Sunday, January 17, 2021

एकादेशको तेलकोल !

 शान्ति तामाङ

२०७६ फाल्गुण ३ शनिबार ०७:४६:००

एक सय १२ वर्ष भयो मंगलनारायण मानन्धरको तेलकोल अर्थात् मिलको उमेर । मानिस बूढो भएसँगै निष्क्रिय हुँदै गएजस्तै भएको छ, उनको तेलकोलको अवस्था पनि ।  एक समय बिहान ३ बज्दा नबज्दै मानिसको घुइँचो लाग्थ्यो । दाउरा बेच्न र तेलसँग साटफेर गर्न ढोकामा ढुक्नेको जमात ठूलो हुन्थ्यो । तेलको माग पुर्‍याउन हम्मेहम्मे पथ्र्यो । तेल लिन आएका धेरैलाई फर्काउनुपर्ने अवस्था थियो । अचेल यो सब एकादेशको कथा भयो– प्याफलमा रहेको मंगलनारायणको तेलकोलका लागि ।

त्यो मात्र होइन, उनकै तेलकोल भएको घरमा तीर्थबहादुर मानन्धरको एउटा कुनामा र विष्णुबहादुर मानन्धरको अर्को कुनामा उस्तै चल्ने तेलकोलको अंश पनि भेटिँदैन । उनीहरू कोल चलाउन र तेल बिकाउन नसकेपछि त्यो पेसै छाडेर लाखापाखा लागिसके । ‘तेल बिक्न छाड्यो । तोरी पाउन छाड्यो । काम गर्ने मानिस पनि पाउन छाड्यो,’ मंगलनारायणले प्रश्न गरे, ‘अनि कसरी कोल चलाएर बस्नु ?’ 

प्याफलको तेलकोलको कथा साँघुरिँदै गएको छ । टोलभर रहेका आठवटा तेलकोल अचेल दुईवटामा सीमित भएका छन् । ती पनि कुन दिन बन्द हुन्छन्, कुनै ठेगान छैन । मंगलनारायणको यो कोल पनि कुन दिन बन्द हुने हो पत्तो छैन ।  ‘मेरा पुर्खाबाट सुरु भएको यो कोल । अब मपछि तेलकोल चलाउने कोही छैन । म पनि ५० नाघिसकेँ । अब बन्द नै हुन्छ होला,’ मंगलनारायणले भने । टोलभरि मगमग बास्ना आउने गरी दैनिक चल्ने उनको कोल अहिले महिनाको १० दिनजति मात्रै चल्छ । अझै याद छ, मंगलनारायणलाई दैनिक तीन सिफ्टमा काम गरेको । 

‘पहिला बिहान ३ बजेदेखि आगो बालेर तोरी भुट्न सुरु हुन्थ्यो । त्यो टोलीले ९ जति बजाउँथ्यो । त्यसैगरी राति ११ बजेसम्म तेलकोल चलि नै रहन्थ्यो । तीन सिफ्ट चल्थ्यो,’ मंगलनारायणले भने, ‘अहिले त महिनाको १० दिन कोल चलाउँदा पनि तेल बिक्दैन । घाटा लाग्छ ।’ विसं १९६२ मा उनका हजुरबुबाले कोल सुरु गरेका हुन् । उनलाई बाजेको पालादेखिको कोल भन्ने स्मरण छ । उनका हजुरबुबापछि यही कोल उनका बुबा र मामाले आठ–आठ दिन गरेर चलाउँथे । उनका बुबाले चलाइरहेको कोलमा मंगलनारायणका दाजुको पनि साथ थियो । तर, दाजु कृष्ण मानन्धर यस्तै कोल चलाउँछु भन्दै पाटनतिर लागे । पाटनमा चलाएको उनको दाइको त्यो कोल उहिल्यै बन्द भयो । 

मंगलनारायणजस्तै काठमाडौं महानगरपालिका १९ मा रहेको प्याफलका धेरै मानन्धरले तेल उत्पादन गरेर जीविका चलाउँथे । १२ सय घरधुरी रहेको वडामा नेवार समुदायका शाही, महर्जन र मानन्धरको बाहुल्य छ । अधिकांश मानन्धरले तेलकोल चलाएर जीविका चलाउँथे । जीविकोपार्जन गर्ने पेसाका रूपमा सुरु भएको तेलकोल अहिले झन्डै–झन्डै लोप हुने अवस्थामा छ । 

पहिला नेवारहरूको आ–आफ्नो काम थियो । शाक्य, महर्जन, मानन्धर र शिल्पकारको आ–आफ्नै काम थियो । अहिले सबै लोप हुँदै गयो । ती काम गर्न अहिलेको पुस्तालाई ज्ञान पनि छैन । अब नेवारहरूले पनि लोकसेवा लडेर जागिर नखाने हो भने काठमाडौंबाट पलायन भए हुन्छ ।

जीविकोपार्जन बनेको कोल किन हरायो त ? ‘यो बिस्तारै लोप हुनुको कारण छ । बजारमा भटमासको तेल आयो । काँचो तोरीको तेल प्रचलनमा आयो । सूर्यमुखीको तेललगायत अन्य के–के तेल मानिसले प्रयोग गर्न थाले,’ उनले भने, ‘कालो रंगको देखिने यो तेलमा पहिला तरकारी साँधेर, भुटेर खान्थे । अहिले माछा, मासु भुट्नका लागि तोरीको तेल काम लाग्न छाड्यो । किनभने तोरीको तेलले राम्रो देखिँदैन । कालो देखिन्छ । महँगो पनि पर्छ । त्यसैले यो लोप हुँदै गएको हो ।’ साढे चार सय केजी तोरीको जम्मा २४ पाथी तेल निक्लिन्छ । काँचो तोरीको तेल बनाउँदा दोब्बर निस्किन्छ । काँचो तोरीको तेल एक लिटर एक सय १५ रुपैयाँमा पाउँछ । भुटेको तोरीको तेलको एक सय ५० पर्छ । 

तेलका लागि आवश्यक कच्चापदार्थको पनि त्यस्तै समस्या छ । पहिले काठमाडौं, चितवन, सर्लाही, नेपालगन्जतिर तोरी पाइन्थ्यो । अहिले तोरी पाइन छाड्यो । क्यानडा, भारतदेखिको तोरी आउन थाल्यो । त्यो पनि महँगो । ‘आमा–बाले पहिला तेलकोल चलाउँदा तोरी किन्नका लागि म आफैँ जान्थेँ । नेपालगन्ज, चितवनबाट धेरै तोरी आउँथ्यो । अहिले नेपालमा तोरी छैन । विदेशबाट आउने तोरीबाट तेल बनाउँछौँ,’ उनले भने । 

कोल चलाउने अरू मानन्धर पनि नभएकाले रैथाने पेसाको रूपमा रहेको तेलकोल हराउँदै जान थालेको हो । ‘तोरीको तेल अन्य तेलभन्दा अलि महँगो हुन्छ । त्यसैले मान्छेले भुटुवा तोरीको तेल खान छाडे । काँचो मात्र धेरै प्रयोग गर्न थाले,’ उनले भने, ‘नयाँ पुस्तालाई आकर्षित गराउन नसक्नुको कारण पनि तोरी भुट्दा अलि फोहोरजस्तो देखिन्छ । पोखिएको पिना टाँसिन्छ । कालो दाग बस्छ । दाउरा–काठजस्तै गरी किन्ने, किनेर प्रयोग गर्दा धुवाँ, धुलो पनि उत्तिकै हुन्छ । अनि अहिलेको पुस्ताले कहाँ प्रयोग गर्छन् ?’

विविध समस्याका कारण उनलाई तेलकोल चलाउन गाह्रो छ । तैपनि पुर्खाले गरेको पेसा बाचुन्जेल गरौँ भन्ने उनलाई लागेको छ । ‘गर्न त म अरू काम पनि गर्छु । तैपनि पुर्खादेखिको पेसा किन चटक्कै छाड्नु भनेर काम गरिरहेको छु । बाँचुन्जेल गर्छु,’ उनले भने । उनी गाडी चलाउँछन् । नेवारी बाजागाजा बजाउँछन् । तैपनि पुर्खाको पेसालाई निरन्तरता दिइरहेका छन् ।

यही कारण महिनाको १० दिनजति चलाउन पनि उनले बाहिरबाट मान्छे खोजेर ल्याउनुपरेको छ । उनका बुबा लक्ष्मीनारायण मानन्धर र बेखामाया मानन्धरले अगाडि बढाएको पेसालाई उनका पुस्तामा आउँदा मान्छे खोज्नुपर्ने भएको छ । त्यसैले उनी अचेल नबिक्ने तेल किन धेरै बनाउनु भनेर कसैले बनाइदिन आग्रह गरे भने मात्र बनाउँछन् । होइन भने तेल नै नबनाई बसिदिन्छन् । ‘कसैले अर्डर गरे मात्र तेल बनाउँछु । होइन भने तेल नै बनाउँदिनँ । बनाएर राखेको तेल समयमै बिक्न सकेन भने बिग्रिन्छ,’ उनले भने । 

आफ्नो पुस्तौनी पेसा लोप हुँदै जाँदा निकै दुःख लागेको बताउने उनलाई सरकारले यसका लागि केही गरिदिए हुन्थ्यो भन्ने नलागेको भने होइन । ‘पहिला दिनमै ६७२ माना तेल बिक्थ्यो । त्यो पनि भाग पुग्दैनथ्यो । तेल लिनकै लागि मानिसहरू भाँडा छाडेर जान्थे । बिहान ३–४ बजेदेखि आएर लाइनमा बस्थे । त्रिशूली, रानीपौवा, असन, लामोसाँघुमा त तेल नै दिन सकिनँ । तर, आजकल त्यो अवस्था हरायो । भइरहेको पुख्र्यौली पेसा बन्द हुँदै जाँदा दुःख लाग्छ,’ उनले भने, ‘तर यसलाई राज्यले संरक्षण गर्न सक्छ । तोरीको तेल एक दिनमा यति किन्छु भन्नुपर्‍यो राज्यले । यो पेसाले मात्र होइन, स्वास्थ्यका हिसाबले पनि राम्रो छ ।’


मानन्धरको कुरामा समर्थन गर्छन्, वडा सदस्य चन्द्रमान डंगोल । उनी अब नेवार समुदायले लोकसेवा पास गर्न नसकेमा काठमाडौं छाडे पनि हुने अवस्था आएको बताउँछन् । ‘कच्चापदार्थको अभाव, तेल खपत नहुने परिस्थितिलगायत तेलकोल जोगाइराख्न देखिएका समस्या हुन्,’ डंगोलले भने, ‘पहिला नेवारहरूको आ–आफ्नो काम थियो । शाक्य, महर्जन , मानन्धर र शिल्पकारको आ–आफ्नै काम थियो । अहिले सबै लोप हुँदै गयो । ती काम गर्न अहिलेको पुस्तालाई ज्ञान पनि छैन । अब नेवारहरूले पनि लोकसेवा लडेर जागिर नखाने हो भने काठमाडौंबाट पलायन भए हुन्छ ।’

बुबा, आमा, मामा, दाइ हुँदै मंगलनारायणको काँधमा आइपुगेको तेलकोल चलाउने पुस्ता अब छैन । यसो भनौँ, अब काँध थाप्ने जमात हराएको छ । १५ जनाले तीन सिफ्टमा काम गर्ने कोल अहिले सुनसान छ । मगमग तेलको बास्ना आउने टोलमा अचेले ‘कोल थियो र ?’ भन्ने लाग्छ । नेवारी भोजमा बनाइने कचिला, छोइला र सागमा प्रयोग हुने तोरीको तेल हराउँदै गएको छ । तेलकोल एकादेशको कथा बन्न थालेको छ । 

https://jhannaya.nayapatrikadaily.com/news-details/827/2020-02-15

No comments: