Tuesday, November 28, 2023

आउनुहोस्, कथा सुनौं !

 घनश्याम खड्का

काठमाडौंका भीडभाडपूर्ण गल्लीहरूमा आजकल देखिन्छन्– सुकुलमा बसेर पाका मानिसका कथा सुनिरहेका उत्सुक अनुहारहरू

काठमाडौंमा महिनैपिच्छेजसो कुनै जात्रा लागि नै रहन्छ । एउटा अलिखित समयमा कुनै जात्रा हेर्न जामन गुभाजु पुगेका रहेछन् । तन्त्र विद्याका कारण उनी तीनै लोकमा कहलिएका थिए । नेवारी भाषामा जामनको अर्थ हुन्छ– भातै खानु नपर्ने । तन्त्र विद्याको बलले अन्न–पानीको सहारा नलिईकनै महिनौंसम्म उनी बाँच्न सक्थे । अमानुष र देवताहरू समेतको भाषा बुझ्न सक्थे । भूतप्रेतलाई कजाउने मामिलामा सिद्धहस्त थिए !


अहिले पनि काठमाडौंका गल्लीगल्लीमा गुभाजुका यी तिलस्मी किस्सा सुनाउने, सुन्ने दुवैका आँखामा अचम्मको भाव टल्किरहेको भेटिन्छ । यस्ता अवतारी गुभाजुले त्यस दिन जात्रामा कसैले नदेखेको एउटा कुरा देखेछन्– त्यो के भने, मान्छेको वेशमा कल्पवृक्ष जात्रा हेर्दैछ । जात्रा सकियो । जात्रालु सब गए, कल्पवृक्ष र गुभाजु मात्रै बाँकी रहे । त्यस मान्छेरूपी कल्पवृक्षलाई तन्त्र बलले गुभाजुले जानै दिएनन् । छुटकाराका लागि बिचराले अनेक बिन्ती बिसाएछ ।

‘एउटा कुरा मान्यौ भने जान दिउँला,’ गुभाजुले सर्त तेर्स्याएछन् ।

‘मान्छु हजुर, भनिपाऊँ’ बन्दी वृक्षले जौंला हात गरेछ, ‘जे भने पनि मान्छु ।’ ‘सत्तल बनाउनु छ, चाहिने जति काठ देऊ त’ गुभाजुले आवश्यकता सुनाएछन् । मान्यता के छ भने, जे मागे पनि दिन सक्ने खुबी हुन्छ कल्प वृक्षसँग । काठ त उसका लागि मामुली नै भइगयो । तत्काल गुभाजुका अघिल्तिर उसले यामानको रूख हाजिर गराइदिएछ । चाहिने जति काठ आयो, कल्पवृक्ष गयो । त्यही एउटा अजंगको रूखबाट भव्य सत्तल बन्यो । त्यसैको नाम काष्ठमण्डप हो भन्ने कथा नेवारी सभ्यतामा पुस्ता दरपुस्तादेखि भनिँदै आएको छ ।

पौराणिक स्वादको कथा बोकेको उही काष्ठमण्डप २०७२ को भुइँचालोमा ढल्यो, पुनर्निर्माणमा नेवारी पुस्ताका तन्नेरी इन्जिनियरहरू कस्सिए । काष्ठमण्डप पुनर्निमाण अभियान–२०१६ नाम दिएर उनीहरूले सिलसिलाबद्ध हिसाबले ढलेको सम्पदालाई उठाउने योजनै अघि सारे । त्यसै उपक्रममा काष्ठमण्डपको इतिहास जान्ने आवश्यकता आइलाग्यो । बुझ्दै जाँदा उनीहरूका कानले जामुन गुभाजुको यही कथा सुन्न पुग्यो ।

‘अनि हामीलाई के लाग्यो भने, काष्ठमण्डपको भौतिक संरचनाभन्दा पनि बढी महत्त्व त योसँग जोडिएको कथाको छ,’ इन्जिनियर अश्वेन वीरसिंह ताम्राकार भन्छन्, ‘हाम्रा हरेक सम्पदाहरूका चाखलाग्दा कथा रहेछन्, जो नयाँ पुस्तालाई थाहै छैन ।’

युवा इन्जिनियरहरूबीच यस्ता कथा कसरी जगेर्ना गर्ने त भन्ने बारे छलफल चल्न थाल्यो । अनि उनीहरू एउटा निचोडमा पुगे, कथा त भनेरै जोगिन्छ । ‘त्यसो हो भने पाकाहरूसँग हामी कथा सुनौं,’ उनीहरूले आफैंसँग प्रस्ताव गरे, ‘टोलटोलमा जाऊँ, कथा जान्नेहरू खोजौं र हामी भेला भएर यो सब सुनौं ।’


यसो गर्न उनीहरूले एउटा संस्थै खडा गरे, जसको नाम जुर्‍यो, ‘बाखं न्यने वा’ अर्थात् ‘आऊ कथा सुनौं’ । तन्नेरी युवाहरूको यो प्रयासले बिस्तारै आकार लिँदै गयो । सुरुमा उनीहरूले जात्रा र पर्वका सम्बन्धमा पाकाहरूसँग गएर कथा सुनाइ मागे । काठमाडौंको भीडभाडपूर्ण गल्लीमा मानिसका उदास अनुहारहरू अचानक सुकुलमा बसेर कथा सुन्न थालेको भीडतिर उत्सुक भएर उभिन थाले । यसले कथा सुन्ने सुनाउने उपक्रमलाई बल दियो ।

प्रत्येक महिनामा एकपटक बस्ती–बस्तीमा कथा सुन्ने डबली लाग्न थाल्यो । कथा सुनिसकेपछि टोलवासीले भोजसमेत पनि खुवाउन थाले । ‘छिट्टै नै हाम्रो कामले प्रशंसा बटुल्यो,’ बाखं न्यने वाकी सचिव रिजा जोशी भन्छिन्, ‘टोलटोलबाट कथा सुनाउने निम्तोसमेत आउन थालेको छ ।’ उपत्यकाबाहिर बनेपा र पनौती पुगेर उनीहरूले कथा सुन्ने काम गरिसके ।

बाखं न्यने वाका अरू सदस्यजस्तै रिजा पनि पेसाले इन्जिनियर हुन् । सहरी विकास योजनाकारका रूपमा चिनिन्छिन् । बाखंका सदस्यहरू आइतबार–आइतबार पाटनमा भेला हुन्छन् । कथा सुनाउने शृंखलाको तयारी गर्छन् । सुनिएका कथाको भिडियोहरू तयार पार्छन् र त्यसलाई इन्टरनेटमा राख्छन् । त्यसको लेख्य लिपि उतार्छन् र पुस्तक तयार पार्छन् ।

रिजालाई सानोमा उनकी अजुरआमा गणेशमाया बज्राचार्यले अनेकन कथा सुनाउँथिन्, जस्तो लाखे र योमरीको कथा । सौतेनी आमा सानी केटीलाई कम खान दिएर घरका काममा र बाख्रा चराउन खटाउँथी । केटीलाई बाख्राले आफ्नो पेटबाट जादुझैं योमरी निकालेर गुप्त रूपले खुवाउँथ्यो । खानै नदिँदा पनि मज्जाले खान पाएकी आफ्नी छोरीभन्दा सौतेनी छोरी मोटाउनुको कारण जान्ने सानी आमाको उत्सुकताले रहस्य पत्तो लगाउँछ । र, दुष्ट सानिमाले बाख्रा नै काटेर खाइदिन्छे । तर, मर्नुअघि बाख्रीले सानी केटीलाई योमरी पाउने गुप्त तरिका बताएरै जान्छे । रिजालाई हजुरआमाले योमरी पहिले चखाइन् कि त्यसको चाखलाग्दो कथा पहिले भनिन् ? उनलाई थाहा छैन । तर, के थाहा छ भने उनले सुनेको योमरीको कथा उनीपछिको पुस्तालाई थाहै छैन । गत वर्ष ८९ वर्षको आयुलाई बिसाएर हजुरआमा बितिन् । रिजाको सम्झनामा हजुरआमा कथावाचिकाका रूपमा थपक्क बसेकी छन् । संस्थै खडा गरेर आफ्नो संस्कृतिसँग जोडिएका अनगिन्ती कथा सुनाउने अभियान चलाउन पाउँदा उनलाई हजुरआमाप्रति सच्चा श्रद्धाञ्जली दिन पाएझैं लाग्छ ।


मोबाइल र इन्टरनेटले बच्चाहरू आफ्नै संस्कृतिसँग बिरानो हुन थालेका बेला मोबाइल नहुँदाको जमानामा हजुरबुवा–हजुरआमाले सुनाउने कथाहरूलाई ब्युँताउने युवा इन्जिनियरहरूको प्रयासलाई सबैले सराहना गरेका छन् । काठमाडौंका तीनै सहरका अनेकन् ठाउँ, चाडपर्व, जात्रा, देवता र पौराणिक पात्रहरूबारे सानोमा सुनेका र सुन्न छुटाएका रोचक कथाहरू गुरुकुलीय परम्परामा सुनाउने काम हुँदा बाखं न्यने वाका सदस्यहरू खुसी छन् । यसरी सुनाइएका कथाहरूलाई जुनसुकै समयमा जोसुकैले सुन्न सक्ने गरी डिजिटल प्रकाशन गर्ने काम पनि उनीहरूले गर्दै आएका छन् ।

बालबालिकाका लागि नेपालभाषा, नेपाली र अंग्रेजीमा सचित्र पुस्तक पनि प्रकाशन गर्ने काम सुरु भएको छ । नेवारी सभ्यताका बाहा, बहि र डबूजस्ता परम्परागत वातावरणमा खुला ठाउँमा उनीहरू खुला आमन्त्रणका साथ कथावाचनको आयोजना गर्छन् ।

यसका लागि पाकाहरू कथा भन्न अघि सर्छन् । तन्नेहरीहरू गहिरो जिज्ञासाका साथ सुकुलमा पलेंटी मारेर कथा सुन्न बस्छन् ।

सुरुका दिनमा उनीहरू आफैंले रकम जोहो गरेर कथावाचनका कार्यक्रमहरू आयोजना गरेका थिए । अहिले स्थानीय सरकार, क्लब, युवा र महिला संगठनहरू यो कथा भन्ने सिलसिलालाई निरन्तरता दिनुपर्छ भन्दै तन्नेरी युवाको अभियानमा सघाउन स्वस्फूर्त अघि सरेका छन् । अब कथा भन्ने परम्पराले दिगो रूप लेला भन्ने आशा युवाहरूमा छ । बौद्ध संस्कृति मान्ने नेवारी समाजमा गुँला पर्वको विशेष महत्त्व छ । योसँग जोडिएको कथा र यसको महत्त्व दर्साउन बालबालिकाका लागि ‘न्याकु बाजा र गुँला’ नामको पुस्तक पनि प्रकाशित गरेका छन् उनीहरूले । यसलाई गुर्जु फाउन्डेसनले प्रकाशनमा सहयोग गरेको छ । त्यस्तै, इन्द्र जात्राबारे सुनाइएका कथाहरूको सँगालो ‘यन्या’ पनि प्रकाशित छ । काठमाडौंको सम्पदा र बस्तीका लागि दिगो पर्यटन एवं हरित वृद्धिबारे परियोजना नै सुरु गरेर बाखं न्यने वाले महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकासँग सम्बन्धित कथाहरूको सँगालो पनि प्रकाशित गरेको छ । विपन्नको आवासका लागि काम गर्ने संस्था ‘लुमन्ती’ ले उनीहलाई सघाएको छ ।

यो सराहनीय कामका लागि युरोपेली संघ र यूएन ह्याबिटाटजस्ता अन्तर्राष्ट्रिय संस्था पनि हातेमालो गर्न आइपुगेका छन् । ‘युरोप अमेरिकातिर पनि स्थानीय कथाहरूलाई जगेर्ना गर्ने परम्परा रहेछ,’ कथा अभियानको सञ्चार पक्ष सम्हाल्दै आएका शैलेश राजभण्डारी भन्छन्, ‘हामी छिट्टै नै उनीहरूलाई पनि काठमाडौंमा बोलाएर कथा भन्न लगाउने योजनामा छौं ।’



नेवार संस्कृतिमा प्रचलित कथा सुनाउने परम्पराको मौखिक रूपलाई पुनरुत्थान गर्नु यो अभियानको मुख्य उद्देश्य हो । यसका लागि यहाँ काम गरेर विज्ञता हासिल गरेका विदेशीलाई पनि बोलाएर कथा सुन्ने काम उनीहरूले गर्न थालेका छन् । जस्तो कि, ‘नोस्टाल्जिक सिरिज’ मा काष्ठमण्डपको नक्साबारे अध्ययन गरेका जर्मन आर्किटेक्ट वल्फग्याङ कोर्नलाई बोलाएर उनीहरूले बोल्न लगाएका थिए ।

‘हाम्रो संस्कृति र सम्पदाबारे जानकार अरू पनि विदेशीलाई हामी कथावाचनका लागि बोलाउँछौं,’ रिजा भन्छिन्, ‘जसरी हुन्छ, हाम्रो सभ्यतासँग जोडिएका किस्सा–कहानी आउने पुस्ताका लागि संकलन गरेर त्यसलाई डिजिटलाइज गर्नु हाम्रो काम हो ।’

इतिहास र पुराणका घटना कथा बनेर मौखिक रूपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको परम्पराले चाडपर्व, रीतिरिवाज र खानपिनबारे अनेकन् चाखलाग्दा विवरण जीवित राख्दै आएको छ । मोबाइल पुस्तामा त्यो हराएर जाने डर भइरहेका बेला आफूहरूले सुरु गरेको अभियानप्रति पाकाहरूले गरेको भरोसाले बाखं न्यने वाका सदस्यहरू उत्साहित छन् ।

भूकम्पले मूर्त सम्पदाको जोखिमलाई उजागर गरेर उस्तै जोखिममा परेको अमूर्त सम्पदा बचाउने अभियानको जन्म गरायो । एक हिसाबले यो भूकम्पले लगाएको एउटा गुन हो नेवारी सभ्यताका लागि ।

मौखिक परम्पराबाट अभिलेखित कथाहरूमा यो रूपान्तरणले यी अमूर्त सम्पदा हराउने छैनन् भन्ने आधार खडा गरेको छ ।

https://ekantipur.com/koseli/2023/09/02/169362085237162691.html

No comments: