Tuesday, December 19, 2023

उपेक्षित शान्तदास

 खगेन्द्र संग्रौला

शान्तदास बालसाहित्यका पाठशाला थिए । वैचारिक र लेखकीय जीवनको लामो सहयात्रामा उनी मेरा धेरैथोक थिए । बालकथा लेख्न मलाई प्रेमपूर्वक बाध्य गराउने पनि उनै थिए ।

जगत्मा हुनु र नहुनुको कथा रहेछ जीवन । शान्तदास मानन्धर अलि दिनअघिसम्म हामीमाझ थिए, अब छैनन् । तर, यो ‘नहुनु’ केवल दृश्यगत हो, केवल दैहिक हो यो । हाम्रो भावलोकमा त शान्तदास छँदै छन् । शान्तदास हाम्रो स्मृतिमा झनै जीवन्त छन्, झनै निकट छन्, र छन् ती झनै प्रिय ।


शान्तदासबारे अनेक प्रसंगमा, अनेक कोणबाट मैले अनेक कुरा लेखिसकेको छु । दृश्य लोकबाट अलप भएका शान्तदास अहिले मेरा आफ्नै शब्दचित्रमा मेरो स्मृतिमा यसरी प्रकट हुन्छन्, ‘शिरमा ह्याट, देहमा कमिज सुरुवाल, कुममा ‘बालकोसेली’ को झोला, मनमा अगाध बालप्रेम, वचनमा सम्मोहक माधुर्य, ओठमा मृदु मुस्कान ।....स्वभावले बडो मिजासिला, हँसिला र फरासिला मानव ।’ बस्, यिनै हुन् मैले चिनेका, संगत गरेका र केही न केही बुझेका शान्तदास मानन्धर ।

शान्तदास बितेको खबर आयो । उमेर भएको थियो ९० वर्ष, त्यसकारण यो अप्रिय खबर अनपेक्षित थिएन । परिवारजनले शान्तदासको भौतिक देह पशुपति आर्यघाटमा सेलाउने भएछन्, विद्युतीय शवदाह गृहमा । मैले सूचना पाएँ । चिन्तक, लेखक वा कलाकारको अन्येष्टिमा घाटमा जान मलाई मन लाग्दैन । सत्ता राजनीतिका ठुल्दाइ र सान्दाइहरूले अघि नै शव घेरिसकेका हुन्छन् । तिनले हाम्रो माझबाट बिदा भएका पात्रको शवमाथि बलात् आफ्नो दलको स्वामित्व थोपर्छन् र शव बलात् आफ्ना दलको झन्डाले छोप्छन् । आफ्नो छविको प्रतिरक्षा गर्न अनुपस्थित पात्रलाई तिनले आफ्नै विकृत छविमा ढाल्ने धृष्टता गर्छन् । र, यसरी तिनले उक्त पात्रको जीवन–आदर्श, पहिचान र छविलाई हुनुसम्म विकृत तुल्याउँछन् । अझ कहिले त तिनले ती पात्रको कथित सम्मानमा तोपको भड्किलो, विलासी र हिंस्रक सलामीको विद्रूप अभिनय पनि गरिहाल्छन् । यस्ता अन्त्येष्टिमा हाजिरी जनाउनु मलाई यी ठुल्दाइ र सान्दाइको अहंकारको मतियार हुनु हो जस्तो लाग्छ । त्यसैले त भनें नि, यस्तोमा म प्रायः जान्नँ ।

वैचारिक र लेखकीय जीवनको लामो सहयात्रामा शान्तदास मेरा लागि धेरैथोक थिए । बालकथा लेख्न मलाई प्रेमपूर्वक बाध्य गराउने पनि त आखिर उनै शान्तदास थिए । यस्ता शान्तदासको अन्त्येष्टिमा हाजिर नहुनु चर्कै अकृतज्ञता पो होला कि ? जाऊँ कि नजाऊँको दोमनबीच म आर्यघाट पुगें । विद्युतीय शवदाह गृहको परिसरमा जे देखें, हर्षातिरेकले म चकित भएँ । त्यहाँ जो होलान् र ती जे गर्दै होलान् भन्ने अप्रिय अनुमान थियो, त्यहाँ ती कोही थिएनन् । शान्तदासकी बहिनीको आग्रहमा बौद्धविधिले एकदिने संक्षिप्त कर्मकाण्ड चल्दै थियो । परिसरको एक कुनामा गायक आभाष फुयाँलसँग बसेर देश–दुनियाँको दशाबारे बात मार्दै थिएँ म । शारदारमण नेपालले उताबाट आउँदै आश्चर्यको भावमा खुल्दुली प्रकट गरे— हैन, यहाँ सत्ता राजनीतिका लाठेहरू एउटै देख्दिनँ त म ? के भएको हो यो अचम्म ? प्रत्युत्तरमा हामीमाझ सुखद् मुस्कानको आदानप्रदान भयो ।

पच्चीस सालदेखि गन्दा शान्तदाससँग मेरो उठबस र सहकार्यको आयु पचपन्न वर्षको भएछ । यसबीच विचार र सहकार्यको मोर्चामा मेरा थुप्रै मित्र बने । यात्राक्रममा तीमध्ये थुप्रैसँग वैचारिक जीवनको मेरो बाटो फाट्यो । तर, शान्तदास र म अविच्छिन्न सँगै रह्यौं । यो ‘सँगै रहनु’ को कारणसहितको कथा छ । शान्तदासलाई पहिलो पटक मैले कहिले, कहाँ र कुन सन्दर्भमा भेटें, अहिले ठ्याक्कै सम्झना छैन । पच्चीस–छब्बीस सालको कुरा हो यो । तिनताक म त्रिचन्द्रमा बीए पढ्दै थिएँ ।

सुदूरपूर्वको ग्रामीण भेगबाट आएर काठमाडौं खाल्डो टेक्दा–नटेक्दै लाल चिन्तनसँग मेरो साइनो गाँसिइहाल्यो । त्यही चिन्तनले डोर्‍याएर मलाई जुद्धसडक पुर्‍यायो, जहाँ सानो कोठामा नेपाल–चीन मैत्री संघ थियो । गोविन्द भट्ट त्यहीं भेटिए । भट्ट मैत्री संघका पूर्वकालिक जागिरे थिए कि पटकेकर्मी थिए मलाई थाहा भएन । मैत्री संघमा लाल चीनका सूचना र साहित्यका–सामग्री सित्तैमा पाइन्थे । ती थिए ‘पेकिङ रिभ्यु’, ‘चाइनिज लिटरेचर’, ‘सचित्र चीन’ आदि । खल्ती पोटिलो नभएको विद्यार्थीकालमा ती ‘निःशुल्क’ सामग्रीले मलाई मैत्री संघतिर खिचिरहे । संगत गर्दै जाँदा थाहा भयो, भट्ट र शान्तदासलाई जोड्ने दुई सूत्र रहेछन्– माओ र लु स्युन । र, यी दुई मानव रहेछन् नङ–मासु सरहका वैचारिक मित्र । यिनको त्यही मित्रताले मलाई शान्तदाससँग त्यहीं भेट गरायो । शान्तदास आधुनिक चीनका महान् लेखक लु स्युनका निबन्ध र कथाका अनुवादक भइसकेका रहेछन् । तिनका अनूदित कृतिहरूले डोर्‍याएर मलाई घरीघरी तिनको समीपमा पुर्‍याए ।

ऊबेला नेपालका लाल कम्निस्ट दुई लाइनका थिए । माओ लाइनका र ख्रुश्चेभ लाइनका । चल्तीको लबजमा माओ लाइनकालाई चीनपन्थी भनिथ्यो र ख्रुश्चेभ लाइनकालाई भनिन्थ्यो– रुसपन्थी । भट्ट र शान्तदास थिए– माओ लाइनका ‘चीनपन्थी’ । महेन्द्रीय राष्ट्रवाद घुलमिल भएको गोर्खे लाल चिन्तनका अनुयायीहरू ‘चीनपन्थी’ कहलिनु औधी विरोधाभाषी कुरा थियो । विडम्बनावश, यो विरोधाभाषबारे यी अनुयायीहरूमाझ छिसिक्क चर्चा भएको मलाई फिटिक्कै याद छैन ।

काठमाडौंमा मेरो लाल चिन्तन र साहित्यिक घुलमिलको वृत्त उति ठूलो थिएन । भट्ट र शान्तदास त मेरो प्रारम्भिक मित्र भइहाले । कालक्रममा थपिए टीआर विश्वकर्मा र भवानी घिमिरे, सिद्धिचरण श्रेष्ठ र दुर्गालाल श्रेष्ठ, शारदारमण नेपाल र मोहन दुवाल आदि । रामबाबु सुवेदी त मेरा सहपाठी नै थिए । अभिनारायण सुवेदी थिए जन्मले मेरै भेगका, नाताले दाजु र भावनाले साथी ।

शान्तदासद्वारा अनूदित ‘ओयाङ हाईको गीत’ भर्खरै छापिएको थियो । वामवृत्तमा पठन र चर्चाको शिखरमा थियो त्यो । शान्तदासले मलाई त्यो पढ््न दिए । र, उनले मेरो पठन प्रतिक्रियाको परीक्षा गरे । उनले सोधे, ‘यसमा तपाईंलाई सबभन्दा के मन पर्‍यो ?’ मेरो लटरपटर जबाफ अहिले मैल्यै बिर्सें । शान्तदासको प्रश्न भने मलाई सम्झना छ, ‘भन्नोस् त खगेन्जी, ओयाङ हाईले त्यत्रो ढुंगो कसरी फोर्‍यो ?’ मैले जबाफ दिएँ, ‘ढुंगामा घन बजार्दा ओयाङ हाईलाई च्याङ काई शेकका थाप्लामा घन बजारेजस्तो लाग्यो । उसको क्रोध, जोस र तागत हलक्कै बढ्यो । र, ढुंगो चकनाचुर भयो ।’ बस्, उपन्यास मैले पढेको प्रमाणित भयो । र, शान्तदासका नजरमा मेरो महत्ता र इज्जत दुवै बढ्यो । अनि हाम्रो भेटघाट र बातचित बाक्लियो ।

***

शान्तदासका जगत्लाई बुझ्ने र जीवनलाई फेर्ने माध्यम तीनवटा थिए– राजनीति, शिक्षा र साहित्य । जीवनका भिन्नभिन्न कालखण्डमा उनले यी तीनमध्ये कहिले एउटालाई, कहिले अर्कोलाई प्राथमिकता दिए । शान्ददासलाई आफ्नो आस्थाप्रति दृढ विश्वास थियो । कसले के भन्छ उनलाई वास्ता थिएन, आफ्नो अन्तस्करणले के भन्छ उनलाई केवल त्यसमा वास्ता थियो । शान्तदास निकै वर्ष आफ्नो गृहटोल झोंछेको बालसेवा विद्याश्रमको प्रधानाध्यापक भए । आफू छन् विद्यालयका प्रमुख र अभिभावकको भूमिकामा, कार्यालयको भित्तोमा उनले झुन्ड्याए– मार्क्स, लेनिन र माओका तस्बिर । उनका नाकैअगाडि र उनका कन्नापछाडि उनका कुरा खुबै काटिए । समुदायको साझा विद्यालयलाई आफ्नो दलको गोटीतुल्य बनाउने ? विद्यालयको स्वच्छ पहिचानलाई प्रदूषित गर्ने ? यी यावत् कुरा कटाइ शान्तदासले एक कानले सुने, अर्को कानले उडाइदिए । उनलाई विद्यालयभित्र फाटो पारेको बात लाग्यो । त्यो बात पनि उनले एक कानले सुने, अर्को कानले उडाइदिए । उनको नाम र प्रतिष्ठाको शक्तिले धन्न बर्खास्त हुनबाट उनलाई जोगायो ।

***

एम.ए. पढ्दापढ्दै बुर्जुवा शिक्षा बहिष्कार गरेर लागें म लमजुङतिर । आवरणमा म हाईस्कुलको हेडमास्टर भएँ, भित्री मनसुवा थियो गाउँमा लाल क्रान्तिको सन्देश फिँजाउनु । यो अभियानका मेरा प्रत्यक्ष कमान्डर शशि शेरचन थिए । र, यो अभियानका मेरा परोक्ष प्रेरकहरू थिए– शान्तदास, गोविन्द भट्ट आदि ।

पाँच/सात महिनाको अन्तरालमा म काठमाडौं आउँथे । आउँदा बस्ने मेरा प्रेमिल बास दुईवटा थिए । एउटा थियो– शशि शेरचनको डेरा, अर्को थियो– शान्तदासको घर । राजनीतिमा शान्तदास अति गोप्यतावादीमा छन् भनिन्थ्यो । र, यो पनि खुसुक्क भनिन्थ्यो– अति गोप्यतावादीका नेता देब्रे ढल्कुवा लेखक श्यामप्रसाद हुन् । प्रत्येक भेटमा शान्तदास मलाई आफ्नो गुटका राजनीतिक लिखतहरू पढेर सुनाउँथे । हस्तलिखित ती एक–दुई पन्ने लिखतका शीर्षक थिए— ‘चौथो महाधिवेशनबारे’, ‘झापालीबारे’ आदि । ती लिखत जटिल विषयका अति संक्षिप्त र सरलीकृत प्रस्तुति थिए । पछि फर्केर गम खाँदा लाग्छ, कम्निस्ट गुटहरू कट्टर धार्मिक सम्प्रदायजस्ता थिए । आफ्ना नजरमा ती आफू सर्वाङ्ग चोखा थिए, तिनका नजरमा अरूहरू थिए सर्वाङ्ग खोटा । अतिगोप्यवादी यसको अपवाद थिएन । ती टुक्रे लिखतहरूमा मेरा लागि गहन कुरा केही थिएनन् । तिनमा अरू गुटका लाइनको नाटीकुटी थियो,

आफ्ना गुटको लाइनको कुनै मूर्त चित्र थिएन । सायद गुटको नाम अतिगोप्यतावादी भएझैं त्यसका लिखतका हरफहरूमाझ त्यसको सिद्धान्त र कार्यक्रम अतिगोप्य रहेको हुँदो हो, म अकिञ्चन त्यो कसरी जानूँ ? शान्तदासका मुखबाट घरीघरी ती अपूर्ण र अमूर्त लिखत सुन्दा मलाई म कुमलकोटीले गाँजिएको किरो पो हुँदै छु कि भन्ने लाग्थ्यो । र, मलाई एकदम झिझ्याट लागेर आउँथ्यो । हाम्रो वार्ताको अर्को विषय साहित्य थियो । त्यो भने मेरा लागि हुनुसम्म रोचक थियो । शान्तदास आफूले अनुवाद गरेका लु स्युनका कथा र निबन्ध स्वाद मानीमानीकन मलाई सुनाउँथे । उनले मलाई लु स्युनका ‘बौलाहाको डायरी’, ‘आह क्युको साँचो कथा’ आदि अर्थ्याए । अर्थ्याएपछि उनी मलाई सोध्थे— ठीक छ ? त्यो ‘ठीक छ’ मा उनको जोड यति कडा हुन्थ्यो कि त्यसको जबाफ ‘ठीक छ’ मात्र हुन सक्थ्यो ।

***

शान्तदासका जीवनको अर्को अभियान सुरु भयो । त्यो थियो बाल साहित्य अभियान । प्रचलित दृष्टिमा प्रौढ साहित्यको दाँजोमा बाल साहित्यको न त खासै महत्त्व थियो न त थियो इज्जत नै । बाल साहित्यका स्रष्टालाई ‘बाल साहित्यकार’ भनी हेय दृष्टिले हेरिन्थ्यो । यो हेय दृष्टिविरुद्ध शान्तदासको अभियान ‘बालपोष’ बाट सुरु भयो । जनकप्रसाद हुमागाईं त्यसका सहकर्मी थिए । वैचारिक, आर्थिक, शैलीगत वा स्वभावगत के कुरा मिलेन कुन्नि, जनकसँगको शान्तदासको सहकार्य भत्कियो । त्यसपछि शान्तदासले ‘बालकोसेली’ निकाले । यो थियो उनको एकल अभियानको माध्यम । शान्तदासको बाँकी जीवनको समय, ध्यान, लगन, ऊर्जा आदि सबैको लगानी यही ‘बालकोसेली’ मा भयो । शान्तदासले जनमानसमा ‘बालकोसेली’ लाई चिनाए, ‘बालकोसेली’ ले जनमानसमा शान्तदासको चिनारीलाई फैलायो ।

एकल अभियन्ता शान्तदास एकमा अनेक थिए । शान्तदासले आफैं बालकथा लेखक थिए, आफैं अनुवादक । आफैं टाइपकर्मी थिए, आफैं डिजाइनकर्मी । आफैं प्रकाशक थिए, आफैं प्रशिक्षक । आफैं प्रेस मालिक थिए, आफैं चित्रकार । आफैं हल्कारा टाइफको वितरक र वित्रेता थिए र आफैं थिए घरदैलो वा विद्यालय डुलुवा कथावाचक । एकल अभियन्ता शान्तदास आफैंमा बालसाहित्यको एउटा पाठशाला थिए । लेखकहरूलाई गृहकार्य दिने कडा गुरु थिए उनी । बालकथा लेख्ने मेरो कुनै सोच थिएन । मलाई न बालमनोविज्ञानको ज्ञान थियो, न त मलाई बालबालिकाको उमेरगत रुचि, क्षमता र शब्दभण्डारकै ज्ञान थियो । घरीघरी मकहाँ आएर शान्तदासले मलाई इख्याए र हौस्याए । उनले भने— आजका बालबालिका भोलिको नेपाल हुन् । आजका बालबालिका शारीरिक र मानसिक, वैचारिक र सांस्कृतिक दृष्टिले स्वस्थ र सुन्दर भए भोलिको नेपाल स्वस्थ र सुन्दर हुन्छ । स्वस्थ र सुन्दर नेपाल बनाउने सत्कर्ममा साथ दिन बालकथा नलेख्ने ? उनले मलाई लोभ्याए— बालसाहित्य लेख्ने लेखक–कविहरूको आयु बढ्छ । ती लेखक–कवि आजका कलिला बालबालिकाहरूको स्मृतिमा धेरै पछिसम्म जिउँछन् । नलेख्ने त खगेन्जी ?

शान्तदासको आग्रह सुन्दासुन्दा म थाकें, उनी थाके पो ! शान्तदासको अविराम आग्रहको मान राख्न मैले जानीनजानी बालकथा लेख्न थालें । शान्तदासको यस्तो गृहकार्य अरू थुप्रैलाई पनि आइलाग्यो । युद्धप्रसाद र श्यामप्रसादलाई त्यो आइलाग्यो । दुर्गालाल श्रेष्ठ र दिनेशराज पन्तलाई त्यो आइलाग्यो । शारदारमण र रामबाबुलाई त्यो आइलाग्यो । किशोर क्रान्ति पाण्डेलाई सम्म पनि त्यो आइलाग्यो । शान्तदासले गृहकार्यको शीर्षकै दिएर पनि लेखाए । यसको उदाहरण हो— ‘राम्रो–नराम्रो’ । यो गृहकार्यले पाका लेखकदेखि सिकारु बालबालिकासम्मलाई सिर्जन–कर्ममा लाग्न हौस्यायो ।

शान्तदास छनोटकारी र सृजनशील अनुवादक थिए । त्यसैले त उनले जोनाथन स्विफ्ट र हान्स क्रिश्चियन आन्डरसनजस्ता लेखक रोजे । उनले स्विफ्टको ‘गलिभरको यात्रा’ र आन्डसनका परिकथा टाइपका जादुगरी कथा अनुवाद गरे । अक्षरशः अनुवादमा शान्तदासको रुचि थिएन । उनले स्थानीय खाँचो हेरी अनुवादमा मौलिक रचनाको पुनःसिर्जन गरे । असल बालसाहित्यमा आनन्दसँगै ज्ञान दिने तत्त्व हुनुपर्छ । यो मान्यतामा शान्तदास दृढ थिए । बालसाहित्यमा पाण्डित्य र उपदेशलाई शान्तदास देखिसहँदैनथे । बालबालिकाको लोकतन्त्र उनको ध्याउन्नको माउ विषय थियो । त्यसैले त उनले बालबालिकालाई ‘तँ’ को अपमानजनक दर्जाबाट ‘तपाईं’ को सम्मानजनक दर्जामा उकास्न हर्दम् यत्न गरे ।

बालसाहित्य लेख्ने, कतै छाप्ने र ढुक्कसँग सुत्ने शान्तदासको बानी थिएन । उनी बालबालिकालाई रचना बुझ्न सघाउँथे, रचना रच्न हौस्याउँथे । बिछट्टको आंगिक हाउभाउ र माधुर्ययुक्त स्वरको उनको वाचनमा जादूगरी आकर्षण थियो । कथा सुनाउन धाएर घरैमा आउने ह्याटवाल हुलाकीको नाउँले उनी मेरा छोराछोरीका लागि अति प्रिय थिए । सायद आफ्ना आमाबाभन्दा पनि प्रिय !

शान्तदास दोहोर्‍याई–तेहर्‍याई भन्थे– असल बालसाहित्य लेखक बालबालिकाका आमाजस्तै हुनुपर्छ– करुणामयी, धैर्यशील, एकाग्र, अथक, त्यागी र क्षमाशील । नभन्दै उनी थिए पनि त्यस्तै ।

शान्तदास आजका बालबालिकाको भविष्यको चिन्ता गर्थे । यो चिन्तालाई व्यावहारिक रूप दिन उनले स्वस्थ र सुखकर बाल–खुराकीको निर्माणमा आफ्नो सारा ध्यान, यत्न र साधना अर्पित गरे । त्यो खुराकी थियो, बालबालिकालाई सचेत र स्वाभिमानी, संघर्षशील र लोकतान्त्रिक, करुणामयी र सहयोगी बनाउने सुन्दर साहित्य । आत्मप्रचार र प्रशंसा, पुरस्कार र पगरी एवम् हाई–हाई र स्याबासीप्रति शान्तदासमा कुनै लालसा थिएन । उनका लागि जीवनको आनन्द, पुरस्कार र प्रशंसाको मुहान आफ्नो अभीष्ट अनुरूपको सिर्जना, सिर्जना र केवल सिर्जना थियो, र थियो त्यसको उचित उपयोग ।

नयाँ संविधानमा नेपाललाई समाजवादउन्मुख भनिएको छ । समाजवाद नेपाली समाजको भोलिको सुन्दर सपना हो । सत्तामा ‘हामी समाजवादी हौं’ भनी कहिल्यै नथाक्ने जीबातहरू छन् । आश्चर्य ! बाल मस्तिष्कमा समाजवादका सपना भर्न नित्य यत्नशील शान्तदासलाई यिनले कत्ति चिन्दा रहेनछन् । शान्तदासको अन्त्येष्टिमा देखाएनन् त मुख यी कसैले पनि ! जीवनको सतह–सतहमा कुद्ने सञ्चार क्षेत्र पनि शान्तदासलाई खासै चिन्दोरहेनछ । खै, सम्मान र महत्तासाथ दिएनन् त प्रायःजसोले शान्तदासको अन्तिम विश्रामको समाचार र उनका सत्कर्महरूको मिहिन वृत्तान्त । यी नानाओली औतारीहरूले शान्तदासको चिन्तन र कर्मको जतिसुकै उपेक्षा गरून्, कष्टसाध्य यत्नद्वारा बालमस्तिष्कमा उनले बीजारोपण गरेका समाजवादका सपना कदापि मर्ने छैनन् ।

प्रकाशित : मंसिर ९, २०८० १०:१९https://ekantipur.com/koseli/2023/11/25/neglected-shantadas-08-12.html

हाय राजमती !

मंसिर १६, २०८०सुरेश किरण


नेपालभाषामा लोकप्रिय गीत (पहिलो राष्ट्र–गान ?) ‘राजमती’ को लिखित प्रति भेटिएको छैन । तर, राजमती आफैं तत्कालीन नेपाली समाजको सौन्दर्यचेत, प्रेमको अभिव्यक्ति र सामाजिक विडम्बनापूर्ण जीवनको जीवित दस्ताबेज हुन् । जब गीत नै एउटा इतिहास बन्छ भने त्यसको प्रमाण किन चाहियो ?

काठमाडौँ — राजमती कुमति
जिके वःसा पिरति
हाय बाबा राजमतीचा
राजमती मबिल धाःसा काशी वने त्यल बुबा
हयाब्यु राजमतीचा ।
(राजमती कुमति/मसँग आए पिरति/हाय बाबा राजमतीचा/राजमती नदिए म त काशी जान लागेँ बुबा/ल्याइदेऊ न राजमतीचा ।)


संगीत यदि कालजयी हुन्छ भन्ने मान्ने हो भने त्यो मान्यता ‘राजमती’ गीतलाई जति अरूका लागि सायद उपयुक्त हुँदैन । नेपालमा, नेपालमा मात्रै होइन विश्वमै के त्यस्तो कुनै गीत होला, जो गएको दुई सय वर्षदेखि आजको मितिसम्मै उत्तिकै जोस, जाँगर र रसका साथ लगातार गाइने गरिन्छ ?

‘राजमती’ नेपालभाषामा लेखिएको गीत हो, तर नेपालका अन्य समुदायबीच पनि यो उत्तिकै लोकप्रिय छ । लोकप्रिय नभए परिचित त अवश्यै छ । नेपालभाषामा अत्यन्तै लोकप्रिय यो गीत कहिले लेखियो ? थाहा छैन । कसले लेख्यो ? त्यो त झनै थाहा छैन । यसको लिखित प्रति आजसम्मै भेटिएको छैन । लोकमा जसले पनि गाउन मिल्ने एक सजिलो लोकगीतका रूपमा यो अस्तित्वमा छ । यो कुनै अभिलेख वा पुस्तकमा होइन, मानिसको जिब्रोमा दस्ताबेजीकृत गीति–रचना हो ।

सबैभन्दा अनौठो विषय त के भने एकताका ‘राजमती’ नेपालको राष्ट्रिय गानसमेत बनेको थियो भन्ने कथन पाइन्छ । वि.सं. १९०६ मा जब प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणमा गए, उनको सम्मानार्थ सलामी अर्पण गर्न त्यहाँ यही ‘राजमती’ गीतको धुनलाई राष्ट्र–गान भनी प्रस्तुत गरिएको थियो । बेलायत जाँदा जंगबहादुरले आफूलाई एक स्वतन्त्र राष्ट्रको सरकार प्रमुखका हैसियतमा सम्मान दिइनुपर्ने माग राखेका थिए, उनको मागलाई तत्कालीन ब्रिटिस सरकारले स्वीकार गरेको थियो । त्यसैले भारतको कलकत्तादेखि नै जंगबहादुरलाई स्वतन्त्र मुलुकको सरकार प्रमुखसरह सम्मान प्रदान गरिएको थियो । तसर्थ बेलायत (र, फ्रान्स पनि) पुग्दा उनलाई दुवै देशको राष्ट्र–गान बजाएर सम्मान गरिएको हुनुपर्छ ।

तर, त्यतिबेलासम्म नेपालको राष्ट्र–गान ‘श्रीमान गम्भीर...’ बनिसकेको थिएन । यो राष्ट्र–गान त चक्रपाणि चालिसे (वि.सं. १९४०–२०१५) ले धेरैपछि मात्रै रचना गरेका थिए । त्यस्तो अवस्थामा बेलायतले नेपालको राष्ट्र–गान माग्दा नेपालबाट त्यतिबेला अत्यन्तै लोकप्रिय रहेको ‘राजमती कुमति..’ कै धुन पठाइएको हुन सक्छ भन्छन् लेखक भिक्टर प्रधान (‘राजमती लोकगीतबाट ध्वनित इतिहास र साहित्य’, कार्यपत्र) । त्यसैले अहिले केही नेपाली सामान्यज्ञान पुस्तकहरूमा नेपालको पहिलो राष्ट्र–गान भनेर राजमती गीत नै उल्लेख गरिएको छ । यदि जंगबहादुरको बेलायत यात्रामा यही गीतलाई राष्ट्र–गानका रूपमा बजाइएको हो भने ‘राजमती’ को आयु लगभग दुई सय वर्ष पुगिसकेको अनुमान सहजै लगाउन सकिन्छ ।


काठमाडौं उपत्यकामा त्यस्ता धेरै लोकगीत प्रचलित छन्, जसको न लेखकको पता छ, न गायकको । जस्तो कि ‘सिलुम्ये’, ‘शितला माजु म्ये’, ‘जि वया ला लछि मदुनि म्ये’ (जसको आधारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ रचना गरेका थिए) आदि आदि । यस्ता गीतहरू केवल गीत होइनन् ‘गीतिकथा (बाखंम्ये)’ कै रूपमा प्रचलित छन् । ती गीति–कथामा तत्कालीन समाजमा घटित कुनै घटनाको कारुणिक वर्णन गरिएको हुन्छ । प्राचीन नेपालभाषा काव्यका अन्वेषक डा. जनकलाल वैद्यका अनुसार, आफूले भोगेको कुनै घटना वा कालखण्डको वर्णन गरी गीति–कथा लेख्ने र त्यसलाई गाउँदै हिँड्ने नेवाः जातिको सिर्जनात्मक कर्म नै हो ।

‘राजमती’ पनि मूलतः त्यस्तै एउटा गीतिकथा हो । यसमा जम्मा आठ श्लोक छन् । त्यो आठ श्लोकमा एउटा कथा उनिएको छ, राजमतीको कथा । कथा लेख्ने अज्ञात कविले राजमतीप्रति आफ्नो अथाह प्रेम दर्शाउँदै उनीसँग विवाह गर्ने र विवाह गर्न नपाए काशी जाने ‘घुर्की’ लगाएका छन् । गीतले कहेअनुसार, काठमाडौंको इतुम्बहालभित्र अवस्थित ताःननी भन्ने ठाउँमा राजमती बस्ने गर्छिन् । उनी अत्यन्तै सुन्दर एवं रूपवान छिन् । उनको आँखा बाला–बाला परेको छ, कपाल घुम्रिएको छ, मुहारमा दुईवटा कोठी पनि छन् । उनको सुन्दरता हेर्दा उनी सक्वमि (साँखुले) की छोरी हुन् कि जस्तो लाग्छ । उनी बिजकली नामक गहना लगाउने गर्छिन् । तर, दुर्भाग्य ! एक चण्डाल लमीका कारण जबर्जस्ती उनको बिहे गराइयो । बिहे पनि यस्तो घरमा भयो, जहाँ एउटा सँझ्यालसम्म छैन । बिहे भए पनि आफ्नो बैंस छँदै लोग्नेको मृत्यु भयो । राजमतीको जन्म धिक्कार भएछ !

गीतको पूर्ण वर्णन सुनिसकेपछि थाहा पाउन सकिन्छ, यो राजमतीको दुःखान्त वर्णित गीतिकथा हो । यसमा तत्कालीन काठमाडौंली समाजमा प्रचलित सामाजिक, सांस्कृतिक रूपरेखाको चित्रण पाइन्छ । गीतमा केही विशिष्ट स्थानको नाम दिइएको छ । घरमा सँझ्याल हुनु र नहुनुको भेद खुट्याइएको छ । केही विशिष्ट गहनाको वर्णन गरिएको छ । अतः गीतले कथा मात्रै होइन, इतिहास पनि बोलिरहेको छ ।

तत्कालीन समाजमा २ सय वर्षअघि नै यो गीत लोकप्रिय भइसकेको भए पनि यसलाई पहिलो पटक रेकर्ड गरी सुरक्षित गर्ने काम भने आदिगायक उस्ताद सेतुराम श्रेष्ठले गरेका थिए । वि.सं. १९४८ मा असन भोटाहिटीमा जन्मिएका सेतुराम श्रेष्ठ तत्कालीन काठमाडौंली समाजका नामुद गायक, संगीतकार एवं कुशल वाद्यवादक थिए । उनले उबेलै भारतको कलकत्ता गई नेपाली र नेपालभाषाका १४ वटा गीतहरू आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराएका थिए । नेपालका कुनै पनि गीतहरू ग्रामोफोन डिस्कमा रेकर्ड भएको पहिलो घटना यही हो । उनले रेकर्ड गरेका १४ गीतमध्ये एउटा राजमतीको गीत पनि थियो । त्यसैले राजमतीलाई आजभन्दा सय वर्षअघि नै ग्रामोफोन डिस्कमा रेकर्ड भई इतिहास रच्न सफल गीतका रूपमा पनि लिन सकिन्छ ।

पछिल्लो समय भने यसलाई प्रेमध्वज प्रधानको सुमधुर स्वरमा पुनः रेकर्ड गरिएको छ । सेतुराम र प्रेमध्वजले गाएको गीतको लय उही भए पनि यसको सुर र तालमा भने थोरै फरक देखिन्छ । गीतमा प्रयुक्त भाषा र शब्द दुई सय वर्षअघिको जस्तो देखिँदैन, नयाँ शब्दहरू मिसाइएका छन् । सय वर्षअघिको नेपालभाषा–काव्य संकलन गरेका अन्वेषक भूषणप्रसाद श्रेष्ठका अनुसार, राजमती जुन–जुन कालखण्डका गायकहरूले गाए, त्यही त्यही कालखण्डमा प्रचलित भाषा र शब्दहरू यसमा थपिएको वा फेरिएको छ । लेखनमा होइन, गायनमा बाँचेको गीत भएकाले यसमा यो परिवर्तन आउनु स्वाभाविक पनि हो ।

गीतबारे यति भनिसकेपछि अब प्रश्न उठ्छ– गीतमा बखान गरिएकी सुन्दरी रूपवती राजमती साँच्चै अस्तित्वमै थिइन् ? वा उनी कुनै अज्ञात कविको काल्पनिक पात्र मात्रै हुन् ? यो विषयमा अझै बहस चलिरहन्छ । गीतको तेस्रो श्लोकमा भनिएको छ –

ख्यो खोला ध्याक्वय् दं, पसः बजि धू दं

राजमती भुलुसुलु दं

राजमती गन दु इतुंबहालय् छम्ह दु

हया ब्यु राजमतीचा ।

(फूलको बोक्रा थुप्रो छ, पसलको चिउरा धूलो छ/राजमती फुङ्ग उडेकी छ /राजमती कहाँ छ, इतुंबहालमा एउटी छ/ल्याइदेऊ न राजमतीचा)

यो पंक्तिबाट थाहा हुन्छ, राजमती काठमाडौंको इतुम्बहाल भन्ने ठाउँमा बस्ने गर्थिन् । इतुम्बहाल काठमाडौंको अत्यन्त महत्त्वपूर्ण बहालहरूमध्ये एक हो । यहाँ शाक्य र वज्राचार्य दुवै जातका मानिस बस्छन् । प्राचीनकालमै बहालको पूर्ण अंग पुग्ने गरी यो बहाल निर्माण भइसकेको थियो । त्यतिबेला यसलाई ‘यातुंबहाः’ भनिन्थ्यो (भुवनलाल प्रधान, ‘काठमाडौं उपत्यकाका सांस्कृतिक छिर्कामिर्का’) । यो अत्यन्त लामो र फराकिलो बहाल हो । पञ्चायतकालमा तत्कालीन कांग्रेस, कम्युनिस्ट पार्टीहरूले यही बहालमा आमसभाहरू गर्ने गर्थे । हरेक वर्ष होली पूर्णेका दिन यही विहारका गुथियारहरूले टुँडिखेलमा गुरुमापालाई एक मुरी चामलको भात र एउटा सिङ्गै राँगोको मासु पकाएर भोजन गराउने गर्छन् । यो चलन अहिले पनि यथावत् छ ।

काठमाडौंमा अत्यन्तै लोकप्रिय केशचन्द्रको किंवदन्ती यही विहारसँग सम्बन्धित छ । यो विहार वरिपरि ७ वटा इनार थियो भनिन्छ । तर, अहिले एउटा मात्र बाँकी छ । इनारलाई नेपालभाषामा ‘तुं’ भनिन्छ । यही ‘तुं’ शब्दबाट यो विहारको नाम ‘इतुं’ बहाः बन्न गएको हो । विहारमा बाँकी रहेको यो इनारमा पारो (मर्करी) को मात्रा धेरै भएकाले कुनै बेला यसको पानी सेतै थियो भनिन्छ । पारोको मात्रा धेरै भएकाले अहिले पनि यो इनारको पानी झिक्न फलामको बाल्टिन प्रयोग गरिँदैन, माटोको भाँडो प्रयोग गरिन्छ । तर, माटोको भाँडो प्रयोग गर्दा फुटिरहने भएकाले अहिले तामाको बाल्टिन प्रयोग गर्न थालिएको छ । पाटनमा रातो मत्स्येन्द्रनाथको महास्नान गर्न यहींकै पानी लैजाने चलन छ । शरीरमा जनै खटिरा आउँदा जहाँ खटिरा आएको हो त्यहाँ सिंह लेखाएर उपचार गर्ने चलन अहिले पनि छ । तर, शरीरमा सिंह लेखाउनुअघि यो इनारमा पूजा गर्नैपर्छ । अनि मात्रै निको हुन्छ भन्ने विश्वास छ ।

यो बहालभित्र साना–ठूला पाँचवटा ननीहरू (लामो आकारको फराकिलो चोक) पनि छन् । ती ननीमध्ये सबैभन्दा ठूलो ननीको नाम हो– ‘ताहाननी’ । राजमती यही ताहाननीकी बासिन्दा हुन् । ‘राजमती’ गीतको दोस्रो श्लोकमा ताहाननीको नाम उल्लेख छ ।

ताहाननीभित्र पनि अरू विभिन्न साना–साना चोक छन् । त्यसैमध्ये एउटा चोकको सामुन्ने राजमतीको घर छ । अहिले पनि स्थानीयवासी र इतिहासकारहरू यो घरलाई राजमतीकै घर भन्छन् । यो कुनै विशिष्ट खालको घर भने होइन । सामान्य स्वरूपकै घर हो । केही वर्षअघि ताहाननीमा ठूलो आगलागी हुँदा यो घर पनि क्षति भएको थियो । अहिले त्यहाँ नयाँ घर बनाइएको छ । यो घरमा हाल एक महर्जन परिवार बसोबास गर्छन् । यो अहिले किसान नेता स्व. सानुभाइ महर्जनको घर हो । उनका पुर्खाले राजमतीका सन्तानसँग यो घर किनेका थिए भन्ने कथन छ ।

इतिहासकारका अनुसार यो घर बेचेर राजमतीका सन्तानहरू केही समय इतुम्बहालमै अर्को कुनै घरमा बसेका थिए । पछि इतुम्बहालकै बाहिरपट्टि रहेको यट्खा टोलमा अर्को घर किनेर बस्न थाले । इतिहासकार र स्थानीयलाई पछ्याउँदै जाँदा यट्खा टोलमा राजमतीका सन्तानहरू अहिले पनि भेटिए । राजमती पछिको पाँचौं पुस्ताका सन्तान पुण्यरत्न शाक्यसँग राजमतीबारे कुरा गर्ने अवसर पनि प्राप्त भयो ।

५८ वर्षे शाक्य यट्खा टोलमै बस्छन् । काठमाडौंदेखि सिधा वसन्तपुर जाँदा बीचको बाटोमा यट्खा टोल आउँछ । टोलको आफ्नै घरमा शाक्यको सानो स्टेसनरी पसल छ । उनले बताए अनुसार, उनी राजमतीका पाँचौं पुस्ताका सन्तान हुन् । उनका बुबा जोगरत्न शाक्य हुन् । जोगरत्नका बुबा लतमान शाक्य र लतमानका बुबा विष्णुमान (हर्क) शाक्य । यिनै विष्णुमानकी फुपू हुन्– राजमती । शाक्यलाई अरू पुस्ताको त जानकारी छैन, उनका आफ्नै बुबा जोगरत्न शाक्य भने अहिले जीवित रहेका भए १०८ वर्ष पुगेका हुन्थे । जोगरत्नका बुबा लतमान शाक्यसम्म पनि ताहाननीकै घरमा बसेका थिए । तर, अल्पायुमै लतमानको मृत्यु भयो । लतमानको मृत्युपछि उक्त घर उनकी श्रीमती जोगलानी शाक्यको नाममा आयो । पछि जोगलानी शाक्यले नै उक्त घर किसान नेता सानुभाइ महर्जनको पुस्तालाई बेचेकी थिइन् ।

जोगलानीका नाति पुण्यरत्न शाक्यलाई राजमती र आफ्नो सम्बन्धबारे यति मात्रै थाहा छ । तर, राजमती कस्ती थिइन् ? के गर्थिन् ? उनको जीवनकथा कस्तो थियो ? निधन कसरी भयो ? यी विषयमा भने केही थाहा छैन । उनको कुनै पनि अवशेष आफूसँग नभएको उनी बताउँछन् । शाक्य भन्छन्, ‘यसबारे हामीलाई केही बताइएको छैन । मैले मेरा बुबाबाट हामी राजमतीका सन्तान हौं भन्ने मात्रै सुनेको थिएँ । त्यति हो ।’

यति चर्चित र ऐतिहासिक पात्रको सन्तान भन्न पाउनु आफ्ना लागि भने गर्वको विषय भएको उनी बताउँछन् । केही इच्छुकहरू अहिले पनि आफूसँग राजमतीबारे सोध्न आउँछन्, तर आफूले केही बताउन नसकेकोमा उनी दुःख पोख्छन् । उनलाई सम्झना भए अनुसार, केही दशकअघि ‘राजमती’ फिल्म बनाउँदा निर्माता समूहका केही सदस्य यसबारे उनीसँग सोध्न आएका थिए ।

इतुम्बहालकै लिपि विशेषज्ञ प्रतापमान शाक्यका अनुसार, विभिन्न हाँगाबिँगामा छरिएका राजमतीका सन्तानहरू विभिन्न समयमा जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरव पनि भएका छन् । काठमाडौंमा इन्द्रजात्राका बेला यी जीवित देवीदेवताहरूको रथयात्रा गरिन्छ । जोगरत्न शाक्यका भतिजा हुन्– सिद्धिमुनि शाक्य । सिद्धिमुनि नेपालका प्रख्यात पौभाः कलाकार हुन् । उनकी नातिनी प्रिती शाक्य वि.सं. २०५८ देखि २०६५ सम्म जीवित देवी श्री कुमारीका रूपमा कुमारी घरमा विराजमान भएकी थिइन् । प्रितीपछि प्रतापमानकै छोरी मतिना शाक्य कुमारी बनेकी थिइन् ।

इतुम्बहालभित्र राजमतीबारे कुनै अभिलेख, दस्ताबेज, पुस्तक भेटिएको छैन । उनी कुनै ठूला राजा, महाराजाकी चेली वा रानी होइनन् । तर, उनको माइती भने खानदानी नै थिए भन्ने तथ्य उनले लगाउने ‘बिजकली’ नामक गहनाले बताउँछ । यो गहना अहिले लोप भइसकेको छ । तर, त्यतिबेला धनीमानीका सन्तानले लगाउने ‘तायो’ र ‘पायो’ नामक गहनाभन्दा यो उच्चस्तरको गहना हो भन्ने कुरा गीतले बताउँछ – ‘तःधीथकुंया तायो दु, चीधीथकुंया पायो दु, राजमतीया बिजकली दु ।’ यसको अर्थ हुन्छ– ठूलीसँग तायो छ, सानीसँग पायो छ, राजमतीसँग बिजकली छ ।

गीतको दोस्रो श्लोकमा राजमतीको सुन्दरताको वर्णन गर्दै भनिएको छ– कतै उनी सक्वमि (साँखुले) की छोरी त होइनन् ? इतम्बहालकी छोरीलाई सक्व (साँखु) सँग जोडेकाले यी दुईबीच के सम्बन्ध छ भन्ने प्रश्न पनि उठेको छ । कोही भन्छन्, राजमतीका बुबा इतुम्बहालवासी भए पनि आमा चाहिँ साँखुकी थिइन् । त्यसैले उनी साँखुलेकी छोरी भइन् । तर, इतिहास अध्येताहरू भन्छन्– इतुम्बहालका शाक्य वज्राचार्यहरू सबै साँखुबाटै काठमाडौं आएका हुन् । काठमाडौंमा अहिले जति पनि बहाःबहीहरू छन्, ती सबैको उद्गमस्थल साँखुको गुँ विहारलाई मान्ने गरिन्छ । यसरी गीतले राजमतीको सुन्दरता मात्रै होइन, काठमाडौंका शाक्य–वज्राचार्य समुदायको इतिहासलाई पनि उत्खनन खोजेको छ ।

तर, यति विलक्षण सुन्दरी र सम्पन्न परिवारकी चेली भएर पनि उनको बिहे भने ‘सँझ्याः नभएको घरमा’ हुन पुग्यो । त्यतिबेला काठमाडौंमा सँझ्याः सम्पन्न र पहुँचवाला घरले मात्रै राख्न पाउँथे । आफ्नो घरको झ्यालमा सिसा राख्ने अधिकारसमेत जनताले जुद्धशमशेरको पालामा पात्रै पाएका थिए । सँझ्याल नभएको घरमा बिहे हुनुको अर्थ उनीभन्दा तल्लोस्तरका मान्छेसँग उनको बिहे भयो भन्ने हो, त्यो पनि उनले नचाहँदा नचाहँदै । उनलाई मनपराउने केटाहरूको ताँती नै त्योबेला लाग्दो हो । कसै कसैले त उनी स्वयम् जंगबहादुरकै प्रेमिका हुन् पनि भनेका छन् । किनभने जंगबहादुर आफैँ एक स्त्रीलम्पट शासक थिए । तर, लेखक भिक्टर प्रधानले राजमती जंगबहादुरकी प्रेमिका हुन सक्ने सम्भावनालाई नकारेका छन् । किनभने ४० वटी श्रीमती भएका जंगबहादुरले चाहेको भए राजमतीलाई घरबाट उठाएरै पनि दरवार पुर्‍याउन सक्थे । राजमतीको नाममा ‘भजन’ गाइरहनुपर्ने आवश्यकता जंगबहादुरलाई थिएन ।

तथापि राजमतीप्रतिको आशक्ति युवाहरूमा कति डरलाग्दो किसिमको थियो ? गीतका लेखकले भनेकै छन्– यदि राजमतीसँग बिहे गर्न नपाए युवाहरू काशी जाने इच्छा राख्थे । तर, त्यसको उल्टो दरबारमा वा ठूलो घरानामा बिहे हुने प्रशस्त सम्भावना हुँदाहुँदै राजमतीको बिहे सँझ्याल नभएको एउटा सामान्य घरमा हुन पुग्यो । अझ त्यसमाथि बिहे भएको केही समयपछि नै लोग्नेको मृत्यु भयो । त्यतिबेलाको समाजमा विधवा भएर बाँच्नु ज्यादै कठिन थियो । राजमतीले ती सबै कठिनाइ सहेकै हुनुपर्छ । अतः बिहेपछि राजमतीको जीवन नर्कतुल्य हुन पुगेको अनुमान सहजै लगाउन सकिन्छ । सायद राजमती जस्ती अति रूपवान स्त्रीको जीवनमा यति विडम्बनापूर्ण उतारचढाव आएकै कारण पनि उनको जीवनीमाथि यो गीतिकथा रचना भएको हुनुपर्छ । किनभने राजमतीको ओजपूर्ण रूप र त्योसँग मेल नखाने उनको हृदयविदारक जीवनी वास्तवमै त्यतिबेलाको परम्परा अनुसार गीतिकथा लेख्न योग्य ‘प्लट’ थियो ।

राजमतीको गीतले सुनाइरहेको यो विषाद्पूर्ण जीवनीलाई आधार बनाएर जनकवि दुर्गालाल श्रेष्ठ र उपन्यासकार रामशेखरले तीन दशकअघि ‘राजमती’ फिल्म बनाएका थिए, जसको निर्देशन गरेको थिए– नीर शाहले । यो नेपालभाषाको दोस्रो सेलुलाइड फिल्म हो । पहिलो फिल्म ‘सिलु’ पनि यस्तै एउटा लोकगीतमा आधारित थियो । फिल्म बनाएपछि त्यसका लागि गीत लेख्नु एउटा कुरा, तर गीत सुनेर त्यसका लागि फिल्म बनाउनु अर्कै कुरो । ‘राजमती’ त्यस्तै गीतका लागि बनाइएको फिल्म थियो ।

वि.सं. २०५२ को फागुनतिर यो फिल्म रिलिज भयो, रिलिज हुनेबित्तिकै हिट पनि भयो । केही राष्ट्रियस्तरको अवार्ड पनि पायो । फिल्ममा दुई नायक र एक नायिका थिइन् । नायिका राजमती बनेकी थिइन् कलाकार– हिसिला महर्जन । अर्का कलाकार थिए– श्रीकृष्ण श्रेष्ठ र मणि राजलवट । फिल्ममा राजमतीले कसैसँग विवाह गर्न पाउँदिनन् । तर, यथार्थमा भने यही फिल्ममा खेल्दाखेल्दै हिसिला र मणिको प्रेमविवाह हुन पुगेको थियो ।

राजमती गीतका आधारमा नेपालभाषामा फिल्म मात्रै बनेन, अरु विभिन्न म्युजिक भिडियोहरू पनि बने, कथा लेखिए, कविता लेखिए, नाटक देखाइए, चित्रहरू कोरिए । राम्री बान्की परेकी छोरी–चेली देख्यो कि ‘ओहो, कस्तो राजमती जस्तै हिसी परेकी’ भन्ने चलन बस्यो समाजमा । कतिले आफ्नी छोरीको नाम राजमती राखे त, कतिले राजमतीलाई आफ्नो उपनाम बनाए ।

इतुम्बहालवासीहरू अहिले आफ्नो बहाललाई त्यहाँको सांस्कृतिक वैभवले मात्रै होइन, राजमतीको नामले पनि चिनाउन चाहन्छन् । त्यसैले राजमतीको घर जाने बाटोतिर अहिले गीतको पहिलो अन्तरा र राजमतीको चित्रसमेत सजाइएको छ भित्तामा लेखेर । राजमतीबारे यति धेरै सिर्जना, चर्चा र बहस भइरहे पनि उनीसम्बन्धी कुनै ठोस दसी भने अहिले हामीसँग उपलब्ध छैन ।

जति छ, यही एउटा गीत छ । मात्र एउटा गीत, जसले गएको दुई सय वर्षदेखि नेपाली समाजमा प्रेम, रूप, सुन्दरता र विडम्बनाको एउटा विराट विम्ब प्रस्तुत गरिरहेको छ । यो दुई सय वर्षमा नेपाली समाजको धेरैपटक कायापलट भएको छ । गीतहरू कति लेखिए, कति गाइए, कति हराइए ! तर, राजमतीको न कहिल्यै कायापलट भयो, न गुमनाम ।

‘राजमती’ गीतको लिखित दस्ताबेज कतै भेटिएको छैन, तर नभेटिएर के भयो ? राजमती आफैँ तत्कालीन नेपाली समाजको सौन्दर्यचेत, प्रेमको अभिव्यक्ति र एक महिलाको सामाजिक विडम्बनापूर्ण जीवनको जीवित दस्ताबेज हुन् । जब एउटा गीत नै दस्ताबेज बन्छ भने गीतको प्रमाण किन चाहियो ?

प्रकाशित : मंसिर १६, २०८० १०:२४https://ekantipur.com/koseli/2023/12/02/hi-rajmati-49-32.html

Wednesday, November 29, 2023

युगयुगको आगो !

 जेठ १०, २०७७ शनिबार ९:३४:०

डा. माधवप्रसाद पोखरेल


सिद्धिचरण श्रेष्ठ मूलतः ‘शारदा’ कालीन कवि हुन्। उनले जुद्धशमसेरका पाला (१९९१ साल) देखि राजा वीरेन्द्रका पाला (२०४९) सम्म कविता लेखे, तर पनि उनका कवितामा व्यक्त भएका क्रान्तिकारी विचार नेपालमा सधैँझैँ अहिले पनि सान्दर्भिक देखिन्छन्। यति बेला भारतले नेपाललाई हेपेर अंग्रेजसँग भएको सुगौली सन्धिलाई लत्याएर लिम्पियाधुरासम्मको नेपालको सिमानाको बेवास्ता गरेर लिपुलेक हुँदै मानसरोवर जाने बाटो बनाएको छ र नेपाली राष्ट्रियता घाइते भएको छ। सिद्धिचरणका कविता यति बेलाकै नेपालका समस्या सम्झँदा पनि काम लाग्ने देखिन्छन्। सक्कली कविताको विशेषतै के हो भने, त्यो कविता भूगोलको जुनसुकै कुनाको भए पनि, इतिहासको जुनसुकै खण्डमा रचिएको भए पनि पाठकलाई त्यो ताजा लाग्नुपर्छ। 

नेपालीहरूले इतिहासमा गरेका क्रान्तिहरू सधैँ खेर गइरहे जस्तो जनतालाई लागिरहेको सिद्धिचरण यसरी लेख्छन् : 

१.    खेर गएको क्रान्ति (‘मङ्गलमान’, २०४९)

क.    माछो माछो भ्यागुतो भो, यत्न भयो व्यर्थ। देश मात्र ठगिँदै गो लाखौँ लाखौँ पल्ट।।
ख.    मन्त्रीमण्डल फेरिँदै गो, फेरिएन देश। मेटिएन दुःख कष्ट, मेटिएन क्लेश।।
ग.    बनाउँछु देश भनी ढोङ खुबै गर्थिस्। मन्त्री भएपछि तँ ता पशु जस्तै बनिस्।। थुक्क पशु ! घाँस खा जा ! छैन तँलाई लाज ? तँ जस्ताले बनाएर बन्दैन समाज।।
घ.    परिवर्तन भयो तर सुख भेटिएन।...जस्तातस्तै देख्छु म त कैले देश बन्छ। ठूलो कुर्सी पाएको त्यो साथी मक्खै थियो।। मङ्गलमानलाई उल्टै उपदेश दियो, ‘हडबड गरी हुन्न क्यै समय

लाग्छ। जादू छडी हुन्न साथी ! धैर्य गर्नुपर्छ।।’
यो देशमा भएका दामी वस्तु लुट्न अनि फुट र सामाजिक दुर्भाव फैलाउन झ्याङ्गिरहेको साम्राज्यवादीहरूको बिगबिगी सिद्धिचरण यसरी ओकल्छन्

२.    

घुम्छन् बाज समान माथि नभमा साम्राज्यवादीहरू...। हाम्रो देशमहाँ सरापसरिका व्याधाहरू यी सब ...। उर्लेको भल झैँ फिरङ्गीहरूले ढाक्तै थिए एसिया। मान्छेको अधिकारको हननका फैलाउँदै दुष्क्रिया (‘भीमसेन थापा, २०६०)।।
देश भित्रका कहिल्यै ननिख्रिने भ्रष्टाचार, अन्याय, शोषण, दुर्दिन र भावी अनिष्ट सिद्धिचरण यसरी सम्झिन्छन् (‘कुहिरो र घाम’ २०४५),

३.  

 क. अन्याय भन्ने, शोषण भन्ने लाम्किरा अजङ्गका। यहाँ छन् बैनी, फुंकार विषले भरेका।। 

ख.    आजको दिन पनि कुनै अजिङ्गर जस्तो भएर। अन्धकारको दुलो भित्र पस्न लागिरहेछ।।
सक्कली देशभक्तहरूको हालत र देशमा मौलाई रहेको फटाहाहरूको उन्नति कवि यसरी देखाउँछन्, 
क.    मकैका साथ घट्टमा पिँधिएका कीरा जस्तै। रात र दिनको चक्कीमा मलाई पिँध्दै।। मेरा दिनहरू हाँसिरहेछन्।
ख.    विषको पोका काखी च्यापी हिँड्न तिमीले जानेमा। तिम्रो हात आइपर्दछ, बल वैभव धाम बढेमा।।
अचेल नेपालीहरू कोही अन्यायमा पर्‍यो र कसैले अर्घेल्याइँ गरिदियो भने पनि हक्की भएर बोल्न छोडे। यसले गर्दा जुन निर्धाहरूका लागि भविष्यका सहिदहरूले दुःख पाउँछन्, तिनै देशभक्तहरूमाथि भएको अन्यायमा पनि सर्वसाधारण चुप लाग्ने प्रवृत्तिले सिद्धिचरण यसरी विरक्त हुन्छन् ः 

४.    लाछीको निन्दा 

क.    अपमान पाएँ मैले मान तिम्रो राख्न। नाङ्गो भई हिँड्नु पर्‍यो आङ तिम्रो ढाक्न।। ...भोक, रोग सही मरेँ, छैन मेरो कोही। तिमी पनि चूप बस्छौ लाज छैन केही (‘मङ्गलमान’)।।
ख.    नेपाली जन चूप छौ तिमिहरू अन्याय यस्तो सही। बोल्दैनौ किन न्यायका दुइ कुरा हा प्राण लुछ्ता पनि (‘मङ्गलमान’)।। 
ग.    जसले आफ्नो घर, खेत, गोठ क्यै जानेन। स्वदेशको काम गर्‍यो, तर क्यै मागेन।। आज उही स्वर्गे हुँदा देशै चुपचाप। यस्तो गर्दा सबैलाई लाग्दैन र पाप (‘मङ्गलमान’)??
घ.    यो कस्तो जडता विदीर्ण दिलको यो प्राणघाती व्यथा। यो देख्ता पनि चुप्पचाप रहने यो मर्मघाती कथा।। साँच्चै घोर अनर्थ पो हुन गयो, के देख्नु यस्तो पर्‍यो। भाँचू लाग्छ मलाई यो कलम नै के लेख्नु यस्तो पर्‍यो (‘भीमसेन थापा’)।। 
सिद्धिचरण आफ्ना कवितामा सामाजिक विषमता अनि दलित, निर्धा र सीमान्तहरूका हकमा यस्तो लेख्छन्,

५.    दलित र सीमान्तको आवाज 

क.    देश हो यो साझा भन्छन्, तर खोइ त साझा ? बलियाकै थिचोमिचो नित्य यहाँ ताजा (‘मङ्गलमान’)।। 
ख.    जातभात तल्लो अनि माथिल्लोको भेद। विषमता पर्खाल यो जताततै छेद।। ...जातिपाती विभेद नै प्रगतिको फूलो (‘मङ्गलमान’)। 
ग.    अछूतको यस्तो कथा अन्त्य गर्नुपर्छ। मान्छे-मान्छे बराबर ज्यून सिक्नुपर्छ (‘मङ्गलमान’)। 
घ.    तल्लो सानो, ठूलो चाहिँ उपल्लो रे सुन। बाहुन, क्षेत्री, वैश्य, शूद्र बनाएको किन (‘मङ्गलमान’)? 
ङ.    खिचेर भिन्नता डोरी, यसको, उसको भनी। टुक्य्राई देश औ जाति हुन्न कल्याण विश्वको। (बालिवध)
च.    पाप भण्डाफोर गर्दै, हुन्छ जे होस् गाउनेछु। ती गलितको, ती दलितको हक गुमेको बोलनेछु (‘आँसु, २०७३)।।
राष्ट्रमा जनताभन्दा माथि कोही पनि हुँदैन, त्यसैले जनताको हक कुण्ठित भयो भने, विरोध, आन्दोलन, सङ्घर्ष र क्रान्ति चाहिन्छ भन्ने सिद्धिचरणको बोली कवितामा यसरी अभिव्यक्त हुन्छ, 

६.    जनताको सर्वोच्चता र विरोधको खाँचो

क.    जनताको हक नासो राजामाथि हुन्छ। जनताले मागेपछि फिर्ता दिनु पर्छ (‘मङ्गलमान’)।। 
ख.    हक आफ्नो खुशीसाथ हुँदैन है प्राप्ति। गर्नुपर्छ जनताले आन्दोलन क्रान्ति।। आन्दोलन क्रान्तिबाटै मिल्छ अधिकार। इतिहास सारा गर्छन् यै कुरा स्वीकार (‘मङ्गलमान’)।। 
ग.    समाजमारा राक्षसहरूसित जुध्नका निमित्त। ...पाखुरामा बल भर्नु छ (‘कुहिरो र घाम’)।।
घ.    स्वदेशी भनी खालि। नमारूँ के म कीरालाई? (?)
ङ.    शोषकहरूको यस्तै चड्का, अत्याचारी लात र धड्का। पाई बाको यो प्रिय छोरो, बाँचिरहोस्, अझ बाँचिरहोस् !! भाग अरूको लुट्नेहरूको नीद उखेल्ने हुरी बनोस् ! छलले बलले     ठूलाहरूको, सपना चिर्ने छुरी बनोस् ( ‘कारागारका सम्झना’१९९७)!!
च.    सायद रगतको मसीले प्राणको अक्षरले। मेरो यो मातृभूमिको वन्दना पूर्ण हुने हो कि (‘कुहिरो र घाम’)?
छ.    बाटो मेरो छेकिरहेको अजङ्गको साँढेलाई। लौरो लिइकन दूर लघारेँ, मैले कविता लेखेँ (‘कुहिरो र घाम’, २०४५)।। 
देशमा भ्रष्टहरू ठूला मान्छे ठहरिएर मान पाएको देख्ता कवि यसरी आक्रोश पोख्छन् ः

७.    नैतिकता

ठूलोबडो हुन चाहिँ अरूलाई ठग्नु। इन्साफको ढोका थुनी भोटे ताल्चा मार्नु (मङ्गलमान)।।
गरिब देशका नेता, हाकिम र ठालुहरूको विलासी जीवन प्रति कवि यसरी असहमति प्रकट गर्छन्,
 

८.    विद्रोह

मनुजकै पूजा लिएर, अप्सरालाई नचाई। देवताको स्वर्ग घुम्ने, हक छ के पृथ्वी रुवाई (२०५०, ‘आँसु’)?
    सहिदहरूका विषयमा कवि यसरी श्रद्धाञ्जलि चढाउँछन्,
 

९.    सहिद

क.    यौटा देह निमित्त दुर्ग्ति सही के वीरले ज्यूँदछ? आफ्नो मान र शान राख्न उसले मृत्यु स्वयं रोज्दछ (भीमसेन थापा)।।
ख.    जो मान्छे जन कार्यमा रत भई यो जिन्दगी मर्दछ। त्यो मान्छे जनतामहाँ अमरता ओढी सधैँ बाँच्तछ (भीमसेन थापा)।।
ग.    रोई रोई बाँच्न पुग्यो अब हाँसी हाँसी मर्न सिकूँ। रुखमा झुन्डिनलाई डोरी ओठ गरमले चुम्न सकूँ (‘मूल बाटो’)।। 
जनताको हक लुट्ने र थिच्नेहरूको विरोध र उछित्तो काढ्न निडर भएर फटाहाहरूविरुद्ध आन्दोलन, सङ्घर्ष र क्रान्तिका लागि देशभक्तहरूले सधैँ भविष्यको सहिद हुन सधैँ तम्तयार हुनुपर्छ भन्ने अद्वितीय विचार नेपाली कवितामा सर्वप्रथम प्रखर रूपमा व्यक्त गर्ने ‘युगकवि’ सिद्धिचरणलाई उनको १०९ औँ जन्मदिन (जेठ ९ गते) मा श्रद्धा सुमन !

https://annapurnapost.com/story/156620/


विशिष्ट विद्वान‍्‍को दृष्टिदोष

 पुष २६, २०७६ शनिबार १५:२९:०

डा. नयनाथ पौडेल

हाम्रो देशको प्राचीन इतिहास, भाषा, संस्कृति एवं सभ्यताको विषयमा अध्ययन अनुसन्धान गर्न प्रमुख आधार तात्कालिक अभिलेखहरू नै हुन्छन्। यिनै अभिलेखहरूको अध्ययनको आधारमा नै हामी हाम्रो देशको इतिहास एवं संस्कृतिसम्बन्धी विविध विषयमा अनुसन्धानात्मक ग्रन्थहरूको सिर्जना गर्न सक्षम हुन्छौं। यस्ता प्राचीन लिपिमा लेखिएका अभिलेखहरूको पाठ पढ्दा प्राचीन लिपिविशेषज्ञहरूले शब्द-शब्दमा, अक्षर-अक्षरमा अझ भनौं भने मात्रा-मात्रामा सूक्ष्म तरिकाले दृष्टि पुर्‍याउनुपर्ने हुन्छ। यस लेखमा यस्तै किसिमको लिच्छवि लिपिमा लेखिएको रेफसहितको वर्णको आकार-मात्राको पाठ-पढाइमा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ।

विषयवस्तुमा प्रवेश गर्नुअघि यस सम्बन्धमा एक प्रसंग जोड्नु उपयुक्त नै हुने देखिन्छ। कुरा के भने राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त विद्वान् मित्रवर डा. महेशराज पन्तले २०७६ भदौ ३० गते एपी वान टेलिभिजनमा अन्तर्वार्ता दिनुभएको रहेछ। त्यहाँ इतिहाससम्बन्धी शास्त्रचर्चा हुँदै गर्दा डा. पन्तले नामोल्लेख गर्नुभएका सीमित व्यक्तिमध्ये मेरो पनि नामोच्चारण भएको सुन्न पाउँदा मलाई रमाइलो लागेको छ। त्यसमा डा. पन्तले मलाई ‘कायर’ शब्दले सम्बोधन गर्नुभएको पनि सुन्न पाइयो। किन यसो भन्नुभएको रहेछ त भन्दा मेरा भाइछोराहरूले डा. पन्तको नाम लिएर पत्रिकाहरूमा सम्पादकलाई चिठी लेखेकोमा डा. पन्त रिसाउनुभएको रहेछ। उनीहरूलाई मैले लेख्न लगाएको भन्ने उहाँलाई परेछ। के उनीहरूले आफ्नो अभिव्यक्ति दिनै नपाउने ? पत्रिकामा सम्पादकलाई चिठी लेख्नै नपाउने ? कुन जमानाको कुरा होला यो ?

मैले एक पटक डा. पन्तको लेखमा देखिएको अशुद्धिलाई संशोधन गर्दै यस्तो लेखेको थिएँ, ‘संशोधनको कुरा आइसकेपछि यस्ता विद्वान्ले ठीक भए ठीक, बेठीक भए बेठीक त भनिदिनुपर्ने हो। अहिले त अचम्म ! “शत्रोरपि गुणा वाच्या दोषा वाच्या गुरोरपि” भन्ने यो सिद्धान्त पनि अरूहरूको संशोधन आफूले गर्दा लागू हुने, आफ्नो संशोधन अरूले गरेमा चाहिँ लागू नहुने हो कि भन्ने शंका पैदा भएको छ। डा.पन्त जस्ता विशिष्ट विद्वान्लाई यो कुरा सुहाउला र ? (रचना १५५, पृ. ७०)।’

यो लेखाइले डा. पन्तलाई छोएछ कि ? उहाँले मेरा लेखहरूको कुनै जवाफचाहिँ दिनुभएको छैन। अहिलेको अन्तर्वार्तामा यसैको प्रतिक्रिया देखिएको पो हो कि ?

अब लागौं विषयवस्तुतर्फ- पाटन मंगलबजारबाट पूर्वपट्टिको सडकमा केही अगाडि बढेपछि ह :खागल्ली आउँछ। यस गल्लीबाट दायाँपट्टि लागेपछि चक्रबहाल नपुग्दै गणेशस्थान पुगिन्छ। त्यही गणेशमन्दिरमा भगवान् गणेशको मूर्तिको तलतिर लिच्छविकालको एउटा शिलालेख रहेको छ।

सर्वप्रथम यस शिलालेखलाई श्री श्यामसुन्दर राजवंशीले रोलम्ब पत्रिकाको वर्ष १८ अंक १ (२०५४ वि.संं) मा छपाउनुभएको थियो। त्यसको १७ वर्षपछि यस अभिलेखलाई परिमार्जित पाठ, अनुवाद एवं विस्तृत व्याख्यासहित डा. श्री महेशराज पन्तले पूर्णिमा पूर्णांक १४१ (वि.सं.२०७१ चैत्र) मा छपाउनुभएको छ।

‘पूर्णिमा’ पत्रिका पारिवारिक भयो भन्नेहरूलाई जवाफ दिन हो कि किन हो, धेरै अंकदेखि पूर्णिमा पत्रिकामा डा. महेशराज पन्त एक जनाको मात्र लेखहरू छापिँदै आइरहेकोमा यस लेखमा चाहिँ प्रकाश खड्का, भरत गिरी र रोशनी श्रेष्ठहरूका नाम पनि सहायकका रूपमा देखिएका छन्। पूर्णिमा पत्रिकामा लेख छाप्नका लागि बाहिरिया विद्वान्हरूको लेख नछाप्ने, केवल संशोधन मण्डलका सदस्यहरूको मात्र लेख छाप्ने परम्परा रहिआएकोमा निजहरूको समेत यस लेखमा नाम छापिएको देख्दा अब प्रकाश खड्का, भरत गिरी र रोशनी श्रेष्ठहरू पनि संशोधन मण्डलको सदस्य भइसकेका देखिन्छन्।

विद्वान् लेखकले परि श्रमपूर्वक पूर्वसूरिको पाठलाई समेत परिमार्जन गरी यस शिलालेखको अनुवादसहित प्रकाशन गराउनुभएको भए पनि कतिपय विषयमा संशोधन मण्डलको पत्रिकाको पनि संशोधन गर्नुपर्ने अवस्था आइपरेको हुँदा यस पंक्तिकारद्वारा ‘एउटा लेख’ सन्दर्भ श्री पत्रिकाको वर्ष १६ अंक १ (२०७२ वि.सं.) मा प्रकाशित गरिएको थियो।

हाल उक्त अभिलेखको पाठलाई सूक्ष्मेक्षिकाले हेर्दा पुन : त्रुटि फेला परेको र संशोधन मण्डल जस्तो संस्थाबाट प्रकाशित पत्रिकामा अशुद्धि रहिरहनु उपयुक्त हुने नदेखिएकाले यस विषयसम्बन्धी विद्वान्हरूको जानकारीका लागि यो लेख लेख्ने धृष्टता गरिएको छ।

लिच्छविकालका अभिलेखहरूमा उत्कीर्ण अक्षरहरूमा ‘जलतुम्बिकान्यायेन रेफस्योद्ध्र्वगमनं भवति’ अर्थात् पानीमा तुम्बालाई फालिदिएपछि जसरी पानीको सतहमाथि त्यो तुम्बा टक्रक्क तैरिएर बस्छ, त्यसै गरी रेफ पनि वर्णहरूको शिरोरेखाभन्दा माथि टुक्रुक्क बस्छ भन्ने मान्यता रहेको पाइन्छ। यही परम्परालाई अनुसरण गर्दै धेरै शदीपछि अहिलेको देवनागरी लिपिमा आइपुग्दासम्म पनि रेफलाई वर्णको शिरोरेखाभन्दा माथि राख्ने प्रचलन चलिरहेकै देखिन्छ।

लिच्छवि कालका अक्षरमा संयुक्त वर्ण लेख्दा पहिलो वर्णमा संयुक्त रूपले लगाइने वर्णहरू लम्ब रूपमा तल जाने हुन्थे। यसैले धेरैजसो ठाउँमा संयुक्त वर्णमा लगाइने मात्राहरू संयुक्त वर्णको पहिलो अक्षरमा नै लगाइने गरिन्थ्यो। यसरी मात्रा लगाइँदा वर्णको शिरोरेखाकै दायाँ, बायाँ, माथि लगाइन्थ्यो। परन्तु रेफ-संयुक्त वर्णमा मात्रा लगाउँदाचाहिँ रेफ नै वर्णको शिरोरेखामा बस्ने हुँदा मात्राहरू पनि शिरोरेखाभन्दा माथि रेफमा नै लगाउने प्रचलन रहेको देखिन्छ।

नेपालको लिच्छविकालका अभिलेखहरूको पाठ पढी प्रकाशित गर्ने इ.शि बाबुराम आचार्य, श्रीगुरु पं. नयराज पन्त, गुरु धनवज्र वज्राचार्य लगायतका स्वदेशी विद्वान्हरू र भगवानलाल इन्द्रजी, सेसिल बेन्डाल, सिल्भाँ लेभी तथा रेनिइरो नोली लगायतका विदेशी विद्वान्हरूले यसै गरी रेफ-संयुक्त वर्णमा लगाइएका मात्राहरूको पाठ पढ्नुभएको पाइन्छ।

स्रोत  : लिच्छविकालका अभिलेखका शब्दहरूको प्रतिच्छवि डा. डिल्लीरमण रेग्मीको ‘इन्स्क्रिप्सन्स् अव् एन्सिन्ट’ नेपाल भाग ३ बाट लिइएका हुन्।

अब जाऊँ, ह :खागल्लीको लिच्छवि कालको शिलालेखतर्फ- उक्त शिलालेखको लिपिको रेफसहितको वर्णको आकार मात्राको पाठ-पढाइ निम्नबमोजिम रहेको देखिन्छ-

अब हेरौं- संयुक्त य्य वर्णमा लगाइएको रेफको चिह्नमाथिको आकार-मात्रा तर्फ-

रेफको चिह्न

यताबाट संयुक्त य्य वर्णमा य को बीचको दण्डमाथि रेफ लगाइएको र त्यसमाथि दायाँतिर थोरै तानिएको आकारको मात्रा-चिह्न प्रस्ट देखिन्छ।

आकारको मात्राचिह्न नभएको रेफ-चिह्न र आकारको मात्राचिह्न भएको रेफ-चिह्नका विषयमा यही शिलालेखको दोस्रो पंक्तिमा दुइटैको उदाहरण पाइन्छ। यताबाट रेफमा आकार लगाइएको छ वा छैन भन्ने स्पष्टसँग थाहा पाउन सकिन्छ। यसको प्रतिच्छवि हेरौं-

१. भगवताय्र्यावलोकित (रेफको चिह्नमाथि आकारको मात्रा चिह्न लगाइएको)

यसमा य्य संयुक्त वर्ण लेखी सोको शिरमा रेफ-चिह्न दिएर अनि रेफबाट दायाँपछि सानो रेखा तानी आकारको मात्राचिह्न लगाइएको छ।

२. विजिरगुप्ताय्र्यभिक्षुणी- (रेफको चिह्न भएको, आकारको मात्राचिह्न नलगाइएको)

यसमा संयुक्त य्य वर्ण लेखी सोको शिरमा लम्ब रूपमा सानो रेफचिह्न दिइएको छ। यसमा आकारको मात्रा-चिह्न लगाइएको छैन।

यसैले एउटै शिलालेखको एकै पंक्तिमा संयुक्त य्य वर्णमा रेफ लगाएर आकारको मात्राचिह्न लगाइएको उदाहरण पाइन्छ भने सोही पंक्तिमा संयुक्त य्य वर्णमा रेफको चिह्न लगाइएको, त्यसमा आकारको मात्रा-चिह्नचाहिँ नलगाइएको समेत दुवै उदाहरण पाइन्छन्। यसबाट संशय हुनुपर्ने अवस्था नै देखिँदैन। दुवै उदाहरण एकै पंक्तिमा स्पष्टसँग उल्लेख गरिएका छन्।

यसैले यस अभिलेखको २ पंक्तिमा भगवताय्र्यावलोकित, ३ पंक्तिमा पञ्चभिम्र्मान्या, ३ पंक्तिमा पुष्पधूपदीपस्तृभिर्मान्या एवं ४ पंक्तिमा भगवताय्र्यावलोकितश्वर नै शुद्ध पाठ हुन् भन्ने कुरा स्पष्ट हुन आउँछ। (ह :खा गल्लीको लिच्छविकालको अभिलेखको प्रतिच्छवि पूर्णिमा १४१ बाट लिइएको हो।)

यस लेखको अलि नरमाइलो पक्षचाहिँ के छ भने यस अभिलेखका सम्बन्धमा डा. पन्तले यसरी टिप्पणी गर्नुभएको छ, ‘यस शिलालेखको भाषा कहीं लिपिबद्ध गर्नेको र कहीं कुँद्नेको कमजोरीले गर्दा त्यति शुद्ध छैन। यसको उदाहरणको लागि समस्त पदमा भगवदाय्र्यावलोकितेश्वरमुद्दिश्य हुनुपर्नेमा भगताय्र्यवलोकतश्वरमुद्दिश्य (मूलको ४ पंक्ति) लेखिएकोलाई देखाए मात्र पनि पुग्ला। आय्र्याको य्र्यामा कान्दानी छुटेकोचाहिँ कुँद्नेको गल्ती हो।” (पूर्णिमा १४१ पृ. ७)

माथिको छलफलबाट यो स्पष्ट भइसकेको छ कि आय्र्याको य्र्यामा कान्दानी छुटेकै छैन। अभिलेखको पाठ पढ्ने विद्वान्ले नै नपढिदिएपछि कसको के लाग्छ ?

‘यहाँ झूटो गुण अथवा दोष नलाइदिनुहोला’ भनेर आफ्नो सम्पूर्ण जीवन अध्ययन-अध्यवसायमै समर्पण गरेर विद्यार्जनमा लागिरहनुभएका यस्ता विशिष्ट विद्वान्ले शिलापत्र कुँद्नेको गल्ती नभएको अवस्थामा पनि आफूले राम्रोसँग नपढी ‘आय्र्याको य्र्यामा कान्दानी छुटेको चाहिँ कुद्नेको गल्ती हो’ भनी ठोकुवा गरी कलाकारलाई दोष लगाएको देख्दाचाहिँ नरमाइलो लाग्ने रहेछ।

यसैले माथिको छलफलबाट के निष्कर्ष निकाल्न सकिन्छ भने लिच्छवि लिपिको रेफसहितको वर्णको आकार-मात्राको पाठ-पढाइमा संशोधन मण्डलका हस्ती डा. महेशराज पन्तले संशोधन गरी पढ्नुभएको पाठ, जो छ सो, अशुद्ध छ भन्ने कुरा ठोकेरै भन्न सकिन्छ।

https://annapurnapost.com/story/145245/

स्वाँ माःला स्वाँ !

 शिशिर वैद्य

फुल बेच्न पसेकाहरूका आवाज सहर सुगन्धित बनाउन पर्याप्त हुन्थ्यो कुनै बेला । फूल बेच्नेहरू ठूलो आवाजमा भनिरहेका हुन्थे– स्वाँ माःला स्वाँ...(फूल आयो फूल) ! कान्तिपुर नगरी यस्तै आवाजले ब्युँझिन्थ्यो । सिजनअनुसारका मू स्वाँ, तफ्व स्वाँ, ग्वँग चुली स्वाँ, ह्याँगु स्वाँ, लालुपात्या स्वाँ, लाहुरे स्वाँ, पंखा स्वाँ, अजू स्वाँ, सिन्ह स्वाँ बोकेर गथुहरू सहर पस्थे । अनि घरघर डुल्दै कराउँथे– ‘स्वाँ माला स्वाँ ।’

स्वाँ माःला स्वाँ !

मन्दिरैमन्दिरको सहर हो– कान्तिपुर । जात्रा सहरको नशा नशामा छ । कसलाई थाहा होला स्वाँको महत्त्व, यो सहरलाई भन्दा बढी ? हल्च्वः (हलचोक) पश्चिम इचंगु गाउँ स्वाँका लागि प्रसिद्ध थियो । इचंगुको आफ्नो प्रसिद्धि विलुप्त भएको छ । स्वाँ क्यबहरू मासिएर घर फलेका छन् अहिले । तथ्यांक भन्छ– फूलको व्यापार बढेको छ, तर उत्पादन कम छ । सहरको माग कोलकाताको फूलले धानेको छ ।

त्यो जमाना अर्कै थियो, जब दाउरेहरूलाई जिस्क्याउँदै गीत गाइन्थ्यो—

कल्चा सिं,

मान्चा जाकी

छँके वया खैला हजुर....

कसलाई याद होला यि गीत ? उपत्यका वरिपरिका जंगलबाट दाउरा बटुलेर स–सानो कलीदेखि ठूलाठूला दलिन बोकेर सहरमा बेच्न आउँथे दाउरेहरू । माटोको घर, माटोकै चुल्हो, कुरो त्यो जमानाको पो हो त । दलिन र दाउरा दुवै अपरिहार्य हुन्थ्यो । घर चलाउन पनि बनाउन पनि ।

‘भाले आयो हजुर भाले’ ढाक्रे डोकामा कुखुरा बेच्न सहर डुल्दै गरेका व्यापारीहरू कुन गाउँबाट सहर पस्थे सहरलाई के मतलब हुथ्यो ! पसिनाले लपक्क भिजेर टलक्क मैल टल्किएको टोपी अनि धूलो टाँसिएको धोती । कुखुरा कुखुरा बास आउँथे ती व्यापारीहरू । अर्धनग्न बालबालिकाहरू भाले जिस्क्याउँदै पछि लाग्थे । कुखुरी काँ बासी भात खाँ... ! ती बालबालिकालाई के थाहा कुखुरा बेच्न सहर पसेका गाउँले व्यापारीका व्यथा ! महाबौद्धमा कुखुरा व्यापारीहरूको हाट लाग्थ्यो । गाउँले व्यापारी र सहरी बिचौलियाबीच मोलमोलाई चल्थ्यो । जसले जसलाई निचोर्न सक्थ्यो ऊ फाइदामा हुन्थ्यो । सहरका व्यापारीको चलाखीअघि गाउँले सोझा व्यापारी लाचार हुन्थे । एक–एक कुखुरा बेचेर सहरमा महँगो बास बस्ने कि एकमुस्ट बेचेर गाउँ फर्किने ? उनीहरू दोस्रो उपाए रोज्थे । सहरमा दाना खुवाएर कुखुरा पाल्न कसरी सक्थे र गाउँलेहरू ?

महाबौद्ध परिसरभित्र अर्कै मेला लागिरहन्थ्यो । चिउराका बोराहरूले महाबौद्ध चोक भरिएका हुन्थे । जुटका बोरामा बेच्न राखिएका हुन्थे थरीथरीका चिउरा । मगमग बास्नाले नै पेट भरिन्थ्यो । सालु बजी, ख्वाटु बजी, टाइचिन बजी, ह्याँगु बजी सहरमा अनेकथरी बजीका सोखिन थिए, छन् अझै । बजी आजभोलि प्याकेटमा आउन थालेको छ । नत्र बोरामा आउँथे । बोराको जमाना सकिएको छ । ब्रान्डिङको जमाना जो छ । जमाना जस्तोसुकै भए पनि परम्परा धान्ने व्यापारी अझै छन् सहरमा । खर्पनमा तरकारी बेच्नेहरू उहिले ठिमीदेखि हिँडेरै आउँथे । एक खर्पन तरकारी बेच्न कम्ता दुःख थिएन त्यसबेला । गाउँ–गाउँ पुगेका सडक र यातायातको विकासले किसानलाई सजिलो बनाएको छ । खर्पन ठिमीदेखि बोक्नु पर्दैन आजभोलि ।

बेसारले शिरदेखि पाउसम्म पहेंलिएको मानिस देख्नुभएको छ ? यस्ता मानिस देखेर जन्डिसका कीटाणु पनि भाग्दो हो । गाउँको शुद्ध बेसार बोकेर सहर पस्दा व्यपारीको रूप यस्तै हुन्छ । गाउँमा मिल थिएनन् ऊबेला । मिल सहरमा हुन्थे, बेसार गाउँमा । बेसार बेच्ने पहेंलिनुमा के आश्चर्य ? सहर पस्ने, बेसार बेच्ने, अनि गाउँ फर्किने । एवंरीतले चलेको उसको दिनचर्यामा उसले सायद आफ्नो असली रूप बिर्सिसकेको होला । बेसार अझै पनि गाउँमै फल्छ । फरक यत्ति हो मिलहरू गाउँ पसेका छन् । बेसार बेच्न आजभोलि सहरका गल्ली–गल्ली धाउनु पर्दैन व्यापारीहरूलाई । मिलहरूले पोका पार्ने मिसिन पनि छन् गाउँमै । तर, गाउँका बेसार रोप्ने, सुकाउने किसान कतार, साउदीतिर मरुभूमि जोत्दै छन् । काभ्रेको खुवादेखि लेलेका दाउरा, छैमलेको नास्पाती र आरु, रसुवाको हिमाली जडीबुटी, खोकनाको तेल, दाउरादेखि दलिनसम्म के बिक्दैनथ्यो सहरमा ? हो, सहरमा के बिक्दैन ? प्रश्न गम्भीर छ । कान्तिपुरलाई यस मानेमा खपतपुरभन्दा पनि हुन्छ । उहिले गाउँका उत्पादन खपत गर्थ्यो, आजभोलि गाउँका मानिस खपत गरिरहेछ, उत्पादन भने चीनको । कन्टेनर भरिएर आउने चिनियाँ सामान उपत्यकामा खन्याएर बेतोड कुद्ने ट्रकहरूले राजमार्गमा तहल्कै मच्चाउँछ बेलाबेला । चिनियाँ मालको डम्पिङ साइट बनेको छ कान्तिपुर ।

गाउँको मुहार फेरिएकाले होला सहरको रूप पनि फेरिएको छ आजभोलि । महाबौद्धमा न चिउराको हाट लाग्छ, न कुखुराको । न खोकनामा तोरी फल्छ, न तोरी बेच्नेहरू सहर पस्छन् । आयातित तोरी पेलेर परम्परा धानेका खोकनावासीलाई के भन्नु र खै ? कान्तिपुर सहरका चिकंमुगः, ध्वखाडोल तेलका सुपरिचित नाम हुन् । लाय्कुसाःले कान्तिपुरको तेल परम्परा धानेको छ । ती पनि आयातित तोरीमै निर्भर भइसके । सुनाकोठीको दहिको प्रख्याति केही बूढापाकालाई भन्दा बढी कसलाई याद होला अब ? नालाका आलुबारीहरूमा ठडिएका पार्टी प्यालेसहरू आयातित आलु तासेर फ्रेन्च फ्राइज सर्भ गरिरहेछन् । दोलखाको मुडे आलुका लागि प्रसिद्ध छ । बजारमा मुडेको आलुको माग उच्च छ । तर, उत्पादन थोरै । पत्ता लगाउनुस कान्तिपुरका बजारमा छ्यापछ्याप्ती पाइने ‘मुडेका आलु’ कहाँका होलान् ?

मरु, मखं, वंघः, असं, न्यत, त्यरलगायतका त्वाहरू बँ पसः राख्नेहरूले ढाकिन्थ्यो उहिले । घरघर नधाउने व्यापारीहरू सहरका प्रमुख चोकहरूमा यस्ता पसः थापेर बस्थे । आफ्नो सामान पसार्थे । सहरको अंग थियो बँ पसः । संस्कृति नै भनिहाल्दा कति विद्हरू रिसाउलान् । तर, बँ पसःलाई कान्तिपुर सहरको सामाजिक रीतिरिवाजबाट हटाएर हेर्दा कहाँ भेटिएला बजी, बेसार, स्वाँ, तुफी र जडीबुटीहरू ? गाउँ र काँठका किसान आफ्ना उत्फादन बित्री गर्न कान्तिपुरका सडकमा ग्राहक कुर्थे । सहर तिनै बँ पसःमा खरिददारी गर्थ्यो । बँ पसः सहरको सामाजिक आवश्यकता थियो । गाउँले व्यापारीको रोजीरोटीको आधार ।

समय बदलिएको छ । महानगरलाई घाँडो बनेको छ– बँ पसः । सहरका फुटपाथ, मठमन्दिरका पेटी, फल्चा, दबु, चुक, ननी, बहाः, बहीलगायतका सम्पदा सबैतिर छन् बँ पसः राख्नेहरू । बँ पसः विश्वमा सबैतिर छन्, स्थानीय निकायले ती बँ पसःलाई निश्चित् समय र स्थान तोकेर बस्न दिन्छन् । बँ पसः राख्नेहरू समस्यामा परेरै सम्भावनाका खोजीमा फुटपाथ र सडकमा पसल थाप्न बसेका हुन् । महानगरले उनीहरूलाई लखेट्न पाउँदैन । बँ पसः को व्यवस्थापन गर्ने जिम्मा महानगरकै हो । असलमा कान्तिपुर नगरी सम्भावना र समस्याको एब्स्ट्राक्ट कोलाज हो, जसले जसरी व्याख्या गरे पनि हुने । जसले जसरी बुझे पनि हुने ।

https://ekantipur.com/koseli/2022/09/10/166278365769611808.html

निवर्तमान ‘देवीदेवता’

 सुरेश किरण

जीवित बालिकालाई कुमारी मानेर पूजा–आराधना गर्ने चलन अरु नगरमा पनि छ । तर, जीवित बालकलाई श्री गणेश र श्री भैरवका रुपमा पूजा गर्ने परम्परा काठमाडौंमा मात्रै छ ।

एकपटक राजा प्रताप मल्ल हनुमानढोकाभित्र बनाउन लागिएको पोखरीका लागि पानी खोज्दै हिँडेका रहेछन् । खोज्दाखोज्दै उनले रानीबारीतिर एउटा मुहान भेट्टाए । र, त्यहीँबाट नहर खनेर हनुमानढोकासम्म पानी ल्याउने योजना बनाए । त्यस योजनामा काम गर्दा उनी लामै समय रानीवन बस्नुपर्ने भएछ । त्यही बेला इन्द्रजात्रा पनि आइहाल्यो । जात्राका बेला आफू दरबार नभए पनि प्रताप मल्लले जात्रा मनाए, रानीवनमै बसेर (डानियल राइट, हिस्ट्री अफ नेपाल, सन् १८७७) ।

निवर्तमान ‘देवीदेवता’

नेसं ८०८ तिर काठमाडौंबाट भागेर भक्तपुर लुक्न गएका भारदार भागिराम काजीलाई ‘सुपुर्दगी गर’ भनी पाटन र काठमाडौंका काजीहरूले भक्तपुरलाई अनुरोध गरे । तर, भक्तपुरले सुपुर्दगी गरेन । त्यसैले भागिरामलाई पक्रिन पाटन र काठमाडौंका काजीहरूले भक्तपुरमा आक्रमण गरे । युद्ध भइरहेकै बेला इन्द्रजात्रा सुरु भयो । काठमाडौं र पाटनका काजीहरू युद्ध स्थगित गरी काठमाडौं फर्किए र धुमधामसँग इन्द्रजात्रा मनाए । अनि जात्रा सकेपछि फेरि आक्रमण गर्न गए र भागिरामलाई फिर्ता लिएर आए (पं. देवीप्रसाद लम्साल, भाषा वंशावली (दृतीय भाग), विसं २०२३) ।

नेपाली इतिहासमा मल्लकालीन राजाहरूका लागि इन्द्रजात्रा कति महत्त्वपूर्ण पर्व रहेछ ? माथिका दुई दृष्टान्तले नै सविस्तार वर्णन गर्छन् । मल्लकालमा इन्द्रजात्रा अत्यन्तै महत्त्वसाथ मनाउने गरिन्थ्यो भन्ने कुरा त्यस समयका थुप्रै अभिलेखमा इन्द्रजात्राबारे उल्लेख गरिएबाटै थाहा हुन्छ । मल्लकालीन नेपालका धेरै स्थानमा त्यस्ता धेरै शिलापत्र प्राप्त भएका छन्, जसमा इन्द्रजात्रा मनाउन जग्गा आयस्ता राखी गुठीको समेत व्यवस्था गरिएको छ (डा. अजयक्रान्ति शाक्य, सुरेश किरण मानन्धर, इन्द्रजात्रा, विसं २०७७) ।

मल्लकालमा इन्द्रजात्रा भव्यतापूर्वक मनाउने क्रम अन्तिम मल्ल राजा जयप्रकाशको समयसम्मै जारी रह्यो । जयप्रकाशले इन्द्रजात्रामा थपिदिएको सबैभन्दा ठूलो अंग हो– जीवित देवी श्री कुमारीको रथयात्रा । श्री कुमारीको रथयात्रा अहिले इन्द्रजात्राकै सबैभन्दा महत्त्वपूर्ण अंश बनिसकेको छ । जात्रामा श्री कुमारीका रूपमा पुजित जीवित बालिकालाई रथमा विराजमान गराई नगर परिक्रमा गराइन्छ । रथयात्राको अघि–अघि जीवित देवताहरू श्री गणेश र श्री भैरवको रथ पनि तानिन्छ । जीवित बालिकालाई कुमारीका रूपमा पूजा–आराधना गर्ने चलन काठमाडौंलगायत पाटन, भक्तपुर र अन्य नगरमा पनि छ । तर, जीवित बालकहरूलाई श्री गणेश र श्री भैरवका रूपमा पूजा गर्ने परम्परा भने काठमाडौंमा मात्रै छ । यो परम्परा स्थापना पनि जयप्रकाश मल्लले नै गरेका थिए ।

जीवित देवी श्री कुमारी काठमाडौंका शाक्य कुलपुत्रीमध्येबाट छनोट गरिएजस्तै श्री गणेश र श्री भैरव पनि काठमाडौंका शाक्य कुलपुत्रमध्येबाटै छानिन्छ । श्री कुमारी बस्ने छुट्टै आवास (कुमारी घर) को व्यवस्था छ, तर श्री गणेश र श्री भैरव भने आ–आफ्नै घरमा बस्छन् । आफ्नै घरमा बसे पनि उनीहरूले विभिन्न नियम पालना गर्नुपर्ने हुन्छ । जस्तो ः देवता भइरहुन्जेल कपाल काट्नु हुँदैन, गणेशले सेतो जामा र भैरवले नीलो जामाबाहेक अर्को पोसाक लगाउनु हुँदैन, विद्यालय जाँदा पनि त्यही पोसाक लगाएर जानुपर्छ, जुठो खानु हुँदैन, खोला तर्नु हुँदैन, आफ्नोबाहेक अरूको घरमा रात काट्नु हुँदैन, भोज जानु हुँदैन, शरीरमा रगत आउने गरी घाउ–चोटपटक लगाउनु हुँदैन ।

एकपटक छनोट भइसकेपछि करिब १०–११ वर्षसम्म उनीहरू ‘देवता’ कै आसनमा विराजमान हुन्छन् । ‘देवता’ रहुन्जेल प्रत्येक वर्ष इन्द्रजात्राका तीन दिन रथयात्रा गराइन्छ । मानिसहरू उनीहरूलाई द्यः मय्जु वा द्यः भाजु भनी ढोग्न आउँछन् । पैसा चढाउँछन् । पूजा पनि गर्छन् । देवताकै रूपमा सम्मान गर्छन् ।

अनि देवताको आसनबाट झरिसकेपछि के हुन्छ ? दुई वर्षअघि मात्रै ‘देवता’ बाट निवृत्त भएका निवर्तमान गणेश संवेग शाक्य भन्छन्, ‘त्यसपछि त इजी लाइफमा जाने हो । देवता हुँदा नियममा बस्न गाह्रो छ । अहिले त्यस्तो छैन ।’

उनीसँगै निवृत्त भएका निवर्तमान भैरव रुजन शाक्य भने ‘देवता’ को आसनमा नरहेपछि लाइफ इजी भए पनि पाइरहेको सम्मान भने गुमेको महसुस गर्छन् । भन्छन्, ‘पहिले बाटामा हिँड्दा मानिसहरू हामीलाई पोसाकले नै चिन्दथे । हातमा पैसा राखेर ढोग्न आउँथे । छुट्टै पर्सनालिटी हुन्थ्यो । अहिले बाटो हिँड्दा कसैले चिन्दा पनि चिन्दैन, वास्ता पनि गर्दैन ।’

अहिले दुवै निवर्तमान ‘देवता’ घर–परिवार र टोल–छिमेकमा घुलमिल हुँदै सार्वजनिक जीवन जिउने प्रयासमा छन् । दुई वर्षअघिसम्म आजका दिन यी दुवै ‘देवता’ लाई रथयात्राको तयारीमा भ्याईनभ्याई भइरहन्थ्यो । यसपालि यी ‘देवता’ हरूले वसन्तपुरकै कुनै घरको आँखिझ्याल वा छतमा बसेर श्री कुमारीको रथयात्रा अवलोकन गर्नेछन्, सर्वसाधारणसरह ।

उनीहरूसँगै कुमारीको आसनमा पुगेकी निवर्तमान कुमारी मतिना शाक्य भने आजभन्दा ५ वर्षअघि नै ‘देवी’ आसनबाट निवृत्त भइसकेकी थिइन् । कुमारी रहुन्जेल उनी सधैं कुमारी घरमा थिइन् । त्यसैले सार्वजनिक जीवनमा आउन उनलाई अलिकति गाह्रो भएको थियो । काठमाडौंका टोलहरूको नामसमेत उनलाई थाहा थिएन । तर, परिवार, स्कुल र अन्य आफन्तको सहयोगले उनको त्यो अप्ठ्यारो लामो समय रहेन । अहिले उनी सामान्य भइसकिन् ।

संयोग नै भन्नुपर्छ, हालैको गुँला पर्वमा यी तीनै निवर्तमान देवीदेवता परम्परागत धाः बाजा र बाँसुरी बजाउँदै स्वयम्भू महाचैत्य परिक्रमा गर्दै गरेका भेटिए । प्रत्येक वर्ष श्रावण महिनाभरि उपत्यकाका बौद्ध नेवारहरू स्वयम्भू महाचैत्यलगायत विभिन्न बौद्ध स्मारक गई स्तोत्र पाठ गर्छन् । र, धाः बाजा बजाएर स्वयम्भू महाचैत्य परिक्रमा गर्छन्, जसलाई गुँला पर्व भनिन्छ । यस वर्ष गुँला पर्वमा यी तीनै जना निवर्तमान देवी–देवता आ–आफ्ना परम्परागत बहाःको बाजा खलःमा सम्मिलित भई स्वयम्भू महाचैत्य परिक्रमा गर्न भेला भएका थिए । मतिना बाँसुरीमा पोख्त थिइन् भने संवेग र रुजन धाः बाजामा निपुण थिए । तीनै जनाले आ–आफ्नै बहाःको गुठीले प्रदान गरेको प्रशिक्षणमा ती बाजा सिकेका थिए ।

संवेग त गितारमा पनि उतिकै सिपालु छन् । ‘देवता’ रहेकै बेला उनले घरमा गितार सिकेका थिए भने एकपटक सिटी सेन्टरमा भएको सांगीतिक कार्यक्रम पनि हेर्न पुगेका थिए । ‘देवता–देवी’ आसनबाट निवृत्त भई सार्वजनिक जीवनमा पदार्पण हुनेबित्तिकै यी तीनै जना सार्वजनिक क्रियाकलापमा पनि अभ्यस्त हुँदै छन् । उनीहरूको सहभागिताले सम्बन्धित बहाःको बाजा खलःको पनि शोभा बढेको बताउँछन् इतुम्बहालका अभियन्ता प्रतापमान शाक्य ।

यी निवर्तमान देवी–देवताको सवालमा एउटा साझा विषय के पनि भइदियो उनीहरू तीनै जना अहिले १७ वर्षका भए । तीनै जना १२ कक्षा पढिरहेका छन् । र, तीनै जनाको मूल विषय कम्प्युटर साइन्स हो ।

निवर्तमान गणेश संवेग शाक्यको भविष्यमा कम्प्युटर इन्जिनियर बन्ने लक्ष्य छ । निवर्तमान भैरव रुजन शाक्य ग्राफिक्स डिजाइनर बन्छु भन्छन् । निवर्तमान कुमारी मतिना शाक्य भने सबै क्षेत्रमा कम्प्युटर अनिवार्यजस्तै भइसकेकाले कम्प्युटर साइन्सलाई सीमित क्षेत्रमा राखेर नहेर्ने बताउँछिन् । कुमारीको आसनबाट झरिसक्दा पनि उनी अक्सर कुमारी घर पुगिरहेकै हुन्छिन् । सबै पूर्वकुमारीलाई कुमारी घरमा छोरीको रूपमा सम्मान दिइन्छ । चाडपर्वहरूमा पूर्वकुमारीलाई छोरीसरह नख्त्या बोलाउने गरिन्छ ।

हाल कुमारी घर रहेकी वर्तमान कुमारीसँग पनि निकै राम्रो घुलमिल भएकाले मतिना अक्सर उनीसँग खेल्नैका लागि कुमारी घर पुगिरहेकी हुन्छिन् । वर्तमान कुमारी मतिनालाई ‘द्यःतता (देवी दिदी)’ भनेर सम्बोधन गर्छिन् । हाल मतिना शाक्यसमेत गरी ९ जना पूर्वकुमारी जीवित छन् । पूर्वगणेश ७ जना र पूर्वभैरव ८ जना जीवित छन् । काठमाडौं महानगरपालिकाले जीवित पूर्वकुमारीलाई मासिक १५ हजार रुपैयाँ र जीवित पूर्वगणेश एवं पूर्वभैरवलाई मासिक १२ हजार रुपैयाँ प्रदान गर्दै आइरहेको छ ।

https://ekantipur.com/koseli/2022/09/10/166278353570026715.html