Tuesday, November 28, 2023

सप्रसंग सत्यमोहन

 

सरस्वती प्रतीक्षा

पृथ्वीनारायण शाहले ‘मेरा साना दुःखले आर्ज्याको मुलुक होइन’ भनेजस्तै ‘तिनका साना दुःखले आर्ज्याको नाम होइन– सत्यमोहन जोशी’ ।
सत्यमोहन जोशीको आत्मकथा जरुर हो यो, तर एक व्यक्तिको भोगाइको माध्यमबाट एउटा युग दर्साउने किताब हो । पूरापूर एक सय दुई वर्ष समयको चलचित्र एउटै किताबमा हेर्ने पाइन्छ ।
त्यसो त जीवन र मृत्यु सँगसँगै हिँड्छन् । मृत्युभन्दा जीवन अगाडि हिँड्दासम्म केही फरक पर्दैन, तर जीवनभन्दा मृत्यु एक कदम अगाडि हिँड्नासाथ मान्छेको कथामा पूर्णविराम लाग्छ । मान्छेको मात्रै होइन, चराचर जगत्का सम्पूर्ण प्राणीहरूको कथामा पूर्णविराम लाग्छ ।

चाखलाग्दो कुरा त के भने १०२ वर्ष बाँचेका व्यक्तिको आत्मकथाको किताब कलिलो उमेरमा हुन लागेको उनको आफ्नै मृत्युको कथाबाट सुरुवात हुन्छ । किताबको पहिलो वाक्य नै ‘मृत्युशय्यामा म छटपटाइरहेको थिएँ’ भन्ने छ । । कहिल्यै काठमाडौं उपत्यका नछोडेका सत्यमोहन जोशी जागिरको सिलसिलामा पहिलो पटक तनहुँ र लमजुङतिर खटाइन्छन् । त्यही बेला औलो लागेर तनहुँको विकट गाउँमा इन्तु न चिन्तु भएर मृत्युलाई कुरिरहेका हुन्छन् । आफूजस्तै औलोको सिकार भएका उनका एक सहयोगीलाई गाउँलेहरूले मृत घोषित गरेर शरीर तल खोलामा फाल्न पठाइसकिएको थियो । यस्तो बेलामा अधकल्चो सास कसरी फेरिरहेका हुँदा हुन् उनी ?

कथाले पल्टा त्यतिबेला खान्छ, जब उनको मृत भनिएको साथी ज्युँदै रहेछ भनेर खोलाबाट फिर्ता ल्याइन्छन् । भाग्यवश उपचारको टोली आइपुग्छ र सत्यमोहन पनि मृत्युको शय्याबाट जीवनको शय्यातर्फ फर्कन्छन् ।

यसरी मृत्युको कथाबाट सुरु भएको सत्यमोहन जोशीको आत्मकथाको किताब ‘सत्यमोहन’ जीवनका कथैकथाहरूले भरिएको छ । गिरीश गिरीको लेखन/सम्पादन रहेको यस किताबमा जम्माजम्मी ३१ अध्याय छन् । ‘जुरेली चरी’ नामक अध्यायबाट सुरु गरेर ‘जुरेली दर्शन’ नामक अध्यायमा टुंगिएको छ किताब । कसैलाई गैरआख्यानमा आख्यानको स्वाद लिन मन लागिरहेको छ भने ‘सत्यमोहन’ उपयुक्त किताब हुन सक्छ । प्रत्येक अध्याय छुट्टाछुट्टै पढ्दा छुट्टाछुट्टै कथाहरू पढेजस्तो लाग्छ । सबै किताब पढिसक्दाचाहिँ एउटा सिंगो र रोमाञ्चक उपन्यास पढेजस्तो आभास हुन्छ ।

संस्कृतमा एउटा भनाइ छ– दैवो दुर्बलघातक : अर्थात् दैवले पनि दुर्बललाई नै मार्छ । चार्ल्स डार्विनको विश्वप्रसिद किताब ‘द ओरिजिन अफ स्पिसिज’ मा वर्णित सिद्घान्त ‘सरभाइभल अफ द फिटेस्ट’ को आशय पनि लगभग उही र उस्तैउस्तै छ– जो आफूलाई विद्यमान परिस्थितिमा फिट राख्न सक्छ, त्यो मात्रै जीवित रहन्छ । ‘सत्यमोहन’ किताब पढिरहँदा सत्यमोहनको सबैभन्दा ठूलो खुबीचाहिँ जहाँ गयो, त्यहीअनुसार आफूलाई ढालेर, भिजेर, रमाएर बाँच्न सक्ने बचाइको कला हो भन्ने लाग्छ । डार्विनको ‘सरभाइल अफ द फिटेस्ट’ का गज्जबका उदाहरण हुन् सत्यमोहन । काठमाडौंको रैथाने नेवार, जसलाई दस वर्षको उमेरसम्म त नेपाली बोल्न पनि आउँथेन, जब ऊ तनहुँ र लमजुङका अनकन्टार डाँडाहरूतिर जान्छ, ऊ त्यहीँको लोकगीत र लोकनृत्यका मिठासहरूमा रमाउँछ । अनुसन्धानका सिलसिलामा जब कर्णालीको सिञ्जामा पुग्छ, त्यहाँको अभाव र विकटताको रङलाई तुरुन्तै आफ्नो रङ बनाएर सधैंको कर्णालीवासी नै हो कि झैं गरी बाँच्न सुरु गर्छ । पहिले कहिल्यै कुनै नेपाली नपुगेको नयाँ देश न्युजिल्यान्डमा जब पहिलो पटक पाइला टेक्छ, फर्कने बेलासम्म त त्यहीँको बल डान्स गर्दै झुम्ने भइसकेको हुन्छ । चीन जाँदा त्यहीँको चिनियाँले झैं चिनियाँ संस्कृतिको केस्राकेस्रा केलाएर आफैँलाई अझ उन्नत बनाउँछ । यसरी सत्यमोहन जोशीको आत्मकथा पढ्दा थाहा लाग्छ– आफू जहाँ गयो, त्यहीँको भएर बाँच्न सक्ने, तर आफ्नो मौलिकता र संस्कृति कहिल्यै नभुल्ने एक आदिवासी विम्ब हुन्, सत्यमोहन जोशी ।

आजकल नाम कमाउन काम गर्ने, अझ भनौं काम गरेजस्तो गर्नेहरूको भीड छ । सत्यमोहन जोशी भने काम गरेर नाम कमाएका व्यक्ति हुन् । पृथ्वीनारायण शाहले ‘मेरा साना दुखले आर्ज्याको मुलुक होइन’ भने जस्तै ‘तिनका साना दुखले आर्ज्याको नाम होइन सत्यमोहन जोशी’ । उनको आत्मकथा पढेपछि यो थाहा लाग्छ । हिजोका दिनमा कलासंस्कृतिको क्षेत्रमा आफ्नो बलबुताले भ्याएसम्म दुःख र मिहिनेत गरेकैले आज सत्यमोहन भन्नासाथ श्रद्घाले जो कोहीको शिर निहुरिन्छ । युनेस्कोले ‘जिउँदो मानव सम्पदा’ का रूपमा उनलाई अभिलेखीकरण गरेको छ । नेपाल सरकारले शताब्दी पुरुषको उपाधि दिएको छ । सरकारले सम्मानमा उनको तस्बिरअंकित हुलाक टिकट प्रकाशित गरेको छ । नेपालको कला, साहित्य, संस्कृति, इतिहास, दर्शन आदिका सवालमा उनी आफैँमा एक इन्साइक्लोपेडिया हुन् ।

मदन पुरस्कारसित जोडिएका सत्यमोहनका अनौठा संयोग र किस्साहरू पढ्न पाइन्छ किताबमा । नेपालकै इतिहासमा पहिलो पटक मदन पुरस्कार पाउने व्यक्ति मात्र होइनन्, तीन–तीन पटक मदन पुरस्कार पाउने ऐतिहासिक रेकर्ड पनि यिनले रचे । ‘हाम्रो लोक संस्कृति’ (२०१३), ‘नेपाल राष्ट्रिय मुद्रा’ (२०१७), ‘कर्णाली लोक संस्कृति’ (२०२८)– यसरी तीन–तीन पटक नै अनुसन्धानात्मक पुस्तकका लागि मदन पुरस्कार पाएका सत्यमोहन जोशीका यी किताब लेख्दाका संघर्ष र मिहिनेतको इतिवृत्ति समेटेएिको छ आत्मकथामा । कर्णाली क्षेत्र आज त विकट मानिन्छ, त्यहीमाथि उतिबेलाको कर्णालीको सिञ्जा ! आजभन्दा कैयन् वर्षअघि त्यो क्षेत्र पुगेर त्यहाँको कलासंस्कृितबारे अनुसन्धान गर्नु चानचुने कुरै थिएन । त्यत्रो दुःख उठाएर र ज्यानकै जोखिम मोलेर भए पनि उनले कसैले नगरेको काम गरिछाडे । नेपाली मुद्राजस्तो रूखो विषयमा अनुसन्धान गरेर किताब निकाल्ने काम पनि यिनैले गरे । पुरातत्त्व र संस्कृति विभागका पहिलो निर्देशकका रूपमा काम गरेर पुरातात्त्विक क्षेत्रमा खास भूमिका खेले । संग्रहालयहरू निर्माणमा अहोरात्र खटे । ‘फर्केर हेर्दा’, ‘बाघभैरव’ जस्ता चर्चित नाटकहरू लेखेर नाटककार अवतारमा पनि उत्तिकै अब्बल साबित भए । उतिबेलाको राष्ट्रिय नाचघर र अहिलेको सांस्कृतिक संस्थानको परिकल्पना तथा स्थापना सत्यमोहनकै दृढ इच्छाशक्तिको नतिजा हो । पूजाकोठाभित्र मात्रै अभ्यास गरिने चर्या नृत्यलाई सार्वजनिक स्थलहरूमा प्रदर्शनका निम्ति निकाल्न पनि यिनैले पहल गरे र सफल भए ।

रोचक त के भने उतिबेला ‘साहुको भ्वाङ’ अथवा ‘साहुको खोर’ भनेर चिनिने पोखरास्थित बाटुलेचौरको गुफामा पहिलो पटक मानव पाइला टेक्ने पनि सत्यमोहन जोशी नै हुन् (किताबमा दाबी गरिएअनुसार) । आज त्यही गुफा महेन्द्र गुफाको नामले चर्चित छ ।

यसरी ‘सत्यमोहन’ किताबमा सत्यमोहनले गरेका उल्लेखनीय कामहरूको लामो फेहरिस्त पाउन सकिन्छ ।

सत्यमोहन जोशीको जीवनको एउटा अर्को महत्त्वपूर्ण पाटो जुरेली दर्शन पनि हो, जुन विषयलाई किताबमा निकै प्राथमिकताका साथ दर्साइएको छ । भागवत गीताका अनुसार, दत्तात्रयका २४ गुरुहरू थिए र ती प्रत्येक गुरुहरूबाट उनले एउटा एउटा ज्ञान हासिल गरेका थिए । दत्तात्रयका २४ गुरुमध्ये दुइटाचाहिँ चराहरू थिए, एउटा परेवा र अर्को कुरर । २४ गुरु बनाउने दत्तात्रयका नाममा भक्तपुरका राजा यक्ष मल्लले इसं १४७० मा भक्तपुरमै प्रख्यात दत्तात्रय मन्दिर बनाए । त्यसको ४५१ वर्षपछि पाटनमा जन्मिएका सत्यमोहनचाहिँ आफ्नो एउटा मात्रै गुरु रहेको मान्छन् र उक्त गुरु जुरेली चरा हो भन्छन् ।

यहाँनेर सामञ्जस्यता के भने दत्तात्रयले ‘लोभलाग्दो वस्तुको संग्रह गर्‍यो भने ज्यान जोखिममा पर्छ । संग्रहबाट होइन, त्यागबाट मुक्ति पाइन्छ’ भन्ने कुरा कुरर चराबाट सिके । जुरेली चराबाट पनि सत्यमोहन जोशीले उस्ताउस्तै कुरा सिके । मायामोह अनि चिन्ताबाट मुक्त भएर जुरेली चराजस्तै रमाएर बाँच्ने, कुनै पनि चीजमा आशक्त नहुने, लोभलाचन नपाल्ने । यही दर्शनलाई नाम दिए– जुरली दर्शन । यति लामो आयु बाँच्नुका पछाडि जुरेली चराले जस्तै हिजोको तनाव र भोलिको सुर्ताबिनै वर्तमानमै रमाएर बाँच्ने उनको कला पनि हो भन्नेमा कुनै शंका छैन ।

भनिन्छ, सय वर्ष बाँचेपछि एउटा मान्छे मान्छे रहँदैन, देवता हुन्छ । यस अर्थमा सत्यमोहन पनि एक ‘देवता’ नै हुन् । देवता पनि आफैँमा पूर्ण त कहाँ हुन्छ र ? देवताको पनि आफ्नो शक्ति र सीमा हुन्छ । सत्यमोहन जोशीको आत्मकथा पढ्दा उनका शक्तिहरूसित साक्षात्कार भइन्छ, तर उनका कमजोरीबारे तपाईं फिटिक्कै कतै केही थाहा पाउन सक्नुहुन्न । आत्मकथा भनेको कन्फेसनको किताब पनि हो । सत्यमोहनका उपलब्धिबारे किताबमा जति वर्णन पाइन्छ, उनका सीमा र कमजोरीबारे एउटा पनि कन्फेसन नहुनुचाहिँ अलि उदेकलाग्दो कुरा हो । १०२ वर्षको लामो आयु बाँच्दासम्म कतै न कतै त पक्कै चुकेका थिए होलान् उनी । कुनै न कुनै अक्षम्य गल्ती वा अपराध गरेका थिए होलान् जानी–नजानी । कुनै न कुनै लोभलालच र मोहले कतै न कतै बहकिएका थिए होलान् पक्कै । आत्मकथाको किताबमा आफ्ना कमजोरीबारे फिटिक्कै नबोल्नु सत्यमोहनको ‘असत्यमोहन’ अवतार हो । सत्यमोहनको त्यो ‘असत्यमोहन’ अवतारसित यो किताबमा जोकोही ठोक्किन सक्छ ।

गिरीश गिरीको लेखन/सम्पादन रहेको यस किताबमा सम्पादकले जति मिहिनेत गर्नुपर्ने हो त्योचाहिँ अलि नगरेको आभास हुन्छ । जति समय दिएर किताब काँटछाँट गर्नुपर्ने हो, त्यो काँटछाँटमा अलि जाँगर नदेखाएको स्पष्ट देखिन्छ । कतिपय प्रसंग र घटनाको पुनारावृत्ति छ किताबमा । गिरीशको भनाइअनुसार, पुस्तक लेखनको मूल स्रोत रेकर्ड गरिएका वार्ता नै हुन् । यसरी हेर्दा आफ्नो आत्मकथा भन्ने क्रममा सत्यमोहन जोशीले सरसर्ती जे बोले, त्यसलाई जस्ताको तस्तै यो किताबमा उतारे कि त गिरीले ?

जीवनी र आत्मकथाबीचको फरक के भने जीवनीमा जीवनीकारले उपलब्ध स्रोत र साधनको सीमामा बाँधिएर लेख्नुपर्छ । आत्मकथामा भने लेखकसित लेख्नलाई खजानाको कनै कमी हुँदैन । ‘सत्यमोहन’ नामक आत्मकथामा सत्यमोहनले आफ्नो सम्पादकलाई जीवनी लेख्न पर्याप्त सूचना दिए, तर आत्मकथा नै लेख्नका लागि पर्याप्त अनुभव र अनुभूतिको पोको इमानदारीपूर्वक फुकाएनन् कि त ! नइ प्रकाशनले यसअघि नै सत्यमोहनको जोशीको जीवनीपरक पुस्तक प्रकाशन गरिसकेको छ, जुन अंग्रेजीमा अनुवाद भएर पनि आइसकेको छ । अनिल पौडेलको सम्पादनमा ‘जुनेली दर्शन’ नामक अनुसन्धानात्मक किताब पनि यसअघि नै बजारमा आइसकेको छ । जीवनीपरक ती किताबहरूमा भन्दा फरक, मौलिक र यसअघि नसुनिएका विषय के आए यो आत्मकथामा ? कुनै पाठकले यो प्रश्न सोधे स्वयम् आत्मकथाकार र सम्पादकले के जवाफ देलान् कुन्नि ?

सबैभन्दा खड्किने विषयचाहिँ सत्यमोहनले जुन दर्शनलाई जुरेली दर्शन भनेका छन्, त्यो आफैँमा दर्शन बन्नलायक कुरा हो कि होइन भन्ने प्रश्न हो । भूत, वर्तमान र भविष्यको चिन्ता नलिई, वस्तुहरू संग्रह नगरी उडीउडी हिँड्ने त हर चराको प्राकृतिक गुण नै हो । यस्तोमा जुरेली चरा होस् वा धोबीचरा, कोइली होस् वा काँडेभ्याकुर, जलेवाहरू हुन् वा साँवरीहरू, जुन चराको नाम लिँदा पनि के फरक पर्छ र ? ८८६ प्रजातिका चरा पाइने देश नेपालमा जुरेली चराको नैसर्गिक स्वभावलाई दर्शनको नाम दिनु उपयुक्त हुन्छ र ? दर्शनले त अलि माथिल्लो स्तरको बौद्घिक अभ्यास, सारतत्त्व र चिन्तनको माग गर्छ ।

यी सबका बावजुद सत्यमोहनको आत्मकथा लेखेर गिरीश गिरीले किताब मात्रै लेखेनन्, एउटा लामो कालखण्डको सामाजिक, सांस्कृतिक, साहित्यिक, आर्थिक हर पक्षको ऐतिहासिक दस्तावेज तयार पारेका छन् । यो ऐतिहासिक कामका लागि उनको जति नै तारिफ गरे पनि कमै हुन्छ ।

सत्यमोहन जोशीको नाम सुनेको, तर उनीबारे खासै जानकार नभएको जोकोहीका निम्ति यो किताब आफैँमा जानकारीको कारखाना हो । ठोस काम गर्न अल्छी लागिरहेका बेला कसैले यो किताब पढ्यो भने उसका जाँगरका सबै पाटपुर्जा आफैँ चलमलाउन थाल्छन् ।

‘सत्यमोहन’ किताब पढेर कसैले सत्यमोहन जोशी भन्ने एउटा संस्कतिकर्मीलाई मात्र बुझेँ भन्छ भनेचाहिँ त्यो गलत भन्छ । ‘सत्यमोहन’ पढेर कसैले सत्यमोहन जोशी भन्ने साहित्यकार वा अन्वेषकलाई मात्र बुझेँ भन्छ भने गलत भन्छ । ‘सत्यमोहन’ सत्यमोहन जोशीको आत्मकथाको किताब जरुर हो, तर यो एक व्यक्तिको भोगाइको माध्यमबाट एउटा युग दर्साउने किताब हो । पूरापूर एक सय दुई वर्ष समयको चलचित्र एउटै किताबमा हेर्ने मन भए ‘सत्यमोहन’ किताबका पाना पल्टाउँदा हुन्छ ।

https://ekantipur.com/koseli/2022/04/30/165129563686253971.html

No comments: