Sunday, January 17, 2021

मातृभाषाको इतिहास प्रकाशोन्मुख छ : लक्ष्मी माली



विभागले मातृभाषा साहित्य प्रवद्र्धनका लागि के–कस्ता काम गरिरहेको छ ?
विभागबाट गोष्ठी, लघु अनुसन्धान र प्रकाशनका काम गर्छौैँ । अनुसन्धान र प्रकाशनमा लागेका छौँ । अघिल्लो वर्ष ‘मुन्धुम’ प्रकाशन भएको थियो । नेपाल भाषाको ‘सिलुमे’ अर्थात् गोसाइँकुण्डको पौराणिक गीत, नेवारी समुदायका श्रीमान्–श्रीमतीसँगै गोसाइँकुण्ड जानुहुँदैन भन्ने मिथक, अन्धविश्वास या विश्वाससम्बन्धी अनुसन्धान भएको छ, प्रकाशनको तयारीमा छौँ । हरेक वर्ष यही अन्तर्राष्ट्रिय मातृभाषा कवि गोष्ठीमा वाचित कविताहरूको सँगालोका रूपमा निकाल्छौँ ।   त्यसमा भिन्दाभिन्दै भाषाका कविता संग्रहित हुन्छन् । यसका लागि विभिन्न भाषाभाषिका १७ जना विज्ञ कविको छनोट कमिटी बनाएका थियौँ । 

काठमाडौंमा मात्रै गोष्ठी गरेर मातृभाषा साहित्यको उत्थान कसरी हुन सक्ला र ?
जहाँ–जहाँबाट मलाई प्रपोजल आउँछ, म त्यहाँ–त्यहाँ जाने तयारीमा छु र गएको पनि छु । पोहोर साल बुटवलभित्रको थारूगाउँ सैनामैनामा गएँ । लुम्बिनीमा गएँ ।  यसपालि चैतमा सुनसरी जाँदै छु, थारू भाषाका लागि । यसरी मातृभाषीले आइदिनुप-यो भन्दा म जहाँ जान तयार छु । पूर्व मेचीदेखि महाकालीका मातृभाषाका कार्यक्रमका लागि म जहिले पनि सहकार्य गर्न तयार छु र एकेडेमी तयार छ । 

एकेडेमीले विभाग बनाएको छ । यो देखाउनका लागि मात्रै हो कि उपलब्धिपूर्ण काम पनि गरिरहेको छ ?
म यहाँ आएको एक वर्ष भयो । यहाँ मातृभाषा व्याकरण तथा कोष र मातृभाषा साहित्य विभाग छ । म साहित्य विभागमा छु । म मातृभाषा साहित्यसम्बन्धी काम गर्छु । नेपाली भाषामा त्यति नै बजेटमा आख्यानमा मात्रै काम गर्न पाइन्छ । त्यति नै बजेटमा कविता, समालोचनाको काम गर्न पाइन्छ । तर, मातृभाषाको एक सय २३ भाषाभाषीको बजेट पनि त्यति नै हुन्छ ।   तै पनि पोहोर साल मैले सातवटा भाषाको साहित्यिक अनुसन्धान गराएँ । यसपालि पनि अहिलेसम्ममा चारवटा गर्न दिइसकेँ । त्यही भाषाका लोककथा संकलन गरेर लोपोन्मुख भाषाको उत्थानमा यो विभागले काम गरिरहेको छ । यसपालि ‘मातृभाषाको इतिहास’ प्रकाशनको तयारीमा छ । त्यसैगरी, ‘किराँत इतिहास’ भन्ने पनि विभागले निकाल्दै छ । त्यसमा उनीहरूको मिथक, गीत, लोकसाहित्य सबै नै अटाउनेछ । म नेपाल भाषाको भएर पनि त्यसमा काम गर्न ध्यान गइरहेको छैन । 

मातृभाषामा कविता, कथा, लोककथाको खोज र प्रकाशन भइरहेको छ । गाउँखाने कथा, लोककथा, गीतहरूलाई उत्थान गर्ने काम गरिरहेका छौँ ।

कतिपय मातृभाषा दिनानुदिन मर्दै छ पनि भनिन्छ, त्यसको कारण स्वयं मातृभाषीहरू जागरुक नहुनु हो कि राज्यको कमजोरी हो ?
इतिहासलाई केलाउनुपर्छ । राणाकालदेखि शाहकाल र पञ्चायतमा आएर पनि मातृभाषीलाई दमन भयो । शुक्रराज शास्त्रीलाई हामीले भाषा सहिद नै भन्नुपर्छजस्तो लाग्छ । किनकि आफ्नो मातृभाषामा लेखेका कारण उनी सहिद भए । पहिले मातृभाषाबाट लेख्न, बोल्न, स्कुलमा पढ्न दिइएन । जुन कारणले मातृभाषीले आफ्नो भाषा पनि बच्चालाई सिकाएनन् ।

शिक्षा दिन पनि नेपाली नै सिकाउनुप-यो । त्यसो गर्दा त्यो कुरा पुस्तान्तरण हुँदै गयो । आफ्नो भाषा पछिल्लो पुस्ताले बोल्न लेख्न पाएननन् । गणतन्त्र आएपछि त फुक्का भयो । सबैको मातृभाषालाई राष्ट्रिय भाषाको महत्व संविधानले दिइयो । हामी नेपाल भाषा बोल्छौँ, कसैले राई भाषा बोल्छ भने इन्डियन राई वा इन्डियन नेपाली त होइन नि । नेपाली राई हो नि ऊ । त्यसैले, यो हाम्रो मातृभाषा पनि नेपाली मातृभाषा हो भन्ने कुराको चेतना अहिले आएको छ । मातृभाषा लोप हुँदै जाने अवस्थामा रहेको संकेत त भाषा आयोगले गरिरहेको छ । लोपै भएकोचाहिँ छैन । भाषा मर्नु भनेको समाज र सभ्यताका लागि त घाटाको कुरा हो नि । 

भाषा लोप हुनुको कारण मातृभाषीले पनि आफ्नो भाषामा नलेखेर खस नेपालीमा लेख्नु पो हो कि ?
त्यो नलेख्नुको कारण त पहिला राज्यले नै दमन ग¥यो र पुस्तान्तरणमा असर परेरै हो । म धेरै भाषाभाषीसँग सम्पर्कमा छु । धेरै भाषाभाषीले आफ्नो बच्चाबच्चीको नाम आफ्नै मातृभाषामै राख्ने र आफ्नै भाषामा साहित्य लेख्ने चेतनाचाहिँ आउन थालेको छ । 

 https://jhannaya.nayapatrikadaily.com/news-details/848/2020-02-22

No comments: