नेवाः संस्कृतिविद् भन्छन्– राँगाको मासुबाट कम्तीमा ६४ व्यञ्जन बन्छ । तर, तीमध्ये केही लोप भइसके । मल्लकालतिरका थुप्रै परिकार अब कथा–किस्सामा सीमित छन् । तर, खुसीको कुरा के भने राँगाका अधिकांश परिकार अझै जीवन्त छन् । भान्सामा निरन्तर पाकिरहेकै छन्, खानाका थालीमा सजिएकै छन् ।
काठमाडौं उपत्यका र यहाँका नेवाःहरू (नेवारहरू)सँग जे–जति पक्ष जोडिएका छन्, तिनका केही न केही कथा हुनेगर्छ । एक पुस्ताले अर्को पुस्तालाई यस्ता कथा सुनाउँदै आएको छ । हाम्रो पुस्ताले पनि एउटा यस्तै कथा सुनेको छ । र, कथाले भन्न खोजेको छ— नेवारहरूले किन राँगाको मासु खान थाले ? भनिन्छ, जब इतिहासमा प्रमाणहरू पाउन गाह्रो हुन्छन्, त्यहाँ कथाहरू सुरु हुन्छन् । अझै रमाइलो त के छ भने यस्ता कथामा देउताहरू पनि मान्छेजस्तै बोल्छन् ।
अनि देउताहरू काठमाडौंका सडक–गल्लीमा आम मान्छेसँगै ओहोरदोहोर पनि गर्छन् । राँगाको मासुसँग जोडिएको कथाले भन्छ— जतिबेला राजा हरिसिंह देव नेपाल आए, बाटामा उनका सेना भोकभोकै मर्न थाले । अब के गर्ने त ? राजा हरिसिंहले आफ्ना संरक्षक देवी तलेजुलाई प्रार्थना गरे । देवीले सबैभन्दा पहिले दर्शन दिइन् र सबै विषय बुझेर भनिन्, ‘भोलिपल्ट बिहान सुरुमा जे फेला पर्छ, त्यही खानु ।’ बिहानै राजाले एउटा राँगा देखे । पछि त्यही राँगा काटियो र काटेपछि देवीबाट मासु खाने अनुमति प्राप्त भयो ।
कथा हल्का यताउता होला, तर लगभग सबैले यस्तै कथा भित्री काठमाडौंमा पक्कै सुनेको हुनुपर्छ । कत्ति वाचकले कत्ति श्रोतालाई सुनाएको पनि हुनुपर्छ । वंशावलीमा पनि यस्तै कथा लेखिएको छ । पूर्वीय संस्कृति र इतिहासका फ्रान्सेली ज्ञाता सिल्भाँ लेभीले पनि यस्तै कथा सुने । कथाबारे लेखेर पनि गए । पछि उनले नेपालको इतिहास पनि लेखेका छन् । धेरैअघि नेपाल आएका लेभीले अझ भनेका छन्, ‘नेवार मासुका भोगी हुन् । नेवारहरू थरीथरीका मासु खान्छन्, तर उनीहरूले खासमा खाने भनेकै राँगाकै मासु हो ।’
काठमाडौंको रहनसहन अध्ययन गरेपछि लेभी असाध्यै अचम्भित भए, नेवारहरूले राँगाको मासुबाट यति धेरै परिकार बनाउन कसरी जानेका होलान् ? उनले देखे– काठमाडौंका नेवारहरू खुला स्थानमा बसेर राँगाको मासु र रक्सी खाँदै, गीत गाउँदै, नाच्दै गरेका सानदार दृश्य ! सायद त्यहीं उनलाई कसैले सुनायो— नेवारले राँगाको मासु खान किन सुरु गरे भन्ने कथा π कथा सुनाउनेले यो पनि पक्कै भनेको हुनुपर्छ, ‘राँगाको मासु केवल मासु होइन, बरु देउताको प्रसाद पो हो ।’
नेवारका हरेक संस्कृतिमा कथा मात्र हुँदैनन्, त्यसमा दर्शन पनि लुकेका हुन्छन् । र, त्यससँग धर्म पनि जोडिन्छ । राँगाको मासुको पनि आफ्नै संस्कृति छ, मिथक छ । र, यसको इतिहास पनि छ । यहाँ माथि वर्णित तिनै राजा हरिसिंह देवसँगै तलेजु भवानी पनि सान्दर्भिक छिन् । नेवारहरूका कुलदेवी हुन्— तलेजु । मल्ल राजाहरूले पनि तलेजु भवानीलाई आफ्ना अभीष्ट देवी माने । उनीहरूले यी भवानीलाई राजकीय मान दिए । त्यसैले धेरै प्रसंगमा मल्ल राजासँगै तलेजु भवानी देवी जोडिएर आउँछिन् ।
पछि काठमाडौंका मल्ल राजाहरूले आफ्ना इष्टदेवीका रूपमा हनुमानढोकामा तलेजु भवानीको भव्य र विशाल मन्दिर बनाए । दसैंका बेला तलेजु भवानीको विशेष पूजा–आराधना गरिन्छ । खासमा यिनै तलेजुसँग राँगाको मासुको कथा मज्जाले जोडिन्छ । दसैंका बेला तलेजु भवानीलाई राँगाको बलि दिइन्छ । मानिसहरूको विश्वास छ— देवीदेउतालाई चल्ने राँगाको मासु प्रतीकात्मक रूपमा प्रसाद नै त हो π र, तलेजु भवानी शक्तिकी प्रतीक भइन् । राँगाको मासु एकप्रकारले शक्ति सञ्चय गर्ने प्रक्रिया भयो, देवीलाई खुसी बनाएर !
राँगाको मासुमा पल्केपछि
संस्कृतिविद् एकाराम सिंले राँगाको मासुमाथि लामै अध्ययन गरे । तर, देहान्तका कारण उनको अध्ययन ठ्याक्कै पूरा भने हुन पाएन । उनी भन्थे, ‘राँगाको बलि दिने चलन भारतबाट सुरु भएको हो । पछि यो सजिलै नेपाल पनि भित्रियो ।’ रमाइलो के भने भारतमा राँगाको बलि त दिइयो, तर मासु खाने काम भएन । काठमाडौंका नेवारले बलि दिन पनि जाने, खान पनि जाने । नेवारलाई मासु खाएर मात्रै पुगेन, राँगाका अनेक–अनेक व्यञ्जन पनि निकाले । र, मासुको स्वादलाई अझै परिस्कृत बनाए ।
संस्कृतिविद् सिं पनि मान्थे, ‘राँगाको मासु प्रसाद नै हो किनभने यो सबै देउतालाई चल्छ, तलेजु भवानीलाई मात्रै होइन् ।’ खासमा राँगाको मासुसँग कति मज्जाले देउता, पीठ जोडिएका छन् भने त्यसको अलग्गै अध्ययन हुन सक्छ । राँगाको मासुसँग अष्टमातृका पनि जोडिएर आउँछ । सिं के पनि विश्वास गर्थे भने नेवारहरू सुरुमा भेडाको मासु खान्थे, पछि मात्रै राँगाको मासु खान थालेका हुन् । तर, एकपल्ट खाए र सधैंका लागि बेजोडले पल्किए ।
ठीक यहींनिर शाक्त सम्प्रदायलाई जोड्न सकिन्छ । खासमा काठमाडौं उपत्यका शाक्त पीठका रूपमा प्रसिद्ध छ । लिच्छविकालमै काठमाडौंमा यो मत लोकप्रिय थियो, मल्लकाल पुग्दा/नपुग्दै अझै लोकप्रिय भयो । यसमा देवी–देउताको उपासना गरिन्छ अर्थात् शक्तिकै उपासना । शाक्तमा दुई सम्प्रदाय छन्— समयाचारी र कौलमार्गी । हाम्रोमा कौलमार्गी बढी पाइन्छ । र, यसमा सबैभन्दा बढी पञ्चमकारको दर्शन पाइन्छ ।
पञ्चमकारको प्रमुख अंश मांस अर्थात् मासु हो । संस्कृतिविद् सुजनविलास वज्राचार्य भन्छन्, ‘यही दर्शनले मासुको प्रयोग सुरु भयो र यो भनेको पछि गएर राँगाको मासु नै रह्यो ।’ अझ उनी के पनि मान्छन् भने लिच्छविसँगै काठमाडौंमा यक्षको सोचले पनि प्रवेश पायो । र, यक्षलाई चल्ने मासु नै हो, त्यो पनि राँगाकै मासु ! यसरी नेवारहरू विभिन्न दर्शन र कारणमा टिके अनि राँगाको मासु खान थाले । अन्ततः नेवारहरू सधैंका निम्ति पल्के ।
संस्कृतिको अभिन्न अंग
संस्कृतिविद् रुक्मी श्रेष्ठले धेरै स्थानमा भनेकी छन्, ‘नेवार संस्कृतिको अभिन्न अंग हो राँगो ।’ यस पछाडिको तर्क निकै सटीक छ— नेवार संस्कृतिमा जन्मदेखि मृत्युसम्मै राँगाको मासु चाहिन्छ, त्यो नभई हुन्न । संस्कृतिविद्को तर्क छ— देवीदेवतालाई त राँगा चल्छ भने यो मानिसलाई नचल्ने कुरै भएन । खासमा राँगो नेवारका सबै जातमा चल्छ । अरू केही नभए पनि ठीकै होला, तर राँगाको मासु भनेपछि कुरा मिल्छ ।
रोचक कुरा त के भने विभिन्न व्यञ्जनका लागि राँगाको मासु टाउकोदेखि पुच्छरसम्मै प्रयोग हुन्छ, फ्याँक्नुपर्ने केही हुन्न । र, फ्याल्ने भनेको विकार मात्रै हो । नेपालभाषाकी लेखक उमा श्रेष्ठले राँगाको मासु र यसका परिकारबारे लामै अनुसन्धान गरेकी छन् । र, त्यसको निचोडमा एउटा किताब पनि लेखेकी छन् । किताबको नाम छ– नेवाः नसाय् लाया परिकार । राँगाको मासु र यसका परिकारबारे बुझ्न खोज्नेका लागि किताब उपयोगी छ । श्रेष्ठका अनुसार, राँगाको शरीरबाट गनेर त्यस्ता ६७ भाग निकाल्न सकिन्छ, जसबाट थरीथरीका व्यञ्जन बनाउन सकिन्छ । उनी मात्रै होइन्, अधिकांश नेवाः संस्कृतिविद् के पनि मान्छन् भने राँगाको मासुबाट कम्तीमा ६४ परिकार बन्छन् । तीमध्ये केही परिकार लोप भइसके । मल्लकालतिरका ती परिकारबारे कथा–किस्सा सुन्न मात्रै पाइन्छन् । तर, के कुरामा खुसी लाग्छ भने राँगाका अधिकांश व्यञ्जन अझै जीवन्त छन् । भान्सामा निरन्तर पाकिरहेकै छन्, खानाका थालिमा सजिएकै छन् ।
खासमा समयअनुसार राँगाको मासुको परिकार फेरिएका छन् । सायद नयाँ थपिएका छन् । लेखक उमा श्रेष्ठका अनुसार, राँगाका ६४ थरी परिकारलाई अनेकथरी तरिकाले पकाउन सकिन्छ । र, पकाउने तरिका कम्तीमा ३६ थरीको छ । आफ्नो पुस्तकमा उनले प्राचीन मल्लकालको भक्तपुर दरबारमा बनाइने राँगाको मासुको विशेष परिकारबारे उल्लेख गरेकी छन् । एकपल्ट कुनै प्रदर्शनीमा यस्तै पुराना परिकार बनाउने र पस्किने काम पनि भएको थियो ।
मासु एक परिकार अनेक
अब मूल प्रश्न, राँगाको मासुबाट बन्ने ती मुख्य–मुख्य परिकार के–के हुन् त ? यसको उत्तर समय र मौसमले पनि फरक पार्न सक्छ । जे होस्, सबैभन्दा पहिले चर्चा गरौं, ‘दायेका ला’बारे । भोजमा अनिवार्य हुन्छ— दायेका ला । खासमा दायेका ला राखेपछि मात्रै औपचारिक रूपमा भोज सुरु हुन्छ । यसले पनि प्रस्ट पार्छ, दायेका लाको महत्त्व ।
अब ‘तःखा’ र ‘सन्याखुना’को पालो । यी दुवैलाई राँगाको मासुको मुख्य परिकार मान्नुपर्छ । र, यो सधैं उपलब्ध पनि हुँदैन । यो परिकार खान चिसो मौसम पर्खिनैपर्छ । तःखा पकाउने निश्चित समय हुन्छ, त्यो समय दसैंबाट सुरु हुन्छ र श्रीपञ्चमीसम्म मात्रै चल्छ । मासु पकाएपछि त्यसलाई जमाएर तःखा तयार पारिन्छ । जमाउन त जाडो नै चाहियो । तःखा बनाएर जोगिएको झोलबाट सन्याखुना बनाइन्छ । कसैले यसलाई ‘न्याखुना’ पनि भन्छन् । एउटै परिकारको ठाउँअनुसार नाम पनि फरक छ ।
‘गोर्मा’बारे भने खासै चर्चा हुन्न । यो परिकार कमै मानिसले चाखेको हुनुपर्छ । के भनिन्छ भने जतिले गोर्मा खाएका छन्, ऊ ठूलै पारखी बनिसकेको हुन्छ । गोर्मा लगभग तःखाजस्तै हो, तर यसमा पुरानो मासु प्रयोग गरिन्छ । पुराना मासुले दिने गन्ध र स्वाद फरक हुन्छ । जतिबेला यो गन्ध र स्वादलाई ठीक ढंगले परिष्कृत रूप दिइन्छ, त्यसको कुरै बेग्लै हुन्छ । यो विशिष्ट गोर्मालाई तिब्बतको ल्हासामा गएर व्यापार गरेका नेवारले काठमाडौं भित्र्याएको मानिन्छ ।
यस्तोमा भन्न करै लाग्छ, राँगाको मासुको परिकारमा तिब्बततिरको प्रभाव पनि छ । अब ममः पनि त उतैबाट भित्रिएको मानिन्छ । मासुलाई निकै सानो–सानो टुक्रा बनाएर एउटा स्वादिलो परिकार बन्छ । त्यो हो, ‘छ्याल्ला’ । अझ धेरै सानो टुक्रा पारियो भने त्यसलाई ‘चुंला’ भनिन्छ । मासुको आकारले पनि फरक स्वाद दिन्छन्, त्यसैले आकारकै आधारमा राँगाको मासुका परिकार पनि बनेका छन् । मासुलाई कसरी पकाउने हो, त्यसले पनि फरक–फरक स्वाद दिने नै भयो । उसिनेर खाए, ‘मनाला’ । फ्राई गरे, ‘पुकाला’ । सबैभन्दा बढी विविधता हुने यही पुकालामा हो, यो कम्तीमा पनि २० थरीको हुन्छ ।
नेवार संस्कृतिमा ज्वाइँलाई खुबै मानिन्छ । त्यसैले ससुरालीमा ज्वाइँको स्वागत र आतिथ्य गरिन्छ, यही पुकालासँगै । पुकालाकै एउटा विशिष्ट परिकार हो— ‘सःपु म्हिचा’ । पछिल्लो समय यो लोकप्रिय छ । ‘कचिला’ पनि उत्तिकै लोकप्रिय छ । र, कचिला पकाउनै पर्दैन । असलमा कचिला काँचो मासुकै परिकार हो । तर, अनुभवी र पारखी हातले त्यही काँचो मासुलाई कसरी मोल्छन्, त्यसमा यसको स्वाद निर्भर हुन्छ ।
अचेल सबैभन्दा बढी लोकप्रिय र धेरै पारखीले रुचाउने परिकार हो— ‘छ्वयला’ । तर, छ्वयला कम्तीमा एक दर्जनथरी छ । जस्तो ‘मना छ्वयला’, ‘हाकु छ्वयला’, ‘तःकु छ्वयला’, ‘भाजं छ्वयला’, ‘मखमल छ्वयला’, ‘रेसम छ्वयला’ । जब स्टिमपछि मात्रै खाइन्छ, त्यो ‘हायेला’ भयो । साँधेर खायो भने ‘वालेगु ला’ भयो ।
अझै ‘किमाला’ पनि छ, जसमा मासुसँग चामलको धूलो मिसाइन्छ । यसरी परिकारको सूची लामो न लामो बन्छ । जस्तो, ‘हिंला’, ‘पंला’, ‘बुल्ला’, ‘छकुला’, ‘जँला’, ‘लाग्व’, ‘लापि’, ‘लकुला’ आदि आदि । फेरि नेवारको भान्छामा पाक्ने त्यस्तो कुन तरकारी छ र जसमा राँगाको मासु मिसाउनु हुन्न ? जुनसुकै परिकारमा पनि राँगाको मासु मिसाउन सकिन्छ, कम्तीमा झोल नै सही । अझ राँगाको मासुबिना पनि त्यसकै स्वाद चलाखीपूर्ण ढंगले निकाल्न सकिन्छ ।
अब ‘अथेन्टिक’ को कुरा
अचेल नेवार मात्रै राँगाको मासुमा पल्केका छैनन् । अरूहरू पनि व्यापक पल्केका छन् । अब भन्नुपर्ने हुन्छ— राँगो नेवारको मात्रै परिकार होइन । संस्कृतिविद्हरूको प्रश्न छ— राँगोलाई नेपालकै विशिष्ट राष्ट्रिय परिकार मान्दा के फरक पर्छ र ? सयौं वर्षको परम्परा र अभ्यासले खारिएर राँगो मात्रै होइन, नेवारले अरू विशिष्ट परिकार पनि पकाउन जानेका छन् । खासमा सानोतिनो उद्योगकै रूप लिँदै छ— नेवार खानाको परिकारले । त्यसमा पनि मुख्य त राँगोकै मासु भयो ।
सुजनविलास वज्राचार्य भन्छन्, ‘राँगाको मासुको परिकारको इतिहास बुझौं, दर्शन बुझौं, संस्कृति बुझौं । पकाउने विशिष्ट तरीका त पछ्याउनुपर्छ नै ।’ अचेल ‘अथेन्टिक’ चिनियाँ, फ्रान्सेली, स्पेनी खाना भन्ने चलन छ । ‘अथेन्टिक’ अर्थात् इतिहास, दर्शन, संस्कृतिदेखि नै उही विधि, उस्तै र ठीक तरिकाले पछ्याउनु । नेपाल भाषामा राँगोको मासुलाई ‘म्ये ला’ भनिन्छ । जतिबेला इतिहास र संस्कृति बुझेर ‘अथेन्टिक’ ‘म्ये ला’ खाइन्छ, त्यसको मीठास नै बेग्लै हुन्छ । आखिरमा ‘म्ये ला’ प्रसाद पनि त हो !
https://ekantipur.com/koseli/2021/08/28/163012175646169895.html
No comments:
Post a Comment