गायब टुँडिखेल
काठमाडौं शान्तिपार्क, दक्षिणतिर भोटाहिटी भएर बागबजार जाने मूलबाटोसँगैको खुला ठाउँ शंखधर पार्क हो । राजाको शासनमा त्यसलाई रत्नपार्क भनिन्थ्यो । सँगै जोडिएको चउरलाई खुलामञ्च बनाइएको छ । त्यसभन्दा पर अलि फराकिलो ठाउँ सैनिक मञ्च बन्यो । सहिदगेट सडकपारिको सिंगो भूमि नेपाली सेनाको एकलौटी अधीनस्थ क्षेत्र भयो । सेनाको मुख्यालय यसै परिसरमा खडा गरिएको छ । आखिर, कहाँ छ टुँडिखेल ?
सर्जनका रूपमा उपत्यकामा रहेका बेलायती हेनरी अम्ब्रसे आय्लफिल्डले सन् १८५० तिर रानीपोखरीदेखि दक्षिण हाल दशरथ रंगशाला त्रिपुरेश्वरसम्म फैलिएको टुँडिखेलको तेलचित्र बनाएका थिए, बेलायती रेसिडेन्सीका लागि । उनीभन्दा एक शताब्दीअघि सन् १७२० मा तिब्बतबाट काठमाडौं भएर भारत पुगेका इटालीका पादरी लिप्पोलिट्टोले पनि आफ्नो यात्रा वृत्तान्तमा टुँडिखेलको खुला क्षेत्रफलबारे उल्लेख गरेका थिए । उनको अनुमानमा त्यतिखेरको टुँडिखेल उत्तरबाट दक्षिणसम्म लगभग तीन माइल लम्बाइ फैलिएको थियो । तर, अहिले न त्यो विशाल स्वरूप रहिरह्यो, न टुँडिखेल टुँडिखेलको रूपमा रह्यो । वर्तमानसम्म आइपुग्दा टुँडिखेल हरायो ।
अतिक्रमण कथा
भीमसेन थापा जनरल बनेपछि उनले रैथानेहरूको बौद्ध धार्मिक केन्द्र गणविहार तथा सांस्कृतिक सम्पदाहरू मासेर धराहरा उठाए, लगनमा विहार भत्काएर आफ्नो दरबार सिलखाना बनाए । त्यसै क्रममा सँगैको खुला चउर टुँडिखेललाई सैनिक छाउनी बनाए । पछि जंगबहादुरले पनि त्यसैलाई निरन्तरता दिँदै विश्वयुद्धका लागि गोरखाली जवानहरू छनोट गर्न र प्रशिक्षणका लागि टुँडिखेलमा सैनिक परेड गराए । टुँडिखेलमाथि शासकबाट भएका अतिक्रमणका आरम्भ थिए ती ।
टुँडिखेल पूर्वतिरको एकछेउको खरीको बोटमा संगमरमरले सजाइएको चौतारो बनाएर त्यसको वरपर विश्वयुद्धमा वीरगति प्राप्त भिक्टोरिया क्रससहित सम्मानित गोरखाली सैनिकका मूर्तिहरू ठड्याएर राणा शासकले त्यसलाई सैनिकीकरण गर्ने कामको थालनी गरिसकेका थिए । पछि खरीको बोटको चौतारी राणा शासकहरूको औपचारिक घोषणाको थलो बन्यो । करिया मुक्तिको घोषणा पनि श्री ३ चन्द्रशमशेरले यही चौतारीमा उभिएर गरेका थिए ।
नयाँ सडक ढोकासँगै हाल नेपाल वायुसेवा निगमको भवन भएको ठाउँमा उत्तरबाट दक्षिणतिर लाम लगाएर सैनिक ब्यारेकहरू उठाइए । केही समयपछि टुँडिखेलकै दक्षिणी हिस्सालाई रंगशालातिर सैनिक प्रशिक्षणका लागि तारो हान्ने अभ्यास केन्द्रमा परिणत गरियो । आवास क्षेत्रबीच बन्दुक पड्काउँदै सैनिक अभ्यास गर्दा त्यसबाट पर्ने मानसिक असर र मानवीय क्षतिको अवस्थाबारे सेनालाई चिन्ता थिएन । बरु, सैनिक अभ्यासको सहजताका लागि नागरिकको स्वतन्त्र हिँडडुलमाथि नियन्त्रण गरिन्थ्यो । तारो हान्ने समय सदैव टुँडिखेल निषेधित क्षेत्र बन्थ्यो । सैनिक–प्रहरीले टुँडिखेलमा पाइला टेक्ने नागरिकलाई लौरो बोकेर लखेट्थे, भेट्टाए लगेर थुनामा हाल्थे ।
महेन्द्रको निरंकुश राजनीतिक कदमप्रति अनुमोदनस्वरूप बेलायत सरकारका तर्फबाट महारानी एलिजाबेथ द्वितीयाको राजकीय भ्रमण भएको थियो । उनकै स्वागत–सम्मानमा उपत्यका सजाउने क्रममा टुँडिखेललाई बारभित्र खुम्च्याइयो । त्यहाँ ढोकाहरू उठाइए । वाग्मती अञ्चलाधीशको सनकमा खुला टुँडिखेल खण्डित गरियो । हेर्दाहेर्दै टुँडिखेल रत्नपार्क, खुलामञ्च अनि शाही सैनिक मञ्चका रूपमा अतिक्रमित भयो । टुँडिखेल टुँडिखेलकै रूपमा रहेन ।
शाही सैनिक मञ्च बनेपछि सेनाले टुँडिखेललाई आफ्नो अधीनस्थ क्षेत्रकै रूपमा बुझ्यो, त्यसैखाले व्यवहार गर्दै लग्यो । सेनाले नागरिकका लागि टुँडिखेलभित्र पाइला टेक्न पाउने र नपाउने समय तालिका तोक्न थाल्यो ।
टुँडिखेलको दक्षिणतिर रंगशालासम्म चर्चिएको मैदानलाई त सेनाले आफ्नो बपौतिकै चार किल्ला ठान्यो । सेनाले खुला मैदान मासेर सैनिक मुख्यालयको संरचना मात्र बनाएन, स्थानीय निकायसँग लिनुपर्ने अनुमतिसमेत नलिई अनियन्त्रित निर्माण कार्य
गरिरह्यो । सार्वजनिक थलोमा अनावश्यक भौतिक संरचना ठड्याएर त्यसलाई व्यापारिक प्रयोजनमा प्रयोग गरिरह्यो । एक अर्थर्मा सत्ता र सैनिकको अतिक्रमणमा टुँडिखेल मासियो ।
नागरिक चासो
टुँडिखेलमाथिको अतिक्रमणले सीमा नाघेको छ । तसर्थ नागरिक अभियन्ताहरू सामूहिक चिन्ता जाहेर गर्दै यसको संरक्षणका लागि सडकमा आए । गएको फागुन ७ गते बृहत् नागरिक आन्दोलनका तर्फबाट सार्वजनिक नारा उठाए– टुँडिखेल कसको ? अभियन्ताहरूको सामूहिक बुझाइ छ, टुँडिखेल नागरिकको हो । त्यसैले त्यतिखेर टुँडिखेलवरपर प्रदर्शन गर्दै नारा घन्काए– टुँडिखेल नागरिकको हो ! फुटपाथे पसलेहरूको हूलहुज्जत, बसपार्कको तमासा अनि निर्माण कम्पनीहरूको बसाइले टुँडिखेलको अस्मितामाथि व्यंग्य गरिरहेको थियो । स्वाभाविक हो, यस्तोमा सबैको मनमा प्रश्न उठेको छ– टुँडिखेल कहाँ छ ? कसको हो टुँडिखेल ?
सम्पदा संगम
टुँडिखेल केवल मैदान होइन । लामो लोकआख्यानसँग गाँसिएको यो सम्पदाको संगम हो । मूर्त सम्पदाहरू भद्रकाली, बज्रवीर महांकाल, संकटा तथा द्वैमाजुको आराध्यस्थल टुँडिखेल परिसरकै अंग हुन् । टेबहालको लिच्छविकालीन बौद्धचैत्य पनि यहीं छ । सुन्धाराको अतिरिक्त यस मैदानवरपर थुप्रै ढुंगेधाराबाट पानी बहन्थ्यो । विभू बर्माद्वारा निर्मित सम्वत् ४५ अंकित कलात्मक ढुंगेधारा टुँडिखेलकै अंश थियो ।
अक्षय तृतीयाका दिन आरम्भ भई कुमारी षष्ठीका दिन सम्पन्न हुने रैथानेहरूको देवाली पूजाको स्थल यही टुँडिखेलको खुला स्थान हो । नगरवरपरको हजारौं परिवारका देवाली पूजाका मूर्तिहरू टुँडिखेलवरपर सजाइन्थे । सेनाको कब्जापछि त्यो अमूर्त संस्कार–संस्कृति अब लोप भयो ।
चैत्र कृष्णचतुर्दशीबाट काठमाडौंमा मनाइने पाहाँचह्रे पर्व मूलतः भद्रकाली र टुँडिखेलसँग सम्बन्धित जात्रा हो । औंसीको अपराह्न घोडा दौडाएर मनाइने जात्रा मूलतः टुँडिखेल केन्द्रित हो । लिच्छविहरूको नेपालमण्डल आगमनभन्दा धेरैअघिदेखि यो जात्रा मनाइन्थ्यो । टुँडिखेलको माथिल्लो भागदेखि पुच्छारसम्म हुने यो दौडमा घोडाको रफ्तार जति तीव्र हुन्थ्यो, त्यही गतिमा मुलुकमा सहकाल हुने स्थानीय आस्था थियो । धार्मिक–सांस्कृतिक रूपमा जात्राको यति महत्त्व थियो कि आराध्यदेवी कुमारी स्वयं जात्रा अवलोकन गर्न उपस्थित हुन्थिन् । दुःखको कुरा, जसरी टुँडिखेलको स्वामित्व अपहरणमा पर्यो, त्यसैगरी समुदायस्तरको त्यो संस्कृति पनि सेनाले बलात् कब्जा गर्यो । अहिले यसलाई घोडेजात्राको विकृत अर्थमा मनोरञ्जन र खेल तमासामा रूपान्तरण गरियो ।
ऐतिहासिक पाटो
थुप्रै ऐतिहासिक प्रसंगमा टुँडिखेलको चर्चा पाइन्छ । तर, यसको इतिहास–आरम्भ कहाँबाट भयो, त्यसको केही लिखत भेटिन्न । टुँडिखेल अर्थात् तिनख्यः नामकरण सम्बन्धमा पनि फरक–फरक कथन छन् । पं. बद्रीरत्न बज्राचार्यका अनुसार, वरपर धेरै रूखबिरुवा भई सीमसार क्षेत्रका रूपमा ओसिलो भएकाले स्थानीय भाषाबाट तुं ख्यः अर्थात् भास्सिने चउर भनिएको हो, त्यसैबाट तुंख्यः, टुँडिखेल नाम रहन गयो ।
विशेषतः काठमाडौंको सवलबहाल (मन्त्रसिद्धि विहार) का बज्राचार्यहरू टुँडिखेललाई आगं चपाः अर्थात् साधनागारका रूपमा लिन्छन् । त्यसै बहालका एक सिद्ध शाश्वत बज्रले नै सिद्धिबलबाट बज्रवीर महांकाललाई तल झारेर टुँडिखेल परिसरमा प्रतिस्थापना गरेका हुन् भनिन्छ । इतिहासविद् डा. गौतमबज्र बज्राचार्यको मत छ, नेवार भाषामा तु शब्दको अर्थ पूर्व दिशा हो, कान्तिपुर नगरको पूर्व दिशामा रहेको खुला मैदान भएकाले नै तुंख्यः भनिएको हो । एकथरी बौद्धहरू दाबी गर्छन्– हाल वायुसेवा निगम भवनको दक्षिणमा रहेको ठूलो रत्नत्रयायको चैत्य छ, सोही त्रिरत्नबाटै अपभ्रंश हुँदै तिनख्यः हुन पुगेको हो ।
केशचन्द्र, गुरुमार्पा र टुँडिखेल
संस्कृति–सम्पदाको समृद्धिसँग जोडिएर राजा भाष्करदेवको प्रसंग धेरै ठाउँमा आउँछ । त्योमध्ये पाटनको क्वाःबहाल अर्थात् हिरण्यवर्ण विहार (गोल्डेन टेम्पल) प्रमुख हो । सुन्दर, आकर्षक, कलात्मक भएकाले यो विहार विश्वमै प्रख्यात छ । भाष्करदेवले बनाएकाले यसलाई भाष्करवर्माकृत महाविहार पनि भनिन्छ । वंशावलीअनुसार यो विहार एघारौं शताब्दीको हो ।
उनैले काठमाडौंमा अर्को एक आकर्षक बौद्धविहार बनाउन लगाए, जुन कालान्तरमा इटुंबहालको रूपमा चिनियो । विशेषतः खुला प्रांगणका कारण पनि यो चर्चित छ । इतिहासकारहरूका अनुसार, भाष्करदेवले मूलतः सैन्य उद्देश्यबाट यस विहार बनाउन लगाएका थिए । यसलाई सैन्य किल्लाका रूपमा प्रयोग गरिएको थियो भनिन्छ । भाष्करदेव कुनै भयानक रोग लागेर अल्पायुमै बिते । कसैले उनी निःसन्तान थिए भनेका छन्, कतिपयले केशचन्द्र उनकै छोरा हुन् भन्छन् । भाष्करदेवले काठमाडौंमा बनाएको विहार र केशचन्द्रको गहिरो सम्बन्ध छ । कालान्तरमा भाष्करदेवबाट निर्मित विहार जीर्ण भएपछि यिनै केशचन्द्रले त्यसको पुनर्निर्माण गरे भनिन्छ । तसर्थ उनकै नामबाट इटुंबहाललाई भाष्करदेव संस्कारित केशचन्द्र परावर्त महाविहार भनियो ।
केशचन्द्र सम्पन्न थिए र जुवाडे पनि । जुवा–लतमा भएभरको सम्पत्ति उडाए । पछि धनआर्जनका लागि भोटतिर लागे, फेरि धनाढ्य बने । आगलागीबाट ध्वस्त बनेको भाष्करदेव संस्कारित इटुंबहालको उनले पुनर्निर्माण गराए, जुन अहिले केशचन्द्र परावर्त महाविहारको नामबाट चिनिन्छ ।
स्वदेश फर्कंदा केशचन्द्रले भारी बोकाउन लगाएकामध्ये एक जना निकै बलिया व्यक्तिलाई सहयोगीका रूपमा घरमै राखे, तिनी थिए– गुरुमार्पा । गुरुमार्पा नरभक्षी थिए । उनी छरछिमेकका बालबच्चा चोरर खान पल्किए । नगरवासीको चर्को गुनासोपछि गुरुमार्पालाई मानवबस्ती बाहिर पठाउन केशचन्द्र बाध्य भए । तर, एउटा सहमति गरियो– नगरबस्तीबाहिर खुला स्थानमा गुरुमार्पाको बासस्थानको व्यवस्था गरिने र प्राणरक्षाका लागि जाँड, रक्सी, मासुसहित भरपेट दालभात खुवाउने । सोही सहमतिअनुसार गुरुमार्पाले आफ्ना लागि पाएको बासस्थान थियो– टुँडिखेलको खुला मैदान । आख्यान तथा रैथाने संस्कृति भन्छ, टुँडिखेल गुरुमार्पाको आश्रयस्थल हो । टुँडिखेल पूर्वतिर खडा एक्लो रूख गुरुमार्पाको बासस्थानको अर्थमा सांकेतिक रूपमा आज पनि संरक्षित छ ।
काठमाडौं, किलागलका किसानहरू बर्सेनि एउटा सांस्कृतिक पर्वका रूपमा गुरुमार्पालाई सम्झिन्छन् । कुनै कालखण्डमा गरिएको सहमतिको पालनास्वरूप केशचन्द्र विहारछेउको भूतुक्यबमा सिंगै राँगाको शरीरको विभिन्न अंगबाट ‘त्यापा जो’ अर्थात् चौरासी व्यञ्जन तयार पारिन्छ । एक मुरी चामलको भात पकाइन्छ । चोयाको ठूलो ढाकरमा एकातिर पन्ध्र पाथीको भात र अर्कोतिर सिंगो राँगोको मासुको परिकार तथा बाँकी पाँच पाथी चामलको भारी बनाएर एकै जनालाई बोक्न लगाइन्छ । बाजागाजासहितको किसानको टोली त्यो भारी कतै नबिसाई सिधै नयाँसडक ढोकाछेउ पुग्छ । यो सांस्कृतिक परम्परा मध्यरातमा सम्पन्न हुन्छ । भात र मासुका परिकार पहिले त्यहाँ अवस्थित गणेशलाई चढाइसकेपछि टोली सीधै टुँडिखेल छिर्छ र त्यही एक्लो रूखमुनि पुगेर एक मुरी चामलको भात र सिंगो राँगाको परिकार गुरुमार्पालाई अर्पण गरिन्छ ।
प्रत्येक वर्ष फागुपूर्णिमाको रात गुरुमार्पालाई यसरी नै सम्झने काम आजपर्यन्त हुँदै आएको छ । टुँडिखेल गुरुमार्पाकै हो भन्ने सहमति आज पनि रैथानेहरूले पालना गरिरहेका छन् । तर, सत्ता र सेना टुँडिखेलबाट गुरुमार्पालाई लखेट्न उद्यत छन् । अमूर्त संस्कृति र सम्पदा सधैंका लागि निम्ट्यान पार्न सत्ता उद्यत छ । यस्तोमा जनस्तरबाट प्रश्न उठछ– आखिर कसको हो टुँडिखेल ?
https://ekantipur.com/koseli/2021/03/27/161681258421512315.html
No comments:
Post a Comment