जेठ १०, २०७७ शनिबार ९:३४:०
डा. माधवप्रसाद पोखरेल
सिद्धिचरण श्रेष्ठ मूलतः ‘शारदा’ कालीन कवि हुन्। उनले जुद्धशमसेरका पाला (१९९१ साल) देखि राजा वीरेन्द्रका पाला (२०४९) सम्म कविता लेखे, तर पनि उनका कवितामा व्यक्त भएका क्रान्तिकारी विचार नेपालमा सधैँझैँ अहिले पनि सान्दर्भिक देखिन्छन्। यति बेला भारतले नेपाललाई हेपेर अंग्रेजसँग भएको सुगौली सन्धिलाई लत्याएर लिम्पियाधुरासम्मको नेपालको सिमानाको बेवास्ता गरेर लिपुलेक हुँदै मानसरोवर जाने बाटो बनाएको छ र नेपाली राष्ट्रियता घाइते भएको छ। सिद्धिचरणका कविता यति बेलाकै नेपालका समस्या सम्झँदा पनि काम लाग्ने देखिन्छन्। सक्कली कविताको विशेषतै के हो भने, त्यो कविता भूगोलको जुनसुकै कुनाको भए पनि, इतिहासको जुनसुकै खण्डमा रचिएको भए पनि पाठकलाई त्यो ताजा लाग्नुपर्छ।
नेपालीहरूले इतिहासमा गरेका क्रान्तिहरू सधैँ खेर गइरहे जस्तो जनतालाई लागिरहेको सिद्धिचरण यसरी लेख्छन् :
१. खेर गएको क्रान्ति (‘मङ्गलमान’, २०४९)
क. माछो माछो भ्यागुतो भो, यत्न भयो व्यर्थ। देश मात्र ठगिँदै गो लाखौँ लाखौँ पल्ट।।
ख. मन्त्रीमण्डल फेरिँदै गो, फेरिएन देश। मेटिएन दुःख कष्ट, मेटिएन क्लेश।।
ग. बनाउँछु देश भनी ढोङ खुबै गर्थिस्। मन्त्री भएपछि तँ ता पशु जस्तै बनिस्।। थुक्क पशु ! घाँस खा जा ! छैन तँलाई लाज ? तँ जस्ताले बनाएर बन्दैन समाज।।
घ. परिवर्तन भयो तर सुख भेटिएन।...जस्तातस्तै देख्छु म त कैले देश बन्छ। ठूलो कुर्सी पाएको त्यो साथी मक्खै थियो।। मङ्गलमानलाई उल्टै उपदेश दियो, ‘हडबड गरी हुन्न क्यै समय
लाग्छ। जादू छडी हुन्न साथी ! धैर्य गर्नुपर्छ।।’
यो देशमा भएका दामी वस्तु लुट्न अनि फुट र सामाजिक दुर्भाव फैलाउन झ्याङ्गिरहेको साम्राज्यवादीहरूको बिगबिगी सिद्धिचरण यसरी ओकल्छन्
२.
घुम्छन् बाज समान माथि नभमा साम्राज्यवादीहरू...। हाम्रो देशमहाँ सरापसरिका व्याधाहरू यी सब ...। उर्लेको भल झैँ फिरङ्गीहरूले ढाक्तै थिए एसिया। मान्छेको अधिकारको हननका फैलाउँदै दुष्क्रिया (‘भीमसेन थापा, २०६०)।।
देश भित्रका कहिल्यै ननिख्रिने भ्रष्टाचार, अन्याय, शोषण, दुर्दिन र भावी अनिष्ट सिद्धिचरण यसरी सम्झिन्छन् (‘कुहिरो र घाम’ २०४५),
३.
क. अन्याय भन्ने, शोषण भन्ने लाम्किरा अजङ्गका। यहाँ छन् बैनी, फुंकार विषले भरेका।।
ख. आजको दिन पनि कुनै अजिङ्गर जस्तो भएर। अन्धकारको दुलो भित्र पस्न लागिरहेछ।।
सक्कली देशभक्तहरूको हालत र देशमा मौलाई रहेको फटाहाहरूको उन्नति कवि यसरी देखाउँछन्,
क. मकैका साथ घट्टमा पिँधिएका कीरा जस्तै। रात र दिनको चक्कीमा मलाई पिँध्दै।। मेरा दिनहरू हाँसिरहेछन्।
ख. विषको पोका काखी च्यापी हिँड्न तिमीले जानेमा। तिम्रो हात आइपर्दछ, बल वैभव धाम बढेमा।।
अचेल नेपालीहरू कोही अन्यायमा पर्यो र कसैले अर्घेल्याइँ गरिदियो भने पनि हक्की भएर बोल्न छोडे। यसले गर्दा जुन निर्धाहरूका लागि भविष्यका सहिदहरूले दुःख पाउँछन्, तिनै देशभक्तहरूमाथि भएको अन्यायमा पनि सर्वसाधारण चुप लाग्ने प्रवृत्तिले सिद्धिचरण यसरी विरक्त हुन्छन् ः
४. लाछीको निन्दा
क. अपमान पाएँ मैले मान तिम्रो राख्न। नाङ्गो भई हिँड्नु पर्यो आङ तिम्रो ढाक्न।। ...भोक, रोग सही मरेँ, छैन मेरो कोही। तिमी पनि चूप बस्छौ लाज छैन केही (‘मङ्गलमान’)।।
ख. नेपाली जन चूप छौ तिमिहरू अन्याय यस्तो सही। बोल्दैनौ किन न्यायका दुइ कुरा हा प्राण लुछ्ता पनि (‘मङ्गलमान’)।।
ग. जसले आफ्नो घर, खेत, गोठ क्यै जानेन। स्वदेशको काम गर्यो, तर क्यै मागेन।। आज उही स्वर्गे हुँदा देशै चुपचाप। यस्तो गर्दा सबैलाई लाग्दैन र पाप (‘मङ्गलमान’)??
घ. यो कस्तो जडता विदीर्ण दिलको यो प्राणघाती व्यथा। यो देख्ता पनि चुप्पचाप रहने यो मर्मघाती कथा।। साँच्चै घोर अनर्थ पो हुन गयो, के देख्नु यस्तो पर्यो। भाँचू लाग्छ मलाई यो कलम नै के लेख्नु यस्तो पर्यो (‘भीमसेन थापा’)।।
सिद्धिचरण आफ्ना कवितामा सामाजिक विषमता अनि दलित, निर्धा र सीमान्तहरूका हकमा यस्तो लेख्छन्,
५. दलित र सीमान्तको आवाज
क. देश हो यो साझा भन्छन्, तर खोइ त साझा ? बलियाकै थिचोमिचो नित्य यहाँ ताजा (‘मङ्गलमान’)।।
ख. जातभात तल्लो अनि माथिल्लोको भेद। विषमता पर्खाल यो जताततै छेद।। ...जातिपाती विभेद नै प्रगतिको फूलो (‘मङ्गलमान’)।
ग. अछूतको यस्तो कथा अन्त्य गर्नुपर्छ। मान्छे-मान्छे बराबर ज्यून सिक्नुपर्छ (‘मङ्गलमान’)।
घ. तल्लो सानो, ठूलो चाहिँ उपल्लो रे सुन। बाहुन, क्षेत्री, वैश्य, शूद्र बनाएको किन (‘मङ्गलमान’)?
ङ. खिचेर भिन्नता डोरी, यसको, उसको भनी। टुक्य्राई देश औ जाति हुन्न कल्याण विश्वको। (बालिवध)
च. पाप भण्डाफोर गर्दै, हुन्छ जे होस् गाउनेछु। ती गलितको, ती दलितको हक गुमेको बोलनेछु (‘आँसु, २०७३)।।
राष्ट्रमा जनताभन्दा माथि कोही पनि हुँदैन, त्यसैले जनताको हक कुण्ठित भयो भने, विरोध, आन्दोलन, सङ्घर्ष र क्रान्ति चाहिन्छ भन्ने सिद्धिचरणको बोली कवितामा यसरी अभिव्यक्त हुन्छ,
६. जनताको सर्वोच्चता र विरोधको खाँचो
क. जनताको हक नासो राजामाथि हुन्छ। जनताले मागेपछि फिर्ता दिनु पर्छ (‘मङ्गलमान’)।।
ख. हक आफ्नो खुशीसाथ हुँदैन है प्राप्ति। गर्नुपर्छ जनताले आन्दोलन क्रान्ति।। आन्दोलन क्रान्तिबाटै मिल्छ अधिकार। इतिहास सारा गर्छन् यै कुरा स्वीकार (‘मङ्गलमान’)।।
ग. समाजमारा राक्षसहरूसित जुध्नका निमित्त। ...पाखुरामा बल भर्नु छ (‘कुहिरो र घाम’)।।
घ. स्वदेशी भनी खालि। नमारूँ के म कीरालाई? (?)
ङ. शोषकहरूको यस्तै चड्का, अत्याचारी लात र धड्का। पाई बाको यो प्रिय छोरो, बाँचिरहोस्, अझ बाँचिरहोस् !! भाग अरूको लुट्नेहरूको नीद उखेल्ने हुरी बनोस् ! छलले बलले ठूलाहरूको, सपना चिर्ने छुरी बनोस् ( ‘कारागारका सम्झना’१९९७)!!
च. सायद रगतको मसीले प्राणको अक्षरले। मेरो यो मातृभूमिको वन्दना पूर्ण हुने हो कि (‘कुहिरो र घाम’)?
छ. बाटो मेरो छेकिरहेको अजङ्गको साँढेलाई। लौरो लिइकन दूर लघारेँ, मैले कविता लेखेँ (‘कुहिरो र घाम’, २०४५)।।
देशमा भ्रष्टहरू ठूला मान्छे ठहरिएर मान पाएको देख्ता कवि यसरी आक्रोश पोख्छन् ः
७. नैतिकता
ठूलोबडो हुन चाहिँ अरूलाई ठग्नु। इन्साफको ढोका थुनी भोटे ताल्चा मार्नु (मङ्गलमान)।।
गरिब देशका नेता, हाकिम र ठालुहरूको विलासी जीवन प्रति कवि यसरी असहमति प्रकट गर्छन्,
८. विद्रोह
मनुजकै पूजा लिएर, अप्सरालाई नचाई। देवताको स्वर्ग घुम्ने, हक छ के पृथ्वी रुवाई (२०५०, ‘आँसु’)?
सहिदहरूका विषयमा कवि यसरी श्रद्धाञ्जलि चढाउँछन्,
९. सहिद
क. यौटा देह निमित्त दुर्ग्ति सही के वीरले ज्यूँदछ? आफ्नो मान र शान राख्न उसले मृत्यु स्वयं रोज्दछ (भीमसेन थापा)।।
ख. जो मान्छे जन कार्यमा रत भई यो जिन्दगी मर्दछ। त्यो मान्छे जनतामहाँ अमरता ओढी सधैँ बाँच्तछ (भीमसेन थापा)।।
ग. रोई रोई बाँच्न पुग्यो अब हाँसी हाँसी मर्न सिकूँ। रुखमा झुन्डिनलाई डोरी ओठ गरमले चुम्न सकूँ (‘मूल बाटो’)।।
जनताको हक लुट्ने र थिच्नेहरूको विरोध र उछित्तो काढ्न निडर भएर फटाहाहरूविरुद्ध आन्दोलन, सङ्घर्ष र क्रान्तिका लागि देशभक्तहरूले सधैँ भविष्यको सहिद हुन सधैँ तम्तयार हुनुपर्छ भन्ने अद्वितीय विचार नेपाली कवितामा सर्वप्रथम प्रखर रूपमा व्यक्त गर्ने ‘युगकवि’ सिद्धिचरणलाई उनको १०९ औँ जन्मदिन (जेठ ९ गते) मा श्रद्धा सुमन !
https://annapurnapost.com/story/156620/
No comments:
Post a Comment