संस्कृतमा माया शब्दले भ्रान्ति वा छलकपट बुझाउँछ । यो प्राकृत शब्द हो । प्राकृत भाषामा मायाको अर्थ हुन्छ– आमा वा आमाको जस्तो निःस्वार्थ स्नेह । मायादेवी मातृदेवता हुन् । त्यसैले वैशाख पूर्णिमाका दिन नेपालमा अझै ‘रूखमुनि माई’ अर्थात् ‘मातृ देवता’ को पूजा गरिन्छ ।
दसौं शताब्दीको अन्त्यतिर ताडपत्रमा लेखिएको नेपालको सबैभन्दा पुरानो चित्र न्युयोर्कको एक संग्रहालयमा सुरक्षित छ । संग्रहालयका भूतपूर्व क्युरेटर मार्टिन लर्नरको टिप्पणी छ, ‘त्यो नवौं शताब्दीमा लेखिएको विहार बेङ्गालको दुर्लभ कलाकृति हो ।’ लर्नरको आलोचनामा प्रतापादित्य पालले लेखे, ‘त्यो चित्र दसौं शताब्दीको अन्त्यतिर नेपालमा लेखिएको हो ।’ त्यस चित्रमा प्रज्ञापारमिता र बुद्ध शाक्यमुनिको जन्मदेखि महापरिनिर्वाणसम्मका दृश्य क्रमशः देखाइएको छ । लर्नर र पालले चित्र–चर्चा गरेको चार दशकपछि कला, संस्कृति र इतिहासका अध्येता गौतमवज्र वज्राचार्यले त्यस चित्रमाथि आफ्ना सहमति–असहमति ‘कोसेली’ को यो अंकमा लेखेका छन्, प्रामाणिक रूपमा ।
चावहिलको लिच्छविकाल (अन्दाजी २००–८७९) को अभिलेखमा किन्नरी जातक भन्ने बौद्धकथाको वर्णन गरी लेखिएको रंगीन भित्तिचित्रको उल्लेख आएको छ (वज्राचार्य धनवज्र, लिच्छविकालका अभिलेख, विसं २०३० : १–२; पन्त, महेशराज, ‘जो शान्तपदमा जानुभयो’, नेपाल राष्ट्रिय साप्ताहिक, विसं २०७६, वैशाख १२) । त्यो भित्तिचित्र बच्न सकेको भए त्यहि नै नेपालको सबभन्दा पुरानो चित्र मानिन्थ्यो होला । तर, त्यो भित्तिचित्र बचेको हुनुपर्छ भनेर कल्पनासम्म पनि गर्न सकिँदैन किनभने यस्ता भित्तिचित्र मात्रै होइन कि पौभा (पटचित्र), ताडपत्र वा काठमा लेखिएका अरू कुनै पनि लिच्छविकालको चित्रकला नेपालको ओसिलो हावापानीमा बच्न सकेका छैनन् । त्यसैले दसौं शताब्दीको अन्त्यतिर लेखिएको चित्र सबभन्दा पुरानो नेपालको चित्रमध्ये पर्छ । त्यो चित्र ताडपत्रमा लेखिएको हस्तलिखित ग्रन्थका लागि बनेको लामो, तर सानो काठको गातामा लेखिएको छ । अहिले त्यो गाताचित्र न्युयोर्कर्को मेट्रोपोलिटन म्युजियम आर्ट भन्ने एक प्रसिद्ध संग्रहालयको (एसेसन नं १९७९.५११) शीतातप नियन्त्रित कोठामा सुरक्षित छ (चित्र. १) ।
काठको गातामा लेखिएको सबभन्दा पुरानो नेपाली चित्र, दशौं शताब्दीको अन्त्यतिरको। मेट्रोपोलिटन् म्यूजियम् अफ् आर्ट, न्यूयोर्क, एसेसन् नं १९७९.५११ ।
त्यस गाताचित्रबारे सन् १९८४ मा म्युजियमका क्युरेटर मार्टिन लर्नरले त्यही साल भएको प्रदर्शनीको क्याटलगमा ‘द फ्लेम् एण्ड द लोटस’ शिर्षकमा विस्तारपूर्वक लेखेका छन् (लर्नर, मार्टिन, द फ्लेम् एण्ड द लोटस : इन्दिअन् आन्द् सोउथ् एशिअन् आर्ट् फ्रम् द क्रोमस् कलेक्शन्स् १९८४ः८६–८९) । लर्नरको भनाइअनुसार, त्यो गाताचित्र नवौं शताब्दीमा लेखिएको विहार बेङ्गालको दुर्लभ कलाकृति हो । त्यसको चार वर्षपछि सन् १९८८ मा प्रतापादित्य पालले ‘बुद्धिस्ट बुक इलुमिनेसन्स’ भन्ने ग्रन्थमा लर्नरको आलोचना गर्दै त्यस गाताचित्रबारे आफ्नो विचार पोखेका छन् (पाल, प्रतापादित्य, पेकारिक्, जुलिया, बुद्धिस्ट बुक इलुमिनेसन्स’, १९८८ः५–८) । उनको अध्ययनअनुसार, त्यो गाताचित्र दसौं शताब्दीको अन्त्यतिर नेपालमा लेखिएको हो । अहिले झन्डै चार दशकपछि त्यस चित्रमाथि म लेख्दै छु । मेरो अनुसन्धान अनुसार यी दुवै विद्वानसँग आफ्ना सहमति–असहमति जनाउँदै मैले देखे–बुझेको कुरो प्रामाणिक रूपमा प्रस्तुत गर्ने प्रयास यहाँ गरेको छु ।
प्रज्ञापारमिता देवी। सोही गाता।
यस गाताचित्रमा जम्मा पाँच दृश्य छन् । मध्यभागमा प्रसिद्ध बौद्ध देवता प्रज्ञापारमिता (चित्र. २) र उनका दायाँबायाँ बुद्ध शाक्यमुनिको जन्मदेखि महापरिनिर्वाणसम्मका चारवटा महत्त्वपूर्ण दृश्य क्रमशः देखाइएका छन् ।
प्रज्ञापारमिता वास्तवमा एक प्रसिद्ध बौद्ध ग्रन्थको नाम हो । महत्त्वपूर्ण धार्मिक ग्रन्थलाई देउता मानेर पूजा गरिने हुनाले प्राचीन परम्पराअनुसार चार हात भएकी देवीको रूपमा प्रज्ञापारमिताको प्रतिमा बनाउने चलन बन्यो । माथिल्लो दुई हातले अक्षमाला र पुस्तक लिएकी, अर्को दुई हातले झट्ट हेर्दा अञ्जली मुद्राजस्तो देखिने धर्मचक्र प्रवर्तन भनिने मुद्रा बनाएर पद्मासनमा बसेकी देवीको रूपमा यहाँ प्रज्ञापारमिताको चित्रण गरिएको छ । धर्मचक्र प्रवर्तनको शाब्दिक अर्थ हुन्छ– ‘धर्मको चक्र घुमाउनु’ । तापनि बौद्ध साहित्यमा बुद्ध अथवा अरू बौद्ध देवताहरूले धर्मोपदेश दिएको भन्ने बुझाउन यो शब्द प्रयोग हुन्छ । कुनै गम्भीर विषयमा व्याख्या गर्दा महत्त्वपूर्ण बुँदाहरू क्रमशः एक, दुई, तीन गरि गणना गर्दा कुरा बुझाउन सजिलो हुने हुनाले गुरु अथवा धर्मोपदेशकहरू अक्सर दुवै हातका औंला प्रयोग गर्थे । यही कुरा कलाकृतिमा चित्रण गर्दा दुवै हात जोडेर बनेको धर्मोपदेश मुद्राको अर्को नाम धर्मचक्र प्रवर्तन रहन गयो ।
इन्द्रेणीजस्तो देखिने रंगीन प्रभामण्डलले घेरिएको सुनको आसनमा बुट्टेदार रातो बालेस्टमा अडेस लिएर प्रज्ञापारमिता देवी दर्शकहरूतिर हेरेर बसेकी छन् । यी देवीको दायाँपट्टि फुलेको ठूलो कमल बायाँ हातले समातेर बसेका जटाधारी देवता हुन्– बोधिसत्त्व पद्मपाणि । अनि देवीको बायाँपट्टि दायाँ हातले वज्र समातेर बसेका सुनौलो मुकुट लगाएका बोधिसत्त्व वज्रपाणि हुन् ।
लुम्बिनीको दृश्य। सोही गाता।
प्रज्ञापारमिताको यो दृश्यबाहेक अरू सबै दृश्य बुद्ध शाक्यमुनिको जीवनीसँग सम्बद्ध छन् । लुम्बिनी वनमा मायादेवीले सिद्धार्थ गौतमलाई जन्माएको दृश्य यस गाताको सबभन्दा बायाँपट्टि (चित्र. ३) छ । यस दृश्यको बीचमा कालो बादलजस्तो झांगिएको बाक्लो रूखमुनि हाँगा समातेर मायादेवी त्रिमङ्ग मुद्रामा उभिएकी छन् । लहराजस्तो दायाँबायाँ तीन फन्को मारेर उभिएको लच्किलो अंगविन्यासलाई बुझाउने अर्को शब्द हो– त्रिमङ्ग । अलौकिक ढंगले भर्खरै काखीबाट जन्मको बच्चालाई सत्कार गर्न हातमा रुमाल लिएर देवताहरूका राजा इन्द्र मायादेवीको दायाँतिर हाजिर छन् । इन्द्रलगत्तै पछाडि हातमा कमण्डलु लिएका चतुर्मुखी ब्रह्मा र उनको पछाडि सुनौलो मुकुट लगाएका हरियो, नीलो रङका विष्णु पनि त्यहाँ उपस्थित छन् । विष्णुको लगत्तै पछाडि फेरि अर्को उभिइरहेको देवताको रूपरेखा देखिन्छ । नेपालको अरू चित्रकलामा जस्तै यहाँ पनि विष्णुको पछाडि महादेवको चित्रण गरिएको हुनुपर्छ ।
मायादेवीको बायाँपट्टि दुई परिचारिका छन् । नजिकैको परिचारिका हातमा चामर लिएर उभिएकी छन् । यी परिचारिका साँच्चिकैको परिचारिका नभइ मायादेवीकी बहिनी पजापती गोतमी हुन सक्छिन् । उनको पछाडि अलि सानो कदकी साह्रै राम्री परिचारिका दुवै हातले ठूलो बास्केट बोकर रानीको सेवा गर्न तयार छन् । सिद्धार्थ जन्मनासाथ हिँड्न सक्थे । उनले जहाँ–जहाँ पाइला टेके त्यहाँ–त्यहाँ कमल फुलेका थिए भन्ने कथाअनुसार यहाँ भुइँमा तीनवटा कमल फुलेका देखाइएको छ ।
नालागिरि हात्तीको दृश्य। सोही गाता।
यस दृश्यको दायाँपट्टि शाक्यमुनिको जीवनसँग सम्बन्ध राख्ने नालागिरि भन्ने हात्तीको चाखलाग्दो कथाको दृश्य (चित्र. ४) छ । लुम्बिनीको दृश्यसँग यो दृश्य छुट्याउन यी दुई दृश्यबीच रंगीन थामको प्रयोग गरिएको छ । यस गाताचित्रमा अन्त पनि यसरी नै दृश्य छुट्याइएका छन् ।
रंगीन थामसँगै गेरुवा रंगको चीवर पहिरेका भिक्षु आनन्द बुद्ध शाक्यमुनिको सबभन्दा मनपर्ने अनुयायीका रूपमा बुद्धका पछाडि शान्तिपूर्वक उभिइरहेका छन् । आनन्द र शाक्यमुनि दुवैको शिर अण्डाकार प्रभावलीले घेरिएका छन् । बुद्धले पनि गेरुवा रंगको चीवर लगाएका छन् । उनको अगाडि अजंगको सेतो हात्ती नालागिरि नतमस्तक भई बुद्धप्रति श्रद्धाभक्ति व्यक्त गरी भुइँमा बसेका छन् । कथाअनुसार, नालागिरि राजगृह दरबारको बुद्धिमान् हात्ती थियो । बुद्धलाई साह्रै मन नपराउने ईर्ष्यालु राजकुमार देवदत्तको कुरो सुनेर नालागिरिको बुद्धि बिग्रियो र राजदरबारबाट निस्केर उत्पात मच्यायो । बहुलाएको त्यो हात्ती सहरमा जताततै दगुर्न थाल्यो र उसले मान्छेहरूलाई खुट्टाले किचेर, सूँडले समातेर फाल्न थाल्यो । यसैबेला बुद्ध शाक्यमुनि र आनन्द भिक्षा माग्दै त्यस सहरमा पुगे । बहुलाएको हात्ती दौडेर आफूतिर आइरहेको देखेपछि पनि कत्ति नहडबडाईकन शान्तिपूर्वक उनीहरू आफ्नो बाटामा हिँडिरहेका थिए ।
नालागिरि हात्तीको दृश्य, अन्दाजी तेस्रो शताब्दीतिरको । तस्बिर : अमरावती स्तूप, सरकारी संग्रहालय, मद्रास।
बुद्धको यस्तो शान्त स्वरूप देख्नासाथ हात्तीको मन पग्ल्यो र विनीत भएर क्षमा माग्यो । नालागिरिको यो कथा तेस्रो शताब्दीतिरको अमरावतीको प्रस्तरमूर्तिमा पनि वर्णन गरिएको छ (चित्र. ५) । तर, अमरावतीको मूर्ति र यो गाताचित्रको वर्णन अलि फरक छ । यहाँ गाताचित्रमा हात्तीको शरीरभन्दा माथि आकाशमा उफ्रिरहेका दुई सिंहको चित्रण गरिएको छ । यस्तो चित्रण अमरावतीको प्रस्तरमूर्तिमा छैन । तर, लस एन्जेलस काउन्टी म्युजियम अफ् आर्टको संग्रहमा रहेको नेपालको सचित्र गातामा पनि नालागिरिको कथाको बयान गर्दा चारवटा सिंहले हात्तीलाई आक्रमण गरेको देखाइएको छ । पाश्चात्य जगत्मा सबभन्दा पहिले नेपाली कलाको प्रदर्शनी गरि प्रदर्शनीकै किताब लेख्ने विदुषी स्टेला काम्रिस्कको भनाइअनुसार, सिंह भनेको बुद्ध शाक्यमुनिको अलौकिक शक्तिको प्रतीक हो । यही अदृश्य शक्तिले नालागिरिको दमन गरिएको भन्ने भाव झल्काउन सिंहको चित्रण गरिएको हुनुपर्छ ।
नालागिरिको यस दृश्यपछि माथि वर्णन गरिएअनुसारको प्रज्ञापारमिता र बोधिसत्त्वहरूको वर्णन आउँछ (चित्र. २) । अष्टसाहस्रिका प्रज्ञापारमिता देवीको मूर्ति मुख्य प्रतिमाका रूपमा गाताको मध्यभागमा चित्रित गरिएको हुनुपर्छ ।
बुद्ध शाक्यमुनिको सबभन्दा पहिलो धर्मोपदेश। सोही गाता।
यही मध्यभागको लगत्तै दर्शकहरूको दायाँपट्टि बुद्ध शाक्यमुनि सुनको सिंहासनमा पलेंटी मारी प्रज्ञापारमिताले जस्तै दुवै हातले धर्मचक्र प्रवर्तन मुद्रा बनाई धर्मोपदेश दिइरहेका छन् (चित्र. ६) । उनको शिरपछाडि रातो प्रभावली तथा आसनमा नीलो, रातो र पहेँलो रंगको बुट्टा भएको ठूलो बालिष्ट देखिन्छ । त्यसैमा अडेस लगाएर शाक्यमुनि बसेका छन् । बुद्धले सबैभन्दा पहिले मृगदाव भन्ने तपोवनमा आफ्ना अनुयायीहरूलाई धर्मोपदेश दिएको महत्त्वपूर्ण दृश्य यो हो भन्ने बुझाउन सिंहासनमुनि धर्मचक्र र त्यसको दायाँबायाँ शान्तपूर्वक भुइँमा बसेका दुई मृग देखाइएका छन् । बुद्धले जस्तै रातो चीवर लगाएका भिक्षुहरू बुद्धको दायाँतिर अनि सुनको मुकुट र जटामुकुट लगाएका बोधिसत्त्वहरूचाहिँ बायाँतिर देखाइएका छन् ।
बुद्ध शाक्यमुनिको सबभन्दा पहिलो धर्मोपदेश। सोही गाता।
गाताको दायाँतिर पुछारमा देखाइएको सबभन्दा पछिल्लो दृश्य (चित्र. ७) बुद्ध शाक्यमुनिको महापरिनिर्वाण तथा उनले निर्वाण प्राप्त गर्नुपहिले आफ्ना अनुयायीहरूलाई दिएर गएको पछिल्लो धर्मोपदेशसँग गाँसिएको छ । चित्रको माथिल्लो भागमा फिक्का पहेँलो चीवर लगाएका बुद्ध शिरमा हात राखेर पल्टिरहेका छन् । त्यसको सोझै तल रातो रंगको चीवर पहिरेर पद्मासन बाँधी बसेका बुद्ध दुवै हातले धर्मचक्र प्रवर्तन मुद्राको प्रदर्शन गरी धर्मोपदेश दिइरहेका छन् । उनको दायाँबायाँ बुद्ध शाक्यमुनिजस्तै देखिने अरू बौद्ध देवताहरू ठूलठूला कमलमा पलेंटी मारेर बसेका छन् । लर्नर तथा पालको भनाइअनुसार, यो दृश्यले शाक्यमुनिले श्रावस्तीमा गरेको ऋद्धिप्रातिहार्य अर्थात् अलौकिक शक्तिको प्रदर्शनसँग सम्बन्ध राख्छ । यस प्रदर्शनमा बुद्धले आफूलाई बहुरूपमा परिवर्तन गरी देखाएका थिए । यसैले यहाँ बुद्धजस्तै देखिने आठवटा प्रतिमा देखाइएका हुन् तथा माथि पल्टिरहेका बुद्ध मैत्रेय बुद्ध हुनुपर्छ भनी उनीहरूले अन्दाज लगाएका छन् । यो कुरो अलि मिलेन, किनभने बुद्धको ऋद्धिप्रातिहार्यसँग मैत्रेयको कुनै सम्बन्ध देखिँदैन ।
संस्कृतमा ऋद्धिप्रातिहार्यलाई यमक प्रातिहार्य भनिन्छ । नेपाल, भारतका प्राचीन ताडपत्र र गाताचित्रहरूमा यो प्रातिहार्य देखाउँदा बुद्ध शाक्यमुनिबाहेक अरू दुइटा बुद्धको प्रतिमा दायाँबायाँ देखाइन्छन् । आठवटा बुद्धको प्रतिमा देखाउने चलन कतै देखिँदैन । अनि नियालेर हेर्दा बुद्धजस्तै देखिने प्रतिमाले वास्तवमा अर्कै घटनाको संकेत गर्छ । उनीहरूले चीवर पहिरेको तरिका साधारणतया अरू बेला लगाउने तरिकाभन्दा फरक छ । अक्सर शाक्यमुनिसहित अरू सबै भिक्षुहरू बायाँ काँध छोपेर दायाँ काँध खुलाएर चीवर लगाउँछन् । यसरी चीवर धोती अथवा उत्तरीय (शरीरको माथिल्लो भागमा लगाउने लुगा) लगाउने चलन बुद्धधर्म आउनुभन्दा पनि पुरानो चलन हो । यसरी लगाइएको वस्त्रलाई उपवीत भनिन्थ्यो । धर्मोपदेश सुरु हुनुभन्दा अगाडि अथवा गुरुचेलाहरू जम्मा भएर अध्ययन, अध्यापन सुरु गर्नुभन्दा अघि गुरु र चेला दुवैले यसरी बायाँ काँध छोपेर वस्त्र लगाउनुपर्ने नियमजस्तै थियो । धेरै शताब्दीको विकासपछि यस नियमले यज्ञोपवीतको जन्म दियो । अहिले यज्ञोपवीत भन्नाले डोरीजस्तो जनैलाई बुझाउँछ तापनि प्रारम्भमा बायाँ काँध छोपेर लगाइएको उपवीत वस्त्रलाई बुझाउँथ्यो ।
तर, ध्यान दिनुपर्ने विषय के भने बुद्धजस्तै देखिने बौद्ध देवताहरूले यहाँ दुवै काँध छोपेर चीवर लगाएका छन् । आफन्त अथवा विशिष्ट व्यक्तिको देहावसानपछि शोक प्रकट गर्न यसरी चीवर लगाइन्थ्यो । भारतमा कुषाणकाल (अन्दाजी ५०–२५०) मा बनेको ग्रीक र रोमनहरूको कलाशैलीसँग सम्बन्ध राख्ने गान्धारको कलाकृतिमा र त्यसको अनुकरणमा बनेका गुप्तकाल (अन्दाजी ३२०–६४७) को कलामा पनि यस्तो प्राचीन नियमको अनुसरण पूर्णतया हुँदैनथ्यो । तैपनि निर्वाणको दृश्य देखाउँदा गान्धारकै कलामा जहिले पनि सुभद्र भन्ने बुद्ध शाक्यमुनिका सबभन्दा पछिल्लो शिष्यले शोक मनाइरहेको भन्ने देखाउन उनले आफ्नो चीवरले दुवै काँध छोपेर ध्यान मुद्रामा दुवै हात काखमा राखेर बुद्धको खाटनजिकै बसिरहेको देखाइन्छ । यसरी चीवर लगाउनुको अर्थ बुझेरै गाताचित्रमा आठजना बुद्धका अनुयायीहरूलाई सुभद्र जस्तै देखिने गरी चित्रण गरिएको हुनुपर्छ भन्ने सजिलैसँग बुझ्न सकिन्छ ।
त्यसैले मेरो विचारमा गाताचित्रको यो पछिल्लो दृश्य बुद्ध शाक्यमुनिको यमक प्रातिहार्यसँग होइन बरु महापरिनिर्वाणसँग सम्बन्ध राख्ने दृश्य हो । तर, यहाँ बुद्धको निर्वाणको दृश्य र उनको अन्तिम धर्मोपदेशको दृश्य छुट्टाछुट्टै देखाउनुको सट्टा दुइटै दृश्य एकै ठाउँमा गाभेर देखाइएको छ । यस दृश्यको मध्यभागमा रातो चीवर पहिरेर पद्मासन बाँधेर ठूलो कमलमा बसेका देवता बुद्ध शाक्यमुनि नै हुन् । यो उनको अन्तिम धर्मोपदेश हो भन्ने बुझाउन निर्वाणको दृश्यसँगै बुद्धको प्रतिमा धर्मचक्र प्रवर्तन मुद्रामा देखाइएको छ । निर्वाण प्राप्त गर्नुअघि बुद्धले अनुयायीहरूलाई लामो धर्मोपदेश दिएका थिए भन्ने वर्णन त प्राचीन बौद्ध ग्रन्थहरूमा पाइन्छ । यो धर्मोपदेश कस्तो थियो भन्नेबारे चाहिँ महायान र तान्त्रिक विचारअनुसार अर्कै व्याख्या सुरु भयो । सो व्याख्याअनुसार, बुद्धको अन्तिम धर्मोपदेश कालान्तरमा प्रसिद्ध हुने भिन्नै किसिमको अनौठो बौद्ध धर्मबारे थियो । भविष्यमा आउने यो बौद्ध धर्म बुद्धले आफू छँदै प्रचार गरेको धर्मभन्दा अत्यन्त फरक थियो । कहिल्यै नसुनेको अनौठो ‘धर्म व्याख्या’ सुन्दा उनका अनुयायीहरू आश्चर्यचकित भएर भुइँमा लडे भन्ने वृत्तान्तको चित्रण यहाँ गरिएको छ । धर्मोपदेश दिइरहेका बुद्धको मुनितिर दायाँबायाँ चारजना व्यक्ति एक हात उठाएर अर्को हातले भुइँमा टेकेर आश्चर्यचकित भएर बुद्ध शाक्यमुनितिर हेरिरहेका छन् । नेपाली चित्रहरूमा देखाइने ऋद्धिप्रातिहार्यको दृश्यसँग यस दृश्यको केही सामन्जस्य देखिएको हुनाले नै यस विषयमा लेख्ने विद्वान्हरूलाई भ्रम पारेको हो । नेपाली कलाको इतिहासमा शृंखलात्मक वर्णन (कन्टिन्युस न्यारेसन) को चलन (वज्राचार्य गौतम, ‘नेपाली कालियदमनको कान्ति’, हिमालखबर, २ फागुन, विसं २०७९) लिच्छविकालदेखि नै चलेर आएको हुनाले यहाँ पनि कलाकारले बुद्धको निर्वाण र उनको अन्तिम धर्मोपदेश जोडेर प्रस्तुत गरेका हुन् ।
यस गाताचित्रमा योबाहेक अरू पनि नेपाली चित्रकलाको शैली र प्रतिमा (आइकनोग्राफी) सँग सम्बन्ध राख्ने विशिष्ट लक्षण देखिएका छन् । तीमध्ये सबभन्दा चटक्क छुट्टिने विशेषता लालुपाते रंगको पृष्ठभूमि हो । ताडपत्रमा लेखिएका अरू नेपाली चित्रमा पनि यस्तो पृष्ठभूमि प्रयोग भएका उदाहरण सजिलैसँग पाउन सकिन्छन् । नेपालको कुनै–कुनै प्राचीन चित्रहरूमा नीलो र रातो पृष्ठभूमि आलोपालो गरी प्रयोग गरिएका छन् । तर, यहाँ नीलो पृष्ठभूमिको अभाव छ ।
अलि सूक्ष्म दृष्टिले हेर्यौं भने स्वास्नीमान्छेहरूको भावपूर्ण लाम्चो आँखाको चित्रण गर्दा नेवारीमा न्यामिखा भनिने एक किसिमको माछाजस्तो देखिने गाजलु आँखाको प्रयोग यहाँ भएको देखिन्छ । यो नेपाली शैलीको अर्को लक्षण हो । लुम्बिनीको दृश्यमा धेरै ठाउँमा पाप्रो उडेको हुनाले मायादेवीको मुख यथावत बच्न सकेको छैन (चित्र. ३) । तर, परिचारिकाहरूको मुख अझै पनि स्पष्ट देखिन्छ । उनीहरूको माछापुच्छ्रे लामो आँखा नेपाली चित्रहरूमा देखाइने स्वास्नीमान्छेहरूको आँखासँग हुबहु मिल्दोजुल्दो छ । नियालेर हेर्दा यो बाहेक नेपाली कलामा देखिने मुखाकृति (फिजियोग्नमी) सँग सम्बन्ध राख्ने अरू लक्षणहरू पनि यहाँ देखापर्छन् । बिहार बंगालका पाल राजाहरूका पालामा लेखिएका चित्र र तात्कालिक नेपाली चित्रमा देखिने मुखाकृतिको भिन्नताबारे मैले अन्त लेखिसकेको छु (वज्राचार्य गौतम, वाट्सन् कलेक्शन् अफ् इन्दियन् मिनेचर्स् आर्ट् द एल्वेह्जेम् म्युजियम् अफ् आर्ट् २००२ः ५६) ।
हिन्दु देवताहरू पनि बुद्ध शाक्यमुनिको समान गर्थे भन्ने देखाउन नेपाली चित्रहरूमा इन्द्र मात्रै होइन ब्रह्मा, विष्णु र महादेवसमेत देखाइन्छन् । यही चलनअनुसार, यहाँ लुम्बिनीको दृश्यमा भर्खरै जन्मेको सिद्धार्थलाई स्वागत गर्न देवताहरूका राजा इन्द्रसहित अरू तीन हिन्दु देवताहरू उपस्थित भएको देखाइएको छ । भारतको प्रस्तरमूर्ति र चित्रकलामा मायादेवीले सिद्धार्थलाई जन्म दिएको दृश्यमा इन्द्र अपरिहार्य रूपमा देखाइन्छन् तापनि ब्रह्मा, विष्णु र महादेवको उपस्थिति त्यहाँ देखाइँदैन । यसरी चारैवटा प्रमुख हिन्दु देवताहरू भेला भएर बुद्धप्रति आफ्नो सम्मान देखाएको दृश्य त नेपालकै चित्रकलामा मात्रै पाइन्छ । यस विषयमा प्रतापादित्य पालले आफ्नो ग्रन्थमा विस्तारपूर्वक लेखेका छन् । (पाल १९८८ः ५–१०) यो गाताचित्र नेपालकै चित्र हुनुपर्छ भन्ने देखाउन उनले यहाँ अरू पनि प्रमाणहरू प्रस्तुत गरेका छन् । तर, लर्नर तथा पाल दुवैको अध्ययनमा एक महत्त्वपूर्ण पक्ष छुटेको छ, त्यो हो– लुम्बिनीको दृश्यमा मायादेवी र रूखको चित्रण गर्दा नेपाली कलाकारहरूले धेरै शताब्दीअघिदेखि निरन्तर अपनाउँदै आएको विशिष्ट शैली ।
अन्दाजी दोस्रो शताब्दी। स्मिथसोनियन् इन्स्टिच्युशन्, फ्रीयर् ग्यालरी अफ् आर्ट्, वाशिङ्ग्टन् दि. सि.
मायादेवीले सिद्धार्थलाई जन्म दिएको दृश्य सबभन्दा पहिले दोस्रो शताब्दीको गान्धारको कलामा अनि तेस्रो शताब्दीतिर अमरावतीको कला तथा नवौं शताब्दीदेखि एघारौं शताब्दीतिरको पाल राजाहरूका पालामा बनेका प्रस्तरमूर्ति र ग्रन्थचित्रहरूमा आ–आफ्नै शैलीमा देखाइएको छ । तर, यी सबै मूर्तिकला र चित्रकलामा मायादेवी रूखअगाडि बीचमा हाँगा समातेर उभिइरहेको देखाइन्छ (चित्र. ८, ९) । यसले गर्दा रूख सम्पूर्णतया देखिँदैन । रूखको थम्बा जहिले पनि मायादेवीको शरीरले छोपिएको हुन्छ । तर, नेपाली कलामा भने लुम्बिनीको दृश्य देखाउँदा रूखको थम्बा कहिले पनि सम्पूर्णतया छोपिएको हुँदैन । मायादेवीको बायाँपट्टि प्रतीक रूपमा थामजस्तो अथवा प्राकृतिक रूपमा रूखको थम्बा मात्र होइन कि ठुटोसम्म पनि देखिने गरी फूल फुलेको रूखको वर्णन गरिएको हुन्छ ।
लुम्बिनीको दृश्य। नेपालको प्रस्तरमूर्ति, अन्दाजी नवौं शताब्दी। राष्ट्रिय संग्रहालय, छाउनी, काठमाडौं।
यस सम्बन्धमा जयवागिश्वरीको मन्दिर नजिकै धारामा पाइएको अहिले छाउनीको राष्ट्रिय संग्रहालयमा रहेको नवौं शताब्दीतिरको प्रस्तरमूर्ति (चित्र. १०) तथा क्याम्ब्रिजको युनिभर्सिटी लाइब्रेरीमा सुरक्षित एघारौं शताब्दीको अष्टसाहस्रिका प्रज्ञापारमिताको ताडपत्रमा (चित्र. ११) चित्रित गरिएको लुम्बिनीको दृश्य उदाहरणका रूपमा यहाँ प्रस्तुत गर्न सकिन्छ । यही पुरानो नेपाली परम्पराको अनुसरण गरी मेट्रोपोलिटन म्युजियम आर्टको गाताचित्रमा पनि संस्कृतमा छायावृक्ष भनिने कालो बादलजस्तो झ्याम्म परेको सिंगै रूख थम्बासमेत देखिने गरी देखाइएको छ । मायादेवीको शरीर पनि रूखको बीचमा होइन कि रूखको दायाँतिर माथि उल्लिखित नेपाली प्रस्तरमूर्ति र चित्रमा जस्तै रूखको थम्बा नछोपिने गरी छेउमा देखाइएको छ ।
लुम्बिनीको दृश्य। पश्चिमी तिबेत, अन्दाजी चौधौं शताब्दी। अपरिचित व्यक्तिको संग्रहमा। तस्बीर साभार : उलरिच भोन स्क्रोडर
यसरी लुम्बिनीको दृश्य देखाउँदा नेपाली कलामा रूखलाई गौण रूपमा होइन विशिष्ट रूपमा देखाउनुमा के कारण थियो भन्ने बुझ्न सकिन्छ । मायादेवीको प्रतिमा वास्तवमा दोस्रो शताब्दीभन्दा पनि निकै पुराना प्रस्तरमूर्तिहरूमा बराबर देखाइने शाल भञ्जिका अथवा वृक्षदेवताहरूको अनुकरणमा बनेका हुन् । यस विषयमा कलाको इतिहास लेख्नेहरूले धेरै वर्षअघि नै सप्रमाण लेखिसकेका छन् । तर, एक महत्त्वपूर्ण कुरामा उनीहरूको ध्यान गएको देखिँदैन । प्राचीन नेवारी पञ्चाङ्गहरूमा वैशाख पूर्णिमामा मनाइने बुद्ध जयन्तीको दिनलाई स्वाँया पुन्ही ‘फूल फल्ने पूर्णिमा’ भनेर लेखिएको पाइन्छ । यस्तो भन्ने चलन नेवारहरूको मात्रै पक्कै होइन । कोरिया र जापानमा अहिले पनि बुद्धजयन्तीको दिनलाई ‘फूलको पूर्णिमा’ भनिन्छ । दक्षिण एसियाको ऋतु संस्कृतिसँग सम्बन्ध राख्ने यो विशिष्ट दिनमा वसन्तोत्सव मनाइन्थ्यो । धर्मसँगभन्दा ऋतुसँग गाभिएको यो प्राचीन पर्वबारे शाक्यमुनिभन्दा पहिलेका व्याकरणाचार्य पाणिनिले समेत उल्लेख गरेका छन् । त्यो पर्व राजदरबारभित्र पनि धुमधामसँग मनाइन्थ्यो । त्यो दिन राजाले छानेकी सबभन्दा राम्री केटीले रूखलाई अँगालेर अथवा रूखमुनि उभिएर, हाँगा समाएर प्रेयसीको रूपमा रूखसँग सम्पर्कमा आएपछि मात्रै वसन्त ऋतु सुरु हुन्छ र फूल फुल्न थाल्छन् भन्ने विश्वास थियो । माथि उल्लिखित शालभञ्जिका भन्ने संस्कृत शब्दको सम्बन्ध यही पर्वसँग छ । यसको शाब्दिक अर्थ हो– ‘साल रूखको हाँगा भाँच्ने (स्वास्नीमान्छे) ।’ लुम्बिनीको दृश्यमा मायादेवीको आकृति जहिले पनि शालभञ्जिकाजस्तो देखिने गरी चित्रण गरिएको हुन्छ ।
लुम्बिनीको दृश्य । सन् १०१५ मा अष्टसाहस्रिका प्रज्ञापारमिता भन्ने ग्रन्थको ताडपत्रमा लेखिएको नेपाली चित्र। युनिभर्सिटि लाइब्रेरी, क्याम्ब्रिज्
यो सत्य हो कि आजभोलि वैशाख पूर्णिमा ग्रीष्म ऋतुमा पर्छ । तर, प्राचीनकालमा भदौ महिनामा वर्षा ऋतु पर्थ्यो (वज्राचार्य गौतम, फ्रग् हिम्न्स् आन्द् रेन् बेबिज् : मान्सुन् कल्चर आन्द् आर्ट् अफ् आन्सिएन्त् साउथ् एशिआ २०१३ : ३३–३४) । त्यही अनुसार, नौ महिनाजति पछि वैशाख महिनामा वसन्त ऋतुको आरम्भ हुन्थ्यो । वैशाख पूर्णिमाको दिनलाई ‘फूलको पूर्णिमा’ भन्ने पुराना नेवारहरूले पक्कै पनि यो कुरो पूर्णतया बिर्सिसकेका थिएनन् । गोपालराज वंशावलीअनुसार, वैशाख पूर्णिमाको दिन होली मनाइनुपर्छ भन्ने विचारले राजा मानदेवले यही दिन होली मनाएका थिए । (मेरा काका धनवज्र वज्राचार्य र कमलप्रकाश मल्लले गोपालराजवंशावली प्रकाशित गर्दा त्यहाँ पोष्पपूर्णमी ‘फूलको पूर्णिमा’ को सट्टा भ्रमवश पोष्यपूर्णमी ‘पौष महिनाको पूर्णिमा’ भनी छापिएको छ ।) स्वाँया पुन्ही अर्थात् ‘फूल पूर्णिमा’ को दिन मायादेवीले सिद्धार्थलाई जन्माएको हो भन्ने देखाउनै नेपाली प्रस्तरमूर्ति र चित्रकलामा जहिले पनि मायादेवीको रूखमा विभिन्न किसिमका फूल फुलेको देखाइन्छ (चित्र. १०) ।
अन्त्यमा भनिहाल्नुपर्ने अर्को विषय छ । संस्कृतमा माया भन्नाले भ्रान्ति अथवा छलकपटलाई बुझाउँछ । मायादेवीको नाम यो संस्कृत शब्दसँग छैन । यो त प्राकृत शब्द हो । प्राकृत भाषामा माया भन्नाले आमा अथवा आमाको जस्तो निःस्वार्थ स्नेहलाई जनाउँछ । मायादेवी वास्तवमा मातृदेवता हुन् । त्यसैले वैशाख पूर्णिमाको दिन नेपालमा अहिले पनि धेरै ठाउँमा ‘रूखमुनि माई’ अर्थात् ‘मातृ देवता’ को पूजा हुन्छ । यी कुरा मैले केही वर्षअघि हार्वड युनिभर्सिटीमा दिएको लामो प्रवचनमा प्रमाणसहित प्रस्तुत गरेको छु । (यो प्रवचन पूर्णतया छापिएको छैन ।) यसरी मेट्रोपोलिटन म्युजियम अफ आर्टको संग्रहमा रहेको यो गाताचित्र प्रतिमा र कलाशैलीको आधारमा मात्रै होइन कि नेपाली संस्कृतिको गम्भीर अध्ययनको आधारमा पनि नेपालकै योगदान हुनुपर्छ भन्ने बुझ्न सकिन्छ ।
https://ekantipur.com/koseli/2023/02/25/167729125027642676.html
No comments:
Post a Comment