Sunday, January 17, 2021

दबूप्याखंमा दुर्गालाल




 आर मानन्धर

२०७५ चैत ३० शनिबार ०८:४९:००

दबूप्याखंमा दुर्गालाल

दुर्गालाल श्रेष्ठ कवि हुन् भन्ने सबैलाई थाहा भएकै कुरा हो, तर उनी नाटककार पनि हुन् भन्ने नेवार घेराबाहिर थोरैलाई मात्र थाहा होला । कारण यो पनि हो– उनले कविता र गीत नेपालीमा पनि लेखे, तर नाटक भने नेपालभाषामा मात्रै लेखेका छन् । वास्तवमा उनले कविता वा गीतभन्दा पहिला नाटक नै लेखेका थिए, त्यो पनि एघारै वर्षको उमेरमा । त्यसवेला टोलका केटाहरू मिलेर डबली–नाटक (दबूप्याखं) बनाउँथे । उनको टोल न्हाय्कंटोलका केटाहरू मिलेर बनाएको ‘प्रेम जीवन अन्धकार’ नाटकका लेखक बन्न पुगे, सानै उमेरमा । त्यो नाटक लोकप्रिय भयो र महिना दिनसम्म पनि चल्यो । त्यसपछि त उनले एकपछि अर्को गर्दै नाटक लेख्दै गए, नाटकमा खेल्दै गए । अनि त उनको सिंगो युवाकाल नाटककै रमाइलोमा चुर्लुम्म डुबेर बित्यो । यतिसम्म कि नाटकको नशा चढेकै कारण उनको पढाइ पनि छुटेको थियो ।

दुर्गालाल श्रेष्ठको नाटकमा गहकिलो अनुसन्धान गर्ने माधवलाल प्रधानको शोधग्रन्थअनुसार उनको डबली नाटकको निरन्तरतामा ‘पश्चात्ताप’ २०११ सालमा र ‘त्याग’ २०१४ मा प्रदर्शित भए । त्यसपछि उनको कलम गीतिनाटकतर्फ मोडियो । ‘स्वय्नगु’  नेपालभाषाकै पुरानो गीत (बाखं म्ये) मा आधारित नाटक हो । पाटन संयुक्त क्याम्पसमा यसको प्रदर्शन हुँदा सिद्धिलाल सिंहलगायत तत्कालीन कमरेडहरूले यसमा खेलेका थिए । ‘कचिमचाया बाखं’ उनको अर्को गीतिनाटक हो । त्यस वेलासम्म दुर्गालालमा सामाजिक राजनीतिक चेतना राम्ररी आइसकेको स्पष्ट हुन्छ । किनभने ‘कचिमचाया बाखं’ राजा रणबहादुर शाहले गरेको उपत्यकाका जनतामाथिको अत्याचारको बखान र विरोधको कथा हो । देवकोटाको ‘मुनामदन’  र माधवप्रसाद घिमिरेको ‘राजेश्वरी’ नेपालभाषाका गीतिकथा क्रमशः ‘जि वया ला लछि मदुनि’ र ‘महारानी बिज्यालक्ष्मी’मा आधारित भएजस्तै दुर्गालालको ‘कचिमचाया बाखं’ पनि नेपालभाषाकै गीतिकथा ‘सितलामाजुया म्ये’ मा आधारित हो । ‘कचिमचाया बाखं’ नाट्यकृति आज हराइसकेको भए पनि दुर्गालालसँगको कुराकानीबाट त्यसमा तत्कालीन राजा रणबहादुर शाहले आफ्नो छोरालाई बिफर आउँला भनेर उपत्यकाभित्र बिफर आएका सम्पूर्ण बालबालिकालाई तामाकोसी कटाएको कथा त्यसमा छ । अनि राजाको उर्दीमा सिपाहीले गरेका अत्याचार र तामाकोसीपारि जानुपरेका आमाबुबा र बालबालिकाको भयावह दुःखको वर्णन छ । राजाको आलोचना त ‘सितलामाजुया म्ये’ मै पनि छ :
स्वामी जुजुया धर्म मदयाः कचिमचा वाकेछ्वत
वनेमाल तामाखुसि पारि
नेपालया क्षत्रपति श्री रणबहादुर
प्रजान अति दुःख सिल
अर्थात्
स्वामी राजाको धर्म नभएर बिफर आएका बालक धपाए
जानुप-यो तामाकोसीपारि
नेपालका क्षत्रपति श्री रणबहादुर राजा हुँदा
प्रजाले अति दुःख पाए 

दुर्गालाल आफंँसित यस कृतिको कुनैप्रति नभए पनि सोधखोज गरेमा त्यसवेला नाटकमा गीत गाएका इन्द्रनारायण मानन्धरलगायत गायक, कलाकारबाट केही अंश भेट्ने आस गर्न सकिन्छ । जनताले भोगेको इतिहासको अंश भएको कारणले पनि यसमा अनुसन्धान गर्न आवश्यक छ ।

कवि भएकै कारण होला, दुर्गालालको नाटककार व्यक्तित्व गीतिनाटकमा सबभन्दा निखारिएको छ । उनका उपलब्ध गीतिनाटकहरू ‘बिहांचुलि’, ‘श्रीमती’ र ‘निमन्त्रणा’ हुन् । ‘बिहांचुलि’ राष्ट्रवादी नाटक हो भने ‘श्रीमती’ र ‘निमन्त्रणा’ बुद्धकालीन कथामा आधारित छन् । ‘श्रीमती’ र ‘निमन्त्रणा’ का अडियो क्यासेट पनि प्रशस्त बिक्री भएको थियो, घर–घरमा बजाइएको थियो ।

गीतिनाटक ‘श्रीमती’को कथा राजा अजातशत्रुको जीवनको हो । देवदत्तको लहलहैमा आफ्नो बुबाको हत्या गरेर भगवान् बुद्धको विरोधमा उनी लागेका थिए । भिक्षुहरूको हत्या पनि गराएको बीभत्स दृश्य यसमा छ । तर, उनै अजातशत्रुकी एउटी श्रीमती भने बुद्धकै अनुयायी हुन्छन् । उनले राजाज्ञाको बाबजुद पनि आफ्नो निष्ठा छाड्दैनन् । यही द्वन्द्वमा कथा अघि बढ्दै अन्त्यमा अजातशत्रु बुद्धको शरणमा गएको दृश्यमा नाटक टुंगिन्छ । यसमा तलवार बलियो त छ, तर एकदिन त्यसमा खिया लाग्छ । आस्थामा भने खिया लाग्दैन । हेर्दा धार्मिक नाटक भए पनि यस नाटकले आस्थाले तलबारलाई जित्छ भन्ने सन्देश दिएको छ । यस्तै कारणले पनि होला, तत्कालीन शासकहरू नेपालभाषामा लेखेका भजनदेखि पनि डराउँथे ।

‘निमन्त्रणा’ त्यसवेलाको अत्यन्तै लोकप्रिय गीतिनाटक हो । २०२५ सालमा राष्ट्रिय नाचघरमा प्रदर्शन हुँदा निरन्तर २५ भन्दा धेरै दिनसम्म चलेको थियो । घर–घरबाट पूरै परिवार नाचघरमा पुगेका थिए । धेरै चलेको देख्दा दरबारको निर्देशनमा हल उपलब्ध नगराउन अनेक षड्यन्त्रहरू भए । यसमा भगवान् बुद्धकै शिष्य आनन्द र नगरवधू वासवदत्ताको कथा छ । यो कथा दुर्गालाललाई नेपालभाषाकै अर्का सशक्त नाटककार भिक्षु सुदर्शन महास्थवीरले सुनाएका थिए । साथै, केही–केही दृश्यविधान पनि यस्तो हुनुपर्छ भनेर सघाएका थिए । सो कथाले दुर्गालालको भित्री मनलाई यति खिचिराख्यो कि दशकौँपछि फेरि उनी सोही कथामा ‘भिक्षुया मतिना’ (भिक्षुको प्रेम) भनेर खण्डकाव्य पनि सिर्जना गर्नपुगे ।

सो नाटकमा बुद्धका सबभन्दा नजिकका शिष्य आनन्दप्रति त्यस वेलाका नगरवधू वासवदत्ताको एकतर्फी आकर्षणको कथा छ । भिक्षु पहिरनमा पनि आनन्दको शरीर मनमोहक देखिन्थ्यो । आनन्दको रूप देखेर वासवदत्ता अत्यन्तै लोभिएका थिए । त्यसवेला एकाबिहानै आनन्दलाई भिक्षाटन गरिरहेको देखेर हतारहतार वासवदत्ता भिक्षा दिन जान्छिन् र उनको कोठामा निम्त्याउन पनि भ्याउँछिन् । भिक्षु आनन्द ‘समय भएपछि आउँछु’ भनेर जान्छन् । वासवदत्ता ‘रात परेपछि आउँछु’ भनेको सम्झिन्छिन् र उनी राजकुमारहरूलाई समय नदिई आनन्दलाई कुरिबस्छिन् । तर, आनन्द आउँदैनन् । आनन्द त भिक्षु हुन्, रातको समयमा नारीको घरमा जान्थे पनि कसरी ?

एकसेएक राजकुमारहरू आफ्नो घरमा धाउने, तर आफैँले त्यति सम्मान दिएर बोलाउँदा पनि लत्याएकोमा वासवदत्ता रिसले चूर हुन्छिन् । उनले ‘यी भिक्षुहरू झुटा हुन्’ भनेर भिक्षाटनमा आएका भिक्षुहरूलाई मानिस लगाएर बाटैमा ढुंगाले हिर्काउन लगाउँछिन् ।

उमेरसँगै वासवदत्तामा भएको रूप हराउँछ । उनको ठाउँमा अर्को नगरवधू फेरिन्छे । उनी सडकमा पुग्छिन्, रोगी हुन्छिन् । अन्त्यमा कुष्ठरोगले ग्रसित भई सबैबाट दुत्कारिँदै उनी मसानमा पुग्छन् । एकदिन रुँदै बसिरहेकी उनका अगाडि भिक्षु आनन्द आउँछन् र भन्छन्, ‘लौ समय भयो, अब म आएँ ।’ वासवदत्ता आफ्नै आँखालाई नपत्याएर हेर्छिन्— उही भिक्षु आनन्द !

वासवदत्ता रिसाउँदै कराउँछिन्, ‘जुन वेला मसँग सबैथोक थियो, तिमी आएनौ । अब के मलाई जिस्क्याउन आएको ?’
आनन्दले उनलाई रूप र यौवनको अनित्यताबारे सम्झाए । सुनेर वासवदत्ताको मन केही शान्त भयो । अनि आनन्दले भने, ‘म तिमीलाई लिन आएको । बुद्धको संघ तिमीलाई स्वागत गर्छ ।’ वासवदत्ता बुद्धको शरणमा जान्छिन् र भिक्षुणी बन्छिन् ।
त्यस नाटकमा यस्तो पंक्ति पनि छ :
राजमहलया न्ह्यैपु बजारय्
थःत मियाः ल्यां वै च्वंम्ह
गुलि दु लबः धा मुंका हैगु
अय् यौवनया बंजाः छं ? 
अर्थात् ः
राजमहलको रम्य बजारमा 
बेची आफू फर्किरहेकी
कति नाफा भन लाग्यो हातमा
यौवनकी ए व्यापारी

गीतिनाटकपछि एकांकीको लहर चल्यो । उनले १७ वटा एकांकी लेखेको देखिन्छ, जसमध्ये चौधवटा एकांकी ‘प्याखंपिचा’मा संगृहीत छन् । तीनवटा एकांकी ‘उद्घाटन’, ‘मातंक्वथा’ र ‘भावना’ भने हाल कतै उपलब्ध देखिँदैनन् । 

‘भावना’ भन्ने नाटक लेखनको पृष्ठभूमि रमाइलो छ । दुर्गालाल आफैँले सुनाएअनुसार त्यसवेला (पञ्चायत कालमा) जुलुस हडताल भइरहेको थियो । कन्यामन्दिर विद्यालयअगाडि पुलिसले लाठीचार्ज गरेको र टियरग्यास छाडेका कारण मानिसहरू दौडादौड गर्दै थिए । दुर्गालाल र अरू शिक्षकहरू विद्यालय परिसरभित्र थिए । त्यसैवेला एउटा सानो केटाले अर्को केटालाई समातेर तान्दै ल्याएको देखियो । त्यस्तो दृश्य देखेर उनीहरूले डर छोडेर विद्यालय बाहिर गई ती केटाहरूलाई विद्यालयभित्र ल्याए । जुन केटालाई घिसार्दै ल्याइएको थियो त्यसको खुट्टामा चोट लागेको थियो । सोघपुछबाट के थाहा पाइयो भने ती दुई केटाहरू साइनो नपर्ने मात्र होइन कि एक–अर्कासित परिचित पनि थिएनन् । अनि किन समात्दै ल्याएको त भनी सोध्दा त्यो ल्याउने केटाले ‘भागदौडमा चोट लागेको केटालाई अरूले कुल्चेला’ भनेर ल्याएको भनेर जवाफ दियो । त्यो जवाफ सुनेर उनीहरू सबै चकित भए । अनि आपसमा कुरा गर्न थाले, ‘देश बनाउने भनेर आन्दोलन गर्ने नेताहरू कसैलाई वास्ता नगरी भागाभाग गरिरहेका छन् । कसैले कसैलाई वास्ता गर्ने फुर्सद पनि छैन । तर, त्यो बालकको भावना हेर, आपूmले चिन्दै नचिनेको एउटा केटालाई पनि त्यत्रो डरलाग्दो भागदौडको बीचमा सकीनसकी तान्दै बचाउँदै ल्याइरहेको छ ।’ एउटा बालकमा पनि कति ठूलो भावना, कति ठूलो  कर्तव्यबोध ! यसै घटनाबाट प्रभावित भई दुर्गालालले सो नाटक लेखेका थिए ।

दुर्गालालले आफ्नो एकांकी नाटकहरूमा मातृभाषा प्रेम, नारी समस्या, राजनीति, विद्यार्थी आन्दोलन आदि समेटेका छन् । तिनमा ‘तर इतिहास न्ह्यानांच्वनी’ (तर इतिहास अघि बढ्दै गर्छ) प्रत्यक्ष राजनीतिक विषयको नाटक हो, जसको पृष्ठकथा रोचक र मर्मस्पर्शी छ । सन्ध्या टाइम्स (नववर्ष अतिरिक्तांक, ने.सं. ११२४) का लागि कवि सुरेश किरणसँगको कुराकानीमा दुर्गालाल श्रेष्ठ नाटकको वास्तविक कथा बताउँछन् :

मोतीगुर्जु एकजना पक्का वामपन्थी कार्यकर्ता थियो । तर, परिस्थितिको कारणले सरकारको ऊ गुप्तचर हुनुप¥यो । वामपन्थी कार्यकर्ता भइरहेको बखत ऊ जेल पर्छ । सबैलाई कसैनकसैले भेट्न आउँछन् । तर, उसलाई भेट्न कोही आउँदैन । एकातिर यसले उसमा निराशा जागिरहेको थियो भने अर्कोतिर आफ्नै पार्टीको एकजना नेताले पार्टीकै पैसाले स्वास्नीको नाममा जग्गा किन्यो भन्ने सुनिन्छ । यसले उनलाई किंकर्तव्यविमूढ बनाइदिन्छ, अनि त्यस नेतालाई मार्ने उद्देश्य बनाई आत्मसमर्पण गरी सिआइडी बनेर जेलबाट निस्किन्छ । ऊ पेस्तोल लिएर त्यो कपटी नेताको घर पनि पुगेको थियो, तर भाग्यले त्यो नेता छानाबाटै भाग्न सफल हुन्छ ।

एक दिन उसलाई सिआइडी हेडक्वार्टरबाट बोलावट आउँछ र एकजना नेताको घरमा छापा मार्न जानुपर्ने हुन्छ । प्रहरीसँगै गई छापा मार्न जाँदा त्यस वेला अन्डरग्राउन्ड बसेका नेता शम्भुराम श्रेष्ठको घरमा पो पर्छ । शम्भुराम श्रेष्ठ उनका आदर्श पात्र थिए । कस्तो विडम्बना, आपूmलाई मन नपर्ने नेतालाई मार्न सिआइडी हुन गएको ऊ आफ्नो प्रियपात्रलाई समात्न बाध्य हुन्छ । यो कथा उनलाई मोतीगुर्जुले नै छाती भारी बनाएर सुनाएका थिए ।

अर्को एकांकी ‘व मिसा’ (त्यो महिला) नारी साहसको कथा हो । नाटकमा खेल्ने महिलालाई त्यस वेला समाजले राम्रो आँखाले हेर्दैनथ्यो । यस नाटकमा एउटा कलाकार महिला र एउटा पुरुषबीच प्रेम हुन्छ । तर, महिला कलाकार भएकै कारण आफ्ना प्रेमीको बुबाले भिœयाउन मान्दैनन् । अन्ततः प्रेमीले आफ्नो बुबा नमानेको कारण प्रेमिकालाई छोडिदिन्छ । यो धोकापूर्ण व्यवहारले गर्दा ती महिला मर्माहत हुन्छिन् । तिनले अठोट लिन्छिन्– म एक दिन यही घरको बुहारी बनेर आउनेछु । नभन्दै एक दिन तिनी पूर्वप्रेमीको दाइको दुलही भएर भित्रिन्छिन् । यो एउटा सम्भ्रान्त परिवारमा भएको घटना हो । प्रेमीका बुबा समाज सुधारक भनेर पनि चिनिन्छन्, जुन आफैँमा एउटा व्यंग्य हो ।

एकजना भकभकाउने व्यक्तिले कलाकार हुने इच्छा प्रकट ग¥यो । अब भकभकाउनेलाई कसरी मञ्चमा प्रस्तुत गर्ने ? दुर्गालालले एउटा उपाय सुझाए । उनले आफ्नो नाटकमा एउटा पात्र बोल्नै नपर्ने राजकुमार सिर्जना गरे । पछि त त्यो कलाकार ‘नबोल्ने राजकुमार’को नामबाट दर्शकमाझ लोकप्रिय भयो ।

अचम्मको कुरा यो ‘त्यो महिला’ नाम गरेको नाटकमा महिला कहीँ देखा पर्दिन । मात्रै पुरुष कलाकारहरूको संवादबाट त्यस साहसी महिलाको कार्यकलाप बुझिन्छ । यसलाई अंग्रेजीमा ‘थिएटर गाइडेड ड्रामा’ भनिन्छ । सोह्रौँ शताब्दीका विश्वप्रसिद्ध अंग्रेजी नाटककार विलियम सेक्सपियरले पनि त्यसवेला नाटकमा महिला कलाकार पाउन गाह्रो हुने भएकाले यस्तै व्यवस्था ‘मर्चेन्ट आफ भेनिस’ नाटकमा गरेका थिए । त्यसमा महिला पात्रले पुरुषको भेष बदलेको प्रसंग छ, जसले गर्दा महिला पात्र नै मञ्चमा उभ्याउन परेन । त्यस्तै, अर्को एउटा सन्दर्भमा एकजना भकभकाउने व्यक्तिले कलाकार हुने इच्छा प्रकट ग¥यो । अब भकभकाउनेलाई कसरी मञ्चमा प्रस्तुत गर्ने ? दुर्गालालले एउटा उपाय सुझाए । उनले आफ्नो नाटकमा एउटा पात्र बोल्नैनपर्ने राजकुमार सिर्जना गरे । पछि त त्यो कलाकार ‘नबोल्ने राजकुमार’को नामबाट दर्शकमाझ लोकप्रिय भयो ।

उनको अर्को अनुपलब्ध नाटक ‘मातं क्वथा’ (मटानको कोठा) हो । यो उनकै चोकमा घटेको घटनामा आधारित नाटक हो । उनको चोकमा एकजना पढेलेखेको भनाउँदो मान्छेको घर थियो । त्यो मान्छेलाई पढाउन उसका आमा र भाइले निकै मिहिनेत गरेका थिए । उनीहरूको कमाइबाटै उसले अत्यन्तै गरिब परिवारमा जन्मेर पनि उच्च शिक्षा हासिल गर्न पाएको थियो । भाइ आफू नपढेको भए पनि दाइले पढेकैमा गर्व गथ्र्यो । तर, बिहे गरेपछि श्रीमतीको कुरा सुनेर ऊ घरबाट छुट्टिएर भिन्नै बस्न गयो । यो घटनाले दुर्गालाललाई नराम्ररी छोयो । दुर्गालालले कलेजको पढाइ त पहिला नै छाडेको थिए । तर, विद्यालयमा शिक्षकमा कार्यरत रहँदा पुनः एकपटक आइएको परीक्षा दिन उनले पढ्न थालेका थिए । यस घटनाबाट उनलाई लाग्यो– पढेर यस्तै मान्छे बन्नु छ भने के पढ्नु ? अनि उनले फेरि कहिल्यै औपचारिक शिक्षातर्फ फर्केर हेरेनन् ।

आफ्नो नाटकबारे उनी भन्छन्, ‘मैले नाटक लेख्ने भनेको यस्तै–यस्तै आफ्नै वरिपरिका घटनाबाट प्रभावित भएर हो । खासमा मैले कुनै नाटक पनि आफ्नो हातले लेखेको छैन । प्रदर्शनका लागि नाटक आवश्यक भएका कलाकारहरू अनुरोध गर्न आउँछन् । म भावमा डुब्दै संवाद ओकल्छु, कराउँछु, चिच्याउँछु । उनीहरू त्यसलाई कापीमा टिप्छन् । त्यसरी उनीहरूका लागि नाटक बन्छन् । यही कारणले पनि नाटकको प्रति मसँग हुँदैन । आफ्नै साधनाले भन्दा अरूको करको भरमा लेखिएको हुनाले दुर्गालालले कतैकतै आफ्ना नाटकका पात्रप्रति अन्याय पनि गरेको छ । आफू भावुकतामा डुब्दा कतिपय पात्रलाई नाटकको पात्र नभई दुर्गालालै पनि बनाएको छ । त्यसैले मैले साँच्चिकैको नाटक लेखेकै पनि छैन कि ?’ 

(आर मानन्धर नेपालभाषाका लेखक हुन् र उनले साहित्यकार दुर्गालाल श्रेष्ठको जीवनी र कृतिमा शोध गरेका थिए । यो आलेख सोही शोधग्रन्थमा आधारित हो ।)

https://jhannaya.nayapatrikadaily.com/news-details/126/2019-04-13

No comments: