Sunday, January 17, 2021

रानीपोखरी जोगाउन भक्तपुरदेखि

राजु स्याङ्तान

२०७६ श्रावण ४ शनिबार ०९:२६:०० 

रानीपोखरी पुनर्निर्माणमा खटिएका पाँच महिला कालिगडको कथा

भक्तपुर, दुधपाटीकी सुभद्रा ध्वजु (३७) बिहान पाँचै बजे उठ्छिन् । घरधन्दा सकेर दिउँसोको खाजा पोको पार्छिन् । निधारबीच रातो टीका लगाउँछिन् अनि दुई छोरा र निर्माण पेसामै आबद्ध श्रीमान्लाई घरमै छाडेर भक्तपुर बसपार्कतर्फ लम्किन्छिन् ।  ईश्वरीमाया त्वाती (५३) बुढ्यौलीतिर लम्किँदै छिन् । तर, पारिवारिक जिम्मेवारी घटेको छैन । वार्षिक ८ हजार तिर्ने गरी लिजमा बनाइएको टिनको टहरामा बिहान चारै बजे आँखा खुल्छ, ईश्वरीमायाको । दमका रोगी श्रीमान्लाई खाना बनाएर खुवाउँछिन् । जेठो छोरा छुट्टिएर बसिसके । माइलो डकर्मी छन् । कान्छो साइकलमा पत्रिका पु¥याउन झिसमिसेमै हिँडिसक्छन् । दिउँसोको खाजा पोको पारेर हतारहतार जान्छिन्, भक्तपुर बसपार्कतिर । 

शर्मिला ध्वजू भर्खरै २२ वर्षकी भइन् । उनी निरक्षर छिन् । भक्तपुर दुधपाटीकी उनले १९ वर्षमै बिहे गरिन् । भन्छिन्, ‘माइतीमा दुःख थियो । त्यसैले पढ्न पाइनँ । बिहे गरेपछि पढ्ने कुरै भएन ।’ उनी पनि बिहान ५ बजे उठ्छिन् । देवताको पूजा गर्छिन् । बिहानको घरधन्दा सकेर फर्निचरमा काम गर्ने श्रीमान् र सासू–ससुरालाई खाना बनाएर खुवाउँछिन् । त्यसपछि साढे दुई वर्षको छोरा सासूलाई छाडेर हिँड्छिन्, भक्तपुर बसपार्कतिर । 

दुधपाटीकी चन्देश्वरी बमन (३५) पसलमा बस्थिन् । भर्खरै जन्मिएकी छोरीको स्याहारसुसारमै बित्दै थिए, उनका दिनहरू । रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष थिए उनका श्रीमान् । एक दिन अचानक उनका श्रीमान् बिरामीले थला परे । उपचार गर्दागर्दै जन्डिस बिग्रिएर श्रीमान् बिते । त्यसपछि चन्देश्वरीको दैनिकी फेरियो । हिजोआज उनी बिहानै उठ्छिन् र अरूले जस्तै दिउँसोको खाजा पोको पार्छिन् अनि जान्छिन्, भक्तपुर बसपार्कतर्फ । अष्टलक्ष्मी दुवाल ५१ वर्षकी भइन् । ८ वर्षअघि नै श्रीमान्को निधन भइसकेको छ । उनलाई खस नेपाली भाषा बोल्न आउँदैन । एक छोरा र दुई छोरी छन् साथमा । बिहानै उठी घरधन्दा सकेर ब्यासीबाट निस्किन्छिन्, बसपार्कतिर । 

०००

भक्तपुर नगरका विभिन्न चोक र गल्ली छिचोल्दै ४८ जना महिला बिहान ८ बजे जम्मा हुन्छन्, अनि सुरु हुन्छ काठमाडौं, रानीपाखेरीसम्मको यात्रा । ठिमी, कोटेश्वर, बानेश्वर हुँदै उनीहरू पुग्छन्, रानीपोखरी । त्यसपछि सुरु हुन्छ, मौलिक सीपले रानीपोखरी पुनर्जीवित गर्ने कर्म । फागुनमा उनीहरू रानीपोखरी पुग्दा त्यो, पोखरी स्याल लुक्ने झाडी बनेको थियो । ठाउँठाउँमा बालुवाको ढिस्को थियो । इँटाको थुप्रो थियो ठाउँठाउँमा । जमिन फुटेर पानीको थोपै नअडिने भएको थियो । त्यसपछि तिनीहरूले सुरुमा झाडी फाँडे, झार उखेले र सफा बनाए रानीपोखरी । 

रानीपोखरीको सतहमा बालुवा भएका कारण पानी अडिँदैन । उनीहरूको काम पोखरीमा पानी अडिने बनाउनु हो । काम सुरु गर्नुअघि उनीहरूले पोखरीको छेउमा परीक्षण गरेका थिए । परीक्षण सफल भएपछि उनीहरूको काम अघि बढेको हो । अहिले उनीहरू पोखरीको छेउछेउमा परम्परागत शैलीमा वाल लगाइरहेका छन् । इँटा पखाल्ने, बोक्ने, छेउछेउ खन्ने काममा व्यस्त छन् उनीहरू । इँटाको धुलो, चुन र बालुवा घोलेर मसला बनाइरहेका छन् । अब उनीहरू रानीपोखरीमा कालिमाटीले लिप्नेछन् । त्यसमाथि इँटा राख्नेछन् । अब उनीहरूको काँधमा एउटै जिम्मेवारी छ, रानीपोखरीलाई पुनर्जीवन दिने । रानीपोखरीलाई हराभरा बनाउने । 

०००

टाउकोमा रातो टोपी छ सुभद्राको । खुट्टामा गमबुट । निधारमा माटोको छिर्का । उनी पोखरीमा पानी जमाउने कालिगडमध्येकी एक हुन् । रानीपोखरी आउनुअघि उनीसँग भक्तपुरकै भाजुपोखरी र सिद्धपोखरीमा काम गरेको अनुभव छ । उनले त्यो सीप बाबुबाजेबाट सिकेकी हुन् । पहिलोपटक यो सीप सिक्दा उनी २१ वर्षकी थिइन् । सुरुमा उनले सिद्धपोखरीमा काम गरिन् । उनको पालामा छोरी पढाउने चलन कम थियो । उनी सामान्य साक्षर मात्रै हुने मौका पाइन् । दाजुभाइ स्कुल, कलेज गइरहँदा उनीचाहिँ हजुरबुबा र बुबासँग पोखरीमा काम गर्न गइरहिन् । त्यसवेला सिकेको सीप आज देशको सम्पदा जोगाउने महŒवपूर्ण काममा प्रयोग भएको छ । सुभद्रा दंग छिन्, भन्छिन्, ‘एकदमै खुसी लागेको छ । हामीले सिकेको सीप काम लाग्यो ।’

रानीपोखरीको यो पुनर्निर्माणमा महिला कालिगड ४८ जना खटिएका छन् भने १५ पुरुष डकर्मी । बाजेको पालासम्म त्यस्ता काममा महिला र पुरुष सँगै हुन्थे । सुभद्रा अनुभव सुनाउँछिन्, ‘बाउबाजेको पालामा केटा–केटी सबै सँगै हुन्थे । बिस्तारै केटाहरू घट्दै गए ।’ समयान्तरमा पुरुष र महिलाको बाटो अलग भयो । छोराहरू पढ्न गए, छोरीहरू त्यही सीपमा लागिरहे । सुभद्राको पुस्तासम्म यो सीप जीवित छ । तर, उनीभन्दा पछिको पुस्तामा यो सीप जान्ने मानिस छैन । 
सुभद्रासँग कुराकानी गर्दागर्दै ईश्वरीमाया आइपुगिन् । उनी नेपाली भाषा बुझ्दिनन् । सुभद्रा दोभासे बनिन् । टाउकोमा रातो टोपी लगाएकी थिइन् । उनी सबैभन्दा पाको देखिन्थिन् । बुढ्यौलीले छोप्दै लगेको उमेरलाई पर्वाह नगरी उनी इँटा बोकिरहेकी थिइन् । उनीसँग पनि भाजुपोखरी र सिद्धपोखरीमा काम गरेको अनुभव छ । सिद्धपोखरीमा उनले दुईपटक काम गरिसकिन् । भन्छिन्, ‘मैले यो सीप बाजुबाजेबाटै सिकेँ ।’ 

पुनर्निर्माणमा खटिएका महिलामध्ये शर्मिला सबैभन्दा कम उमेरकी हुन् । उनको काम गाडामा माटो ओसार्ने, इँटा बोक्ने, मसला बनाउने हो । कालिमाटीको प्रयोग गर्न उनलाई पनि आउँछ । तीन कक्षामा केही दिन मात्रै स्कुल गएको अनुभव छ उनीसँग, पढ्न आउँदैन । रानीपोखरी आउनुअघि उनी पनि भाजुपोखरीमा काम गर्थिन् । सिद्धपोखरीमा पनि काम गरेको अनुभव छ । शर्मिला प्रत्येक दिन रानीपोखरी आइरहेकी छिन् । औपचारिक शिक्षाको उज्यालोबाट वञ्चित छिन् । तर, मौलिक सीप जानेकी छिन् । 

शर्मिलासँग भविष्यको कुनै योजना छैन । पाएसम्म यस्तै काम गर्ने योजना सुनाउँछिन् । भन्छिन्, ‘पढाइ –लेखाइ भए पो ठूलो मान्छे बन्नु ! अरू त के बन्नु र खै ?’ सामाजिक सञ्जालको जञ्जालबाट उनी टाढा छिन् । बिहानै उठ्नु, घरधन्दा सकेर रानीपोखरी आउनु उनको दैनिकी हो । पढ्न नपाएकोमा पछुतो छ । भन्छिन्, ‘पढ्न पाएको भए यस्तो काम गर्नुपर्ने थिएन । छोराछोरी पढाउने उमेरमा अब त के पढ्नु, लाज लाग्छ ।’

रानीपोखरी पुनर्निर्माणमा एकल महिला पनि खटिएका छन् । ८ जना एकल महिला छन् । तीमध्ये एक हुन् चन्देश्वरी । उनले एसएलसीसम्म पढेकी छिन् । वैशाख २८ गते श्रीमान् (रञ्जन बमन) को निधन भएपछि जेठ महिनादेखि उनी रानीपोखरी आएकी हुन् । १८ महिनाकी छोरी छाडेर उनी प्रत्येक दिन आउँछिन् । श्रीमान् रानीपोखरी पुनर्निर्माण समितिको कोषाध्यक्ष थिए । श्रीमान् जीवित भएको भए उनी आउनुपर्ने थिएन । श्रीमान्को निधन भएको केही महिना मात्रै भएको छ । उनी इँटा धुने, पानी हाल्ने काम गर्छिन् । वेलावेला एकोहोरिन्छिन् । नजिकैको घन्टाघर बजेपछि झस्किन्छिन् । कुरा गर्दागर्दै हातको पन्जा खोलेर छेउमा राखिन् । अनि आँसु पुच्दै भनिन्, ‘छोरीका लागि भए पनि आउनुप-यो नि ।’

इँटाको भारी खन्याएर नजिकै आइपुगिन्, अष्टलक्ष्मी । उनलाई पनि नेपाली भाषा बोल्न आउँदैन । चन्देश्वरी दोभासे बनिन् । उनी सहयोगीका रूपमा काम गर्छिन् । उनी त्यहाँ इँटा बोक्छिन् । कालिगड महिलालाई सघाउँछिन् । अष्टलक्ष्मीको पनि ८ वर्षअघि श्रीमान् बिते । एक छोरी र छोरासँगै बस्छिन् । कमाएको पैसाले घर खर्च चलाउँछिन् । उमेरले ५ दशक पार गरे पनि सकुन्जेल काम गर्ने उनको योजना छ । भन्छिन्, ‘सकुन्जेल यही काम गर्छु ।’

कसरी पुगे रानीपोखरी ?
भूकम्पले रानीपोखरी क्षतविक्षत भएपछि लामो समयसम्म पुनर्निर्माणको काम सुरु भएन । पुनर्निर्माण कसरी गर्ने र कसले गर्ने भन्नेमा विवाद चल्यो । अन्तिममा पुरातात्विक  महत्वको  रानीपोखरीलाई पुरानै तरिकाबाट पुनर्निर्माण गर्नुपर्नेमा सहमति भयो । त्यसपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको टोली भक्तपुरमा बन्दै गरेको भाजुपोखरी र सिद्धपोखरीको अवलोकन गर्न पुगे ।

पुनर्निर्माणमा जुटिरहेका महिलाहरूले परम्परागत विधिबाट पोखरी बनाइरहेको देखेपछि रानीपोखरीको पुनर्निर्माणको काम पनि तिनै महिलालाई दिने भए । त्यसपछि उनीहरूलाई भक्तपुरका मेयर सुनील प्रजापतिले बोलाए । महिला कालिगड जम्मा गर्ने अगुवाइ गरे, कृष्णप्रसाद दुमरूले । गत वर्ष फागुनदेखि ती महिला रानीपोखरीको पुनर्निर्माणमा सक्रिय छन् । मेयरले उनीहरूलाई गाडी मिलाइदिएका छन् । त्यही गाडी चढेर उनीहरू काममा आउने–जाने गर्छन् । 

दुनियाँमा विज्ञानले चमत्कार ग-यो । ठुल्ठूला मेसिन बने । ती मेसिनले मानवीय श्रम विस्थापित ग-यो । अहिले संसारैभरि बौद्धिक बहसमा आर्टिफिसियल इन्टेलिजेन्ट (कृत्रिम बुद्धिमत्ता)को चर्चा छ । तर, विज्ञानले जति नै प्रगति गरे पनि परम्परागत सीप नै काम लागेपछि महिला कालिगड दंग छन् । सुभद्रा भन्छिन्, ‘विज्ञानले जति नै विकास गरे पनि पुर्खाले सिकाएको सीप नै अहिले काम लाग्यो । हामी एकदमै खुसी छौँ ।’ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग ती महिला कालिगडबारे भन्छन्, ‘ती महिलाहरू इन्डिजिनियस इन्जिनियर हुन् ।’

यी कालिगडको काम पोखरीलाई पानी अडिने बनाउनु हो । अहिले उनीहरू पोखरी छेउछेउमा परम्परागत शैलीको गाह्रो लगाइरहेका छन् । अब कालिमाटीले रानीपोखरी लिप्नेछन् । उनीहरूको काँधमा एउटै जिम्मेवारी छ, रानीपोखरीलाई पुनर्जीवन दिने ।

कति पाउँछन् पारिश्रमिक ?
महिला कालिगडहरू दैनिक १०५० रुपैयाँ पाउँछन् । तर, पुरुष डकर्मीहरू दैनिक १४५० रुपैयाँ पाउँछन् । पुरुष डकर्मी र महिला कालिगडहरूको एउटै गुनासो छ– पारिश्रमिक कम भयो । सुभद्रा भन्छिन्, ‘डकर्मीलाई पनि पैसा पुगेको छैन । हामीलाई पनि पुगेका छैन । तर, के गर्नु, काम गर्नैप-यो ।’  १५÷१५ दिनमा पारिश्रमिक दिने सहमति भए पनि नियमित नपाएको उनीहरू बताउँछन् । एक कालिगड भन्छिन्, ‘पैसा नियमित पाइरहेका छैनौँ । अघिल्लोपटक डेढ महिनासम्म पैसा पाएनौँ । अहिले २० दिन बितिसक्यो ।’ तर, रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका संयोजक अजयरत्न स्थापित उनीहरूलाई नियमित पैसा दिइरहेको बताउँछन् । भन्छन्, ‘सरकारले तोकेभन्दा पनि राम्रो ज्याला दिएका छौँ ।’ 

रानीपोखरीमा काम गरेको पैसाले घर खर्च चलाउँछन् उनीहरू । ईश्वरीमाया भक्तपुरकी रैथाने हुन् । तर, उनको कुनै जमिन छैन । त्यो पैसाले श्रीमान्को उपचार गर्छिन् । ईश्वरीमाया भन्छिन्, ‘आधा पैसा घर खर्च चलाउँछु । आधाले श्रीमान्को उपचार गरिरहेको छु ।’ शर्मिलाले पनि अहिलेसम्म पैसा बचत गर्न सकेकी छैनन् । भन्छिन्, ‘घरमा चामल किनेर लैजानुपर्छ । भोज भइरहन्छ हाम्रो । कहिले कता, कहिले कता गइरहनुपर्छ । अहिलेसम्म पैसा बचाउन सकिएको छैन ।’ 

के हो कालिमाटी ?
पानी अड्याउन रानीपोखरीको सतहमा कालिमाटीले लिपिन्छ । संस्कृतिविद् ग्वंग उपत्यकाको तीनैवटा सहरमा कालिमाटीको खानी रहेको बताउँछन् । भन्छन्, ‘उपत्यकाको कालिमाटी गोंगबुलगायत स्थानको जमिनको सतहमुनि छ । त्यो कालिमाटी कुमालेहरूले भाँडा बनाउन प्रयोग गर्छन् ।’ कालिमाटीमा पानी नचुहिने र त्यो माटोको प्रयोग गरी घर बनाउँदा बरु घर लच्किने तर नचर्किने विशेषता भएको उनी बताउँछन् । भन्छन्, ‘यो प्रकृतिको देन हो । लिच्छविकालदेखि नै पुर्खाले पत्ता लगाएको यो विधि पुस्तान्तरण हुँदै आजसम्म आइपुगेको हो ।’ 

कालिमाटी पुस्तौँ अघिबाट प्रयोगमा आइरहेको बताउँछन्, संस्कृति तथा पुरातत्वविद् पुरुषोत्तमलोचन श्रेष्ठ । भन्छन्, ‘सिद्धपोखरी बनेको साढे ९ सय वर्ष भयो । सिद्धपोखरी उत्खनन् गर्दा कालिमाटी प्रयोग भएको पाइयो । यसरी हेर्दा कालिमाटी प्रयोग गरी पोखरीमा पानी अड्याउने सीप निकैै पुरानो हो ।’  भक्तपुरका महिलासँग मात्रै होइन, अधिकांश पुरुषसँग पनि त्यो सीप भएको ग्वंग बताउँछन् ।

केही महिला पाटनको पोखरी पुनर्निर्माण गर्न गएका छन् । तर, पछिल्लो समय मौलिक सीप महिलामा मात्रै केन्द्रित हुँदै गएको उनी स्विकार्छन् । भन्छन्, ‘सीपवाला पुरुषहरू पढ्न थाले । उनीहरू विद्वान् पनि भए । सीपको पुस्तान्तरण हुँदै जाँदा महिलाले यो सीप लिए ।’ परम्परागत सीप बाँकी रहनुको अर्को कारण उनी श्रम संस्कृतिसँग जोडेर हेर्छन् । भन्छन्, ‘श्रमलाई सम्मान गर्ने भक्तपुरे संस्कृतिको कारणले पनि यो सीप जीवित रहेको हो ।’ रानीपोखरीको पुनर्निर्माणमा महिला अगाडि देखिनुमा सांस्कृतिक पुनर्जागरणको संकेत मान्छन्, श्रेष्ठ ।  हेर्दा सामान्य लाग्ने यो सीप अत्यन्त महत्वपूर्ण  भएको ठान्छन् श्रेष्ठ । भक्तपुर नगरमा कुनै वेला भित्रिएको जर्मन प्रोेजेक्टसमेत त्यहाँको परम्परागत सीपअघि असफल भएको उनी बताउँछन् । भन्छन्, ‘सिद्धपोखरी पुनर्निर्माण गर्न जर्मन प्रोजेक्टसमेत असफल भएको थियो । भक्तपुरको मौलिक सीप बरु काम लाग्यो ।’ 

०००

रानीपोखरीको डिलमाथि बसेर ती भक्तपुरका महिलासँग गफिँदा–गफिँदै घन्टाघरको घडीले दिउँसोको दुई बजायो । सबैजना खाजा खान जम्मा भए । खाजा खाँदाखाँदै चन्देश्वरीले मेयरको भनाइ उद्धृत गर्दैै भनिन्, ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति, त्यति जोगाउन हामी भक्तपुरदेखि यहाँ आएका छौँ ।’

https://jhannaya.nayapatrikadaily.com/news-details/380/2019-07-20

No comments: