जीवनकालमा चिन्ताले उनलाई जलाएन । आज चिताले पनि उनको शरीर जलाएन । चिता र चिन्ताले नजलाएका एक युग हुन्– सत्यमोहन जोशी ।
सत्यमोहन जोशी । एउटा यस्तो नाम, जसलाई कालले पनि हत्तपत्त खान सकेन । निल्न सकेन । असल मानिसको नाम यस्तै हुन्छ । भर्खरै सत्यमोहनको निधन भएको छ । उनीसँग धन छैन । सम्पत्ति छैन लिएर जाने । सबै छोडेर गए । शरीर पनि दान गरेर गए । जीवनकालमा चिन्ताले उनलाई जलाएन र आज चिताले पनि उनको शरीर जलाएन । चिता र चिन्ताले नजलाएका एक युग हुन्– सत्यमोहन जोशी । उनको दिवंगत आत्माको चिर शान्तिका लागि श्री परमेश्वरसँग प्रार्थना गर्छु ।
सत्यमोहन परलोक भएको ०७९, असोज ३० गते आइतबारे बिहानीदेखि केही मित्रहरूले प्रश्न गर्न थाल्नुभयो– तपाईं सत्यमोहनलाई कसरी सम्झनुहुन्छ ? मलाई भने मनमा लाग्यो– के मात्रै सम्झने, के नसम्झने ! बिर्सने कुरा नै छैनन् । सरल जीवन र जीवनको सरलतालाई उनले कति सरस र सक्रिय बनाए भन्ने सम्झन उनको लवाइ, खवाइ, बोलीचाली सम्झे पुग्छ । अरू त अरू नै भए उनको टोपी मात्रै हेर्दा पनि कति सामान्य र सरल लाग्छ । टोपी लगाउँथे तर ढल्काएर । फुर्ती देखाएर टलक्क चम्किलो टोपी लगाएको कहिल्यै देखिनँ । जहाँ भेटे पनि उही टोपी, उस्तै टोपी ! राजाको सभामा होस् वा रंकहरूका माझमा । मैले देखेको राजा वीरेन्द्रको अध्यक्षतामा बस्ने प्राज्ञ–सभामा पनि उही टोपी । मंगलबजारको आमसभामा पनि उही टोपी । गोष्ठी, सेमिनार र उद्घाटनका बेला पनि उही टोपी । वाङ्मय शताब्दी–पुरुषको पगरी पनि उही टोपीले थाप्यो । उनको निवासमा स्थापित संग्रहालयभरि टाँगिएका मान–सम्मानका तक्मा, विभूषण, पदक तथा अनेकौं प्रशस्तिका थुप्रो पनि उही टोपीले थाप्यो । आजभोलि सामाजिक सञ्जालभरि देखिएका फोटो र तस्बिरहरूमा पनि उही टोपी । कुनै बुट्टा वा छाप नछापेको सादा कपडाको एक टोपी । टोपीभित्र सिलाइ गरिएको सेतो नयनसुत कपडा । संजावपेटीले बाहिरी निधारमा कोरेको सेतो चाँदीको घेरा सधैं प्रस्ट देखिन्थ्यो । सूचीकारको हातले सिएका धागोका टाँकाहरू बाहिरबाटै प्रस्ट देखिन्थ्यो । सबैभन्दा मार्मिक दृश्य त श्रद्धाञ्जलीका निम्ति राखिएको उनको पार्थिव शरीरको शिरमा पनि उही टोपी देखिएको थियो । तिनै हुन्– सत्यमोहन जोशी ।
सत्यमोहन जोशीसँग लगभग ४०/४५ वर्षसम्मको संगतमा रहँदा हरेक ठाउँमा उनी पैदलै हिँडेर पुगेको देख्थेँ । सय वर्षे शरीर बोकेर हिँड्दा पनि उनले लट्ठी टेकेर हिँडेको कहिल्यै देखिएन । ‘जब पुग्यो साठी हातमा लाठी’ भन्ने उक्तिलाई उनले त्यतिकै लत्याएर हिँडे । उमेरले नगल्ने, परिश्रमले नथाक्ने शरीर उनले पाएका रहेछन् । जिब्रोमा सधैं सरस्वती बसेजस्तो । स्मरण शक्ति उत्तिकै तेज । बोल्दा कहिल्यै नलरबराउने जिब्रो । ऐला र ह्विस्की दुवैको स्वाद यत्तिकै ठम्याउने जिब्रो । घ्राणशक्तिको पनि कुरै भएन । कान सधैं तिखो । आँखामा कहिल्यै चस्मा लागेन । यस्ता अद्वितीय शरीर र स्वास्थ्य लिएर सक्रिय जीवनको शतक पार गरेका व्यक्ति थिए– सत्यमोहन ।
मैले सत्यमोहन जोशीलाई सम्झनुपर्दा हामी दुई आबद्ध केही संघ, संस्था र कार्यक्रमलाई सम्झनुपर्ने हुन्छ । पहिलो कुरा त तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको प्रसंग उठ्छ । सत्यमोहन जोशी उक्त प्रतिष्ठानमा पहिलो सह–सदस्य र पछि सदस्य सचिव भएर १० वर्ष (२०२६–२०३६) सम्म सेवारत रहे । मैले पनि त्यसपछिका १० वर्ष (२०३६–२०४६) प्रज्ञा–प्रतिष्ठानमा पहिले सदस्य र धरै काल सदस्य सचिव भएर काम गरें । त्यसपछि २०५२ सालदेखि हामी दुवै प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य बन्यौं । त्यस नातामा उनीसँगको सामीप्य सौभाग्यको कुरा थियो । त्यसका अतिरिक्त उनी र मेरो भेटघाट मदन पुरस्कार गुठीको कार्यक्रममा पनि बाक्लै रह्यो । मेरो सौभाग्य, विसं २०६३ को जगदम्बाश्री पुरस्कार मलाई प्रदान गर्दा उक्त कार्यक्रममा उनले नै मलाई ओल्काएर स्टेजमा उकालेका थिए । तीनपल्ट मदन पुरस्कारबाट सम्मानित व्यक्तित्वबाट त्यो अवसर पाउनु मेरा लागि अहोभाग्यको विषय थियो । यसैगरी अर्को प्रतिष्ठित संस्था ‘ज्ञानगुनका कुरा’ ले मलाई नयराज पन्त शोध सम्मान प्रदान गर्दा पनि उनकै हातबाट प्रशंसापत्र आदि प्राप्त गरेको थिएँ । म कति भाग्यमानी ! मेरो विशेष संलग्नता भएको अर्को सामाजिक संस्था ‘शेष–हीरा प्रतिष्ठान’ को स्थापनाकाल २०५२ सालबाटै उनले हामीलाई समाज सेवा एवं संस्थागत विकासका लागि मार्गदर्शन गर्दै आएका थिए । उनलाई २०५५ साल फागुन १९ गते विशेष सम्मानका साथ मानार्थ सदस्य बनाउन पायौं भने २०७२ चैत २७ गते शेषराज दलीको स्मृतिमा ‘शताब्दी पुरुष सत्यमोन जोशीलाई’ विशेष अभिनन्दन गर्ने अवसर मिल्यो । प्रतिष्ठानका संस्थापक शेषराज दलीलाई उनी नजिकैबाट चिन्थे । उनले शेषराज दली शताब्दी स्मृति ग्रन्थका लागि लेखेको श्रद्धाञ्जली मन्तव्यको पहिलो पंक्ति यसप्रकार छ—
‘म पाटनको मान्छे भए पनि दरबार स्कुलमा पढेको हुनाले यहाँबाट दरबार स्कुल पढ्न जाने एउटै थिएँ अर्थात् स्कुलमै पाटनको एक्लो विद्यार्थी । एक्लै जान्थें, एक्लै आउँथें । पछि अरू पनि जान थाले । त्यसरी पढेको हुनाले दरबार हाइस्कुलको चालामाला मलाई थाहा छ । शेषराजजी र गोपाल पाँडे ‘असीम’ सहपाठी हुनुहुन्थ्यो— हामीभन्दा तीन–चार वर्ष सिनियर । भीमबहादुर पाँडे, ज्ञानबहादुर, अमृत साइन्स क्याम्पसका संस्थापक अमृत आदि त्यो बेलाको समूहमा सिद्धिचरण श्रेष्ठ पनि थिए ।’
नेपाल र नेपालीको विविधतामा एकता हेर्ने, देख्ने र स्थापित गर्ने–गराउने काममा सत्यमोहन जोशीका कृतिहरू धेरै छन् । त्यसमध्ये कमै चर्चामा आउने गरेको उनको ‘पर्यायवाची शब्द–कोश (२०३०)’ नामक ग्रन्थबारे थोरै प्रकाश पार्नु उचित होला । किनभने यो पनि एक कीर्तिमानी कृति हो भन्ने मलाई लाग्छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा कार्यरत रहँदा उनी आयोजक बनेर तयार भएको साढे सत्र इन्च (१७.५ इन्ज) लम्बाइ र एघार इन्ज (११ इन्च) चौडाइको आकारको १८७ पृष्ठको पुस्तक आफैंमा असामान्य देखिन्छ । दराजमा हत्तपत्त अटाउँदैन पनि । त्यसैले अरू पुस्तकमाझ सधैं टड्कारो देखिन्छ । यो पुस्तकलाई सम्झने क्रममा हामीले त्यसमा विशेष योगदान पुर्याउने २३ जना भाषाविज्ञहरू तथा शब्द संकलन र सम्पादनको जिम्मा पाएका पुष्कर लोहनीलाई बिर्सिन मिल्दैन । यस पुस्तकले १३ वटा नेपाल भाषाहरूलाई समावेश गरेको छ । पहिलो कोलम महलमा नेपाली शब्द र त्यसको अर्थ खुलाइएको छ भने त्यसपछि लहरै गुरुङ, चेपाङ, तामाङ, थारू, दनवार, नेवारी, भोजपुरी, मगर, मैथिली, राई, लिम्बू, लेप्चा र सुनवार भाषाका १३ महल कोलम राखिएका छन् । प्रत्येक शब्दको क्रमसंख्या दिइएको छ । ती एकदेखि २, ९, १६ सम्म छन् । अर्थात् झन्डै तीन हजार नेपाली शब्दका पर्यायवाची अरू भाषाका शब्द राखिएका छन् । त्यसमा अतिरिक्त प्रत्येक भाषाका शब्दहरूको संग्रह अ देखि ज्ञ सम्म क्रमैले राखिएको अनुक्रमणिका पनि छ र प्रत्येक शब्द कुन पृष्ठमा भेट्टाइन्छ भन्ने पृष्ठांक पनि अंकित छन् । यसप्रकार उसबेलाको ‘लेटर प्रेस’ प्रविधिभित्र बसेर यो काम गर्ने धैर्य निकै सराहनीय मान्नुपर्छ । यस पुस्तकको अर्को महत्त्वपूर्ण पक्ष यसमा समावेश नक्साहरू हुन् । प्रत्येक भाषाका नेपालीहरू नेपालको कुन भागमा बसोबास गर्छन् भन्ने विषयमा छुट्टाछुट्टै नक्सांकन गरिएको छ । त्यसका अतिरिक्त नेपाललाई १० भौगोलिक क्षेत्रमा विभाजन गरिएको प्राकृतिक स्वरूपको नक्सा निकै व्यावहारिक र वैज्ञानिक पनि छ । त्यसअनुसार, पूर्व पहाडभित्र १० जिल्ला, पूर्व भित्री मधेसमा दुई जिल्ला, पूर्व तराईमा ९ जिल्ला पर्न आउँछन् । सुदूरपश्चिममा पहाडमा ८ जिल्ला र मध्य भित्री मधेसमा ३ जिल्ला पर्न आउँछन् । पश्चिम भित्री मधेसमा दुई जिल्ला तथा पश्चिम तराईका ४ जिल्ला पर्छन् । सुदूर पश्चिम तराईमा ४ जिल्ला समावेश छन् । आञ्चलिक विभाजन अनुसार, १४ अञ्चलमा ७५ जिल्ला समावेश छन् । यसप्रकार नेपालको भूस्वरूप र प्रशासनिक विभाजन कुनै पनि विकास योजनाका लागि एक महत्त्वपूर्ण सामग्रीका रूपमा स्थापित गराउने काम यस पुस्तकले गरेको देखियो । वर्तमान नेपालको राज्य व्यवस्था तथा भाषिक एवं सांस्कृतिक स्वरूप कहाँबाट, कसरी विकसित भयो र अब आउने दिनमा कस्तो दिशा लिनुपर्ला भन्ने अठोट गर्न यो दस्तावेज अति उपयोगी हुने भएकाले यसको पुनः मुद्रण हुनु आवश्यक देखिन्छ ।
पुस्तकको परिचयात्मक विवरण सत्यमोहन स्वयंले लेखेका छन् । विविधतामा एकता, एक राष्ट्रियताको सिर्जना, विकासमा जातीय भाषाहरूको महत्त्व र भूमिकाबारे स्पष्ट जानकारी त्यहाँ पाउँछौं । मातृभाषा र बोल्न सक्ने अरू भाषाको तथ्यांकको महत्त्व उजागर भएको पाउँछौं । कुन भाषा कुन क्षेत्रमा क–कसले बोल्छन् भन्ने विस्तृत वर्णन पनि त्यहीँ छ । यस्तो शब्दकोश यसभन्दा पहिले कहिल्यै बनेको थिएन । पछिका दिनमा भाषिक सर्वेक्षण, तथ्यांक संकलनका लागि आवश्यक मार्गदर्शन र मार्गचित्रण गर्ने अति महत्त्वको सामग्रीका रूपमा खडा छ यो । यो प्रयोगात्मक रूपमा थालिएको पहिलो कार्य भएकाले यसमा पहिलोपल्ट १४ भाषाहरू मात्रै समाविष्ट भएको उल्लेख छ । वर्तमान अवस्थामा नेपालमा १०० भन्दा बढी भाषाभाषीहरू भएको तथ्यहरू प्रकाशित छन् । हाम्रो भाषिक वैभवलाई उजागर गर्न कस्तो उद्देश्यले काम गर्नुपर्छ भन्ने बोध जोशीले प्रस्तुत गरेका ७ उद्देश्यभित्र समाहित हुन आउँछ । तिनलाई यसप्रकार उल्लेख गर्न सकिन्छ—
१. भाषाको एकतामा नेपाली राष्ट्रियताको फल्दोफुल्दोपनासँग चिनारी गर्नु–गराउनुका साथै एक भाषाभाषीले अर्को भाषाभाषीलाई आत्मसात् गराउने ।
२. एकले अर्कोसँग भएको विशिष्ट गुण र विशेषता ग्रहण गर्ने बानी बसाउने ।
३. एक भाषामा भएको शब्द अभावमा अर्को भाषाबाट आपूर्ति गर्ने ।
४. ‘चार वर्ण ३६ जातको फूलबारी’ भन्ने कथनलाई भाषिक पक्षबाट चरितार्थ गराउने ।
५. नेपालमा बोलिने विभिन्न भाषाका शब्द–ग्रहणद्वारा राष्ट्र भाषा नेपालीलाई समृद्ध तुल्याउने ।
६. क्षेत्रीय अथवा जातीय भाषाहरूलाई लाभान्वित गराउने र निकटतम आपसी सम्बन्ध कायम गरी एकले अर्कालाई सघाउने ।
७. नेपाली भाषा–विज्ञानका विद्यार्थीहरू एवं अनुसन्धाताहरूलाई तुलनात्मक भाषा–विज्ञानमा प्रशस्त मात्रामा अन्वेषण क्षेत्र औंल्याउने ।
सत्यमोहन जोशीले विसं २०३० असारमा लेखेको उपरोक्त विवरण तथा भाषिक मानचित्र २०१८ सालको तथ्यांकमा आधारित थिए । बितेका ६० वर्षभित्र नेपालमा परिवर्तनको भंगालो नै फुटेको अवस्था छ । कतिपय भाषाहरू लोप पनि भइसके । सत्यमोहन जोशीको आफ्नै मातृभाषा नेवारी बोल्ने हाम्रो काठमाडौंको समाजमा आजका पुस्ताले नेवारी बोल्दैन । यसप्रति चासो र चिन्ता जनाउँदै उनी स्वयं परलोक भएका छन् । तर, उनका विचारहरू जिउँदै छन् । त्यसतिर मनन गर्न सकौं भन्ने कामना गर्छु ।
सत्यमोहन जोशीका प्रकाशित कृतिहरू नेवारी मातृभाषामा तथा नेपाली राष्ट्रभाषामा थुप्रैथुप्रै छन् । तीमध्ये उनको एक मात्र यात्रा साहित्य ‘न्युजिल्यान्डमा पहिलो नेपाली’ को थोरै चर्चा गर्न चाहन्छु ।
उपरोक्त पुस्तक पढेपछि मलाई लाग्यो, सत्यमोहन न्युजिल्यान्ड पुग्दा त्यहाँ पहिलो नेपालीभन्दा पहिलो नेपाल पुगेको स्पष्ट देखिन आउँछ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पुग्ने अथवा भनौं त्यस शिविरमा आफ्नो शिर झुकाउन पुग्ने मानवद्वव नेपालको तेन्जिङ नोर्गे शेर्पा तथा हातेमालोमा पुग्ने न्युजिल्यान्डका एडमन्ड हिलारीको कीर्तिमानी सफलतामा रमाइरहेको शुभघडीमा त्यहाँ पुग्नु, त्यो पनि सत्यमोहन जोशी पुग्नु सिंगो नेपाल पुग्नुजत्तिकै भएछ । विदेशी भूमिमा नेपालको प्रतिनिधित्व गर्नुमा सत्यमोहनभन्दा उपयुक्त विद्वान् अरू को होला ? उनलाई नेपाल र नेपालीबारे तथा विशेष गरि हिमाल, हिममानव, तेन्जिङको गाउँघरबारे थुप्रैथुप्रै जिज्ञासाहरूको सामना गर्नुपर्यो र साथै नेपाली लोकगीत पनि सुनाउनुपरेको उल्लेख गरेका छन् जोशीले
आफ्नो पुस्तकमा । उनी लेख्छन्, ‘मलाई अफिसमा गएर काम सिक्न जाने कि संघ–संस्थामा गएर भाषण दिन जाने भनेझैं हुन लाग्यो । कति माया गरेर, उत्सुकता र कौतूहल बोकेर आउनेहरूलाई नाइँनास्ति गर्ने कुरो पनि भएन.... ।’ न्युजिल्यान्डको ‘फ्रिलायन्स’ पत्रिकाले अग्रभागमा नेपाली टोपी लगाएको फोटोसहित अग्रलेख छापेकामा उनी निकै प्रसन्न भएको पनि हामी पढ्न पाउँछौं । उनी भन्छन्, ‘अनि मैले न्युजिल्यान्डमा खुट्टा टेक्दा मैले पाएको अभूतपूर्वको आतिथ्य सत्कारको रहस्य मलाई स्पष्ट हुँदै गयो...। एउटै टेबुलमा बसेर हामीहरू लन्च खान बस्यौं । नौलो मानिस देखेर लन्च खान आएका अरू मानिसहरू मलाई हेर्न थाले । मचाहिँ आफ्नै लवेदा सुरुवाल र भादगाउँले टोपीमा नै थिएँ...।’
सत्यमोहन जोशीले भादगाउँले टोपीबाट सामान्य हल्का रङको टोपी पहिरन कहिले र कसरी थालनी गरे, त्यसको ज्ञान मलाई छैन । तर, सत्यमोहन जोशीको टोपी मेरो सम्झनाको एक अभिन्न अंग बनिरहेको छ । धन्य त्यो टोपी !
गोपाल योञ्जनको गीतले भनेजस्तै जहाँ पनि, जहिले पनि सत्यमोहनको त्यो टोपी अघि बढिरहेकै थियो, त्यो थियो ‘हितैको साथीजस्तो, आमाको छातीजस्तो ।’
मेरो टोपी कैलाशको शिरजस्तो, हिमाली भीरजस्तो
कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने...
सगरमाथा उँभो पनि मेरो टोपी चड्दै थियो
मेरो टोपी खोज्दै गएँ सागरदेखि सगरसम्म
जहाँ पनि जहिले पनि यो त अघि बड्दै थियो
मेरो टोपी हितैको साथीजस्तो, आमाको छातीजस्तो...
https://ekantipur.com/koseli/2022/10/22/166640940544363825.html
No comments:
Post a Comment