समयले कोल्टे फेर्दा सिंहको नियति मुसाको जति पनि हुँदो रहेनछ । आखिर यो संसारमा ठूलो र सर्वशक्तिमान को रहेछ ? हात्ती कि लामखुट्टे ? सिंह कि मुसा ?
युद्ध–इतिहास यस कुराको साक्षी छ । महामारीको सर्वप्राचीन विवरण इपू १२०० तिरको इन्फ्लुएन्जा/फ्लु महामारीलाई मानिएको छ । यो महामारी बेबिलोन, पर्सिया, मध्यएसिया, मेसोपोटामियालगायत दक्षिण एसियामा फैलिएको थियो (मोरित्ज (१९२१) द फ्लु, रिट्राइभ्ड, २०२०, साभार विकिपेडिया : लिस्ट अफ इपिडेमिक्स) । सिन्धुघाँटी सभ्यताको पतन पनि झन्डै उही समयतिर, महामारी र दुर्भिक्षकै कारण भएको आभास हुन्छ ।
नेपालमा सभ्यताको थालनी गर्ने गोपाल वंश (इपू १४००–६०० अनुमानित) थियो । पशुपतिनाथको स्थापना पनि यही युगमा भएको मानिन्छ । सभ्यतासँगै महामारी आउने विषय एवं महामारी शान्त पार्न महादेवको पूजा गर्ने नेपाली संस्कृतितिर समेत फर्केर हेर्दा त्यो युगमा पनि महामारी चलेको हुन सक्छ । महाभूकम्पजस्तै महामारी पनि प्रत्येक एक सय वा एक सय बीस वर्षको अन्तरालमा चल्ने कुराको अनुमान लोककथन, वंशावलीबाट हुन्छ (नयनाथ पौडेल (सं), भाषा वंशावली, पुरातत्त्व विभाग, २०२०, पृष्ठ १०२) । किरातकाल (६००–३०० इपू अनुमानित) पनि महामारीबाट आक्रान्त हुन पुगेको दृष्टिगोचर हुन्छ । राजा हुमतिको राज्यकालमा ‘विसूचिका’ (हैजा/छेराउटी) नामको महामारी फैलिएर धेरै संख्यामा नरनारी, सैनिक मरेका थिए (भाषा वंशावली, पृष्ठ ४८–४९) । लिच्छवि राजा सुपुष्पदेव (इपू ३०० अनुमानित) को पालामा चाँगुको दूधे कर्कलोको कारणले देशमा ठूलो ‘मह्रं’(महामारी) फैलिएको थियो, सो मह्रं शान्त पार्न श्रावण शुक्ल द्वितीयाको दिनमा दूधे कर्कलोको पायस पकाएर ढोकामा राखी नौ दिनसम्म सर्सिउँ, रायो र पिँडालुले अभिषेक गरेपछि मह्रं निवारण भएको कुरा गोपालराजवंशावली (गो.वं.) को ३० पत्रबाट ज्ञात हुन्छ ।
श्रावण शुक्ल द्वितीयाको दिनमा कर्कलोको पायसले चाँगुनारायणलाई भोग चढाउने चलन छ, हनुमानढोका राजदरबारमा कलशयात्रा पनि चलाइन्छ । रायो, सर्सिउँलगायत पिँडालुसमेत राखेर होम गर्ने चलन छ (चाँगुनारायणमन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायबाट प्राप्त जानकारी) । कर्कलो र पिँडालुका अनेकथरीका तरकारी–अचार बनाएर देवतालाई चढाउने खाने, उत्सव मनाउने चलन (सकिमना पुन्ही) नेवारहरूमा छ । घण्टाकर्ण चतुर्दशीका दिनमा कर्कलो, सिस्नु र चाक्लो आकारको एक प्रकारको काँढे–घाँस (च्वाकं) र ‘बकं’ नामको बिरुवा आदिले घण्टाकर्णको प्रतिमा सजाएर राँको जुलुस निकाली दोबाटो चौबाटोमा लगी ‘भूतप्रेत, महामारी भगाउने’ चलन छ । खान नहुने दूधे कर्कलोलाई नेवारीमा ‘दुरू–फकं’ भनिन्छ । गो.वं.मा आएको ‘दुरू–फकं’ जंगलमा त्यत्तिकै फल्ने एक प्रकारको विषालु कर्कलो हो । र, त्यसैको विषाक्त असरका कारणले महामारी फैलन पुगेको प्रतीत हुन्छ ।
लिच्छवि राजा मानदेव प्रथम (इसं ४६४–५०५) को राज्यकालमा ठूलो उत्पात भएको थियो । पौष पूर्णिमाको दिनमा होली गरेपछि सो उत्पात शान्त भएको कुरा गो.वं. को २१ पत्रमा परेको छ । सो दिनमा सिस्नुको पायसले चाँगुनारायणलाई भोग लगाई कलशयात्रा गर्ने परम्परा छ । सोही क्रममा पुजारी समूहले बोकेर ल्याएको कलशयात्रामा उनै चाँगुनारायणलाई अपशकुन देखाउन दोबाटो, चौबाटोमा माटाका खाली भाँडाहरूको ढोका नै बनाएर राख्ने चलन छ । पौष पूर्णिमाकै दिन पनि होली उत्सव गरेर देशमा आइपरेको उत्पातलाई शान्त पार्न सकिन्छ भन्ने नूतन मान्यता यसले प्रस्तुत गरेको छ । सिस्नुको पायसले चाँगुनारायणलाई भोग लगाउने, कलशयात्रा गर्ने र त्यससित जोडिएको कथा एवं तदनुरूपको माटाका टुटे–फुटेका, खाली भाँडाको ढोका बनाउने चलनलगायत यसै दिनमा नेपालमण्डलका नेवारहरूले माटाका भाँडाकुँडाहरू बाटोमा लगी फुटाउने ‘छ्यालापुन्हि’ को सम्बन्ध पनि पाँचौं शताब्दीमा फैलिएको सो महा–उत्पात/महामारीसित रहेको र त्यसबाट सिर्जित संस्कृति थियो भन्ने कुरा ज्ञात हुन्छ ।
मध्यकाल (इसं ८८०–१७६९) को अनेक कालप्रवाहमा अनेक महामारी आए, ती एक्लै आएनन्, तिनका साथमा दुर्भिक्ष र अझ यदाकदा महाभूकम्प पनि पछि–पछि लागेर आए, धनजनको अपार क्षति पुर्याउँदै, दूरगामी असर छाड्दै गए । गो.वं.को अध्ययनबाट पूर्वमध्यकालमा चलेका केही डरलाग्दा महामारीहरूको जानकारी मिल्छ । गो.वं.को ३२ पत्रमा ने.स.२३५ मा एउटा महामारीको चर्चा आएको छ । धनवज्र वज्राचार्यले त्यसको नेपाली अनुवाद यसरी गरेका छन् ‘बिफर फैलिएर असाध्य मानिस मरे । ...यसको शान्तिका लागि देवता स्थापना गरिएपछि मात्र देशमा महामारी फैलिन छोड्यो (शान्त भयो)’ (वज्राचार्य, मल्ल, १९८५, दि गोपालराजवंशावली, पृष्ठ ८८) । पूर्वमध्यकालका एक प्रसिद्ध राजा सिंहदेव (इसं ११०१–११२३) हुन् । यिनैको राज्यकालमा यो महामारी चलेको थियो, बिफर फैलिएर देशमा अनगिन्ती मानिस मरेका थिए, शीतलामाईको मन्दिर स्थापना गरेपछि सो ‘म्रकाह’ महामारी शान्त भएको थियो भन्ने कुरा यस पत्रबाट थाहा पाइन्छ ।
अमृतदेवको (इसं ११७५–११७८) पालामा पनि महामारी र दुर्भिक्ष आएको थियो (गो.वं.२५ पत्र) । अरिमल्लदेव (इसं १२००–१२१६) र उनकै छोरा अभयमल्ल (इसं १२१६–१२५५) हरूका पालामा पनि उस्तै महामारी दुर्भिक्ष भएका थिए । अभयमल्लको राज्यकालमा बारम्बार महामारी दुर्भिक्ष मात्र आएन, नेस ३६४ माघकृष्ण पञ्चमीको रातिदेखि सात दिनसम्म परेको ठूलो हिमपातले पशुहरू मरे, नेस ३७५ आषाढशुक्ल तृतीया सोमबारको दिनमा महाभूकम्पसमेत चल्यो, अनेक देवल घरहरू भत्के, अभय मल्ललगायत तीन भागमा एक भाग प्रजाको मृत्यु भएको थियो (गो.वं. २५, ३८ पत्रहरू) । जयदेव (इसं १२५४–१२५७) को राज्यकालमा पनि महाभूकम्प, महामारी र दुर्भिक्ष भए, धेरै जनताहरू मरे (गो.वं.२५ पत्र) ।
नेसं ४४८ भाद्र शुक्ल नवमीको दिन पनि ठूलो महामारी फैलिएको थियो । सो महामारी कम समयमै तीव्र रूपमा फैलन पुगेको देखिन्छ, जसले गर्दा महामारी फैलिएको ६ महिनापछि, नेसं ४४९ (इसं १३२९) फाल्गुण शुक्लदेखि त झनै विध्वंसात्मक हुन पुग्दा भाद्रसम्ममा दिनमै सय जनाजति मानिस मर्न थालेका थिए, लोकले बत्ती बाल्न सकेनन् । यसरी ठूलै महामारी भएकाले यसलाई ‘महामरक’ भनिएको छ । यसको जड ‘कनि’ भएकाले ‘कनिमरक’ नाम पाएको विदित हुन्छ । ‘कनि’ ले बुझाउन खोजेको कुरा विशेष महत्त्वको छ । कमलप्रकाश मल्लले ‘कनि’ को अर्थ मकै अनुमान गर्दै यसलाई ‘मेज्–डेथ् (?)’ लेख्न पुगेका छन् (पूर्ववत्, पृष्ठ १४९) । डा. महेशराज पन्तले यो महामारी मकैसित सम्बन्धित नभएको भन्दै ‘यो कुन प्रकारको महामारी हो भनी निर्णय गर्न सके राम्रो हुन्थ्यो’ भनी लेखेका छन् (‘मरकले राजालाई पनि छोडेन’, २० वैशाख, २०७७, शनिबारको कान्तिपुर, पृष्ठ ५) ।
नेवारीमा मकैलाई ‘कःनि’ भनिन्छ । आँखा नदेख्ने ‘अन्धी’ लाई नेवारीमा ‘कनि’ भनिन्छ । ‘कनिमरक’ को चर्चा गर्दा उक्त पत्रमा ‘म्वतं, च्यालःवु मछाल्व लोकन’ अर्थात् ‘लोकले बत्ती बाल्न सकेनन्’ भन्ने कुरा पनि आएको छ । यताबाट आँखाको ज्योति नै गुम्ने सङ्क्रामक रोगसित गाँसिएर फैलिएको महामारी यो थियो भन्ने कुरा ज्ञात हुन्छ । विशेषगरी, अन्धो भएर मृत्यु हुने यो महामारीको सङ्क्रमण पहिले महिलामा देखिएको र त्यसपछि सर्वत्र फैलिएर महामारीको रूप लिन पुगेको हुँदा यसको नाम ‘कनिमरक’ रहन गएको जानिन्छ ।
जयस्थिति मल्ल (इसं १३८२–१३९५) को राज्यकालमा पनि महामारी र दुर्भिक्ष भएको देखिन्छ । नेसं ५०१ मा फैलिएको सो ठूलो उत्पातका कारण श्रावणदेखि कार्तिकसम्ममा डेढ हजार मानिस मरे, असिना परेर अन्नबाली फलेन (गो.वं.५९ पत्र) ।
उत्तर मध्यकाल (इसं १३९५–१७६९) मा पनि अनेक महामारी आए, अनगिन्तीलाई लगे । यस्तै एउटा प्राचीन महामारी बिफर थियो, जसको विनाशकारी मारले इस्वीको सत्रौं–अठारौं शताब्दीतिरको नेपालमण्डललाई पनि बारम्बार सताइरहेको देखिन्छ ।
युरोपमा इस्वीको चौधौं शताब्दीतिर देखापरेको एक महाप्रलयकारी महामारी प्लेग थियो, जुन ‘ब्ल्याक–डेथ्’ नामले चर्चित रह्यो । मुसाबाट सर्ने यो रोग मध्य, पूर्वी एसियाबाट रेशममार्ग हुँदै युरोपलगायत संसारभरि नै फैलिन पुगेको देखिन्छ । कुनै देशको त कुल जनसंख्याको आधाभन्दा बढीको मृत्यु हुने गरी फैलन पुगको यो महामारीले विश्वमा २० करोडभन्दा बढी मानिसको मृत्यु भएको विदित हुन्छ (‘ब्ल्याक–डेथ्’, विकिपेडिया) । यो महामारी अठारौं शताब्दीतिर नेपालमण्डलमा पनि फैलियो, हजारौंको संख्यामा दोपाया, चौपाया सोत्तर पारेपछि शान्त हुन पुगेको देखिन्छ । यो महामारी नेसं ८३६ चैत्रदेखि नेसं ८४२ भाद्र महिना गरी सात वर्षसम्म चलेको थियो (भाषा वंशावली, पृष्ठ १०२–१०४, डी.आर. रेग्मी, १९६६, मेडियाभल नेपाल, तेस्रो भाग, पृष्ठ १२८–१२९) । तात्कालिक स्रोतअनुसार, यो महामारी फैलिएर मानिस मर्नुअघि मुसा, कुखुरा, भेडाबाख्रा, गाईभैँसी, हात्तीघोडा आदि मरे, त्यसपछि प्रत्येक घरका मानिस मर्न थाले, प्रत्येक गाउँ र वनका मृग, बँदेल आदि जीवजन्तु मर्न थाले, कान्तिपुरमा मात्र दिनमै १००/१२० जना मानिस मरे, ‘यस्तो उपद्रव यसअघि न त सुन्नमा आयो न त देखियो नै’, पृथ्वीमा सर्वत्र पशुपक्षी, जीवजन्तु मरे’, यसको ‘इपिसेन्टर’ कान्तिपुर देखियो । वंशावलीअनुसार, ‘चैत्र महिनादेखि कान्तिपुरमा मर्या । असारमा ललितपुरमा मर्या । भक्तपुरमा मर्या । यस्तै तरहसँग रोग फैलियो ...।’
महामारीबाट बच्न दरबार/सहर छाडी किंडोलमा गएर ‘क्वारेन्टिन’ मा एक्लै बसेका भाष्कर मल्लले मन थाम्न नसकी, दरबारमा आउँदा त्यही दिन महामारीको चपेटामा परेर उनी नेसं ८४२ भाद्रकृष्ण ११ मा मरे ...‘सात वर्षसम्म महामारी आई रोग समन नभै रोगका पीडाले श्रेष्ठभाज्युहरू धेरै मरण भया । ...’ सात वर्षसम्म चलेको यस महामारीले १८,७१४ जना मानिस मरेका थिए (डी.आर. रेग्मी, १९६६, मेडियाभल नेपाल, दोस्रो भाग, पृष्ठ १६६) । महामारी प्रचण्ड हुँदै गएको समयतिर, इसं १७१६ मा नेपाल आएका पादरी फ्रेयरले यस महामारीका बारेमा ‘तीन महिना पनि नपुग्दै जलाइएका लासहरूको संख्या बीस हजार पुगेको’ विवरण दिएका छन् (उही, पृष्ठ १६६) । नेपालको इतिहासमा, आजसम्म आएका महामारीमा यति धेरै नरसंहार गरी उत्पात मच्चाएको यो सायद पहिलो प्रलयकारी महामारी थियो । यसले सामाजिक, धार्मिक, आर्थिक आदि अनेक क्षेत्रमा असर पुर्याएको देखिन्छ ।
रणबहादुर शाहको राज्यकालमा फैलिएको बिफरलाई पनि इतिहासले बिर्सेको छैन । सो महामारीले उनकी प्रेयसी–पत्नी कान्तिवतीको इसं १७९९ मा मृत्यु भयो । त्यो घटनाले कुपित भएका राजाले देवीदेवताहरूको मन्दिर, मूर्ति तोडफोड गरे । त्यसले यहाँका जनताहरूको मन रुवायो, किनकि ती तिनका पूर्वजका पालादेखिका सुख, दुःख पोख्ने मनका मीत थिए, मनोबल बढाई रोगव्याधि हटाउन अदृश्य ऊर्जा प्रदान गर्ने, आस्था र विश्वासका देवता थिए । नेवार संस्कृति र सभ्यतामाथिको कठोर प्रहार थियो त्यो । राजाको रिस त्यतिले मात्र मत्थर भएन, उनले निरपराध कलिला बच्चाहरूलाई नेपालमण्डलबाट निष्कासन गर्न लगाए । संस्कृति शिरोमणि हरिराम जोशीको विचारमा ‘नेपालबाहेक विश्वमा कुनै त्यस्तो देश छैन जहाँका क्रूरतम शासकले आफ्नै देशका जनतालाई बिनाअपराध अमानवीय ढंगले देशनिकाला गरेको होस् ।’
चीनको उहानबाट उद्भव भएको कोरोनालाई बेलैमा सबैले यो सारा मानवजातिको महासंकट हो भन्ने बुझिदिएको भए आज यस्तो प्रलय आउने थिएन । यहाँनेर चाँगुनारायण मन्दिरको पश्चिमपट्टिको सत्तलको काष्ठथाममा उत्कीर्ण त्यो अनौठो आकृतिको स्मरण हुन्छ, जसमा एकजोडी फिस्टेचराले हात्तीको पुच्छर चुच्चोले च्यापेर सो हात्तीलाई तलतिर तुन्द्रुंगै झुन्ड्याइरहेको छ । त्यसैगरी भक्तपुर राजदरबारको भैरवचोकको पूर्वपट्टिको काष्ठझ्यालमा उत्कीर्ण ती तीन आकृतिहरूको पनि स्मरण भएको छ, जहाँ एक भ्यागुतोले सिंहको जगर समाएर आच्छु–आच्छु पारेका छन् । मध्यखण्डमा मुसाहरूको समूहले बाघलाई चारैतिरबाट घेरेर आक्रमण गरी उस्तै रजाइँ गरेका छन् । तेस्रो खण्डमा एउटा भ्यागुतोले हात्तीलाई निल्नै लागेको छ र, त्यस्तो अद्भुत दृश्य देखेर सँगैको रूखको हाँगोमा बसेको एउटा कागले आश्चर्यमिश्रित भावमा सो भ्यागुतोलाई जिस्क्याइरहेको छ (श्रेष्ठ, ‘भैरवचोकका कलाकृति’, भक्तपुर : १/१७/२०५५) ।
जुन बेला पत्याउनै नसकिने गरी प्लेगको महामारी फैलिएर नेपालमण्डलमा हरेक दिन सयौं मानिस मरिरहेका थिए, त्यसबेला भक्तपुरमा भूपतीन्द्र मल्ल (इसं १६९६–१७२२) राज्य गर्दै थिए । उनको मृत्यु सो महामारी मत्थर हुनुभन्दा ४ महिनाअघि (नेसं ८४२, वैशाख शुक्ल तृतीया) भएको देखिन्छ (रेग्मी, १९६६, पूर्ववत्, पृष्ठ २४४) यसरी यस क्षणमा सो महामारीका एक प्रत्यक्षदर्शी राजा भूपतीन्द्र मल्ल विरचित तल प्रस्तुत गीतको स्मरण पनि झलझली भइरहेको छ(केदारराज राजोपाध्याय, ‘भैरवचोक : एक परिचय’, खोपृङ् २०५१, पृष्ठ ४८) :
कसरी पत्यायनौ हे नारायण, कसरी पत्याएनौ !
कर्ममा लेखेर ल्याएको सहनुपर्दो रहेछ रे ।
अद्भुत भयो आज यो संसारको रीत रे ।।
भंगेरो नअटाउने खोपाबाट हात्तीले चियाएर हेर्यो रे ।
तोरीको गेडा नछिर्ने प्वालबाट फर्सी झर्यो रे ।।
कसरी पत्याएनौ हे नारायण कसरी पत्याएनौ ।
सिंहको जगर समाएर भ्यागुतोको रजाइँ रे ।।
दुईवटा हात्तीलाई समाएर लामखुट्टेले चपाइ–चपाईकन खान्छु भन्यो रे ।
माछा सरी जान्छु भन्यो (लामखुट्टेले) संसारमै नभएको कुरा सुन्न पर्यो रे ।।
यो गीत गाउन लगाउने भूपतीन्द्र मल्ल नरपति रे ।।
– (नेवारी गीतको भावानुवाद : पंक्तिकार)
समयले कोल्टे फेर्दा सिंहको नियति मुसाको जति पनि हुँदो रहेनछ । आखिर यो संसारमा ठूलो र सर्वशक्तिमान् को रहेछ ? हात्ती कि लामखुट्टे ? सिंह कि मुसा ? यसको निष्पक्ष–फैसला पाठकवृन्दबाट नै होस् भन्ने चाहन्छु ।
प्रकाशित : श्रावण १७, २०७७ ११:५६https://ekantipur.com/koseli/2020/08/01/159625314982666107.html
No comments:
Post a Comment