शिशिर वैद्य
उपत्यकाको सांस्कृतिक खाद्य सम्पदा बिलाउँदै गएको छ । यसलाई जोगाउनुपर्छ ।
‘कसं निसे वये हे मखु,
लाबा तरकारी नय हे मखु ।’
यो लोकगीत भाका मिलाएर बाजा बजाउँदै गाइन्थ्यो, पाहाँ चह्रेका दिन । उपत्यकाका गल्लीगल्लीमा बच्चा कराउँदै दौडिन्थे । नयाँ पुस्ताले सायदै सुनेका होलान्, यो गीत । बूढापाका अझै गुनगुनाउँछन् । ‘हरियो लसुन छिप्पिन थाल्यो है, अब नखाए हुन्छ’ भन्ने भाव छ लोकगीतमा । चैत्र कृष्ण चतुर्दशी वा पाहाँ चह्रेलाई पासाचह्रे वा पिशाच चतुर्दशी पनि भनिन्छ ।
हरियो लसुन सिजनको अन्तिमपल्ट जमिनमुनि लुकिराखेका महादेव (लुकुमहाः द्य)को पूजा गरी भोजमा खाइन्छ । काठमाडौंं उपत्यकामा फाँट बिलाउँदै गए पनि पाहाँ चह्रेसँगै लसुन छिप्पिन भने छाडेको छैन । काठमाडौंले कुनै समय भोटमा लसुनको व्यापार गथ्र्यो । अहिले काठमाडौंले चीनबाट आयात गर्छ । लसुन तरकारी र मसला मात्र होइन, अनेक गुणसहितको प्राकृतिक औषधि पनि उतैबाट ल्याइन्छ । काँचो लसुन, अदुवा, बोडी, भटमास, तोरीको साग र मासुका अनेक परिकारसहित सन्तुलित खाना खाने गरेको छ काठमाडौंले । ‘समे’ खाने भनिन्छ यसलाई ।
उपत्यकाका संस्कृति र चाडवाडको वातावरण र कृषिसँग घनिष्ट सम्बन्ध छ । नेपाल संवत् पोहेलाथ्व अष्टमी ९पौष शुक्ल अष्टमी०का दिन सेतो मत्स्येन्द्रनाथ अर्थात् जनबहाःद्यको महास्नान गरिन्छ । जात्रामय हुन्छ महास्नान । ‘जनबहाःद्यया न्हवं याय्गु’ भनिन्छ यो संस्कारलाई । ‘यस दिन घाम लाग्दैन । आकाश बादलले ढ्यामढुम्म छोप्छ’ भन्छन् बूढापाकाहरू । केही वर्ष अघिसम्म पनि महास्नानको समयमा उपत्यकाको आकाश बादलले ढाक्ने गर्दथ्यो । पुसको जाडोमा बादलले आकाश छोप्नु र महास्नान पर्नु मात्र संयोग पक्कै नहोला । उपत्यकाको वातावरण परिवर्तित भएको छ । जनसंख्या बढेको छ । जनघनत्व बाक्लिएको छ । तुषारो पर्नु, शीत झर्नु, बाक्लो हुस्सु लाग्नु काठमाडौंको वातावरणीय चरित्र थियो । त्यसैले जाडोसँग भिड्न काठमाडौं उपत्यकाले अनेक उपाए अपनाएको थियो ।
मध्य जाडो वा मार्ग शुक्ल पूर्णिमाका दिन नेवार समुदायमा यःमरी पकाइन्छ । यःमरी अर्थात् मनपरेको रोटी । चाकु, तिल राखेर बनाइन्छ यःमरी । चाकुले शरीरलाई गरम गर्छ भने तिलले ठन्डी । त्यसैले यःमरीलाई सन्तुलित रोटीका रूपमा लिइन्छ । चाकु मन नपर्नेहरू खुवा राखेर पनि बनाउँछन् । नयाँ चामलको पिठोको यो रोटीको चुच्चो जति लामो बन्यो, दिन त्यति लामो हुँदै जान्छ भन्ने जनविश्वास छ । उज्यालिन गाह्रो मान्ने बिहान, अस्ताउन हतारिने साँझ, ठिहि¥याउने जाडोका कारण दिन लामो पार्न यःमरीको चुच्चो लामो पार्ने होड चल्थ्यो, गृहिणीबीच । बालबालिका र युवा कराउँदै घरघरै यःमरी माग्न हिंड्थे–
त्यो छिं त्यो, बकछिं त्यो,
लाताबाता कुलिंचा, त्यो छिं त्यो
यःमरी च्वामु, उके दुने हाकु।।।
धेरैबेर हल्ला गरेपछि घरबेटीले ‘ना ना ना बियाछो’ (लु लैजाओ) भन्दै दुई चारवटा यःमरी दिन्थे । यी आवाज सुन्न पाइँदैन अहिले । जाडोबाट बच्न घिउ र चाकु खाने गरिन्छ । त्यो खाने दिनलाई घिउचाकु संल्हू भनिन्छ । संल्हु अर्थात् संक्रान्ति । माघेसंक्रान्ति र मकर संक्रान्ति पनि भनिने यस दिन तालुमा निरोगी बन्ने आशीर्वादसहित तुः चिकं (तोरीको तेल) लगाइन्छ । स्थानीय मिलमा पेलेको तुःचिकं हजुरआमा वा आमाले तालुमा च्यापच्याप हुनेगरी लाइदिँदा कान र गालासम्म बग्नेगथ्र्यो ।
आजभोलिका युवा तेल लगाउन खोज्दैनन् । यो पर्व मनाउन घिउ, चाकु र तिलौराका डल्ला, तरुल, भ्याकुर अनिवार्य छ । शरीरलाई रम्म पार्न काफी छन् यी परिकार । त्यस्तै, वर्षको एकपटक भए पनि सिस्नोको दाल र तरकारी खाने चलन थियो । उपत्यकाको चिसोसँग जुझ्न सिस्नोले मद्दत गथ्र्यो । साथै सिस्नो खानाले वर्षभरि खाएका खाद्यान्नको विकारलाई हटाउन पनि मद्दत गर्ने जनविश्वास छ । खानपिनको यो सामाजिक परिपाटी प्राकृतिक वातावरण सुहाउँदो थियो ।
यल पलः (पाटने पालुंगो) र तरुल संक्रान्ति भोजमा नभई नहुने परिकार हो । पाटनका ‘तेपे’ जातिले मात्रै रोप्ने यल पलः निकै स्वस्थकर हरियो तरकारी हो । लोककथनअनुसार शासकको क्रुरताबाट बच्न ‘तेप’ (घ्याम्पो)मा लुकी बसेकाले नै यो जातिलाई तेपे भन्न थालिएको हो । पाटनका यल पलः फल्ने बारी सहर विस्तारको चपेटामा परेको छ ।
काठमाडौं जीवन्त संस्कृतिको धनी सहर हो, जहाँ थुप्रै सामाजिक परम्परा र संस्कृति छन् । ती केही चलिरहेका छन् केही विलुप्त भइसके । अग्ला घर, चौडा सडक, उर्लिएको बसाइँसराइ । प्रविधि र प्राविधिकको आधुनिकताले महानगरमा रूपान्तरित भएको छ काठमाडौं ।
पश्चिमा संस्कार र संस्कृतिको प्रभाव बढ्दो छ यहाँ । लवाइखवाइ, रहनसहन सबै कुरा परिवर्तित हुँदै गएको छ । भित्तेपात्रो र पञ्चांगको ठाउँ अंग्रेजी क्यालेन्डरले लिएको छ । भित्तेपात्रोमा दिन, महिना, गतेको वार्षिक चक्र हुन्छ । पञ्चांगको आफ्नै गणितीय प्रक्रिया हुन्छ । यहाँको कृषि, संस्कृति र परम्पराको पनि निश्चित पात्रो छ । यो पात्रोको चक्र कहिलेदेखि चल्न थाल्यो यकिनका साथ भन्न सकिन्न । यो कुनै राजामहाराजाले चलाएको पात्रो पक्कै होइन । वातावरणअनुसार आफूलाई बाँच्नयोग्य, खानयोग्य उत्पादनको चक्र समाज आफैँले बनाएको हुनुपर्दछ । नत्र जाडोमा यःमरी, चाकु खाने गर्मीमा क्वाँटी खाने खाद्य संस्कृतिको परम्परा यत्तिकै बस्ने थिएन ।
काठमाडौंको खाद्य संस्कृति वैज्ञानिक छ । तर, यो कुनै वैज्ञानिक खोजका आधारमा नभई प्राचीन समयका मानिसहरूले आ–आफ्ना अनुभवका आधारमा बसाएको संस्कार र परम्परा हो । यी परम्परा र संस्कृति उपत्यकाको सांस्कृतिक सम्पदा हुन् । यसको संरक्षणमा राज्य र सरकार मात्र होइन, उपत्यकावासी आफैँ जागरुक हुनुपर्छ । नत्र वैशाख संक्रान्तिका वेला खाइने खायुक्वाँटी र अक्षय तृतीयाको दिन खाइने साखः त (सखरको झोल र सातु) खाने चलन बिलाएजस्तै उपत्यकाको सांस्कृतिक खाद्य सम्पदा बिलाउनेछ । यो वातवरणीय खाद्यचक्रलाई निरन्तरता दिन यसको व्यावहारिक महत्व नयाँ पुस्तामा हस्तान्तरण गरिनुपर्दछ ।
https://jhannaya.nayapatrikadaily.com/news-details/16/2019-03-15
No comments:
Post a Comment