Wednesday, November 29, 2023

संसारको प्रतिबिम्ब स्वयम्भू महाचैत्य

 पुष ३, २०७८ शनिबार ८:४९:०

प्रा.डा. नरेशमान बज्राचार्य


स्वयम्भू नेपालको सबैभन्दा प्राचीन तथा ठूलो बौद्ध तीर्थस्थल, नेपालको बौद्ध धर्म–संस्कृतिको मुहान तथा केन्द्रबिन्दु हो। यस चैत्यसँग सम्बन्धित अनगिन्ती संस्कृति छन्, केही लोप भएर पनि धेरै बाँकी नै छन्।

काठमाडौं उपत्यकाको लगभग पश्चिम दिशामा अवस्थित डाँडामाथि रहेको विशाल ‘स्वयम्भू चैत्य’ले नेपाली मात्र होइन, विश्वका सम्पूर्ण मानिसलाई आकर्षित तुल्याएको छ भन्दा अत्युक्ति नहोला। विश्वको सरोकार भएकाले विश्वसम्पदामा सूचीकृत पनि छ। विश्वको धरोहर स्वयम्भू चैत्यको उत्पत्ति र निर्माण सम्बन्धमा एउटै मात्र बौद्ध ग्रन्थ हो– ‘स्वयम्भू भट्टारको द्देश’, जुन ‘स्वयम्भू–पुुराण’का नामले अहिले प्रख्यात छ। यो नेपाल (उपत्यका)को स्थानीय ग्रन्थ हो। यस ग्रन्थका अनुसार उहिले नेपाल उपत्यका कालीदह नामको एक विशाल तलाउ थियो। चारैतिर अग्ला–अग्ला जामाचो (नागार्जुन पर्वत), सिफुचो (शंखोदक पर्वत– शिवपुरी डाँडा), फुल्लचो (फुलचोकी पर्वत), धिलाचो (ध्यानगिरि– चन्द्रागिरी पर्वत) र अन्य ससाना डाँडाले घेरिएका छन्। विपश्वी बुद्धले नागार्जुन पर्वतमा रही एक कमलको बीउ तलाउमा फ्याँक्नुभयो। कालान्तरमा त्यस बीउबाट सह्रस्रदल कमल फुल्यो। उक्त कमलमाथि पञ्चरश्मीले युक्त ज्योति उत्पन्न भयो। ज्योति आफसेआफ उत्पन्न भएकाले ‘स्वयम्भू ज्योतिरूप’ अर्थात् आफसेआफ उत्पन्न भएको ज्योतिरूप नामले प्रसिद्ध भयो।

धेरै समयपछि तत्कालीन महाचीनमा अवस्थित पञ्चशीर्ष पर्वतमा रहनु भएका आदिबुद्ध मञ्जुश्रीका अवतारी मञ्जुदेवाचार्य चीनका राजकुमार धर्माकर र अन्य केही जनतासहित स्वयम्भू ज्योतिरूप दर्शनार्थ आउनुभयो। तलाउको पानी सुकाउन सकेमा त्यस स्थान मानव बस्तीका लागि अत्यन्त योग्य हुने देखेर तलाउको दक्षिणमा रहेको सबभन्दा होचो कोटुवाल डाँडा काट्नुभयो र पानी बाहिर निस्कियो। स्वयम्भू ज्योतिरूपसहितको सहस्रदल कमल ढल्कँदै पानी बगे पछि देखिएको पद्मगिरी पर्वतमा अडेश लाग्यो। उही पर्वत स्वयम्भू पर्वतका नामले प्रसिद्ध भयो। मञ्जुदेवाचार्यले साथमा ल्याइएका धर्माकर राजकुमारलाई र जनतालाई क्रमश: यस क्षेत्रको राजा र प्रजा, बस्तीलाई ‘मञ्जुपट्टन’ नामकरण गरी देश निर्माण भयो। राजाले नियमपूर्वक शासन गरी प्रजालाई पालनपोषण गरेकाले देशको नाम ‘नेपाल’ रहन गयो।

स्वयम्भू ज्योतिरूप देशवासीको आस्थाको केन्द्रबिन्दु थियो। यसको प्रसिद्धि बढ्दै देशान्तरसम्म पुग्यो। कालान्तरमा तत्कालीन गौड देश (सम्भवत: बंगाल) का राजा प्रचण्डदेव राज्य त्याग गरी स्वयम्भू ज्योतिरूप दर्शनार्थ आए। दर्शनपश्चात् स्वयम्भू ज्योतिरूपको संरक्षण गर्ने सोच बनाए। तदनुसार यहाँका तत्कालीन बौद्ध गुरु गुणाकर आचार्य (बज्राचार्य) बाट प्रव्रजित भई शान्तिश्री भिक्षु र अन्तमा आचार्यत्व प्राप्त गरी शान्तिकर आचार्य (बज्राचार्य) नामले प्रसिद्ध भए। शान्तिकर आचार्यले गुरुको निर्देशानुसार विविधत् स्वयम्भू ज्योतिरूपलाई छोपी एक ठूलो चैत्य निर्माण गरी उही स्वयम्भू चैत्य तथा ‘स्वयम्भू धर्मधातु वागीश्वर’ नामले प्रख्यात छ।

स्वयम्भू चैत्य वरिपरि क्रमश: वसुपुर (पृथ्वीतत्त्वको प्रतीक बसुन्धरादेवीको मन्दिर), नागपुर (जलतत्त्वको प्रतीक नाग देवताको मन्दिर), वायुपुर (वायुतत्त्वको प्रतीक वायु देवताको मन्दिर), अग्निपुर (अग्नितत्त्वको प्रतीक अग्नि देवताको मन्दिर) र शान्तिपुर (आकाशतत्त्वको प्रतीक एवं शुद्ध चित्तको प्रतीक शून्यागार–गुफा)निर्माण भए। अन्तमा आपूm शान्तिपुरमा आस्फानकयोगमा अद्यापि रहनु भएको छ भने उल्लेख तथा स्थानीय बौद्ध विश्वास छ।स्वयम्भू चैत्य सुरुमा अर्ध–अण्डाकार, दूबो आदि घाँस उम्रिएको भित्रदेखि केन्द्रमा यष्ठि (काठको स्तम्भ) ठडाइएको, त्यसमाथि वर्गाकार संरचनामा बनाइएको छ। त्यसमाथि १३ वटा चक्र, सबभन्दा माथि उष्णीष रहेको हुनपर्छ, जस्तो कि ललितपुर–लगनखेलमा विद्यमान अशोक चैत्य। कालान्तरमा चैत्य वास्तुकला विकास हुँदै वर्तमान अवस्थामा पुग्न आएको बुझ्न सकिन्छ।

स्वयम्भू चैत्यको अर्ध–अण्डाकार वरिपरि दिशामा क्रमश: पञ्चबुद्ध–वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अमिताभ र अमोघसिद्धि, विदिशामा क्रमश: मामकि, लोचनि, पद्मिनी र तारादेवी छन्। यी सम्पूर्ण संरचनाले यो संसार र सांसारिक जीवनको प्रतिनिधित्व गर्दछन्। त्यसमाथि रहेको वर्गाकारको संरचनालाई अकनिष्ठ भवन भनिन्छ। जसको अर्थ संसारभन्दा माथिको भुवन भन्ने हुन्छ। त्यस अकनिष्ठ भुवनको चारैतर्फ प्रत्येकमा अति आकर्षित अर्धनिर्मिलित नेत्र युगल र साँचो खोल्ने प्वालको प्रतीकात्मक चिह्न छ। यी चारै वटा अकनिष्ठ भुवन प्रवेश गर्ने मूल ढोकाका प्रतीक हुन्। जुन ढोकाबाट पसिसकेपछि लोकोत्तर भुवन त्रयोदश भूमि क्रमश: चढिन्छन् र अन्तमा बुद्धत्वसम्म पुगिन्छ। अकनिष्ठ भुवनदेखि त्रयोदशभूमि र उष्णीषले बुद्धत्व लाभ गर्नलाई गरिने अभ्यास बोधिसत्व चर्याबाट क्रमश: प्राप्त हुने आध्यात्मिक भूमि, बुद्धत्व र बुद्धद्वारा गरिने बुद्धचर्या र निर्वाणलाई दर्शाइरहेका छन्। छोटकरीमा भन्नु पर्दा, स्वयम्भू चैत्यले संसार र निर्वाणलाई दर्शाइरहेको छ, यो बौद्ध दर्शन हो। महायान तथा बज्रयान दृष्टिकोण हो।

नेपालको इतिहासका लागि प्रमाणको रूपमा मानिने गोपालराज वंशावलीमा ‘राजा श्रीविश्वदेव (वृषदेव) वर्ष १०० तेनकृत सीनगु बिहार चैत्य भट्टारिक प्रतिष्ठित सम्पूर्णकृतम्।’ पंक्ति उल्लेख छ। नेपालभाषा (नेवारी भाषा)मा अद्यपि स्वयम्भूलाई सिंगु भन्ने प्रचलन रहेकाले गोपालराज वंशावलीमा उल्लेखित ‘सीनगु बिहार चैत्य’ भनेको वर्तमान स्वयम्भू चैत्य हो र सो चैत्य लिच्छवि राजा मानदेवका जिजु बुवा राजा वृषदेवले बनाउन लगाएको हुुनुपर्छ भनेर केही इतिहासकार बताउँछन्। स्वयम्भू चैत्यको पश्चिम–उत्तर कोणमा अद्यापि सिंगु बिहार—साम्ह्यागुं महाबिहार छुट्टै रहेकाले राजा वृषदेवभन्दा पहिले स्वयम्भू चैत्य अस्तित्वमा रहेको र राजा वृषदेवले सिंगु बिहार परिसरमा अन्य कुनै एक चैत्य निर्माण गरी प्रतिष्ठा गरेको हुन सक्ने सम्भावना छ।

गोकर्णमा अवस्थित लिच्छवि (राजा) अंशुवर्माको नाम कुँदिएको खण्डित शिलालेखमा ‘(स्वयम्)भू चैत्य भट्टारक’ र ‘(व)ज्रयान’ उल्लेख छ। त्यसैले लिच्छविकालीन राज्यमा नेपालमा ‘बज्रयान’ परम्पराको उन्नत अवस्था रहेको र स्वयम्भू चैत्यको राजकीय सम्मानका साथ विशिष्ट स्थान रहेको स्पष्ट छ। उपत्यका बाहिरका राजाहरूको पनि स्वयम्भू चैत्यप्रति आस्था रहेको छ। स्वयम्भू चैत्यको प्रसिद्धि तत्कालीन प्राचीन भारत, चीन र तिब्बत, भुटान, सिक्किमसम्म फैलिएको थियो।

चीनको ताङ्वशको इतिहासमा नेपालको स्वयम्भू चैत्यको विषयमा उल्लेख गरिराखेको, चीनका बादशाह हेनले आफ्ना दूत वाङ्हुएनचेमार्फत् स्वयम्भू चैत्यलाई ‘काषायवस्त्र’ चढाएको, तत्कालीन भारतका बौद्ध प्रण्डितहरू सुनयश्री मिश्र, शान्तरक्षित, गुरु पद्मसम्भव, अतिशा दीपंकरवनरत्न आदिले स्वयम्भू चैत्य दर्शन गरेको, त्यस्तै तिब्बती भिक्षु धर्मस्वामीले स्वयम्भूमै बसेर गुरु रत्नरक्षितबाट शिक्षा प्राप्त गरेको पं. हेमराज शाक्यले स्वकृति स्वयम्भू महाचैत्य ग्रन्थमा उल्लेख गर्नुभएको छ। प्रमाणअनुसार लगभग बाह्रौं शताब्दीमा शाक्यभिक्षु मैत्रीचन्द्रबाट जीर्णोद्धार भएको थियो। तेह्रौं शताब्दीमा राजा श्री जयराजदेवको पालामा दक्षिणबाट आएका मुसलमान समसुद्दिनको आक्रमणले ने.सं. ४७० मा स्वयम्भू चैत्यसहित अन्य थुप्रै मूर्ति–मन्दिरहरू ध्वस्त पारेको प्रचूर मात्रामा मन्दिरका सुन आदि बहुमूल्य सम्पत्ति लुटेर लगेको थियो।

ने.सं. ४९२ अर्थात् ध्वंस भएको २२ वर्षपछि मात्रै राजा जयस्थिति मल्लको पालामा महापात्र राजहर्ष भल्लोकद्वारा स्वयम्भूको पुनर्निर्माण भयो। त्यसपछि महामन्त्री जयसिंहराजर्द्धनबाट ने.सं. ५३३ तिर, ज्योतिर्मल्लबाट ने.सं. ७१५ मा राजा शिवसिंहबाट जीर्णोद्धार भयो। प्राकृतिक प्रकोप चट्याङले भत्केको स्वयम्भू चैत्य शाक्यभिक्षु जयलक्षबाट जीर्णोद्वार भयो। यसरी विभिन्न समयमा जीर्णोद्धार भएको पाइन्छ। सर्वसाधारणदेखि राजकीय व्यक्तित्व, स्वदेश र छिमेकी राष्ट्रका बौद्ध धर्मगुरु, राष्ट्र«प्रमुख आदिले बेलाबखत स्वयम्भू चैत्यमा विभिन्न बहुमूल्य वस्तुहरू अर्पण गर्दै आएको पनि पाइन्छ। लिच्छवि राजा धर्मदेवले स्वयम्भू चैत्य परिसरमा धर्मशाला बनाए, मानदेवले स्वर्णछत्र चढाए। तिब्बतका स्यामार  लामाले स्वर्णतोरण, राजा लक्ष्मीनरसिंह मल्लले स्वर्णविमान, राजा प्रताप मल्लले स्वर्णगजुर, राजा योगनरेन्द्र मल्लले घण्ट चढाए। पुन: राजा प्रताप मल्लले स्वयम्भू चैत्यको पूर्व दिशामा अक्ष्योभ्य तथागतको अगाडि रहेको शिलाको धर्मधातु मण्डललाई सुनको मोलम्वा लगाइएको तामाको धर्मधातु मण्डलले छोपे। त्यसमाथि सुनको मोलम्बा लगाइएको ठूलो बज्र स्थापना गरे। दायाँबायाँ क्रमश: प्रतापपुर र अनन्तपुर मन्दिर स्थापना गरे। यी अद्यापि जीवित छन्।

पृथ्वीनारायण शाहले उपत्यका जितिसकेको थियो। उनले स्वयम्भू चैत्य आदि अन्य बौद्ध धार्मिक स्थलहरू नबिगारुन् भन्ने उद्देश्यले तिब्बतका बौद्ध धर्मगुरुले पृथ्वीनारायण शाहलाई सन्देश पठाइएको पाइन्छ। स्वयम्भू चैत्य परिसरमा रहेका विभिन्न मन्दिरमध्ये शान्तिपुर (गुफा) बडा रहस्यमय छ। नेपालमा अनावृष्टि भई अनिकाल परेको बेला नवनाग साधन गरी नागको रगतबाट एक पौभा र एक ग्रन्थ रचिएका थिए। त्यसलाई घाममा राख्दा वृष्टि भई सहकाल आएको र सो पौभा र ग्रन्थ उही शान्तिपुरमा सुरक्षित रहेको विश्वास गरिन्छ। 

स्वयम्भू चैत्यको नजिकै पश्चिम–उत्तरकोणमा अवस्थित हारती मन्दिर पनि कम रोचकको छैन। मनुष्यका बालबालिकालाई चोरी गर्दै आफ्नो आहार बनाइरहेकी हारती नामको यक्षणीलाई बुद्धले मनोचिकित्साबाट भक्षकबाट बालबालिकाको रक्षकमा रूपान्तरण गराइदिएको प्रसिद्ध घटना स्वरूप हारतीदेवीको स्वयम्भू चैत्य परिसरमा छ। विपश्वी बुद्धले गराएको बीजारोपणबाट उत्पत्ति भएको स्वयम्भू ज्योतिरूप एक विशाल चैत्यको रूपमा परिणत भयो। नेपालको सबैभन्दा प्राचीन तथा ठूलो बौद्ध तीर्थस्थल, नेपालको बौद्ध धर्म–संस्कृतिको मुहान तथा केन्द्रबिन्दु हो। स्वयम्भू चैत्यसँग सम्बन्धित अनगिन्ती संस्कृति केही लोप भएर पनि धेरै बाँकी नै छ। वर्तमानमा विश्व सम्पदामा सूचीकृत स्वयम्भू विश्वका लागि धरोधर बनेको छ।

स्वयम्भू परिसरमा विद्यमान स्वयम्भू र अन्य मन्दिरले नेपालमा बुद्धधर्मको उच्चतम अवस्थाको कला–वास्तुकलामा निपूणता, सुसंस्कृतिले सम्पन्नता आदि समृद्धिका तथ्यहरूलाई उजागर गर्दै आइरहेका छन्। मानव मात्रलाई आकर्षित गर्दै आइरहेका छन्। जो कोही पनि स्वयम्भूमा पुग्छन्, हर्षले उल्लासित भएको देख्न सकिन्छ। स्वयम्भू क्षेत्रको संरक्षण–सम्र्द्धन र विकासका लागि नेपाल सरकारको उचित ध्यान आकर्षण भई नराखेको महसुस हुन्छ। नेपाल सरकारले पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोष आदिको व्यवस्था गरेझैं स्वयम्भू विकास कोषको व्यवस्था गर्नु जरुरी देखिन्छ।

लेखक लुम्बिनी बौद्ध विश्वविद्यालयका निवर्तमान उपकूलपति हुन्। 
(स्रोत : स्वयम्भू पूराण, गोपालराज वंशावली, लिच्छविकालीन अभिलेख, स्वयम्भू महाचैत्य र अवलोकन अध्ययन)

https://annapurnapost.com/story/192244/

No comments: