काठमाडौंको चोभारस्थित आदिनाथ लोकेश्वरको मन्दिर आफैंमा एउटा अनौठो सम्पदा हो । पहिलोपटक मन्दिर पुग्ने जोकोही पनि मन्दिरको 'साजसज्जा'देखेर छक्क पर्छन् । मन्दिरको चारैतिर पित्तलका विभिन्न भाँडाकुडा किलाले ठोकेर अड्काइएका हुन्छन्— जस्तो भात पकाउने कसौरी, थाल, लोटा, डाडु, पन्यू, पूजाको थाल आदि । यस्ता भाँडाकुडा मन्दिरको आफ्नै वस्तु भने होइन । भक्तजनहरूले आफ्ना दिवंगत आफन्तका सम्झनामा यस्ता भाँडाकुडा मन्दिरमा ल्याएर ठोक्ने रहेछन् जो अहिले आएर मन्दिरको मौलिक परिचयजस्तै बनिसकेको छ ।
-सुरेश किरण
फुर्सद
२७ कार्तिक २०७३ ०८:१९:२९
काठमाडौंको चोभारस्थित आदिनाथ लोकेश्वरको मन्दिर आफैंमा एउटा अनौठो सम्पदा हो । पहिलोपटक मन्दिर पुग्ने जोकोही पनि मन्दिरको 'साजसज्जा'देखेर छक्क पर्छन् । मन्दिरको चारैतिर पित्तलका विभिन्न भाँडाकुडा किलाले ठोकेर अड्काइएका हुन्छन्— जस्तो भात पकाउने कसौरी, थाल, लोटा, डाडु, पन्यू, पूजाको थाल आदि । यस्ता भाँडाकुडा मन्दिरको आफ्नै वस्तु भने होइन । भक्तजनहरूले आफ्ना दिवंगत आफन्तका सम्झनामा यस्ता भाँडाकुडा मन्दिरमा ल्याएर ठोक्ने रहेछन् जो अहिले आएर मन्दिरको मौलिक परिचयजस्तै बनिसकेको छ ।
बेलाबेलामा यी भाँडाकुडा निकालिने पनि गरिन्छ । तर, निकालेपछि त्यसको कुनै काम भने हुँदैन । एक त मरिसकेको मानिसलाई भनेर साह्रै पातलो खालका भाँडाहरू ठोक्ने गरिन्छ । त्यसमाथि किलाले प्वाल पारेपछि त्यसको के काम ? त्यसैले ती भाँडाहरू झिकेर किलोको भाउमा बेच्ने गरिन्छ ।
यो अनौठो मन्दिरमा कात्तिक महिनामा अर्को एउटा अनौठो व्रत बस्ने परम्परा छ । हिन्दू संस्कृतिमा विवाह गर्न व्रत बस्ने चलन छ । तर, यो मन्दिरमा सम्बन्धविच्छेदका लागि व्रत बस्ने गरिन्छ । श्रीमान् श्रीमतीहरू खराब सम्बन्धका कारण अलग बसिरहेका छन् भने त्यो सम्बन्धलाई पुनः जोड्ने वा पूरै विच्छेद गर्ने भन्ने अन्तिम निर्णय यही मन्दिरमा बस्ने एउटा व्रतले गर्छ । यो व्रतलाई स्थानीय नेपाल भाषामा 'माय् अप्सं' र नेपालीमा 'निर्जला व्रत' पनि भनिन्छ ।
प्रत्येक वर्ष हरिबोधिनी एकादशी (अर्थात् गएको बिहीबार)का दिन उक्त व्रत सुरु हुन्छ । र, पाँच दिन लगातार बसेर पूर्णिमाका दिन समापन हुन्छ । अत्यन्त कठिन मानिने यसमा जो बसे पनि हुन्छ । तर, व्रतको अन्तिम दिन भने सबै व्रतालुलाई घरकै सदस्य आएर सँगै लानुपर्ने रहेछ । तीनै व्रतालुका बीच केही त्यस्ता महिला पनि व्रतमा लीन हुन्छन् जो श्रीमान् वा घरका अरू सदस्यहरूसँग सम्बन्ध बिग्रेका कारण माइतीमा बसिरहेकी हुन्छिन् ।
व्रतको अन्तिम दिन उनलाई श्रीमान् आफैंले लिएर गए भने सम्बन्ध पुनः जोडिन्छ । श्रीमान् उनलाई लिन आएनन् भने त्यस दिनपछि उनीहरूको दाम्पत्य जीवन आधिकारिक रूपमै समाप्त भएको ठहरिन्छ । त्यो एक किसिमले सांस्कृतिक-सामाजिक रूपले मान्यता प्राप्त भएको 'सम्बन्धविच्छेद' नै हो । यो 'सम्बन्धविच्छेद'पछि महिला र पुरुष दुवैलाई अर्को विवाह गर्ने स्वतन्त्रता प्राप्त हुन्छ । यसपछि गरिएको दोस्रो विवाहलाई अर्को पक्षको कसुर लाग्दैन ।
अर्को कुरा, व्रत बसेकी कुनै महिलाई श्रीमान्ले लिन आएनन् भने त्यति बेला उनलाई अरू कुनै पुरुषले पनि लिएर जानसक्छ । श्रीमान्ले लिन नआएकी महिलालाई अरू पुरुषले लिएर जान चाहन्छन् र महिला पनि त्यसका लागि राजी छन् भने त्यसलाई पनि यथास्थानमै वैधानिकता प्राप्त हुन्छ ।
मानिसहरू भगवान् साक्षी राखेर विवाह गर्छन् । भगवान्को अगाडि गरिएको विवाहलाई समाजले पनि वैधानिकता प्रदान गर्छ । तर, गरेका सबै विवाह सफल हुन्छन् भन्ने छैन । केही विवाह बीचमै टुट्न सक्छ । त्यस्तो टुटेको विवाहलाई सम्बन्धविच्छेदको सामाजिक वैधानिकता प्रदान गर्ने मन्दिर भने यही चोभारको लोकेश्वरमात्रै हो ।
र, यहाँ त्यो वैधानिकता प्राप्त गर्ने एउटा विधि पनि बनाइएको छ, 'माय् अप्सं' अर्थात व्रत बस्ने । यो व्रत बस्नुको अर्थ हुन्छ बीचमा लट्किरहेको वैवाहिक सम्बन्धलाई वार कि पारको अवस्थामा पुर्याउनु । विवाहको विधि सबै मन्दिरमा पाइन्छ । तर, सम्बन्धविच्छेद भने यही मन्दिरमा मात्र हुन्छ ।
काठमाडौंको चोभारस्थित आदिनाथ लोकेश्वरको मन्दिरमा कात्तिक महिनामा सम्बन्धविच्छेदका लागि व्रत बस्ने गरिन्छ । श्रीमान् श्रीमती खराब सम्बन्धका कारण अलग बसिरहेका छन् भने त्यो सम्बन्धलाई पुनः जोड्ने वा पूरै विच्छेद गर्ने भन्ने अन्तिम निर्णय यही मन्दिरमा बस्ने एउटा व्रतले गर्छ ।
उपत्यकामा चार लोकेश्वरहरू छन् । काठमाडौंको सेतो मछिन्द्रनाथ (जनबाहाः द्यः), पाटनको रातो मछिन्द्रनाथ (बुंगद्यः), बनेपाको सृष्टिकान्त लोकेश्वर र चोभारको आदिनाथ लोकेश्वर (च्वबाहाःद्यः) । नेपालभाषामा 'च्व' को अर्थ 'माथि' हुन्छ । सबैभन्दा माथि (डाँडामा) रहेको बहाल भएकोले यसलाई 'च्वबाहाः' भनिएको हो । यही 'च्वबाहाः' शब्द अपभ्रंस हुँदै 'चोभार' बन्न गएको हो । चार लोकेश्वरमध्ये दुईको मुहार सेतो हुन्छ, दुईको रातो । चोभारको लोकेश्वर रातो मुहार भएको करुणामय हो ।
चोभारमा व्रत (माय् अप्सं) बस्नु सजिलो भने छैन । यो व्रतको नियम कडा छ । व्रत सुरु गरेपछि पाँच दिनसम्म केही खानु हुँदैन । केवल लोकेश्वरको पुजारीले दिने जल (पानी) मात्रै खान पाइन्छ । त्यो जल भने जति खाए पनि हुन्छ । व्रत अवधिभर व्रतालु बहाल छोडेर बाहिर जानु हुँदैन, बहालभित्र पनि कुकुरलाई छुनु हुँदैन, जुत्ता लगाउनु हुँदैन, मन्दिरको जलबाहेक अर्को पानी छुनु हुँदैन । त्यतिमात्रै होइन, व्रतालुहरूको घरमा पनि केही नियम पालना गर्नुपर्ने हुन्छ ।
जस्तो परिवारका कुनै पनि सदस्यले माछामासु खानु हुँदैन, घरमा भुइँ लिप्नु हुँदैन, माग्नेलाई दान गर्नु हुँदैन, अरूसँग सापटी लिनु हुँदैन आदि । सम्बन्धविच्छेदकै लागि मात्र व्रत बस्नुपर्छ भन्ने छैन । अरू मनोकामना पूरा गर्न व्रत बस्नेहरूका लागि पनि यो मन्दिरको ढोका खुला छ । पहिलेपहिले यो व्रत बस्नेहरूको संख्या दर्जनौं हुने गथ्र्यो । अहिले घटेर १०-१२ मा सीमित हुन पुगेको छ ।
अहिले सम्बन्धविच्छेदका लागि धेरै उपाय खुला छन् । यही एक प्रयोजनका लागि भगवान्को मन्दिरमा कठिन व्रत बसिरहनुपर्ने आवश्यकता छैन । त्यसो त यो युगका सम्बन्धहरू आफैं पनि यति गतिवान् भइसकेका छन् कि अहिले न त्यो जोड्नलाई भगवान् चाहिन्छ, न तोड्नलाई । अहिले 'हाई'बाट सम्बन्ध सुरु हुन्छ, 'बाई'बाट त्यो तोडिइसकेको हुन्छ । 'हाई'बाट 'बाई'सम्म पुग्ने दूरी यति छोटो हुन्छ कि त्यसलाई स्वयं भगवान्ले पनि नाप्न सक्दैनन् ।
तथापि आजभन्दा दुई वर्षअघि सोही मन्दिरमा व्रत बसेकी एक महिलालाई व्रतस्थलबाटै उठाएर एकजना पुरुषले विवाह गरेका थिए । चोभारकै स्थानीय सबिना महर्जन (२५ वर्ष) मन्दिरमा 'माय् अप्सं' बसेकी थिइन् । उनलाई ललितपुर सुनाकोठी बस्ने सुवर्ण महर्जन (२७ वर्ष) ले विवाहको प्रस्ताव राखी व्रतस्थलबाटै लिएर गए । उनीहरू पहिल्यै एकअर्कासँग परिचित थिए । तर, विवाह भने 'माय् अप्सं'को मण्डपबाट हुन पुग्यो । सबिनालाई लिन सुवर्ण बाजा र जन्तीसहित आएका थिए । च्वबाहाःको व्रतस्थलमै धूमधामसाथ भएको उक्त विवाह त्यति बेला निकै चर्चित बनेको थियो ।
अहिले सम्बन्धविच्छेदको उद्देश्य राखी व्रत बस्नेहरू छैनन् भन्दा पनि हुन्छ । गएको १० वर्षभित्र केवल दुइटैमात्र त्यस्तो घटना भएको कुरा मन्दिरका पुजारी श्री सरोज शाक्य बताउँछन् । दुवै घटनामा श्रीमान्बाट छुट्टिएर बसेका महिला यहाँ व्रत बस्न आएका थिए । व्रतको अन्तिम दिन उनीहरूलाई आआफ्ना श्रीमान्हरूले लिएर लगे ।
त्यस्तै आजभन्दा ३० वर्षअघि कीर्तिपुरमा बिहे भएकी पाँगाकी एक महिला पनि त्यसरी नै व्रत बस्न आएकी थिइन् । तर, व्रतको अन्तिम दिन उनलाई न श्रीमान् लिन आए न त माइतीका आफन्त । के भनिन्छ भने, त्यस्तो जटिल अवस्थामा कीर्तिपुरकै अर्का एक पुरुषले उनको हात थामेका थिए ।
हाल त्यस्तो प्रत्यक्ष घटना भएका छैनन् । तैपनि 'माय् अप्सं' परम्परागत डिभोर्सको एउटा धार्मिक विधि हो भन्ने चर्चा हरेक व्रतका बेला चलेकै हुन्छ । अदालत, प्रहरी, सीडीओ आदि कुनै कानुनी निकाय नभएको त्यो बेला डिभोर्सलाई वैधानिक मान्यता दिने योभन्दा सजिलो सामाजिक विधि अरू के हुन सक्थ्यो र ?
http://annapurnapost.com/news/58664
No comments:
Post a Comment