्छे ।
सो घरमा एउटा ख्याक बस्दो रहेछ । ती बालिकाको मनोदशा देखेर ख्याकको मनमा दया जागेछ । त्यसैले सो ख्याकले केटीको रूप धरेर दिनदिनै खेल्न आउन थालेछ । त्यसपछि बालिका रमाउन थाली । शारीरिक विकास भयोे । चन्द्रको जस्तो रूप पनि बदलिँदै आयो । यसरी बाह्रा निकालिने दुईतीन दिनअघि आफ्नी छोरी साथीसित खेलिरहेको छोडेर बाहिर गइन् । खेल्नलाई साथी पठाइदिएकामा एक छिमेकीलाई धन्यवाद दिँदै थिइन् । तर उक्त छिमेकीले आफ्नी छोरी घरमै रहेको बताइन् ।
एक्कासि उनको घरमा छोरीसित खेलिरहेकी केटी को हो त भन्ने जिज्ञासा जाग्यो । हत्पताई घरमा गइन् । ख्याकले छोरीको एक्लोपन र वेदना देख्न नसकेर करुणावस केटी साथीको रूप धारण गरेर खेल्न आएको कुरा सुनायो । त्यसपछि आमाले ख्याकलाई उक्त कार्यप्रति हार्दिक कृतज्ञता प्रकट गरेपछि ख्याक अलप भएको किंवदन्ती छ ।
बाह्रासी
बाह्रा राख्ने बेलामा बाह्रा मचाको असामयिक निधन हुन सक्छ । रोग वा अन्य कारणले बाह्राकोठामा उनको मृत्य भएमा त्यसलाई ‘बाह्रासी’ भनिन्छ । यो निकै नै कठिन समय हो । मृतक बाह्रामचालाई आम मृतकलाई जस्तै अन्त्येष्टि गरिन्न । बाह्रासीलाई सोही कोठामा प्वाल बनाई भुइँ तल्लाको वा छिँडीमा खाल्डो खनी गाडिन्छ ।
बाह्रा राखिएको समयमै मरेको हुनाले सो बाह्रामचालाई पुरुषहरूले हेर्नु हुँदैन भन्ने मान्यता पनि छ । बाह्रासीलाई अछूतका रूपमा लिइन्छ । त्यसैले अग्नि देउतालाई चढाउन नमिल्ने मान्यता छ । बाह्रासी गाडिएको घर अशुभ मानिन्छ । आर्थिक ह्रास हुने र मानसिक त्रास बढ्नाले उक्त घरमा बस्ने मानिसको अवनति हुने बताइन्छ । बाह्रामचाको लास नजलाएसम्म उनीहरूको आत्मा शान्त नहुने र आत्मा भड्किरहने हुनाले अरूलाई दुःख दिने पनि मान्यता छ ।
आसय
बाह्राको मूल आसय यौनशिक्षा अनुशासन केन्द्रित छ । प्राचीन समयमा किशोरी शिक्षाबाट वञ्चित थिए । नेवार सम्प्रदायका चेलीलाई बाह्रामार्फत बाह्र शिक्षा दिइन्छ । उनीहरूलाई यौन र तत्सम्बन्धी ज्ञान दिई अनुशासित बनाउने परम्परा निकै प्रभावकारी हुन्छ । रजस्वला हुनुपूर्व र भइसकेपछि व्यक्तिगत स्वास्थ्य र सरसफाइका साथै किशोरावस्थामा पुग्न लागेकालाई यौनशिक्षा दिँदा किशोरवयमा आउने यौनविकृति रोक्न बाह्रा संस्कार निकै महत्त्वपूर्ण रहेको छ । त्यस्तै गृहस्थजीवनका बारेमा पनि उचित तालिम दिइने यो संस्कार समयसापेक्ष रहेको निष्कर्ष निकाल्न सकिन्छ ।
स्थविरवादका अनुयायीहरूले विहारमा बाह्रा राखिने समयभरि बौद्ध धर्मको अध्ययन गराई शिलाचारिणी दीक्षा दिई अतिरिक्त शिक्षा पनि दिन्छन् । यौनजीवन त्यागेर बसेका भिक्षुहरूले यौन शिक्षा दिन सक्दैनन् । नैतिक शिक्षामात्र दिइन्छ । यसले परम्परागत सांस्कृतिक विचार धारणसमेतमा भिन्नता आउने हुन सक्छ ।
बाह्रा राखिने समयमा बालसुलभ व्यवहारबाट किशोर व्यवहारमा परिणत हुने भएकाले उनीहरूको चारित्रिक विकासको संरक्षणका दृष्टिकोणले पनि यो उत्तम संस्कार हो । बाह्रा संस्कारका माध्यमबाट किशोरवयमा प्रवेश हुन गइरहेका बालिकाहरूलाई संस्कारबद्ध पद्धतिले समयसापेक्ष तालिम दिनु प्राचीन समयको दूरदर्शिता पनि हो ।
प्राचीन समयमा बालविवाह प्रचलनमा थियो । रजस्वलापूर्वको यौनसम्बन्धलाई रोक्न पनि बाह्रा संस्कारको विकास भएको हो । बेमेल विवाहको कारण कुनै किशोरीको पतिको देहावसान भएपनि ऊ विधवा हुँदैन भन्ने अर्को मान्यता पनि छ । उसले अर्को विवाह गर्न पाउँछे । बाल्यावस्थामा बेल अर्थात् महादेवसित र किशोरावस्थामा सूर्यसित विवाह गर्ने किशोरीलाई देवत्व प्राप्त हुने विश्वास गरिन्छ ।
यसरी नारीको महत्ता र सम्मानमा नेवार सम्प्रदाय प्राचीन समयदेखि निकै सचेत रहेको पाइन्छ । साथै, समयमै उचित शिक्षा दिई अनुशासनको दायरामा ल्याई यौनमनोविज्ञान व्यवस्थापन गर्न यो संस्कारले प्राचीन समयदेखि उल्लेख्य भूमिका खेलिआएको छ ।
http://www.annapurnapost.com/news/60431

No comments: