Sunday, January 17, 2021

युथुनिमंमा भेटिएको जलद्रोणी



पुरुषोत्तमलोचन श्रेष्ठइतिहास
२०७६ जेठ २५ शनिबार ०८:०४:००

 भक्तपुर राजदरबारसँगै पश्चिमपट्टि खौमाटोल छ । सो टोलमा इन्द्रायणी देवगृह छ । सो देवगृहको उत्तरमा राजोपाध्याय ब्राह्मणहरूको निवासस्थान छ । १२ वैशाख ०७२ को महाभूकम्पले भक्तपुरमा पनि धनजनको प्रशस्त क्षति भएको थियो । त्यसपछि भूकम्पले तहसनहस भएका विश्वश्रेणीका सम्पदालगायत सर्वसाधारणका उस्तै क्षतविक्षत घर जीर्णोद्धार, पुनर्निर्माण हुने क्रम आजसम्म पनि चलिरहेकै छ । तीमध्ये राजोपाध्यायहरूको एउटा घर पनि पुनर्निर्माणाधीन छ । 

केही समयअघिको कुरा हो । म त्यही घरमुनिको बाटो हुँदै कामविशेषले जाँदै थिएँ । त्यसवेला सोही निर्माणाधीन घरसामुन्ने घर–निर्माण सामग्रीको राससँगै मिल्किएर रहेको अवस्थाको एउटा असुरक्षित जलद्रोणीमा मेरो ध्यान गयो । म इतिहास, संस्कृतिमा अभिरुचि राख्ने विद्यार्थी भएकाले सो जलद्रोणीमा अभिलेख कुँदिएको छ कि भनी यसको चारैतिर हेर्दै छामछुम गर्न थालेँ । नभन्दै सो जलद्रोणीमा पाँच पंक्तिको अभिलेख कुँदिएको देखेँ । विस्मयपूर्वक त्यसमा लागेको धुलोमाटो हटाएर अभिलेख पढेँ, आजभन्दा ८४४ वर्षअघिको अमृतदेवको पालाको रहेछ । 

नेपालको पूर्वमध्यकालका ऐतिहासिक सामग्री निकै कम मात्र पाइएको छ । सोही कालको महत्वपूर्ण प्राप्ति थियो यो अभिलेख । यति दुर्लभ र महत्वपूर्ण अभिलेख भेटिएकोमा मलाई आश्चर्य र खुसी लाग्यो । नियतिको मारले पु-याएको यसको दुरावस्था देखेर दुःखी पनि तुल्यायो । हिजो पवित्र जलले भरिभराउ भइरहने सो जलद्रोणी आज रित्तो छ । र, त्यो रित्तो जलद्रोणीमा सफा मन पराउने आजका सभ्य मान्छेहरूले मिल्काएका डिस्पोेजेबल ग्लास र अन्य फोहर वस्तु थुप्रिएका थिए । म यसको नियतिप्रति भावुक हुँदै सोच्न थालेँ, ‘हिजो हाम्रा पुर्खाले लोकवासीको तिर्खा मेटाउन, पवित्र जल उपलब्ध गराउन र परलोकवासीको मोक्षप्राप्तिका लागि या भनौँ, सबैको हित होस् भनी यस्ता जलद्रोणी राख्न मरिहत्ते गर्थे । आज हामीले त्यही जलद्रोणीलाई ‘डस्टविन’ बनाएका छौँ ।’ 

जलद्रोणीको फोटो र अभिलेख–उतार लिनका लागि उत्निखेरै घर गएर क्यामेरा, फुट र अलिकता पिठो लिएर आएँ । साथै मैले त्यस काममा सहयोग लिनका लागि संस्कृति विषयका मेरा विद्यार्थी राजेश गाँइजूलाई पनि बोलाएँ । उनी तत्क्षण आइपुगे । अनि सो जलद्रोणी सफा गरी अभिलेख कुदिँएको भागमा पिठो दलेँ । यसले गर्दा सो अभिलेखका अक्षरहरू सफा र स्पष्ट भए । हामीले अभिलेखको नापो लियौँ, फोटो पनि खिच्यौँ । त्यसपछि घर फर्केर यसबारे थप अध्ययन गरेँ । मलाई लाग्छ, सो जलद्रोणी र त्यसमा उत्कीर्ण अभिलेखको तस्बिर प्रकाशमा आएको यो प्रथमपल्ट हो । 

खौमाटोलको जलद्रोणीको अभिलेख आजभन्दा ६३ वर्षअघि योगी नरहरिनाथद्वारा इतिहास प्रकाश, अंक २, भाग ३, पृष्ठ ५४२ मा पहिलोपल्ट प्रकाशित भएको छ । २०२१ सालमा पूर्णिमा वर्ष १, अंक ३ को पृष्ठ २८ मा भोलानाथ पौडेल लिखित अनुवादसहितको पाठ प्रकाशित छ । सन् १९६६ मा डिआर रेग्मीले मेडियभल नेपालको तेस्रो भागको पृष्ठ ९ मा यसलाई छपाएका छन् । उनले मेडियाभल नेपाल पहिलो भागको पृष्ठ १८४ मा सो जलद्रोणीलाई मृगस्थलीको जलद्रोणी भक्तपुर खौमाटोलको एउटा निजी बगैँचामा रहेको भनी उल्लेख गरेका छन् । हरिराम जोशीले रेग्मीको स्रोत लि“दै ०३६ सालमा प्रकाशित प्राचीन नेपालको संख्या ५३–५६ को पृष्ठ २२ मा संक्षिप्त विवरणसहित यो अभिलेख छपाएका छन् । त्यसैगरी धनवज्र बज्राचार्यद्वारा गोपालराजवंशावलीको ऐतिहासिक विवेचना (२०६४ साल, पृष्ठ ५७) र पूर्वमध्यकालका अभिलेख (२०६८, ३१ संख्या, पृष्ठ ११२–१३) मा पनि यो अभिलेख व्याख्यासहित छापिएको छ । 

कुनै पनि ऐतिहासिक एवं पुरातात्विक स्थल एवं त्यहाँ रहेका वस्तुको स्थलगत अध्ययन वा अन्वेषणले विशेष महत्व राख्छ । त्यसो नगरिए त्यसबारेको व्याख्या विश्लेषण केही अर्थमा सही नहुन पनि सक्छ । यस कुराको एउटा उदाहरण खौमाटोलको यो जलद्रोणी र त्यसमा कुँदिएको अभिलेख पनि हो भनी मान्न सकिन्छ । यस अभिलेखको अध्ययनबाट नेपालको पूर्वमध्यकालको इतिहासमा थप प्रकाश पर्ने कुरामा दुइमत नहोला ।

स्वदेशी–विदेशी सबै इतिहासकारले कलम चलाउँदा यसलाई छुटाएका छैनन् । तापनि यो अभिलेख प्रकाशमा आएपछि भने प्रायः सबै इतिहासकारले वस्तुप्राप्त स्थानमै गएर वा भनौँ स्थलगत अध्ययन अवलोकनलाई आधार बनाएर लेखेको देखिँदैन । यसो हुँदा यसको विवरण दिने क्रम अपुरो हुन पुगेको देखिन्छ । जस्तै, मेरा श्रद्धेय गुरु प्रसिद्ध इतिहासकार धनवज्र बज्राचार्यले पूर्वमध्यकालका अभिलेख (२०६८, ३१ संख्या, पृष्ठ ११२–१३) मा योगीको उद्धरण दिँदै , पौडेलको पाठ र अनुवादलाई लिएर व्याख्या गर्दा अभिलेख कुदिँएको  शिलापत्र छुट्टै र सो अभिलेखमा उल्लिखित जलद्रोणी छुट्टै भनेर लेख्नुभएको छ । स्थलगत अध्ययन गरिएको खण्डमा उक्त भ्रम रहने थिएन । 

भक्तपुर खौमाटोलमा यो अभिलेख कुदिँएको  शिलापत्र रहेको छ । यसमा नेपाल संवत् २९५ लेखिएको छ । यस अभिलेखमा उल्लिखित जलद्रोणी भने कहाँ   छ, पत्ता लाग्न सकेको छैन । यसकारण जलद्रोणी बनाएर कहाँ  राखिएको थियो, अलि अस्पष्ट रहेको छ । शिलालेखको व्यहोरा हेर्दा जलद्रोणी पशुपति मृगस्थलीमा राखिएको थियो भन्ने देखिन्छ । सायद मृगस्थलीमा रहेको अभिलेख दाताका वंशजले पछि भक्तपुरमा लगेका हुन् कि भन्ने अनुमान हुन्छ ।’

इतिहासकार ज्ञानमणि नेपाल पनि यसबारे स्पष्ट भएझैँ देखिन्नन् । उनले पनि योगी र पौडेलका प्रकाशित सामग्रीलाई उपयोग गर्दै (नेपालको माध्यमिक कालको इतिहास, ०६२, पृष्ठ ११०) यसरी व्याख्या गर्न पुगेका छन् : ‘अमृतदेव राजा भएको साल नेपाल संवत् २९५ (वि.सं. १२३२) वैशाखमा विजैकत्री भारीले स्वर्गे भएका आफ्ना छोरा जयद्रव्यजीवको उद्धारका लागि पशुपति मृगस्थलीमा जलद्रोणी दान दिएकी थिइन् ।’ 

भक्तपुर खौमाटोलको उक्त घरका राजोपाध्यायका अनुसार सो जलद्रोणी पूर्वकालदेखि नै घरभित्रको गाईगोठ–बगैँचामा थियो, अन्यत्र स्थानबाट ल्याएर राखिएको भन्ने कुरा गलत हो । गाईवस्तु त्यही जलद्रोणीको पानी पिउँथे । जे होस्, अहिले पुनर्निर्माणका क्रममा त्यसरी बाहिर ल्याएर राखिएको सो जलद्रोणीमा कुँदिएको अभिलेखको मूलपाठ (पौडेल, रेग्मी र जोशीहरूका पाठ एवं अनुवादलाई समेत तुलनात्मक अध्ययन आधार बनाएर) यस प्रकार छ :
१. ॐ संवत २९५ वैशाख शुक्ल तृतीयायां । राजाधि–
२. राजश्री अमृतदेवस्य विजयराज्ये । श्रीपति मृगस्थल्या
३. विजैकत्रिभारी । दिवंगतपुत्र जैद्रव्यजीवस्य उदेसेन ज–
४. लद्रोणी दान कृता । तस्य स्वग्र्गत्व व्रम्हत्व । विष्णुत्व । रुद्रत्व 
५. संप्राप्तये । तेन दानपुंनेन माता सुखी भवतु । शुभमिति ।। 

(ने.सं.२९५/वि.सं.१२३२ वैशाख शुक्ल तृतीयाको दिन राजाधिराज श्रीअमृतदेवको विजयराज्यमा श्रीपति मृगस्थलीका विजैकत्रि भारीले आफ्ना दिवंगत पुत्र जैद्रव्यजीवको स्वर्गत्व, ब्रह्मत्व, विष्णुत्व, रुद्रत्व प्राप्ति होस् भन्ने उद्देश्यले यो जलद्रोणी दान गरिन् । त्यस दानपुण्यले आमालाई सुख होस् । शुभ मिति) पूर्वमध्यकालमा भक्तपुर तीन शताब्दीभन्दा केही बढी समयसम्म (विसं. तेह्रौँ–सोह्रौँ शताब्दी) नेपाल मण्डलको राजधानीको रूपमा रहेको थियो । यसो हुँदा यो सहर राजनीतिक, प्रशासनिक दृष्टिले मात्र नभएर धार्मिक–सांस्कृतिक दृष्टिले पनि मध्यकालीन नेपाल मण्डलको ढुकढुकीकै रूपमा समेत देखापरेको थियो । तत्कालीन समयमा राजधानीनगरका दुई प्रसिद्ध दरबारहरू ‘त्रिपुर’ र ‘युथुनिमं’ नामले प्रसिद्ध थिए । आजको भक्तपुर दरबार त्यसवेला युथुनिमं कहलिएको थियो । युथुनिमंको पश्चिममा ‘खनिमं’ टोल थियो, जुन आजको खौमाटोल हो । यस टोलको इन्द्रायणी देवगृह, उमाशंकरको मन्दिरलगायत यसै जलद्रोणी रहेको राजोपाध्यायहरूको निवासस्थानदेखि केही मात्र दूरीमा, दक्षिणमा ‘क्वाथछें’ नामको टोल छ । 

अनेक महत्वपूर्ण घटनाहरूको वर्णनका क्रममा क्वाथछेंको चर्चा गोपालराजवंशावलीमा समेत आएको छ । बूढापाकाहरूका अनुसार यहाँ पहिले बृहत् किल्ला थियो । राजदरबार आसपासमा उच्चपदस्थ भारदार वर्गलगायत राजगुरु एवं राजपुरोहितका रूपमा राजोपाध्याय ब्राह्मणहरूको पनि निवासस्थान हुन्थ्यो । भक्तपुर राजदरबारको दक्षिणमा राजोपाध्याय ब्राह्मणहरूको परम्परित बस्ती छ । भक्तपुर राजदरबारकै पश्चिममा रहेको खौमाटोलको राजोपाध्यायहरूको निवासस्थान पनि यस कुराको अपवाद होइन । यताबाट खौमाटोल र यसको आसपासका क्षेत्र पूर्वमध्यकालमा अनेक दृष्टिले महत्व पाएको विशेष क्षेत्र थियो भन्ने कुरा दृष्टिगोचर हुन्छ । अमृतदेव 

(वि.सं.१२३२–३५) को पालाको जलद्रोणी यहाँ रहनुले पनि र त्यस प्रमाणकै आधारमा पनि राजोपाध्याय ब्राह्मणको बसोवास यहाँ त्यसभन्दा अघिदेखि नै रहिआएको थियो भन्ने कुराको प्रकारान्तर पुष्टि हुन्छ । यसरी माथिका कुरालाई आधार बनाएर विचार गर्दा श्रीपति मृगस्थलीका विजैकत्रिभारी (भारादार्नी/नेवार क्षत्रिनी) ले आफ्ना दिवंगत पुत्र जैद्रव्यजीवको मुक्तिका लागि राजधानी सहर भक्तपुरका आफ्ना गुरु–पुरोहित राजोपाध्याय ब्राह्मणलाई दान गरेकी थिइन् भन्ने कुराको अनुमान हुन्छ । 

भक्तपुरमा ‘त्रिपुर’ राजदबारसहितको किल्ला रूपको राजधानी सहर बसाल्ने राजा आनन्ददेव (वि.सं.१२०४–२४) थिए । उनीपछि अनेक चोकसहित त्रिपुर दरबारको विस्तार गर्ने उनका भाइ रुद्रदेव (वि.सं.१२२४–१२३२) र उनीपछि कान्छा भाइ अमृतदेव (वि.सं.१२३२–३५) ले ने.सं.२९५ अर्थात् वि.सं.१२३२ देखि राज्य गरे । यस कुरालाई पुष्टि गर्ने एउटा ऐतिहासिक सामग्री यस जलद्रोणीको अभिलेख हो । आनन्ददेवपछि उनका छोरा नभएर उनका भाइ रुद्रदेव र त्यसैगरी रुद्रदेवपछि उनका छोरा नभएर कान्छा भाइ अमृतदेवले राज्य गरेको देखिन आएको छ ।

जलद्रोणीमा कुनै अभिलेख कुँदिएको छ कि भनी चारैतिर हेर्दै छामछुम गर्न थालेँ । नभन्दै सो जलद्रोणीमा पाँच पंक्तिको अभिलेख कुँदिएको देखेँ । विस्मयपूर्वक त्यसमा लागेको धुलोमाटो हटाएर अभिलेख पढेँ, आजभन्दा ८४४ वर्षअघिको अमृतदेवको पालाको रहेछ ।

नेपालको इतिहासमा राज्यासनको पालो बाबुपछि जेठो छोरोमा नभएर दाजुपछि भाइमा गएको पहिलो दुर्लभ उदाहरण यसले प्रस्तुत गरेको छ । यस कुरालाई पुष्टि गर्ने अन्य ऐतिहासिक सामग्रीसँगै एउटा अर्को समकालीन साक्ष खौमाटोलको जलद्रोणीको अभिलेख पनि हो । यिनको शासनकाल (३ वर्ष ११ महिना) छोटो र केही दुःखद् रह्यो । किनभने यिनको पालामा देशवासीले महामारी र दुर्भिक्षको सामना गर्नुपरेको थियो । 

‘श्रीपति’ले लक्ष्मीका पति ‘विष्णु’लाई बुझाउँछ । यसै अभिलेखमा आएको श्रीपति’ लाई आधार मानेर जोशीले (मध्यकालीन अभिलेख, पूर्वोक्त, पृष्ठ २२) ‘विष्णुलाई मात्र नभएर महादेवलाई पनि बुझाउने यथार्थतालाई प्रस्ट्याएको छ’ भनेका छन् । यसले हामीलाई श्रीपतिजस्तै ‘मंपति’को पनि स्मरण गराएको छ । भक्तपुर तम्हारीटोलको प्रसिद्ध भैरवनाथमन्दिरको पूर्वपट्टि (क्वाछें टोलको दायाँपट्टि) ‘मंपति’ भन्ने स्थान छ । यहाँ  चोकको माझमा खाल्डोमा स्थापित महादेव ‘मंपतेश्वर’ भनी प्रसिद्ध छन् । यिनकै नामले सो स्थानको नाम ‘मंपति’ कहलिन पुगेको ज्ञात हुन्छ । त्यसैगरी भक्तपुर तचपालटोलस्थित दत्तात्रेयमन्दिरको पूर्वमा ताजामठको अगाडिको स्थान पनि ‘मंपति’ भनी प्रसिद्ध छ । त्यहा“ पनि महादेव छन् ।

धार्मिक समन्वय र सांस्कृतिक एकता नेपाली संस्कृतिको मूल वैशिष्ट्य हो । हरिहर सम्प्रदाय पनि यस कुराको एउटा उदाहरण हो । शिव र विष्णुमा भेद छैन, एकै हुन् भन्ने मूल भाव यसको विशेषता हो । मलाई लाग्छ श्रीपति पनि त्यही भावको एक सुन्दर उपज हो । जे होस्, ‘श्रीपति मृगस्थली’ले पशुपति क्षेत्रको त्यस नामको एक खास स्थानविशेषको स्मरण हुन्छ । खौमाटोलमा आएर जलद्रोणी दान गर्ने विजैकत्री त्यही क्षेत्रकी थिइन् भन्ने कुरा थाहा हुन्छ । 

मध्यकालीन नेपाल मण्डलमा उच्चपदस्थ राजकर्मचारीलगायत नेवार क्षत्री (स्यस्यः/श्रेष्ठ) लाई सम्मानपूर्वक भनिने शब्द ‘भारो’ एवं ‘भारदार’को छोटो रूप ‘भारो’ हो भन्ने देखिन्छ । यताबाट विजैकत्रीको पछि लागेको ‘भारी’ ले तिनी पनि भारादार्नी वा भनौँ नेवार क्षत्रिनी थिइन् भन्ने कुरा जानिन्छ । अभिलेख इतिहासको अकाट्य प्रमाण हो । अभिलेखका अनेक प्रकारमध्येको एउटा नमुना प्रस्तर–अभिलेख पनि हो ।

कुनै महत्वपूर्ण कार्यको स्मरण प्रमाणसहित पछिसम्म पनि रहिरहोस् भन्नाका लागि अभिलेख कुँदाएर राख्ने चलन प्राचीनकालदेखि चलिआएको विदित हुन्छ । जलद्रोणीका अभिलेख पनि यस कुराको एउटा उदाहरण हो । नेपाली वास्तुकलालाई सामान्यतः बौद्ध वास्तुकला (चैत्य/स्तूप/छ्यरतेन,विहार/गुम्बा), हिन्दू वास्तुकला (मठ, मन्दिर) र त्यसैगरी लौकिक वास्तुकला गरी तीन भागमा विभक्त गर्न सकिन्छ । सत्तल, पाटीपौवा, परम्परित घर–दरबार, मण्डप–डबली, कुवा, ढुंगेधारालगायत इनार र जलद्रोणी लौकिक वास्तुकलाका नमुना हुन् । हजारौँ वर्षदेखि समृद्ध रहिआएको अतुल्य नेपाली कला वास्तुकला हाम्रो असली सांस्कृतिक–पहिचान हो । 

वर्तमानमा नितान्त परित्यक्त हुँदै फालिएर रहेको अवस्थामा पुगेर आधुनिक सभ्य समाजका माझमा ‘डस्टविन’को नियति भोगिरहेको यो जलद्रोणीले नेपाल मण्डलका अन्य यस्तै यत्रतत्र रहेका जलद्रोणीहरूको नियति पनि उस्तै रहेको यथार्थलाई एकसाथ अनुभूत गराइरहेको आभास हुन्छ । यी पनि हाम्रो गौरव बढाउने राष्ट्रिय सम्पदा हुन् । नेपाली संस्कृतिको विश्वश्रेणीका भौतिक एवं अभौतिक सम्पदाको चिनारी दिने यसका संवाहक अभिलेख पनि हुन् । यी हाम्रा राष्ट्रिय निधि हुन् । यी सम्पदाको संरक्षण संवद्र्धन गर्नु हामी सबैको दायित्व हो । 

लेखमा उल्लेखित जलद्रोणी रहेको केही पाइला पूर्वमा राजदरबार क्षेत्र छ, जहाँ नेपाल सरकारको पुरातत्व विभागको स्मारक संरक्षण कार्यालय छ । त्यही“ राष्ट्रिय संग्रहालय पनि छ । जलद्रोणीको महत्व बोध भएपछि अब यसलाई त्यसरी फालेर राख्न हामीलाई लज्जाबोध हुनुपर्ने हो । होइन र ? 

 https://jhannaya.nayapatrikadaily.com/news-details/289/2019-06-08

No comments: