शिशिर वैद्य
फुल बेच्न पसेकाहरूका आवाज सहर सुगन्धित बनाउन पर्याप्त हुन्थ्यो कुनै बेला । फूल बेच्नेहरू ठूलो आवाजमा भनिरहेका हुन्थे– स्वाँ माःला स्वाँ...(फूल आयो फूल) ! कान्तिपुर नगरी यस्तै आवाजले ब्युँझिन्थ्यो । सिजनअनुसारका मू स्वाँ, तफ्व स्वाँ, ग्वँग चुली स्वाँ, ह्याँगु स्वाँ, लालुपात्या स्वाँ, लाहुरे स्वाँ, पंखा स्वाँ, अजू स्वाँ, सिन्ह स्वाँ बोकेर गथुहरू सहर पस्थे । अनि घरघर डुल्दै कराउँथे– ‘स्वाँ माला स्वाँ ।’
मन्दिरैमन्दिरको सहर हो– कान्तिपुर । जात्रा सहरको नशा नशामा छ । कसलाई थाहा होला स्वाँको महत्त्व, यो सहरलाई भन्दा बढी ? हल्च्वः (हलचोक) पश्चिम इचंगु गाउँ स्वाँका लागि प्रसिद्ध थियो । इचंगुको आफ्नो प्रसिद्धि विलुप्त भएको छ । स्वाँ क्यबहरू मासिएर घर फलेका छन् अहिले । तथ्यांक भन्छ– फूलको व्यापार बढेको छ, तर उत्पादन कम छ । सहरको माग कोलकाताको फूलले धानेको छ ।
त्यो जमाना अर्कै थियो, जब दाउरेहरूलाई जिस्क्याउँदै गीत गाइन्थ्यो—
कल्चा सिं,
मान्चा जाकी
छँके वया खैला हजुर....
कसलाई याद होला यि गीत ? उपत्यका वरिपरिका जंगलबाट दाउरा बटुलेर स–सानो कलीदेखि ठूलाठूला दलिन बोकेर सहरमा बेच्न आउँथे दाउरेहरू । माटोको घर, माटोकै चुल्हो, कुरो त्यो जमानाको पो हो त । दलिन र दाउरा दुवै अपरिहार्य हुन्थ्यो । घर चलाउन पनि बनाउन पनि ।
‘भाले आयो हजुर भाले’ ढाक्रे डोकामा कुखुरा बेच्न सहर डुल्दै गरेका व्यापारीहरू कुन गाउँबाट सहर पस्थे सहरलाई के मतलब हुथ्यो ! पसिनाले लपक्क भिजेर टलक्क मैल टल्किएको टोपी अनि धूलो टाँसिएको धोती । कुखुरा कुखुरा बास आउँथे ती व्यापारीहरू । अर्धनग्न बालबालिकाहरू भाले जिस्क्याउँदै पछि लाग्थे । कुखुरी काँ बासी भात खाँ... ! ती बालबालिकालाई के थाहा कुखुरा बेच्न सहर पसेका गाउँले व्यापारीका व्यथा ! महाबौद्धमा कुखुरा व्यापारीहरूको हाट लाग्थ्यो । गाउँले व्यापारी र सहरी बिचौलियाबीच मोलमोलाई चल्थ्यो । जसले जसलाई निचोर्न सक्थ्यो ऊ फाइदामा हुन्थ्यो । सहरका व्यापारीको चलाखीअघि गाउँले सोझा व्यापारी लाचार हुन्थे । एक–एक कुखुरा बेचेर सहरमा महँगो बास बस्ने कि एकमुस्ट बेचेर गाउँ फर्किने ? उनीहरू दोस्रो उपाए रोज्थे । सहरमा दाना खुवाएर कुखुरा पाल्न कसरी सक्थे र गाउँलेहरू ?
महाबौद्ध परिसरभित्र अर्कै मेला लागिरहन्थ्यो । चिउराका बोराहरूले महाबौद्ध चोक भरिएका हुन्थे । जुटका बोरामा बेच्न राखिएका हुन्थे थरीथरीका चिउरा । मगमग बास्नाले नै पेट भरिन्थ्यो । सालु बजी, ख्वाटु बजी, टाइचिन बजी, ह्याँगु बजी सहरमा अनेकथरी बजीका सोखिन थिए, छन् अझै । बजी आजभोलि प्याकेटमा आउन थालेको छ । नत्र बोरामा आउँथे । बोराको जमाना सकिएको छ । ब्रान्डिङको जमाना जो छ । जमाना जस्तोसुकै भए पनि परम्परा धान्ने व्यापारी अझै छन् सहरमा । खर्पनमा तरकारी बेच्नेहरू उहिले ठिमीदेखि हिँडेरै आउँथे । एक खर्पन तरकारी बेच्न कम्ता दुःख थिएन त्यसबेला । गाउँ–गाउँ पुगेका सडक र यातायातको विकासले किसानलाई सजिलो बनाएको छ । खर्पन ठिमीदेखि बोक्नु पर्दैन आजभोलि ।
बेसारले शिरदेखि पाउसम्म पहेंलिएको मानिस देख्नुभएको छ ? यस्ता मानिस देखेर जन्डिसका कीटाणु पनि भाग्दो हो । गाउँको शुद्ध बेसार बोकेर सहर पस्दा व्यपारीको रूप यस्तै हुन्छ । गाउँमा मिल थिएनन् ऊबेला । मिल सहरमा हुन्थे, बेसार गाउँमा । बेसार बेच्ने पहेंलिनुमा के आश्चर्य ? सहर पस्ने, बेसार बेच्ने, अनि गाउँ फर्किने । एवंरीतले चलेको उसको दिनचर्यामा उसले सायद आफ्नो असली रूप बिर्सिसकेको होला । बेसार अझै पनि गाउँमै फल्छ । फरक यत्ति हो मिलहरू गाउँ पसेका छन् । बेसार बेच्न आजभोलि सहरका गल्ली–गल्ली धाउनु पर्दैन व्यापारीहरूलाई । मिलहरूले पोका पार्ने मिसिन पनि छन् गाउँमै । तर, गाउँका बेसार रोप्ने, सुकाउने किसान कतार, साउदीतिर मरुभूमि जोत्दै छन् । काभ्रेको खुवादेखि लेलेका दाउरा, छैमलेको नास्पाती र आरु, रसुवाको हिमाली जडीबुटी, खोकनाको तेल, दाउरादेखि दलिनसम्म के बिक्दैनथ्यो सहरमा ? हो, सहरमा के बिक्दैन ? प्रश्न गम्भीर छ । कान्तिपुरलाई यस मानेमा खपतपुरभन्दा पनि हुन्छ । उहिले गाउँका उत्पादन खपत गर्थ्यो, आजभोलि गाउँका मानिस खपत गरिरहेछ, उत्पादन भने चीनको । कन्टेनर भरिएर आउने चिनियाँ सामान उपत्यकामा खन्याएर बेतोड कुद्ने ट्रकहरूले राजमार्गमा तहल्कै मच्चाउँछ बेलाबेला । चिनियाँ मालको डम्पिङ साइट बनेको छ कान्तिपुर ।
गाउँको मुहार फेरिएकाले होला सहरको रूप पनि फेरिएको छ आजभोलि । महाबौद्धमा न चिउराको हाट लाग्छ, न कुखुराको । न खोकनामा तोरी फल्छ, न तोरी बेच्नेहरू सहर पस्छन् । आयातित तोरी पेलेर परम्परा धानेका खोकनावासीलाई के भन्नु र खै ? कान्तिपुर सहरका चिकंमुगः, ध्वखाडोल तेलका सुपरिचित नाम हुन् । लाय्कुसाःले कान्तिपुरको तेल परम्परा धानेको छ । ती पनि आयातित तोरीमै निर्भर भइसके । सुनाकोठीको दहिको प्रख्याति केही बूढापाकालाई भन्दा बढी कसलाई याद होला अब ? नालाका आलुबारीहरूमा ठडिएका पार्टी प्यालेसहरू आयातित आलु तासेर फ्रेन्च फ्राइज सर्भ गरिरहेछन् । दोलखाको मुडे आलुका लागि प्रसिद्ध छ । बजारमा मुडेको आलुको माग उच्च छ । तर, उत्पादन थोरै । पत्ता लगाउनुस कान्तिपुरका बजारमा छ्यापछ्याप्ती पाइने ‘मुडेका आलु’ कहाँका होलान् ?
मरु, मखं, वंघः, असं, न्यत, त्यरलगायतका त्वाहरू बँ पसः राख्नेहरूले ढाकिन्थ्यो उहिले । घरघर नधाउने व्यापारीहरू सहरका प्रमुख चोकहरूमा यस्ता पसः थापेर बस्थे । आफ्नो सामान पसार्थे । सहरको अंग थियो बँ पसः । संस्कृति नै भनिहाल्दा कति विद्हरू रिसाउलान् । तर, बँ पसःलाई कान्तिपुर सहरको सामाजिक रीतिरिवाजबाट हटाएर हेर्दा कहाँ भेटिएला बजी, बेसार, स्वाँ, तुफी र जडीबुटीहरू ? गाउँ र काँठका किसान आफ्ना उत्फादन बित्री गर्न कान्तिपुरका सडकमा ग्राहक कुर्थे । सहर तिनै बँ पसःमा खरिददारी गर्थ्यो । बँ पसः सहरको सामाजिक आवश्यकता थियो । गाउँले व्यापारीको रोजीरोटीको आधार ।
समय बदलिएको छ । महानगरलाई घाँडो बनेको छ– बँ पसः । सहरका फुटपाथ, मठमन्दिरका पेटी, फल्चा, दबु, चुक, ननी, बहाः, बहीलगायतका सम्पदा सबैतिर छन् बँ पसः राख्नेहरू । बँ पसः विश्वमा सबैतिर छन्, स्थानीय निकायले ती बँ पसःलाई निश्चित् समय र स्थान तोकेर बस्न दिन्छन् । बँ पसः राख्नेहरू समस्यामा परेरै सम्भावनाका खोजीमा फुटपाथ र सडकमा पसल थाप्न बसेका हुन् । महानगरले उनीहरूलाई लखेट्न पाउँदैन । बँ पसः को व्यवस्थापन गर्ने जिम्मा महानगरकै हो । असलमा कान्तिपुर नगरी सम्भावना र समस्याको एब्स्ट्राक्ट कोलाज हो, जसले जसरी व्याख्या गरे पनि हुने । जसले जसरी बुझे पनि हुने ।
https://ekantipur.com/koseli/2022/09/10/166278365769611808.html
No comments:
Post a Comment