Sunday, January 17, 2021

सबैका लागि प्रेरणास्रोत

 


गंगा जोशी मुल्मी
फुर्सद

 २४ भदौ २०७५ ०९:०५:००

हाम्रा बा (कुशे औँसी विशेष)

बुवा हामीसँग ठट्टा पनि गर्नुहुन्थ्यो। हिजोआज पनि उहाँ रेला, ठट्टा गरिरहनुहुन्छ। उहाँ हामीलाई काँधमा बोकेर कुदाउनुहुन्थ्यो र जहाजजस्तै उडाउनुहुन्थ्यो।

पाटनको हाम्रो घरमा हजुरबुवा, हजुरआमा, बुवाआमा, हामी तीन बहिनी, तीन दाजुभाइ र काकाको सात जनाको परिवार गरेर १७ जना एउटै भान्सामा खाना खान्थ्यौं। आज ती दिन सम्झिँदा मात्र पनि सपनाजस्तो लाग्दो रहेछ।

हामी अलिअलि थाहा पाउने हुँदादेखि नै बुवा सत्यमोहन जोशी ज्यादै व्यस्त हुनुहुन्थ्यो। बिहान छिटै घरबाट निस्कने र बेलुका अबेला फर्किनुहुन्थ्यो। घरमा भएको समयमा हामी केटाकेटीलाई वरिपरि राखेर पढाउने, कथा सुनाउनुहुन्थ्यो। नाच्न र गाउन पनि सिकाउनुहुन्थ्यो। केटाकेटीकै तालमा आफू पनि नाच्नुहुन्थ्यो। बुवा हामीलाई स्कुल पढ्दा मात्र होइन, क्याम्पस पढ्दा पनि अतिरिक्त क्रियाकलापमा भाग लिन हौस्याउनुहुन्थ्यो। हामी टेबलटेनिस र ब्याडमिन्टन धेरै खेल्थ्यौं। आईए पढ्दा मैले खेल जितेर पुरस्कार ल्याउँदा बुवा औधी खुसी हुनुभयो।

बुवा हामीसँग ठट्टा पनि गर्नुहुन्थ्यो। हिजोआज पनि उहाँ रेला ठट्टा गरिरहनुहुन्छ। उहाँ हामीलाई काँधमा बोकेर कुदाउनुहुन्थ्यो र जहाजजस्तै उडाउनुहुन्थ्यो। हामीलाई उहाँका औंला पड्काउन लगाउनुहुन्थ्यो। त्यसबापत हामी पैसा पनि पाउँथ्यौं। कहिले भने हिसाबमै मात्र सीमित हुन्थ्यो। मेरो यति भयो है, भनेर हिसाब गर्दागर्दै बिर्सिन्थ्यौं। उहाँ सुतेर हामीलाई ढाडमा कुल्चिन लगाउनुहुन्थ्यो। बुवा हाम्रा लागि बाहिरबाट फर्किंदा चकलेट लगायतका खानेकुरा ल्याउन बिर्सिनुहुन्नथ्यो। हामी कति बेला बुवा आइपुग्नुहुन्छ भनेर गेटमा कुरेर बस्थ्यौं। उहाँ आफैं पोको फुकाएर सबैलाई बाँडिदिनुहुन्थ्यो। बुवाले हामीलाई दसैंको समयमा र विदेश गएका बेला कपडा ल्याइदिँदा हामी साँच्चै खुसी भएर नाच्थ्यौं।

हाम्रो घरमा नेवारी भाषामा स्वस्थानी कथा भन्ने चलन थियो। कहिले बुवाले त कहिले हजुरबुवाले कथा भन्नुहुन्थ्यो। पछिपछि बुवाकै करले हामीले पनि कथा भन्न सिक्यौं र अरूलाई सुनाउन थाल्यौं। हाम्रो कथा भन्ने पालो आइपुग्न धेरै दिन कुर्नुपर्थ्यो। त्यसमा महत्वपूर्ण कुरा के थियो भने कथा भन्नेका लागि विशेष प्रसाद छुट्याइएको हुन्थ्यो।

बुवाले हामीलाई कहिल्यै गाली गर्नुभएन। कोर्सको र कोर्स बाहिरका किताब पढ्नलाई जहिल्यै उक्साइरहनुभयो। बेलुका घरमा आएर पढेको कुरा सुनाउन लगाउनुहुन्थ्यो। एकपटक फेरि ध्यानपूूर्वक पढ भन्नुहुन्थ्यो। हिजोआज पनि किताब, पत्रिका पढ्न र केही लेख्न हामीलाई उक्साइरहनुहुन्छ। हामी सानो हुँदा तिमीहरू पनि केही लेख म छापिदिन्छु र पैसा पनि दिन्छु भन्नुहुन्थ्यो। तर, हामीले प्रयास गर्दा पनि लेख्न सकेनौं। हिजोआज उहाँ हामीलाई तिमीहरूको जिन्दगी केही नगरी खाएर मात्र बित्यो भनेर व्यंग्य गर्नुहुन्छ।

२०३१ सालमा बीए पढ्दापढ्दै २३ वर्षमा मेरो विवाह भीमफेदीमा भयो। केही वर्षअघि म जागिरबाट अवकाश भएपछि भीमफेदीका भीमसेनको कथा लेखेर ल्याउनु भन्नुभएको थियो। मैले लेखेर देखाएँ। ‘एउटा कथा लेख्न तिमीहरूलाई तीन वर्ष लाग्छ। यसरी नै लेख्ने गर’ भन्नुभयो। बुवा हामीलाई जात्रा, पर्व हेर्न हात समाएर लैजानुहुन्थ्यो। बुवाको हात समाएर दसैंको समयमा हनुमानढोका र विभिन्न कार्यक्रममा नाचघर गएको याद आइरहन्छ।

बुवा चीनमा रहेको बेला मैले पनि एक वर्ष सँगै बस्ने मौका पाएँ। भर्खर एसएलसी दिएकाले म त्यति बेला फुर्सदिली पनि थिएँ। चीनमा पहिलोेपटक टीभीमा मान्छे बोलेको देख्दा म छक्कै परेकी थिएँ। त्यहाँ बस्दा म चिनियाँ भाषा निकै जान्ने भइसकेकी थिएँ। तर, अभ्यास नभएपछि भाषा हराउँदो रहेछ।

बुवा कसैको चित्त दुखाउनुहुन्न। सबैलाई बराबर व्यवहार गर्नुहुन्छ। मीठो बोल्नु हुन्छ, तडकभडक गर्नुहुन्न। सधैं दौरा सुरुवाल लगाउनुहुन्छ। कपडाको टोपी सिलाएर लाउनुहुन्छ। हजुरआमा खसेपछि छालाको जुत्ता लगाउन पनि छाड्नुभयो। खानेकुरामा उहाँले मन नपराउने भन्ने कुनै कुरै छैन। आजसम्म खाना खाँदा यो भएन भनेर दोष लगाएको पनि याद छैन। उहाँलाई दूध सधैं चाहिन्छ। हामी भेला भएको बेला आफू खाइसकेर उठेपछि अलि मीठो पारेर खाओ है भन्नुहुन्छ।

म बुवाको माइली छोरी। बुवाका नजरमा हामी अहिले पनि केटाकेटी नै छौं। ९९ वर्षको हुँदा पनि हामी माइतबाट निस्कँदा होस् वा कतै जाँदा, राम्रोसँग जानु गाडीले ठोक्काउला भन्नुहुन्छ। कसरी, केमा, कोसँग आयौ भनेर सोध्नुहुन्छ। म आफ्ना नानीहरूलाई पनि हजुरबुवाको जीवनबाट सिक्न भनिरहन्छु।

म काठमाडौं आएका बेला कहिलेकाहीँ बुवासँग कार्यक्रमहरूमा जान्छु। त्यहाँ मानिसहरूले बुवालाई सम्मान गरेको देखेर आफैं छक्क पर्छु। मानिसहरूले तपाईंहरू कति भाग्यमानी हगि ! सय वर्षका बुवाआमाका साथमा हिँड्न पाउनुभएको छ भन्दा खुसीले केही उत्तरसमेत दिन सक्तिनँ।

बुवा यो उमेरमा आइपुग्दा पनि आफ्नो भने ख्याल गर्नुहुन्न। कोही आयो, कतै जान पर्‍यो भने खाँदाखाँदैको चिया, भात छाडेर हिँड्नुहुन्छ। उहाँ घर फर्कनेको टुंगो हुँदैन, उतैबाट अर्को कार्यक्रमसमेत भ्याएर आउनुहुन्छ। खाए नखाएको पनि बिर्सिनुहुन्छ। पहिलेपहिले कहिलेकाहीँ यस्तै कुरामा आमासँग बुवाको सामान्य ठाकठुक पनि हुन्थ्यो। तर, बुवाले ठट्टा गरेरै आमालाई रिसाउन दिनुहुन्नथ्यो।

बुवा लोभ गर्नुहुन्न। उहाँ आश पनि गर्नुहुन्न। जस्तोसुकै अवस्थामा पनि उहाँको फुर्किने बानी छैन। आजकल महानगरपालिकाले बुवालाई गाडी लगायतको सुविधा दिएको छ। यसले हामीलाई खुसी लागेको छ। बुवा मेरो जीवनको आदर्श हुनुहुन्छ र गुरु पनि। म उहाँबाट आज पनि जीवन र जगत्बारे सिकिरहेकी छु। सांस्कृतिक अभियन्ता बुवाको जीवनशैली र तपस्या नै सबैका लागि प्रेरणास्रोत बन्न सक्छ।


(समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित)

http://annapurnapost.com/news/107696

No comments: