Wednesday, November 29, 2023

आमलक : आकाशको भाँडो

 गौतमवज्र वज्राचार्य

मन्दिर अथवा मन्दिरजस्तै महत्त्वपूर्ण वस्तुको सबैभन्दा माथि चुचुरामा गजुर राखिएको हुन्छ (तस्बिर १) । गजुर वास्तवमा पूर्णकलश हो भन्ने सबैले देखे बुझेकै कुरा हो । तर, पूर्णकलशको मुनितिर थ्याप्चो फर्सीजस्तो देखिने संस्कृतमा आमलक भनिने चक्काको विषयमा भने अधिकांश अनभिज्ञ छन्जस्तो लाग्छ ।

आमलक : आकाशको भाँडो

आमलकको अर्थ अमला हो । फर्सीजस्तै अमलाको पनि केस्राकेस्रा छुट्टिने गरी धर्साहरू देखिने हुनाले रूपसादृश्यको आधारमा आमलक नामकरण भएको हो । वास्तवमा, पालि ग्रन्थहरूमा यदाकदा उल्लेख गरिने आमलक घट ‘अमलाजस्तो देखिने पानीको भाँडो’ को छोटकरी रूप आमलक हो । त्यसैले संस्कृत ग्रन्थहरूमा आमलक र वर्षस्थाली (अथवा वर्षस्थाल) पर्यायवाची शब्दको रूपमा प्रयोग भएको पाइन्छ । वर्षस्थाली भनेको पानी बर्साउने भाँडो हो । यसको इतिहास धेरै लामो छ । बौद्ध धर्म र हिन्दु धर्मको विकास हुनुभन्दा पनि पुरानो विश्वासअनुसार, आकाशमा एक अजंगको पानीको भाँडो छ, देवताहरूले त्यो भाँडो घोप्ट्याएपछि पानी पर्छ भन्ने थियो । वैदिक साहित्यमा यस्तो भाँडोलाई महान् कोश ‘ठूलो (पानीको) भाँडो’ भनेर बयान गरिएको छ । राति आकाशमा देखिने सप्तर्षितारा बीँड भएको ठूलो भाँडोजस्तो देखिने हुनाले सप्तर्षितारालाई पनि वैदिकहरू चमस भन्थे ।

अन्तरिक्षको यो ठूलो भाँडो आकाश–पाताल जोड्ने ‘विश्वव्यापी स्तम्भ’ को एक अभिन्न अंग मानिएको थियो । इन्द्रलाई सबैभन्दा ठूलो देवता मान्ने वैदिक मान्छेहरू इन्द्रयष्टि भनेकै विश्वस्तम्भ हो भन्नेमा जोड दिन्थे । वेदमा लेखिएको इन्द्रयष्टिको वर्णनअनुसार, संसारको सृष्टि हुनुभन्दा अघि आकाश र पृथ्वी ठ्याम्मै जोडिएको थियो । यसले गर्दा सृष्टिको विकास नै हुन सकेन । यो कुरो बुझेर इन्द्रले आकाश र पृथ्वी छुट्याइदिए । अनि मात्रै हावापानीको सञ्चार सुरु भयो । तर, आकाश–पृथ्वी फेरि जोडिने सम्भावना भएको हुनाले इन्द्रले यी दुईको बीचमा विश्वस्तम्भ गाडिदिए । बुद्ध धर्मको आरम्भ हुनुभन्दा पनि पुरानो यही विश्वस्तम्भको महात्म्य चक्रवर्ती राजाको चक्रसँगै जोडियो । यही चक्र बुद्ध शाक्यमुनिको धर्मचक्रको रूपमा परिवर्तित भयो । त्यसैले मौर्य सम्राट् अशोकले भगवान् बुद्धको सम्मानको रूपमा धेरै ठाउँमा विश्वस्तम्भ स्थापना गरे । सारनाथमा पाइएको अशोकस्तम्भको शिरोभागमा सबैभन्दा माथि राखिएको चक्र हराइसक्यो । तर, चक्रको लगत्तै तल चार दिशामा फर्केर गर्जिरहेका सिंहका आकृति अनि यिनै आकृतिमुनि घोप्ट्याएको भाँडो जस्तो देखिने वर्षस्थालीको चित्रण अहिले भारतको राष्ट्रिय चिह्न बनेको छ । भारतको रामपुर्वा भन्ने ठाउँमा स्थापित गरिएको विश्वस्तम्भको सबभन्दा माथि साँढेको प्रस्तर मूर्ति र त्यसको लगत्तै तल चित्रण गरिएको वर्षस्थाली हाम्रो अध्ययनका लागि अझ राम्रो उदाहरण हो (तस्बिर २, ३) ।

दिव्यावदानजस्तो बौद्ध ग्रन्थहरूमा चैत्य अथवा स्तूपको बीचमा ठड्याइने इन्द्रयष्टि भनिने विश्वस्तम्भको वर्णनअनुसार, सम्राट् अशोकले स्थापना गरेका उपयुक्त स्तम्भहरूमा राखिएका घोप्ट्याइएको भाँडोजस्तो देखिने वस्तु वास्तवमा वर्षस्थाली नै हो भनेर निश्चय गर्न सकिन्छ । तर, कुमारस्वामी आदि प्रसिद्ध विद्वान्हरूले यस विषयमा विशेष ध्यान नदिईकन वर्षस्थालीलाई घोप्ट्याएको कमल भन्न थाले । अनि सबैले त्यसैको अनुकरणमा ‘इन्भर्टेड स्टाइलाइज्ड लोटस’ भन्न सुरु गरे ।

प्रसिद्ध विद्वान्ले भ्रमपूर्ण कुरो लेखेपछि त्यो भ्रम हटाउन असाध्य गाह्रो हुन्छ भनेको यही हो ।

दक्षिण एसियाको इतिहासमा, विशेषगरेर नेपालको परम्परामा, आमलक भन्ने पुरानो नाम तथा वर्षस्थालीको अपभ्रंस नेवारी बसाहा त कहिल्यै बिर्सिएन । तर, यसको आकारप्रकार हरेक शताब्दीमा झन्झन् थ्याप्चिँदै गयो र चिन्नै नसकिने गरी चक्काको रूपमा परिवर्तित भयो । यसको उदाहरण सबैजो गरुडस्तम्भको माथिल्लो भागमा प्रत्यक्ष देख्न सकिन्छ । २१३४ वर्ष पुरानो हेलिओडोरसले स्थापना गरेको गरुडस्तम्भमा कुँदिएको वर्षस्थाली घोप्ट्याएको भाँडोजस्तो देखिन्छ (तस्बिर ४) । त्यही वर्षस्थाली सत्रौं शताब्दीका पाटनका राजा सिद्धिनरसिंहको गरुडस्तम्भमा थ्याप्चो फर्सीजस्तो आमलकको रूपमा परिवर्तित भयो (तस्बिर ५) ।

आमलक अथवा वर्षस्थालीको बारेमा ‘फ्रग हिमस एण्ड रेन बेबिज्’ भन्ने ग्रन्थमा मैले विस्तृतपूर्वक लेखेको छु । मेरो अध्ययनअनुसार, वर्षस्थालीजस्तै पूर्णकलश पनि सबैभन्दा पहिले सम्राट् अशोककै पालादेखि देखिन थालेको हो । तर, प्राचीनकालका कलाकृतिहरूमा एकै ठाउँमा वर्षस्थाली अथवा आमलकको प्रयोग गरिँदैनथ्यो । यी दुइटै वस्तुको भित्री अर्थ झन्डै एउटै किसिमको छ भन्ने कुरो बिर्सिइँदै गयो । त्यसैले एकै ठाउँमा यी दुवै वस्तुको प्रयोग गर्नु उचित छैन भन्ने विषयमा मान्छेको ध्यान जान सकेन । यो त एक किसिमको पुनरुक्ति हो ।

गम्भीरतापूर्वक कलाकृतिको तुलनात्मक अध्ययन गरी हेर्दा भाषा र संस्कृतिको इतिहासमा जस्तै कलाको इतिहासमा पनि कालान्तरमा एकपछि अर्को विकास र परिवर्तन हुँदै गएको स्पष्टतया छुट्याउन सकिन्छ । आमलक अथवा वर्षस्थालीको इतिहास त्यसैको एक ज्वलन्त उदाहरण हो ।

https://ekantipur.com/koseli/2022/04/30/165129573260096362.html


No comments: