Sunday, January 17, 2021

इतिहासको सय वर्षमा सत्यमोहनको सय वर्ष


सुरेश किरणकाठमाडाैं
२०७६ जेठ २५ शनिबार ०८:४३:००

 

वाङ्मय ‘शताब्दीपुरुष’ सत्यमोहन जोशीको शताब्दी जन्मोत्सव गएको वैशाख ३० गते पाटनमा धूमधामसाथ मनाइयो । ललितपुर महानगरपालिकाले आयोजना गरेको उक्त समारोह वास्तवमै बेजोड थियो । तर, धेरैलाई हेक्का भएन– शताब्दी जन्मदिन मनाइएको वैशाख ३० गते सत्यमोहन जोशी आफैँ भने सय वर्ष टेकेकै थिएनन् । जोशी ९९ वर्ष पार गरी १०० वर्षमा टेक्ने साँच्चैको दिन त अहिले भर्खर गयो । ने.सं. ११३९ बछलागाः नवमीका दिन, अर्थात् जेठ १४ गते मंगलबार । 

 नेवाः संस्कृतिमा जन्मदिन मनाउने भनेको तिथिअनुसार हो, मितिअनुसार होइन । तिथिअनुसार जन्मदिन नमनाएसम्म आयुवृद्धि भएको मानिँदैन । तिथि कहिले टुट्ने र कहिले बढ्ने भएकाले राष्ट्रिय रूपमै दिन अंकित गर्न मात्रै विक्रम संवत्को मिति प्रयोग गरिने हो । त्यसैले गएको वैशाख ३० गते सार्वजनिक रूपमा सत्यमोहन जोशीको भव्य अभिनन्दन गरिए पनि घरमा भने जन्मदिनको कुनै पूजाआजा भएन । त्यस्तो पूजाआजा पनि मंगलबारै मात्र सम्पन्न भयो । एउटा संस्कृतिविद्को जन्मदिन सांस्कृतिक परम्पराअनुसार नमनाएसम्म कसरी उमेर वृद्धि होला र ? 

हुन त शताब्दीपुरुष जोशीले आफ्नो सय वर्षको आयु मिलिक्कमै बिताए पनि भनिन्छ । तर, उनले बिताएको यो सय वर्षको इतिहासमा मुलुकभित्र भने थुप्रै ऐतिहासिक घटना भए । यो सय वर्षको कालखण्डमा मुलुकमा भएका विभिन्न ऐतिहासिक घटनामा शताब्दीपुरुष सत्यमोहन जोशीको कस्तो साइनो रहन पुग्यो ? त्यसको फेहरिस्त यस्तो छ–
वि.सं. १९७७ मा सत्यमोहन जोशीको जन्म, पाटनको बखुंबहालस्थित आफ्नै घरमा ।

 १९९० सालको महाभूकम्प :
नब्बे सालमा महाभूकम्प आउँदा सत्यमोहन जोशी १३ वर्ष लागिसकेका थिए । त्यतिवेला उनी आफ्ना पितासँग काठमाडौंको महाराजगन्जमा बस्ने गर्थे । पिताको जागिर दरबारमा थियो । पाटनको घरमा चाहिँ उनकी सुत्केरी आमा एक्लै थिइन् । भूकम्प आउँदा उनी झलकराम भन्ने साथीसँग खेलिरहेका थिए । अगाडिको रूख बेस्कन हल्लिन थाले पनि दुवैजना ‘ओहो, रूख त नाच्न थालेछ बा !’ भन्दै हाँस्न थालेछन् । नभन्दै चारैतिर घरहरू भत्किन थालेछन् । आफ्नै पछाडिको एउटा टहरा पनि ग्वाम्लांगै ढलेछ । त्यतिवेलासम्म उनलाई भूकम्प के हो भन्ने नै थाहा थिएन । चारैतिर ग्वाम्लाङगुम्लुङ हुन थालेपछि उनलाई घरमा आमा पो के हुनुभयो भन्ने सम्झना भएछ । त्यसपछि बुबासँग उनी पनि शंखमूलको बाटो हुँदै पाटनतिर दौडिए । बाटोभरि भूकम्पको विनाश प्रत्यक्ष देखे, तर मन भने आमातिर अड्केको थियो । पाटनमा उनको तीनतले घर पनि भत्केर एक तला मात्रै बाँकी भइसकेको थियो । धन्न आमा र बच्चालाई छिमेकीले उद्धार गरी सुरक्षित ठाउँमा पु-याइसकेका रहेछन् । 

१९९७ सालको मृत्युदण्ड :
राणाशासनविरुद्ध विद्रोह गरेको आरोपमा शुक्रराज जोशी ‘शास्त्री’लाई काठमाडौंस्थित टेकुको रूखमा झुन्ड्याएर मृत्युदण्ड दिइयो । रूखमा झुन्ड्याइएका शुक्रराजलाई हेर्न उनी पनि पाटनदेखि टेकु पुगेका थिए । शुक्रराज काठमाडौंमा बस्ने भए पनि उनको कुलघर पाटनमै हो । सत्यमोहन पुगेकै वेला शुक्रराजका बुबा माधवराज जोशी पनि टेकु पुगेका रहेछन् । रूखमा झुन्डिएको छोरालाई हेर्दै माधवराजले ‘स्याबास बेटा, बेटा होना तो ऐसा बेटा होना चाहिए’ भनी हिन्दीमा बोल्दै छोरालाई तीनपटक घुमेर फर्केका थिए । 
२००२ सालमा जुद्धशमशेरको गद्दीत्याग :
नेपालको राजनीतिमा जुद्धशमशेरले आफ्नो कार्यकाल बाँकी रहेकै वेला गद्दीत्याग गर्नुलाई पनि एउटा महत्वपूर्ण घटनाका रूपमा लिइने गरिन्छ । त्यतिवेला सत्यमोहन जोशी सिंहदरबारमा जागिरे भइसकेका थिए । महाराज जुद्धशमशेरले गद्दी छाड्ने भइसकेपछि सिंहदरबारको पटांगिनीमा सबै कर्मचारीलाई बोलाइयो । त्यहाँ भएको समारोहमा जुद्धशमशेरले आफ्नो पगरी फुकाली नयाँ प्रधानमन्त्री पद्मशमशेरलाई लगाइदिएका थिए । साथै, त्यहाँ उपस्थित सबैलाई उनीहरूको दर्जाअनुसार एक–एकवटा चाँदीको पान–बट्टा पनि उपहार दिए । जोशीको भागमा पनि एउटा सानो बट्टा आइपुग्यो । त्यसपछि जुद्धशमशेर बग्गीमा बसी थानकोटतिर लागे । 
२००७ सालको क्रान्ति :
००७ सालमा राजधानी काठमाडौंमा जब क्रान्ति उत्कर्षमा थियो त्यतिवेला सत्यमोहन जोशी भने जनसंख्या कार्यालयको अधिकृत भई नेपालको पश्चिमी क्षेत्रमा जनगणना लिन पुगिरहेका रहेछन् । युएनडिपीसँग मिलेर त्यतिवेला जनगणना लिने कार्य भएको थियो । तर, क्रान्तिले गर्दा जनगणना लिन सकिएन । क्रान्तिकारीहरूले जनगणना लिनै दिएनन् । त्यसपछि जोशीलगायत जनगणना लिन गएका अरू पाँचजना अधिकृतले समेत सरकारलाई अवज्ञा गर्ने भन्दै जनगणना कार्य बहिष्कार गरेका थिए । पछि, ००९ साल र ०११ सालमा पुनः गणना लिई कार्य सम्पन्न गरियो । 
२००७ सालमा खुकुरी दलको आतंक :
००७ सालका क्रान्ति सफल भएपछि चिढिएका राणाहरूले खुकुरी दल खोली समाजमा आतंक मच्चाउन थाले । उनीहरूले दिउँसै खुकुरी नचाएर सडकमा जुलुस निकाले । आतंक अति नै बढेपछि उपत्यकामा उनीहरूको प्रतिकार गर्न टोल–टोलमा सुरक्षा समितिहरू बनाउन थालिए । त्यसमध्ये पाटनमा बनाएको सुरक्षा समितिको अध्यक्ष सत्यमोहन जोशी भए । सुरक्षा समितिका सदस्यहरू खुकुरी दल आउला भनी रात–रातभर घरेलु हतियार बोकी टोलमा जाग्राम बस्ने गर्थे । खुकुरी दलको आतंक समाप्त भइसकेपछि जोशीले उक्त सुरक्षा समितिलाई सामाजिक कार्य गर्ने संस्थामा रूपान्तरण गरिदिए । 

न्युजिल्यान्डमा जोशी :
इतिहासमै पहिलोपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण विसं २०१० जेठ १६ गते भएको थियो । नेपालका तेन्जिङ शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए । विश्वकै लागि यो ठूलो समाचार थियो । संयोगवश त्यही समय सत्यमोहन जोशी उनै आरोही एडमन्ड हिलारीको देश न्युजिल्यान्ड पुगेका रहेछन् । न्युजिल्यान्डमा हिलारीको हाईहाई मच्चिरहेको त्यो समयमा सगरमाथाकै देशको एउटा नागरिक आफ्नो देशमा आइपुगेको भनी त्यहाँ उनको नसोचेको सम्मान भयो । जोशी त्यहाँ जनगणनासम्बन्धी एउटा तालिम लिन गएका थिए । न्युजिल्यान्डमा त्यतिवेला भएका घटनाहरू समेटेर जोशीले ‘न्युजिल्यान्डमा पहिलो नेपाली’ नामक पुस्तक पनि लेखेका छन् । 
२०१४ सालको चुनाव :
नेपालको इतिहासमै पहिलोपटक भएको चुनावमा सत्यमोहन जोशी निर्वाचन अधिकृत भई खटिनुपरेको थियो । उनी त्यसवेला पाटनको सुनाकोठीस्थित बुथमा निर्वाचन अधिकृत भई गएका थिए । उनको कमान्डमा त्यहाँ शान्तिपूर्वक मतदान सम्पन्न भयो । 
२०१७ सालको काण्ड :
राजा महेन्द्रले तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालाई अपदस्थ गरी शासनसत्ता हातमा लिएका वेला सत्यमोहन जोशी सिंहदरबारभित्रैको पुरातŒव तथा संस्कृति विभागमा काम गरिरहेका थिए । उनी त्यतिवेला उक्त विभागका प्रमुख थिए । प्रधानमन्त्री बिपी कोइराला पक्राउ पर्नेबित्तिकै उनको सरकारमा रहेका मन्त्रीहरू पनि जम्मैलाई समाउन थालियो । तीमध्ये एकजना मन्त्री सिंहदरबारभित्र पनि लुकेर बसेको छ भनी सिंहदरबारका सम्पूर्ण कर्मचारीलाई समेत भित्रै थुनेर राखे । लुकेर बसेका मन्त्रीलाई समाउन नसकेसम्म कसैलाई नछाड्नू भन्ने आदेश थियो । तर, मन्त्री त सिंहदरबारको ढलैढल हुँदै भागिसकेका रहेछन् । मन्त्री भागिसकेको ‘कन्फर्म’ भएपछि कर्मचारीलाई पनि राति छोडियो । राजाले शासन लिएपछि जोशीलाई पनि विभाग प्रमुखबाट हटाइयो । 

२०१९ सालमा संविधान जारी :
०१७ सालमा शासनसत्ता मुठ्ठी पारेपछि राजा महेन्द्रले ०१९ सालमा पञ्चायती संविधान जारी गरे । संविधान जारी गर्दा भने सत्यमोहन जोशी नेपालमा थिएनन् । उनी चीन गएका थिए । 
२०२२ सालको भाषा आन्दोलन :
पञ्चायती व्यवस्थाले रेडियो नेपालबाट प्रसारण हुँदै आएको नेपालभाषाको समाचार बन्द गरिदियो । नेपालभाषा आन्दोलनमा ‘बाइस सालको आन्दोलन’ पनि भनिने उक्त विद्रोहका वेला पनि जोशी काठमाडौं थिएनन् । त्यतिवेला उनी चीन गएका रहेछन् । चीन बस्दा उनले नेपाली कलाकार अरनिको र उनले चीनमा निर्माण गरेका नेपाली शैलीका चैत्यहरूको अध्ययन गरी पुस्तक निकालेका थिए । 

२०३७ सालको जनमतसंग्रह :
पञ्चायती व्यवस्था छान्ने कि बहुदलीय व्यवस्था चुन्ने भन्ने जनमतसंग्रह हुँदा सत्यमोहन जोशी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पदाधिकारी थिए । त्यसैले उक्त अभियानमा कुनै पनि प्रकारले सहभागी हुन उनलाई पदीय दायित्वले पनि अनुमति दिएन । 
२०४६ सालको जनआन्दोलन :
२०४६ सालको जनआन्दोलनलाई देशका सबै क्षेत्रले साथ दिएका थिए । आन्दोलनको समर्थनमा लेखक–कलाकारले त्रिचन्द्र कलेजको सरस्वती सदनमा मुखमा पट्टी बाँधी गरिएको धर्नामा उनले पनि एक सर्जकका रूपमा भाग लिएका थिए । पछि, धर्ना बसेका सबैजनालाई प्रहरीले गिरफ्तार गरी लिएर जाँदा उनी पनि त्यसैमा परे । 
२०५८ सालको दरबार हत्याकाण्ड :
राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डबारे उनलाई बिहान ६ बजे शिक्षाविद् लक्ष्मण राजवंशीले पहिलो जानकारी दिएका थिए । त्यतिवेला यो काण्ड कसले गरेको होला भन्ने सोचिल्याउँदा उनलाई केही दिनअघि भारतबाट आएका एक तान्त्रिक दरबार पसेको र उनैले यो गडबडी मच्चाएको हो कि जस्तो लागेको रहेछ । 
०६२/६३ को आन्दोलन :
राजा ज्ञानेन्द्रले निर्वाचित सरकारलाई अपदस्थ गरी शासनसत्ता हातमा लिनेबित्तिकै देशमा उनको निरंकुशताविरुद्ध आन्दोलन सुरु भइहाल्यो । सोही आन्दोलनको छेस्कोमा जोशीले लेखेको सांस्कृतिक नाटक ‘बाघभैरव’ गुरुकुलमा मञ्चन हुँदै थियो । नाटकमा एउटा डरलाग्दो बाघलाई आफ्नो वशमा लिइएको रोमाञ्चकारी दृश्य थियो । जोशीले निरंकुश राजालाई बाघको प्रतीक बनाई व्यंग्य गरे भनी व्यापक चर्चा भएको थियो । 
०७२ सालको महाभूकम्प :
९० साल र ७२ सालको दुवै ठूला भूकम्पको अनुभव गर्न पाएका थोरै नेपालीमध्ये एक जोशी पनि हुन् । नब्बे सालको भूकम्पमा उनी १३ वर्षका थिए । बहत्तरको भूकम्पमा ९५ वर्षका भए । त्यो दिन उनी पत्रिका किन्न घरबाट निस्केका थिए । फर्केर आउँदा बाटैमा भुइँचालो आयो । त्यसमा पनि बखुंबहालको उनको घरमा सामान्य क्षति भएको थियो । 

https://jhannaya.nayapatrikadaily.com/news-details/290/2019-06-08

No comments: