Sunday, January 17, 2021

असनको राजनीतिक कनेक्सन



शिशिर वैद्य

काठमाडाैं

२०७५ चैत १६ शनिबार ११:२९:०० 

मिर्मिरेमै सुरु हुन्छ असं (असन) बजार । ग्राहक बोलाउने चर्का आवाज र मोलतोलको हल्ला यसका विशेषता हुन् । संघीय राजधानी काठमाडौंको यो प्राचीन सहर असंको महŒव व्यापारमा मात्रै सीमित छैन । सांस्कृतिक, धार्मिक र सामाजिक क्रियाकलापको केन्द्रबिन्दु पनि हो यो बजार । जन्मदेखि मृत्युसम्मका सामग्री खरिदका लागि बजारको भरपर्दो विकल्प अझै तयार भइसकेको छैन । समग्रमा भन्नुपर्दा यो बजार राजधानी काठमाडौंको मुटु हो । फैलिँदै गएको सहरलाई अत्यावश्यक सामग्री पु-याइरहेको एउटा स्वस्थ मुटु ।

विशेषता यत्तिमै टुंगिँदैन । नेपालको हरेक राजनीतिक परिवर्तनको सबैभन्दा बलियो साक्षी पनि हो यो बजार । भूमिकासहितको साक्षी । राणाविरुद्ध, पञ्चायतविरुद्ध, शाही कुविरुद्ध पटक–पटक भएका जनआन्दोलनलाई नजिकबाट भोगेको छ असंले । जहानियाँ राणाकालमै नागरिक अधिकार समिति, विभिन्न शीर्षकका गुठी, स्वयंसेवक संघ–संगठन एवं राजनीति प्रेरित खेलकुद गतिविधि असं बजारमा चलेका क्रान्तिकारी कदम थिए । बजारका नागरिक सचेत थिए । समय खुल्लम–खुल्ला राजनीतिक कार्यक्रम गर्न मिल्ने थिएन ।

राजनीतिक गतिविधि गर्नु अर्थात् सीधै मृत्युलाई आमन्त्रण । तर, पनि राजनीतिक क्रियाकलाप हुन्थे । धार्मिक, सांस्कृतिक र खेलकुद कार्यक्रमको आडमा । केन्द्रीय बजार हुनुको फाइदा त्यही थियो । सधैँ भिडभाड भइरहने । लुक्न सजिलो, भाग्न सजिलो । को आयो, को गयो पत्तै नहुने । त्यसैले जनआन्दोलनमा नारा लगाउँदै कुदेका आन्दोलनकारी खोज्न असम्भव हुन्थ्यो । राजनीतिको केन्द्रबिन्दु हुन असं बजारको यो विशेषताले निकै काम गरेको थियो । 
हरेक दश पाइलामा एउटा नयाँ टोल
भेटिन्छ काठमाडौंमा । असं बजार वरपर पनि थुप्रै टोल छन् । बहाः, बही, चुक, ननीहरू छन् । थुप्रै नेतालाई शरण दिएका छन् यी टोलले । कमलाक्षी, त्यर, महाबौद्ध, बालकुमारी, न्ह्यकंतला, तंलाक्षी, भोटाहिटी, खिंल, केलटोल, दगु बहाः, हिती मंगः आदि विभिन्न असंसँग जोडिएका टोलहरू हुन् । नेपालको राजनीतिमा यी टोलको योगदान कम छैन । उत्तिकै छ । अझ भनूँ, बढी नै छ । असं केन्द्रबिन्दु थियो । वरपरका टोलहरू स्रोतकेन्द्र थिए । बजारका हिसाबले पनि, राजनीतिका हिसाबले पनि । 

भद्रकाली रेकर्डिङ हाउस, नागरिक अधिकार समिति, भक्तबहादुर बुकसेलर, कैलाशराम श्रेष्ठको पसल, निरञ्जनगोविन्द वैद्यको किताब पसल, नातिबज्रको सफुधुकु, शान्ति निकुञ्ज विद्यालय आदि भोटाहिटीमा सञ्चालित राजनीतिक विमर्श केन्द्र थिए । त्यस्तै तंलाक्षीको बुद्ध धर्म उद्धार संघ, खिंलको महावीर इन्स्टिच्युट, कमलाक्षीको मानदास सुगतदासको पसल, धर्मरत्नको साबुन पसल, महन्तलाल साहुको पसल आदि असं बजार वरपरका राजनीति प्रेरित पसल थिए । भोटाहिटीको दगुबहाः विभिन्न साहित्यिक कार्यक्रम एवं नेपालभाषा आन्दोलनका लागि अझै प्रसिद्ध छ ।

राजनीतिक दल र नागरिक अधिकारकर्मीसँगसँगै पञ्चहरूले पनि आफ्नो भेटघाटको केन्द्र बनाएका थिए, केलटोलस्थित पल्टन घरभित्रको चोक । यहाँ इतिकासकार योगी नरहरिनाथ बस्थे । क्रान्तिकारी भावना जागृत गराउन र राजनीतिक चेतना फैलाउन असं बजार क्षेत्रमा फैलिएर बसेका यी विभिन्न पसल एवं संस्थामा आममानिसको भेषमा गुप्तचरहरूको आवागमन पनि तीव्र हुन्थ्यो । 

धार्मिक गीत–संगीत रेकर्ड गर्ने बहानामा राजनीतिक विचारधारा प्रचारप्रसार गर्ने गथ्र्याे भद्रकाली रेकर्डिङ हाउस । आमजनताले पनि पढ्न पाउनुपर्छ भन्ने उद्देश्यसाथ खुलेको महावीर इन्स्टिच्युट, असं पश्चिमको खिंलटोलमा थियो । विसं १९९३ मा खोलिएको उक्त स्कुललाई सरकारले ०९७ सालमा बन्द गर्न आदेश दियो । आरोप थियो, सरकारविरुद्ध जनता भड्काउनु । 

महावीर इन्स्टिच्युट बन्द भए पनि विद्यालय खोल्ने क्रम रोकिएन । बढ्दै गयो । असं न्ह्यकंतलामा दिवाकर भाजुको घरमा नेपाल पद्मज्योति पाठशाला । अमिर राजभण्डारी र अष्टमंगल बज्राचार्य मिलेर नःघलमा सञ्चालित स्कुल । नन्दलाल जोशी, भुवनलाल जोशी, केशरलालहरू मिलेर भेडासिंहमा चलाएका पाठशाला केही उदाहरण हुन् । यी तीन पाठशाला गाभेर विसं २००२ मा शान्तिनिकुञ्ज विद्यालय स्थापना गरियो । न्ह्योखाको कन्यामन्दिर, असंको बालकुमारी विद्यालय पनि शान्तिनिकुञ्ज विद्यालयकै समकालीन विद्यालय हुन् ।

सरकारी स्वीकृतिबेगर खोलिएका यी विद्यालयमा अभिभावकहरू विद्यार्थी पठाउन डराउँथे । सरकारी गुप्तचरहरू गिद्धे नजर पारेर बसेका हुन्थे । केही अनिष्ट पो हुने हो कि ? भन्ने भयले शिक्षक, अभिभावक र विद्यार्थी सबै सशंकित थिए । भोटाहिटीको मुखैमा एक मात्र सरकारी हाईस्कुल थियो, दरबार हाईस्कुल । तर, त्यो आममानिसका लागि सर्वसुलभ थिएन ।

शङ्करप्रसाद नेपाल, केदारमान श्रेष्ठ (व्यथित), राजालाल कल्वार, आनन्दराम श्रेष्ठ, गंगालाल श्रेष्ठ, मुरलीधर भट्टराई आदि मिलेर विसं १९९४ मा नागरिक अधिकार समितिको स्थापना गरेका थिए । अध्यक्ष थिए, सहिद शुक्रराज शास्त्री । भोटाहिटी र असंका युवा मिलेर स्वयंसेवा समिति गठन गरेका थिए, त्यही साल । सदस्यहरू थिए, सूर्यबहादुर भारद्वाज, होराप्रसाद जोशी, मथुरालाल श्रेष्ठ र दिवाकर भाजु । 

भक्तबहादुर बुक सेलर र कैलाशरामको पुस्तक पसलहरू गोप्य तवरबाट सञ्चालित पुस्तकालय थिए । कवि केदारमान व्यथित लिखित नेपालभाषाको पुस्तक छापेको र बेचेको आरोपमा भक्तबहादुरको सर्वस्वहरण गरिएको थियो । महाबौद्धस्थित प्रेमबहादुर कंसाकारको घरमा नेपालकै पहिलो सार्वजनिक पुस्तकालय ‘नेपाल प्रदीप्त पुस्तकालय’ खोलिएको थियो । विसं २००३ मंसिरमा खोलिएको उक्त पुस्तकालय अहिले मासंगल्लीस्थित प्रेमबहादुर स्मृति भवनमा छ । त्यस्तै ०१५ सालतिर न्ह्याकंतलामा विप्लवी पुस्तकालय खोलिएको थियो । प्रो. मानिकलाल श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ, काजीलाल श्रेष्ठ आदि युवा मिलेर खोलेको पुस्तकालयले नेपालभाषा सिकाउने र नेपालभाषामा पत्रिका निकाल्ने काम पनि गथ्र्याे ।

यी पुस्तकालय तात्कालीन समयमा आमजनतालाई जागरुक बनाउने उद्देश्यका साथ खोलिएका थिए । तर, अहिले आफ्नो ऐतिहासिक अस्तित्व जोगाउने प्रयास गरिरहेका छन् ।
विसं २०२२ मा असं दगु बहालको मुखैमा खुलेको थियो नातिबज्रको पसल सफूधुकु । नातिबज्र नेपालभाषाका अथक सेवक थिए । अहिले पनि नेपालभाषाका थुप्रै साधकको जमघट दैनिकजसो यहाँ भइरहन्छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य निरञ्जनगोविन्द वैद्यको प्रगतिशील पुस्तक भण्डार असंमा थियो । पछि भोटाहिटीमा स-यो । वामपन्थी सिद्धान्त प्रचार–प्रसारको केन्द्रबिन्दु रहेको वैद्यको पुस्तक पसल सधैँ प्रशासनको निगरानीमा रहन्थ्यो । झन्डै चालीस वर्ष सञ्चालनमा रह्यो पसल । विसं २०५२ पछि उक्त पसल बन्द भयो । ०१५ सालको चुनावमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको चुनावी प्रचार–प्रसार कार्यालय असं हिटिमंगस्थित रत्नवीर सिं तुलाधरको घरमा थियो ।

तुलाधरकी जहान तेजशोभाले सिलाएको हँसिया–हथौडा अंकित रातो कपडा पाखुरामा बाँधेर कार्यकर्ताहरू चुनाव प्रचारमा निस्कँदा बजार वाममय हुन्थ्यो । कुनै पनि आन्दोलनका जुलुस, पर्चाबाजी, कोणसभाका लागि उपयुक्त स्थान थियो असं बजार । रानीपोखरीपारि त्रिचन्द्र कलेजमा उठेका हरेक आन्दोलनको उभार भोटाहिटी असन बजार हुँदै सहरमा बिलाउँथ्यो । रानीपोखरीसँगैको अञ्चलाधीश कार्यालयबाट प्रहरी खटिएर आउँदासम्म आन्दोलनकारी असं बजारमा हराइसकेका हुन्थे । कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ससुराली टोल हो असं । असं–तंलाक्षीस्थित त्रिरत्न तुलाधरको घरले भूमिगतकालमा बिपी कोइरालालाई शरण दिएको थियो । तर, यहीँ बस्दा उनी पक्राउ परे । नेपालभाषाका महाकवि सिद्धिदासको घर असं जनबहालमा छ । भाषा आन्दोलनका अगुवा सिद्धिदासले नेवारी समाजलाई राणाशासकको जहानियाँ शासनविरुद्ध जागृत गर्न निकै महत्वपूर्ण भूमिका खेलेका थिए । 

नागरिक सचेत हुनु, राजनीतिक अधिकारका लागि जागरुक हुनु शासकका लागि सधैँ टाउको दुखाइको विषय हो, राणाकालमा पनि अहिले पनि । झन् त्यो समय जहानियाँ राणाहरूको शासनको समय थियो । उनीहरूलाई यी कार्य पाच्य हुने कुरै थिएन । पञ्चायत राणाहरूकै सिको गर्दै शासन गरिरहेको थियो । त्यसैले सेवासुविधा दिने अस्पतालभन्दा जेल र कालकोठरीको संख्या अधिक थियो । तीमध्ये भद्रगोल जेल, सदर कारागार, सेन्ट्रल जेल, नख्खु जेल सबैले थाहा पाएका नाम हुन् । बेनाम यातना केन्द्रहरूको संख्या गनि साध्य थिएन । 

विभिन्न राजनीतिक पार्टीका नेताहरूको खुला सेल्टर थियो असं । देशमा भएका हरेक घटनाको प्रतिक्रिया र प्रतिबिम्ब देख्न पाइन्थ्यो यहाँ । बजारसँग जोडिएका कथाका थुप्रा आ–आफ्नै छन् । व्याख्या पनि आ–आफ्नै छन् । काठमाडौं सहर फैलिएर काँठतिर तन्किएको छ । तर, राजनीतिक गतिविधिका लागि असंको महत्व घटेको छैन । चाडपर्वमा रातभर चहलपहल रहने असं अहिले पनि आधारातपछि मात्रै शान्त हुन्छ । असं बजारको भिड अझै उस्तै छ । अन्नपूर्ण मन्दिर अघिल्तिर बसेर तरकारी, फलफूल बेच्ने र किन्नेको भिड उस्तै छ । ताजा खबर भन्दै कराउँदै पत्रिका बेच्ने परिपाटी बिलाए पनि पत्रिका किन्ने र बेच्नेको जमात असंमा छँदै छ । जीवन्त संस्कृतिको धनी असं बजार झन्–झन् गुल्जार छ । 

https://jhannaya.nayapatrikadaily.com/news-details/96/2019-03-30

No comments: