Tuesday, November 28, 2023

लोकसाहित्यको उज्यालो

 तुलसी दिवस

तिनताक म धनकुटामा हाइस्कुल तह पढ्दै गरेको किशोर थिएँ । सत्यमोहन जोशी पूर्वी नेपालको भ्रमणमा आउँदा गरिएको स्वागत कार्यक्रममा म पनि सरिक भएको थिएँ । किशोरवयको त्यो एकतर्फी परिचयपछिका सात दशक भने सत्यमोहन र म सँगसँगैजस्तो रह्यौं । प्रज्ञा प्रतिष्ठानमा हामी दुई कार्यकाल सँगै प्राज्ञको भूमिकामा रह्यौं । पचासको दशकपछि हाम्रो संस्था ‘नेपाली लोकवार्ता तथा संस्कृति समाज’ को कार्यक्रममा पनि प्रमुख अतिथि एवं सक्रिय सहभागीका रूपमा उनको निरन्तर उपस्थिति रह्यो । त्यसक्रममा हामीले लोकवार्ताका विविध आयाममा सार्थक छलफल गर्‍यौं ।


नेपाली समाज अँध्यारो अवस्थामै रहेका बेला सत्यमोहन जोशीले लोकसाहित्य र संस्कृतिमा गरेका सत्कार्यहरूले हाम्रो समाजलाई उज्यालो प्रदान गर्‍यो । काठमाडौं उपत्यकामा जन्मे–हुर्केको मानिसले नेपालका गाउँघरबाट लोकसाहित्यको खोजी गर्नु अभूतपूर्व रह्यो । त्यसैको जगमा टेकेर आज हामी लोकसंस्कृति तथा लोकसाहित्यको प्राज्ञिक शोध–विश्लेषणको तहमा पुगेका छौं ।

बिर्सनै नहुने विषय के छ भने सत्यमोहनले आफ्नो खोज–थालनीमा ‘लोकवार्ता’ शब्द प्रयोग गरेनन् । त्यतिबेला लोकगीत, लोककथा, लोकगाथा सबैलाई एकमुस्टमा लोकसाहित्य भनिन्थ्यो । आजजस्तो ‘लोकवार्ता’ शब्द प्रचलनमा थिएन । आजको मान्यता अनुसार, लोकसाहित्य भनेको लोकवार्ताको एक अंग मात्रै हो । लोकवार्ताभित्र लोकसाहित्य, भाषा, रीतिरिवाज, विश्वास, प्रदर्शनकारी कला, प्रचलन आदि पर्छन् । लोकगीत, लोककथा, लोकगाथा, लोकनाटकचाहिँ लोकसाहित्यभित्रका तत्त्व हुन् ।

लोकसाहित्य वा लोकवार्ता एकै सुनिए पनि यसको अर्थ र परिधि फरक छ । दैनिक जीवनमा सहजताका लागि लोकवार्ता वा लोकसाहित्य जे भनिए पनि एकै अर्थका लागि भनिएजस्तो देखिन्छ । तर, लोकसाहित्य लोकवार्ताको एउटा लोकप्रिय विधा हो ।

सत्यमोहन जोशीले २००३ साल आसपासको मूलतः पहाडी क्षेत्रका (लमजुङ, तनहुँ, कास्की) लोकगीतको संकलन गरेका हुन् । उक्त अवसरमा उनले केही लोककथा, उखान–टुक्काहरू पनि संकलन गरेको पाइन्छ, तर उनको मुख्य प्रेरणाको क्षेत्र लोकगीत नै रह्यो । पछि मूर्तिकला, नेपाल भाषा, मुद्रा, इतिहासजस्ता विविध विषय पनि उनको अध्ययन–क्षेत्र बन्यो । त्यसरी हेर्दा २००१ देखि २०१३ को अवधिलाई लोकसाहित्यको क्षेत्रमा जोशीको उर्वरकाल मान्न सकिन्छ ।

आफूले गाउँमा संकलन गरेका लोकगीतहरूबारे उनले सर्वप्रथम विसं २००३ माघको ‘शारदा’ पत्रिकाका लागि ‘ग्रामीण गीत’ शीर्षकमा लेख लेखे । ‘शारदा’ को उक्त अंकको सम्पादकीयमा पनि ‘ग्रामीण गीत’ शब्दावली उल्लेख भएको थियो । पछि जोशीले लोकसाहित्यमा पनि लोकगीतका क्षेत्रमा काम गरे ।

लोकजीवनमा आधारित लेख लेख्ने मात्रै होइन पुस्तक नै प्रकाशन गर्ने काम बोधविक्रम अधिकारीको ‘नेपाली दन्त्यकथा’ (१९९६) बाट भइसकेको थियो । तर, लोकबाट टिपिएको विषयभन्दा बढी अधिकारीले आफ्ना कल्पना र भाषालाई संयोजन गरी ती कथा प्रकाशन गरे । प्राज्ञिक दृष्टिले त्यसरी आफूखुसी तोडमोड गर्नुलाई लोकसाहित्यको क्षेत्रमा स्वीकार्य मानिँदैन । यस हिसाबले हेर्दा सत्यमोहन जोशीले गाउँ–गाउँबाट खोजतलास गरी जस्ताको तस्तै संकलन गरेका गीत, कथा, उखान–टुक्काको पुस्तक ‘हाम्रो लोकसंस्कृति’ (२०१३) नै लोकसाहित्य विषयको उल्लेख्य पुस्तक बन्न पुग्यो ।

वास्तवमा समाजबाट जे सुनियो त्यसकै लिखित दस्तावेज नै लोकगीत हो । यस्ता गीत संकलन गर्दा कुन स्थानमा कुन व्यक्तिसँग वा समूहले कुन अवस्थामा गाएको हो त्यो प्रस्ट खुलाउनुपर्छ । गाउँ डुल्दा सुनेका गीत कापीमा सारेर वा रेकर्ड गरेर मात्रै लोकगीतको संकलन अपुरो हुन्छ । त्यस गीतको पृष्ठभूमि बुझिएन भने गीतको अर्थ रहँदैन । पछिल्लो समय यो मुद्दामा पैरवी गर्दै आएका सत्यमोहनकै कतिपय संकलनमा पृष्ठभूमि र सन्दर्भसामग्रीको कमी देखिन्छ । त्यसबेला लोकसाहित्यको अनुसन्धान गर्ने ठोस विधि तयार नभएकाले उनले आफ्नै सुझबुझले संकलन गरेका थिए । अर्थात् लोकगीतको पृष्ठभूमि कतिपय अवस्थामा गीतमै लुकेको पनि हुन्छ, जसलाई संकलनकर्ताले थप प्रस्ट मात्रै बनाइदिए पुग्छ । जस्तो :

पूर्व जाऊँ भने भर्खर गएर आ’को

पश्चिम जाऊँ भने आफ्नो कोही नभा’को

उत्तर जाऊँ भने हिऔंहिउँले खा’को

दक्षिण जाऊँ भने औंलाको राँको

रोई बसौं भने दाह्रीजुँगा आ’को

हाँसी बसौं भने मनमा बैराग भा’को

नेपालको काँठे, के लाग्छ र गाँठे

बसिरहेछु धुमधुम्ती...

– (संकलनकर्ता : तुलसी दिवस)

माथिको गीत पढेपछि, सुनेपछि पाठक, श्रोतालाई यो गीत कसले, कुन सन्दर्भमा गाएको प्रस्टै हुन्छ । नेपालको काँठे भनेपछि मध्यपहाडको कुनै युवकले आफ्नो थातथलो छाडेर जाने सन्दर्भमा गाएको विरहको गीत हो भन्ने थाहा हुन्छ । यदि सन्दर्भ प्रस्ट भएन भने लोकगीत संकलनकर्ताले नै गीतको सम्पूर्ण पृष्ठभूमि खोजेर उल्लेख गर्नुपर्ने हुन्छ ।

त्यसपछि गीतको सामाजिक मूल्य र समयचेतनाको विश्लेषण गर्नुपर्छ । जे समाजले गाएको छ, त्यसमा एक शब्द पनि तल–बितल नगरी संकलन गर्ने इमानदारी संकलनकर्तामा हुनुपर्छ । नत्र लोकगीतमा भावनात्मक पक्ष बढी हावी हुन्छ । अनुसन्धानकर्ता भावनामा नबहकिई उसले ठोस सत्यमा टेकेर लोकवार्ताको उन्नयनमा केन्द्रित हुनुपर्छ । प्रामाणिक रूपले कुन जातिका मानिसले कुन अवसरमा (शोक, हर्ष, विरह, चाडपर्व वा विवाह आदि)

उक्त गीत गाएको हो, त्यसमा शतप्रतिशत सत्य तथ्याङ्क ल्याइनुपर्छ ।

अरुणै तरेँ वरुणै तरेँ सुनकोशी तर्नु छ

आमाको काखमा जनम लिई कहाँ गई मर्नु छ

यस गीतको उत्पति थलो अरुण नदी हो । लाहुर जाँदा गाएको हो वा भारी बोक्दा वा जहाँ पनि मर्न सकिन्छ भनेर गाएको हो, त्यो भने भने पटक्कै बुझिँदैन । गीतको सबै पक्ष थाहा पाउन त्यसको सन्दर्भ थाहा पाउनुपर्छ । थाहा पाउनु आवश्यक हुन्छ ।

...

प्रज्ञा प्रतिष्ठानमा छँदा सत्यमोहन जोशीले पुरातत्त्व, इतिहासको क्षेत्र समेट्ने संस्कृति उपविभागको जिम्मेवारी पाए । लोकसाहित्य, लोकसंस्कृति र लोकजीवन मेरो भागमा पर्थ्यो । लोकसाहित्यको विषय अब पाठ्यक्रममा पनि समावेश हुनुपर्छ भनेर २० को दशकदेखि नै मैले पहल गरिरहेको थिएँ । त्यसको एक दशकपछि मात्रै स्नातक र स्नातकोत्तर तहमा लोकवार्ताका विविध विधा समावेश गरियो । त्यतिबेला लोकसाहित्यको खोजी गर्दा वैज्ञानिक विधि अत्यन्तै अभाव देखिएको महसुस गर्दै मैले २०२४ सालमा ‘नेपाली लोकवार्ता : एक गतिशील वैज्ञानिक शास्त्र’ भन्ने लेख लेखेँ । पछि लोकवार्ताको सर्वत्र चासो–चर्चा सुरु हुन थाल्यो । र, अन्य लोकसंस्कृतिविद्हरूले पनि लोकवार्तालाई स्वीकार गरी यसलाई प्राज्ञिक क्षेत्र र विषयका रूपमा लिन थाले ।

सुरुमा व्यक्तिविशेषले प्रकाशन गरेको शब्दकोशमा ‘लोकवार्ता’ शब्द थिएन । २०४१ को ‘बृहत् नेपाली शब्दकोश’ मा आइपुग्दा ‘लोकवार्ता’ शब्द राखियो । ‘जनसाधारणमा पहिलेदेखि चलिआएको कुरो वा किंवदन्ती’ नै लोकवार्ता भनेर शब्दकोशमा उल्लेख छ । ‘लोक’ शब्दलाई भने ‘नाम’ को संज्ञा दिँदै क्रमशः लोक–कथा, लोक–गाथा, लोक–गीत, लोक–नाच, लोकनाट्य, लोक–परम्परा, लोक–लयपछि लोक–वार्ता रहेको छ । २००३ सालमा प्रयोग हुन नसकेको ‘लोकगीत’ दशको दशकदेखि बिस्तारै सबैले प्रयोग गर्न थाले ।

लोकवार्तामाथि चर्चा गर्दा नेपालबाहिरका विश्वविद्यालयमा लोकवार्ता कसरी पढाइ हुन्छ र विदेशी अनुसन्धानकर्ताले कसरी काम गर्छन् भन्ने बुझ्नु जरुरी छ । विश्वमा प्रचलित मापदण्डमा रहेर हामीले लोकसाहित्यको खोज–अनुसन्धान गर्नुपर्छ भन्ने मेरो मान्यता छ । विश्वप्रसिद्ध लोकसंस्कृतिविद् एलेन डन्डिस (अमेरिका सन् १९५४–२००५) ले मौखिक र अमौखिक दुई शाखामा विभाजन गरी यसको अनुसन्धान वैज्ञानिक विधिमा हुनुपर्नेमा जोड दिएपछि युनेस्कोले पनि अमूर्त सांस्कृतिक सम्पदाअन्तर्गत लोकवार्तालाई समावेश गरेको छ । यसले लोकवार्ताको खोज–अनुसन्धानका क्रममा क्रमशः भौतिक सम्पदालाई मात्रै नभई अभौतिक वस्तुलाई पनि सम्पदा मानेको छ ।

यसो त लोकगीतको सन्दर्भमा सत्यमोहन जोशीले सात दशकअघि सार्वजनिक रूपमा प्रकाश पारे पनि समाजको एक तप्का यस विषयमा अनविज्ञ नै छ । कतिपय सन्दर्भमा लोकगीतलाई गाउँमा गाउने सामान्य मान्छेका विरहका गीत मान्ने गरेको देखिन्छ । एक पटक यो पङ्क्तिकारलाई एक शुभचिन्तकले लोकगीत लेखिदिन आग्रह गरे । जब कि लोकगीत कसैले सृजना गरेर सृजित हुने विधा नै होइन भनेर बारम्बार पढ्दै, पढाउँदै आइएको छ । लोकले ग्रहण गरेर गाउँदै गएपछि मात्रै त्यो लोकगीत बन्छ, जुन लोकले आफ्नो व्यक्तिगत, सामूहिक तथा सामाजिक आवश्यकताअनुसार सृजना गरेर गाउँछ । यो विषयमा सत्यमोहन जोशी एकदमै सचेत थिए । उनले गाउँका मानिसलाई नै समर्पण गरेर मदन पुरस्कार लिएको र जुरेलीचरीको लोकगीतबाट ‘जुरेली दर्शन’ खडा गरेको घटनाबाट यो पुष्टि हुन्छ ।

संकलनकर्ताले शोध परम्परामा रहेर विश्लेषण नगर्दा लोकगीतलाई नजरअन्दाज गरिएको हो । सही खोज र विश्लेषपछि प्रकाशित गरिएको लोकसाहित्य पनि सामाजिक तथ्याङ्क नै हो, जसले समाज अध्ययनमा महत्त्वपूर्ण दिशानिर्देश गर्छ भन्ने बोध गर्नु आवश्यक छ ।

नेपालको लोकवार्ताको आजको अवस्थामाथि चर्चा गर्दा यसको विकास सकारात्मक देखिन्छ । सामान्यजनले पनि लोकसाहित्य, लोकसंस्कृतिको महत्त्व बुझेका छन्, जसअनुसार आ–आफ्नो जाति, भाषा, समुदाय वा समूहका गीत, नृत्य, बाजा, पोसाकको संरक्षण गर्न थालिएको छ । यद्यपि संरक्षणका नाममा लोकसाहित्यलाई संग्रहालयमा मात्रै राखियो भने त्यो समाजबाट टाढा हुँदै जान्छ । समाजले आफ्नो जीवन–प्रक्रियामा लोकसाहित्यलाई सामेल गर्दै अगाडि बढ्यो भने लोकसंस्कृतिको संरक्षण हुन्छ । त्यसपछि त्यसलाई लिपिबद्ध गर्ने, लोकवार्ता विज्ञहरूबाट अनुसन्धान गर्न लगाउने काम गरिए मात्रै लोकसाहित्य प्रामाणिक दस्तावेज बन्न सक्छ । अर्कोतर्फ विश्वविद्यालयका शोधकर्ता वा कुनै संस्थाको जागिरदारले मात्रै लोकसाहित्यको खोजी गर्ने हो भन्ने कुरा पनि यदाकदा सुनिन्छ । यो धारणा पनि ठीक होइन किनभने व्यक्तिले आफ्नो जीवनपद्धतिलाई जीवित तुल्याउनुपर्छ भन्ने बोध गर्‍यो भने उसले व्यक्तिगत तवरबाट नै लोकसाहित्यको संवर्द्धन गर्न सक्छ । हामी सत्यमोहन जोशीको पुरानो युगतर्फ फर्कियौं भने उनलाई त्यतिबेलै व्यक्तिगत तवरबाटै लोकसाहित्यको खोज गर्नुपर्छ भन्ने प्रेरणा जाग्नु एक अभूतपूर्व विषय हो । लोकगीत, लोककथा, उखानटुक्का संकलन गरेर समाजको अध्ययन गर्नुपर्छ भन्ने चेतनाले त्यसबेला काम गरेको पाइन्छ ।

पछिल्ला वर्षहरूमा सत्यमोहन जोशी हामीले गर्न खोजेका प्राज्ञिक कर्मको प्रशंसा गर्थे । लोकवार्ताको क्षेत्रमा विश्वमा देखिएको नयाँ–नयाँ सिद्धान्त, शोधविधि र मान्यतातर्फ उनको चासो बढेको देखिन्थ्यो । त्यसबाट पनि लोकवार्ताको क्षेत्रमा सत्यमोहन जोशीको समर्पणभाव बुझ्न सकिन्थ्यो ।

विविधता नै सम्पदा

संस्कृति स्थिर अवधारणा होइन, गतिशील अवधारण हो । संसारैभरि आ–आफ्नै शैलीका लोकजीवन र संस्कृति विद्यमान छन् । त्यसमा समय, स्थान र घटनाक्रम जोडिन्छन् । दक्षिण एसियाको लोकसाहित्य हेर्ने हो भने त्यसमा हिन्दुत्वको प्रभाव बढी छ । त्यही कुरा नेपालमा पनि लागू हुन्छ । तर, नेपाल कुनै एउटा जातिविशेष, कुनै एउटा भाषाविशेष र कुनै एक संस्कृतिविशेषको देश होइन । यहाँ बसोबास गर्ने १ सय २५ जातजातिको सामूहिक सम्पदा नै नेपाल हो । यो विषय बुझ्न सकियो भने नेपालको लोकवार्ता, लोकसंस्कृति र लोकसाहित्यको महत्त्व आफैँ बोध हुन्छ ।

शिक्षामा पछाडि रहेको नेपालजस्तो देशमा लोकसाहित्य प्रचुर रहे पनि सयौं वर्षसम्म ती सबै मौखिक परम्परामा थिए । मौखिक परम्पराबाट लिखित दस्तावेज बनाउनु पहिलो चुनौती भयो । त्यसपछि वैज्ञानिक विधिबाट शोध–अनुसन्धान गर्ने काम अझैसम्म बाँकी नै छ । यसर्थ, मैले बारम्बार भन्दै आएको छु, लोकवार्तामा नेपाल जीवित संग्रहालय हो । यसलाई सचेततापूर्वक अनुसन्धान गरी प्रकाशन गरिनुपर्छ ।

अर्कोतर्फ साहित्य र लोकसाहित्यबीच नजिकको सम्बन्ध छ । व्यक्तिले रचना गरेको कुरा पनि समयक्रममा मौखिक परम्परा हुँदै लोकमा गएर फैलियो भने त्यो लोकसाहित्य हुन्छ । फेरि हामीले आधुनिक साहित्यको रचना गर्दा कुनै न कुनै माध्यमले लोकसाहित्य र आफूले आत्मसात् गरेको संस्कृतिको प्रभाव परिरहेकै हुन्छ । सर्जकले आफ्नो लोकजीवन र परम्पराभन्दा पृथक् हुन्छु भनेर सक्दैन । ‘यो मेरै कल्पनाले सृजना गरेको हो’ भने पनि त्यो लेखक बाँचेको समाजको लोकजीवनको जगमा टेकेर मात्रै उसले कल्पना गर्न सक्छ । लोकसंस्कृतिकै जगमा विश्वमा उच्च कोटीका आधुनिक साहित्य लेखिएका छन् । त्यसैले लोकसाहित्य हाम्रो मौलिक रचनामा स्वतः जोडिएर आउँछ ।

आज हामी एकोहोरो भौतिक विकास (समृद्धि) को मात्रै नारा लगाइरहेका छौं । आखिर भौतिक विकासलाई स्थायित्व दिने काम लोकसंस्कृतिले नै गर्छ । लोकसंस्कृतिको बलियो आधार भएन भने विकास एकपाटे बन्न पुग्छ । समृद्धि देखिनेभन्दा बढी अनुभूत गर्ने विषय हुँदा त्यो लोकपरम्परासँग नजिक हुन्छ । एउटा देश समृद्ध हुन आफूसँग भएको ‘सांस्कृतिक सम्पदा’ र ‘जीवित सांस्कृतिक सम्पदा’ को उपयोग गर्नुपर्छ । त्यस्ता जीवित सम्पदा हामीले गाउने लोकगीत, लोकनृत्य, उखान–टुक्का, बाजा, वस्त्र, खानपान, रहनसहन, अनुष्ठानमा पाइन्छन् ।

एक राष्ट्रको राष्ट्रिय र जातीय जीवनमा लोकसंस्कृतिको महत्त्व नकार्न सचेत मानवले हिम्मत गर्दैन किनभने लोकवार्ता एवम् लोकसाहित्य प्रत्यक्ष रूपले जातीय अस्तित्वसँग सम्बद्ध हुन्छ । वास्तवमा एक राष्ट्र तथा जातीको निजत्व वा मौलिकता लोकगीत–लोककथाहरूमा जीवित हुन्छ । लोकसंस्कृतिलाई जीवित राख्न जीवनको लामो समय अर्पण गरे सत्यमोहन जोशीले । लोकसाहित्य र संस्कृतिमा सत्यमोहनले गरेका सत्कार्यहरूले हाम्रो सम्पूर्ण समाजलाई नै उज्यालो प्रदान गर्‍यो । त्यो उज्यालो दीपले हाम्रो लोकसंस्कृतिलाई सधैंभरि बाटो देखाइरहनेछ । र, त्यो बाटो त्यही उज्यलोले सदा चम्किनेछ ।

(दिवस लोकसंस्कृतिविद् हुन्)

https://ekantipur.com/koseli/2022/10/22/16664094871348168.html

No comments: