ललितपुर ठेचोमा नवदुर्गा भवानी देवी नाचको १२ वर्षे जात्रा चलिरहेको छ । ०७९ सालभरि चल्ने जात्रा अवधिभरि विभिन्न २८ पर्वपूजा चलाउनुपर्छ । प्रत्येक पूजामा फूलको विशेष महत्त्व छ । यहाँ जात्रा, पर्व र फूलबीचको सम्बन्धमाथि प्रकाश पार्ने जमर्को गरिनेछ ।
विजयादशमीका दिन ठेचोको नवदुर्गा गण पाटन दरबार क्षेत्र पुग्छ । र, गणले लिच्छवि राजा मानदेवका इष्टदेवता मनमानेश्वरी देवी (पुरानो तलेजु) लाई भैरव, काली र बाराहीद्वारा नृत्यसहित फूलमाला चढाउँछ । उक्त माला खः तथा मूः नामक फूलबाट उनिन्छ, जुन लेले टीकाभैरवस्थित वनबाट ल्याइन्छ । त्यसरी खड्ग जात्राका दिन चढाएको फूल जनैपूर्णिमाका लागि विशेष मानिन्छ ।
कुम्भेश्वरका पुजारीहरू गणले चढाएको त्यो फूलमाला सुकाएर धूलो बनाउँछन् । र, जनैपूर्णिमा कुम्भेश्वरमा मेला भर्न आएका भक्तजनलाई पहेँलो, रातो कपडामा त्यो धूलो पोको पारेर जनैसँगै हातमा बाँधिदिन्छन् । त्यसदिन जनै बाँध्ने भक्तजनको घुइँचो लाग्छ ।
भनिन्छ, मनमानेश्वरी देवी भगवतीकी रूप हुन् अनि भगवतीले नवदुर्गा गणलाई साथै लिएर दैत्यमाथि विजय प्राप्त गरेकी हुन् । त्यसैले विजयदशमीका दिन भैरव, काली र बाराहीलाई फूलमाला चढाएर बधाई दिने गरिन्छ । कुम्भेश्वरका पुजारी माधवश्याम शर्मा भन्छन्, ‘प्राचीनकालमा उपत्यकाका माली जाति तन्त्रविद्यामा निपुण थिए । अहिले पनि ठेचो, धापाखेलमा तन्त्रविद्या जान्नेहरू बाँकी छन् । नेपाल भाषामा ‘गथु’ भनिने माली जातिलाई तान्त्रिक देवताका अंश मानिन्छ । यस जातिको शरीरमा चाँडै देवता चढ्ने मान्यता छ । त्यसैले नवदुर्गा देवगणहरूले उनेको माला तन्त्रसाधना गरी हातमा बाँधे दुःखकष्ट, रोगव्याधि, बाधा अड्चनबाट मुक्त हुने जनविश्वास छ ।’
नवदुर्गा नाच अहिलेसम्मै माली समुदायले नै सञ्चालन गर्दै आइरहेको छ ।
नवदुर्गा मन्दिरमा अक्षयतृतीया, गठेमंगल, पञ्चदान, दसैं, तिहार र योमरीपूर्णिमामा विशेष पूजा हुन्छ । प्रत्येक पूजामा छुट्टाछुट्टै प्रजातिका फूल राखिन्छ ।
अक्षयतृतीयामा अजू स्वां भनिने जाइफलको फूल चढाइन्छ । नेपाल भाषामा अजू स्वांलाई यसरी व्याख्या गरिएको छ, ‘चैत्र महिनानिसें जेठ महिना तक ह्वइगु गणेद्यःया अतिकं यःगु धयातःगु चिचीफ्वःगु छताजि स्वां ।’ अर्थात् चैतदेखि जेठसम्म फुल्ने गणेश देवतालाई अति नै मन पर्ने भनिएको स–साना आकारको एक प्रकारको फूल हो यो । यो फूल पहेँलो रङको हुन्छ । पात जहिल्यै हरियो हुन्छ । र, यो फूलको बोट २ देखि ४ मिटरसम्म अग्लो हुन्छ ।
गठेमंगल, पञ्चदान र घटस्थापनामा क्रमशः पलि स्वां, च स्वां र नल्चा स्वां (जमरा) चढाउनुपर्छ । पलि स्वां पोखरीमा फुल्ने कमलको फूल हो । च स्वां भनेको चमेली फूल हो । नेपाल भाषामा यो फूलबारे भनिएको छ, ‘तसकं ह्वालाह्वाला बास वइगु चिचीफ्वःचागु तुयूगु स्वां ।’ अर्थात् जाडोयाममा पुराना पात झर्ने यो वनस्पतिको धेरै बास्ना आउँछ ।
श्राद्धको अन्तिम बेला पितृको बिदा गर्दा यो फूल चढाइन्छ । यसलाई नाम लिन नहुने वनस्पति पनि भनिन्छ । यो फूल भीमरथारोहणका बेला पनि चढाइन्छ । म्हपूजा, कंगः अजिमाको पूजा र श्रद्धाञ्जली अर्पणमा पनि यो फूल चढ्दछ ।
योमरीपुन्ही जात्राका बेला चढाइने फूललाई लः स्वां भनिन्छ । नेपालीमा यसको नाम हो– लौठ सल्ला । रातो मत्स्येन्द्रनाथ, सेतो मत्स्येन्द्रनाथ, कीर्तिपुरको इन्द्रायणी देवी जात्रामा पनि यो फूल चढाउने परम्परा छ । ‘तान्त्रिक विधिपूर्वक पूजा गर्दा भूतप्रेत, ग्रहदशा पन्छाउन अनिवार्य रूपमा फूल राख्नुपर्ने धार्मिक मान्यता छ । नेपालमा पाइने कतिपय फूल पञ्चसुगन्ध (श्रीखण्ड, कस्तुरी, कुमकुम, केशरी, सुनपाती) आउने खालका पनि छन् । यी फूलले दिमागको नराम्रो तरङ्ग हटाउन मद्दत गर्छ,’ नवदुर्गा गुठीका नाइके भक्तलाल माली भन्छन्, ‘पुर्खाहरूले फूलको महत्त्व दर्साउन चाडपर्वसँग यसलाई जोडे । कतिपय वनस्पतिको नामसमेत अब त हराइसकेका छन् ।’
नवदुर्गा मन्दिरमा महाधूप बनाउन प्रयोग गरिने फूल, रातो मत्स्येन्द्रनाथ जात्रामा प्रयोग हुने मू स्वां (एक प्रकारको फूल) र पचली भैरव जात्रामा चढाइने कनाय् स्वां लोप हुने क्रममा छन् । ‘फूलको एउटा प्रजाति नै हराउनु भनेको केवल वनस्पति लोप हुनु होइन पुर्खाले हस्तान्तरण गरेर गएका संस्कृति–परम्परा पनि हराउनु हो । वनस्पतिमाथिका हाम्रा ज्ञान नाश हुनु हो,’ भक्तलाल भन्छन् ।
प्रत्येक १२ वर्षमा नाचिने काठमाडौंको भद्रकाली खड्गसिद्धि, पचलीभैरव, कीर्तिपुरको बाघभैरव र प्रत्येक वर्ष नचाइने भक्तपुरको नवदुर्गा नाचमा पनि अनेक प्रजातिका फूल चढाइन्छन् ।
https://ekantipur.com/koseli/2022/11/05/16676133561533799.html
No comments:
Post a Comment