Sunday, January 17, 2021

कहाँ हरायो त्यो आदर्श सहर ?

 



अरुण गुप्तो

२०७६ चैत १ शनिबार ०७:०४:००

प्रकृतिका अन्य अवयवहरूको संगमबाट मात्रै सहर सुन्दर बन्छ

वातावरण बृहत् क्षेत्र हो । अहिले संसारैभरि सहर र वातावरणको विषय उठिरहेको छ । नेपालको सन्दर्भका काठमाडौंलाई उदाहरण मानेर यो बहसलाई अघि बढाउन सकिन्छ । प्लेनबाट काठमाडौं हेर्दा पार्क, प्ले ग्राउन्ड, रिक्रियसन सेन्टरहरू, पब्लिक स्पेसहरू खासै देखिँदैन । मात्र देखिन्छ, कंक्रिटको जंगल । 

वातावरणीय पक्षलाई ध्यानमा नराखिएको सहरीकरणले दीर्घकालीन रूपमा निकै ठूलो प्रभाव पार्छ । सहर यस्तो हुँदा पर्यावरणीय दृष्टिबाट अनेक समस्याहरू उत्पन्न हुने गर्छ । पहिलो समस्या स्वास्थ्यमा आउँछ । दोस्रो समस्या ऐतिहासिक विरासतहरू संकटमा पर्छन् ।  वातावरणीय दृष्टिकोणबाट हेर्दा दुईवटा कुरा प्राथमिकताका साथ आउँछ । एउटा, ‘ग्रिन एजेन्डा’ अर्को ‘ब्राउन एजेन्डा’ । यी दुई वातावरणीय सिद्धान्तले कुन–कुन पक्षलाई संरक्षण र बढावा दिन्छ भन्ने ध्यान दिन जरुरी छ ।

ग्रिन एजेन्डा
ग्रिन एजेन्डाले हाम्रो आवश्यकता र चाहनालाई भन्दा प्रकृतिलाई जोड दिन्छ । मानिसलाई सबैभन्दा बढी चाहिने आवास, खानेकुरा र लत्ताकपडा हो । यही दृष्टिकोणबाट संसारमा ठुल्ठूला महलहरू बनेका छन् । त्यसवेला मानवीय आवश्यकतालाई मात्रै ध्यान दिइन्छ, प्रकृतिलाई ध्यानै दिइन्न । प्रकृतिलाई ध्यान नदिनुको अर्थ ग्रिन एजेन्डालाई बिर्सिनु हो । हामीले प्रकृतिलाई भन्दा मानवीय आवश्यकता र रुचिलाई नै प्राथमिकतामा राख्यौँ । मध्यपूर्वका देशहरूमा आज स्मार्टसिटीको अवधारणा आएको छ, नेपालमा पनि त्यो बहस निकै सुनिन्छ । तर, सोचनीय कुरा के छ भने यहाँनिर सबैले ग्रिन एजेन्डा छुटाइरहेका छन् । 

प्रकृतिलाई प्राथमिकतामा राखेर हामीले सहर निर्माण नै गरेका छैनौँ । ठुल्ठूला हाउजिङका लागि खुला ठाउँहरू नष्ट गरिरहेका छौँ । नदीहरू ध्वस्त गरिरहेका छौँ । संरचना बनाउन उपयुक्त छ छैन, ख्यालै गर्दैनौँ । कृषियोग्य भूमिको वास्तै नगरी जथाभावी बिल्डिङ ठड्याइरहेका छौँ । ग्रिन एजेन्डाको मतलब नै गरिरहेका छैनौँ । मानिसले ग्रिन एजेन्डालाई बेवास्ता गरेको परिणाम हो ‘नदी बस्तीमा पस्नु’ । यहाँ बुझ्नुपर्ने के छ भने नदी बस्तीमा पसेको होइन, बस्तीचाहिँ नदीमा पसेको हो । 

नेपालमा सहरी संरचनाहरू निर्माण गर्दा ग्रिन एजेन्डाबारे सोचिएन । काठमाडौंले पनि त्यो यसबारे सोचेन । ग्रिन एजेन्डा लागू गर्ने होइन, सिमेन्टको बिल्डिङ ठड्याउने मात्रै प्रतिस्पर्धा छ । पार्कहरू छैनन् । खुला ठाउँ छैनन् । संरचना निर्माण केवल मानवीय चाहनाबाट मात्रै निर्धारित छ, प्रकृतिको कोणबाट सोचिएकै छैन । सहरीकरण केवल मान्छेको दृष्टिकोणबाट मात्रै व्याख्या भयो, प्रकृतिको दृष्टिकोणबाट भएन । 

ब्राउन एजेन्डा 
‘ब्राउन एजेन्डा’को मुख्य ध्यान मानिसले सामना गरिरहेको वातारणीय समस्यातर्फ छ । यो पनि राम्रै दृष्टिकोण हो । जब हामी वातावरणीय समस्या झेल्छौँ, त्यसवेला प्रदूषणबारे बहस गर्छौं । वातावरण कति विषालु भएको छ, कति दुर्गन्धित भएको छ, मानिसको स्वास्थ्यमा कति असर परिरहेको छ, त्यसमा बढी ध्यान दिन्छौँ । यसले हामीलाई ‘ब्राउन एजेन्डा’तिर लैजान्छ । 

ग्रिन र ब्राउन बेग्लाबेग्लै एजेन्डा होइन, यी दुई एजेन्डा एकअर्कामा परिपूरक छन् । ग्रिन र ब्राउन दुवै एजेन्डाले दिगो विकासलाई प्राथमिकतामा राख्छ । दिगो विकासको अवधारणा भनेको सडक विस्तार गर्नु मात्रै होइन । रिङरोडको रूख काटेर दिगो विकास हुँदैन । जब मानवीय सहजतालाई मात्रै ध्यानमा राखेर सडक विस्तार गरिन्छ, त्यो ब्राउन एजेन्डालाई मात्रै ध्यान दिएको भयो । ग्रिन एजेन्डालाई महत्व दिएर ब्राउन एजेन्डा तयार गर्नुपर्ने थियो, त्यसो हुन सकिरहेको छैन । 

सहर भन्नेबित्तिकै हाम्रो दिमागमा मान्छे नै मान्छेको समूह आउँछ । ठूलाठूला भवनहरूको दृश्य दिमागमा आउँछ, तर प्रकृति आउँदैन । रूखहरू हुँदैनन् । खुला ठाउँ भेटिन्न । यसरी ग्रिन र ब्राउन एजेन्डाको समन्वय छैन भने अनइभन डेभलमेन्ट (जथाभावी विकास)तिर हामी तानिन्छौँ । नेपालमा दिगो विकास एउटा स्लोगनका रूपा मात्रै सीमित भइरहेको छ ।

नेपालमा सहरी संरचना निर्माण गर्दा ‘ग्रिन एजेन्डा’बारे सोचिएन । सिमेन्टको बिल्डिङ ठड्याउने प्रतिस्पर्धा मात्रै भयो । यस्ता संरचना निर्माण केवल मानवीय चाहनाबाट मात्रै निर्धारित छ ।

जथाभावी विकास भयो भने मुम्बईजस्तो सहर बन्छ । जहाँ एकातिर ठूलाठूला बिल्डिङहरू छन्, अर्कोतिर त्यसैको मुनि सुकुमबासी बस्ती छन् । नेपालमा पनि त्यो परिस्थिति देखिसकिएको छ । नेपालमा सिटी प्लानिङमै समस्या छ । काठमाडौंको ‘ल्यान्ड डिस्ट्रिब्युसन’ मानवीय सुविधालाई ध्यान दिएर मात्रै भएको छ । सहरको कुरूपता यहीँबाट सुरु हुन्छ । ‘नेचर र कल्चर’बीच समन्वय गरेर मात्रै भूमि वितरण हुनुपथ्र्यो । 

प्रकृतिमाथि हस्तक्षेप 
एकपटक चितवनको सौराहाबाट एउटा गैँडा गाउँ पस्यो । मान्छेहरू गैँडाको पछिपछि लागे । कसैले फोटो खिचे, कसैले सेल्फी खिचे । एकजना गैँडाको पिठमै बसेर सेल्फी लिए । प्रकृतिको एउटा अंग सहरमा आएको छ, मानिस त्यसलाई हातपात गरिरहेका छन् । प्रकृति र मानसबीचमा जुन दूरी हुनुपर्ने थियो त्यो भएन । किनकि प्रकृति हामीभन्दा अलिकति टाढा छ ।

सौराहामा गयौँ भने देखिन्छ, हात्तीमाथि चढेर मानिसहरू हल्ला गरिरहेका हुन्छन् । माहुत्तेहरू एकअर्कामा कुरा गरिरहेका छन् । एउटा हात्तीमाथि चढेर अर्को हात्तीमाथि चढेको मान्छेसँग कुरा गरिरहेका छन् । हामी प्रकृतिभित्रै पसेर प्रकृतिको थलोमा हस्तक्षेप गरिरहेका छौँ । यो मानिसको थलो हो, त्यो प्रकृतिको थलो हो । प्रकृति र मानिसबीच थोरै दूरी हुनै पर्छ, त्यो भएन ।

संरक्षणका लागि प्रकृति र मानिसबीच थोरै दूरी भएजस्तै कला र मानिसबीच पनि भौतिक दूरी हुन आवश्यक छ । दूरी कायम गरियो भने मात्रै त्यसको इज्जत हुन्छ । पहिला–पहिलाका मन्दिर बस्तीबाट टाढा हुन्थे । मन्दिर मात्रै होइन, संसारका प्रसिद्ध विश्वविद्यालयसमेत मानवीय बस्तीभन्दा अलिकति टाढा बनाइएको थियो । मध्यकालीन युरोपमा क्याथेड्रलहरू सहरबाट टाढा बनाइन्थ्यो । त्यहाँ जान मानिसले समय निकाल्थे । गन्जागोल सहरी संरचनाले जब त्यस्ता स्थान छोपिन्छन्, त्यो ठाउँको महत्व हराउँछ ।

मानिसले त्यहाँ पुग्न समय निकाल्नै पर्दैन । जब कुनै महत्वपूर्ण चिज सजिलै भेटिन्छ त्यसपछि त्यसको इज्जत हुँदैन, सम्मान हराउँछ । महत्वपूर्ण स्थान नजिकै भेटिँदा त्यहाँ केही सकारात्मक पक्ष होलान्, जस्तै त्यस्ता ठाउँमा बिजनेस स्पेस बन्ला, भेटघाट गर्ने थलो बन्ला, कल्चरल स्पेस बन्ला, तर मूल पक्षचाहिँ हराउँदै जान्छ । नेपालको सहरी संरचनामा सबै एकैठाउँमा छ ।

मन्दिर यहीँ छ, बजार यहीँ छ, राजनीतिक दलको पार्टी कार्यालय यही छ । सबै कुरा एकै ठाउँमा मिसिएपछि सहर सहरजस्तो हुँदैन । त्यसैले प्रकृति र कलाका महत्वपूर्ण थलोबाट मानवीय बस्ती अलिकति टाढा हुनै पर्छ । मानवीय बस्तीले प्रकृति र कलालाई हस्तक्षेप गर्नुहुँदैन । यो ग्रिन एजेन्डाको कुरा हो । 

प्रकृति, कला र मानिसबीचको दूरी मिचिन थालेको आजबाट होइन । यसको लामो इतिहास छ । युरोपियन पुँजीवादले उपनिवेशकालमा त्यो दूरी मिच्न सुरु गरेको हो । यसको उदाहरण अफ्रिकाको कंगो नदीलाई लिन सकिन्छ । युरोपको आधुनिकता अफ्रिका पस्नुअघि कंगो नदीवरिपरिका मानिस सोच्थे– नदीपारि रहस्यमय स्थान छ । त्यो रहस्यको ठाउँ हो । त्यहाँ सबै जान पाउँदैनन् । त्यो डरको पनि ठाउँ हो । युरोपियन उपनिवेशवाद विकासको नाममा प्रदूषण लिएर जब अफ्रिका पस्यो, कंगो नदीको वारि र पारिको बोधलाई नै नष्ट गरिदियो । त्यसैले कला र प्रकृतिबारे मानिसमा वारि र पारिको बोध हुनुपर्छ । 

ग्रिन आर्किटेक्चर 
ग्रिन आर्किटेक्चरले माटो सुहाउँदो भवन निर्माणमा जोड दिन्छ । विश्वका कतिपय स्थानमा माटो सुहाउँदो आर्किटेक्चर डिजाइन गर्ने चलन छ । नेपालमा मार्बल नभई घर नै बन्दैन । नेपालमा मानिस बस्ने घर बनाइन्छ, तर परेवा, कुकुर, बिरालोलगायत अन्य जीव जनावरबारे सोचिन्न । नेपालमा बरु पहिलेपहिले ग्रिन आर्टिकेक्चरको प्रयोग गरिन्थ्यो ।

आजभन्दा सय वर्षअघि काठमाडौंलाई आदर्श सहर मानिन्थ्यो । अहिले काठमाडौंमा पर्यटक बस्नै चाहँदैनन् । उनीहरू सीधै हिमाल हेर्न चाहन्छन् । पहिलापहिला आउने पर्यटक अहिले काठमाडौंको हालत देखेर रुन्छन् ।

गाउँघरमा परेवा, कुखुरा, हाँस, माहुरी सबै बस्ने ठाउँ बनाइन्थ्यो । अहिले सहरमा घरपालुवा चराचुरुंगीसँगै अन्य चराचुरुंगी र जीव जनावारका लागि बस्ने ठाउँ नै छैन । उनीहरू कहाँ जाउन् ? पहिलेपहिले वर्षामा शंखेकिरा र गड्यौँला धेरै देखिन्थे । फट्यांग्राहरू धेरै देखिन्थे । साँझमा झ्याउँकिरी कराउँथे । तर, हिजोआज कतै सुनिन्न । सहरमा मानिसलाई भन्दा बाहेक अन्य जीवलाई बस्ने ठाउँ कतै छैन । 

हेक्का राख्नुपर्ने के छ भने सहर भनेको मान्छे बस्न मात्रै होइन । प्रकृतिका अन्य अवयवहरूको संगमबाट मात्रै सहर सुन्दर बन्छ । विडम्बना नेपालमा जनवारका लागि सरकारी अस्पताल पाउनै मुस्किल छ । नेपालभन्दा बाहिरतिर चराचुरुंगीका लागि घरबाहिर पानी राखिएको हुन्छ, खानेकुरा राखिएको हुन्छ । त्यहाँ थरीथरीका चराचुरुंगी आएर खान्छन्, रमाउँछन् । त्यसले हाम्रो पर्यावरण थप सुन्दर बनाउँछ । तर, हाम्रा सहरहरूबाट माहुरी हरायो, चराचुरंगी बेपत्ता भयो । सहर मान्छे नै मान्छेको झुन्ड मात्रै बन्यो । 

प्रकृति, कला र इतिहाससँगै मानिसले आफ्नो स्वास्थ्य पनि आफैँले बिगारिरहेको छ । किनकि सहरको पर्यावरण एक–अर्कामा अन्तरसम्बन्धित छ । अहिले सहरमा प्रकृति र मानिसबीचको अन्तरसम्बन्ध खलबलिएको छ । सहरको निर्माणमा बालबालिकाको स्वास्थ्य सबैभन्दा जोखिममा छ । बालबालिका भनेका भविष्य हुन् । सहरीकरण गर्दा सबैभन्दा पहिला बालबालिकाको बारेमा सोच्नुपर्छ । तर, नेपालमा बालबालिकाको पहुँचमा चिल्ड्रेन पार्क छैन, प्ले ग्राउन्ड छैन । सहरमा जताततै फोहरको डंगुर छ । उनीहरू बाहिर निस्कनै सक्दैनन् । 

आर्ट
मानिस र प्रकृतिसँग कला र इतिहास पनि जोडिन्छ । नेपाल हजारौँ वर्षको ऐतिहासिक विरासत भएको देश हो । नेपालमा प्राचीनकालमा बनेका मठमन्दिर, देवालय र दरबारहरू छन् । ती अमूल्य सम्पदाहरूसँग हाम्रो ऐतिहासिक विरासत जोडिएको छ । हामीले ती ऐतिहासिक विरासतलाई महत्व दिइरहेका छैनौँ । त्यस्ता स्थानमा ठुल्ठूला हाउजिङ बनाइरहेका छौँ र सम्पदालाई विस्थापित गरिरहेका छौँ । त्यस्ता संरचनाले सहरमा ठूलो समस्या निम्त्याइरहेको छ । हाउजिङले नदी, चोक, मन्दिरसहित सिंगो प्रकृतिलाई नै खाइरहेको छ । 

नेपालका महत्वपूर्ण सम्पदा क्षेत्रवरपर भयानक संरचना बनिरहेका छन् । त्यो हुनु भनेको ‘ब्राउन एजेन्डा’ले प्रकृतिलाई ‘डोमिनेट’ गर्नु हो । त्यस्ता स्थानमा सवारीसाधन सीधै जान दिनु हुँदैन । ताजमहल विरूप हुँदै गएको प्रदूषणले नै हो । मानिसले प्रकृतिलाई शोषण गर्दा विरासतका रूपमा पाएको आर्ट हरायो । यो पुँजीवादी शोषण हो । यो शोषण अक्टोपसजस्तो फिँजिएको छ । 

सोह्राैँ शताब्दीतिर युरोपको सबैभन्दा राम्रो सहर नर्विचलाई मानिन्थ्यो । त्यो एकदमै आदर्श सहर थियो । नर्विचबारे पुस्तक नै लेखिएको छ । तर, बिस्तारै त्यो सहर बिग्रिँदै गयो । अहिले नर्विचको नामै कतै आउँदैन । एउटा आइडल सहर ध्वस्त भयो । काठमाडौंको अवस्था पनि त्योभन्दा फरक छैन । काठमाडौं ध्वस्त हुँदै गइरहेको छ । आजभन्दा सय वर्षअघि काठमाडौंलाई आदर्श सहर मानिन्थ्यो । अहिले काठमाडौंमा पर्यटक बस्नै चाहँदैनन् । उनीहरू सीधै हिमाल हेर्नतिर लाग्छन् । पहिला पहिला आउने पर्यटक अहिले काठमाडौंको हालत देखेर रुन्छन् ।

केही दशक अघिसम्म टेकुस्थित बागमती र विष्णुमती जोडिएको ठाउँमा उभिएर हेर्दा आइडियल पेन्टिङजस्तो देखिन्थ्यो त्यो ठाउँ । खोला किनारामा मन्दिर थिए । गफ गर्ने ठाउँ थिए । छेउमा खोला बगेको थियो । अहिले त्यहाँ हिँड्नै सकिँदैन । खोलामा कालो पानी बग्छ । त्यहाँको प्रकृतिको मृत्यु भइसक्यो । नेचर र कल्चरको लडाइँमा त्यहाँको आर्ट मासियो । र, मानिसको स्वास्थ्य धरापमा पर्‍यो । यो कुरूपता सहरकै देन हो । सहरको आफ्नै ‘इकोलोजी’ हुन्छ । त्यो भनेको वातावरण र जैविक संसारको सम्बन्ध हो । हाम्रोे एक्सन र प्रोडक्सनले त्यो सम्बन्धलाई प्रभाव पारिरहेको छ । मान्छेले नै त्यो सम्बन्धलाई नष्ट गरिरहेको छ । अब यसको समाधान कसरी हुन्छ ? यो निकै गम्भीर प्रश्न बनेर हाम्रोसामु उभिएको छ । 

हामीले सांस्कृतिक र ऐतिहासिक ठाउँहरूलाई जोगाउनुपर्छ । त्यसका विभिन्न विकल्पहरू हुन सक्छन् । बार्सिलोना सहरमा पुराना बिल्डिङ र आर्टहरूको रक्षा गर्न सक्नेलाई मात्रै त्यस्ता ठाउँमा बस्न दिइयो । हाम्रोमा पनि कला जोगाउने बोध आममानिसमा पुर्‍याउनुपर्छ । त्यसमा राज्यको प्रभावकारी भूमिका हुनुपर्छ । 
वसन्तपुरमा खड्गयोगिनी मन्दिर छ । त्यो मन्दिर कलाका रूपमा मात्र होइन, दर्शनशास्त्रीय दृष्टिबाट समेत निकै महत्वपूर्ण छ । त्यहाँ जाँदा मनमा शान्ति मिल्छ भन्ने विश्वास छ । तर, अहिले शान्ति दिने ठाउँ नै अशान्त छ । त्यो ठाउँ गन्जोगोलमा फसेको छ । त्यस्ता महत्वपूर्ण स्थानहरू काठमाडौं धेरै छन् । त्यसलाई समयमै जोगाउनुपर्छ । 

सांस्कृतिक राजधानी 
सहरीकरणको अवधारणाबारे बहस गर्दा राजधानीबारे विशेष छलफल गरिनुपर्छ । नेपालमा राजधानीलाई छुट्याएर हेरिएको छैन । राजधानी एकै किसिमको मात्रै हुँदैन । सांस्कृतिक राजधानी, राजनीतिक राजधानी, आर्थिक राजधानी, प्रशासनिक राजधानी हुन्छ । त्यसलाई छुट्याउनुपर्छ । नेपालका केही ठाउँलाई सांस्कृतिक राजधानीका रूपमा विकास गर्नुपर्छ । जस्तो काठमाडौंलाई पनि त्यो रूपमा विकास गर्न सकिन्छ । राजनीतिक राजधानी अरू ठाउँमा राख्नुपर्छ । यो सम्भव छ । पोलिटिक, कल्चरल, इकोनोमिक, एडमिस्ट्रिेटिभ सबै क्यापिटल एकैठाउँमा भएपछि त्यो सहरले लोड धान्न सक्दैन । नेपालमा सबै एकैठाउँमा राख्दा गन्जागोल भएर बिग्रिरहेको हो । 

राजनीतिक राजधानीले काठमाडौंलाई छोपिदिएपछि सबै बिग्रिएको हो । काठमाडौंलाई स्मार्टसिटी बनाउनेतिर लागियो भने झनै बिग्रिन्छ । सडकमाथि सडक बनाइयो भने काठमाडौंको कला र विरासत झनै ध्वस्त हुन्छ । किनकि काठमाडौं ऐतिहासिक सांस्कृतिक सहर हो । काठमाडौं रोम, बार्सिलोनाजस्तै हजारौँ वर्षको संस्कृति बोकेको स्थान हो । रोम, बार्सिलोनाबाट काठमाडौंले केही सिक्न सक्छ । काठमाडौंलाई नयाँ सहरको मोडलतिर लगियो भने झनै ध्वस्त हुन्छ । काठमाडौं प्राचीन सहरहरूको मोडलमा जानुपर्छ । 

https://jhannaya.nayapatrikadaily.com/news-details/890/2020-03-14

No comments: