नेवार वास्तुविद्का अनुसार नाग, कंकाल, बेताल र ख्याक घरका रक्षक हुन् । सहरमा तीसको दशकसम्मै ख्याकका आख्यानहरू यत्रतत्र सुनिन्थे । तर, आज कंक्रिटका भौतिक संरचनाको जंगल बन्दै गएको उपत्यकाभित्र ख्याकहरू श्रुति र स्मृतिमा पनि रहेनन्, केवल विस्मृतिका कथनका सीमित छन् ।
‘...गएको रात त्यसै गल्लीमा घम्साघम्सी परेको रहेछ । एकले अर्कोलाई पछार्ने, लछार्ने, घिसार्ने ! निकै लामो समयसम्म भिडन्त पर्यो । निष्पट्ट अँध्यारो, केही देखिन्न । तर, बाटोमा एक जना अगाडि बढ्न खोज्ने, अर्कोले बाटो छेकेर पाइला चाल्नै नदिने । दुवै जना आ–आफ्ना पाखुरा सुर्कंदै प्रतिद्वन्द्वीलाई माटो चखाउने सुरमा थिए । ठेलमठेल, पेलमपेलमा निकै समय बित्यो । भाले बास्यो, झिसमिसे हुनै लाग्दा एकले अर्कोलाई पछार्यो । मिर्मिरे उज्यालोमा दुवैले एकअर्काको जीउडालको खाका देखे, अनुहार देखे । दुवैले दुवैलाई चिने । भिडन्तमा पछारिने त ख्याक पो रहेछ । आखिर हार मानेर ख्याक त्यहाँबाट सुइँकुच्चा ठोक्यो । ख्याकसँग जुध्ने मान्छे बल्ल आफ्नो बाटो लाग्यो ।’
सहरभरि चर्चा भयो— गएको राति चलचा गल्लीमा ख्याकलाई पछार्ने अरू कोही थिएन, चाक्सीबारी निवासी हीराकाजी थियो । हीराकाजी अर्थात् गणेशमान सिंह !
भद्रगोल जेलको पर्खाल नाघेर भागेदेखि गणेशमानको साहस, कारनामा र बहादुरीका अनेकन कथा त्यतिबेला मान्छेहरूका माझ चर्चित थिए । बिस्तारै ती कथा मिथक बन्दै थिए । तीमध्ये एक कथा थियो— ख्याकसँगको भिडन्त । तर, आजसम्म कसैले पनि ख्याकसम्बन्धी त्यस कथनपछाडिको सत्यता केलाउने जमर्को गरेन ।
त्यसो त उपत्यकाभित्रको लोकजीवनमा ख्याकका अनेकन कथाहरू अनपेक्षित र अप्रत्याशित भने थिएनन् ।
तीसको दशकसम्म पनि यस्ता लोकचर्चाहरू यत्रतत्र सुनिन्थे । एकाबिहानै पँधेरोमा पानी थाप्दाथाप्दै होस् वा चिया गफ होस् वा टोलछिमेकीको बसीबियाँलो होस् ख्याक, भूतप्रेत, किचकन्या सम्बन्धित विभिन्न चटपटे विवरणहरू प्रस्तुत हुन्थे :
नरदेवीतिरको एउटा घर किनेर त्यहाँ सुत्न गएका घरधनीलाई बिहानीपख कसैले कोठाको ओछ्यानबाटै घिसारेर छिँडीमा ल्याइ पछार्यो । प्रत्येक रात दोहोरिने एकैखाले घटना सहरभरि चर्चित थियो । मानिसहरू भन्थे— घरमा ख्याकको बास भएकैले यसो भएको हो ।
पाटनको च्यासलको एउटा गल्लीमा साँझ अबेर एक्लै हिँडेको मान्छेलाई अचानक कसैले गालामा चड्काइदिन्थ्यो । वरपर हेर्दा कतै कोही फेला पर्दैनथ्यो । स्थानीय भन्थे— त्यहाँ ख्याकको रजाइँ चल्थ्यो ।
काठमाडौं म्हैपी डाँडामुनिको खेतमा एकाबिहानै खनजोत गरिरहेका एक जना तगडा ज्यापू यताउति लड्दै–भिड्दै, कहिले आफैँ पछारिँदै, कहिले कसैमाथि जाइलागिरहेजस्तो हात–खुट्टा चलाउँदै असिनपसिन अवस्थामा भेटिए । उनको जीउभरि हिलो माटो थियो । धेरै बेरपछि उनी शान्त भए । उनी साह्रै थकित देखिन्थे । मानिसहरूले सोधे— के भएको थियो ? ज्यापूले ख्याकसँग जुधिरहेको विवरण सुनाउन थाले । यद्यपि, त्यहाँ कसैले पनि ख्याक देखेका थिएनन् ।
जनजिब्रोमा रहेको अर्को एउटा कथा यस्तो छ । भक्तपुरको भित्री बस्तीको एउटा घरमा जोकोही पस्ने साहस गर्दैनथे । त्यस घरमा पुगेर राति सुत्ने कुरा कल्पनै गर्न सकिन्नथ्यो । तर, एक जना सुरो मान्छे रक्सीको मातमा त्यसै घरमा सुत्न पुगे । मात्तिएकाले सुरुमा उनले केही थाहा पाएनन्, सुतेको सुत्यै भए । बिहानीपख बुइँगलको एउटा कुनाबाट कसैले ‘थाप, थाप, थाप !’ भन्दै कराएको सुने । पटकपटक कराउन थालेपछि उनले अलिअलि मातको सुरमा, अलिअलि थाहा पाएको धूनमा लवेदाको फेर तानेर थापे । अचम्म के भने उनको लवेदामा असर्फीहरू झरे । ती असर्फी सोरसार पारेर उनी त्यहाँबाट टाप कसे । त्यसपछि उनी भक्तपुरकै सम्पन्न मान्छे बने ! ती असर्फी ख्याकले फालेको रहेछ ।
बाटोमा हिँड्दाहिँड्दै छोपिन आउने लँपंख्याः, जीउभरि भुत्ला नै भुत्ला भएको धापलांख्याः, कतै जाँदा खुट्टामा गुल्टिन आउने भकुंग्वाराख्याः, औंलामा आगो सल्काएर हिँड्ने मिप्वाःख्याः आदि उपत्यकाका लोकजीवनमा चर्चा हुने ख्याक हुन् ।
विज्ञान यस्ता अभौतिक पक्षमा विश्वास गर्दैन । ख्याकजस्ता अधिस्वाभाविकको अस्तित्वलाई पत्याउँदैन पनि । यता परामनोविज्ञानले भने मानिसभित्रको अचेतन तथा अवचेतन पक्षको विश्लेषण गर्दै ब्यक्ति हुर्केको सामाजिक परिवेश, लोकसंस्कार–संस्कृति र आस्थाजन्य पक्षबाट विकसित हुने विभ्रमले अनेकन अस्वाभाविक, अप्राकृतिक र अभौतिक पक्षसँग जम्काभेट गराउने सम्भावना देख्छ । परामनोविज्ञानले ख्याकको प्रसंगलाई पनि त्यसरी नै व्याख्या गर्ने गर्छ ।
नेवार लोक आख्यान र संस्कृतिको चर्चा गर्दा भने अनेकन प्रसंगमा ख्याक भेट्टाउन सकिन्छ । प्रचलित शास्त्रीय नाचहरूमध्ये भक्तपुरको महाकाली नाचका ख्याक सबैको स्मृतिमा ताजा रहने पात्रका रूपमा छन् । त्यस्तै कात्तिक नाचको एक प्रमुख अंश देवी नाचको आकर्षक पात्रका रूपमा ख्याकले भूमिका निर्वाह गर्छ । उपत्यकाभित्र नचाइने अन्य गंप्याखं (सर्वगणसहितको नाच) हरूमा पनि ख्याक एक पात्रको रूपमा आउँछ । यद्यपि, नाचहरूमा ख्याक मूल पात्र होइन, सहायक वा हास्य चरित्रका रूपमा सीमित छ ।
एउटा अति चर्चित लोकश्रुतिका अनुसार देवादिदेव महादेव र महामाया स्वरूपा पार्वतीबीच कुरैकुरामा भनाभन भएछ । रिसको झोंकमा एकले अर्कोलाई घुर्क्याउँदै स्त्रीबिना पनि सन्तानोत्पत्ति सम्भव छ भनेर दाबी गरेछन् । पार्वतीले पनि पुरुषसँगको संसर्गबिनै बच्चा जन्माउने घुर्की लगाइन् । नभन्दै दुवैले एक्लाएक्लै प्रयत्नमा बच्चाहरू जन्माए । महादेवले पार्वतीको सहभागिताबिना सृष्टि गरेको शिशु रगत, मासु, छाला नभएको केवल कंकालको आकृतिमा देखियो । पार्वतीको तर्फबाट महादेवको सहभागिताबिना जन्माइएको नवजात हाडखोर नै नभएको मासुको डल्लो मात्र भयो । मासुको डल्लोको रूपमा जन्मिएको त्यही बच्चा नै कालान्तरमा ख्याकका रूपमा चिनियो ।
यस लोकश्रुतिलाई दार्शनिक पक्षले विश्लेषण गर्नेहरूले प्रकृति र पुरुषका प्रतीकका रूपमा व्याख्या गर्छन् अनि भन्छन्— जीवन स्त्री र पुरुषको सह–अस्तित्वबिना सम्भव छैन । ख्याक र कंकाल तिनै जीवन दर्शनको साकार प्रस्तुतिभन्दा अरू केही होइन । त्यसैले उपत्यकाभित्र सबैजसो शक्तिपीठका मन्दिरमा ख्याक र कंकालका आकृति अनिवार्य रूपमा दायाँ–बायाँ अंकित गरिन्छ ।
हिन्दु पुराण र मिथमा भने ख्याकलाई कुवेरसँग जोडेर चर्चा गरिएको पाइन्छ । रामायणको कथा सन्दर्भमा विश्रवाका पुत्रका रूपमा कुवेरको उल्लेख छ । कुवेर, रावण, कुम्भकर्ण र विभीषण दाजुभाइ हुन् । रावणले सत्ताच्युत गरेपछि उत्तर हिमालको कैलाश पर्वतसँगैको गन्धमादन पर्वतको अलकापुरीमा अधिपति भएर बसे, कुवेर । यक्षराज, किन्नरराज पनि भनिने कुवेर लोकपाल/दिक्पालका रूपमा पनि चिनिन्छन् । देवगणको सम्पत्तिका अधिकारी कुवेरका रक्षकहरूका रूपमा ख्याकको भूमिका उल्लेख गरिएको छ । यस अर्थमा ख्याक यक्ष हुन्, किन्नर हुन् ।
सम्भवतः यिनै मिथकले कुवेर र ख्याकलाई नेवार समुदायको ढुकुटीसम्म ल्याइपुर्याएको होला । तिहारमा पुजिने नेवार समुदायकी लक्ष्मी फरक हुन्छिन् । कमलको फूलमाथि नभई कछुवालाई आफ्नै वाहन बनाइएको तथा दायाँ हातमा ज्वलान्हायकँ र देब्रे हातमा सिन्हःमू (महिला शृंगारका विशेष साधनहरू) समाएकी लक्ष्मी अनि त्यसको एकछेउमा कुवेर तथा सेवार्थ भावमा समर्पित धनको थैली बोकेको ख्याक अनिवार्य रूपमा हुन्छ ।
धान्यपूर्णिमाको दिन धन्सारमा नयाँ अन्न भित्र्याएर पूजा गरिने योमरी पुन्हीको पर्वमा नयाँ चामलको पिठोबाट बनाइएको केवल योमरी रोटी मात्रै हुन्न । त्यसमा लक्ष्मी, कुवेरका साथै चामलको पिठोले बनाइएका ख्याकहरू पनि हुन्छन् । अनि ती सबको विधिपूर्वक प्राण प्रतिष्ठासहित ढुकुटीभित्र चार दिनसम्म पूजा आराधना गरिन्छ ।
ख्याकसँग नेवार लोकसंस्कृतिको गठिलो सम्बन्धको अर्को दृष्टान्त हो— नेवार कन्या केटीको बाह्रा कर्मकाण्ड । नेवार परिवारमा छोरीले बाल्यकाल पार गर्दै यौवनावस्थामा प्रवेश गर्न लागेको उमेरमा रजस्वला हुनुअगावै एउटा कर्मकाण्ड सम्पन्न गरिन्छ । बाह्र दिनसम्म पुरुषहरूबाट अलग्गै गोप्य कोठाभित्र रीतिपूर्वक कन्या केटीलाई राखिने यस संस्कार मूलतः यौवनावस्थामा जिज्ञासा जाग्ने यौनभाव र अन्य जीवन व्यवहारका सम्बन्धमा प्रशिक्षित गराउने विधि हो । बाह्र दिनको त्यो बसाइमा परिवारजनका महिला सदस्यका अतिरिक्त कन्या केटीका सहपाठी पनि कोठाभित्रका गतिविधिमा सहभागी हुन्छन् । नाचगान, खेल तथा रमाइलो पनि त्यत्तिकै गरिन्छ । तर, त्यस कोठाभित्र पस्न योग्य महिला परिवार सदस्यका अतिरिक्त अर्को एउटा पात्र पनि हुन्छ— त्यो हो ख्याक ! कोठाको खोपाभित्र कपास वा कपडाबाट आकार दिइएको एउटा मूर्ति प्रतिस्थापन गरिन्छ । त्यसको अगाडि श्रद्धापूर्वक दिनहुँ दियो बालिन्छ । बाह्रा बसेकी बालिकालाई केही खुवाउनुपूर्व त्यस मूर्तिमा चढाइन्छ । तीन दिनसम्म नुन–तेल बारिन्छ, चौथो दिन त्यसै मूर्तिको आराधना गरेर नुन–तेल फुकुवा गरिन्छ । भनिन्छ, बाह्रामा राखिएका कन्यामाथि आउन सक्ने अफ्ठ्यारा तथा संकटबाट बचाउन ख्याकलाई रक्षकका रूपमा राखिएको हो । ख्याकलाई रक्षकको विशेष स्थान दिइने यो प्रचलन नेवार समाजमा अद्यापि छ ।
नेवार वास्तुविद्का कथनअनुसार नाग, कंकाल, बेताल र ख्याक घरका रक्षकसरह हुन् । सेतो ख्याक लुकेको घर सदैव धन सम्पत्तिबाट मालामाल हुन्छ भन्ने पनि विश्वास गरिन्छ ।
तर, आज कंक्रिटका भौतिक संरचनाको जंगल बन्दै गएको उपत्यकाभित्र ख्याकहरू श्रुति र स्मृतिमा पनि रहेनन्, केवल विस्मृतिका कथनका सीमित छन् ।
प्रकाशित : कार्तिक २९, २०७७ ११:०६https://ekantipur.com/koseli/2020/11/14/160532168441872878.html
No comments:
Post a Comment