Tuesday, November 28, 2023

अंशुवर्माको शिलालेख : वृषदेवको धातुचैत्य, हारितीको मूर्ति

 गौतमवज्र वज्राचार्य

सन् १९६५ तिरको कुरा हो । मेरा काका धनवज्र वज्राचार्य र संशोधन मण्डलका अरु सबै साथीसँग हरेक शनिबार काठमाडौं उपत्यकाका विभिन्न सहर–गाउँमा गएर शिलापत्र खोज्थ्यौं । कुनै महत्त्वपूर्ण शिलापत्र प्राप्त भएको दिन उत्सव जस्तै हुन्थ्यो ।




दिनैभर शिलापत्र खोजेर म र काका महाबौद्धको हाम्रो पुरानो घर फर्कंदा मेरी बज्यै हामीलाई हाँसको फुल फकाएर खुवाउनुहुन्थ्यो । नेवारी चलन अनुसार हाँसको फुल सगुन अर्थात् शुभकामनाको प्रतीक मानिन्थ्यो ।

प्राप्त भएका सबै शिलालेखहरू अभिलेख–संग्रह ‘पूर्णिमा’ आदि पत्रिकामा प्रकाशित गर्थ्यौं । तर, त्यस बेला पुरातत्त्व–अनुसन्धानमा रुचि लिने मान्छेहरू धेरै थिएनन् । साइन्स र टेक्नोलजी पढ्नुपर्ने जमानामा यस्ता पुरानो विषयमा ध्यान दिनु उचित छैन भनेर हितैषीहरू हामीलाई सुझाव दिन्थे । इतिहास र प्राचीन सम्पदाको महत्त्व उनीहरूले पक्कै पनि बुझेका थिएनन् । तर, आजभोलि नेपालको अवस्था भिन्न छ । लिच्छविकालका कुनै नयाँ अभिलेख प्राप्त हुनासाथ बुद्धिजीवीहरू उत्साहित हुन्छन् । र, पत्रपत्रिकाहरूमा सनसनीदार खबर बनेर छापिन्छन् । यो त साह्रै सुन्दर कुरो भयो ।

हालैको उदाहरण लिऊँ । पाटन मंगलबजार भीमसेनस्थान अगाडि गैह्रीधारा नजिकै जमिनभित्र पाइएको एउटा शिलालेख लिच्छविकालको हो । यो शिलालेखका केही भाग खिइएको र सिमेन्ट लागेको हुनाले अहिले केही अंश मात्रै पढ्न सकिने अवस्थामा छ ।

मेरो अहिलेसम्मको अध्ययन अनुसार, राजा अंशुवर्माको यो अर्को सनद शिलालेख हो । यस अभिलेखको माथिल्लो भागमा राजा अंशुवर्माले आफूभन्दा दुई सय वर्षजति अघिका लिच्छवि राजा वृषदेवले स्थापना गरेको धातुचैत्य र सो चैत्य नजिकै बनेको बौद्ध विहारको सुरक्षा अधिकार, आर्थिक बन्दोबस्त गरिदिएको वर्णन छ । यसै गरी, तल्लो भागमा यो राजकीय सनदमा उल्लिखित आदेश नमान्नेहरूले ठूलो सजाय भोग्नुपर्ने सूचना दिइएको छ र अभिलेखको अन्तिम पंक्तिमा दूतक चन्द्र (जीव) को नाम र संवत्को उल्लेख छ । मेरो विचारमा यहाँ दिइएको संवत् ५३९ हो, तदनुसार सन् ६१७ ।

श्री वृषदेव राजकारित धातुचैत्य ‘राजा वृषदेवले स्थापना गरेको धातुचैत्य’ भनेर यस अभिलेखमा वर्णन गरिएको लिच्छवि चैत्य अहिले विलुप्त भइसकेको छ । तर, यो चैत्यसँग सम्बन्ध राख्ने त्यसैबेलाको एक प्रस्तर मूर्ति अझै बचेको छ । मंगलबजार नजिकै दक्षिणतिर हौगल बहाल भन्ने सानो बौद्ध विहार छ । त्यस विहारको पछाडि चार फिट जति गहिरो खाल्टोमा ढुंगाको तोरणले सजाइएको मन्दिरभित्र प्रस्तर मूर्ति छ । यो तोरण धेरै पुरानो होइन, एक्काइसौं शताब्दीतिर मात्रै बनेको हो । तर, हारितीको मूर्ति धेरै पुरानो हो । दुई कारणका आधारमा यो मूर्ति लिच्छवि राजा वृषदेवले बनाएको धातु चैत्यको एक अपरिहार्य अंग थियो भन्ने बुझ्न सकिन्छ ।

पहिलो कारण, प्राचीन परम्पराअनुसार चैत्य अथवा स्तूप बनाउँदा त्यो स्तूपसँगै हारती माताको मूर्ति हुनैपर्छ भन्ने थियो । मौर्य राजा अशोकको पालामा त्यो चलन आइसकेको थिएन । दोस्रो शताब्दीपछि मात्रै त्यो चलन सुरु भएको देखिन्छ । त्यसैताका लेखिएको मूलसर्वास्तिवाद विषयवस्तु भन्ने प्रसिद्ध बौद्ध ग्रन्थअनुसार, आमाजस्तो मानी पूजा गरिने हारिती उठानमा देवताका रूपमा थिइनन्, मान्छेको मासु खाने यक्षीका रूपमा थिइन् । बुद्ध शाक्यमुनिले उनलाई अनुशासनमा ल्याएपछि मात्रै हारितीले सबै केटाकेटीहरूको रक्षा गर्न थालिन् । बुद्धले खुसी भएर अबदेखि हरेक विहारमा हारितीको पूजा हुनैपर्छ भन्ने नियम बनाइदिए ।

त्यसैले स्तूप अथवा चैत्यसँगै हारितीको मूर्ति राख्ने चलन चल्यो । र, त्यहीअनुसार अहिले प्रसिद्ध स्वयम्भू स्तूपनजिकै हारिती माताको मन्दिर छ । त्यसैगरी काठमाडौंको नघल टोलमा काठेसिम्भुको स्तूपसँगै स्थापना गरिएको हारिती माताको मूर्ति अद्यापि मन्दिरभित्रै सुरक्षित छ । यसरी चैत्यसँग हारितीको निकटतम सम्बन्ध देखिएको हुनाले मंगलबजारसँगैको हौगल बहालको हारितीको मूर्ति राजा वृषदेवको धातुचैत्य र त्यसको वरिपरि बनेको विहारको अवशेष हुनुपर्छ भन्ने विचार तर्कसंगत देखिन आउँछ ।

दोस्रो कारण लिच्छवि राजा वृषदेवको शासनकाल चारौं शताब्दीको अन्त्यतिर पर्न आउँछ । हारितीको मूर्ति पनि शैलीको हिसाबले यही समयतिर बनेको हुनुपर्छ भन्ने देखिन्छ । कला इतिहासका विद्वान् लैनसिंह बाङ्देलले यस मूर्तिको समय दोस्रो अथवा तेस्रो शताब्दीतिर हुनुपर्छ भनी लेखेका छन् । उठानमा मलाई यो कुरा होजस्तो लागेको थियो । तर, गम्भीरतापूर्वक विचार गरी हेर्दा यो अलि मिलेन । किनभने यस प्रस्तर मूर्तिमा चित्रण गरिएअनुसार, हारिती माता त्यसबेला नेपालमा भर्खरै चलनचल्तीमा आएको काँधसम्म पुग्ने लामो अडेस भएको आसनमा बसेकी छन् । त्यस अडेसको सबैभन्दा माथिल्लो भागमा दायाँ–बायाँ दुइटा मकरको आकृति कुँदिएका छन् ।

यस प्रकारको मकर आसन दोस्रो अथवा तेस्रो शताब्दीको नेपालको कलाकृतिमा कतै देखिँदैन । दोस्रो शताब्दीतिर भारतीय कलाको इतिहासमा मथुरा शैली र अमरावती शैली प्रसिद्ध छन् । यी दुवै शैलीको सम्मिश्रण नेपालमा चारौं शताब्दीमा भएको थियो । हारितीको मूर्ति त्यसैको एक उदाहरण हो । त्यसैले यो मूर्ति राजा वृषदेवले धातुचैत्यसहितको विहार बनाउँदा सर्वास्तिवादी विनयवस्तुजस्तो बौद्धग्रन्थमा लेखिएअनुसार, सोही चैत्यको आसपासमा विधिपूर्वक स्थापना गरिएको हारिती माताको प्रतिमा हुनुपर्छ भन्ने विचारको पुष्टि हुन्छ ।

यो सानो लेख टुंग्याउनु अघि भनिहाल्नुपर्ने अर्को कुरा के छ भने सनद शिलापत्रद्वारा आफ्नो आदेश घोषणा गर्दा जनताले सजिलैसँग देखून् भन्ने विचारले लिच्छवि राजाहरू त्यस्ता शिलापत्रहरू गैह्रीधाराजस्ता सार्वजनिक ठाउँमा राख्थे । यसको उदाहरण योबाहेक अरू पनि छन् । त्यसैले राजा अंशुवर्माले वृषदेवको धातुचैत्यसँग सम्बन्ध राख्ने यो शिलापत्र पाटन मंगलबजारको धारासँगै राखेका हुन् । राजा अंशुवर्मा (राज्यकाल सन ६०५–६२१) भन्दा सय वर्षअघि नै राजा मानदेवका नाति भारविले बनाइदिएको धारा यहाँ विद्यमान थियो ।

अंशुवर्माको यो महत्त्वपूर्ण अभिलेख पढ्ने काम अझै सिद्धिएको छैन । शिरोभागमा कुँदिएको मृगदावको कलात्मक दृश्यबारे लेख्नुपर्ने विषय धेरै छन् । मैले सुनेअनुसार, नेपालका अरू विद्वान्हरू पनि उत्साहपूर्वक यो शिलालेख पढ्ने काममा लागेका छन् ।

नयाँ पुस्ताका बुद्धिजीवीले पनि यस काममा गहिरो अभिरुचि लिएका छन् । मेरा लागि यो निकै खुसीको विषय हो । पाटन मंगलबजारमा पाइएको उक्त शिलापत्रका धेरैथरि फोटोग्राफ पठाइदिएर शिलालेख पढ्न मद्धत गर्ने बाबुकाजी बज्राचार्यलाई धन्यवाद ।

https://ekantipur.com/koseli/2022/01/08/164161641205249819.html

No comments: