Sunday, January 17, 2021

धूलोको फूल

 



विमल भौकाजी/  विमल भौकाजी
फुर्सद

 २६ जेठ २०७५ ०७:२८:००

सन्दर्भः धुस्वां सायमि जन्मजयन्ती

प्रेम गर्नेहरू जो पनि कुरा गर्छन् फूलका कुरा गर्छन्।

सुन्दर गुलाफका कुरा गर्छन्,

कमलका कुरा गर्छन्,

बास्नादार इन्द्रकमलको कुरा गर्छन्।

एक जना मान्छे थिए, जसले आफ्नो घरमा पहिलो भेटमै बडो प्रेमपूर्वक मलाई अंकमाल गरेका थिए। त्यसो त उनले त्यतिखेर कुनै फूलका कुरा गरेनन् तर फूलजस्तै कोमल कुरा गरेर मलाई आकर्षित गरेका थिए।

मिति : २०६१ सालको प्रथम दिन !

स्थान : वसुन्धरा निवास, ताहाचल।

त्यो घरमा पस्नेबित्तिकै एउटा ओजपूर्ण स्वरमा मैले न्यानो आतिथ्य पाएँ, ‘आऊ, तिमीलाई स्वागत छ मेरो घरमा !’

स्वागत गर्ने व्यक्ति थिए— घरमूली धुस्वां सायमि।

०००

संयोयवश उनको ‘जीवन–यात्रा’को सम्पादन गर्ने क्रममा मैले ‘मन नपरेको मान्छे’ शीर्षकमा सम्पादकीय लेखेको छु—

ऊ एक अभिमानी मान्छे हो।

ऊप्रति मेरो धारणा। र, यही धारणाले मेरो मस्तिष्कलाई डोर्‍याइरह्यो सदैव।

ऊ बोल्थ्यो कहीँ, उसको बोलीसँग कहिल्यै मोहित भइनँ म।

ऊ लेख्थ्यो, उसको लेखाइलाई कहिल्यै पढूँ भन्ने तृष्णा जागेन मलाई। जानेरै–बुझेरै मैले कहिल्यै पढ्ने कोसिस गरिनँ उसको लेखाइलाई।

अर्थात्, उसलाई मैले कहिल्यै बुझ्ने चेष्टा गरिनँ।

मभित्र कुन त्यस्तो नकारात्मक दृष्टिकोण थियो ऊप्रति कुन्नि ! मैले प्रेम–भावले कहिल्यै पनि हेरिनँ उसलाई..., उसको व्यक्तित्वलाई..., उसको क्रियाकलापलाई।

तर... मन नपर्नु पनि प्रेमको एउटा विषय रहेछ क्यार ! सायद, घृणाभित्रै प्रेम लुकेको हुन्छ भन्ने मान्यता सही हो, जस्तो काँडैकाँडाको बीचमा गुलाफ फुल्छ।

हो, यस्तो दृष्टिकोणले एउटा गुलाफ ऊ। एउटा फूल !... र, एउटा फूललाई मन नपराउनु ? त्यो पनि मानव–मनले ? ? असम्भव !!

अनि एक दिन, नियमितताले मलाई पुर्‍याएथ्यो उनको घर।

जब उनले मलाई स्वागत गरेथे त्यस दिन, तत्क्षण मेरा आँखाले उनका आँखाहरूलाई नियाल्न पुगे। ओहो ! के छ यी आँखाहरूमा ? मेरो मस्तिष्कमा खैलाबैला मच्चियो र एउटा भाव उम्लियो मेरो मनमा, उनैले लेखेका गहन पंक्तिहरू—

‘प्रेममा कुनै गणितले काम गर्दैन।

यसको कुनै व्याकरण हुँदैन।

यो व्यापार होइन।

यो त दुई भिन्न मनको मिलन हो।...’

०००

धुस्वां सायमिको वास्तविक नाम— गोविन्दबहादुर मानन्धर।

तर ‘गोविन्द’ कसरी ‘धुस्वां’मा परिवर्तन भयो ?

यसको रहस्य यस्तो छ—

एक समय, बनारसमा अध्ययनरत थिए उनी। एक दिन त्यहाँ उनका भारतीय सहपाठीहरूले उनलाई ‘नेपाल ‘भारतकै एक प्रान्त हो’ भने। उनले तत्काल प्रतिवाद गरे, ‘नेपाल एउटा स्वतन्त्र र स्वाधीन राष्ट्र हो। हामी अहिलेसम्म कसैको दास हुनु परेको छैन।’ र, अझ थपे, ‘बरु तिमीहरू पो हिजोसम्म अंग्रेजहरूको दास थियौ।’

यसै क्रममा सहपाठीमध्ये एकले उनको नाम सोध्यो। उनले ठूलो स्वरले आफ्नो नाम बताए, ‘गोविन्द !’

– ‘गोविन्द त भारतले पुज्ने देवताको नाम हो।’ साथीहरू हाँसे।

यो कुरो सुनेर उनी मक्ख परे। तर, अलि पछि उनलाई लाग्यो— देउतैको नाम भारतीय भएपछि आफ्नो नामलाई पनि त ती साथीहरू भारतीय नै मानेको हुनुपर्छ। यसर्थ उनले आफ्नो नाम परिवर्तन गर्ने निर्णय गरे।

कविहृदयका उनी— कोमल ! स्वभावैले फूल मन पराउने उनले, कतिपय लेखकले आफ्नो नाम फूलको नामबाट राखेका हुनाले— फूलकै नाम रोजे ‘धुस्वां’।

नेपालभाषामा राखिएको नाम ‘धुस्वां’ अर्थात्–

‘धु’को अर्थ ‘धूलो’

‘स्वां’को अर्थ ‘फूल’

अर्थात् ‘धूलोको फूल’।

उनको मान्यता— फूल केवल बोटमा फुल्छ मात्रै होइन बैठककोठामा गमलामा सजाइन्छ पनि। मन्दिरमा चढाइन्छ पनि, शिरमा सिउरिइन्छ पनि। तर, कतिपय फूल यस्ता पनि हुन्छन् जसलाई बोटबाट टिपेपछि यत्तिकै वास्ता गरिन्न, धूलोमैलोमा फ्याँकिन्छ। र, यही धूलोमा फ्याँकिएको फूलको प्रतीकमा उनले आफ्नो साहित्यिक नाम निर्माण गरे।

तथापि नाम मात्रै फेरेनन् धुस्वांले, थर पनि फेरे। बाउबाजेले राखेका थर ‘मानन्धर’लाई पुख्र्यौली ‘सायमि’ बनाए।

आफ्नो नाम–थरमाथि नै विद्रोह बोल्ने धुस्वां सायमिले साहित्यको परिभाषा यसरी दिएका छन्, ‘विद्रोह तथा विरहमा जन्मिने एउटा अभियक्ति हो साहित्य।’

वास्तवमै उनले कविता लेख्दा प्रायः कतै न कतैबाट त्यहाँ विद्रोह नै पोखेको पाइन्छ। कहीँ पनि कविता पाठ गर्दा उनी प्रायः यिनै विद्रोही–भावका कविताहरू पाठ गर्थे। तत्कालीन राजा वीरेन्द्रका सामु निर्धक्क उनले आफ्ना यो कविता सुनाएको किस्सा उनी बारम्बार भन्ने गर्थे—

‘तिम्रा चारैतिर दासै दास छन्तिम्रा चारैतिर लासै लास छन्मेरो इच्छा छैन

इतिहासको शिलाखण्डमा

तिम्रो नाम अंकित होस्—

दासको राजा बनेर

लासको राजा बनेर...।’

राजाले केवल यत्ति भनेछन्, ‘राम्रो छ।’

उही विद्रोही मान्छे ! उसका बारेमा प्रश्न उठ्नु स्वाभाविक छ— फूलको नाम राख्दैमा ऊ कसरी कोमल हुन सक्छ ?

तर अपवाद ! एकै व्यक्तिमा दुई व्यक्तित्व ! कवितामा विद्रोह भए पनि व्यवहारमा मुलायम। उनको नजिक रहेकाहरूबाट अहिले पनि उनका गुणका बारे सुन्न सकिन्छ।

धुस्वां सायमि मूलतः दुई कुराका सोखिन थिए। किताब र महँगो कलम। विश्वबजारमा चुनिएका किताबहरू उनको निजी पुस्तकालयमा ठूलो संख्यामा संगृहीत थियो। साथै त्यही पुस्तकालयबाट अध्ययनका लागि भनेर लगिएका कतिपय नफर्काइएका किताबहरूको लामो मौखिक सूची नै थियो उनीसँग। किताब नफर्काउनेहरूमध्ये उनका एक घनिष्ठ मित्र (? )को नाम तोकेरै उनले मलाई भनेका थिए, ‘त्यो चोर हो। मसँग मागेर लगेका किताब फर्काउने त कुरै छोडौं, अरू कत्ति किताब यहाँबाट उसैले चोरेरै लगेको मलाई थाहा छ।’

ती मित्रका बारे उनी मलाई बारम्बार भन्ने गर्थे, ‘त्यो गफाडीले ठोस काम केही गर्दैन। तिमी त्योसँग बाँचेर हिँड है ! तिमी परि श्रम गरेर मन्दिर बनाउँदै हिँड्छौ। तर मन्दिर बनाइसकेपछि अन्तमा त्यो मन्दिरमाथि त्यही फटाहाले गजुर हालिदेला नि ! सावधान रहनू !’

तर गजबको कुरो,

चोरिएका थुप्रै किताबमाथि उसैलाई एउटा महँगो कलम उपहारस्वरूप उनले थपिदिएका थिए। उनको यस्तो चरित्र उनको आफ्नै यो सानो टुक्रा कवितामा चरितार्थ भएको छ—

‘धारिलो चुप्पीलाई

भुत्ते बनाउनु छ भने

मक्खन काट्ने गर !’

०००

मलाई थाहा छ— उनले आफूखुसीले धेरै साहित्यकारलाई पुस्तक प्रकाशन गर्न आर्थिक मद्दत गर्ने गरेका थिए। मलाई यो पनि थाहा छ— उनलाई धेरैले लुटे। उनी स्वयंलाई सबै थाहा हुन्थ्यो। तर उनी सधैं हाँसिरहन्थे।

एउटा प्रसंग सुनाएका थिए उनले, ‘एउटा साहित्यिक संस्थाले विभिन्न व्यक्ति वा संस्थाको आयोजनामा एकैपटक एक दर्जन कवितासंग्रह निकाल्ने भयो। त्यसमध्येमा मेरो पनि एउटा किताब थियो। त्यसैमा अर्को एउटा किताबको पनि मैले भुक्तानी गर्ने सहमति गरेको थिएँ। सबै किताब तयार भइसकेपछि भुक्तानीका लागि दुई व्यक्ति एकसाथ मेरो घरमा आए, एक थिए त्यही एक दर्जन प्रकाशित किताबमध्ये एउटा किताबका कवि र अर्का थिए मैले प्रायोजन गरिदिएका किताबका कवि। ती दुईले लिएर आएका बिलमुताविक उसको किताबको मैले २९ हजार रुपैयाँ तिनलाई दिई पठाएँ। पछि थाहा भयो— सम्बन्धित संस्थाले त्यो किताब १९ हजारमा तयार गरेको रहेछ।’

धुस्वांका अनुसार एक त किताबमा लगानी गरिएको सम्पूर्ण खर्च त उनले दिए–दिए, त्यसमाथि अरू बढी १० हजार कुम्ल्याएर ती दुईले आपसमा पाँच–पाँच हजार बाँडेर केही समय आफ्नो चुलो चलाएछन्।

०००

धुस्वां काठमाडौंमा जन्मिए। तर, चार वर्षको उमेरसम्म पनि उनको बोली फुटेन। यही उमेरबीच एक दिन कुनै सिनेमाको घटनाभैmं उनको जीवनमा एउटा अनौठो घटना भयो। उनलाई आमाले सूर्यविनायकस्थित आमाविनायक गणेशथानमा लगेर छोडिदिइन्। मन्दिरमा गणेशको मूर्ति देखेर उनी तर्सिएर यसरी कहाल्लिए कि उनको बोली फुट्यो मात्रै होइन, त्यस दिनदेखि उनी ननस्टप बोलकक्ड बने।

समयक्रमसँगै उनी अत्यन्तै चकचके हुँदै गए। ज्योतिषीले त केसम्म भविष्यवाणी गरिदिए भने आठ वर्षको हुँदा उनले कसैको हत्या गरिदिनेछन्। तसर्थ उनलाई काठमाडौंबाहिर गौरमा पठाइयो।

१५ वर्षसम्मको बाल्यकाल गौरमै बितेसँगै उनको बोलीचालीमा त्यो क्षेत्रको परिवेशले पूरै प्रभाव पार्‍यो। यसका अतिरिक्त उनको पढाइ भारतमा हिन्दी भाषामा भएकाले उनको साहित्यिक कलमसमेत हिन्दी भाषामा सक्रिय हुन पुग्यो। करिब तीन दर्जन प्रकाशित कृतिमध्ये हिन्दी भाषामा तीन उपन्यास र दुई कवितासंग्रह छन्। नेपालभाषा–साहित्यमा डेढ दर्जन कृति छन्। ‘गंकी’ उपत्यकाको नेवारी परम्परा र संस्कृतिमाथि लेखिएको प्रसिद्ध उपन्यास हो। त्यहाँ उनलाई ‘उपन्याससम्राट्’को नामले विभूषित नै गरिएको छ। त्यसो त के कविता, के कथा, के उपन्यास, सबै विधामा उनको कलम समान रूपले चलेको देखिन्छ।

उनले कुनै एक दिनको बिहानी ४२ वटासम्म कविता लेखेका थिए। भन्थे, ‘लेख्न थालेपछि मलाई अरू कुनै पनि कुरोले छुँदैन, दिमागमा विद्युतीय धार उत्पन्न भएजस्तो हुन्छ।’

हिन्दी भाषाका प्रख्यात साहित्यकार अमृता प्रीतमले धुस्वांको लेखनसँग प्रभावित भएर आफ्नो उपन्यास ‘अदालत’को पात्र नै धुस्वांलाई बनाएकी छन्।

०००

आठ दशक लामो आफ्नो जीवनको अन्तिम समयसम्म धुस्वांको कलम अविरल चलिरह्यो। भारतमा सांस्कृतिक सहचारीसमेत रहेका धुस्वां कालान्तरमा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका प्राज्ञ–सदस्य बनेका थिए।

बोलीमा खरोपन देखिए पनि विनम्रता उनको पहिचान थियो। वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा धुस्वांको विनम्रता सम्झन्छन्, ‘एकडेमीमा छँदा मलाई उहाँले एक दिन भन्नुभयो, ‘तिमी अरुणलाई चिन्छौ ? म उनकै पिता हुँ।’ मलाई थाहा थियो— वरिष्ठ डा. अरुण सायमि उहाँका सुपुत्र हुन्। यसरी आफ्नै विशिष्ट पहिचान हुँदाहुँदै आफूलाई स्वाभाविक रूपमा प्रकट गराउनु महान् व्यक्तिमा पाइने विशेषता हो।’

वरिष्ठ कथाकार परशु प्रधानका अनुसार ‘धुस्वां नेपालीको एउटा प्रतिभावान् छोरो, बौद्धिक र सिर्जनशील लेखक हो, विचारक हो भन्ने कुरा यथार्थ–सत्य हो।’

तर यो पनि सत्य हो— आजका साहित्यिक अनुसन्धानकर्ताहरू केवल आफ्नोअगाडि उपलब्ध सामग्रीहरूका आधारमा मात्रै लेखकको कलमको मूल्यांकन गरिहिँड्छन्। यस अर्थमा धुस्वां सायमिको लेखनका साथ स्वयं उनको व्यक्तित्वमाथि समेत गहन मूल्यांकन हुन नसकेको अवस्था अझ बढी सत्य हो।

धुस्वांकै शब्दहरूमा—

‘मान्छेले

कहिल्यै पनि वर्तमानलाई मारेर

शान्तिको नाममा

जिउँदो वर्तमानमाथि

कात्रो ओढाउन सक्दैन...’

http://annapurnapost.com/news/100097

No comments: