काठमाडौंमात्र होइन, नेपालभरि नै भीडभाड र ठेलमठेलको उपमा दिनुपर्दा असनको जस्तो भीड भन्ने चलन छ। काठमाडौंको मुटुजस्तो नै बीच भागमा परेको असन सम्पूर्ण सामान एकै ठाउँ किन्न पाइने ठूलो बजार हो। छवटा बाटो एकै ठाउँ जोडिएको फराकिलो चोक र विभिन्न देवीदेवताको मन्दिर रहेको पवित्र स्थल भएको कारणले पनि असनमा बिहान सबेरै भीड सुरु भइसकेको हुन्छ। यो भीडभाड बेलुकी मानिस ननिदाएसम्म रहिरहन्छ।
सुरेश किरण
फुर्सद
१९ चैत २०७३ ०८:२३:०९
काठमाडौंमात्र होइन, नेपालभरि नै भीडभाड र ठेलमठेलको उपमा दिनुपर्दा असनको जस्तो भीड भन्ने चलन छ। काठमाडौंको मुटुजस्तो नै बीच भागमा परेको असन सम्पूर्ण सामान एकै ठाउँ किन्न पाइने ठूलो बजार हो। छवटा बाटो एकै ठाउँ जोडिएको फराकिलो चोक र विभिन्न देवीदेवताको मन्दिर रहेको पवित्र स्थल भएको कारणले पनि असनमा बिहान सबेरै भीड सुरु भइसकेको हुन्छ। यो भीडभाड बेलुकी मानिस ननिदाएसम्म रहिरहन्छ।
भर्खरै सकिएको घोडेजात्रामा पनि हरेक वर्षझैं असन चोकमा पाहां चःर्हे पर्वको खट परिक्रमा गर्ने जात्रा सम्पन्न भयो। पाहां चःर्हे काठमाडौंमा मनाइने दसैंपछिको सबैभन्दा ठूलो पर्व हो। यसमा वटु भद्रकाली, टेबहाल भद्रकाली र कंगेश्वरी अजिमा गरी तीन देवीको खट ल्याएर एकआपसमा परिक्रमा गरी आगो साटासाट गर्ने जात्रा हुन्छ। नेपाल भाषामा ‘द्यः ल्वाकेगु जात्रा’ भनिने यो जात्रा हेर्न कुनै बेला असन चोकको ६ वटै बाटामा एउटा सियोसम्म पनि राख्न नमिल्ने गरी मानिसको भीड हुने गर्थ्यो।
असनमा मानिसको मात्र भीड हुने होइन। यहाँ विभिन्न देवीदेवताको पनि सानोतिनो भीडै नै छ। असनको बीचमा अन्नपूर्णदेवीको मन्दिर छ। नेपाल भाषामा यसलाई ‘असंमदु अजिमा’ भनिन्छ। यो असनको सबैभन्दा प्रख्यात मन्दिर हो। यसका साथै यहाँ गणेश, लक्ष्मीनारायण, उमामहेश्वर र कुमारी गरी पाँचवटा मन्दिर रहेको छ। यी सबै देवीदेवताको करिबकरिब बीचतिरै एउटा अर्को मूर्ति पनि छ जसलाई सधैं असन पुगिरहने मानिसले पनि खासै ध्यान दिएका हुँदैनन्।
त्यो हो एउटा माछाको मूर्ति। असनको बीचमा कुनै माछाको मूर्ति पनि छ भन्ने धेरैलाई हेक्का रहेको पाइँदैन। कतिले त मूर्ति रहेको त्यो ठाउँमा फूल अक्षताले पुजिरहँदा पनि त्यहाँ कुन भगवान् छ भन्ने कुरा भने थाहा पाएका हुँदैनन् किनभने माछो रहेको त्यो ठाउँ अक्सर पानीले भरिएको हुन्छ र माछोचाहिँ पानीमा डुबेको हुन्छ।
पहिले पहिले त्यो ठाउँ बीच सडकको भुइँमै थियो। भुइँमा बनाइएको एउटा खाल्डोमा माछाको मूर्ति राखिएको थियो। भुइँमा फोहोर हुने र सबैले कुल्चिने भएकाले केही वर्षअघि भुइँको त्यो खाल्डोसहित नै माथि उठाएर चार फिटजति अग्लो खम्बामा अड्याइएको थियो। ढुंगैढुंगाले बनाइएको एउटा खाल्डोमा माछा राखिएको छ। भाँडोमा सधैं पानी भरिरहने हुनाले माछो अक्सर पानीमै डुबिरहेको हुन्छ। पानीसहितको भाँडोमा माछाको मूर्ति राखिएकाले यसलाई एक किसिमले जीवित माछोको प्रतीकका रूपमा लिन सकिन्छ।
माछोको यो मूर्तिलाई असनका अरू देवीदेवतासरह पुज्ने गरिन्छ। तथापि यसको कुनै खास जात्रा वा छुट्टै पर्व भने रहेको पाइँदैन। यद्यपि असनमा मनाइने कुनै पनि पर्व, जात्रा आदिमा ल्याइने खट वा रथले यो माछोलाई पनि एक चक्कर परिक्रमा गरेरै जान्छ। यसबाट थाहा हुन्छ, असनको यो एक्लो माछोको आफ्नो कुनै जात्रा पर्व नभए पनि असनमा पर्व मनाउन आउने सबै जात्रालुको श्रद्धा भने यसले पाइरहेको छ।
ढुंगैढुंगाले बनाइएको एउटा खाल्डोमा माछा राखिएको छ। भाँडोमा सधैं पानी भरिरहने हुनाले माछो अक्सर पानीमै डुबिरहेको हुन्छ। पानीसहितको भाँडोमा माछाको मूर्ति राखिएकाले यसलाई एक किसिमले जीवित माछोको प्रतीकको रूपमा लिन सकिन्छ।
यो माछो असनको यही ठाउँमा कसरी रह्यो भन्नेबारे एक कथा छ। किंवदन्तीजस्तै लागे पनि कथामा जोडिएको विज्ञानको एउटा तथ्य भन्ने गज्जब लाग्ने गर्छ। कथाको सार एउटै भए पनि यसको प्रसंग विभिन्न स्थानमा विभिन्न प्रकारले नै वर्णन गरिएको पाइन्छ। कथा एकादेशबाटै सुरु गरौं:
‘एकादेशमा एउटा धुरन्धर विद्वान् ज्योतिष बस्ने गर्थे। उनीकहाँ सर्वसाधारणमात्र होइन राज्यका राजा र भारदारहरूसमेत आफ्नो भविष्य जान्न आउँथे। उनको भविष्यवाणी अचुक हुने गथ्र्यो। उनकी श्रीमती गर्भवती थिइन्। सुत्केरी हुने बेला उनी आफ्नो जन्मने छोराको भविष्य जान्न व्यग्र थिए। उनले सुँढेनीलाई बच्चा जन्मिनेबित्तिकै त्यसको जनाउ दिन घन्टी बजाउनु भन्ने आदेश दिई आफू आफ्नो कार्यकक्षमा तयार भई बसिरहे।
जसै बच्चाको जन्म भयो, सुँढेनीले घन्टी बजाइन्। घन्टीको आवाज सुन्नेबित्तिकै ज्योतिषले खरर्र्र हिसाब गर्न थाले। अन्त्यमा जो योग निस्क्यो, त्यो देखेर उनी झस्के। किनभने उनका नवजात छोरा भविष्यमा गएर भयंकर बदमास बन्ने पो नतिजा आएको रहेछ। उनले दोहर्याई, तेहर्याई हिसाब गरे। योग पनि त्यहीको त्यही निस्क्यो। त्यही चिन्ताले उनी यस्तो छोराको त अनुहार पनि हेर्न हुन्न भनी तत्काल घरबाट निस्केर हिँडे। कता गए कसैलाई थाहा भएन।
छोरा ठूलो हुँदै गए। बाबु ज्योतिष भएकाले छोरालाई पनि आमाले ज्योतिष विद्या नै सिकाइन्। ठूलो हुँदै गएपछि उनी पनि बाबुजस्तै धुरन्धर विद्वान् बने। एक दिन उनी आफ्नो बेपत्ता भएका बाबुलाई खोज्न भनी घरबाट निस्के। धेरै वर्षसम्म यताउति भौंतारिसकेपछि एक दिन उनी यही असनको बीच बजारमा पुगे।
त्यहाँ अलिक अनौठो भीड भइरहेको थियो। एकजना ज्योतिषले त्यहीँ बसेर आज साँझ पानी पर्ने र पानी पर्दा वर्षासँगै एउटा जिउँदो माछा पनि झर्ने भनी भविष्यवाणी गरेका रहेछन्। उनको भविष्यवाणी सुनेर मानिसहरू चकित भई त्यहाँ जम्मा भएका रहेछन्। त्यही बेला बाबु खोज्दै आएका ज्योतिष पनि त्यहाँ पुगे। उनले पनि मत्स्य योगको हिसाब गरे। साँच्चै हो। माछा त झर्नेवाला छ। तर उनले भविष्यवाणी गर्ने ती ज्योतिषलाई चुनौती दिँदै सोधे-माछा त झर्नेवाला छ तर कहाँनेर झर्छ त्यो भन्न सक्नुहुन्छ?
ज्योतिषले त्यो भन्न सकेनन्। छोरा ज्योतिषले बजारको बीचमा एउटा दुईतीन हातको आयाताकार घेरा बनाउँदै भने— माछो यही घेराभित्र झर्छ। उनको कुरा सुनेर मानिसहरू झनै चकित भए। नभन्दै पानी पर्न सुरु भयो। र, साँच्चै पानीको सँगसँगै एउटा जिउँदो माछा पनि त्यही घेरोभित्र फ्याट्ट झर्यो। सबैजना छक्क परे। यति सही भविष्यवाणी कसरी गर्न सकेको होला ? सबैले उनीबारे जान्न चाहे। उनले आफू फलानो ठाउँको मान्छे, फलानो काम गर्छु र फलानो कामका लागि निस्केको हुँ भनी बताए।
त्यसपछि थाहा भयो, असनमा वर्षासँगै माछो पनि झर्छ भनी भविष्यवाणी गर्ने ज्योतिष त उनकै बाबु पो रहेछन्। असनमा बाबुछोराको नाटकीय भेट भयो। दुवैजना खुसी भए। तर बाबुको मनमा एउटा प्रश्न घुम्न थाल्यो। छोरा जन्मेको बेला उनले भविष्यवाणी गर्दा उनी त भयंकर बदमास हुने योग निस्केको थियो, तर छोरो त भयंकर विद्वान् ज्योतिष पो बनेछन्। आफ्नो हिसाब कहाँनेर चुकेछ त ? बाबु ज्योतिषले यो कुरा छोरा ज्योतिषलाई नै सोधे।
छोराले सम्झाए— जन्मिनेबित्तिकै बजाएको घन्टीको आवाज सुनेर उनले हिसाब गरेका थिए। तर, कोठामा बजाएको घन्टीको आवाज पर कोठामा बसिरहेको बाबुको कानसम्म पुग्न पनि केही समय लाग्छ। घन्टी बज्नेबित्तिकै पर आवाज सुनिएको होइन। सुँढेनी कोठामा जुन बेला घन्टी बजेको थियो, त्यसको आवाज कार्यकक्षमा आफ्नो कानसम्म पुग्न जति समय लागेको हो त्यो समयलाई हिसाबमा नजोडिएको रहेछ। यसले गर्दा योग गलत निस्कन पुग्यो। आवाजको गति र त्यसलाई हावाको चापले फरक पार्न सकिने ज्ञान बाबुले छोराबाटै प्राप्त गरे। त्यसपछि दुवैजना घर गए।'
कथा यति हो। तर, यो कथामा आवाजको गतिबारे जुन प्रसंग उठाइएको छ, त्यो अत्यन्त अनौठो छ। आवाज एक ठाउँबाट अर्को ठाउँमा पुग्न पनि समय चाहिन्छ भन्ने तथ्य १७औं शताब्दीमा मात्रै पश्चिमा वैज्ञानिकहरूले पत्ता लगाएका थिए। सर आइज्याक न्युटनले पहिलोपटक आवाजको गति नाप्ने प्रयास गरेका थिए। तर, त्यो सफल भएन। सन् १७०९ मा विलियम देहरमले आवाजको सही गति नापेर सार्वजनिक गरेका थिए।
सामान्य हावामा आवाज प्रतिसेकेन्ड ३४३ मिटरको दरले दौडिन्छ भन्ने तथ्य त्यति बेलामात्रै पत्ता लागेको थियो। तर असनको यो माछोले आवाजको गतिबारे त्योभन्दा धेरैअघि नै कुरा उठाइसकेको प्रमाण दिएको छ। वास्तवमा विज्ञानका सन्दर्भमा पनि हाम्रो पूर्वीय ज्ञान कुनै बेला उच्च थियो भन्ने दसी हो, असनको यो माछो !
http://annapurnapost.com/news/67880
No comments:
Post a Comment