Sunday, January 17, 2021

त्यसबखतको नेपालमण्डल

 



मल्ल के. सुन्दर
२०७६ पौष १२ शनिबार ०८:३८:००

सभ्यता

नगरीय विकास मानवीय सभ्यताको उन्नत अवस्थाको मूर्तरूपमा बुझ्ने गरिन्छ । भूमध्यसागरको मेसोपोटोमिया, ल्याटिन अमेरिकाको माया, युरोपको बेवोलियन, चीनको यांगेत्से, भारतीय महाद्वीपको सिन्धुघाँटी आदि सभ्यतालाई अध्येताले त्यसरी नै व्याख्या गर्ने गरेका छन् । यी सबै सभ्यता इसापूर्व हजारौँ वर्षअगाडि नै विकसित भइसकेका थिए । हाम्रो सन्दर्भमा नगरीय सभ्यताको इतिहास त्यति धेरै लामो नभए पनि प्राचीन नेपालमण्डलभित्र विकसित नगरीय संरचना दुई हजार वर्षभन्दा पुराना र विशिष्ट वास्तुकलायुक्त भएको कुरा सबै एकमत छन् । 

त्यसो त राजनीतिक शक्ति केन्द्रका रूपमा पश्चिममा खसान, पूर्व–दक्षिणमा तिरुहुत, भित्री मधेसतिर चौदण्डी र केन्द्रमा काठमाडौं उपत्यकामा क्रियाशील अस्तित्व सदियौँ पहिलेदेखि कायम थियो । तर, नगरीय सभ्यता भने केवल काठमाडौं उपत्यकाभित्र मात्र विकसित भए । अन्यत्रका मानवीय सभ्यताले भने नगरीय स्वरूप लिइसकेका थिएनन् । 
प्राचीनताको खोजीमा हामी हिमवत् खण्डसम्म पुग्न सक्छौँ अनि त्यसको अध्याय ७२ मा ‘नेपाल इति यो ब्रूयाज्ज्ञानतोत्रानतोपि वा । नित्यं कृतैनसो मुक्तस्त्रतैव जायते पुनः ।।’ ज्ञानपूर्वक वा अज्ञानतापूर्वक नेपाल शब्दको दिनदिनै उच्चारण मात्र गरिँदा पनि पाप मोचन हुनेछ भनिएको वर्णन भेटाउँछौँ । त्यस्तै, बौद्धग्रन्थ स्वयम्भू पुराणले पनि नेपाल खाल्डोको सम्बन्धमा चर्चा गर्दै भनिएको छ ‘एवं पुण्यतामा भूमिरियं हिमालयाहवया । सुखावतिनिभारम्भया बोधिसत्व समाश्रय ।। नेपालमण्डल अत्यन्त पुण्यतम् भूमि जहाँ हिमाल अवस्थित छ, त्यहाँ सुखावती लोकधातु समतुल्य बोधिसत्वले वास गरेको छ । नेपाल महात्म्य, स्कन्द पुराण, स्वस्थानी व्रत कथा आदिमा पनि खास नेपालका सम्बन्धमा अनेकन चर्चा पाइन्छ । बनेपाका राजा रण मल्लले आफ्नो नाटक ‘पाण्डव विजय’ मा त ‘भूवधूतिलकप्रायो’ भूमण्डलको शिरमा लगाएको टीकाजत्तिकै सुन्दर भनी वर्णन गरिएका छन् । तर, ती सबै प्राचीन नेपालको भौगोलिक अवस्थाका वर्णन र त्यसप्रतिको आस्थागत अभिव्यक्ति मात्र थिए । तीनमा मानवीय सिर्जना, स्थानीय जीवनशैली, भौतिक संरचना अर्थात् नगरीय सभ्यताका प्रसंग केही पाइन्न ।
मानवशास्त्रीहरूले काठमाडौं उपत्यकामा गरेको वैज्ञानिक अध्ययन र नृतत्वशास्त्रका आधारमा गरिएका विश्लेषणमध्ये रुसी पुरातŒवविद् डा. एनातोली याकोबलेभ सेटेन्कोको खोज महŒवपूर्ण मानिन्छ । उपत्यकाको बूढानीलकण्ठ इलाकामा भेट्टाइएका प्रस्तरका सामग्रीहरूको वैज्ञानिक विश्लेषणका आधारमा उनले ती पाषाणयुगमा प्रयोग गरिने मानव हतियार भएको तथा करिब तीस हजार वर्षभन्दा पुरानो हुन सक्ने अनुमान गरेका थिए । मंगालियामा भेटिएका पाषाणयुगका यायावरहरूले प्रयोग गर्ने गरेका हतियारसँग तीनको समानता रहेकोसमेत उनले दाबी गरेका थिए ।

राणाहरू सत्ताबाट हटे, तर नगरीय वास्तुकलाप्रतिको उदासीन मनोवृत्ति हटेन 

 

उपत्यका कुनै वेला दहको रूपमा थियो र पानी निष्कासन भइसकेपछि त्यहाँ विस्तारै मानवबस्ती बस्न थाले भन्ने कुरामा एक मत छ । यहाँको भूबनोटको अध्ययनले पनि कुनै समय उपत्यका विशाल तलाउका रूपमा रहेको थियो भन्ने कुरा पुष्टि भइसकेको छ । वैज्ञानिक आधार खोज्नेहरूले प्रागैतिहासिक कालमा भएको कुनै प्राकृतिक उथलपुथलको क्रममा उपत्यकाको दक्षिणी भेगमा रहेको चोभारमा गल्छी बन्न गई पानी बगेको हुन सक्ने तर्क गर्दछन् । तर, अर्कोतिर आध्यात्मिक मिथकमा विश्वास गर्नेहरू महाचीनबाट महामञ्जुश्री आएर चन्द्रहास खड्गले चोभारको चट्टान काटे अनि जमेको पानी सुकेपछि मञ्जुपत्तन नामको मानवीय बस्ती बसालेका थिए भन्ने भनाइ छ । यो स्वयम्भू पुराणका विवरण हुन् । त्यस्तै, नेपाल महात्म्यअन्तर्गत पनि श्रीकृष्णले आफ्नो सुदर्शन चक्रद्वारा पर्वत काटेर नागदहको पानी निकास गरे अनि आफूसँगै आएका गोपालवंशीलाई सहरमा बसोवास गराए भन्ने कुरा उल्लेख गरिएको पाइन्छ । नगरीय बस्ती विस्तारसँग सम्बन्धित यी त मिथक प्रसंग भए । ऐतिहासिक आधारमा भन्दा स्वयम्भू पुराण १६औँ र नेपालमहात्म्य १७औँँ शताब्दीतिर मात्र लेखिएका ग्रन्थ हुन् ।

अर्कोतिर, नेपालमा भेटिएका विभिन्न वंशावलीमा पनि उपत्यकाभित्रको मानवीय सभ्यता विकासक्रमका आफ्नै खाले चर्चा छन् । इतिहास शिरोमणि बाबुराम आचार्यका दाबीअनुसार इसापूर्व सात÷आठ सय वर्षअगाडि नै यहाँ सभ्यताको विकास भइसके । पुरातŒव विभागद्वारा इटालीका अनुसन्धान टोलीलाई धोबीखोलाछेउ विशेषतः हाँडीगाउँवरपर सन् १९८४ देखि १९८९ सम्म गराइएको उत्खननमा भेटिएका पूराताŒिवक अशेषका आधारमा प्राध्यापक बेरार्दी जियोभानीले आफ्नो ‘एक्जाभेसन अट हाडीगाँउ’ पुस्तकमा यस तथ्यलाई पुष्टि गरिसकेका छन् । केही वंशावलीमा पनि उपत्यकाभित्रको प्राचीनतम् नगरीबस्ती उत्तर बुूढानीलकण्ठदेखि विशालनगर भई दक्षिण कोटेश्वरसम्म फैलिएको कुरा लेखिएका छन् । बागमती सभ्यतामै केन्द्रित भएर अध्ययन–अनुसन्धान गर्नु भएका डा. साफल्य अमात्यको पनि नेपाल खाल्डोभित्रको नगरी सभ्यता विकासका सम्बन्धमा समान खाले धारणा छ । उनी भन्छन्, ‘उपत्यकाभित्र राजा सुपुष्पदेवको राज्यकालदेखि नै सभ्यताको विकास भएको देखिन्छ । ...सोही राजाद्वारा उपत्यकामा एउटा सुन्दर सहर बसाई त्यहाँ श्री पशुपतिनाथको मन्दिर स्थापना गरेका थिए । तसर्थ, बागमती सभ्यताका अभियन्ता श्री सुपुष्पदेव नै हुन् । उनले बसालेको सहर हाडीगाउँअन्तर्गत पर्दछ ।’ नेपालको प्रमाणित ऐतिहासिक सामग्री मानिएको ‘गोपालराज वंशावली’मा पनि यिनै राजा सुपुष्पदेवको कुरा उल्लेख गरिएका छन् । कालान्तरमा ठूलो अग्निकाण्डमा परेर विशालनगर ध्वष्ट भए, पछि त्यहाँको मानव बस्ती अन्यत्र सरेको हो भनिन्छ । 

व्यवस्थित नगर विस्तार हुनुअघि उपत्यकाका वरपर अग्लो भूभागरहेको टोखा, धर्मस्थली, धापासी, टुसाल, बुढानीलकण्ठ, लेले, चापागाउँ, फर्पिङ, बुङमती, सुनाकोठी, तिस्तुङ, चितालङ, पूर्वमा चाँगु, साँखु, गोकर्ण, थानकोट, किसिपिढी, बलम्बु, सतुंगल, इचंगु आदितिर मानवबस्तीको विकास भएको हुनुपर्छ भन्ने इतिहासकारको अनुमान छ । त्यस भेगतिर भेटिएका लिच्छविकालीन अभिलेखबाट पनि त्यही कुरा पुष्टि हुन्छ । 

एउटा तिक्त कुरा के हो भने, मानव सभ्यताको त्यति प्राचीनतम् कालक्रम रहे तापनि प्रामाणिक अभिलेख, दसीप्रमाण भने खासै उपलब्ध छैन । लिच्छिवि राजा मानदेवको चाँगुनारायणको संवत् ३८६ (अर्थात् ई.सं.४६४) अंकित अभिलेखबाट मात्र प्रामाणिक इतिहासका प्रसंग फेला पार्न सकिन्छ । त्यो भन्दा पुरानो तथ्य हामीसँग छैन । 

लेखक एडवार्ड अलकजेन्डर पावेलले भनेका छन्, ‘विश्वका झन्डै सबैजसो प्रख्यात सहर हेर्ने मौका पाएँ, मलाई लाग्छ भक्तपुरको दरबार स्क्वायरमा जे–जति कुरा संरक्षित छन् त्यसको अवलोकन गर्नु पृथ्वीको आधा भागको यात्रा गर्नुभन्दा बढी उपयुक्त छ ।’

 

राजा नरेन्द्रदेवको राज्यकालमा उपत्यका पुगेका चिनियाँ तीर्थयात्री वाङ हुयन त्से भद्रादिवास राजप्रसाद पुगेका थिए । उनले त्यहाँ देखेका कुराको वर्णन गर्दै लेखेका थिए ‘...भवन तीन खण्डमा विभक्त थिए, तीनवटै खण्ड भव्य थिए । भवनका विभिन्न कक्ष बहुमूल्य रत्नद्वारा जडित थिए । भवनको बीच भागमा तामाका झिँगटी भएको साततले एउटा बुर्जा रहेको थियो । भवनमा चारै कुनामा तामाका नली तथा तल जमिनमा सुनका सुन्दर गोही राखिएका थिए । बुर्जामाथिबाट नलीद्वारा घुमाउरो बाटो गरी झरेका पानीका फोहराले गर्दा गोहीका मुखबाट झरिरहेका पहाडी झरनाको अपूर्व सौन्दर्य देख्न पाइन्थ्यो ।’ त्यसो त यी वर्णनमा पनि नगरीय बस्तीका सम्बन्धमा खास उल्लेख गरिएको भेटिन्न, तर त्यस बखतको नेपालमण्डलभित्र विकसित भइसकेको उत्कृष्ट स्थापत्यकला र वास्तुकलाको राम्रो जानकारी भने यसले दिन्छ ।

विशेषतः यक्ष मल्लको मृत्यु अर्थात् ई.सं. १४८० पश्चात् जसरी एकीकृत नेपालमण्डललाई तीन छोरा रण मल्ल, राय मल्ल र रत्न मल्ललाई तीन राज्यमा शासन गर्ने व्यवस्था गरिए त्यसले ती राज्यबीच सांस्कृतिक स्मारक तथा भौतिक संरचनाको विकासमा एक खालको आपसी प्रतिस्पर्धाको भावना तीव्र तुल्याए । त्यसै कालखण्डबाट भक्तपुरमा तलेजु स्थापना गरिँदा त्यसैको अनुकरणमा ललितपुर र कान्तिपुरमा पनि तलेजुको मन्दिर निर्माण गर्ने प्रचलन बस्यो । नगरमाझ ठूलो आकारको घन्टा राखिँदा तीनै सहरमा राखिए । भीमसेन र कृष्णको मन्दिर प्रतिस्थापना गरिँदा तीनैवटा सहरमा त्यसै गरिए । राजप्रसादमा पनि एक–अर्काको प्रतिस्पर्धामा सुनको ढोका, सुनको झ्याल, सुनका गजुर, अनेक चोक, देगुतलेजु इष्ट देवता आदि आराध्यस्थल मठ, मन्दिर, चैत्य, गुम्बा, पाटी सतह बनाइए । नगरका बीच–बीच आकर्षक पोखरी, ढुंगेधारा वर्गाकारका वहाः, वहिल र चोकहरू विशिष्ट सिर्जना थिए । एक अर्थमा नगरी वास्तुकला विकास र समृद्धिका लागि ती स्वर्णिमकाल थिए । खड्गाकारमा होस् वा यन्त्रशैलीमा होस् वा अष्टमातृकाबाट संरक्षितका रूपमा होस् उपत्यकाभित्र यसरी विकसित प्राचीन सहर अति व्यवस्थित नगरीय सभ्यताका राम्रा नमुना रहे । 

चर्चित युद्ध संवाददाता तथा रोमाञ्चक यात्रा वर्णनका लेखक एडवार्ड अलकजेन्डर पावेलले ‘द लास्ट होम अफ मिस्चरी ः एडभेन्चर इन नेपाल’ पुस्तकमा लेखेका शब्द उद्धरण गरिने हो भने, ‘...म जसले विश्वका झन्डै सबैजसो प्रख्यात सहर तथा आवास गृहहरू हेर्ने मौका पाएँ, मलाई लाग्छ भक्तपुरको दरबार स्क्वायरमा जे–जति कुरा संरक्षित छन् त्यसको अवलोकन गर्नु पृथ्वीको आधा भागको यात्रा गर्नुभन्दा बढी उपयुक्त छ...। वास्तुकला तथा कलाको दृष्टिकोणबाट एकप्रकारले भक्तपुर अल्लाद्दिनको रहस्यमय गुफाजस्तै हो ।’

यथार्थमा नगरको अर्थ न त मानवीय आवासको भिडभाड मात्र हो, न भौतिक संरचनाबाट जेलिएको संरचना नै हुन् । प्राचीन नेपालमण्डलका रैथानेका लागि समुदाय मिलेर एक थलोमा बस्ने नगरीय आवास सुरक्षित, सुविधायुक्त र सुन्दर हुनु पर्छ भन्ने त छँदै थियो । त्यस अतिरिक्त नगरको भित्ता–भित्ताले गल्ली र चोक अनि घर–घरका इँटाका पंक्तिले पनि समुदायको आस्था र जीवनदर्शनलाई प्रतिविम्बित गरेको हुनुपर्छ भन्ने मान्यता राख्दथे । त्यसले नगरअन्तर्गत मानिस बस्ने आवासीय भवन मात्र होइन, त्यहाँ कुन बिन्दुमा दोबाटो, चौबाटो अनि त्यसबीच सार्वजनिक तथा सांस्कृतिक क्रियाकलापका लागि लाछी, डबली, देवस्थल, स्तुप, चैत्य, मठ, आगमघर, मन्दिर, फलेचा, सत्तल बनाइने हो भन्ने निश्चित स्थान निर्धारण गरिएका हुन्थे । दार्शनिक मान्यताका आधारमा निश्चित संरचनाका लागि निश्चित स्थान र आकृति, वास्तु, स्थापत्य सिद्धान्त पालना गरिन्थ्यो । त्यस्तै, वातावरणीय सन्तुलनका लागि अनिवार्य रूपमा चरण क्षेत्र, खुला चौर, वनजंगल, जलाधार क्षेत्रको पक्षमा पनि त्यत्तिकै ध्यान दिइएको हुन्थ्यो । प्रत्येक बस्तीका लागि स्वस्थ मानिस बस्न लायक न्यूनतम रूपमा हावा, पानी, घामको उपयुक्त सुविधा हुने चोक, लाछी, बहाल, बहिल व्यवस्थित गरिएका हुन्थे । अनि सोहीअनुसार ढल तथा पानी निकासका व्यवस्थासहित सार्वजनिक प्रयोगका लागि इनार, धारा र पोखरी पनि नगरको अभिन्न अंगका रूपमा हुन्थे । 

घर केवल आवास वा बसोवासका लागि खडा गरिएको संरचना मात्र नभई मानवीय आस्थाका प्रतीकस्वरूप घरको दुवैतिर खडा गरिएका दुई खापालाई भैरव÷भैरवी अनि मूलद्वारलाई गृहलक्ष्मी मान्छन्, त्यसैले सुरक्षाको प्रतीकका रूपमा त्यसमा आँखा तथा खड्ग कुँदिएको हुन्छ । ढोका दायाँ–बायाँका खम्बामा कुँदिएका कलात्मक बुट्टा पूर्णकलश, केराका पात, अष्टमंगल आदि शुभ संकेत हुने गर्छन् । मूलढोकाको चौकोसको माथिल्लो भागमा कुँदिएका पाँचखण्ड बौद्धका लागि पञ्चबुद्ध र हिन्दूहरूका लागि ब्रह्मा, विष्णु, महेश्वर अनि गणेश र कुमारका प्रतीक हुन् । मूलढोका ठीक सामुन्ने भुइँमा एउटा वर्गाकार ढुंगामा मण्डप बनाएर घरका रक्षकका क्षेत्रपालको अर्थमा सजाइएको हुन्छ । त्यस्तै घरको मूलद्वार सामान्यतया होचो बनाइएको हुन्छ ताकि घर गृहलक्ष्मी भित्र पस्दा निस्किँदा शिर झुकाएर नमन गरोस् । घरको गारोका इँटामा देखिने बुट्टा नाग्वः – नाग÷नागिनी र कमलको पात आकारमा पनि आफ्नै प्रतीकात्मक अर्थ हुन्छ । सजाइएका काष्ठकलाका झ्याल, आँखीझ्याल, विमानझ्याल, मयुरझ्याल, सँझ्याल तीनमा जीवनदर्शनका गहन भाव लुकेका हुन्छन् । 

भक्तपुरको सम्पदा संरक्षणमा क्रियाशील आर्किटेक्चर नील गुट्सचाउले गरेको नगरीय सभ्यताको अध्ययनका क्रममा रैथाने वास्तुकलामा निहित थुपै्र दार्शनिक पक्ष भेट्टाए । उनका अनुसार देवस्थलको वास्तु र लौकिक प्रयोजनका लागि निर्माण गरिने आवासको वास्तुमा निकै अन्तर छन् । त्यस्तै, वहाल वहिल, आगमघर तथा सत्तल, पाटीका वास्तुशैली पनि दार्शनिक आधारमा फरक–फरक हुन्छन् । देवस्थलको संरचनामा सामान्यतया माथितिर गजुर अनि छानामुनि विभिन्न देवदेवी वा देवकन्याका मूर्ति कुँदिएका टुँडाल, ढोकाबाहिर सिंहका मूर्ति तथा माथि कलात्मक तोरण हुने गर्छन् जुन मानिस बस्ने घरमा त्यसो हुन्न । सहरमा हेर्दा सबै घर एकै लाइनमा मिलेर बनाइएको जस्तो देखिन्छ, तर सूक्ष्म रूपमा हेरिँदा यदि त्यहाँ कतै कुनै देवस्थलका संरचना रहेछन् भने ती अन्य मानिस बस्ने घरको लाइनभन्दा अलिक बाहिर निस्केको पाइन्छ । आस्थागत मान्यताअनुसार जुन टोल वा बस्ती छ त्यहाँको मूल आराध्यदेवको मन्दिर वा अन्य संरचना सबैभन्दा अग्लो हुनेछ, अरू लौकिक प्रयोजनका घर भने आराध्यदेवप्रतिको श्रद्धास्वरूप ती संरचनाभन्दा होचो पारिएको हुन्छ । 

यिनै सम्पन्नता र समृद्धिबाट लोभिएर समय–समयमा पश्चिम खस राज्यका राजा उपत्यका पस्थे र लुटपाट गरेर फर्कन्थे । त्यस्तै, तिरुहुततिरबाट पनि आक्रमण भइरहन्थे । यता शंकराचार्यले स्थानीय बौद्ध समुदायमा शैव मत थोपर्न आफ्नै खाले ध्वंश मच्चाएका थिए । बंगालका सुल्तान समसुद्दिनले ने.सं. ४७० तिर गरेको हमला सबभन्दा हिंस्रक र उत्पातपूर्ण रह्यो । हुन सक्छ, पटक–पटकका ती बाह्य आक्रमणमा नेपालमण्डलभित्रका नगरीय सभ्यताको अनेकन सम्पदा क्षति भए । सम्भवतः त्यसपश्चात् नै नेपालमण्डलका शासकले नगर तथा त्यहाँका नागरिकहरूको सुरक्षाका लागि नगरको चारैतिर अग्ला–अग्ला पर्खाल लगाउन लगाए । अनि रणनीतिक महŒवपूर्ण केन्द्रमा क्वाथ (किल्ला) खडा गरी त्यहाँ पहराका लागि क्वाथ नायक राख्ने व्यवस्था गरे । सुरक्षाका लागि सबैतिर प्रवेशद्वार बनाउन लगाए । निश्चित समयमा मात्र ती द्वार खोलिन्थ्यो । देवशमशेरले सुरु गरेको तोप पड्काउने प्रचलनअनुसार रातिको तोप नपड्किएसम्म नगरका ती ढोका बन्द रहने प्रचलन यथावत् थिए । राणाकालमा बेलायती आवासीय प्रतिनिधिका रूपमा रहेका ओल्डफिल्डले समेत त्यसखाले नगर प्रवेशद्वार देखेका थिए । महŒवपूर्ण कुरा तीमध्ये जात्रा पर्व तथा देवदेवीका रथयात्राका लागि छुट्टै प्रवेशद्वार हुन्थे भने विवाह आदि शुभ कार्यका प्रयोजनका लागि अलग्गै अनि शवयात्रा चलाउनका लागि मात्र अर्कै द्वार प्रयोग गरिन्थ्यो । 

यसै सन्दर्भमा जर्मनकै विद्वान्द्वय बर्नाड क्वयलभर तथा नील गुस्टचावले संयुक्त रूपमा गरेको अध्ययनबाट पनि उपत्यकाका नगरीय सभ्यताको विशेषता स्वरूप त्यहाँ धार्मिक÷दैविक संस्कार तथा मानिसका सामाजिक व्यवहारका लागि अलग स्थान छुट्याइएको र त्यहीअनुसार देउता र मानिस अनि जीवित तथा मृतका लागि मसानघाटदेखि अन्य बाटोसमेत बेग्ला–बेग्लै व्यवस्था निर्धारण गरिएको कुरा फेला पारेका थिए ।

सायद, त्यसैले भारतीय वास्तुकलाविद् विद्वान् पर्सी ब्राउनले नेपालमण्डलभित्रको नगरीय वास्तुकलाको प्रशंसा गर्दै भनेका छन्, ‘यहाँका मन्दिर तथा मानिसका आवासले सुन्दर र व्यावहारिक कलाको सम्पन्नता झल्काउँछन् । यसबाट प्रस्ट हुन्छ यहाँका वासिन्दामा सुरुका कालखण्डदेखि नै उच्च खाले सौन्दर्यचेत रहेछन् ।’
जतिखेर गोर्खाली शासक उपत्यका प्रवेश गरे अनि सन् १८१६ मा ब्र्रिटिस इन्डियासँग सुगौलीसन्धि भए तत्पश्चात् काठमाडौंमा बेलायती आवासीय प्रतिनिधि स्थायी रूपमा बस्ने व्यवस्था भयो । त्यसपछि नै बेलायतीसँगको उठबस बढ्दै गयो । अनि उनीहरूमा पाश्चात्य जीवनशैली, सोच र संस्कारप्रति लस्सिने÷नक्कल गर्ने प्रवृत्ति पनि प्रबल हुन थाले । शासकका लवाइ–खवाइदेखि आवास निर्माणका सन्दर्भमा पनि ती प्रभाव देखिए । बेलायती वास्तुकलाको अन्ध नक्कल हुन थाले । नेपालको आफ्नै मौलिक वास्तुकला, संस्कृति, सम्पदाप्रति शासकहरूमा रत्तिभर गौरवको भावना रहेन । काठमाडौं उपत्यकाका वास्तुकलाका पारखी डा. मेरी सेपहर्ड ससरका बुझाइअनुसार, ‘...जसरी नेपालमण्डलको राजनीतिमा इस्वी ३०० देखि १७६९ सम्मको निरन्तरतामा टुट्यो त्यसरी नै सांस्कृतिक र सम्पदा संरक्षणमा पनि १७६९ पछि त्यो क्रम रहेन । 

भीमसेन थापाले खडा गरेको बागदरबार त्यसको पहिलो दृष्टान्त थिए । त्यसपछि जंगबहादुरको थापाथली दरबार, रणोद्दीप शाहको नारायणहिटी दरबार, वीरशमशेरको फोहरदरबार, सेतोदरबार, लालदरबार अनि चन्द्रशमशेरले निर्माण गरेको सिंहदरबार । जुद्धशमशेरको जावलाखेलदरबार, मानभवन, मीनभवन, शान्तभवन, बबरमहल, सिंहमहल, केशरमहल, बहादुरभवन आदि आदि । वास्तवमा त्यस कालखण्ड नेपाली मौलिक वास्तुकलाविरुद्ध पाश्चत्य शैलीको खुला अतिक्रमणको कालखण्ड बन्यो । शासकहरूले आफ्नोअनुकूल पाश्चात्य शैलीका महल मात्र निर्माण गरेनन्, नेपालको मौलिक अनि अन्तर्राष्ट्रिय जगत्ले अत्यन्त प्रशंसा गरिएको मौलिक सम्पदा, वास्तु, स्मारक, नगरीय सौन्दर्यको संरक्षण र व्यवस्थापनमा समेत कुनै चासो देखाएन । केही दशकभित्र नै उपत्यकाको नगरीय सौन्दर्य लथालिंग पारिए । नेपालको मौलिक पहिचानका रूपमा रहेको नगरीय सम्पदामाथि अतिक्रमण जारी रहे । त्यसै समयको सेरोफेरोमा उपत्यका पुगेका ओल्डफिल्डले देखेका थिए, ‘...उपत्यकामा कतै पनि ढल निकासको व्यवस्था थिएन, जताततै सडकको दुवैतिर फोहोरको डंगुर र घरमुनिबाट फोहोर बगेको देखिन्थ्यो ।’ त्यस्तै सन् १८८९ जनवरीदेखि मार्चसम्म उपत्यका बसाइको आफ्नो संस्मरणमा फ्रान्सेली इतिहासकार सिल्भां लेभीले पनि त्यतिखेरको वातावरणबारेमा भनेका छन् ‘काठमाडौंमा आँखा खोल्नासाथ नाक बन्द गर्नुपर्छ । नालैनाल भएको सहर, हरेक चोकमा नाल, ... । फोहोर–मैला बाटोमा बगिरहेको र त्यहाँ नै खरानीको थुप्रोमा गनाउने मल ।’

राणाहरू सत्ताबाट हटे, तर ती उत्कृष्ट नगरीय वास्तुकला जुन हाम्रो राष्ट्रिय पहिचान र गर्वका रूपमा थियो त्यसप्रति उदासीनताकोे मनोवृत्ति फेरिएन । विशेषतः राजा महेन्द्रको रैथानेलाई अल्पमतमा पार्ने रणनीतिस्वरूप उपत्यकामा आन्तरिक आप्रवासनलाई हौस्याएको मात्र नभई सम्पदा र संस्कृतिको यस केन्द्रलाई सिमेन्ट र कंक्रिटको कुरूप भौतिक संरचनामा रूपान्तरण गर्न पनि टेवा पु¥याए । अनि त्यसमा भ्रष्ट स्थानीय एकाइको अविवेकीपना र गतिछाडा चरित्रले थप मलजल हाले । 

आज प्रश्न छ, पुर्खाले सिर्जेका ती अनुपम सांस्कृतिक सम्पदा, कला–कौशल, नगरी सभ्यताप्रति गौरवान्वित भएर तीनको संरक्षणमा लाग्ने कि आधुनिकता, स्मार्ट सिटी, समृद्धि अनि भ्यू–टावर निर्माणको भुत्ते अभियानमा अलमलिँदै विगतकै गल्ती दोहो¥याउँदै जाने ?


https://jhannaya.nayapatrikadaily.com/news-details/721/2019-12-28

No comments: