Wednesday, November 29, 2023

पुरातात्त्विक पनौती

 फागुन १४, २०७८ शनिबार ११:५३:०

प्रा.डा. सुमनराज ताम्राकार


२०६१ देखि २०७२ सम्ममा गरी पनौती लाय्कुमा पटकपटक गरी उत्खनन भयो। यसले अझै पूर्णता पाएको छैन। धेरै जानकारी प्राप्त हुने क्रममा छ। अझ धेरै रहस्य निराकरण गर्न बाँकी छ।

सानो छँदा शरद यामका स्कुलका फुर्सदिला क्षणहरू धान भित्र्याउनमा बिताइन्थ्यो। त्यो बेला सिमेन्टेड घर अर्थात् ठूल्ठूला कौसी भएका घर हुन्नथे। छाना झिंगटीका हुन्थे। त्यसो भएर धान सुकाउन खलोमै भर पर्नुपथ्र्यो। खासमा त्यो बेला हाम्रो खलो पनौती बसपार्क पारि हालको गुराँसचौरमा पथ्र्यो।

कहिलेकाहीँ मात्र पनौती लाय्कुको चउरमा ठाउँ पाउन्थ्यौं। चउर यस मानेमा पनौतीको लाय्कुले गर्भमा यस्ता पुरातात्त्विक संरचना बोकेर बसेको होला भनेर कल्पनै गर्न सकिन्नथ्यो। किनकि त्यो बेला दिमाग कलिलै थियो। त्यसबेलाको महेन्द्र मालाको पछिल्लो पेजमा रहेको ‘हामी धेरै साना छौं...’ कक्षागत गीत जस्तै। पेन्डुलम सरी जीउलाई अगाडि पछाडि गरी कक्षागत गीत गाउने समय थियो त्यो।
खलोमा रातिराति कुर्नुपर्ने हुन्थ्यो, सँुगुर आई भसक्कै पार्ने डर हुन्थ्यो। अनि खलोमा राति कुर्न पकुचा (स–साना छाप्रा) बनाइएका हुन्थे। खलोमा कुर्न जाने हामीजस्ता बालकका साथै एक पिँढी अग्रज पनि हुन्थे। खलो कुर्ने काम रमाइलोसँगै डर र जोखिमले भरिपूर्ण हुन्थ्यो। एकातिर बसपार्कछेउको गुराँसचौर नजिकै रहेको सतीवनको डरलाग्दा कथाले जिउ नै सिरिङ बनाउँथ्यो। अर्कोतिर सम्साँझै स्यालको 
हुइँयाले मुटुको चाललाई ढ्याङ्ग्रोसरि बनाउँथ्यो। फर्किउँ पनौती लाय्कुतिर।
एक रात बेलुकी सदाझैं पकुचामा सुतिरहेको थिएँ। एक्कासि ‘महाराजको जय होस्, महाराजको जय होस्’ भन्ने करतल ध्वनिका साथ लावालस्कर निस्किन लागेको देखें। रामवद्र्धन परिवारका महासामन्त अनेकरामले इन्द्रेश्वर मन्दिरमा सुनको छाना चढाउने, आफ्नो तौलबराबरको सुन दान दिने अभिप्रायले लाय्कु दरबारबाट सवारी चलाउन लागेको रहेछ। लाय्कुमुनि घोडचढीहरू तम्तयार अवस्थामा थिए, अहा ऽऽ ! कति राम्रोसँग सजाइएका घोडाहरू, अनि त्यत्तिकै आकर्षक तवरले सजाइएका हात्तीहरू पनि।
लाय्कुपरिसर हात्ताी बाँध्ने ठाउँ 
लाय्कुबाट इन्द्रेश्वर महादेव मन्दिरको दूरी कति नै छ र ? हदै भए ५० मिटर। तर पनि महासामन्त अनेकरामले अगलबगलमा आफ्नो प्रभुत्व र रवाफ जो देखाउनु थियो। कति चिटिक्क परेको तीनतले दरबार, पूरै नेवारी कलाशिल्पले परिपूर्ण, कलात्मक तवरले कुँदिएका काठका झ्याल र ढोकाहरू। तोरण उत्तिकै राम्रा, मनमोहक। हेरुँ रहुँ जस्तो लाग्ने। फेरि ‘महाराजको जय होस् महाराजको जय होस्’ भनी गगनभेदी जयजयकार गुञ्जायमान हुन थाल्यो। महाराजया सवारी न्ह्याईकिन स्ववा, स्वावा मथां (महाराजको सवारी चलाउनै लाग्यो क्यार ? हेर्न आउँ, हेर्न आउँ, छिटो।) होइन, मैले महाराजको अनुहार किन प्रष्ट देख्न सकिरहेको छैन।
विभिन्न आभूषण, गरगहना, रंगीचंगी वस्त्रले सुसज्जित महाराजको दर्शन मात्र पाएँ पनि धन्य हुने थिएँ नि। सपना पो देखिरहेको रहेछु, तन्द्रामै लाठी लिएर साथीसँग सुँगुर धपाउन लागें। बुवाले त भन्नुहुन्थ्यो, यो पनौतीको लाय्कुपरिसरको नाम किसीगल (हात्ती बाँध्ने ठाउँ) हो। परापूर्वकालमा यहाँ दरबार थियो। भाइ भारदारका आआफ्नै भवन थिए। त्यसैले पछिसम्म पनि कतिपय रात घोडाहरू हिन्हिनाएको र घोडाको तापको आवाज सुनिन्थ्यो। त्यो सुन्दा जीउ त अजिंगर जस्तै फुल्थ्यो। त्यसो भएर एक्लै एक्लै राति किसीगलमा जानु हुन्न भनिन्थ्यो। घर त बगलमै थियो। तर पनि पकुचामै त्यो रात अनिँदो रात कटाएँ।

पनौती लाय्कु क्षेत्रको उत्खनन क्रममा भेटिएका गोलहरूको कार्बन डेटिङ गर्न सकेको खण्डमा ती संरचनाहरूका प्राचीनताको वैधता पुष्टि हुन्थ्यो। पनौती लाय्कु क्षेत्रबाट निकै सावधानीपूर्वक संकलित नमुनाहरू पुरातत्तव विभागमा संरक्षण/भण्डारण गरि राखिएको छ।

बुवा थप्नु हुन्थ्यो, ‘हाम्रा पुर्खा त्यही दरबार बनाउने क्रममा गजुर तथा तोरणहरूमा सुन लेपिएका कलात्मक सिर्जनार्थ पाटनबाट झिकाइएका थिए रे। कलाशिल्प देखेर रानी खुसी भएर हामी तमोटहरूलाई दरबारको अगलबगलमै घरघडेरी बनाएर गरिखाओस् भनेर जग्गाजमिन दिइएको रे।’ सानो बेला दिमागमा बुवाका ती कुरा अनि पकुचामा देखेको सपना धुमिँलिँदै गयो। समयकालमा यी सबै कुरा बिर्सिसकेको पनि थिएँ।

पनौतीबाट उपत्यकाको शासन
रामवद्र्धन परिवारका ज्योतिरामदेखि शक्ति सिंहरामसम्म शासकहरूले बेलाबखतका उतारचढाव झेली नेपाल मण्डल एवं अगलबगलमा करिब एक शतक राज गरे। यस अवधिमा अनेकराम (वि.सं. १३८९–१४१२) र जय सिंहराम (वि.सं. १४१७–१४५७) तुलनात्मक रूपमा नायक साबित भए। रामवद्र्धनको परिवार पनौतीकै थियो कि यता शासन मात्र गरेका थिए भन्ने विवाद अझै छ। १४औं तथा 
१५औं शताब्दीमा रामवद्र्धनको परिवारले पनौती भेगमा मात्र नभई नेपाल उपत्यकाको शासन व्यवस्थामा महत्त्वपूर्ण भूमिका निभाएका थिए।

त्यसबेला बनेपा वरपरका भू–भागमा यिनीहरूकै हालिमुहाली थियो। १४५२ सालमा स्थिति मल्लको मृत्युपश्चात् रामवद्र्धन परिवार झनै शक्तिशाली बन्यो। यसरी रुद्र मल्लको अवसान (वि.सं. १३८३) देखि उदाएका रामवद्र्धन खलक यक्ष मल्लको उदय (वि.सं. १४८५) सँगै विलीन हुन पुगे। चिनियाँ वृत्तान्तमा १४८४ सालसम्मका शक्ति सिंहरामका क्रियाकलाप उल्लेखित छ।

एउटै शिलामा अडेको सहर
‘वा पुता छन्ता जिं चिंक बुइके, थौं घ्य चाकुसल्हुँ खुन्हु निबाले च्वङ चिकं बुसा दाछी तक चिकु जुईमखु।’ (आऊ नाति, आज म तिम्रो शरीरमा तेल लगाइदिन्छु, माघेसंक्रान्तिको दिन घाममा बसी तेल घसे वर्षदिन जाडो हुँदैन।) यसरी अजी (हजुरआमा)ले न्हुबहाल (राजकुमार महासत्वका पूर्वजहरूको दरबार रहेको विश्वास गरिएको चोक)को सानो चैत्यको आडैमा सुकुल बिच्छ्याएर मलाई तेल लगाउन थाल्नु भयो।
अजीका हातका कतिपय औंला थिएनन्। अजीलाई ती औंलाहरू खोइ भनेर त्यो बेला बालसुलभ तरिकाले सोध्दा एक पटक रक्सी पार्दै गर्दा मृगी (छारेरोग)ले छोपेको बेला आगोमा औंला परेर झरेको रे। अहिले विगत सम्झिँदा कठै अहिले भएको भए (चिकित्सक भएको नाताले) छारेरोग, पोलाइको दुवै उपचार गराउँथे होला। फर्किउँ माघीकै दिन।

माघीको न्यानो घाममा तकातगु प्वाकलं (कपास हालिएको भोटो), लं (चोलो), सुरुवाल फुकालेर अजीले तेल घस्ने कार्यसँगै पनौती सहर एउटै ढुंगामाथि बसेको कथा हाल्न थाल्नुभयो। नजिकै मेरो बाज्या रत्नबहादुर पनि घाममै बसी लाहामा अड्याएको लगनको सुनको तिलहरीमा काठको कमलो हथौडाले ट्वाक ट्वाक... टुक टुक... गर्दै बुट्टा हाल्दै हुनुहुन्थ्यो। अस्तिका दिन पो पनौतीका किंवदन्तीहरू अंग्रेजीमा लिपिबद्ध गर्ने बेलामा पनौती कसरी उत्पत्ति भयो भन्ने कथा पढें।

कथाअनुसार, नागका आमा कद्रु र गरुडका आमा विनिताका कथा, स्वर्गलोकबाट अमृत चोरिएको वृत्तान्त, अमृत भेट्टाएर स्वर्ग फिर्ता लगेको अनि अमृतका केही अंश लागेको ढुंगा पनि फर्काएर ल्याउन देवराज इन्द्रको आदेश दिएको थाहा भयो। अनि गौतम ऋषिले ती ढुंगा फर्काउन आवश्यक नरहेको र अबदेखि आफू अहल्यासहित यहीँ ध्यान जप गर्न थाल्ने र यस ठाउँ उत्तर प्रयागको रूपमा प्रसिद्ध हुने 
किंवदन्ती रहेछ। त्यसपछि पो अजीका त्यो बेलाका कुरामा सत्यता रहेछ भन्ने बुझें।

अजीले सुनाउनु भएको अस्म नगर (एउटै शिलामा अडेको सहर) कथासँगै १९९० सालको भूकम्पमा छानोको एउटा झिँगटीसम्म पनि नखसेको कथा पनि थाहा थियो। त्यसपछि त म लोलाउन थालेछु। मलाई घोप्टो पारेर तेल लगाउने क्रममा मेरो दायाँ कान जमिनमै टाँसिएको थियो। जमिनमुनि त मैले के के सुन्न थालें, के के ? जोडजोडले चिच्याएको, रोइकराई गरेको रोदन मिश्रित कुराहरू पो सुन्न थालें। राजकुमार महासत्वले निर्वाण प्राप्त गरेको खबर महारथको दरबारमा आइपुगेलगत्तै कोलाहल, रुवावासी मच्चिएको रहेछ।

पनौती अर्थात् ‘पाञ्चाल देश’
बौद्ध कथनअनुसार पनौतीलाई ‘पाञ्चाल देश’ भनिन्थ्यो। जहाँ बुद्धका ३२औं अवतार मानिएका पनौतीका राजकुमार महासत्वको जन्म भयो। पाञ्चाल राज्यका राजा दिर्गरथका नाति राजा महारथका तीन छोरामध्ये कान्छो राजकुमार महासत्व एक दिन 
सिकार खेल्न निस्किए। पनौतीबाट करिब १० किलोमिटर पूर्वस्थित गन्धकुट पर्वत (नमोबुद्ध)मा सुत्केरी बघिनीको हृदयविदारक अवस्था देखे। आफ्नै शरीरको मासु काटेर बघिनीलाई खुवाई निर्वाण प्राप्त गरे। करिब ६ सय वर्षपछि बुद्ध तपस्या गर्न नतमस्तक हुनु परेकाले उक्त स्थानको नाम ‘नमोबुद्ध’ रहेको पुस्तकमा पाइन्छ।

पनौतीको लाय्कु परिसरको नाम किसीगल (हात्ती बाँध्ने ठाउँ) हो। परापूर्वकालमा यहाँ दरबार थियो। भाइ भारदारहरूका आआफ्नै भवन थिए। त्यसैले पछिसम्म पनि कतिपय रात घोडाहरू हिन्हिनाएको र घोडाको तापको आवाज सुनिन्थ्यो।

महारानी एवं राजपरिवारका अन्य सदस्यको रोइकराइसँगै सुतिरहेकै अवस्थामा म पनि हिक्क हिक्क गरी रोएछु। त्यो देखेर ‘हाय् पुता, हाय् पुता, कुलाय्, कुलाय्’ अर्थात् नातिको सातो गए जस्तो गरी दुवैतिर कान फुकी मेरो सातो फर्काउन लाग्नु भयो। यसै मेसोमा मेरो बाज्या रत्नबहादुर पनि दौडेर आउन भ्याइसक्नु भएको रहेछ। महासत्वका हजुरबुवा रोशीको किंवदन्तीसँग जोडिएका उही दिर्घरथ त हो नि। धेरै वर्षअगाडि पनौती र पाटनमा लामो समयसम्म वर्षा नभई खडेरी परेकाले पनौतीका राजा दिर्घरथ र पाटनका राजा सत्यवर फूलचोकी माईसँग पानी माग्न गए। जसले पहिला सुन र चाँदीको फूल चढाउन ल्याउँछ, त्यहाँ पानी पठाउने वचन फूलचोकी माईले  दिइन्।

पनौतीका राजाले मन्त्री, भाइ–भारदारहरूको सल्लाह मुताविक सुन र चाँदीको फूलको सट्टामा क्रमशः तोरी र मुलाको फूल फूलचोकी माईलाई चढाएछन्। कालिगढहरूको अभावका कारण साँच्चिकै फूल प्रस्तुत गर्नु परेको बिन्ती चढाएपछि फूलचोकी माई प्रसन्न भएर नदी सृष्टी गरी पनौतीतर्पm पठाइन्। जसलाई आज भोलि लीलावती (रोशी) भनिन्छ। 

पछि पाटनका राजाले साँच्चिकै सुन र चाँदीको फूल लिएर गए पनि पनौतीमा पानी पठाइसकेको कुरा थाहा पाए। आफूलाई पनि वरदान मिल्नुपर्ने जिकिर गरेपछि फूलचोकी माईले अलिकति पानी पाटनतर्पm पठाइदिइन्। जुन नदी गोदावरीको नामले चिनिन्छ। त्यसो भएर प्रत्येक ६ वर्षको अन्तरालमा गोदावरीमा साउनमा र पनौतीमा माघमा बाह्रवर्षे मेला लाग्ने गरेको जनविश्वास छ।

किसिगलको गर्तमा पुरातात्तिवक सामग्री
समयक्रममा रोशी र पुण्यमातामा धेरै पानी बग्यो। अजी, बाज्याको अवशान भयो। चिकित्सक बन्ने धुनमा १४ वर्ष वनवास गएसरह यताउती समय व्यतित भयो मेरो। बुवाहरूकै पहलमा तमोटहरूको गुठीले पुनर्जीवन पायो। बुवाकै संयोजकत्वमा गुठीघर बनाउने भयो। पनौतीमा घर संरचना बनाउँदा देश ल्हों (ढुंगा) नभेटेसम्म जग खन्ने क्रम जारी नै राख्नुपर्छ भनिन्छ। तर, लाय्कु परिसरमा देशल्हों भेटिनुअघि लुम्बिनीमा देखेजस्ता चिटिक्क परेका गाह्राका निशानहरू भेटिन्थे।

यसै मेसोमा किसिगलमा पुरातत्त्व विभागबाट उत्खनन गर्ने घोषणा भयो। समय लागे पनि उत्खनन गर्न थाल्यो विभागले। किसिगलको गर्तमा लुकिरहेका नानाथरीका पुरातात्त्विक सामानहरू भेटिए। पकुचामा देखेको सपना, किसिगलसम्बन्धी बुवाका कहावतहरू र अजीका बाखं (कथा)हरू  मानसपटलमा सजीव हुन थाल्यो। तर विशेषज्ञ चिकित्सक बन्ने हुटहुटीले दक्षिण भारतको कर्णाटक राज्यस्थित मणिपाल पुगें।
सिम्रौनगढबाट लखेटिएका कर्णाटकवंशी हरिसिंहदेव यही बाटो हुँदै काठमाडौं उपत्यकामा शरण लिन आउने क्रममा यही किसिगलमा एक रात बास बसेको थाहा भयो। योसँगै तलेजुको स्थापना भएको कथा पनि सुन्दै हुर्केको अनि त्यही तलेजु मन्दिरको आडैमा रहेको घरमै जन्मिएको म दक्षिण भारतको कर्णाटकमै गई प्रसूति रोग दक्षता हासिल गर्न जानु पर्नाको कनेक्सन के रहेछ ? सोच्दा मात्र पनि रोमाञ्चित हुन्छु।

लाय्कु उत्खननमा घोडा बाँध्ने तबेला
मध्यकालका ऐतिहासिक सामग्रीहरूमा दरबारलाई लाय्कु, राजकुर, लालकुल, लाजकुट शब्दहरू प्रयोग भएको पाइन्छ। यी शब्दहरू राजदरबार बुझाउने संस्कृत शब्द राजकुलकै अपभ्रंश हुन्। २०६१ देखि २०७२ सम्ममा गरी पनौती लाय्कुमा पटकपटक गरी उत्खनन भयो। यसले अझै पूर्णता पाएको छैन। तर धेरै जानकारी प्राप्त हुने क्रममा छ। अझ कति धेरै रहस्य निराकरण गर्न बाँकी नै छ। मध्यकालीन लाय्कुमा विभिन्न प्रयोजनका लागि चोकहरू बनाइन्थ्यो। पनौती लाय्कुमा पनि नौवटा चोक रहेको विश्वास गरिन्छ।

हालसम्म चारवटा चोकका निसानीहरू मात्र भेटिएका छन्। उत्खननकै क्रममा दची अपाबाट निर्मित मन्दिरको भग्नावशेष फेला परेको छ। यसै मन्दिरको जगमाथि हालसम्म पनि दसैंको अवसरमा पनौती देशका तर्पmबाट जमरा राख्ने तलेजुको मन्दिर नै हो। त्यसैगरी इनार दुईटा भेटिएका छन्। न्हुबहालसँगै अन्य दुईटा अझै पनि भएकाले सायद त्यो बेला इनार पनि नौवटै थिए। एउटा सानो पोखरीको भग्नावशेष पाइएको छ। त्योबेला दरबारको चारै कुनामा सुरक्षाका लागि सुरक्षाकर्मी राख्ने प्रचलन थियो। हालसम्म एउटा सुरक्षाचौकीको संरचना भेटिएको छ। उत्तर पश्चिम कुनामा भान्छाघरसहितको बस्ने कोठाको संरचना पाइएको छ।

एउटा प्रस्तर स्तम्भ भेटिएको छ। घोडा बाँध्ने तबेलाका ६/७ वटा अवशेष भेटिएका छन्। यस ठाउँको नाम रैथाने नेवारीमा किसिगल भनिने गरेकाले हात्ती बाँध्ने ठाउँ पनि हुनुपर्छ। बलि दिएका राँगो राख्नेजस्ता ठाडा ९ वटा इँटाहरू राखेर बनाइएका विशेष चिह्न भेटिएको छ। केही भाग टुटफुट भएको यन्त्राकार प्रस्तर भेटिएको छ। कर्माचार्य पुजारीहरूका अनुसार उक्त यन्त्र तलेजुसँग सम्बन्धित छ।

प्रस्तरकै देवीको जस्तो देखिने सानो वरद् मुद्राको मूर्ति भेटिएको छ। पशुपतिको चित्रअंकित लिच्छविकालीन मुद्राहरूका साथै शाहकालका मुद्राहरू पनि भेटिएका छन्। नवपाषाण युगका हतियारका अंशहरू भेटिएका छन्। लोहोरो भेटिएको छ। माटाले बनाएका घरायसी सामानहरूका अंशहरू पनि उत्खननमा फेला परेका छन्। अहिले पनौती लाय्कु क्षेत्रको ड्रोन भ्यु वा बर्ड आई भ्यु हेर्ने हो भने लुम्बिनी वा तिलौराकोटकै 
सानो अंश पनौती सहरको बीच थपक्कै ल्याएर राखेको जस्तो भान हुन्छ।

भेटिए नवपाषाण युगका हतियार
अझै पनि ती संरचनाहरू कति वर्ष पुराना ठ्याक्कै भन्न सकिने अवस्थामा पुगिसकेको छैन विभाग। प्रमाणित गर्ने प्रयास जारी छ। नवपाषाण युग (करिब ७ हजार वर्ष पुराना) हतियारका अंश भेटिए पनि कहीँबाट ल्याएर राखेको जस्तो देखिन्छ। त्यहाँ भेट्टिएका लिच्छविकालीन सिक्काहरूले ती संरचना लिच्छविकाल हुन् भन्ने प्रमाणित गर्ने नभई जग हाल्ने बेला अन्य पूजा सामग्रीसँगै राखेका प्रतीत हुन्छ।

पनौती लाय्कु उत्खननको क्रममा फर्पिङ एवं काठमाडौं उपत्यकामा भेटिएका तेह्रौं, चौधौं शताब्दीकालीन पोलिएका इँटाहरू छन्। साथै पछि भूपतिन्द्र मल्लले जीर्णोद्धार गर्न लगाउँदा ताकाको इँटाहरू पनि भेटिए। उत्खननको क्रममा भेटिएका अन्य पुरातात्विक सामग्रीहरूको प्रारम्भिक विश्लेषणबाट यो दरबार पनि मध्यकालीन समयको हो कि भन्ने प्रमाण बलियो हुँदै गएको छ। ती संरचनाहरू कम्तीमा रामवद्र्धनकालीन (बाह्रौं, तेह्रौं शताब्दी)का हुन् भन्नेमा अब दुई मत रहेन। तर त्योभन्दा पुराना लिच्छविकाल, किराँतकाल, पाषाणकालका हुन् कि भन्नेमा खोज बाँकी नै छ।
अब के छ उपाय उद्धव सर ?
संक्षिप्त उत्तर– कार्बन डेटिङ।

पनौती लाय्कु क्षेत्रको उत्खनन क्रममा भेटिएका गोलहरूको कार्बन डेटिङ गर्न सकेको खण्डमा ती संरचनाहरूका प्राचीनताको वैधता पुष्टि हुन्थ्यो। सामान्यतः कार्बन डेटिङका लागि संकलित मानिसको हातले छुनु हुँदैन। पनौती लाय्कु क्षेत्रबाट निकै सावधानीपूर्वक संकलित नमुनाहरू पुरातत्त्व विभागमा संरक्षण/भण्डारण गरिराखेको छ।

कार्बन डेटिङको महत्त्व थाहा पाएपछि यससम्बन्धी जानकारीको भोक निमिट्यान्न पार्न धुईंपत्ताल गुगल गर्न थालें। कार्बन डेटिङका लागि काठ, छाला, बीउबिजन, माटो, कपाल, हड्डी, भाँडाकुँडालगायतका सामग्री उपयुक्त हुने रहेछ। कुनै पनि सामग्रीमा रहेको कार्बन तत्त्वको क्षयीकरणको अध्ययनसँगै उक्त सामग्रीको आयु पत्ता लगाउन सकिने रहेछ।

लाय्कुका प्रमाणहरू रामवर्द्धनकालीन
हालसम्म पनौती लाय्कुका प्रमाणहरू रामवद्र्धनकालीन हुन् भन्ने अनुमान लगाइयो। तर पनि पनौती लाय्कु परिसरमा महोसत्व अनि उनका पूर्वजहरूको दरबार रहेको थियो भन्ने हो भने कम्तीमा २६ सय वर्ष हुनुपर्ने (किनकि पछिल्लो पटक हामीले २५६५औं बुद्ध जयन्ती मनाएका थियौं भने भगवान् बुद्ध घुम्दै फिर्दै यस क्षेत्रमा आई महासत्वको योगदान थाहा पाई नतमस्तक भएका कारण नमोबुद्धको स्थापना भएको किंवदन्ती छ।) हो।

छोटकरीमा, रामवद्र्धनकालीन हो कि महासत्वका पूर्वजकालीन हो कसरी प्रमाणीकरण गर्ने ? के कार्बन डेटिङ नै अचुक अस्त्र हो ? अनि वस्तुहरूको कार्बन डेटिङ र प्राणीहरूको डीएनए म्यापिङ उस्तैउस्तै हुन् ? तिनीहरूबीच के अन्तर–सम्बन्ध छ ? विज्ञानमा पढेअनुसार कुनै पनि इनर्जी (शक्ति) को क्षय हुँदैन, केवल रूप मात्र फेरिने हो। यसमा सत्यता छ भने आकाशमण्डलमा हालसम्म यत्रतत्र भड्किरहेको अर्थात् सञ्चित साउन्ड इनर्जी (पूर्वजहरूकै पनि) कुनै बेला ट्यापिङ गर्ने प्रविधि नआउला ? यसो हुन सक्यो भने पूर्वजहरूबाट नै पनौती लाय्कुको प्राचीनता अनि वास्तविकताबारे ‘फस्र्ट ह्यान्ड’ जानकारी पाइएला कि !

- चिकित्सक ताम्राकार पनौतीका सांस्कृतिक एवं पुरातात्विक अभियन्ता हुन्।

https://annapurnapost.com/story/197224/

No comments: