शतायुका सत्यमोहन जोशीसँग छन्– अनेक ठूला घटनाका अनुभव/अनुभूति ! मस्तिष्कमा खाँदाखाँद छन्– पुराना महामारीका दिन । अब यस्तो अनुभव अरू कसैले कसरी गर्नु !
संस्कृतिविद् सत्यमोहन जोशी (१ सय २) सँग मुलुकको पुरातात्त्विक इतिहास, लोकसंस्कृति, कला साहित्य, उसबेलाका जनजीवनजस्ता विभिन्न विषयमाथि ज्ञान, सीप र बहुमूल्य अनुभव छन् खाँदाखाँद ।
सत्यमोहन ‘बा’ का अनुभव सुन्न पुगेका छौं उनको निवास– पाटन, बखुम्बहाल । ‘बा’ सँग उनले लामो जीवनमा देखे/भोगेका महामारी, प्राकृतिक विपत्तिबारे कुरा गर्नु छ । कोरोनाका कारण चैतदेखि यता होम क्वारेन्टाइनमा छन् उनी– पुर्ख्यौली घरमै । कम्पाउन्डभित्र ‘जोशी प्रतिष्ठान एवं अध्ययन केन्द्र’ को नयाँ भवन छ । कार्यक्रम गर्नेुपरे भवनमै गरिन्छ । घरमा आउनेसँग पनि दूरी कायम गरेर भेट्छन् । भन्छन्, ‘मुख्य कुरा त राष्ट्रको भलो होस् । विपत्तिमा फसेको छ संसार । कसैलाई केही नहोस् ।’
तःकै अर्थात् बिफर
कोरोना कहरसम्म आइपुग्दा सत्यमोहनले हाम्रो समाजमा निकै ठूलो अर्थ राख्ने केही महामारी सामना गरिसकेका छन् । उनले विसं १९९० को भुइँचालोदेखि यता बिफर, औलो, हैजा, सलहजस्ता धेरैखाले महामारी/विपत्ति देखे ।
उनले भोगेको पहिलो महामारी ‘तःकै’ थियो । ‘तःकै’ अर्थात् बिफर (नेपाल भाषामा) । उनी भर्खर ६–७ वर्षका थिए । जोशी नेवार समुदायको एउटा विरह गीत उनी सम्झिछन् :
‘नसा बजि ब्यकुंच्यासे कचिमचा लुकुंछिसें’
वनेमाल तामाखुशी पारी
छम्ह मचा लुखछिसें छम्ह मचा ब्यकुंच्यासे
छम्ह मचा लुतुलुया यने’
तत्कालीन राजा रणबहादुर शाहको पालामा बिफर लागेकालाई तामाकोसीपारि डाँडो कटाइन्थ्यो । त्यसबखतको कथा–व्यथा समेटिएको छ माथिको गीतमा, जसको अर्थ हुन्छ, ‘खानेकुरा काखीमा बोकेर एउटा सन्तान ढाडमा । अर्को सन्तान पिठ्युँमा बोकेर र एउटालाई भुइँमा लतार्दै जानुपर्यो तामाकोसीपारि ।’
उतिबेला देश निकालापछि बिफरले छोएका बालबालिकालाई पश्चिममा मर्स्याङ्दीपारिसम्म पुर्याइयो । धेरै नेवार परिवारले बालबालिकासहित उपत्यका छाड्नुपर्यो । जोशी भन्छन्, ‘यो दृश्य कति हृदयविदारक छ भन्ने कुरा गीतमै पोखिएको छ ।’
बिफरसँगै खिचा कै, भुस कै, क्यएक्यए कैजस्ता खटिराले पनि मानिसलाई सताएको उनी सुनाउँछन् । तःकैले त सद्दे मानिसलाई तुरुन्ता तुरुन्तै कुरूप बनाउँथ्यो, दृष्टिविहीन बनाउँथ्यो र मृत्युको अवस्थासम्म पुर्याउँथ्यो । त्यो बेला खोप थिएन । बिफर एकदमै चिलाउने, दुख्ने, फोका आउने रोग थियो । चिलाएको सहन नसकेर कन्याउँदा अनुहारैभरि खोपिल्टै–खोपिल्टा (छ्याक) हुन्थ्यो ।
बिफरका कारण अनुहार बिग्रेका र मृत्यु भएका थुप्रै घटनालाई समाजले अति सामान्य रूपमा लिन्थ्यो । बिफर नआओस् भनी नाडीमा सियोको टुप्पाले घोचेर वैद्यले औषधि लगाइदिन्थे । औषधि लगाइदिने मान्छेलाई ‘कै वैद्य’ भनिन्थ्यो । नेपालभाषामा ‘कै’ को अर्थ खटिरा हो । कै वैद्य अर्थात् आयुर्वेदीय विधिअनुसार, रोगको निदान गर्ने कविराज । सियोले नघोचेका मान्छेको अनुहारभरि छ्याक देखिन्थ्यो ।
‘कसैलाई खटिरा उसै पनि आउँथ्यो, उनीहरूको अनुहारमा दाग कम देखिन्थ्यो । बिफर लागेमा शीतला माई रिसाएको भनी पूजाआजा गर्ने चलन थियो,’ सत्यमोहन भन्छन्, ‘अक्षता, धूपबत्ती, अबीरबाहेक गँहु, चामल, फापरलगायत भरभरका खाद्यान्न राखेर पूजाआजा गरिन्थ्यो ।’ तःकै अजी भनी बंगलामुखी, च्यासललगायत टोलमा पूजाआजा गरिने देवता थिए । बिफर निराकरणका लागि बालाजुमा पनि शीतला माईको मूर्ति नै स्थापना गरिएको थियो । त्यहाँ याचना गर्नेको घुइँचो लाग्थ्यो । बिफरलाई रोगभन्दा पनि देउता रिसाएर दिएको श्राप मानिन्थ्यो । उपचार गर्नतिरभन्दा मान्छेहरू मठ–मन्दिर गएर देवी–देउता भाकल गर्थे ।
अहिले पनि अनुहारमा पुराना दाग भएका थुप्रै बूढापाखा भेटिन्छन् ।
झुल थिएन, औलो थियोसत्यमोहनले देखेको अर्को महामारी थियो– औलो । औलोको खोप थिएन । उसबेला झुल पनि थिएन । वरिपरि सफासुग्घर पनि थिएन । पाँच वर्षमुनिका बालबालिका बढी मृत्यु हुनुको प्रमुख कारणमध्ये औंलो एक थियो ।
सत्यमोहनका अनुसार, औषधिका रूपमा खेतमा फुल्ने घाँसजस्तो देखिने पहेंलो फूल तरकारी बनाएर खाइन्थ्यो । कसैले त भारीका भारी फूल घर लैजान्थे । त्यसलाई सुकाएर गुन्द्रुक बनाइन्थ्यो । र, बिक्रीमा पनि राखिन्थ्यो । उतिबेला महामारीलाई दैवी विपत्ति मानिन्थ्यो । महामारी रोक्न दैव खुसी पारिन्थ्यो । पछि मुलुकभरि औलो उन्मूलनका लागि सरकारले अभियान नै चलायो ।
हैजा– झिँगा मार्नेलाई पदक
काठमाडौंमा छेरपटी (हैजा) को ठूलो महामारी फैलियो । प्रत्येक टोलमा ४/५ जना हैजाका बिरामी हुन्थे । हैजाकै कारण चन्द्रशमशेरकी रानीको पनि मृत्यु भएको भनिन्छ । त्यही बेला काठमाडौं नगरपालिकाले ‘झिँगा मार्ने अभियान’ सञ्चालन गरेको थियो । सत्यमोहन भन्छन्, ‘धेरै झिँगा मार्नेलाई पदककै घोषणा गरिएको थियो ।’ पाटनमा खानेपानी सुधार गरियो । हैजाको उपचार गर्न सन् १८९० मा वीर अस्पतालको शाखाको रूपमा ‘हैजा अस्पताल’ नै स्थापना भयो । अहिले त्यो अस्पताल सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग, टेकुका नामले परिचित छ ।
देवी–देउता रिसाएका कारण हैजाको महामारी आयो भन्ने विश्वास गरिन्थ्यो । पाटनमा चारैतिर भैरव छन् । नेवारहरू समय्बजी (माछा, मासु, चिउरा, अण्डा, भटामास, लसुन, साग, जाड–रक्सी इत्यादि परिकार) बनाएर देवतालाई चढाउँथे । भजन–कीर्तन चल्थ्यो । खोप धेरै पछि मात्रै आयो । पढ्न तथा कामका लागि बाहिर जानुपर्दा टाइफाइड र हैजाको खोप अनिवार्य लगाउनुपर्थ्यो ।
त्यसबेला आफूले पनि खोप लगाएको सत्यमोहन सुनाउँछन् ।
बुइचा अर्थात् सलह
सत्यमहोनले देखे/भोगेको सम्झिरहने विपत्ति हो– बुइचा अर्थात् फौजीकीरा सलहको । हजारौं फट्यांग्रा दिउँसै आउँथे– ठूलो झुन्डमा कालो बादलले आकाशै ढाकेझैं । सलहले भेटेजत्तिका हरियो वनस्पतिका पात र डाँठ खाइदिन्थे । सम्पूर्ण बालीनाली सखाप बनाएर भोकमरी सिर्जना गर्ने अवस्था आएपछि सलहलाई छोपेर घ्याम्पोमा संकलन गरी राखिन्थ्यो । सलहलाई हाँडीमा भुटेर सहरका चोक–चोकमा बिक्रीमा राखिन्थ्यो । मंगलबजारमा भुटेको सलह किनेर खाएको अनुभव सत्यमोहनसँग छ ।
...
विसं १९९० को भूकम्पपछि टुँडिखेलमा गएर रात बिताएको अनुभूति छ सत्यमोहन जोशीको, उनी १३ वर्षका थिए । विशाल खुला टुँडिखेलबाट चारतिर अग्ला हिमाल मज्जैले देखिन्थे । उसबेला टुँडिखेल अहिलेको दशरथ रंगशालादेखि रानीपाखेरीसम्म फैलिएको थियो । भूकम्प गएको बेला जोशी मीनपचासको बिदा मनाइरहेका थिए, महाराजगन्जमा थियो डेरा ।
भूकम्पलगत्तै उनले देखे, आफूअगाडिका रूख नाचेजस्तो गरी हल्लिएको । लगत्तै भुइँ पनि नराम्ररी हल्लिन थालेको थियो । उनले देखे– लाजिम्पाटदेखि नक्साल र डिल्लीबजारका भत्केका घर । धूलो उडेर पूरै सहर ढाकेको थियो । चारैतिर रोएको आवाज सुनिन्थ्यो । पाटनको आफ्नो घर फर्कंने क्रममा जोशीले जताततै ध्वस्त भएका संरचना मात्रै देखे । उनकै घर पनि भत्किएको थियो ।
०७२ सालको भूकम्पका बेला दिउँसो पत्रिका किन्न घरबाहिर निस्केका सत्यमोहनले एक्कासि १९९० को भूकम्प सम्झे । उसैगरी जमिन हल्लिएको थियो । तर, ०७२ मा उनले ठूलो क्षति बेहोर्नुपरेन । सय वर्ष बाँच्नुको ठूलो महत्त्व छ । शतायुका जोशीसँग छन्– अनेक ठूला घटनाका अनुभव/अनुभूति ! मस्तिष्कमा खाँदाखाँद छन्– पुराना महामारीका दिन । अब यस्तो अनुभव अरू कसैले कसरी गर्नु !
https://ekantipur.com/koseli/2021/08/07/16283064253969503.html
No comments:
Post a Comment