Sunday, January 17, 2021

काठमाडौंबाट हराउँदै काठमाडौं


सुरेश किरण
२०७६ फाल्गुण १० शनिबार ०७:५४:००

 

घर, सडक, बजार त जहाँ पनि बनाउन सकिन्छ, तर ‘काठमाडौं’ जहाँसुकै बनाउन सकिँदैन

सहर

काठमाडौंमा कुनै पनि त्यस्तो नेता, प्रशासक वा शासक छैनन् होला, जसले काठमाडौंको विगत सम्झेर यसको वर्तमान कुरूप स्वरुपप्रति दुःख प्रकट नगरेको होस् । कुनै वेला अलकापुरी भनिने यो काठमाडौं नगर बिग्रिँदै–बिग्रिँदै आजको दयनीय अवस्थासम्म पुग्नुको कारण के हो त्यो सबैलाई थाहा छ– अव्यवस्थित सहरीकरण, दीर्घकालीन योजनाको कमी, नेताहरूको गैरजिम्मेवारीपन, प्रशासनको अनुत्तरदायी कार्य, जसरी हुन्छ काम चलाउने प्रवृत्ति आदि आदि । तर, अनौठो के छ भन्दा काठमाडौंलाई कुरूप बनाएकोमा अरूलाई सराप्दै गर्दा ती सराप्नेहरू पनि पुनः अर्को कोणबाट काठमाडौं फेरि पनि कुरूप बनाइरहेकै हुन्छन् । अहिले पनि राज्यका विभिन्न निकाय विकासका नाममा काठमाडौंलाई कुनै न कुनै रूपबाट अस्तव्यस्त बनाई नै रहेका छन् । त्यो क्रम अँझै  पनि रोकिएको छैन । 

काठमाडौं उपत्यकालाई अब थप बिग्रनबाट रोकौँ भनेर नै हो, अस्ति मंगलबार मात्रै माइतीघर मण्डलामा खोकनाका स्थानीयवासीले ब्यानरसहित धर्ना कसे । यदि आवश्यक प¥यो भने अनशन नै बस्न पनि उनीहरू तयार छन् । तर विडम्बना, काठमाडौंको अस्तव्यस्तताका लागि अरूलाई सराप्ने प्रशासकहरू नै ती प्रदर्शनकारीलाई विकासविरोधी भनेर आरोप लगाइरहेका छन् । 

अहिले काठमाडौंमा साना–ठूला विभिन्न आकारमा यस्ता धेरै अभियान र आन्दोलन चलिरहेका छन्, जसको एक मात्र उद्देश्य विकासको मुखुन्डो लगाएर आएका विभिन्न राजनीतिक–आर्थिक गतिविधिका कारण आफ्नो अस्तित्वको असामयिक सद्गति गर्न नपरोस् । फास्ट ट्र्याकको नाममा खोकना र बुंगमतीको खेतीयोग्य भूमि समाप्त पार्ने योजना, सडक विस्तारका नाममा सडक छेउमा रहेका घरहरू भत्काएर घरधनीलाई सुकुम्बासी बनाउने योजना, भूमि उपयोगका नाममा गुठीको जग्गालाई समेत सरकारमातहत ल्याउने लथालिंगे योजना, यी सबै त्यस्ता काम हुन्, जसले काठमाडौंलाई काठमाडौंबाटै गलहत्याएर बाहिर निकालिदिनेछ । यति निश्चित छ, आज काठमाडौंका स्थानीय जनताले उठाएका यी मागलाई नजरअन्दाज गरेर राज्य अघि बढ्यो भने राज्यले अहिले गरेको काम नै भोलिको पुस्ताले सराप्ने अर्को विषय बन्नेछ । 

काठमाडौंमा अहिले विकासका नाममा जे गतिविधि भइरहेका छन्, ती काठमाडौंलाई बनाउन होइन, बिगार्न भइरहेका काम हुन् । खासगरी गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौं जितिसकेपछि यहाँको भूमिमा जे–जस्ता काम गरे, त्यो काठमाडौंको मौलिकतालाई पटक्कै सुहाउँदो थिएन । पृथ्वीनारायण शाहले गोरखालाई छाडेर काठमाडौंलाई राजधानी बनाएकोमा उनलाई धन्यवाद दिनुपर्छ भन्नेहरू पनि छन् । किनभने राजधानी भइसकेपछि काठमाडौंको गरिमा र उन्नतिले गति समाए भन्ने उनीहरूको तर्क छ । तर, यथार्थमा पृथ्वीनारायण शाहले काठमाडौंको गरिमा र उन्नतिका लागि यसलाई राजधानी बनाएको होइन ।

पृथ्वीनारायण शाहले राजधानी बनाउनुअघि नै काठमाडौं गरिमामय विकसित सहर थियो । वि.सं. १४२८ मा स्वयम्भूमा राखिएको एउटा शिलापत्रमा काठमाडौंलाई ‘महानगर’ भनी सम्बोधन गरिसकेको पाइन्छ । पृथ्वीनारायण शाहले राजधानी बनाएको कारण काठमाडौं महानगर बनेको होइन, बरु यो उतिवेलै महानगर बनिसकेको कारणले यसलाई राजधानी बनाइएको थियो । यो उतिवेलै यति गतिशील नगर थियो कि यसलाई गोरखामा बसेर कजाउन असम्भवप्रायः थियो । स्वयम् पृथ्वीनारायण शाहलाई पनि गोरखाको राजा भन्दा पनि काठमाडौंको राजा बन्ने ठूलो रहर थियो । त्यसैले राजधानी यतै सारियो । 

‘एकीकृत’ नेपालको राजधानी काठमाडौं सारिएपछि भने यसले विकास होइन, अनेक खाले विनाशका शृंखला भोग्नुप¥यो । पृथ्वीनारायण शाहले आफ्ना सेना र कर्मचारीलाई तलबस्वरूप यहीँकै जग्गा बाँड्न थाले । त्यसपछि उनका सन्तानले आफ्ना लागि ठूला दरबार बनाउन पनि यहीँकै उर्वर भूमि प्रयोग गर्न थाले । पृथ्वीनारायण शाहका भाइ–भारदारले आफ्ना लागि सहरको बीच–बीचमै सामान्यभन्दा ठूला लाग्ने भवन बनाएको पाइन्छ । असन बालकुमारी, चिकंमुगल टोलमा केही पृथ्वीनारायण शाहकालीन दरबारिया भारदारले बनाएका ठूला घर अझै देखिन्छन् । 

नगरका रैथानेहरू थातथलो छाडेर बाहिरिँदा पनि नगर त खाली भएको देखिएन, तर त्यहाँभित्रको संस्कार, संस्कृति र सभ्यता भने क्रमशः खाली हुँदै गइरहेको हुन्छ

भीमसेन थापाको कार्यकालसम्म आइपुग्दा भने काठमाडौंका रैथानेको खेत मात्र होइन, बनाइसकेको घर र बस्तीसमेत उठाएर अतिक्रमण सुरु गरियो । भीमसेन थापाले आफू बस्नका लागि बागदरबार निर्माण गर्न लगनटोलको एउटा बसिबसाउ बस्ती नै उठिवास गरे । लगनटोलको २८ वटा घर भत्काएर त्यहाँ आफ्नो दरबार विस्तार गरेको इतिहास छ । विस्थापित गरिएका स्थानीयवासीलाई लगनबाटै अलि पर नायभाच्व भन्ने गल्लीमा सारिएको थियो ।

पहिले–पहिले खाली जग्गा मात्रै अतिक्रमण गर्ने राज्यले पहिल्यै बसिसकेको बस्तीसमेत उठाएर जग्गा अतिक्रमण गरेको यो पहिलो घटना हो । यसको सिकार काठमाडौं महानगरपालिकाका वर्तमान मेयर विद्यासुन्दर शाक्यका पुर्खा पनि भएका थिए । भीमसेन थापाले बनाएको त्यो ठूलो दरबारले काठमाडौंको बस्ती उठाएको मात्र होइन, यहाँको स्थानीय मौलिक वास्तुशैलीलाई विस्थापन गर्ने कार्यको पनि आरम्भ गरेको थियो । काठमाडौंभित्र मल्लकालीन दरबार निर्माण शैलीभन्दा फरक ‘नियो क्लासिक’ शैलीमा निर्माण गरिएको त्यही नै पहिलो दरबार थियो । नालापानीमा ब्रिटिस साम्राज्यसँग युद्ध चलिरहँदा त्यसमा सामेल भएका केही नेपाली सैनिक अधिकृत लाहोरसम्म पुगेका थिए । लाहोरमा बेलायती शैलीका नयाँ दरबारहरू देखेपछि त्यही शैलीको दरबार काठमाडौंमा पनि बनाउन लगाएको थियो । 

जंगबहादुरको बेलायत यात्रापछि काठमाडौंमा बेलायती शैलीका दरबार बनाउने एकखाले होड नै चल्यो । राणाहरूसँग सहरी विकासको कुनै सोच वा योजना त थिएन नै, उनीहरूले आफ्नो रवाफ र सोखका लागि काठमाडौंमा प्रशस्त मात्रामै दरबार बनाउन थाले । उनीहरूका दरबार आकारमा पनि प्रशस्त ठूला हुन्थे । एउटै दरबार पनि ४–५ हेक्टर क्षेत्रफल ओगट्ने खालका हुन्थे । सबैभन्दा सानो दरबार भनिएको टंगालको सत्यभवन पनि दुई हेक्टरको थियो । त्यो होड यति भयंकर थियो कि आफू शक्तिमा पुग्नेबित्तिकै राणाहरूले आफ्ना छोराछोरी र भतिजहरूका लागि समेत आलिसान दरबार बनाएर उपहार दिन थाले ।

यति ठूला दरबार बनाउँदा काठमाडौंका धेरै नै उब्जाउ जमिन सखाप भए । काठमाडौंभित्रको जग्गाले मात्र नपुगेपछि राणाहरूको आँखा पाटनतिर पनि जान थाल्यो । पाटनमा खाली खेत त प्रशस्तै बाँकी थियो तर बीचमा बागमती खोला भएकाले जान सजिलो थिएन । त्यसैले आफूहरू जान र उता पनि दरबारहरू बनाउन राणा प्रधानमन्त्री चन्द्रशमशेरले काठमाडौं र पाटन जोड्न बागमतीमाथि फलामको पक्की पुल बनाउन लगाए । त्यो पुल वास्तवमा सर्वसाधारणको आवागमन सुविधाका लागि नभई राणाहरूको दरबार आउ–जाउ गर्न सजिलोका लागि बनाइएका थिए । यसरी काठमाडौंका धेरै नै उब्जाउ भूमि दरबार बनाउने काममा प्रयोग भएपछि यसले कृषि उत्पादनलाई प्रभावित पार्ने त भइहाल्यो । साथसाथै यसले यहाँका स्थानीय जनतालाई क्रमशः भूमिहीन बनाउने कामको थालनी पनि गर्न थाल्यो ।

वि.सं. २००७ मा प्रजातन्त्र आएपछि देशमा औद्योगिक विकासका गतिविधि त सुरु भए तर ती सबै काठमाडौंमै केन्द्रित रहे । यसले काठमाडौंको भूमिलाई एकैचोटि दुई किसिमले संकुचित गर्दै लगे । पहिलो त विकासका नाममा जति पनि कलकारखाना, अस्पताल, सरकारी कार्यालय, सार्वजनिक विद्यालय, विश्वविद्यालय बने, ती सबै स्थानीय जनताकै भूमि अधिग्रहण गरी बनाएका हुन् । यसले राज्यस्तरबाटै काठमाडौंका स्थानीयवासीको भूमिलाई सीमित बनाइदियो । त्यसपछि त्यसरी खोलिएका कारखाना, अड्डा अदालतहरूमा काम गर्न कामदार र कर्मचारी पनि अधिकांश बाहिर जिल्लाबाट काठमाडौंमै ओइरिन थाले । राज्यले सञ्चालन गरेका सरकारी संस्थामा काम गर्ने अधिकांश समुदाय काठमाडौंबाहिरबाटै आएका छन् । सरकारी सेवामा प्रवेश गरेपछि सीधा र बांगो दुवै माध्यमबाट उनीहरू सम्पन्न बन्दै गए । र, उनीहरूले सानोतिनो जस्तो भए पनि काठमाडौंमै आफ्नो आवास पनि बनाउन थाले । पञ्चायतकालमा तत्कालीन राजा महेन्द्रले त ‘राष्ट्रसेवक’ कर्मचारीका लागि भनेर काठमाडौंमै आवास योजनाहरू पनि सञ्चालन गरे, जसमा स्थानीय जनताको जग्गा हडपेर कर्मचारीलाई सस्तो भाउमा बेच्ने काम भएको थियो । 

यतिसम्मको अवस्थामा आइपुग्दा काठमाडौंका रैथानेहरूसँग न पुग्दो भूमि बाँकी रह्यो, न राम्रो रोजगारी नै । यसले गर्दा उनीहरू छोराहरूलाई अंश मात्रै दिनुपर्दा पनि बचेखुचेको भूमि बेचेर पैसा बाँड्नुपर्ने स्थितिमा पुगे । एकातिर आर्थिक अभावका कारण बचेको भूमि बेच्नैपर्ने बाध्यता, अर्कोतिर बाहिरबाट आएका जिल्लावासीमा विभिन्न कारणले बढ्दै गइरहेको क्रयशक्तिका कारण जग्गामा बढेको अचाक्ली माग । यसरी तान्ने र घचेट्ने दुवै शक्तिको चापमा परेर काठमाडौंका स्थानीय जनता आफ्नो भूमि बेच्दै बाहिरिने क्रम सुरु हुन थाल्यो । 

काठमाडौंका रैथानेहरू अहिले भूमिहीन हुँदै जान थालेकोमा कसैकसैको कस्तो पनि विश्लेषण रहेको देखियो भने उनीहरू उल्टै यही रैथानेलाई प्रश्न गर्न थालेका छन्– पैसाको लोभमा जग्गा बेचेपछि भूमिहीन त हुन्छ नै, अनि अहिले आएर हामीलाई भूमिहीन बनाइयो भन्न पाइन्छ ? वास्तवमा यथार्थ त के हो भने काठमाडौंका रैथानेहरूले आफ्नो भूमि बेचेको होइन, बेच्न बाध्य बनाइएको हो । आफूसँग भएका ठूला जग्गाहरू जम्मै राज्यले अनेक निहुँमा हडपिसकेपछि जिउनकै लागि पनि बाँकी जग्गा नबेची सुख भएन । रैथानेको यो दुःखलाई नबुझिदिनु अर्को दुःखको विषय हो । 

रैथानेसँग व्यक्तिगत रूपमा भएका भूमि त जम्मै सकिहाले । पञ्चायतले संस्थागत रूपमा रहेका जग्गा पनि बाँकी राखेनन् । त्यो भनेको पञ्चायती व्यवस्थाले गुठीका नाममा सुरक्षित रहेको भूमिलाई पनि एउटा कानुन बनाएर आफूभित्र ल्याइदिए । गुठीको नाममा राखिएका जग्गाहरूको आयस्ताबाट विशेषतः काठमाडौंका विभिन्न जात्रा, पर्व आदि जस्ता सांस्कृतिक कार्य सञ्चालन हुँदै आइरहेका थिए । राज्यले त्यस्ता सांस्कृतिक कार्य सञ्चालन गर्न आफूले खर्च दिने प्रतिबद्धता जनायो । तर, खर्च दिन नियुक्त गरिएका प्रशासनिक कर्मचारी (जो अधिकांश बाहिरकै हुन्छन्) कोही पनि त्यस्ता सांस्कृतिक पर्वबारे जानकार नभएका कारण उनीहरू ठान्ने गर्छन् कि नेवारको जात्रा पर्व त जम्मै सरकारले चलाएको रहेछ । सायद त्यसैले पनि होला, जात्रा पर्व चलाउन खर्च माग्न गुठी संस्थान जाने गुठियारहरू, जसको जग्गा लिएकै कारण गुठी संस्थान चलिरहेको छ, उनीहरूलाई संस्थानका कर्मचारी मगन्ते नै व्यवहार गर्ने गर्छन् । काठमाडौंका जात्रा पर्वमाथि भएको यो सांघातिक प्रहार नै हो ।

तर, प्रहार अझै रोकिएको छैन । आफूसँग भएका सम्पूर्ण जग्गा गुमाइसकेपछि अब काठमाडौंका रैथानेसँग बाँकी बचेको भनेको यही एक आना वा आधा आनामा बनेको घर मात्रै हो । पहिले–पहिले काठमाडौंका रैथानेहरू यो घरमा बस्ने र घरबाट अलि टाढा रहेको खेतबारीबाट आएको उत्पादनबाट जीवन चलाउने गर्थे । तर, अहिले उल्टो भएको छ । उनीहरू घरचाहिँ पुरानो खेत भएको ठाउँमा बनाएर त्यहीँ बस्ने र दैनिक जीवनचाहिँ बजार क्षेत्रमा भएको त्यही एक अथवा आधा आनावाला घरको भाडाबाट चलाउने गरिरहेका छन् । अंशबन्डा गर्दा सहरको घर बाँड्न पुग्दैन । त्यसैले सहरको घर बेचेर वा त्यहाँ भाडामा राखेर आफूहरू टाढाको खेतमा बसाइँ सर्न बाध्य छन् । काठमाडौंको मुख्य भागमा यो क्रम त धेरै अघि नै सुरु भइसकेको थियो । अहिले ठीक यही ‘ट्रेन्ड’ कीर्तिपुर क्षेत्रमा सुरु भइरहेको छ । कीर्तिपुर डाँडोमा घर भएका अधिकांश कीर्तिपुरेहरू अहिले तल मैदाने खेतमा नयाँ घर बनाएर बस्न थालेका छन् । डाँडोको बस्ती अहिले क्रमशः सुनसान हुँदै जान थालेको छ । कीर्तिपुर रैथानेहरूको हजारौँ रोपनी जग्गा अतिक्रमण गरी त्यहाँ त्रिभुवन विश्वविद्यालय स्थापना गरेपछि त्यसले ल्याएको नयाँ विकृति हो यो । 

शक्तिमा पुग्नेबित्तिकै राणाहरूले आफ्ना छोराछोरी र भतिजहरूका लागि समेत आलिसान दरबार बनाएर उपहार दिन थाले । यति ठूला दरबार बनाउँदा काठमाडौंका धेरै नै उब्जाउ जमिन सखाप भए ।

पुरानो बस्ती छाडेर नयाँ ठाउँमा बसाइँ सर्दा उत्पन्न हुने विकृति अझ कहालीलाग्दो छ । काठमाडौंको भित्री नगर कुनै एक रातमा बनेको सहर होइन । र, यो केबल घरैघरको थुप्रो मात्र पनि होइन । यो एउटा सिंगो सभ्यताको केन्द्र हो । हजारौँ वर्षको अभ्यासबाट त्यो सभ्यता निर्माण भएको हो । हामी गर्वसाथ भन्न सक्छौँ, नेपाल मुलुकभरि सभ्यताकै रूपमा विकसित भएको कुनै सहर छ भने त्यो काठमाडौं उपत्यका मात्रै हो । यहाँभित्र मानवजीवन सञ्चालित मात्र छैन, त्यसलाई सदा ऊर्जाशील बनाउने अनेक जात्रा, पर्व, मेला, संस्कार, संस्कृति, मूल्य, मान्यता एवं विश्वासहरू पनि जीवित छन् ।

नगरका रैथानेहरू आफ्ना थातथलो छोडेर बाहिरिँदा पनि नगर त खाली भएको देखिएन तर त्यहाँभित्रको संस्कार, संस्कृति र सभ्यता भने क्रमशः खाली हुँदै गइरहेको छ । जसले ती जात्रा पर्वहरू मनाउने हो, उनीहरू त्यहाँ छैनन् । त्यसैले काठमाडौंमा मनाइने ठूला पर्व अहिले फिक्का हुँदै गइरहेका छन् भने बाहिरी पर्व एवं संस्कार हाबी हुँदै आइरहेका छन् । कुनै वेला इन्द्रजात्रा आठ दिन आठ रातसम्मै धुमधामपूर्वक मनाइने गरिन्थ्यो । अहिले बेलुकी ९ बज्नुअघि नै इन्द्रजात्राको केन्द्रस्थल हनुमानढोका सुतिसकेको हुन्छ । अहिले विभिन्न नाट्य संस्थाले ठाउँ–ठाउँमा सडक नाटक देखाउने गरिन्छ । कुनै वेला इन्द्रजात्राकै समयमा रात–रातभरि काठमाडौंको सडक–सकडमै मट्टितेलको ड्रमलाई डबली बनाई ‘दबू प्याखं’ देखाउने गरिन्थ्यो । काठमाडौंमा पाहाँचः-हे भनेपछि ठूलो खत जात्रा चलाउने चलन अहिले पनि कायम छ । तर, त्यो जात्रा हेर्नेहरूको संख्या भने अहिले उदेकलाग्दो छ ।

काठमाडौंको जनसंख्या २० लाख पनि नभएको त्यो वेला पाहाँचः-हेको खत जात्रा हेर्नेहरूको घुइँचोले असन छपक्कै ढाकिन्थ्यो । अहिले काठमाडौंमा ५० लाखभन्दा बढी जनसंख्या भइसक्दा पनि असनमा जात्रा चलिरहेका वेला नजिकको पसलमा व्यापार पनि चलिरहेको हुन्छ । राज्यले पाहाँचः-हे मनाउन सार्वजनिक बिदा दिँदैन । बरु भोलिपल्ट टुँडिखेलमा घोडा दौडेको हेर्न बिदा दिने गर्छ । खस हिन्दू महिलाले मनाउने तिजले काठमाडौंलाई यति छोपिसक्यो कि ठीक त्यही वेला मनाउने यहाँको मौलिक पर्व चथाः अब कता हरायो, कसैलाई थाहा छैन । दसैँमा टोल–टोलमा ‘पायो’ निकालिने भन्दा पनि ठुल्ठूला मूर्ति राखेर दुर्गापूजा गर्ने चलन अहिले बढ्दो छ । काठमाडौंमा विभिन्न टोल र गुठीले सामूहिक रूपले सञ्चालन गर्न बाजाहरूको प्रशिक्षण लिन अहिले इच्छा भएर पनि रैथानेहरू आउन सक्दैनन् । 

तर काठमाडौंलाई ध्वस्त पार्ने क्रम अझै रोकिएको छैन । राज्यले काठमाडौं क्षेत्रभित्रै अरू चारवटा नयाँ सहर बनाउने योजना अघि ल्याएको छ । त्यसका लागि जग्गासमेत रोक्का गरिसकेको छ । यो नयाँ सहर बनेपछि त्यहाँ करिब १० लाख नयाँ जनसंख्या थपिनेछ । त्यसका साथै अहिले ७४ किलोमिटर लामो बाह्य चक्रपथ बनाउने र त्यसको छेउछाउ नयाँ बस्ती बसाउने अर्को योजना पनि चालू छ । यो बनेपछि अर्को २५ लाख जनसंख्या थपिने अनुमान गरिँदै छ । बाहिरबाट यति धेरै मानिस ओइरिएपछि काठमाडौंमा काठमाडौंवासी नरहने निश्चित छ । त्यसपछि यो प्राचीन ऐतिहासिक सहरले आफ्नो स्वत्व गुमाउने झनै निश्चित छ । घर, सडक, बजार त जहाँ पनि बनाउन सकिन्छ, तर ‘काठमाडौं’ जहाँसुकै बनाउन सकिँदैन । त्यतिवेला सायद हामीसँग पुनः आफ्नो पुस्तालाई सराप्नेबाहेक अर्को विकल्प पनि रहनेछैन ।

https://jhannaya.nayapatrikadaily.com/news-details/851/2020-02-22

No comments: