तेजेश्वरबाबु ग्वंग;
फुर्सद
३१ भदौ २०७४ ०८:०६:०८
स्मृतिसागरमा तैरिन थाल्छु, चुर्लुम्मिन मन पराउँछु । विगतका स्मृति दोहन गर्नुपर्दो रहेछ, उहिल्यैका मेरो जन्मभूमि भक्तपुरका अवस्था झल्काउने विजक विवरण तयार पार्न । यतिन्जेल यी युगल नयन जोडीलाई पर्लक्क अन्तरमुखी पार्दैछु । विगतलाई वर्तमानसम्मै डोर्याउने सहज उपाय अन्तरमुखी बन्नुपर्दो रैछ । सिकिरैछु यस घडी । आजीवन शिक्षाले नैरन्तर्य चाहारिरहेको हुँदो रैछ । आजीवन शिक्षार्थी बनिरैछु ।
मनभरिका आस्था-मुटुभरिका मायाममता जन्मभूमि मेरो खोपृङ्ग-भक्तपुरको उहिल्यैका आस्था बालक आँखाले भ्याएको झझल्को बटुल्ने प्रयासमा छु । बालककालका स्मृतिलाई संस्मरण चित्र फोटोहरूले गराउँदा रैछन् । कान्छो मामा विज्ञानबहादुर मल्ल भक्तपुरका पहिलो फोटोग्राफर दार्जिलिङ-कलकत्ताबाट ज्ञान र सीप हासिल गरी आउनुभएको रैछ ।
लिच्छवी र मल्लकालीन सांस्कृतिक सम्पदाका वैभवले सम्पन्न भक्तपुर प्राकृतिक सौन्दर्य हराभरा पर्वत शृंखला, वन्य जीवजन्तु, खोलाखोल्सा, नदीनाला, झरनाझ्वाला प्रशस्तै थिए । काठमाडौं उपत्यका नै लावन्यवती-रूपसी आमा थिइन् । वर्तमान पुस्ताले मेरा आँखाका अनुभूतिमा रमाउन पाएनन् । सौन्दर्यका अनेक आयाम बीचका प्राकृतिक सम्पदा अथाह रूपमा तुहिसके अब ।
स्वच्छ, स्वस्थ, शीतल, निर्मल हावापानी वैभव थिए । निरोगी, स्वछन्द, हट्टाकट्टा यौवन जीवनकै लालिमा थियो । 'यावत जीवेत सुखम् जीवेत;, ऋणंकत्वा घृत्म पिवेत' जबसम्म बाँचिन्छ सुखैले बाँचियून्, ऋणै काढेर नि घिउ नै सेवन गरियून् ! चारवाकीय सिद्धान्तका मार्गीहरू इनेगने मात्र थिए । अधिकांश जनजीवन ऋणै काढी घिउ सेवन पक्षधारी थिएनन् । बहुसंख्यक जनता सुकार्य-सत्कर्म नै गरी जीवनयापन गर्ने पक्षमा थिए । गुरुकूल पद्धतिले नैतिक शिक्षाका आधारशिला खडा गरेको थियो । 'अकर्तव्यम् नकर्तव्य् प्राणैर्कण्ठे गर्तिरपि' गर्नै नहुने अकर्तव्यहरू प्राणै घाँटीमा ओल्किए पनि नगरियून्' ! शैक्षिक पाठ्यसामग्री रहेका थिए । कर्तव्यमुखी पाठहरू पाठ्यक्रमका मूलाधार बनेका थिए । अहिले नैतिक आचरण निर्माण हुने गरिने रत्तिभर महक पाठ्यक्रमका चासोबाहिरका विषयवस्तु बन्न पुगे ।
हरियो वनजंगल जोगाउने, पहिरो नियन्त्रण गर्न बरपीपल वृक्ष रोप्ने कार्य धार्मिक परिप्रेक्ष्य बनाई आस्थापूर्वक गरिन्थे । बर-पीपलका बोट नितान्त झाङ्गिने प्रकृतिका छन् । बोट जति नै झाङ्गिने प्रकृतिका हुन्छन्, उति नै तिनका जराहरू विस्तृत रूपमा फैलिने पनि हुन्छन् । विशाल झाङ्गिने बर-पीपल, पँलास, पैयुँका रूखहरू ठूलो छहारी र ओत दिन्छन् । पीपलका पातपातले सबैभन्दा बढी मात्रामा अक्सिजन उत्सर्जन गर्छन् । विस्तृत रूपमा फैलँदो जराजुरीहरूले दिगन्तका पाखा-पर्वत, समथरका माटो कब्जामा राखी भूस्खलनबाट जोगाड गर्छन् ।
मनभरिका आस्था-मुटुभरिका मायाममता जन्मभूमि मेरो खोपृंग-भक्तपुरको उहिल्यैका आस्था बालक आँखाले भ्याएको झझल्को बटुल्ने प्रयासमा छु । बालककालका स्मृतिलाई संस्मरण चित्र फोटोहरूले गराउँदा रैछन् ।
यसरी आस्थावान् रहेर सत्कार्यलाई धर्म मान्ने धारणामा वैज्ञानिक विश्वास र संस्कारमय जरा गाडिएका छन् । पर्याप्त थाहाबिना अन्ध परम्पराका प्रचलन ठानिनु पाश्चात्य प्रभावले ग्रसित एकलव्य जिकिरधारी आग्रह ठानिन्छ अहिले !
मध्यवयस्क अवस्थासम्म काठमाडौं उपत्यका वरपरका पहाड पर्वत माला एकदम हराभरा जंगल जडीबुटीका अज श्र स्रोत-शृंखला थिए । अहिलेको अवस्थामा मेरा यो कपालभन्दा बढी नांगिएका छन् पर्वतहरू ! पहिलेपहिले ती शैल श्रेणीका शिखरहरूमा झुण्डका झुण्ड जूनकीरीका जुनेली चमक टल्किन्थे । अहिलेको यो जीवनको सिरानी वयमा जताततै हेडलाइटका टिलिक पिलिक झुल्का झुल्कँदो हेर्छु । यातायात सुविधा बढेको सकारात्मक पक्ष बनेको छ ।
परन्तु, वैज्ञानिक साधनका दु्रतमार्गमा सुविधाजनक जीवनयात्रा भर्दाभर्दै जंगल मार्ग बीचबीचमा वन्यजीवजन्तु आक्कलझुक्कल अवलोकन गर्न पाउने प्राकृत सम्पदा स्थिति जोगाड गर्न सकेको भए कत्रो मनोरम पर्यटन वृत्त बन्ने थियो । संघीय-प्रादेशिक-स्थानीय-स्वायत्त-शासन व्यवस्थाको विकेन्द्रीकृत स्थानीय नगरपालिका अनि गाउँपालिकाहरूले यतातिर पनि परिपक्व ध्यान दृष्टि पुर्याउने अपेक्षा किन नगरौं हामी ?
हरित वनजंगलकै कारण नदी, खोलाहरू प्रवाहित थिए जताततै स्वच्छ र निर्मल ! जलजन्तु-प्राणीहरू प्राकृत रूपमै पाइन्थे सर्वत्र । नदीहरू नुहाउने निर्मल प्रवाह लिई निर्बाध निर्बन्ध यात्रा भर्थे । निर्मल धारमा डुबुल्किनु, नुहाउनु दिनचर्या थिए । एकादेशका बखान बनेछन् अब यी आख्यानिक बखानका प्रसंगहरू ! मानिसभित्रका समीक्षक बोलिफुट्छन् । बाग्मती ढलमती बहेको । पिता-पुष्कर, माता-गंगा भन्थ्यौ एकताका स्वच्छ नदीलाई ! अहिले पुष्कर प्रदुष्कर, गंगा दुर्गन्धामा परिणत भएर उत्तरार्ध जीवन प्रायश्चित्त र पश्चात्तापका प्रताडनमय बनेछ !
मल्लकालीन सम्पदास्थलहरू १९९० साल माघ २ गते दिउँसोको ८.३ रेक्टर स्केलका महाभूकम्पले गर्नुनगर्नु विनाश गरे । मल्लवंशीय वसन्तपुर दरबारको सुन्दर भवनहरू धराशयी भए । ९९ चोकयुक्त दरबारका साथै अन्यान्य देवीदेवताका स्थलहरू भूकम्पकै चपेटामा लपेटिए चपेटिए ! भक्तपुर दरबारका प्रवेशद्वारका बायाँका ठूलठूला सिंह-सिंहिनी जोडी, वसन्तपुर दरबार प्रवेशद्वारका दायाँबायाँका नवदुर्गा भवानीका शिलामूर्ति र भैरवका मूर्ति बेजोड अनुपम शिला शिल्पा साधनामा निहित आयामभरिका अर्मूत पक्ष विवेच्य छन् ।
देवी नवदुर्गाका एकीकृत स्वरूप रहेको छ यो शिला मूर्ति । यही तथ्यलाई सत्य साबित गर्ने एकै देवीमा १८ वटा हात जडित हुनुले साबितिन्छ । दायाँ नौ, बायाँ नौ हातहरूका नौ अर्थात् नवदुर्गाका प्रतीकात्मक साक्ष विम्ब बनेको छ । नौ÷नव दुर्गाका दईदुई हात एकै जीउमा जड्दा दायाँ नौ, बायाँ नौ हात हुने नै भयो । सामान्य गणितीय लेखाजोखा हो यो । आश्विन शुक्ल परेवादेखि नवमीसम्म प्रतिदिन एक देवीका एकौटा भूमिका रहन्छ । तिनीहरूलाई प्रतिविम्बित गर्ने भूमिका निर्वाहक प्रतीकात्मक वस्तुतत्वहरू पहिल्याउने क्रमबद्ध हातहरू बने बनाइएका छन् । तिनै साधनाका तन्त्र विधा तान्त्रिक रहस्य बने बनाइएका हुन् ।
२००१ सालसम्म भक्तपुरमा एउटैमात्र भक्तपुर इङ्लिस स्कुल र एक संस्कृत पाठशाला सञ्चालनमा रहेथे । दुवै सरकारी विद्यालय थिए । २००१ सालमै मलाई मामा विज्ञानबहादुर मल्लले भक्तपुर इङ्लिस स्कुलको १ कक्षामा प्रविष्ट गराउनुभएथ्यो । २००३ सालमा पद्मशमशेर जंगबहादुर राणा प्रधानमन्त्री बनेको उपलक्ष्यमा मिडिल स्कुललाई पद्म हाइस्कुलमा स्थापित गरिएथ्यो ।
राजनीतिक जागरणस्वरूप २००४ सालमा पहिलोपटक गान्धी, नेहरू र श्री ५ त्रिभुवनका लहरै तीन तस्बिर इन्द्रायणी मन्दिर, खौमा टोलमा प्रदर्शन गरिएको झल्झली अहिल्यैझैं लाग्छ । त्यही साल राणा शासनविरुद्ध कांग्रेस श्रीपद्म हाइस्कुलको मूलढोका अगाडि झन्डा बोकी देखा परेथे । स्कुल आउँदै गर्दा स्कुल पुगेका मलाई केटा हो छिटो जाऊ, सूर्यबहादुर 'पिवा;'का सानिमाले आग्रह गरे । तिमीहरूलाई मिठाई बाँड्ने रे ! हस्याङफस्याङ गरी स्कुल पुग्दा त गजसुन्दर प्रधान लिखित भाषण वाचन गर्दै थिए । कांग्रेस टोलीका तीन अर्का सहयोगी थिए— नारायणविलाश जोशी, जगतप्रसाद हाडा, गंगाप्रसाद श्रेष्ठ । कांग्रेस के हो थाहा थिएन । मानिस हुन् या कुनै अर्का जन्तु...? आखिर कांग्रेस त चिनेजानेकै मानिस प्राणी पो रहेथे...!
हाराहारी त्यसैताका शान्तिभक्त विद्यालय खोलिए तेखापुखु र इताछेँ टोलका दोसाँधमा । नामले शान्तिभक्त कामले क्रान्तिभक्त ! राणा शासनविरुद्ध आन्दोलन छेड्ने गतिविधि चलाउने शिक्षा केन्द्र । हास्यव्यंग्यकार स्व. अग्रज सूर्यबहादुर प्रधानांग 'पिवा;' त्यही शान्तिभक्त विद्यालयबाट राणाशासनविरोधी कांग्रेस ठानी भक्कुमार शाषनासाथ धरपकड गरी जेलमा ठोस्न लगे । २००७ साल फागुन ७ पछि स्व. खंगमान सिंह बस्नेत, स्व. नूतन थपलिया, स्व. सूर्यबहादुर प्रधानांग 'पिवा;' एकै जमातमा जेलमुक्त भई भक्तपुर फर्केको झल्झली आँखाअगाडि आइरहन्छ ।
'पिवा;, भाजु÷ श्रीमान्÷मिस्टर जेलमा स्व. कवि केदारमान व्यथित', स्व. युगकवि सिद्धिचरण श्रेष्ठ, स्व. झी कवि चित्तधर 'हृदय' आदिबाट प्रभावित र अभिप्रेरित भई 'पिवा;' भाजुकै नेतृत्व र अध्यक्षतामा हामीले सर्वप्रथम भक्तपुरमा 'नेपाल साहित्य मन्दिर' स्थापना गर्यौं । 'ग्वंग;'सहित सात जवान मिली २०१० को प्रारम्भिक प्रभाती साथै नेपाल साहित्य मन्दिरले अनेक साहित्यिक, सांस्कृतिक गतिविधि साथै अग्रज साहित्यकारहरूद्वारा साहित्यिक प्रवचन माला उन्ने प्रयत्न गर्दै लगे ।
फलत; साहित्यिक जागरण भक्तपुरमा क्रमिक तवरले समृद्धशाली बन्दै हुर्के । नेपाल साहित्य मन्दिरको त्यस अभियानमा उत्साहबद्र्धक प्रेरणास्रोत बनेका अभियन्ता अग्रजहरूमध्ये स्व. कविवर चित्तधर 'हृदय', नाटक शिरोमणि स्व. बालकृष्ण सम, निबन्धकार, समालोचक, एकांकी नाटककार स्व. हृदयचन्द्रसिंह प्रधान, स्व. कविवर सिद्धिचरण श्रेष्ठ, कविवर केदारमान व्यथित, स्व. कृष्णचन्द्र सिंहका निबन्धकार, समालोचक आदि हुनुहुन्थ्यो ।
यो क्रम २०१८ सालपर्यन्त निरन्तर रहे । त्यसपछि भक्तपुरमा क्रमश; विराट नेपाल भाषा साहित्य आन्दोलन, नेपाल भाषा त;मुंज्या आदि अग्रसर हुँदै आएर नेपाली र नेपालभाषा साहित्य समृद्ध हुँदै आए।
भक्तपुर जिल्ला क्षेत्रफलमा अधिराज्यकै सबैभन्दा सानु जिल्लामा परिणत हुनुमा २०१५ सालको जिल्ला सिमाना समायोजन कार्यको ठूलो भूमिका छ । २०१५ सालको प्रथम आम निर्वाचनको प्रयोजनमुखी थियो । उत्तरमा मनहरा नदीपारिका सोलोडोलो सिंगै साँखु, पश्चिममा बागमती नदी पर्वमा मनहरा नदी पश्चिमका भूभागहरू र दक्षिणमा लुभु इलाका आदि भक्तपुरबाट छिनालिएथे । यसरी मेरो जन्मभूमि भक्तपुर सानु आकारका जिल्लामा रूपान्तरित हुन पुगेथे । अनुभूतिका अभिव्यक्ति बनेका छन्— यो शब्द स्वर तेजेश्वरका ! अभिवादन या अभि श्राप भन्नै कठिन...!
सानु भएरै पनि भक्तपर नगर विश्वकै अभिरुचिपूर्ण, आकर्षक सम्पदास्थल बनेको छ । भक्तपुर नगरलाई आकर्षक पर्यटन केन्द्र बढाउने प्रचुर सम्भावना गर्भगृहमा रहेका छन् । भक्तपुर नगरपालिका अहिले संविधानत; नै स्थानीय स्वायत्त सरकारका अंगकै रूपमा स्थापित भइसकेको छ । हालसालै सम्पन्न निर्वाचनले स्थानीय स्वायत्त सरकार गठन प्रक्रिया मूलक परिणाम जनताका घरदैलो सम्मै सुम्पिसकेको छ । गर्भगृहमा लुकेका अनेकौं सम्भावनामध्ये एक मध्यकालीन सांस्कृतिक सम्पदा स्थलका अवशेष बनेका ९९ चोकमात्र पनि तत्कालीन नापनक्सा र आकारप्रकारमा उतार्न सक्दा पनि तिलौराकोटको बौद्ध सम्पदास्थलजस्तै मल्लकालीन वास्तुविद्याका स्वरूप सबैका जानकारीका आधारशिला बन्ने थियो पक्कै !
त्यस्ता वास्तुविधाका मूर्त रूपका आधारशिला भनेकै चोकका आकारप्रकार, नापनक्सा, लम्बाइ, चौडाइ आदि नै हुन् । यिनैका आधारमा वास्तुविधाका आकारप्रकार निर्धारण हुन्छन्, गरिन्छन् । चाहना र दिलचस्पी भएकाले यस्तैबाट प्रचुर ज्ञान हासिल गर्न सक्छन् । यस्ता युगान्तकारी सम्पदास्थलमा डुबिरहेका तत्कालीन गारोका मोटाइ, चौडाइ, गहिराइको जानकारीले निर्माणशैली बुझ्न बुझाउन भरपूर थेग्छ । यसभन्दा पनि ती जगमा प्रयुक्त वस्तुहरूको वैज्ञानिक परीक्षणद्वारा तत्कालीन निर्माण सामग्रीहरूको विश्लेषण गरी अध्ययन सामग्रीका पाठ्यसामग्री तयार गर्ने आधारभूत तथ्य जुटाउन सकिन्छ ।
लाग्छ, जननिर्वाचित नगरपालिकहरूले सिंगो सोलोडोलो भक्तपुर जिल्ला निर्माण, पुनर्निर्माण, सुदृढीकरण गर्ने यावत् कार्य जिल्लाकै हितकर भविष्यको सोचसाथ अग्रगमन गर्ने अठोट चाहिरहेका छन्, भक्तपुरका जनता ! भक्तपुर नगरपालिकाले नगरको सुदृढ विकास निमित्त अन्तर्राष्ट्रिय पर्यटनमा आकर्षण बढ्ने गरी भूकम्पले तहसनहस गरेका असंख्य सम्पदास्थलमध्ये ७२÷७३ वटा निर्माण भइसकेको तथ्यांक जनताबीच आएको सय दिन पूरा भएको अवसरमा प्रतिवेदनमा उल्लेख भएको छ । सूचनाका हकअधिकार पालन गर्ने क्रम सबै तिरबाट हुँदै गए जन-मन सुदृढ र राष्ट्र निर्माण हुँदै जानेमा आशावादी हुन सकिन्छ ।
मनभरिका आस्था-मुटुभरिका मायाममता जन्मभूमि मेरो भक्तपुरका उहिल्यै र अहिलेका छोटामोटा शब्दचित्र पाठक महानुभावमा सादर...! .
http://annapurnapost.com/news/80357
No comments:
Post a Comment