यो केवल एउटा अस्पष्ट अतीतको ‘ नोस्टाल्जिया’ होइन, सामुन्नेकै संकटबारे बजाउन खोजिएको घन्टी हो ।
केही पहिले काठमाडौँ, चाबहिलको पश्चिमतिर हिँड्दै गर्दा म एउटा चोकमा पुगेँ । चोकमा मूर्ति र राम्रो रंग–संयोजनले सिँगारिएको चौतारो । छेवैमा फोहोर राख्ने डोको, बाटामा फोहोर कतै छैन । धूलो पनि खासै छैन । अलिकति अगाडिपट्टि पर्खालभित्र लाम्चो ठाउँको एक छेउमा बुद्धका मूर्ति । सुनौलो साँढेको प्रतिमा र चैत्य । पूरै स्थान रंगाइएको छ । भुइँमा नेपाली शैलीका इँट र टायल । नेपाली वास्तुकलाको झलक आउने रंग, शैली, मूर्ति र सुनौला गजुर । बीचबीचमा ससाना वर्गाकारमा दूबो उमारिएको । ध्वजा र नेपाली झन्डा मिलाएर सजाइएको थिए । अर्को छेउमा सानो आँगन र एउटा घर छ । थाहा पाएँ– त्यो त पिंगला विहार रहेछ । पाटनमा विराजमान प्रसिद्ध बौद्ध प्रतिमा करिब १ हजार ३ सय वर्ष पहिलेदेखि यहाँ रहेछ । बेवास्ताले जीर्ण बने पनि हालै विहार र आफ्नो बस्तीलाई स्थानीय बासिन्दाले यो रूपमा ल्याएका रहेछन् ।
स्थानीय पाका लक्ष्मणराज सत्यालसँग कुरा गर्ने अवसर जुर्यो । पिंगला विहार प्रांगणकै घरमा धिमे बाजाको क्लब र पुस्तकालय स्थापना हुँदै रहेछ । नजिकै पार्क र पौडी पोखरी बनाउने योजना रहेछ । छेउको अर्को खाली स्थान बच्चाहरू खेल्ने र पाका मानिसहरू जमघट गर्ने ठाउँ बनेको रहेछ । चोर आएमा सबैलाई सजग बनाउने साइरन पनि घरघरमा जडित रहेछ ।
समुदायका सबैथरी मानिस व्यापारी, राजनीतिज्ञ, पेसाकर्मी, प्रवासीहरूको प्रयासले टोल सफा, सुन्दर र जीवन्त बनेको देखेर रमाइलो लाग्यो । मैले सत्यालजीलाई सोधेँ, ‘थप के भएको भए यो प्रयास अझ सजिलो हुने थियो ?’ एकछिन पनि नसोची उहाँले जवाफ दिनुभयो, ‘स्थानीय निकाय ।’ उहाँको आशय थियो, निर्वाचित स्थानीय प्रतिनिधि भएको भए काम सजिलै हुने थियो । केन्द्रको राजनीतिक प्रणालीले दुई शताब्दीभन्दा बढी देशभरका जनतालाई लुट्ने र सोस्ने काम गरे पनि कतैकतै तालमेल मिल्दा निकै आशलाग्दा काम भइरहेका पनि छन् । पिंगला विहार उदाहरण हो ।
अहिलेको काठमाडौँ
रत्तिभर पनि इतिहासचेत नभएका मानिसको हूल र तिनको पैरवी गर्ने व्यापारी तथा बौद्धिकहरूले काठमाडौँबाट यसरी हाम्रो समाज तहसनहस बनाउँदै छन्, मानौँ उनीहरू हतारमा लूट मच्चाउन आएका कुनै शत्रु टोलीका प्रतिनिधि हुन् । जब कि, हामीलाई चाहिएको छ, करिब तीन करोड नेपालीको हजारौँ वर्षको उन्नत सभ्यताको प्रतिनिधिका रूपमा व्यवहार गर्नसक्ने जिम्मेवार नेतृत्व वर्ग, जसले यो धरोहरलाई अहिलेभन्दा राम्रो बनाएर सुरक्षित रूपमा अर्को पुस्तालाई दिन सकोस् ।
करिब १० वर्षअघिसम्म पुतलीसडक र गोंगबुबाहेक अचाक्ली धूलो हुने स्थान थोरै मात्र थिए । तर, कोटेश्वरमा बाटो निर्माण हुन थालेपछि निस्कँदा सफा भएर कतै महत्त्वपूर्ण बैठकमा पुगिसक्दा सार्वजनिक सवारी, होहल्ला, भीड, समयको अनिश्चितता र धूलोको कारण सारा ऊर्जा गलिसकेको हुन्थ्यो । छोटो समयका लागि काम वा परीक्षाका निम्ति काठमाडौँ आउनेहरू त होटलको बसाइ, फोहोर पानी वा खानाका कारण धेरैपटक टाइफाइड वा जन्डिस लिएर फिर्ता जानुपथ्र्यो । तर, त्यो समय यस्ता कुरा गरे जाबो धूलोबारे गुनासो गर्ने सुकिलामुकिला वर्गको स्वाङ भनिने डर चर्को थियो । साधारण मानिसका लागि सके चुपचाप दैनिक दालभात युद्ध लड्नु, नसके अर्कै बाटो लाग्नुपर्ने बाध्यता थियो । जब कि, यस्ता समस्याले उच्च वर्गभन्दा मध्यम र निम्न वर्गका मानिसलाई धेरै बढी सास्ती दिइरहेको हुन्छ ।
सरकारी वा सार्वजनिक खाली स्थान कतै भेट्यो कि साँघुरा नागबेली सडक खनेर टुक्रे घडेरीहरू प्लटिङ गर्दै बेच्ने नवधनाढ्य वर्ग त्यसै समय निर्माण भयो । हालका वर्षमा त सार्वजनिक विद्यालय, पशुपतिपछाडिका जंगल र विश्वकै अमूल्य जैविक विविधता भएका पहाडहरूमा जथाभावी डोजर लगाउने र तत्कालको फाइदाका लागि जस्तोसुकै दोहन गर्ने क्रम बढ्दै छ । यो क्रम चुरे शृंखला र देशैभरि डढेलो जसरी फैलिँदो छ ।
शान्तिप्रक्रियापछि ठूलो अपारदर्शी धनराशि पनि घरजग्गा व्यवसायमै खनियो । रेमिट्यान्सको पैसाले घर बनाउने सपना वा जिल्लाहरूमा साँघुरिएका अवसर खोज्दै काठमाडौँ आउने नेपालीहरूको विवशतामा थप प्रहार भयो, कमजोर बनेको राज्य, ध्वस्त पारिएका स्थानीय निकाय र नियमन प्रणालीको कारण । अहिलेको विकृत राजनीतिको जरो खोज्दै जाने हो भने घरजग्जाको मुनाफाले यातायात, मेडिकल कलेज, प्राकृतिक स्रोत फँडानी, वैदेशिक रोजगार व्यवसायी, गुण्डागर्दी वा यस्तै सिन्डीकेटहरूको जालोसम्म पुगिन्छ । राजनीति गर्ने सिन्डीकेट र यस्ता विनाशका सिन्डीकेट एकले अर्कोलाई चपक्कै बेरिएर बसेका छन् ।
फलत: अहिले काठमाडौँ बस्नै नसकिने सहर बनेको छ । वर्षका धेरै दिन वरिपरिका डाँडा देख्न पनि गाह्रो छ । बाबुराम भट्टराई सरकारको पालादेखिको सडक खन्ने काम सकिएको छैन । सकिएका ठाउँमा फेरि अव्यवस्थित निर्माण हुन्छ । बाटोभरि असरल्ल धूलो, खाल्डो देख्न सकिन्छ, जुन सानो हुरी आउँदा वा कुनै सवारी साधन चल्दा जताततै उडेर सबै कुरा ढाकिदिन्छ । बर्सेनि रेमिट्यान्सबाट आउने आधाभन्दा बढी पैसा निजी सवारी र इन्धन खरिदमा फेरि बाहिर जान्छ । अर्को ठूलो हिस्सा
खाद्यान्न लगायतका दैनिक उपभोगका वस्तुमा बाहिरिन्छ ।
हामीले चाहेको नेपाल यस्तै हो त ? के ‘नयाँ नेपाल’मा यस्तै आठ–दसवटा अरू काठमाडौँ बनाउनु हाम्रो विकासको योजना हो ?
बदलिँदो समाजको तस्बिर
स्वास्थ्य समस्याको विकरालताको कारण विश्वास गर्नै नसकिने अस्पतालहरू, खाद्यान्नका विषादी र प्रदूषण मात्रै होइन, टुक्रिएका परिवारहरूका कारण हुने सामाजिक रिक्तता, मानसिक तनाव र आमाबुबाहरूको एक्लोपनको रूपमा पनि बढिरहेको छ । थुप्रै अध्ययनले देखाए अनुसार विदेश जानेहरूले आर्थिक उन्नति गरे पनि आफ्नो समाजभन्दा टाढा हुँदाको भावनात्मक मूल्य त्यसभन्दा बढी तिरिरहेका हुन्छन् ।
श्रमको विश्वव्यापीकरणले जति फाइदा हुन्छ भनेर प्रचार गरिए पनि ‘इकोनोमिज अफ स्केल’को फाइदा लिन नसक्ने साना देशबाट धेरै मानिस विदेशिँदा दीर्घकालीन रूपमै अपूरणीय घाटा हुन जान्छ । गएको एक दशकमा जनसंख्याको एकतिहाइ मानिस बाहिर भएका कारण नेपालमा अहिले पुन:निर्माणलाई चाहिने मजदुरसमेत अभाव भएको छ ।
पुराना मठमन्दिरहरू मर्मत गर्ने, गाउँका कृषि प्रणाली जान्ने वा स्थानीय विशेषता बुझ्ने एउटा पुस्ता नै मासिँदा त्यसले देशमा कत्रो अनुपातको रिक्तता ल्याइरहेको होला ? हालै स्रष्टा अमृत गुरुङले भने अनुसार नेपालका गाउँमा हजारौँ वर्षदेखि चलेको एक पुस्ताबाट अर्को पुस्तामा लोक र शास्त्रीय भाका हस्तान्तरण हुने क्रम पनि यही समयबाट सधैँका लागि अन्त्य भएको छ ।
गृहयुद्धको असुरक्षा र स्रोतहरूको केन्द्रीकरणले गर्दा गएको एक दशकमा राजधानीको चाप ह्वात्तै बढेको हो । अहिले काठमाडौँको जनघनत्व विश्वकै उच्चमध्ये छ । उदाहरणका लागि, लस एन्जेल्समा प्रतिवर्ग किलोमिटर तीन हजार मानिस बस्छन्, न्युयोर्क र लन्डनमा १० हजार बस्छन् भने काठमाडौँमा २० हजारको बसोवास छ । एसियाका मुम्बई, ढाका र मनिलाजस्ता सहरमा जनघनत्व बढी छ तर काठमाडौँको विपरीत ती सहर चौडा हुन सक्छन् । यस्ता ठूला सहरमा धेरै मानिस ओसार्न सक्ने सार्वजनिक सवारी र धेरै मानिस बस्न सक्ने आवास क्षेत्रजस्ता व्यवस्था छन् ।
काठमाडौँमा न्युरोडअघि वा प्रदर्शनी मार्गनजिक सानो बाक्साजस्ता माइक्रोबसमा स्थान पाउन दैनिक प्रतिस्पर्धा नगरी चढ्न पाइँदैन । वरपर देखिने हरिया डाँडा र मनमोहक खेत दिनप्रतिदिन मासिँदै छन् । पोखरी, बहाल, पाटी, चोक, खुला स्थान, चौर, पानीका स्रोत, चराका आवाज, जंगलको शीतल हावा र नेपाली जनजीवनका परिचित बालीबिरुवा पनि हराउँदै छन् ।
विदेशिने पुस्ता बढ्दै गर्दा पाका मानिसहरूका सामुदायिक क्रियाकलाप, भजनकीर्तनजस्ता संगत र सुरक्षा सञ्जाल, टहल्ने स्थान र स्वच्छ हावा पनि अपर्याप्त बन्दै छ । हुर्कंदै गरेका पुस्ताको पोषण, पारिवारिक र सामुदायिक सम्बन्ध, चौतर्फी शिक्षा तथा स्थानचेतमा पनि यिनले संकट निम्त्याउनेछन् ।
यो केवल एउटा अस्पष्ट अतीतको ‘ नोस्टाल्जिया’ होइन, सामुन्नेकै संकटबारे बजाउन खोजिएको घन्टी हो । अहिले काठमाडौँ र यो मोडल पछ््याउने सबै क्षेत्रमा देख्न नसकिने सूक्ष्म परिवर्तन मात्रै होइन, दैनिक महसुस नै गरिने समस्या टड्कारो बनिसकेका छन् । विकराल बन्नुअघि नै यसबारे समाधानको पहल गर्नुको साटो यसलाई ‘सुकिलामुकिलाको स्वाङ’ भनेर बेवास्ता गर्नु अहिलेकै सिन्डीकेट प्रथा र तिनले फाइदा पुर्याइरहेको सीमित स्वार्थ समूहको सेवा मात्रै गर्नु हो ।
तत्कालका समस्याभन्दा अगाडि सोच्नै नसकिने गरी सारा देशलाई अल्झाउने क्रममा पहिले ‘युद्ध सकियोस् अनि अरू कुरा सोचौँला’बाट ‘पहिले संविधान बनोस्’ हुँदै अहिले ‘पहिले निर्वाचन होस्’मा देश पुगेको छ । एउटा आवधिक निर्वाचन हुन पनि यस्तो महाभारत ? जातीय र सामुदायिक विभाजनजस्ता अनेकौँ नयाँ समस्या अल्झाएर सारा पुस्ताको वर्तमान र भविष्य सखाप पार्ने योजनाको सहयोगी भएर वास्वतिक समस्या र दीर्घकालीन विषयहरूमा ध्यान जानै नसक्ने वातावरण बनाउने कामको अब अन्त्य गर्नैपर्छ ।
हजारवटा बन्दीपुर
अमेरिका र युरोपमा भइरहेका परिवर्तनले पनि देखाउँदै छन् कि विश्व जतिसुकै साँघुरिए पनि नेपालीका लागि नेपाल नै सुरक्षित र समृद्ध नभएसम्म खासै अर्थ राख्दैन । काठमाडौँका समस्यालाई प्रतिनिधि बनाएर मैले माथि बाटो बिराएको हाम्रो दिशाबारे सजग बनाउन चाहेको हुँ । यसका समाधानका उपाय खोज्न पनि नेपालभित्रैबाट हामीले प्रेरणा लिन सक्छौँ ।
देश–विदेशको अनुभवसँग सारा समुदायको सहभागिता र जागरण मिसिँदा राम्रा उदाहरण बनेका बस्ती र गाउँको कमी छैन । तनहुँको बन्दीपुर त्यसको एउटा उदाहरण हो । होमस्टे चलाउने लमजुङको घलेगाउँ र स्याङ्जाको सिरुबारीले पर्यावरण पनि जोगाएका छन्, आम्दानीको दिगो मोडल पनि बनाएका छन् । अर्गानिक खेती, सामुदायिक आयआर्जनका स–साना नमुनाले जरा गाड्दै छन् । तर, देशभरि स्तरीय यातायात, शिक्षा र स्वास्थ्य सेवाको अभावले यस कामलाई गति दिनबाट रोकिरहेको छ । हालै घलेगाउँले ‘दलित’ बस्तीलाई पनि होमस्टे अर्थतन्त्रमा जोडेर सुधार र परिपक्वता पनि प्रदर्शन गरेको छ ।
यस्तो गर्ने चाहना तथा क्षमता भएका समुदाय र व्यक्तिहरू नेपालभित्रै प्रशस्त छन् । बाहिर पनि छन् । यो भावना, ऊर्जा र क्षमता मुर्झाउनुभन्दा पहिले नै यसको उपयोग गरेर हामी माथि कसरी उठ्ने ? काठमाडौँको दोहनकारी राजनीति र बौद्धिक सिन्डीकेटको निस्सासिँदो पकड खोजेर कसरी देशैभरि हजारवटा बन्दीपुरलाई फक्रन दिने ? भुइँफट्टा अगुवा, बुद्धिजीवी, व्यापारी र राजनीतिक वर्गले कब्जा गरेर थुनेको हाम्रो बाटो कसरी खोल्ने ?
सांस्कृतिक र ऐतिहासिक जागरणले समुदायमा आत्मविश्वास भर्छ । आत्मविश्वास जागेको समाज केहीबेर सुस्ताए पनि फेरि फोक्सोभरि श्वास भरेर कुनै पनि बेला जुरुक्क उठ्न सक्छ । नेपालभरका गाउँ जुरुक्क उठाएर अधिक नेपालीलाई आफ्नै परिवार, समुदाय र मौलिक संस्कृतिमा सम्मानजनक, स्वस्थ, उन्नत र समृद्ध जीवन निर्वाह गर्ने वातावरण नबनाएसम्म नेपाल बनाउने सपना पूरा हुने छैन ।
त्यो बाटोमा अघि बढ्ने सही समय अहिले नै हो । ठूला परिवर्तन भएपछिका सुरुका पाँच वर्षको मूल्य सामान्य समयका दशकौँ बराबर हुन्छन् । विसं ०४६ पछिको यस्तै ऊर्जा त माओवादी अवसरवादले खत्तम पार्यो । तर, संविधान निर्माणपछिको अर्को अवसर पनि खेर फाले हामीलाई समयले बारम्बार अवसर दिनेछैन । फेरि, चीन र भारत अघि बढिसक्दा पनि हामी पछि नै परे सस्तो मानवस्रोत प्रदान गर्ने पिछडिएको देशमै हामी सीमित हुनेछौँ । त्यसो हुनुअघि नै हामी कसरी माथि उठ्ने ?
स्थानीय क्षमता र नेतृत्व विकासमा कुन कुन संस्था र पात्रहरू अवरोध हुन् ? कुन विदेशी वा स्वदेशी स्वार्थ केन्द्रहरू यो बाटाका तगारा हुन् ? तगारा थाहा हुँदाहुँदै पनि आफूलाई चाहिएको बाटोमा हामी हिँड्न नसकेको किन हो ?
स्थानीय तहका महिला र अन्य समुदायको प्रभाव कम गर्ने गरी अहिले केन्द्रीय सदनमा केवल प्रदेशका ठालूहरूले मात्र मतदान गर्ने नयाँ व्यवस्थाको चर्चा गरिँदै छ । त्यसभन्दा पनि डरलाग्दो, स्थानीय चुनाव नै हुन नदिने दुई दशकदेखिको खेल अझै लम्ब्याउने तानाबाना बुनिँदै छ । यसको विरोधमा बोल्न हाम्रा अगुवा र बुद्धिजीवीको मुखमा अझै पनि कसले बुझो लगाएको छ ? गृहयुद्ध हुनुअघि देशैभरि स्थानीय पुन:जागरणमार्फत सामुदायिक चेतना, नेतृत्व र आर्थिक क्रियाकलापको विकास भइरहेका बेला हतार–हतार त्यो चुँडाउने शक्तिहरू के अहिले फरक रूपमा नेपाली समाजको निरन्तरताको धागो चुँडाउने काममा तल्लीन छैनन् होला ?
त्यसैले यस्ता दोहनकारीहरूको समूहले चाहेजस्ता १० धुलाम्मे र निस्सासिँदो काठमाडौँ बनाउने कि हजारवटा सुन्दर र उन्नत बन्दीपुरहरू बनाउने ? यही प्रश्नको सही जवाफले हाम्रो भविष्यको बाटो निर्धारण गर्नेछ ।
No comments:
Post a Comment